काठमाडौ । जाँगर भए स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दाङको तुलसीपुर–६ का डाँगी दम्पत्ती बन्नुभएको छ । बैदेशीक रोजगारीका लागि २० वर्ष भारतका विभिन्न सहरमा बिताउनुभएका ठगेन्द्र डाँगीले व्यवसायिक भैँसीपालन गरेर मनग्य आम्दानी गरी जाँगर भए पैँसा कमाउन विदेश जानु पर्दैन भन्ने उदाहरण दिनुभएको छ ।

बैदेशीक रोजगारीका क्रममा भोगेका दुःख, कष्टबाट पाठ सिकेर स्वदेश फर्किएर व्यवसायिक भैँसीपालन व्यवसाय सुरु गरेको भन्दै ठगेन्द्रले स्वदेशको व्यवसायले पैँसा र इज्जत दुवै दिएको जानकारी दिनुभयो । ‘जाँगर चल्दासम्म भारतका विभिन्न सहरमा चौकीदारी गरियो । कहिले होटेलमा भाँडा माझियो । जति गर्दा नि परिवार पाल्न धौ–धौ पथ्र्यो’, ठगेन्द्रले भन्नुभयो, ‘भारतमा पाएका दुःखबाट पाठ सिकेर भैँसीपालन व्यवसाय सुरु गरेको छु । यसैले परिवार पाल्न सजिलो भएको छ । पैँसा र इज्जत दुवै मिलेको छ ।’

पहिले उपेक्षा गर्नेहरुबाट हिजोआज इज्जत मिलेको भन्दै व्यवसायी ठगेन्द्रले दुई वटा भैँसीबाट सुरु गरेको व्यवसायलाई बढाएर २५ वटा भैँसीमा पु¥याएको बताउनुभयो । ‘म भारतबाट आउँदा श्रीमतीले घरमा दुई वटा भैँसी पालेकी थिइन् । ती दुई वटा भैँसीबाट सुरु गरेको व्यवसायलाई बढाएर २५ वटा भैँसी पु¥याएको छु’, ठगेन्द्रले भन्नुभयो, ‘फर्ममा १४ वटा दुहुनासहित जम्मा २५ वटा भैँसी रहेका छन् । व्यवसाय बढाउँदै लैजाने विचार गरेको छु ।’

दैनिक एक सय लिटर दूध बिक्रि गर्ने गरेको भन्दै व्यवसायी ठगेन्द्रले मासिक सवा लाख आम्दानी गर्ने गरेको बताउनुभयो । दूधको माग बढेको भन्दै व्यवसायी ठगेन्द्रले माग अनुसारको दूध पु¥याउन नसकेको बताउनुभयो । ‘उत्पादित जम्मै दूध बिक्रि हुने गरेको छ । नजिकैको डेरीले सबै दूध किन्ने गरेको छ’, व्यवसायी ठगेन्द्रले भन्नुभयो, ‘प्रत्येक दिन एक सय लिटर दूध बेच्ने गरेको छु । खर्च कटाएर मासिक सवा लाख आम्दानी हुन्छ ।’

पहिलेका दुःखका दिन सम्झिदै व्यवसायी ठगेन्द्रले भन्नुभयो, ‘विगतका दिन सम्झिदा नरमाइलो लाग्छ । आफू भारतमा भोकभोकै सुत्नुपर्दथ्यो । यता घरमा छोरीहरुलाई हुर्काउन, पढाउन समस्या थियो । हिजोका जम्मै दुःख व्यवसायले भुलाइदिएको छ । भैँसीपालन व्यवसायले छ जनाको परिवारको लालनपालन गर्नुका साथै छोरीहरुको पढाई खर्च जुटाउन मद्दत गरेको भन्दै व्यवसायी ठगेन्द्रले जेठी छोरी बैंक म्यानेजर र माइली छोरीलाई प्लसटु पास गराउनुका साथै अन्य दुई छोरीलाई निजी विद्यालयमा पढाइरहेको बताउनुभयो ।

भैँसीपालन व्यवसायबाट नाम र दाम दुवै कमाएका डाँगी दम्पत्तीको शुभ भैँसी फर्म सबैको सिकाईको केन्द्र बन्दै गएको छ । भैँसीपालन व्यवसाय गर्न चाहनेहरु शुभ भैँसी फर्मको अवलोकन गर्न जाने गरेका छन् । करिव ३५ लाखको लगानीमा आफूले व्यवसाय सुरु गरेको भन्दै व्यवसायी ठगेन्द्रले कतैबाट पनि सहयोग प्राप्त नगरेको बताउनुभयो । प्रदेश सरकार र उपमहानगरपालिकाबाट कृषकका लागि भनेर करोडौं अनुदान दिने गरेको सुनेको भन्दै व्यवसायी डाँगीले बास्तविक कृषकको हातमा अनुदान पुग्न नसकेको बताउनुभयो ।

दाङ दूध उत्पादनका लागि अत्यन्तै सम्भावना बोकेको जिल्ला रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख बेदबहादुर केसीले जानकारी दिनुभयो । जिल्लामा पछिल्लो समय भैँसी र गाईपालनतर्फ कृषकहरु अत्यन्तै आकर्षित भएको कार्यालय प्रमुख केसीले बताउनुभयो ।

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि अभिनेता राजेश हमाललगायतले मृत्युपश्चात आँखा दानको घोषणा गरेका छन् ।

उनीहरूले तिलगंगा आँखा प्रतिष्ठानको नेपाल आँखा बैकमा मृत्युपर्यन्त आँखा (नानी) दानको प्रतिबद्धता (घोषणा) गरेका छन् । पराराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, अभिनेत्री करिष्मा मानन्धर, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठलगायतले आँखा दानको घोषणा गरेका हुन् । यस्तै कर्मचारी, नेताहरू, कलाकार आदिले आँखा दानको घोषणा गरेको नेपाल आँखा बैंकका व्यवस्थापक शंखनारायण त्वायनाले बाह्रखरीलाई जानकारी दिए । “करिब २५ वर्षको अन्तरालमा ७७ हजारले मृत्युपछि आँखाको नानी दान गर्ने प्रतिबद्धता जनाएका छन्,” उनले भने, “२०५१ भदौ ३१ मा आँखा बैंक स्थापना यता १४ हजारभन्दा बढीले नानी दान गरिसकेका छन् ।”

जसले मृत्युपछि अरूलाई नयाँ दृष्टि दिए

तिलगंगा आँखा प्रतिष्ठानको आँखा बैंकमा मृत्युपछि आँखा दान गरेर नयाँ दृष्टि दिनेमा मनमोहन अधिकारीदेखि कलाकार शान्ति मास्केसम्म छन् । त्यसबाहेक हरिवंश आचार्यकी (पत्नी) मीरा, माधव नेपालका बुबा मंगलकुमार उपाध्याय, साहना प्रधानका बुबा, आलोक नेम्वाङ (निर्देशक) नेता निर्मल लामालगायत छन् ।

“आँखा दानबाट धेरैले गुमेको दृष्टि पाएका छन्,” व्यवस्थापक त्वायनाले भने, “आँखा बैंक सुरु भएको वर्ष चिनिमाया तुलाधरले मात्र नानी दिने प्रतिबद्धता जनाएकी थिइन् । उनको नानी सोही वर्षमै झिकिएको थियो ।” सन् २०१५ देखि २०१९ सम्ममा ३ हजार ९ सय ८८ जनाले दृष्टि पाएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक प्रा.डा. सन्दुक रुइतले धेरै मानिसमा आँखादान भन्नेबित्तिकै आँखाको डल्लो झिक्ने सोच भए पनि त्यस्तो नहुने सुझाए । “आँखाको डल्लो झिक्ने होइन, बाहिरको नानी मात्र निकाल्ने हो,” रुइतले भने, “यसमा धार्मिक, सांस्कृतिक रूपमा अफ्ठ्यारो केही हुँदैन । मृत्युपश्चात् झिक्ने हो ।”

प्रतिष्ठानका जनसम्पर्क निर्देशक भागिरथ बानियाका अनुसार संकलन भएका सबै नानी प्रत्यारोपण हुँदैन । नानी दान गर्ने व्यक्तिको मृत्यु भएको ८ देखि १० घण्टामा निकालिसक्नुपर्ने रुइतले जानकारी दिए ।

आँखा दानका विषयमा पशुपति आर्यघाट विद्युतीय शवदाह गृहलगायत वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र पाटन अस्पतालमा आँखा बैंकबाटै खटाइएका परामर्शदाताहरूले परामर्श तथा जानकारी दिने गरेको प्रतिष्ठानले जनाएको छ । त्यस्तै, प्रतिष्ठानले स्थानीय आँखा अस्पतालको समन्वयमा मेची, विराटनगर, लहान, हेटौंडा, भरतपुर, लुम्बिनी, पोखरा र कैलालीमा पनि नानी संकलन केन्द्र स्थापना भई नानीहरू संकलन गरिरहेको छ ।

यो सामाग्रि बाह्रखरीकर्मी सञ्जिता खनालले तयार गर्नुभएको हो ।

काठमाडौ । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माईला लामा धरौटी रकम बुझाउन नसकेपछि जेल चलान भएका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालिन उपत्यका इन्चार्ज माईला लामालाई संखुवासभा अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । हात हतियार तथा खरखजाना मुद्धामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भएपनि रकम बुझाउन नसकेपछि लामा पुनः जेल गएका हुन् ।

सरकारले प्रतिबन्धित घोषणा गरेर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्न मुद्धामा पक्राउ गरिरहेको छ ।

एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गरेपनि अन्य मुद्धा लगाएर अदालत परिसरबाटै पक्राउ गरि सुनसरी पुर्याईएको थियो । सुनसरीबाट समेत रिहा भएका लामालाई अदालतबाटै पक्राउ गरि संखुवासभा पुर्याईएको थियो ।

काठमाडौ । जुगल गाउँपालिका ३ मा एक सय जनाभन्दा धेरैमा कोरोना भाइरसको लक्षणसँग मिल्ने स्वास्थ्य समस्या देखिएको छ । गएको बिहीबारदेखि गाउँपालिकाका एक सय जनाभन्दा धेरै व्यक्ति कोरोनासँग मिल्दोजुल्दो रुघाखोकी र अत्यधिक ज्वरोका कारण थलिएका गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिकाले बिरामीका लागि आवश्यक पर्ने स्वास्थ्यकर्मीसहित औषधि र माक्स पठाइसकेको छ । गाउँपालिकामा डाक्टर नभएकाले बिरामीको स्वास्थ्य परीक्षण गर्न छिमेकी गाउँपालिका जलबिरे स्वास्थ्य इकाइका डाक्टर पिताम्बर खनाललाई लैजान लागिएको पनि उहाँले बताउनुभयो ।

यस्तै गाउँपालिकाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई स्वास्थ्य परीक्षणको लागि विशेषज्ञसहितको टोली पठाउन अनुरोध पनि गरिसकेको छ । मन्त्रालयले बुधबार यसबारेमा थप छलफल गर्ने भएको छ ।

बिरामी भएका व्यक्तिलाई अरुसँग सम्पर्कमा नआउन र छुट्टै बस्न स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठले विषय विज्ञसँग नियमित संवादमा रहेकाले नआत्तिन पनि सबैसँग अनुरोध गर्नुभएको छ ।

यसैबीच, सरकारले बुधबार चीनमा रहेका नेपाली लिन जाने जहाजको चालक दलका सदस्यलाई तालिम दिने तयारी गरेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन तथा जहाजमा अपनाउनुपर्ने सुरक्षाका विषयमा तालिम दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको हो । त्यस्तै बिहीबार विमानस्थलमा जहाजको बाहिरी काममा खटिने कर्मचारीलाई तालिम दिने मन्त्रालयको तयारी छ । चीनबाट नेपाल फर्कन आवेदन दिएका एक सय ८० जनालाई आउँदो शनिबार नेपाल ल्याउने सरकारकाे योजना छ ।

चीनबाट ल्याउनुअघि त्यहाँको विमानस्थलमा पनि जाँचिने र नेपालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पनि उनीहरुको स्वास्थ्य परीक्षण हुने भएकाले सङ्क्रमित ल्याउन लागेको भन्ने हल्लाको पछि नलाग्न पनि सरकारले आग्रह गरेको छ ।

उनीहरुलाई नेपाल ल्याइसकेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को बाध्यकारी नियमअनुसार १४ दिन क्वारेन्टाइनमा राख्न लागिएको हो । १४ दिन क्वारेन्टाइनमा राखेपछि उनीहरुलाई परिवारको जिम्मा लगाइनेछ ।

हेटौडा । वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकास मन्त्रीमा रामेश्वर फुयाल नियुक्त हुनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वाग्मती प्रदेशका प्रमुख सचेतक फुयाललाई प्रदेश सरकारको बैठकले भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त गरेको हो ।

तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले बर्खास्थ गरेपछि रिक्त रहेको मन्त्रालयको काम आफैले सम्हाल्दै आउनुभएको थियो । फुयाँल गाउँपालिका अध्यक्ष, सभासद, सांसद हुँदै पहिलोपटक मन्त्री बन्नुभएको हो । वाग्मती प्रदेशको स्थायी राजधानी र नामाकरणपछि फुयाल मन्त्री बन्ने चर्चा निकै चलेको थियो ।

वाग्मती प्रदेशमा नेकपाका प्रमुख सचेतक समेत रहनुभएका फुयाल लामो राजनीतिक यात्रापछि मन्त्री बन्न लाग्नुभएको हो ।

काठमाडौ । प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिए पनि यो वर्ष कारोबार सन्तोषजनक नरहेको व्यवसायीले बताएका छन् । अघिल्ला वर्षमा जस्तो चहलपहल नदेखिएको फ्लोरिकल्चर एसाेसियशन अफ् नेपाल (फ्यान) का अध्यक्ष कुमार कसजुले उज्यालोलाई बताउनुभयो ।

गएकाे वर्ष डेढ करोड रुपैयाँ बराबरका एक लाख ६० हजार गुलाब बिक्री भएको थियो । यो वर्ष भने झण्डै डेढ लाख फूलको कारोबार हुने देखिएको अध्यक्ष कसजुको भनाइ छ । उहाँका अनुसार यो वर्ष विदेशबाट फूल आयातको दर पनि घटेको छ । गएकाे वर्ष एक लाख फूल नेपाल ल्याइएकाे भए पनि यो वर्ष त्योभन्दा कम आयात भएको उहाँले बताउनुभयो ।

बजारमा फूलको माग कम रहेकाले याे वर्ष गएकाे वर्षकाे तुलनामा कम परिणाममा फूल आयात गर्न लागिएको हाे ।

तिगाँउ । बेलकोटगढी नगरपालिकाको वडा नं. ११ को माथिल्लो तिगाँउमा मौसमी भाइरलको कारण गाउँनै प्रभावित भएको छ । पछिल्लो तीनदिनदेखि देखिएको मौसमी भाइरलको कारण गाउँको प्रत्येक घरमा बिरामी देखिएको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो । उहाँको अनुसार उपल्लो तिगाँउमा बेलकोट स्वास्थ्य चौकीबाट बिहीबार गएको अनमी उषा सिंह र कमला पाण्डेले ५४ जना बिरामीको उपचार गर्नुभयो ।

करीब पचास घरधुरी रहेको उपल्लो तिगाँउमा उच्च ज्वरो, रुघाखोकी, रक्तचाप भएका बिरामी प्रत्येक घरमा पाइएको छ । सोमबारदेखि फैलन सुरु भएको ज्वरोको कारण गाउँनै प्रभावित भएको जानकारी स्थानीय कमबहादुर तामाङबाट पाए लगत्तै नगर प्रमुख राजेन्द्ररमण खनाल र प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालसंग समन्वयको आधारमा स्वास्थ्यकर्मी र औषधि सहितको टोली लिएर घरघरमै पुगेर बिरामीको उपचार गरेको वडाध्यक्ष रामहरि पाण्डेले जानकारी दिनुभयो । बिहीबार ५४ जनाको उपचार गरेको र उनीहरुलाई स्वाथ्यकर्मीको निगरानीमा राखिएको उहाँले जानकारी दिनुभयो ।

तामाङ समुदायको बासिन्दाको बासोबास रहेको उपल्लो तिगाँउमा रहेको नागरिकहरु बिरामी पर्नुको कारण खानेपानीमा दूषित भएको र सगसगैँ जनचेतनाको कमी भएका कारण उनीहरुको उपचार सहित स्वच्छ पानी पिउनको लागी अपिल गरिएको र रोग फैलन नदिन आफूहरु सक्रिय भएर लागिरहेको वडाध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

विदुर । नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा बट्टारमा जारी छैठौँ नुवाकोट महोत्सवको आठौ दिन बिहीबार पाँच हजार भन्दाबढी दर्शकले मेलाको अवलोकन गरेका छन् ।

गएको माघ १६ गतेदेखि सुरु भएको मेलोको आठौ दिन बिहीबार टिकट लिएर दुई हजार पाँचसय र पास लगायतका सुविधाको आधारमा करीब तीन हजार गरेर पाँच हजार भन्दा बढीले मेलाको अवलोकन गरेको महोत्सव आयोजना अन्तरगत प्रचार–प्रसार उपसमितिका संयोजक उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो । जारी रहेको छैठौँ नुवाकोट महोत्सवमा बिहीबार नेपाल आइडल प्रतिस्पर्धी एंव चर्चित गायक प्रताप दास लगायतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

महोत्सवको अवलोकन गर्न पुग्नुभएका बागमति प्रदेशका उपसभामुख राधिका तामाङले पछिल्लो समयमा नुवाकोटको विकासको गति निकै तिव्र हुदै अघि बढेको उदाहरण दिदै महोत्सव लगायतका गतिविधिले जिल्लालाई आर्थिक रुपमा थप सम्मुन्नत बनाउनुपर्ने बताउनुभयो । पूर्व राज्यमन्त्री समेत रहनुभएका उपसभामुख राधिका तामाङले छहरेबाट–टोखा पुग्ने सुरुङ मार्गको निर्माणको सकारात्मक सम्भाव्यता देखिएको र त्यसको लागी समय लाग्ने भएकाले छहरे हुदै गुज्रेभञ्याङबाट टोखा पुग्ने सडकलाई पक्की बनाई सञ्चालन गरेर नुवाकोटका जनतालाई राजधानी ओहोर–दोहोरको लागी सहज बनाउन सबै राजनीतिक दलबीच सहकार्य र कार्यगत एकताको आवश्यकता रहेको बताउनुभयो । उहाँले नुवाकोटको विकासको लागी प्रयाप्त बजेट आएकाले त्यसको सही रुपमा सदुपयोगको लागी प्रतिपक्ष दल काँग्रेस र योजनाको लाभ लिने जनतालाई पनि सचेत भएर जागरुक नागरिकको भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।

महोत्सवको अवलोकनको लागी बिहीबार नै बागमती प्रदेससभाका सदस्य बद्री मैनाली, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्दसिंह तामाङ, उपाध्यक्ष अञ्जु आचार्य, शिवपुरी गाउँपालिकाको उपाध्यक्ष मञ्जु केसी लगायतका जननिर्वाचित प्रतिनिधिहरु पुग्नुभएको थियो ।

महोत्सवको नवौ दिन शुक्रबारपनि चर्चित कलाकारहरुको प्रस्तुती रहेको आयोजक उद्योग बाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिनुभयो ।

विदुर । पूर्वप्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने र काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल मार्फत समापन गर्ने ‘नुवाकोट जिल्ला अन्तरपालिकास्तरीय प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिता सञ्चालनको लागी आवश्यक सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । पञ्चकन्या गाउँपालिकाको वडा नं. २ पुारनीडाँडा स्थित प्रतियोगिता सञ्चालन गर्न लागिएको कालिका माविमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रतियोगिताको आयोजक पञ्चकन्या गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ ‘रमेश’, उपाध्यक्ष सिता पराजुली, प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनी, वडा नं. १ का वडाध्यक्ष एंव प्रतियोगिताको प्रचार प्रसार समितिका संयोजक मणिनाथ घिमिरे, वडा नं. २ का वडाध्यक्ष धुव्र मिश्र लगायतका प्रतियोगितासंग सम्बन्धित सरोकारवालाहरुले पत्रकार सम्मेलन मार्फत आवश्यक तयारी पूरा भएको बताउनुभएको हो ।

पत्रकार सम्मेलनमा गाउँपालिकाको अध्यक्ष रमेश तामाङको अनसार २५ गते अपरान्ह पूर्वप्रधानमन्त्री एंव नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट उद्घाटनको हुने र २८ गते काँग्रेसका बरिष्ठ नेता एंव पूर्व उपप्रधानमनत्री रामचन्द्र पौडेलबाट समापन गर्न लागिएको प्रतियोगिताको लागी खेल मैदान, आयोजना र समापन गरिने स्थान, प्रतियोगितामा सहभागि हुने सबै समूह र अतिथी लगायतको आवश्यक सबै तयारी पूरा भएको जानकारी दिइएको छ । ‘खेल मार्फत पालिकास्तरीय सम्बन्ध बृद्धि : स्वस्थ्य जनशक्ति, पर्यटन प्रबद्धन, विकास र समृद्धि’ भन्ने नारा सहित सञ्चालन गर्न लागेको प्रतियोगिताको लागी सम्पूर्ण तयारी पूरा भएको गाउँपालिकाको अध्यक्ष रमेश तामाङले बताउनुभयो ।

२५ गते शनिबारदेखि सञ्चालन गर्न लागेको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगितामा नुवाकोटको सूर्यगढी गाउँपालिका बाहेक जिल्लाको सबै स्थानीयतहबाट एक–एक समूह गरेर ११ समूहले प्रतिस्पर्धाको लागी नाम दर्ता गराएको उपाध्यक्ष सिता पराजुलीले जानकारी दिनुभयो । उहाँको अनुसार ११ समूह सहभागि भएको प्रतियोगिता ‘लिग चरण र नकआउट’ चरण मार्फत सञ्चालन गर्न लागिएको छ । उत्कृष्ट हुने समूहलाई एक लाख रुपैयाँ, दोश्रो हुने समूहलाई ७५ हजार रुपैया र तेश्रो हुनेलाई ५० हजार रुपैयाँ उपलब्ध गराउन लागिएको छ ।

यसैबीच, प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको अवसर बनाई १३औँ सागमा नेपाललाई पदक जिताउन सफल हुनुभएका पञ्चकन्या गाउँपालिकाबासी अनु अधिकारी र अनिता अधिकारी–भण्डारीलाई नगद पचास हजार रुपैयाँले सम्मान गर्न लागिएको छ । यस्तै, नुवाकोट जिल्लामा जन्मेर १३औँ सागमा पदक बिजेता भएका अन्य दशजना खेलाडी मध्ये स्वर्ण पदक बिजेतालाई १५ हजार र रजत पकद बिजेतालाई १० हजार रुपैयाँ सहित सम्मान गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नरेश पुडासैनीले जानकारी दिनुभयो ।

विदुर । रसुवाको कालिका गाउँपालिकाको उपाध्यक्ष भवानीप्रसाद न्यौपानेको नेतृत्वमा रहेको शिक्षासंग सम्बन्धित टोली नुवाकोटको विदुर नगरपालिका र तारकेश्वर गाउँपालिकाको विद्यालयहरुको भ्रमण अवलोकन आएको छ । दुई दिने भ्रमणको लागी नुवाकोट आएको टोलीले विदुर र तारकेश्वरमा सञ्चालनम रहेका विद्यालयसंग अनुभवन आदान प्रदान गर्दै राम्रा पक्षलाई अनुसरण गर्ने र कमजोर पक्ष सुधारका सम्बन्धमा छलफल अघि बढाएर समाधानको लागी पहल गर्न सहायोग पुग्ने विश्वास लिएको उपाध्यक्ष न्यौपानले बताउनुभयो । नुवाकोटको दुई स्थानीयतहमा रहेका विद्यालयमा बिहीबारदेखि सुरु गरेर शुक्रबारसम्म दुई दिनसम्म चल्ने भ्रमणअवलोकनमा रसुवाको कालिका गाउँपालिकाको उपाध्यक्ष भवानीप्रसाद न्यौपाने सहित वडाध्यक्षहरु, विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानध्यापक लगायतको सहभागिता रहेको छ ।

विदुर । विश्व बैंकले भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि करिब २२ अर्ब ८० करोड रुपैयाँ ऋण सहयोग गरेको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच विश्व बैंकका प्रतिनिधि र नेपाल सरकारका प्रतिनिधिबीच भूकम्पीय आवास पुनर्निर्माण आयोजनाका लागि ऋण सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौता पत्रमा नेपाल सरकारको तर्फबाट अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गर्नुृभएको हो । दोश्रो थप ऋण सहायता स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौताअनुसार प्राप्त विश्व बैंकको पछिल्लो सहयोग रकमलाई भूकम्प प्रभावित ३२ जिल्लाका ८६ हजार ६ सय ८० वटा आवास निर्माणमा खर्च गरिने अर्थमन्त्रालयले जनाएको छ । विश्व बैंकले नेपालमा भूकम्प प्रतिरोधी आवास निर्माण कार्यक्रम सञ्चालन गरिरहेको छ । विश्व बैंकले वर्ष अघिपनि ५५ हजार घर पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।

विदुर । बागमती प्रदेश सरकारले छुट्टै स्वायत्त निकाय स्थापना गरी विद्युतीय बस सञ्चालन गर्ने भएको छ । प्रदेश सरकारले साझा यातायातलाई बस खरिद गर्न रकम उपलब्ध नगराउने र आफैँ बस खरिद गरी सञ्चालन गर्ने तयारी अगाडि बढाएको जनाएको छ ।

संघीय सरकारले साझा यातायातलाई विद्युतीय बस खरिद गर्न दिएको तीन अर्ब फिर्ता लिने निर्णय गरेको थियो । प्रदेश सरकारले साझा यातायातलाई ३० करोड रुपैया रकम दिने प्रतिबद्धता जनाएपनि हालसम्म उपलब्ध नगराइसकेको बताइएको छ । यस्तै, प्रदेश सरकारले अब बस खरिद र प्रदेशभित्रको यातायात व्यवस्थापन गर्न ‘यातायात निगम’ स्थापनाको तयारी अघि बढाएको जनाइएको छ । यसका लागि आवश्यक छलफल भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले जानकारीले दिनुभयो ।