काठमाडौ । नेपाल सरकारले चीन सरकारलाई उपहार स्वरुप पठाइएको एउटा गैँडा मरेको छ । गत बर्ष दुई भाले र दुई पोथी गरी चारवटा गैँडा चीनलाई उपहार स्वरुप दिइएको थियो ।

पठाइएका मध्ये मितिनीको जोडी भाले गैँडा सोल्टी चीनको सांघाइ पार्कमा मरेको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । विभागका महानिर्र्देशक गोपालप्रकाश भट्राईले पेटमा खराबी आएका कारण सोल्टीको मृत्यु भएको भन्ने खबर चीनबाट आएको जानकारी दिनुभयो । “विस्तृत रुपमा खबर आउन बाँकी छ,” उहाँले भन्नुभयो, “बाँकी तीन गैँडा भने सकुशल रहेको बताइएको छ । ”

सोल्टी मरेपछि मितिनी एक्लै परेकी छिन् । यो जोडीसँगै भद्र र रुपसीको जोडी पनि चीनलाई उपहार दिइएको थियो । एक्ली मितिनीको साथी नहुँदा उसलाई समेत न्यास्रिएकी छिन् । जोडी नभएपछि गैँडामा एक प्रकारको निराशा छाउँछ जसले गर्दा उसका क्रियाकलापमा परिवर्तन हुने र बिरामी समेत हुनसक्ने संरक्षणकर्मीहरु बताउँछन् ।

पठाउनु अघि त्यहाँको वातावरण नेपालको जस्तै रहेको प्रमाणित गरीएको थियो । तर केहीदिन यता सोल्टीलाई पेटको समस्याले सताएको थियो । करिब चारवर्षको सोल्टी आफ्नो सिक्ने उमेरमै वितेको हो ।

22.89¡ÆC