विदुर । कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्रै अबदेखि उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने भएका छन् । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकले हिजो केही नेपाल ऐन संशोधनसहित पारित गर्दै सामुदायिक विद्यालयमा पढ्नेले मात्रै छात्रबृत्ति पाउने व्यवस्था गरेको हो ।

समितिका सभापति जयपुरी घर्तिले समावेशी छात्रवृतिका नाममा विभिन्न विकृति बढेकाले त्यसको नियन्त्रणको लागी र सामुदायिक विद्यालय प्रतिको आकर्षण बढाउनको लागी अनिवार्य व्यवस्था गर्न लागिएको बताउनुभएको छ ।

छात्रवृति पाउने विद्यार्थी कमजोर बर्ग, दुर्गम स्थल, जेहेन्दार हुनुपर्ने भएपनि निजी विद्यालयमा पढ्ने पहुँचवाला, आर्थिक रुपमा सम्पन्न तथा घोकन्ते विद्यार्थी छात्रवृतिमा हाबी भएको निष्कर्ष निकाल्दै अबदेखि कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मात्रै उच्च शिक्षा अध्ययनका लागि छात्रवृति पाउने कानूनी व्यवस्था गर्न लागिएको हो ।

विदुर । प्रदेशको नाम र राजधानीको टुंगो लगाएसँगै बाग्मती प्रदेशको राजधानी हेटौंडामा स्थायी संरचना निर्माण धमाधम अघि बढाउन तयारी थालिएको छ । संरचना निर्माणका लागि गत वर्षदेखि नै बजेट बिनियोजन गरिएपनि स्थायी राजधानी तोक्न ढिलाई हुदाँ रकम फ्रिज भएकाले यो वर्ष भने काम अघि बढाउनको लागी बागमती प्रदेश सरकारले काम सुरु गरेको जनाएको छ ।

स्थायी राजधानी घोषणा भएसँगै हेटौंडामा प्रदेशसभा हल, विभिन्न मन्त्रालयका भवन, कार्यालय र सरकारी निवास निर्माणको काम सुरु गर्न अब बोलपत्र आह्वान निकाल्न लागिएको जनाएको छ । प्रदेशसभा सचिवालयमा विभिन्न प्रयोजनका लागि मात्र यो वर्ष १० करोड रुपैयाँ बजेट भएकाले त्यसको लगानी गरेर संरचना बनाउन एक साताभित्रै बोलपत्र आह्वान निकाल्न लागेको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिनुभएको छ ।

उहाँको अनुसार यसवर्ष नै हेटौडामा प्रदेशसभा भवन, सत्ता र प्रतिपक्ष दलको कार्यालय, सभामुख र उपसभामुखको सचिवालय भवन, प्रहरी व्यारेक, पुस्तकालय तथा मिडिया सेन्टर निर्माण सुरु गर्न लागिएको छ ।

विदुर । नेपाल र चीनको स्थानीय बजारमा खपत हुने खाद्य वस्तुको ‘लेबल’ विवाद भन्सार तहको बार्ताबाट समस्या समाधान हुन नसकेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नेपालको भन्सार विभाग र तिब्बतको ल्हासा भन्सार विभागका अधिकारीबीच काठमाडौंमा भएको बार्तामा समसया समाधानको लागी सहमति जुट्न नसकेको रसुवा भन्सार कार्यालयका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिनुभएको छ । उहाँको अनुसार छलफलमा नेपाली अधिकारीले चीनबाट नेपाल निर्यात हुने खाद्य वस्तुमा नेपाली कानुनअनुसार अंग्रेजी भाषाको लेबल उल्लेख गरिदिन आग्रह गरेका थिए भने अंग्रेजी भाषामा लेबल भएका नेपाली खाद्य वस्तु निर्वाध रुपमा चीनमा प्रवेश पाउनुपर्ने प्रस्ताव गरेको थियो । तर, चिनीयाँ पक्षले आफ्नो सबै नागरिकले अंग्रेजी भाषा नबुझ्ने भएकाले स्थानीय बजारमा खपत हुने सामान्य खाद्य वस्तुको लेबल चिनियाँ भाषामा नै हुनुपर्ने अडान कायम राखेपछि बैठक बिना निष्कर्ष टुङ्गिएको हो ।

ल्हासा भन्सार विभागका उपमाहानिर्देशक मिङ्मा छिरिङले आफूहरुले राखेको माग पूरा नहुने हो भने सहमति नहुने जनाएर अडान राखेपछि समस्या समाधानको लागी नेपाली पक्षले पनि यस विषयमा सहमति गर्न नसकिने भन्दै समाधानको लागी अब वाणिज्य तहबाटै समाधान खोज्नुपर्ने देखिएको प्रमुख भन्सार अधिकृत खड्काले बताउनुभएको छ । चिनियाँ भाषामा लेवल नलेखिएको खाद्य वस्तु निर्यातमा चिनियाँ भन्सारले रोकेको छ भने नेपाली पक्षले पनि चिनियाँ भाषामा मात्रै लेबल लेखिएको खाद्य वस्तु आयात बन्द गरेको छ ।

पछिल्लो ६ महिनादेखि लेबलका कारण देखिएको समस्याले दुई देशबीच अचार, रोटीका परिकार, तारेका माछा, बिस्कुट, चाउचाउ लगायतका खाद्यान्नको आयात निर्यात प्रभावित हुदै आएको छ ।

विदुर । देशका विभिन्न ठाउँमा पानी पर्नुका साथै मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा हिमपात हुने मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायुको असरले नुवाकोट, रसुवा, धादिङ, काठमाडौसहित देशका विभिन्न ठाउँमा हिजो बिहानदेखि अहिलेसम्म पनि बर्षा र हिमपात भइरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभएको छ । उहाँको अनुसार बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको बायु प्रणाली हिजोदेखि मध्य क्षेत्रमा फैलिएर बर्षा र हिमपात भएको हो ।

बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको प्रणालीले हिजो रातीसम्ममा नेपालको पूर्वीय क्षेत्रमा समेत पानी र हिमपात गराएको उहाँले बताउनुभएको छ । लगातार झरीको सम्भावना भने नभएको तर, बर्षा र हिमपातको चिसोबाट बच्नको लागी आग्रह गरिएको छ ।

हिजोदेखि सुरु भएको झरी आजपनि देशभरि नै जारी रहने मौसम पूर्णरुपमा प्रतिकुल रहने देखिएको छ । जारी रहेको बर्षा सहित हिमपातमा भोलि शनिबारदेखि भने सुधार हुँदै जाने मौसमविद् मानन्धरले जानकारी दिनुभएको छ ।

काठमाडौ । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरुप पठाइएको एउटा गैँडा मरेको छ । गत बर्ष दुई भाले र दुई पोथी गरी चारवटा गैँडा चीनलाई उपहार स्वरुप दिइएको थियो ।

पठाइएका मध्ये मितिनीको जोडी भाले गैँडा सोल्टी चीनको सांघाइ पार्कमा मरेको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्र्देशक गोपालप्रकाश भट्राईले पेटमा खराबी आएका कारण सोल्टीको मृत्यु भएको भन्ने खबर चीनबाट आएको जानकारी दिनुभयो । “विस्तृत रुपमा खबर आउन बाँकी छ,” उहाँले भन्नुभयो, “बाँकी तीन गैँडा भने सकुशल रहेको बताइएको छ । ”

सोल्टी मरेपछि मितिनी एक्लै परेकी छिन् । यो जोडीसँगै भद्र र रुपसीको जोडी पनि चीनलाई उपहार दिइएको थियो । एक्ली मितिनीको साथी नहुँदा उसलाई समेत न्यास्रिएकी छिन् । जोडी नभएपछि गैँडामा एक प्रकारको निराशा छाउँछ जसले गर्दा उसका क्रियाकलापमा परिवर्तन हुने र बिरामी समेत हुनसक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

पठाउनु अघि त्यहाँको वातावरण नेपालको जस्तै रहेको प्रमाणित गरीएको थियो । तर केहीदिन यता सोल्टीलाई पेटको समस्याले सताएको थियो । करिब चारवर्षको सोल्टी आफ्नो सिक्ने उमेरमै वितेको हो ।

हेटौंडा । मकवानपुरका पत्रकार मनाेहर ढकालकाे हत्यामा संलग्न २ जनालाई अदालतले ३९ बर्ष कैदकाे सजाय सुनाएको छ । सञ्चारकर्मी ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैदको फैसला सुनाएको हो । ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्ष गरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले हेटौंडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौडा–१२ का १९ वर्षीय प्रविण वाइवालाई दोषी ठहर गरी जनही ७० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

हेटौंडा–११ नवलपुरका ३८ वर्षीय पत्रकार ढकालको पुडासैनी र वाइवाले २०७५ पुस २५ गते हेटौंडा–१ भैरवडाँडास्थित राप्ति जंगलमा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए ।

हत्या गरिएका रेडियोकर्मी ढकाल रेडियाे पालुङमा कार्यरत थिए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

पुडासैनी र वाइवाले ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेकाेे प्रहरीसँगकाे बयानमा बताएका थिए ।

धादिङ । धादिङमा दुई बच्चासहित दम्पत्तिले बिहीबार साँझ त्रिशुली नदीमा हामफालेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङले जनाएअनुसार बेनिघाट रोराङ–१ मा धादिङ र त्रिशूली जोड्ने झोलुङ्गे पुलबाट हामहाल्दा श्रीमानको उद्धार भएको छ भने महिलाको मृत्यु भएको छ । उनीहरुको ६ महिना र दुई वर्षका दुई छोरालाई नदीले बगाएर बेपत्ता बनाएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछानेलाई प्रहरीले उद्धार पछि नियन्त्रणमा लिएको छ । उनले हामफाल्नुको कारण खुलाउन नचाहेकाले अनुसन्धान भइरहेको धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले जानकारी दिनुभएको छ । विनय परिवारसहित गोरखास्थित ससुराली गएर फर्किँदै गर्दा घटना भएको हो ।

प्रहरीले उनीहरुबीचको मनमुटावको कारण घटना भएको हुनसक्ने अनुमान गरेको छ ।

काठमाडौ । नेपाली सेनामा सम्पत्ति विवरण सार्वजनिक गर्ने क्रम सुरु भएको छ। नेपाली सेनाका रथी गौरव ताण्डुलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्।

उनी नेपाली सेनाको दोश्रो वरियताका रथी हुन्। नेपाली सेनामा दुई जना मात्रै रथी हुन्छन् । यसअघि प्रधानसेनापति पुर्णचन्द्र थापाले गत भदौ २३ गते आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । ताण्डुलले सार्वजनिक गरेको विवरण अनुसार श्रीमती मुनादेवी उप्रेती ताण्डुलको नाममा २० आना १ पैसा जग्गामा धापासीमा साढे २ तले घर छ। त्यस्तै भरतपुरमा १० धुर जग्गा र १ तले घर छ भने झापामा उनकी श्रीमती मुनादेवीको नाममा ५ विघा जग्गा छ।

उनले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार काठमाडौं महानगरपालिका वडा नं ३९ मा ६३.५८ बर्ग मिटर जग्गा र पोखरमा ९ आना ३ पैसा जग्गा छ। बलाध्यक्ष रथी ताण्डुलसँग ३५ तोला सुन, ९ केजी चाँदी र केही मात्रामा हिरा–मोति रुवि र निलम रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ। विभिन्न वाणिज्य बैंकमा उनको नाममा ७७ लाख ३५ हजार रुपैयाँ छ।

सैनिक कल्याणकारी कोषबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका ताण्डुलले १ लाख ६८ हजार रुपैयाँ तिरेको उल्लेख गरेका छन्।आफू सँग होण्डा साइनको मोटरसाइकल रहेको उनले उल्लेख गरेका छन्। उनले पुर्ख्यौली सम्पत्ति, श्रीमतीले ल्याएको दाइजो र केही आफ्नो कमाइबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन्।

दासढुङ्गा । तनहुँमा प्रहरीको ट्रक दुर्घटना हुँदा एक प्रहरीको मृत्यु भएको छ भने ३१ जना प्रहरी घाइते भएका छन् । दुर्घटनामा प्रहरी जवान सन्दीप केसीको मृत्यु भएको हो । अन्य घाइतेहरुको भने पहिचान खुल्न बाँकी छ। तनहुँ देवघाट गाउँपालिका वडा नम्बर ५ दासढुङ्गामा प्रहरीको ट्रक दुर्घटनामा परेको हो। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर भएको प्रहरीले जानकारी दिएको छ। चितवनको देवघाटमा लागेको मेलामा सुरक्षा प्रदान गर्न गएको प्रहरीसहितको ट्रक दुर्घटनामा परेको हो।

देवघाटको माघे संक्रान्ति मेलाको सुरक्षाका पोखराबाट आएको बा १ ग २११८ नम्वरको गाडी फर्कने क्रममा दासढुङ्गा पुलपारी घुम्तीमा दुर्घटना भएको इलाका प्रहरी कार्यालय जुगेडीले जानकारी दिएको छ । गाडीमा ३४ प्रहरी सवार थिए । घाइते मध्ये २६ जनाको पुरानो मेडिकल कलेज र ५ जनाका नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण प्राप्त हुन बाँकी छ।

काठमाडौ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट भएको छ । काठमाडौंको ढुंगेधारास्थित नर्सरी चोकमा रहेको ढकालको घरमा बुधबार साँझ नेकपा विप्लव समूहले बम विस्फोट गराएको हो । घटनाको जिम्मा विप्लव समूहले लिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीलेका अनुसार विस्फोटबाट ढकालको घरको पार्किङमा राखिएको कार र गेटमा क्षति पुगेको छ। साथै घरका झ्यालका सिसा फुटेका छन् । बस विस्फोट किन र कसले गराएको भन्नेबारे केही डिएसपी नखुलेको बोगटीले जनाए । विस्फोटका विषयमा अनुसन्धान भइरहेको र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौ । नेपाली कांग्रेसका सह महामन्त्री प्रकाशशरण महतले कम्युनिस्ट कुरा बिकाएर चुनाव जितेको पार्टी भएको आरोप लगाएका छन्। 'विपी कोइराला स्कुल अफ पब्लिक पोलिसी'ले राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको 'प्रस्तावित सूचना प्रविधि र विशेष सेवा आयोग गठन' नामक अनन्तर्क्रियामा महतले उक्त आरोप लगाएका हुन्।

१. कुरा बिकाएर चुनाव जिते

नेता महतले चुनावका बेलामा कम्युनिष्टले जन अधिकार, बहुदल स्वीकार प्रजातन्त्र स्विकार्छौं भनेर स्वीकारेको र प्रपोगाण्डा गरी चुनाव जितेको तर्क गरे। उनले भने, 'कम्युनिष्टले प्रचारात्मक शैलीमा प्रपोगाण्डा गरे। जनताले हो कि के हो भनेर भोट दिए।' महतले कांग्रेसले लामो समय जनअधिकारको रक्षा गरेको भए पनि कम्युनिष्टको प्रचारशैली अगाडि निस्तेज भएको स्वीकारे। कम्युनिस्टले कुरो बिकाएर चुनाव जितेको आरोप लगाउँदै उनले कम्युनिष्टहरु सरकार कब्जाको हकदार भएको ठान्ने पार्टी भएको पनि तर्क गरे। भने, 'यिनीहरु सत्ता कब्जाको हकदार ठान्छन्। आफूले युद्ध पनि त्यसैका लागि लडेको भन्छन्।'

२. मिडिया पनि सरकारकै बोलीमा लोली मिलाउँदै

सूचना प्रविधि विधेयक सञ्चार माध्यमलाई व्यापक रुपमा नियन्त्रण गर्न ल्याएको उल्लेख गर्दै महतले यो निरंकुश शासन व्यवस्थामा पनि नहुने बताए। 'अहिले विशेष सेवा आयाोग गठन भनेर फोन टेपिङ गरेर गोपनियताका हक खोस्न खोजेको छ। उनीहरुले विभिन्न नाम गरेर आम नागरिको हक खोसिरहेका छन्,' उनले भने, 'सामाजिक सञ्जालमा नागरिकले विना लागत विचार प्रवाह गर्छन्। स्टाब्लिस्ट मिडियामा त चाबी लगाइदिन्छौ भनेर नियन्त्रण गर्न सक्छन्। र, लगाइ पनि रहेका छन्। अहिले मिडिया पनि उनीहरुकै मात्रै लेखिरहेको छन्। तर समाजिक सञ्जालमा त यसो गर्न पाइदैन। त्यसैले सामाजिक सञ्जाललाई बन्द गर्न विधेयक ल्याइएको हो।'

३. ओलीको झुटा कामलाई राम्रो भन्दै प्रचार गर्ने फौज तैनाथ

महतले सूचना प्रविधि विधेयक विरोधीलाइ कारवाही गर्नमात्र ल्याएको आरोप लगाए। भने, 'सामाजिक सञ्जालमा केपी आलीबारे प्रचार गर्ने एक फौज नै छ। उनीहरुले ओलीबारे झुटो प्रचार मात्रै फैलाउँछ। एकैपटक हजारौले सरकार विरोधीलाई गाली गलौज गरेर सरकारलाइ डिफेन्सिभ बनाउँछ। उनीहरुलाई यसले कारवाही गर्दैन।' यसलाइ सरकारले नियन्त्रण गर्न खोजे पनि जित जनताकै हुने उनको दाबी रह्यो।

४. प्रहरी र प्रशासन नागरिकको अधिकार खोस्न प्रयोग

कम्युनिस्ट नेतृत्वको सरकार रहेकाले हिजोआज प्रहरी र प्रशासनसमेत कानुनअनुसार नचलेको महतले आरोप लगाए। प्रशासन सरकारको आज्ञामात्र मानिहेको डा महतको भनाइ छ। भने, 'प्रशासन अहिले कानुन मान्दैन। बरु उनीहरु त माथिकाले के भने। नेताले के भने। त्यो मात्रै मान्न थालेका छन्। उनीहरुले त कसरी नागरिकको अधिकार खोस्ने भन्नेमामात्रै ध्यान छ।' उनले अहिले सुचना प्रविधि विधेयकमा पनि अकल्पनीय जरिवाना राखिएको बताए।

५. भ्रष्टाचारमा डुबेको सरकार

उनले अहिले सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको दाबी गरे। भ्रष्टाचार संस्थागत नै भएको आरोप लाउँदै उनले भने, 'पहिला कांग्रेसका पालमा तिलका दाना यता उता हुँदा पनि यिनीहरुले पहाड बनाउँथे। अहिले लाखको त कुरै हुँदैन सीधै करोड अर्बको मात्रै बार्गेनिङ गरेर भ्रष्टचार गर्छन्। कांग्रेसले यति गरेको भए एक महिना पनि सरकार चल्न दिने थिएन। त्यसमाथि हाम्रा साथीहरुले जनतालइ जुरुक्क उचाल्ने थिए। लेफ्ट राइट गरेर अहिले त जे मन लाग्यो त्यही गरिरहेका छन्। 'उनले कम्युनिष्ट सत्तामा मात्रै केन्द्रित भएको आरोप लगाए।

६. सीमा समस्यामा प्रधानमन्त्री चुप

लिपुलेक र लिम्पियाधुरामा सीमा समस्या आउँदा प्रधानमन्त्री ओली चुइक्क नबोलेको उनले आरोप लगाए। 'बरु भारतले आउनुस के के छ छलफल गरौ भनेका छन्। सीमा समस्यामा प्रधानमन्त्रीको त स्वरै निस्केन,' महतले भने।

सीमा समस्या कुटनीतिक ढंगले छलफल गर्ने विषय भए पनि नेपालले पहल नै नगरेको महतको आरोप थियो। अहिले संसद एकपछि अर्को सूचना टाँसेर स्थगित गर्दै बन्दी बनाएको उनले आरोप लगाए।

सिराहा । सिराहा नगरपालिका–९ गुलरियास्थित आधारभूत विद्यालयमा पाँच शिक्षकको दरबन्दी छ । तर, ती शिक्षकले पढाउने विद्यार्थी भने चारजना मात्रै छन् । सदरमुकामदेखि तीन किलोमिटर दूरीमा रहेको यो विद्यालयमा ४५ विद्यार्थी भर्ना भएको रेकर्ड छ । कक्षा एकमा १२, दुईमा ६, तीनमा पाँच, चारमा ११ र पाँचमा ११ विद्यार्थी भर्ना भएका छन् । तर, प्रधानाध्यापक र शिक्षक नियमित विद्यालय आउन छाडेपछि विद्यार्थीको उपस्थिति पनि घटेको हो । आजभोलि विद्यालयका कक्षाकोठामा अधिकांश समय ताला झुन्डिएको हुन्छ ।

बिहीबार कुनै सार्वजनिक बिदा थिएन, तर विद्यालयका सबै कक्षाकोठामा ताला लागेको थियो । विद्यालयछेवैमा रहेको दैवसुनैर ठाकुरको घरअगाडि चार विद्यार्थी पढाउँदै थिइन् शिक्षिका सावित्रा शर्मा । शर्माले कक्षा तीनका एक र पाँचका तीन विद्यार्थी एकैठाउँमा राखेर पढाउँदै थिइन् । कक्षाकोठामा ताला लागेकाले अरूको घरमा ल्याएर पढाउनुपरेको शिक्षिका शर्माले बताइन् ।

विद्यालयका प्रधानाध्यापक हुन्, श्याम यादव । उनी नआउँदा कक्षाकोठाका ताला खुल्दैनन् । कर्मचारी नभएका कारण प्रअले नै साँचो बोक्ने गरेको शिक्षिका शर्माले बताइन् । बिहीबार मात्रै होइन, शुक्रबार पनि सबै कोठामा ताला लगाइएका थिए । शुक्रबार त एउटै शिक्षक–विद्यार्थी भेटिएनन् ।

विद्यालय नआएको विषयमा जिज्ञासा राख्दा प्रअ यादवले श्रीमती बिरामी परेकाले बिदा बसेको बताए । ‘श्रीमती बिरामी भएकाले म बिदा बसेको छु । अरू शिक्षकहरूलाई टेलिफोन गरेर जानकारी दिएको थिएँ । उनीहरू किन विद्यालय गएनन्, त्यो थाहा भएन,’ प्रअ यादवले नयाँ पत्रिकासँग भने । विद्यालयमा प्रअ यादव र शिक्षिका शर्माबाहेक, शिक्षकहरू चन्देश्वर यादव, भुवनेश्वर यादव र जगदीश दास कार्यरत छन् ।

शिक्षक नआएपछि विद्यार्थीसमेत आउन छाडेको विद्यालयका दुई कोठा सडक निर्माण गर्ने ठेकेदारलाई मजदुर राख्न दिइएको छ । सघन सहरी विकास योजनाअन्तर्गत सिराहा नगरपालिका क्षेत्रमा सडक र नाला निर्माणमा खटिएका रमन कन्स्ट्रक्सन कम्पनीका ३० मजदुर त्यहाँ बस्दै आएका छन् । मजदुरले भान्सा, सुत्ने कोठाका रूपमा दुवै कोठा प्रयोग गर्दै आएका छन् । ठेकेदार कम्पनीले निर्माण सामग्री विद्यालयको चउरमा थुपारेर राखेको छ । रड, सिमेन्टजस्ता निर्माण सामग्री राख्दा विद्यालय जाने केही बालबालिका पनि जोखिममा रहेको स्थानीयको गुनासो छ । उनीहरू ६÷७ महिनादेखि बस्दै आएका छन् ।

अभिभावक भन्छन्– शिक्षक आए पो विद्यार्थी आउँछन्

शिक्षकहरू नियमित नहुँदा विद्यार्थी आउन छाडेको अभिभावकको गुनासो छ । स्थानीय जोगी दासले भने, ‘शिक्षकहरू नै आउँदैनन् । विद्यालय लामो समयदेखि अस्तव्यस्त छ । कसैलाई कुनै मतलब छैन ।’ नियमित कक्षा सञ्चालन नहुँदा विद्यार्थी विद्यालय छाड्नेदेखि अर्को विद्यालयमा जान बाध्य भएको स्थानीय श्रीनारायण यादवले बताए । ‘विद्यालयमा पाँच शिक्षक छन् । तर सधैँ आउँदैनन्,’ यादवले भने, ‘जसको मारमा बालबालिका परेका छन् ।’

नगरशिक्षा शाखा मौन

सिराहा नगरपालिकामा रहेको शिक्षा शाखाले विद्यालय बन्द रहेको विषय जानकारी नभएको जनाएको छ । पठनपाठनको निगरानी र सुदृढीकरण गर्न काम गर्ने शिक्षा शाखाका संयोजक अधिकृत सुवोध लामाले विद्यालय बन्द भएको जानकारीमा नआएको बताए । ‘विद्यार्थी कति आउँछन्, त्यो थाहा छैन,’ अधिकृत लामाले भने, ‘तपाईंले खबर गर्नुभयो । अब गएर हेर्छु ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशन भएको छ ।