काठमाडौं,पुस १६ । सरकारले लोडसेडिङ अन्त्य गर्ने अभियानलाई थप सहयोग गर्न आइतबारदेखि भारतबाट थप ४० मेगावाट विद्युत् भित्राउने भएको छ । गत साता नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको नोडल एजेन्सी एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) बीचमा भएको पूरक विद्युत् व्यापार सम्झौता अनुसार थप ८० मेघावाट मेगावाट विद्युत् ल्याउने सम्झौता भएको थियो ।

नेपालले भारतबाट हाल आयात भइरहेको ८० मेगावाटका अतिरिक्त ४० मेगावाट समेत गरी १२० मेगावाट विद्युत् ढल्केबर– मुजफ्फरपुर ४०० केभी प्रसारण लाइनबाट आयात गर्ने भएको हो ।

सम्झौताअनुसार पहिलो चरणमा मा पुस १७ गते देखि ४० मेगावाट र आवश्यक परे माघ १८ देखि जेठ १८ गतेसम्म अर्को ४० गरी कुल ८० मेगावाट विद्युत् आयात हुनेछ । नेपालले थप विद्युत् पनि हालकै मूल्य अर्थात् ५ रुपैयाँ ७५ पैसामै प्राप्त गर्ने भएको छ । यो विद्युत् आयातपछि नेपालले भारतबाट आयात गर्ने विद्युत्को परिमाण करिब तीन सय ८० मेगावाट पुग्नेछ ।

नेपाल विद्युत् प्राधिकरणले यो हिउँदमा १ हजार ४ सय ७५ मेगावाट विद्युत् माग हुने प्रक्षेपण गरेको छ । हाल प्रतिदिन पिक आवर विद्युत् माग १ हजार २ सय ६० देखि १ हजार ३ सय २० मेगावाटको बीचमा रहेको छ ।

अनुसन्धान विभागका कर्मचारीः तलब सरकारको, सेवा हाकिमको

काठमाडौं,पुस १६ । राज्यका लागि महत्वपूर्ण सूचना संकलन गर्न भर्ना भएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीहरु हाकिमको घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएका छन् । सरकारी जनशक्तिको चरम दुरुपयोग गर्दै विभागका हाकिमहरुले गुप्तचरलाई आफ्नो व्यक्तिगत कामदार बनाउँदा संगठन नै कमजोर बन्न पुगेको छ ।

विभागको प्रमुखबाट अवकाश पाएको आठ वर्ष भइसक्दा पनि देवीराम शर्माले सइ रामनाथ चौधरीलाई घरेलु कामदारका रुपमा राखेका छन् । सिपाही देखि नै शर्माको घरमा वसेका चौधरी अहिले सइमा बढुवा भइसकेका छन् । चौधरीजस्तै विभागमा धेरै जना सरकारको तलब खाएकाहरुलाई हाकिमहरुले घरेलु कामदारका रुपमा राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ । विभागका प्रमुख दिलिप रेग्मी र एआइजीहरुले समेत तल्लो तहका कर्मचारीलाई आफ्नो घरको काममा लगाउने गरेका छन् ।

ज्ञानेन्द्र शाहले एक्लै छाडेपछि पारसको ‘सुनसान जन्मदिन’

काठमाडौं,पुस १६ । पूर्वराजा ज्ञानेन्द्र शाहले छोरा पारसबाहेक सबै परिवारलाई लिएर थाइल्याण्ड भ्रमणमा निस्किए । नातिनातिनीलाई थाइल्याण्ड, सिंगापुर, मलेसियालगायतका मुलुक भ्रमण गराउन भन्दै पूर्वराजा भ्रमणमा निस्किएपछि पारसको जन्मदिन सुनसान भएको हो । बुहारी हिमानी पनि बसाइको बन्दोवस्त मिलाउन भन्दै पुस १ गते नै थाइल्याण्ड गएकी थिइन् ।

पूर्वरानी कोमल र नातिनातीनासहित ज्ञानेन्द्र शाह पुस ४ गते नै थाइल्याण्ड गएका थिए । उनको भ्रमण टोलीमा १५ जना छन् । तर, पारस छैनन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ । ज्ञानेन्द्र शाह करिब एक महिना थाइल्याण्ड नै वस्ने छन् । शुक्रबार पारसको ४५ औं जन्मदिनमा थोरै मात्रै शुभेच्छुकरुको सहभागिता थियो ।

टेलिकमको फोर–जी भोलीदेखि, कति छ दर रेट

काठमाडौं,पुस १६ । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ ।

‘आइतबार फोरजीको ‘सफ्ट लन्च’ हुन लागेको हो,’ टेलिकमका एक उच्च अधिकारीले भने, ‘त्यसैले गर्दा अहिले व्यावसायिक प्याकेज ल्याइएको छैन, प्रवर्द्धनका लागि पुरानै दरमा चलाउन दिने निर्णय भएको हो ।’ ती अधिकारीका अनुसार हाल दोस्रो पुस्ताको मोबाइल सेवा (टुजी) र तेस्रो पुस्ताको मोबाइल सेवा (थ्रीजी) मा लागू भएकै महसुल दर फोरजीका लागि कायम गरिएको हो ।

टेलिकमले हालसम्म नेपाल दूरसञ्चार प्राधिकरणमा फोरजीको महसुल दर स्वीकृतीका लागि पठाएको छैन । पुरानै दरमा फोरजी लागू गरिएकाले टेलिकमले प्राधिकरणमा नयाँ महसुल प्रस्ताव नगरेको टेलिकमका अधिकारीहरू बताउँछन् । प्राधिकरणका अध्यक्ष दिगम्बर झाले समेत त्यसलाई पुष्टि गरे । ‘टेलिकमले फोरजीका लागि भनेर महसुल दर प्रस्ताव गरेको छैन,’ उनले भने, ‘उनीहरूले प्रवर्द्धनका लागि पुरानै दरमा सेवा दिन सक्छन्, त्यसैले पेस नगरेको हुन सक्छ ।’

शुक्रबार र शनिबार सार्वजनिक बिदा भएकाले टेलिकमले फोरजी औपचारिक रूपमा सुरु गर्नुभन्दा अगाडि नयाँ महसुल दर स्वीकृत गराउने अवस्था छैन । टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भने फोरजीको महसुल दर र प्याकेजबारे आइतबार नै जानकारी दिने बताइन् । ‘हामी सफ्ट लन्चकै बेलामा सबै जानकारी दिनेछौं,’ उनले भनिन् ।

हाल कुनै पनि ग्राहक योजना (प्याकेज) बिना थ्रीजी र टुजी चलाउने ग्राहकले इन्टरनेटका लागि प्रतिमेगाबाइट करबाहेक १ रुपैयाँ तिर्दै आएका छन् । तर, ‘प्याकेज’ मा सहभागी भई ग्राहकले कम दरमा समेत इन्टरनेट चलाउन पाउँछन् । यसैगरी जीएसमए र सीडीएमए मोबाइल सेवाअनुसार फरक दरसमेत छ ।

टेलिकमले परीक्षणका क्रममा काठमाडौं र पोखरामा रहेका आफ्ना कर्मचारीलाई भने फोरजी चलाउन अनुरोध गर्दै एसएमएस गरेको थियो । उसले आगामी शनिबारसम्ममा कर्मचारीहरूलाई फोरजीबारे सुझाव दिनसमेत अनुरोध गरेको छ । टेलिकमले आफ्नै कर्मचारीलाई पठाएको एसएमएसमा भने प्रतिमेगाबाइट ४ पैसा महसुल लाग्ने जानकारी दिएको छ । तर, परीक्षणकालको महसुल ग्राहकलाई लागू नहुने टेलिकमका अधिकारीहरूले बताए ।

भ्वाइसका लागि भने टुजी र थ्रीजी पोस्टपेड ग्राहकले बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म (पिक आवर) का लागि प्रतिमिनेट १ रुपैयाँ र प्रिपेड ग्राहकले १ रुपैयाँ तिर्दै आएका छन् । यो टेलिकमको नेटवर्कबाट टेलिकममै कल गर्दाको दर हो । यसैगरी बेलुका १० देखि बिहान ६ बजेसम्म भने पोस्टपेड मोबाइलमा ५५ पैसा प्रतिमिनेट तिर्नुपर्छ । थ्रीजी पोस्टपेड र प्रिपेडबाट भिडियो कल गर्दा भने प्रतिमिनेट २ रुपैयाँ र एमएमएस पठाउँदा प्रतिमिनेट १ रुपैयाँ ५० पैसा तिर्नुपर्छ ।

फोरजी सेवाका लागि ग्राहकले पुरानै दरमा सेवा लिन पाए पनि त्यसको गति भने तीव्र हुनेछ । यसको गति ३० देखि ४० मेगाबाइट प्रतिसेकेन्ड (एमबीपीएस) बीच हुने टेलिकमका अधिकारीहरूले बताएका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले फोरजीका लागि १ सय एमबीपीएस गति तोकेको भए पनि धेरै मुलुकमा ४० एमबीपीएस गतिको इन्टरनेटलाई फोरजीका रूपमा लिने गरिएको छ । भारतमा समेत सेवा प्रदायकले यही गतिमा फोरजी सुरु गरेका छन् ।

टेलिकमले यसअघि सिमकार्ड बिक्री गर्दै आएका राजधानीका सबै आफ्ना काउन्टरबाट फोरजीको सिमकार्ड बिक्री गर्ने योजना बनाएको छ । पोखराका ग्राहकले भने महेन्द्रपुल शाखाबाट सिमाकार्ड पाउनेछन् । पुरानो सिमकार्डमा फोरजी नचल्ने भएकाले ग्राहकले आइतबारपछि नयाँ सिमकार्ड लिन सक्नेछन् । यसका लागि युनिर्भसल सिमकार्ड (युसिम) लिनुपर्नेछ । टेलिकमका अधिकारीहरूका अनुसार ग्राहकले पहिलेकै जसरी फोरजीको सिमकार्ड साट्न सक्नेछन् । फोरजी चल्ने मोबाइल सेट बोक्ने ग्राहकले युसिम प्रयोग गरी यो सेवा लिन सक्नेछन् । सरकारी स्वामित्वको टेलिकमले नेपालमा पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको हो । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

जापानको प्रधानमन्त्रीले नेपाल भ्रमण गर्नेबारेमा गृहकार्य भैरहेको छ: राजदुत अर्याल

काठमाडौं,पुस १५ । जापानका लागि कार्यवाहक नेपाली राजदुत कृष्ण चन्द्र अर्यालले नेपाल–जापानवीच द्धिपक्षीय उच्चस्तरीय राजनीतिक भ्रमणको लागि आफूले पहल गरिररहेको बताएका छन् । साताव्यापी जापान भ्रमणमा रहेका बेला जापानको टोकियोमा कार्यवाहक राजदुत अर्यालले पत्रकार ऋषि धमलासँगको कुराकानीयमा यस्तो खुलासा गरेका हुन् । उनले भने,‘यो हामी सबैलाई खट्किएको विषय हो । हालै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलेपनि जापानको भ्रमणमा आउनुभएको थियो । उक्त अवसरमा एउटा बुँदा मैले भनेको थिएँ । मैले जापानबाटपनि उच्चस्तरको भ्रमण नभएको बारेमा कुरा उठाएको थिएँ । यो विषयमा त्यतिवेलापनि कुरा उठाईएको थियो । यो जापानबाट हामी गराउने पक्षमा छौं । र नेपालबाटपनि यो गृहकार्य गर्नुपर्छ ।’

उनले अघि थपे,‘अब छिट्टै जापानका प्रधानमन्त्रीले पनि नेपालको भ्रमण गर्ने बारेमा यहाँ कुटनीतिक तहमा छलफल तथा गृहकार्य भैरहेको छ, र नेपालका प्रधानमन्त्रीले पनि जापानको भ्रमण गर्नुपर्छ भन्ने यहाँपनि कुरा उठेको छ।’

राजदुत अर्यालले जापान नेपालको विकासमा हरहमेसा सहयोग गर्न तयार रहेको समेत बताएका छन् । उनले नेपाल र जापानवीच द्धिपक्षीय उच्चस्तरीय राजनीतिक भ्रमण नभएको धेरै लामो समय भएकोले अब यसको लागि आफूले अहिले पहल गरिरहेको समेत जानकारी दिए ।

नेपाल–जापान द्धिपक्षीय सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठ पुगेको अवसरमा आफूहरुले यसको उपलक्ष्यमा विभिन्न कार्यक्रमहरु गरेर मनाईरहेको बताउँदै उनले भने,‘हुन त हाम्रो जनस्तरको सम्बन्ध चाहीँ बुद्ध धर्मको प्रचार वा बुद्ध धर्म जापानमा प्रवेश भएसँगैलाई मान्न सकिन्छ । तर आधिकारिक रुपमा सन् १९६० देखि सम्बन्ध हो । जापान हाम्रो लागि अत्यन्तै ठूलो सहयोगी मित्रराष्ट्र हो । दुई देशवीचको सम्बन्ध अति नै उत्तम छ । नेपालको विकासमा जापानको भूमिका अत्यन्तै प्रंशनीय छ । आगामी दिनमा हामीले यसलाई कसरी म्याटरलाईज गर्ने भन्नेबारेमा सोच्नुपर्छ ।’

उनले जापानले नेपालको आर्थिक विकासमा ठूलो सहयोग गरेको बताउँदै भने,‘सहयोगको कुरा गर्ने हो भने हाम्रो देशको राजनीतिक अस्थिरताको कारण कामहरु समयमै सम्पन्न हुँदैनन् । बर्दिवासको विपी राजमार्गको कुरा गनुृहोस्, यी समयमै सकिएका प्रोजेक्ट हुन् । अब छिट्टै कलंकी–नाघढुँगा सुरुङ्मार्ग पनि चाँडै जापानको सहयोगमा निर्माण हुँदैछ ।’

उनले नेपालप्रति सबै जापानी नेताहरुको पनि ठूलो सद्भाव रहेको बताए । उनले अघि थपे,‘उहाँहरु सबै जना नेपाल भ्रमण जान पाए हुन्थ्यो भन्ने चाहानुहुन्छ । नेपाल सरकारले पनि आफ्नो तर्फबाट एप्रोज गरिरहेको छ । जाईकामार्फत प्रोजेक्टहरु अघि बढाउने काम भैरहेको छ। ठोस गतिला कुराहरु अघि बढाओस् भन्ने जापानको चाहना छ ।’

नेपालमा सरकार परिवर्तन भैरहन्छ, यसले कत्तिको असर गर्छ ? भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने,‘सरकार परिवर्तनले त्यस्ता कुराहरुमा स्वभावले तलमाथि गर्ने देखिन्छ । तर जापानीहरको भनाईमा सरकारले अघि सारेका कुराहरुमा परिवर्तन नहोस् भन्ने आशय बुझिन्छ ।’

कार्यवाहक राजदुत अर्यालले जापान एशियामा प्रविधिलाई नेतृत्व गरेर अघि बढेको देश भएको उल्लेख गर्दै नेपालले पनि यस्तो प्रविधिबाट फाईदा लिन सकोस भनेर पहल गरिरहेको समेत बताए । ‘हुन त उनीहरु सहयोग गर्नपनि तयार छन्’, उनले भने । राजदुत अर्यालले नेपाल सरकारल पनि जापानको विकास र सिपबाट फाईदा लिईरहेको जानकारी दिए ।

‘अहिले नेपाल सरकारका विभिन्न क्षेत्रका व्यक्तिहरुलाई तालिममा प्रविधि सिकाउने कामहरु भैरहेको छ । छलफलहरु अहिले बढिरहेको छ । जापानले नेपालमा विशेष सहयोग गर्न तयार छ’, उनले थपे ।

आर्मी क्लबलाई हराउँदै एपीएफलाई पुरुष क्रिकेटमा स्वर्ण

विराटनगर,पुस १५ । त्रिभुवन आर्मी क्लबलाई हराउँदै एपीएफ क्लबले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटतर्फ स्वर्ण जितेको छ। विराटनगरस्थित वैजनाथपुर मैदानमा भएको खेलमा त्रिभुवन आर्मी क्लबलाई ४९ रनले हराउँदै एपिएफले स्वर्ण पदक जितेको हो । टस जितेर पहिले फिल्डिङ रोजेको आर्मीले एपीएफलाई १ सय २१ रनमा समेटेको थियो। सुवास खकुरेल, आसिफ शेख र प्रदिप ऐरीलाई सस्तैमा गुमाएको एपीएफलाई सम्मानजनक स्थितीमा पुर्याउने क्रममा पारस खड्काले ३३ रनको महत्वपूर्ण इनिङग्सले खेलेका थिए।

उनले ३८ बल सामना गर्दै १ चौका र १ छक्का प्रहार गरे। आर्मीबाट सोमपाल काकी, विक्रम सोब र चन्द्र साउदले २ २ विकेट लिए। त्यस्तै अभिनास कर्ण र सागर पुनले एक एक विकेट लिए। जवाफी ब्याटिङमा उत्रिएको आर्मीबाट कसैले पनि राम्रो ब्याटिङ गर्न सकेनन्। नरेश बुढाएर १७ रन बटुलेपनि अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक स्कोर गर्न सकेनन्। ११ ओभर ४ बलसम्म ४ विकेट गुमाएर ५४ रनको अवस्थामा रहेको आर्मी भूवन कार्की चम्किएपछि पराजित हुन पुगेको थियो। भूवन कार्कीले केवल ११ रन खर्चिएर ४ विकेट लिएपछि आर्मी १७ ओभर ४ बलमा ७२ रनमै अलआउट भयो। एपीएफबाट शक्ति गौचनले र यज्ञमान कुमालले थप २्२ तथा करण केसी र वसन्त रेग्मीले एक एक विकेट लिए।

दिन दहाडै सरकारी गाडीमा आगलागी

काठमाडौं,पुस १५ । बानेश्वरमा सरकारी गाडीमाथि आगजनी भएको छ । शुक्रबार दिउँसो पार्किङमा राखिएको बा २ झ १३ ९२ नम्बरको गाडीमा आगजनी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा आगो लगाएर भागेकाको खोजी भैरहेको छ । बागमती सभ्यता एकीकृत विकास समितिको गाडी आगजनी भएको हो ।

अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीलाई काम गर्ने अनुमति

न्यूयोर्क,पुस १५ । अमेरिकामा अध्ययरत नेपाली विद्यार्थीले थप डेढ वर्ष काम गर्न अनुमति पत्र (वर्क परमिट) पाउने भएका छन् । अमेरिकी अध्यागमन हेर्ने उच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ ले नेपाली विद्यार्थीहरुलाई आगामी डेढ बर्षका लागि काम गर्न अनुमति पत्र ‘वर्क परमिट’ दिने भएको हो ।

यसअघिको सुविधा हालै समाप्त भएका कारण, पुन अवधि लम्ब्याईएको हो । सन् २०१६ को डिसेम्बर २४ मा समाप्त भइैसकेको यो सुविधा १८ महिनाका लागि थपिएको हो ।अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी जेह जोन्सनले हस्ताक्षर गरेपछि यो सुविधा डिसेम्बर २७ देखि नै लागू भैसकेको छ । २४ जुन २०१८ सम्म कायम रहनेछ ।

भूकम्पबाट नेपाली परिवार प्रभावित हुँदा अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीहरुले पनि आर्थिक कठिनाई बेहोर्नु परेको भन्दै यो सहुलियत दिइएको थियो । नेपाली विद्यार्थीहरुले काम गर्ने अनुमति पत्र ‘वर्क परमिट’ का लागि आवेदन दिनसक्नेछन् । जुन अन्य देशबाट आएका विद्यार्थीको हकमा लागु हुँदैन् । अन्य देशका विद्यार्थीलाई थोरै घण्टाको काम गर्ने अनुमति दिने अमेरिकी अध्यागमन कानुन भएपनि, यो सहुलियतका कारण नेपाली विद्यार्थीले अतिरिक्त समयका लागि ‘वर्क परमिट’ पाउदै आएका छन् ।

यस्ता छन् यो सुविधा पाउने पूरागर्नु पर्ने शर्त

मुख्य शर्तको रुपमा यो सुविधा पाउन, कम्तीमा भुकम्प गएको दिन अर्थात २०१५ को अप्रिल २५ देखि वा सो भन्दा अघि देखि नै अमेरिकामा पढाई गरिरहेको हुनुपर्नेछ । विद्यार्थीले अनिवार्यरुपमा आफनो ‘विद्यार्थी हैसियत’ जोगाउनुपर्ने र त्यसका लागि प्रत्येक सेमेष्टरमा नेपाली विद्यार्थीले कम्तीमा स्नातक तहमा ६ क्रेडिट एवम स्नातकोत्तर तहका लागि तीन क्रेडिटको पढाई सुचारु गर्नुपर्ने नियम छ ।

यो सुचना एलिमेन्टरी स्कुल, मिडल स्कुल र हाइस्कुलका नेपाली विद्यार्थीहरुका हकमा समेत लागु हुने जनाइएको छ । तर उनीहरुका हकमा र कलेजका विद्यार्थीहरुका हकमा फरक तरिकाले लागु हुनेछ । कलेज र विद्यालय सारेका विद्यार्थीहरुका लागि समेत यो सुविधा प्राप्त हुने जनाइएको छ ।

पुरानै ठाउँमा फर्कियो मोर्चा,फेरि आन्दोलनको घोषणा

काठमाडौं,पुस १५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । संसद सचिवालयमा दर्ता भएको संविधान संसोधन प्रस्ताव परिमार्जनसहित पारित गर्नका लागि दबाब दिन भन्दै विरोध तथा आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । आज बसेको बैठकले पुस १८ गते एक बजे जिल्लाजिल्लाका सदरमुकाममा मधेसी, थारु, आदिवासी जनजाति, महिला, मुस्लिम, शिल्पी, किसान, मजदुर, युवा विद्यार्थीसहित सबैलाई ‘खबरदारी विरोध प्रदर्शन’ गर्ने निर्णय गरेको हो ।

संविधान संसोधनको वाचा गरे पनि संविधान संसोधनमा एमालेले संसदमा गरिहरहेको अवरोध मधेसी, थारु, आदिवासी जनजाति, महिला, मुस्लिम, शिल्पी, सिमान्कृत समुदाय विरुद्ध केन्द्रित अलोकतान्त्रिक संसदीय अभ्यास भएको आरोप मोर्चाले लगाएको छ । यस्तो एमालेको क्रियाकलापको मोर्चाले घोर भत्सर्ना गरेको जनाएको छ ।

गत मंसिर १६ गतेदेखि एमालेले लगातार संसद अवरुद्ध गर्दा संशोधन प्रस्ताव, निर्वाचन कानुन सम्बन्धी विधेयक र अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा छलफल हुन सकेको छैन । मोर्चाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण संविधान संशोधन प्रस्ताव अलपत्र परेको र राजनीतिक गतिरोध लम्बिएको निष्कर्ष निकाल्दै त्यसको विरोध गरेको छ ।

निःशुल्क डायलाइसिस सेवा विस्तार, यी हुन सेवादिने देशभरका ४३ अस्पताल

काठमाडौं, पुस १४ । स्वास्थ्य मन्त्रालयले मिर्गौला रोगीका लागि निःशुल्क गरेको डायलाइसिस सेवा थप ११ अस्पताललाई प्रदान गर्न अनुमति दिएको छ । सेवाग्राहीको सहजताका लागि सरकारले वीरेन्द्र सैनिक अस्पताल र १० निजी अस्पतालसहित ११ वटा स्वास्थ्य संस्थालाई सेवा प्रदान गर्न अनुमति दिएको हो । यो अनुमतिसँगै मुलुकभरका ४३ अस्पतालवाट निःशुल्क डायलाइसिस सेवा उपलब्ध हुनेछ ।

अनुमति प्राप्त गर्नेमा उपत्यकाका वीरेन्द्र सैनिक अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल, बयोधा अस्पताल रहेका छन् भने उपत्यका बाहिर रुपन्देहीको गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान संस्था रहेको चिकित्सा व्यवस्थापन महाशाखाका उपसचिव रामकृष्ण लामिछानेले जानकारी दिनुभयो ।

वीरेन्द्र सैनिक अस्पताल, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, अल्का अस्पताल, सुमेरु अस्पताल, हिमाल अस्पताल, बयोधा अस्पताल रहेका छन्

अहिले मानव अङ्ग प्रत्यारोपण केन्द्र, मिर्गौला केन्द्र र चार वटा अञ्चल अस्पतालसहित ३२ अस्पतालमा सरकारले निःशुल्क डायलाइसिसको व्यवस्था गरेको छ । डायलाइसिस गरे वापत सरकारले सो रकम त्यस्ता स्वास्थ्य संस्थालाई उपलब्ध गराउने व्यवस्था रहेको उपसचिव लामिछानेले बताउनुभयो ।

उपत्यका बाहिर रुपन्देहीको गौतमबुद्ध सामुदायिक अस्पताल, सिद्धार्थ सिटी अस्पताल, क्रियसन अस्पताल, पोखराको चरक मेमोरियल अस्पताल र विराटनगरको नेपाल स्वास्थ्य विकास अनुसन्धान

उहाँले बाँकी सबै अञ्चल अस्पतालमा पनि सरकारले निःशुल्क डायलाइसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको छ, उपसचिव लामिछाने भन्नुभयो, ‘दुईवटा डायलाइसिस मेसिन किनेर सेवा सुरु गर्न सरकारले प्रत्येक अञ्चल अस्पताललाई आवश्यक रकम उपलब्ध गराइसकेको छ ।’ यतिखेर सेती अञ्चल अस्पतालसहित केही अस्पतालमा सो सेवा सुरु भइसकेको स्वास्थ्यमन्त्री गगन थापाका सल्लाहकार प्रताप पौडेलले जानकारी दिनुभयो । रासस

अनौठो नम्बरबाट आएको फोन उठाउँदा मरिने हल्लाको त्रास ! नआतिनुहोस् यस्तो छ वास्तविकता

काठमाडौं,पुस १४ । कवि भूपी शेरचनले भनेका थिए, ‘नेपाल हल्लैहल्लाको देश हो ।’ सायद ठीकै भनेका थिए उनले । नेपाल हल्लैहल्लाको भरमा बेलाबखत तरङ्गित हुने गरेको छ । यस्तै एउटा हल्लाको पछिल्लो संस्करणले केही दिनयता देशभर त्रास फैलिरहेको छ । सायद तपाईंले पनि सुन्नु भएको होला, ‘रातो नम्बरबाट आएको फोन उठाउँदा मान्छे मर्यो रे !’ अहिले यो हल्ला ‘दिन दोगुना, रात चौगुना’ भनेझैँ फैलिरहेको छ । मानिसहरुले एसएमएस गरेर, फोन गरेर तथा सामाजिक सञ्जालमार्फत आफ्ना आफन्त र साथीभाइलाई सचेत रहन भनिरहेका छन् । हल्लामा मान्छे मरेको भनिएका क्षेत्रहरुचाहिँ कसैले नुवाकोट, कसैले धादिङ त कसैले मकवानपुर भनेका छन् ।त्यसैगरी फोन आएका भनिएका मोबाइलहरु एनसेल छन् ।

यो हल्ला अहिले यति भाइरल बनिसक्यो कि कन्ट्रोल गर्नै नसकिने अवस्था छ । आम मानिसहरु त्रसित बन्न थालेपछि हामीले यसको वास्तविकताबारे बुझ्ने प्रयास गरेका छौँ ।

एनसेल भन्छ, ‘हल्लाको पछि नलाग्नुस्’

हामीले यसबारे एनसेलसँग बुझ्ने प्रयास गर्यौँ । सुरुमा ग्राहक सेवा प्रतिनिधिसँग कुरा गर्दा उनी यो हल्लाले वाक्कदिक्क भइसकेका रहेछन् । दिनमै सयौँ कल यस्तै चासो राख्नेहरुको आउँदो रहेछ । उनले यसबारे अफिसमा पनि कुरा भइसकेको, यो हल्लामात्र रहेको निष्कर्ष निकालिएको जवाफ दिए ।

सामाजिक सञ्चालका एक प्रयोगकर्ताले एनसेलको आधिकारिक पेजमा नै जिज्ञासा राखेका रहेछन् । त्यहाँ पनि एनसेलले यो हल्लामात्र भएको जवाफ फर्काएको छ ।

‘रातो नम्बरबाट आएको फोन उठाए मरिने हल्ला छ के हो यो ? केदार पौडेल नाम गरेका फेसबुक प्रयोगकर्ताले सोधेको प्रश्नमा एनसेलले आफ्नो आधिकारिक फेसबुक पेजबाट जवाफ फर्काएको छ, ‘कृपया यस्तो हल्लाको पछाडि लाग्न नहुन ग्राहक बर्गहरुमा अनुरोध छ ।’

धादिङ प्रहरीलाई जानकारी छैन

गाउँ-गाउँमासमेत सानातिना घटना घट्दा पनि प्रहरीलाई जानकारी हुन्छ । त्यसैले हामीले हल्लामा नाम जोडिएको जिल्ला धादिङका डिएसपी दिपेन्द्र पञ्जियारलाई सम्पर्क गर्यौँ । उनले त हल्लासमेत सुनेका रहेनछन् । ‘मैले त हल्ला पनि सुनेको छैन । केही भएको भए त आउँथ्यो । सायद हल्लामात्र हो यो,’ साझापोस्टसँग उनले भने ।

धादिङ प्रहरीकै सञ्चार शाखामा भने यस्तो हल्ला पुगेको रहेछ । सञ्चार विभागमा कार्यरत प्रहरी अधिकृत भन्दै थिए, ‘हल्ला त मैले पनि सुनेको हो । मकवानपुर तिर रे भनेर फेसबुकमा लेखेको देखेको थिएँ । तर, हामीकहाँ त्यस्तो कुनै जानकारी आएको छैन । भए त आइहाल्थ्यो नि ?’

नुवाकोट प्रहरीमा केही व्यक्ति मोबाइल फाल्यौँ भन्दै आएका थिए

त्यसपछि हामीले नुवाकोट प्रहरीका डिएसपी ऋषिराम कंडेललाई सम्पर्क गर्यौँ । उनले हल्ला मज्जैसँग सुनेका रहेछन् । ‘हल्ला त मैले पनि सुनेको हो । अस्ति दुईतीन जना युवा ‘रातो नम्बरबाट फोन आयो त्यसपछि मोबाइल फाल्यौँ’ भन्दै हामीकहाँ आएका थिए । तर फोन आएको हामीले देखेनौँ । उनीहरुले नै भनेका थिए, ‘कताकता मान्छे पनि मरे रे !’ तर यो हल्लामात्र हो । यस्तो फोन रिसिभ गर्दा मरेको भनिएको कुनै पनि व्यक्तिबारे जानकारी छैन ।’

यो कुरा हल्लामात्र हो भन्ने निष्कर्षमा उनी पनि पुगिसकेका रहेछन् ।

मकवानपुर प्रहरीलाई जानकारी छैन

मकवानपुरका प्रहरी इन्सपेक्टर सुरक्षा केसीले भने यस्तो हल्लासमेत आफूले नसुनेको बताइन् । ‘मैले त हल्ला पनि सुनेका छैनौँ, त्यस्तो कुनै उजुरी पनि आएको छैन,’ उनले भनिन् । आजभोलि ठेस लागेर लड्दा मान्छे मरेको जानकारीसमेत प्रहरीकोमा आउँछ । सानासाना घटनाबारे पनि प्रहरीलाई जानकारी गराउने प्रचलन छ । प्राकृतिक ढंगको स्वभाविक मृत्युबाहेक अन्य जुनसुकै कारणले मानिस मरे पनि पोस्टमार्टम बिना शवको दाहसंस्कारसमेत हुँदैन ।

पोस्टमार्टम अघि प्रहरीले घटनास्थलमा पुगेर मुचुल्का उठाउनुपर्छ । अब तपाईं आफैँ भन्नुस्, सम्बन्धित जिल्लास्थित प्रहरीलाई समेत जानकारी नभएको कुरा वास्तविक कसरी हुन सक्ला त रु आफ्नो परिवारका सदस्यको फोन उठाउँदा मृत्यु भयो भने चुपचाप दाहसंस्कार कसैले गर्ला रु पक्कै पनि गर्दैन । बरु हामीकहाँ त लास सडकमा राखेर पैसाका लागि बार्गेनिङचाहिँ हुनसक्छ ।

माथिका तमाम जानकारीहरुबाट पनि निष्कर्ष निकाल्न सकिन्छ, यो हल्ला मात्र हो । हल्लाको पछि नलागौँ । बाँकी रहे सामाजिक सञ्जालमा रेड नम्बरबाट फोन आएको देखाइएका स्क्रिनशर्टहरु, ती फोटोशप्ड हुन सक्छन् ।

साभार: साझापोष्ट

साइक्लिङ: नुवाकोटका बुद्धिबहादुर तामाङलाई स्वर्ण

धरान,पुस १४ । सातौ राष्ट्रिय प्रतियोगिता अन्तर्गत धरानमा सञ्चालन भएको १५ औ राष्ट्रिय माउन्टेन वाइक चेम्पियसिपको खुल्ला पुरुषतर्फ नुवाकोटका बुद्धिबहादुर तामाङले प्रथम स्थान हासिल गरेका छन् भने महिलातर्फको खुल्लातर्फ लक्ष्मी मगरले प्रथम स्थान हासिल गरेका छन् ।

तामाङले नाइन ल्याप (२७ किमी) को दूरी १ घण्टा २७ मिनेटमा पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् भने लक्ष्मीले १ घण्टा १४ मिनेट २९ सेकेन्डमा निर्धारित दूरी १८ किमीको दूरी पार गर्दै प्रथम स्थान हासिल गरेका हुन् ।

यसैगरी खुल्लातर्फ निर्धारित दूरी १ घण्टा २७ सेकेन्ड ४७ सेकेन्डमा पार गर्दै काठमाण्डौका नारायण गोपाल महर्जन दोस्रो स्थान हात पारे भने सोही दुरी १ घण्टा ३३ मिनेट २४ सेकेन्डमा पार गर्दै काठमाण्डौकै राजकुमार श्रेष्ठले तेस्रो स्थान हात पारेका छन् ।

धरान १४ विजयपुरमा आयोजना गरिएको सो प्रतियोगिताको महिला खुल्लातर्फ निर्धारित दूरी १ घण्टा १७ मिनेट ३४ सेकेण्डमा पार गर्दै नेपाल आर्मीकी मञ्जुकुमारी खड्का र आर्मीकै पुष्पाकुमारी भण्डारीले १ घण्टा २० मिनेट २४ सेकेण्डमा पार गर्दै तेस्रो स्थान हासिल गरेकी छन् ।

यसैगरी पुरुष जुनियरतर्फ सिन्धुपाल्चोकका सुरज राना मगरले प्रथम स्थान हासिल गरेका छन् । उनले निधारित १८ किमीको साइकल यात्रा ५९ मिनेट २१ सेकेन्डमा पार गरेका थिए । यस्तै १ घण्टा १ मिनेटमा निर्धारित दूरी पार गर्दै काठमाण्डौका प्रचित थापा मगरले दोस्रो स्थान हात पारे भने सुनसरीका अनिष तामाङले तेस्रो स्थान हात पारेका छन् ।

यस्तै ३० बर्ष माथिको पुरुषतर्फ रौतहटका विक्रम राईले निर्धारित दूरी १८ किमी १ घण्टा ११ मिनेट २४ सेकेण्डमा पार गर्दै प्रथम, प्युठानका दामोदर बुढा मगरले १ घण्टा ११ ३६ सेकेण्डमा पार गर्दै दोस्रो र विभागीय टिम शशस्त्र प्रहरीका आश नारायण चौधरीले १ घण्टा १३ मिनेट २४ सेकेण्डमा निर्धारित समय पार गर्दै तेस्रो स्थान हासिल गरेका हुन् ।

17.46¡ÆC