हेटौंडा । मकवानपुरका पत्रकार मनाेहर ढकालकाे हत्यामा संलग्न २ जनालाई अदालतले ३९ बर्ष कैदकाे सजाय सुनाएको छ । सञ्चारकर्मी ढकाललाई डकैतीसहित हत्या गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले २ युवकलाई ३९ वर्ष कैदको फैसला सुनाएको हो । ढकालको हत्या गरेकोमा जन्मकैद अर्थात २५ वर्ष र डकैती गरेकोमा १४ वर्ष गरी ३९ वर्ष कैद गर्ने फैसला भएको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए ।

जिल्ला न्यायाधीश दिल्लीरत्न श्रेष्ठको इजलासले हेटौंडा–११ का २० वर्षीय अनमोल पुडासैनी र हेटौडा–१२ का १९ वर्षीय प्रविण वाइवालाई दोषी ठहर गरी जनही ७० हजार रुपैयाँ जरिवाना पनि गरेको छ ।

हेटौंडा–११ नवलपुरका ३८ वर्षीय पत्रकार ढकालको पुडासैनी र वाइवाले २०७५ पुस २५ गते हेटौंडा–१ भैरवडाँडास्थित राप्ति जंगलमा हत्या गरेका थिए । हत्या गरेर ढकालसँग भएको सुनको औंठी, मोबाइललगायत सामान लुटेका थिए ।

हत्या गरिएका रेडियोकर्मी ढकाल रेडियाे पालुङमा कार्यरत थिए । ढकालको लुटिएको सुनको औंठी खरिद गर्ने नारायणबहादुर सुनुवारलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको छ ।

पुडासैनी र वाइवाले ढकाललाई मोटरसाइकलबाट लडाएर कन्चटमा ढुंगाले हिर्काएर हत्या गरेकाेे प्रहरीसँगकाे बयानमा बताएका थिए ।

26.04¡ÆC