काठमाडौं,पुस १३ । भारतको सिलगुढीमा जारी चौथो संस्करणको साफ महिला च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरूद्ध ९ गोल गरेको छ। बुधबार कञ्चनजंघा रंगशालामा भएको खेलमा नेपालले माल्दिभ्समाथि ९-० को जित दर्ता गरेको हो। नेपालका लागि साबित्रा भण्डारीले ५ गोल गरिन्। नेपालको लागि साबित्राले खेलको १२’ २८’ ३९’ ५०’ ६३’ साबित्रा भण्डारी, ५२’ मन्जली कुमारी योञ्जन, ७१’ सपना लामा,७४’ हिराकुमारी भुजेल निर्मला विकेले इन्जुरी समयको तेस्रो मिनेटमा गोल गरेकी हुन् ।

पहिलो खेलमा भुटानलाई ८–० ले हराउँदा दोहोरो ह्याट्रिक गरेकी सावित्राले माल्दिभ्सविरुद्ध पनि ह्याट्रिकसहित ५ गोल गरिन्। आजको जीतसँगै समूह ए मा रहेको नेपालले ६ अंकसहित शीर्ष स्थानमा मजबुत भएर बसेको छ। यस्तै नेपालसँग पराजित माल्दिभ्स ३ अंकसहित दोस्रो स्थानमा छ। अब नेपालले पर्सी श्रीलंकासँग अन्तिम लिग खेल खेल्नेछ। आजै भएको पहिलो खेलमा श्रीलंकाले भुटानलाई २-०ले हरायो।

काठमाडौं,पुस १३ । एमालेले संविधान संशोधन प्रस्तावको विरोधमा यही पुस २२ गते काठमाडौँमा विपक्षी दलको आयोजनामा हुने विरोध प्रदर्शनमा उपत्यकामा रहेका आफ्ना सबै सङ्गठित सदस्यलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सरकारद्वारा अघि सारिएको संविधान संशोधनसम्बन्धी प्रस्ताव संविधान, जनभावना र राष्ट्रिय एकता, सामाजिक सद्भावविरोधी समेत रहेको निष्कर्षसहित उक्त प्रस्तावको विपक्षमा रहेका एमाले सहितका नौ राजनीतिक दलले विरोध प्रदर्शनको तयारी गरेका हुन् ।

विरोध प्रदर्शनलाई संयोजन गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा गठित समितिको बुधबारको बैठकले आफ्ना उपत्यकामा रहेका सबै सदस्य सडकमा उतार्ने योजना बनाएको हो । उपत्यकामा एमालेका ५० हजार सदस्य रहेको बताइन्छ । प्रदर्शनका लागि व्यापक जनसहभागिता गराउन आन्तरिक बैठकको समय निर्धारण र तराईबाट समेत कार्यकर्ता राजधानी ओसारिने महासचिव पोखरेलको सचिवालयले जनाएको छ । रासस

काठमाडौं- पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली म्युजिक भिडियोमा देखिने भएका छन् । एमाले पार्टी कार्यालय धुम्बाराहीमा राष्ट्रिय गितको म्युजिक भिडियोमा ओलीले अभिनय गरेका हुन् । पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीलाई म्युजिक गीतको अभिनयमा रिपोर्टस क्लवका अध्यक्ष ऋषि धमालाले साथ दिएका छन्। त्यस्तै ओलीमाथि फिल्म बन्ने पनि घोषणा गरिएको थियो । केपी ओलीको बाल्यकालदेखि हालसम्मको जीवनलाई प्रस्तुत फिल्म ‘रातो सूर्य’को घोषणा समते गरिएको छ । फिल्मलाई दीपेन्द्र प्रसाद दाहालले लेखिरहेका छन् भने उनैले निर्देशन गर्नेछन् ।

यसअघि झापाको सुखानी काण्डमाथि ‘सुखानी’, विपी कोइरालामाथि वृत्तचित्रलगायत निर्देशन गरेका दाहालले ओलीमाथि फिल्म बनाउने उद्देश्यले सात वर्षदेखि अनुसन्धान गरिरहेको दाबी गरेका छन् । । उनको भनाइमा ओलीको बाल्यकालदेखि हालसम्मका यथार्थ घटना देखाइने छ । फिल्म बने पनि त्यसमा ओलीले अभियन गर्ने नगर्ने विषय टुङ्गो लागेको छैन्।

काठमाडौं,पुस १३ । पछिल्लो समय राजनीतिप्रति वितृष्णा बढे पनि स्वास्थ्यमन्त्री गगन थापा युवानेताका रूपमा रुचाइएका छन् । यी नेताले आफ्ना समकालीन तथा अरू युवानेतालाई कसरी चिन्छन् त ? थापाले अलग–अलग पार्टीका ६ युवानेता छाने र उनीहरूबारे भने ।

जिम्मेवारी पूरा गरेरै छाड्ने प्रदीप पौडेल

प्रदीप पौडेलसँगको मेरो संगत स्कुले जीवनदेखिकै हो । उनी मिहिनेती छन् । आफूलाई दिएको जिम्मेवारी जसरी पनि पूरा गर्ने उनको स्वभाव छ । उनको अर्को राम्रो पक्ष के हो भने उनी नजानेको विषय सिक्न संकोच मान्दैनन् । उनी सरल छन् । र, जोसुकैसँग पनि घुलमिल हुन सक्छन् । उनीसँगको संगत वर्षौंसम्म पनि समान रहन्छ ।

जेनेरेसनकै ह्यान्डसम योगेश भट्टराई

उमेरमा जेठो भएकाले उहाँलाई म योगेश दाइ भन्छु । उहाँकोे व्यक्तिगत जीवनशैली पनि राम्रो छ, सधैँ एउटै । उहाँलाई म यो ‘जेनेरेसन’कै ‘ह्यान्डसम’ नेता भन्न रुचाउँछु । उहाँको आफूलाई सधैँ ‘मेन्टेन’ गर्ने जुन शैली छ, त्योबाट हाम्रो पुस्ताले सिक्नुपर्छ ।

उहाँमा ‘पोलिटिकल क्लारिटी’ छ र सँगसँगै ‘स्ट्यान्ड’ पनि । अन्तरपार्टी छलफलमा पनि उहाँ सहज हुनुहुन्छ । उहाँको सबभन्दा राम्रो ‘क्वालिटी’ भनेको ‘क्रसपार्टी’ काम गर्न सक्नु हो ।

झोँकी तर कामका भोका जनार्दन शर्मा

जनार्दन शर्मा भूमिगत हुँदादेखि नै मैले ‘फलो’ गरेँ । उहाँ झोँकी स्वभावका लाग्नुहुन्छ । तर, उहाँको काम गर्ने भोक गज्जबको छ । कामप्रति लगाव छ । संसदीय समितिमा छलफल भएका विषयमा उहाँ मन्त्रिपरिषद्मा लड्नुहुन्छ । उहाँ हरेक विषयमा खरो उत्रिने मान्छे हो।

वाकशैली गज्जब भएकी अनुराधा थापामगर

नेपाल मजदुर किसान पार्टीको विशेषता नै हो– संसदीय अभ्यासलाई भरपुर उपयोग गर्ने । पार्टीगत हिसाबले आधारभूत कुरामा उहाँहरूसँग असहमति भए पनि उहाँहरूको प्रस्तुति सम्मानलायक छ ।

यही दलकी सांसद अनुराधाजीको पनि छुट्टै प्रभाव छ । उहाँ संसदमा उठाउने विषयमाथि गम्भीर अध्ययन गर्नुहुन्छ । उहाँको प्रस्तुतिको शैली लिखित बोलीझैँ एकदमै ‘हेभी’ लाग्छ । पूर्वतयारीसाथ भएकाले पनि होला, उहाँको वाककला लोभलाग्दो छ । उहाँ विषयप्रति गम्भीर, कामप्रति समर्पित लाग्छ ।

मधेसप्रति लगाव भएका मनीषकुमार सुमन

मनीषकुमार सुमनमा मधेसी मुद्दाप्रति भित्रैदेखि लगाव छ । देखाउन मात्र नभएर उहाँ मधेसप्रति साँच्चै संवेदनशील भएर ‘अजेन्डा’ उठाउनुहुन्छ । बल्झाउने वा ‘बार्गेनिङ’ गर्नेभन्दा पनि उहाँमा समस्या समाधान गर्ने ‘नेचर’ छ ।

अहिलेको राजनीतिमा अर्काको जुत्तामा आफ्नो खुट्टा पनि हाल्न सक्ने स्वभावको युवा नेता चाहिएको छ । यो विशेषता मनीषमा छ ।

समन्वयकारी अइन्द्रसुन्दर नेम्वाङ

अइन्द्रसुन्दर नेम्वाङसँग मेरो चिनजान भएको लामो समय भयो । संविधासभाको मस्यौदा तयार पार्दा मैले उहाँसँगै काम पनि गरेँ । उहाँ संयोजक रहेको मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र आयोगसम्बन्धी उपसमितिको म सदस्य थिएँ । त्यही आधारमा मलाई उहाँ अत्यन्त समन्वयकारी लाग्यो ।

उहाँमा फरक–फरक राजनीतिक धारलाई मिलाउन सक्ने क्षमता छ । उहाँले भरसक सबैलाई मिलाएर लाने कोसिस गर्नुभयो । सानो पार्टीको युवा नेता हुनुका बाबजुद उहाँमा राष्ट्रिय नेतामा हुनुपर्ने गुण छन् । नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।

काठमाडौं,पुस १३ । चर्चित स्मार्टफोन ‘आइफोन’ बोक्ने ग्राहकले सुरु हुने बित्तिकै नेपाल टेलिकमको फोरजी (चौथो पुस्ताको मोबाइल) सेवा चलाउन नपाउने भएका छन्। नेपाल टेलिकमले समयमै आइफोमा फोरजी चल्ने (कम्प्याटिबल) बनाउन पहल नगरेकाले उपभोक्ताले सुरुमै यो सेवा हुने भएका हुन्। आगामी आइतबार पुस १७ गते (जनवरी १) देखि काठमाडौं उपत्यका र पोखराबाट फोरजी सेवा चलाउन टेलिकम अन्तिम तयारीमा जुटेको छ। त्यसका लागि टेलिकमले केही दिनदेखि प्राविधिक परीक्षण गरिरहेको छ।

परीक्षणका क्रममा अमेरिकी ब्रान्ड एप्पलका फोरजी चल्ने मोडलमा समेत टेलिकमको फोरज भने नचलेको हो। ‘टेस्टिङका क्रममा आइफोनका फोरजी कम्प्याटिबल मोडलमा समेत चलनेन,’ टेलिकमका एक प्राविधिकले भने, ‘एप्पलले टेलिकमको नेटवर्कका लागि ‘लोकेसन इनेबल’ नगरिदिएकाले यस्तो भएको हो।’ उनका अनुसार टेलिकमले पहिले नै फोरजीका लागि आफ्ना उपकरणको सुरक्षामा बढी सचेत एप्पलसँग सम्झौता नगरेकाले यस्तो समस्या आएको हो। तर, एनसेलले भने अनुमति पाउनुपूर्व नै एप्पलसँग यस्तो सम्झौता गरी आफ्नो नेटवर्कको फोरजी सेवा चल्ने बनाइसकेको छ।

आइफोनका ‘फोर–एस’, ‘फाइभ’, ‘फाइभ–सी’, ‘सिक्स’, ‘सिक्स–एस’, ‘सेभेन’ र ‘सेभेन–प्लस’ मोडलमा फोरजी चल्छ।

परीक्षणका क्रममा आइफोनमा फोरजी नचलेर समस्या आएको एप्पलका लागि नेपालको वितरक जेनेरेसन नेक्टका सञ्चालक पवन भिमसेरियाले पुष्टि गरे। ‘एप्पल अरू कम्पनी जस्तो हैन, हरेक कुरामा एप्पलको आफ्नै प्रणाली छ,’ उनले भने, ‘टेलिकमले पहिले फोरजी चलाउनका लागि एप्पललाई आग्रह गर्नुपर्नेमा नगर्दा समस्या आएको हो।’

आइफोनमा फोरजी नचल्ने देखिएपछि टेलिकमले भिमसेरियालाई फोरजी चल्ने बनाइदिन आग्रह गरेको थियो। ‘हामीले शुक्रबारै एप्पलको मुख्य कार्यालय र सिंगापुर कार्यालयमा अनुरोध गरिसकेका छौं,’ भिमसेरियाले भने, ‘अहिले उता क्रिसमसको बिदा परेकाले रेस्पोन्स आउन कम्तीमा एक साता लाग्ने देखिन्छ।’

एप्पलले आफ्ना उपकरणमा ‘लोकेसन इनेबल’ गरेपछि मात्र निश्चित प्रविधि चल्ने प्रणाली विकास गरेकाले समस्या भएको टेलिकमका ती अधिकारीले बताए। ‘हरेक सेवा प्रदायकका नेटवर्कको लोकेसन कोड हुन्छ, त्यसलाई इनेबल नगरी आइफोनमा फोरजी नचल्ने रहेछ,’ उनले भने, ‘टेलिकमले त्यसैका लागि अहिले एप्पलसँग अनुरोध गरेको हो।’

नेपाल टेलिकमको लोकेसन कोड ‘४२९०१’ हो भने एनसेलको ‘४२९०२’ हो। एप्पलले लोकेसन कोड ‘४२९०२’ लाई मात्र ‘इनेबल’ गरेकाले टेलिकमका समस्या देखिएको हो। एनसेल आइफोनको ‘बन्डलिङ पार्टनर’ (सिमकार्डका साथ आइफोन बेच्ने साझेदार) समेत भएकाले उसले पहिले नै ‘लोकेसन इनेबल’ गरिदिएको हो।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले भने त्यस्तो समस्याबारे आफूलाई जानकारी नभएको बताए। ‘मलाई त्यस्तो समस्या आएको जानकारी छैन,’ उनले भने, ‘आएकै भए पनि हामी फोरजी सुरु हुने दिनसम्म समाधान गरी उपभोक्तालाई सेवा दिनेछौं।’ टेलिकम अधिकारीहरूका अनुसार हाल नेपाल टेलिकमको थ्रिजी (तेस्रो पुस्ताको मोबाइल सेवा) चल्ने सिमकार्ड प्रयोग भएका करिब २ लाखभन्दा बढी आइफोन प्रयोगकर्ता छन्।

त्यसमध्ये करिब १ लाख ७० हजार जति आइफोनमा भने फोरजीसमेत चल्ने देखिएको छ। आइफोनका ‘फोर–एस’, ‘फाइभ’, ‘फाइभ–सी’, ‘सिक्स’, ‘सिक्स–एस’, ‘सेभेन’ र ‘सेभेन–प्लस’ मोडलमा फोरजी चल्छ। एप्पल अधिकांश ब्रान्डका मोबाइल सेटमा फोरजी चल्ने बिक्रेताहरूले बताएका छन्। अहिले बजारमा रहेकामध्ये २५ देखि ३० प्रतिशत सेटमा फोरजी चल्ने बिक्रेताहरू बताउँछन्। सरकारले गत कात्तिक ५ गते टेलिकमलाई फोरजी सेवा सञ्चालनको अनुमति दिएको थियो। अनुमतिअनुसार टेलिकमले आइतबारदेखि देखि फोरजी सेवा सुरु गर्नुपर्नेछ। आजको कान्तिपुर दैनिकमा समाचार छ ।

काठमाडौं,पुस १३ । सर्वोच्च अदालतले ऊर्जा मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको छ । सर्वोच्चले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिका तीन सदस्यलाई हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिदै सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको छ ।

लोडसेडिङ अन्त्य गर्ने अभियानमा अवरोध गरेको भन्दै मन्त्रालयले ४ पुसमा सञ्चालक समिति सदस्यहरु लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई हटाएको थियो । त्यस विरुद्ध लामिछाने पुस १२ गते सर्वोच्च गएका थिए । बुधबार सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले अन्तरिम आदेश दिएको हो ।

उनिहरुको स्थानमा नेपाल विद्युत प्राधिकरणले रुकुम पूर्तिमकाँडा-६ का भक्तबहादुर पुन, बाजुरा मार्तडी-३ का चेतराज जोशी र सुर्खेत विरेन्द्रनगर-६ का उमेशप्रसाद थानीलाई सञ्चालक समिति सदस्यमा नियुक्त गरिसकेको छ ।

काठमाडौं पुस ११ – सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८ सय मिटर दौड तथा ४ गुणा ४ सय मिटर रिलेमा स्वर्ण जिते । चन्द्रकलाले सटपुट र ज्याभ्लिन दुवै कीर्तिमानी स्वर्ण जितिन् । समग्रमा आर्मीले सर्वाधिक २२ स्वर्ण जित्दै टिम च्याम्पियन बन्यो ।

पुरुष १० हजार मिटर दौडमा गोपीचन्द पार्की पहिलो भए । उनले निर्धारित दूरी ३१ मिनेट ३९.०५ सेकेन्डमा पूरा गरे । सो स्पर्धाको महिलामा ३७ मिनेट १६.९० सेकेन्ड समय खर्चदै एपीएफकी कान्छीमाया कोजु स्वर्ण जित्न सफल भइन् । पुरुष ४ सय मिटर दौडमा आर्मीका सोमबहादुर कुमाल पहिलो भए । उनले ४९.६८ सेकेन्ड समय खर्चे । सोही स्पर्धाको महिलामा आर्मीकी संगीता मेचे पहिलो भइन् । निर्धारित दूरी संगीताले १ मिनेट ०२.६० सेकेन्डमा तय गरिन् । ४ सय मिटर पुरुष हर्डल्समा आर्मीका रामप्रसाद थारु पहिलो भए ।

४ गुणा १० मिटर रिलेको पुरुषमा आर्मी पहिलो, मध्यमाञ्चल दोश्रो र एपीएफ तेश्रो भए । उक्त स्पर्धाको महिलामा आर्मी पहिलो, मध्यपश्चिमाञ्चल दोश्रो तथा एपीएफ तेश्रो भए ।

काठमाडौं,पुस १२ । सोलिडारिटी कप च्याम्पियन नेपालले एएफसी एसियन कप छनोट खेल्न पाउने भएको छ । एसियाली फुटबल महासंघले नेपाललाई एएफसी एसियन कप छनोट खेल्न प्रस्ताव गरेको हो ।

एसियन कपमा छनोट भएको गुवानले प्रतियोगिताबाट नाम फिर्ता लिएपछिएएफसीमा गुवामको स्थानमा नेपाललाई छनोट गरेको हो ।

एसियन कप छनोटको ड्र २३ जनवरी २०१७ मा हुनेछ । २४ देशबीच हुने छनौटबाट १२ टिमले २०१९ मा यूएईमा हुने प्रतियोगिता खेल्नेछन् । छनोट खेल्ने २४ देशलाई ६ समूहमा विभाजन गरिनेछ । समूहको शीर्ष स्थानमा रहने दुई टिम एसियन कपका लागि छनोट हुनेछन् ।

नेपालले यसअघि नै एसिया कप छनोट खेल्ने मौका पाएपछि पहिलो चरणमै असफल भएको थियो । विश्व कप २०१८ र एएफसी एसिया कप २०१९ का लागि भएको होम एन्ड अवे छनोटमा नेपाललाई भारतले हराएको थियो । भारतमा २–० ले पराजित भएको नेपालले काठमाडौंमा भने गोलरहित बराबरी खेलेको थियो । पहिलो चरणमै असफल भएपछि नेपालले फेरी एकपटक एएफसीको माथिल्लो स्तरको प्रतियोगिताको छनोट खेल्ने मौका पाउने लागेको हो ।

१२ पुस, नुवाकोट । स्वर्गिय पत्रकार कर्ण बोहराका श्रीमति ममता वोहराको मिर्गौलाको उपचारका लागि नेपाल पत्रकार महासंघ नुवाकोट शाखाले १० हजार रुपैयाँ सहयोग गरेको छ । दुवै मृर्गौला खराब भएर प्रत्यारोपणको प्रतीक्षामा रहनुभएका पत्रकार स्वर्गीय बोहराका श्रीमती ममताको उपचारको लागी नुवाकोट शाखाले नगद १० हजार रुपैयाँ उहाँको बैंक खातामा जम्मा गरेको सभापति प्रकाशकुमार अधिकारीले जानकारी दिए ।
दुबै मृर्गौला खराब भएर काठमाडौँको भेनस अस्पतालमा उपचार गराउदै आएका ममताको उपचारका लागि सहयोग पु¥याउन जिल्ला शाखा नुवाकोटले १० हजार रुपैयाँ प्रदान गरेको सभापति अधिकारीले बताए । मिर्गौैला उपचारको लागी काठमाडौको भेनस अस्पतालमा उपचार गराउदै आएका ममता बोहराको श्रीमान पत्रकार कर्ण बोहराको गएको मंसिर १० गते निधन भएको थियो ।

काठमाडौं,पुस १२ । व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिका सदस्य सोमबार एकान्तकुनास्थित सवारीचालक अनुमतिपत्र कार्यालय बागमती पुग्दा कार्यालय प्रमुख भेटिएनन् । टोली एकान्तकुनामा रहेका यातायात व्यवस्था कार्यालय र समस्याबारे बुझ्न सोमबार बिहान ११ बजेतिर कार्यालय पुगेका थियो । त्यतिबेला सवारी चालक अनुपतिपत्र कार्यालयका प्रमुखले कुलेलाप ठोकिसकेका थिए । सुशासन समिति अनुगमनका लागि आउने जानकारी हुँदाहुँदै पनि सवारी चालक अनुमति कार्यालयका प्रमुख तेजनारायण यादव कार्यालयबाट बाहिरिएको समितिका सभापति मोहनसिंह राठौरले वताए ।

टोलीले कार्यालयमा अत्यन्तै अस्तव्यस्ता फेला पार्यो । कार्यालयको नाम र छाप नै नभएको रसिद सेवाग्राहीलाई दिएको समेत भेटियो । यहाँ ठूला सवारीको दर्ता, लाइसेन्स दिने, खारेज गर्नेलगायतको काम हुने गर्छ । आजको राजधानी दैनिकमा समाचार छ । बिचौलियाको बिगबिगी हुने सो कार्यालयमा सेवाग्रार्हीले निकै दुख पाउने गरेको गुनासो गर्दै आएका छन् । कार्यालयमा सेवाग्राहीको भीड, अस्तव्यस्त कार्यप्रणाली देख्दा कुनै मेलामा पुगेजस्तो अनुभव भएको सुशासन समितिका सांसदहरुले वताए ।

पप्पु गुरुङ्, ११ पौष, दोधारा चाँदनी । दोधारा चाँदनीमा कार्यक्रमको सुरुवात क्रम संगै खाजा, नास्तामा बिबादमा चुलीदै आएको ग्रामिण सामुदायिक बिकास केन्द्रले संचालन गरेको सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि स्थानिय पहल कार्यक्रममा आर्थिक हिसाव किताव निश्पक्षता गर्न स्थानियहरुले माँग गरेका छन् । दोधारा चाँदनीमा भए गरेका धेरै कार्यक्रममा संस्थाले आएको रकम खर्चा नगरेर रकम जोगाउने कार्य गरेको स्थानियहरुको आरोप रहेको छ् । बिद्यालय स्तरिय कार्यक्रममा दोधारा चाँदनीका ५ वटा उच्च माबिमा कार्यक्रम गरेर रकम जोगाएको स्थानिय शिक्षिका करन मगरले जानकारी दिएका छन् । कार्यक्रममा छुट्याईएको रकम रु. १ सय ५० रुपियाँको नास्ता तथा खाजा खुवाउने साटो ५ बिद्यालय तथा दोधारा चाँदनीमा संचालित बिभिन्न कार्यक्रममा रु. २० देखि रु. ३५ सम्मको नास्ता तथा खाजा खुवाएर रकमको जोगाउदै गरेको सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि स्थानिय पहल कार्यक्रमका कार्यक्रम संयोजक रमेश ओडलाई आरोप लगाएका छन् । कार्यक्रम संयोजक रमेश ओडले अध्यक्ष बिर बहादुरको रु. ४० देखि ५० रुपिया बराबरको कार्यक्रममा नास्ता तथा खाजा खुवाउने निर्देशन अनुसार आफुले अध्यक्षको नियम पालना गरेको बताएका छन् । “अध्यक्ष बिर बहादुर नेपाली ज्युले भने अनुसार रु.४० देखि रु. ५० बराबरको नास्ता खुवाएका हौ” उक्त बिषयमा बिद्यालयका बिद्यार्थी, शिक्षकहरुले समेत आपत्ती जनाएका थिए । बिद्यालय लगाएत कार्यक्रममा २ वटा समोसा, एक टुक्रा जेरी र एक पिस लड्डु खुवाएको बताएका छन् । जसको मुल्य करिब रु. २० हुन्छ् । एक बिद्यालयकोृ एक कार्यक्रममा बिद्यार्थी, शिक्षक तथा बिद्यालय ब्यवस्थापन समिति लगाएतलाई हल भाडा, यातायात तथा खाजा, नास्ता खुवाए बाफत रु. ११ हजार २ सय ५० खर्च गर्ने कार्यक्रम भएपनि श्री अम्बिका उच्च माबिमा हल भाडा यातायात तथा खाजा, नास्तामा रु. ५ हजार ४ सय, भानु उच्च माबिमा रु. ४ हजार ९ सय, लक्ष्मी उच्च माबिमा रु. ३ हजार ९ सय, शारदा सरस्वती उच्च माबिमा रु. ५ हजार ४ सय र युनिक सनराईज उच्च माबिमा रु. ५ हजार ४ सय रकम खर्च गरेको कार्यक्रम संयोजक रमेश ओडले जानकारी दिएका छन् । उच्च माबि स्तरिय अभिमुखिकरणमा यातायात खर्चा रु. २ सयको दरले १५ जनालाई दिने भनिएको सुनिए पनि लक्ष्मी उच्च माबिको कार्यक्रममा मात्र ३ जनालाई रु. ६ सय दिएको लक्ष्मी उच्च माबिका एक शिक्षकले बताएका छन् । यस सम्बन्धमा संस्थाका अध्यक्ष बिर बहादुर नेपालीले “मिलाएर खर्चा गर्नु भनेको छु” भनेको बताए । दोधारा चाँदनीको भानु उच्च माबि, लक्ष्मी उच्च माबि, सनराईज उच्च माबि, शारदा सरस्वती उच्च माबिमा ग्रामिण सामुदायिक बिकास केन्द्रले बिद्यार्थीहरुमा बिद्यालय स्तरिय स्लोगन प्रतियोगिता तथा सदभाव बढाउने बिभिन्न कार्यक्रम संस्थाले गरेको हो । “कार्यक्रमको लागी छुटयाईएको रकममा कम खर्चा गरेर सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि स्थानिय पहल कार्यक्रमका संचालक तथा अध्यक्षले ठुलो रकम संस्थाले जोगाउने कार्य गरेको दखिएको छ्” एक शिक्षकले भने– “कयौं कार्यक्रममा ५० प्रतिशत पनि रकम खर्च भएको छैन” सामुदायिक सुरक्षाको अवस्थामा र सामाजिक एकता तथा सदभाव अभिबृद्धि गरी सकारात्मक शान्ति सहितको सभ्य समाज निर्माणका लागी जनताका बिचमा खुल्ला सहकार्य र समन्वय गर्न, आवश्यक जनचेतना अभिबृद्धि गर्ने उद्धेश्यले दोधारा चाँदनी क्षेत्रमा संचालन आएपनि कार्यक्रमको संस्थाले पारदर्शीता नगर्दा संस्थाले लुकीछिपी कार्यक्रम संचालन गर्दै आएका अर्का स्थानिय डम्मर गुरुङ्गले जानकारी दिएका छन् । “निश्पक्षता कार्यक्रम नगर्दा ग्रामिण सामुदायिक बिकास केन्द्रलाई हामीले बहिष्कार गरेका हौ । तै पनि दोधारा चाँदनीमा संस्थाले लुकीछिपी कार्यक्रम संचालन गरिनै रह्यो” स्थानिय डम्मर गुरुङ्गले भने । यस्ता अपारदर्शी तथा रकम जोगाउने संस्थालाई आगामी दिन पस्न दिन रोक्नु पर्ने गुरुङ्गको भनाई रहेको छ् । “कार्यक्रममा बिल भर्पाई बढाएर रकम जोगाउने चलखेल भएको छ्” ग्रामिण सामुदायिक बिकास केन्द्रका एक पदाधिकारी श्रोतले भन्यो । श्रोत अनुसार संस्थाका अधिकांश पदाधिकारीलाई सामाजिक एकता र सदभाव प्रवद्र्धनका लागि स्थानिय पहल कार्यक्रम संचालनमा कहिले सुरु भयो र कहिले समाप्त भयो भन्ने बारे समेत थाहा नभएको बताएका छन् । “कार्यक्रममा एकल निर्णय छ्” एक पदाधिकारीले भने । दोधारा चाँदनीका अधिकांशलाई कार्यक्रमको बारे थाहै नभएको स्थानियहरुले बताएका छन् ।

काठमाडौं,पुस ११ । पार्टी विभाजनको १४ महिनापछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई एउटै मञ्चमा देखिएका छन्। माओवादी नेता एव सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनीमा आधारति पुस्तक ‘चाचा’ को लोकापर्ण कार्यक्रममा दाहाल र भट्टराई एउटै मञ्चमा उपस्थिति भएका हुन्।

सोमबार महेन्द्र पुलिस क्लबमा आयोजित पुस्तक विमोचन कार्यक्रममा दाहाल र भट्टराईले संयुक्त रुपमा पुस्तक विमोचन गरे। पाण्डेको गत कात्तिक २९ गते ६२ वर्षको उमेर क्यान्सरबाट निधन भएको थियो। माओवादी जनयुद्धमा हतियार सप्लाइमा महत्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डे निडर नेताका रुपमा स्थपित भएका थिए। भट्टराईले पार्टी परित्याग गरी नयाँ शक्ति गठन गरेपछि दाहालसँग औपचारिक रुपमा एउटै मञ्च प्रयोग गरेको यो पहिलो पटक हो।

जनयुद्धका उपलब्धि जोगाउन एक हुनुको बिकल्प छैन, ‘प्रधानमन्त्री’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन सबै शक्ति एक हुनुको बिकल्प नभएको बताउनु भएको छ । माओवादी केन्द्रका सांसद स्व. भक्तिप्रसाद पाण्डेको स्मृतिमा प्रकाशित पुस्तक ‘चाचा’ भक्तिप्रसाद पाण्डेको सङ्घर्ष यात्राको बिमोचन गर्दै प्रधानमन्त्रीले ऐतिहासिक उपलब्धि जोगाउन जनयुद्धकालीन शक्तिहरु एक हुनुको बिकल्प नभएको बताउनु भएको हो ।

पुस्तक बिमोचन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘जनयुद्धले गणतन्त्र त ल्यायो, नयाँ संविधान पनि आयो, संघीयता, समावेशिता, धर्मनिरपेक्षता जस्ता उपलब्धि पनि हासिल भए । तर, अहिले माओवादी शक्तिहरु केही कमजोर भएको देखेर यी उपलब्धिहरु उल्टाउन सकिन्छ कि भनेर कोशिस हुँदैछ । तसर्थ, जनयुद्धका उपलब्धि जोगाउन जनयुद्धकालीन माओवादीका सबै धाराहरु एकतावद्ध हुनुको बिकल्प छैन ।’

कार्यक्रममा प्रधानमन्त्रीले सँगै रहनुभएका नयाँ शक्तिका नेता डा. बाबुराम भट्टराईप्रति इंगित गर्दै भन्नुभयो, ‘संविधान त बन्यो । तर, यसले मात्रै एउटा युगको प्रतिनिधित्व गर्दैनथ्यो । संविधान कार्यान्वयनको चुनौतिपूर्ण कार्यभार बाँकी नै थियो । हामी बहस गर्दै साझा निष्कर्षमा पुग्न सक्थ्यौं । तर, बाबुरामजी हतारिनुभयो । उनको बहिर्गमन अहिले पनि मलाई सामान्य लागेको छैन ।’

बिमोचन कार्यक्रममा प्रधानमन्त्रीले जतिसुकै कोशिस भएपछि २०४७ सालतिर फर्काउन नसकिने ठोकुवा गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान कार्यान्वयन नभए हाम्रो के जान्छ र ? २०४७ साल नै ठीक थियो भन्नेसम्मका छलफल चल्न थालेका छन् । तर, अब मुलूक २०४७ तिर जाँदैन, जाने २०७४ तिरै हो । तर, माओवादी आन्दोलन र नेतृत्व कमजोर भयो भने जनताको मनोभावनालाई अराजकतातिर लैजाने कोशिस हुन्छ । त्यसबाट मुलूकलाई बचाउन पनि हामी एकतावद्ध हुनैपर्छ ।’

कार्यक्रममा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता दीनानाथ शर्मा, भक्तिप्रसाद पाण्डेका पुत्र विश्वद्धीप पाण्डेले भक्तिप्रसाद पाण्डेको जीवन आदर्शपूर्ण जीवन भएकोमा जोड दिँदै नेपालको परिवर्तनको आन्दोलनमा उहाँले विशिष्ट भूमिका निर्वाह गरेको बताउनु भयो ।