काठमाडौं,पुस १९ । नेपाल विद्युत प्राधिकरण तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशलाई सर्वोच्च अदालत खारेज गरेको छ । मंगलबार प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले यसको अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला सुनाएको हो । सर्वोच्चको यो आदेश पछि प्राधिकरणको बोर्ड बैठक पनि बसेको थिएनर, उनीहरुले पुनर्बहाली हुन पाएको थिएन । तीन सञ्चालक पुन काममा र्फकन नपाउँदै सर्वोच्चले यसअघि दिएको अन्तरिम आदेशलाई खारेज गरेको छ ।

यसअघि सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंहको एकल इजलासले नेपाल विद्युत प्राधिकरणको बोर्डबाट हटाइएका तीनजना सदस्यहरुलाई हटाउने निर्णयलाई कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएउको थियो । उर्जा मन्त्रालयले नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति सदस्य लक्ष्मणप्रसाद अग्रवाल, मनोजकुमार मिश्र र सुरज लामिछानेलाई लोडसेडिङ हटाउने अभियानमा वाधा गरेको भन्दै हटाएको थियो । मन्त्रालयको निर्णयविरुद्ध सदस्य लामिछानेले पुस १२ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

सञ्चालक समिति सदस्य अग्रवाल, मिश्र र लामिछानेले प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई काम गर्न अवरोध गरेको भन्दै ऊर्जा मन्त्रालयले तीन सदस्यलाई हटाएर नयाँ सदस्य नियुक्त गरेको थियो ।

काठमाडौं,पुस १९ । रंगकर्मी विष्णुभक्त फुयाँलको निधन भएको छ ।राष्ट्रिय नाच घर जमलमा मञ्चन भइरहेको महर्षि याज्ञवल्क्य नाटकको संवाद बोल्दाबोल्दै मञ्चमै ढल्न पुगेका फुयाँलको केहीबेर अघि काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।

टेलिचलचित्र तोतो सत्यमा ‘योर माई लभ बा’का रुपमा चर्चित भएका उनको राष्ट्रिय नाचघरमा नाटक ‘महर्षि याज्ञबल्क्य’ अभिनय गर्दा गर्दै थिए । मञ्चमै ढल्न पुगेका फुयाँलको अस्पताल लगिएको केहीबेरमै उनलाई मृत घोषणा गरेको हो ।

फुयाँल लामोसमयदेखि सुगर र युरिक एसिडबाट पीडित थिए । झन्डै तीन दसक देखि अभिनयमा क्रियाशिल फुयांलले दर्जनौ फिल्म तथा टेलीफिल्ममा समेत अभिनय गरि सकेका छन् । उनि कुसुम नाट्य समूहका अध्यक्ष समेत रहेका थिए फुयाँलको दुई छोरा छन् ।

काठमाडौं,पुस १८ । भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण मानिएको हेटौंडा–कुलेखानी–मातातीर्थ प्रसारण लाइन मंगलवारदेखि सञ्चालनमा आउने भएको छ । हेटौँडा–कुलेखानी दोस्रो स्यूचाटार १३२ केभी क्षमताको प्रसारण लाइन चार्ज हुनेबित्तिकै भारतबाट आयात गरिएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने भएको छ ।

आयोजना प्रमुख केदार सिलवालले मकवानपुर जिल्लाको चौकीटोलदेखि कुलेखानी दोस्रो जलविद्युत् आयोजना हुँदै काठमाडौँको मातातीर्थसम्मको प्रसारण लाइन मङ्गलबार चार्ज गरिने जानकारी दिए । विसं २०६८ बाट सुरु भएको सो प्रसारण लाइन मुनि पर्ने जग्गा धनीले मुआब्जा एवम् क्षतिपूर्ति माग्दै लामो समयदेखि अवरुद्ध गर्दै आएका थिए । विसं २०४३ सालमा नै कुलेखानी दोस्रोको विद्युत् राजधानी ल्याउन निर्माण गरिएको प्रसारण लाइनले दायाँ बायाँ नौ–नौ मिटर जग्गाको क्षतिपूर्ति दिइसकेको थियो ।

मकवानपुरको चौकीटोल, काठमाडौँको तत्कालीन मातातीर्थ र स्यूचाटार गाविसले घर तथा आवास बनाउन अनुमति दिएका कारण प्रसारण लाइन विस्तारमा समस्या पर्दै आएको थियो । काठमाडौँ उपत्यकामा विद्युत्को माग बढ्दै गएपछि आयोजनाले एकल फेजमा रहेका प्रसारण लाइनलाई दोहोरो बनाउने तयारी गर्दा स्थानीयवासीले चर्को विरोध गर्दै अवरोध गरेपछि विस्तार कार्य रोकिएको थियो ।

‘‘मङ्गलबार हामी प्रसारण लाइन चार्ज गर्दै छौँ, अब भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन सहज हुने विश्वास लिएका छौँ” – आयोजना प्रमुख सिल्वालले भने । प्रसारण लाइन निर्माणका लागि मात्रै आयोजनाले रु एक करोड ८४ लाख क्षतिपूर्ति १९ घरपरिवारलाई प्रदान गरेको छ ।

ऊर्जा मन्त्री जनार्दन शर्मा, ऊर्जा सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, काठमाडौँ र मकवानपुरका प्रमुख जिल्ला अधिकारीको विशेष पहलमा क्षतिपूर्ति तथा मुआब्जा वितरण गरिएका कारण आयोजना सफल भएको आयोजना प्रमुख सिल्वालको भनाइ छ ।

भारतबाट आयात गरिएको विद्युत् ढल्केबर–हेटौँडा हुँदै काठमाडौँ ल्याउन सो प्रसारण लाइन सहयोगी हुने प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले जानकारी दिए । तर मातातीर्थ–स्यूचाटार प्रसारण लाइनमा भने थप १५ दिनपछिमात्रै चार्ज गरिनेछ ।

प्रसारण लाइनको दायाँ बायाँ क्षेत्रमा रहेका घरधनीले घर भत्काउन थालेको र केही दिनभित्रै घर भत्काइसक्ने जानकारी आफूलाई आएको भन्दै आयोजना प्रमुख सिल्वालले काठमाडौँ उपत्यकामा जारी विद्युत्भार कटौती मुक्त अभियानमा सो प्रसारण लाइनको विद्युत् जोडिएपछि थप सहज हुने विश्वास व्यक्त गरे ।

उता भारतबाट ल्याइएको विद्युत् काठमाडौँ ल्याउन महत्वपूर्ण ठानिएको अर्को प्रसारण लाइन खिम्ती ढल्केबर प्रसारण लाइन पनि अन्तिम चरणमा पुगेको छ । आयोजना प्रमुख श्याम यादवका अनुसार आगामी एक साताभित्रैमा परीक्षण चार्ज गरिनेछ । ढल्केबर–खिम्ती, लामोसाँघु हुँदै काठमाडौँमा विद्युत् ल्याउने यो अर्को प्रसारण लाइन हो ।

विगत १३ वगर्षदेखि रोकिँदै आएको उक्त प्रसारण लाइन नयाँ सरकार गठन भएलगत्तै युद्धस्तरमा अगाडि बढेको थियो । भारतबाट आयात भएको विद्युत् काठमाडौँ ल्याउन समस्या भइरहेको समयमा दुई महत्वपूर्ण प्रसारण लाइनको निर्माण भएपछि सहज वातावरण बनेको प्राधिकरणका प्रवक्ता अधिकारीको भनाइ छ ।

यही पुस १७ गते मध्यरात भारतबाट थप ४० मेगावाट विद्युत् जोडिएको सन्दर्भमा दुई महत्वपूर्ण प्रसारण लाइनको काम सम्पन्न हुनुले थप सहजता थपेको छ । यस्तै ढल्केबरमा निर्माणको क्रममा रहेको २२० केभी क्षमताको सवस्टेसनको पनि करिब ८० प्रतिशत काम सम्पन्न भएको प्राधिकरणले जनाएको छ । हिउँदलाई मध्यनजर गरेर काठमाडौँमा सहज रुपमा विद्युत् भित्र्याउने र विद्युत्भार कटौतीलाई शून्यमा झार्ने सरकारको लक्ष्यले पूर्णता पाउन लागेको प्राधिकरणको भनाइ छ । रासस

काठमाडौं,पुस १८ । संविधान संशोधनको विरुद्धमा परेको रिटमा सर्वोच्व अदालतले संविधान संशोधनका पक्षमा उभिएको छ । सोमबार प्रध्यानन्यायधिश सुशिला कार्की र न्यायाधीश इश्रप्रसाद खतिवडाको संयुक्त इजलासले रिटमा अन्तरिम आदेश नगरेपछि सरकारलाई बाटो खुलेको छ भने संसदको अवरोध हटाउन विपक्षीलाई दबाव परेको छ ।

यो फैसला सँगै प्रमुख विपक्षी दल नेकपा एमालेले संशोधन संविधान विपरित भन्दै सदनमा गरिरहेको गत्यारोधमाथि नैतिक प्रश्न खडा भएको छ । यसअघि रकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेपछि त्यसविरुद्द सर्वोच्चमा रिट परेको थियो । उक्त निवेदनमा पहिलो सुनुवाई गर्दै न्यायाधीश जगदीशप्रसाद शर्माको एकल इजलासले कुन प्रयोजनका लागि संविधान संशोधन प्रस्ताव दर्ता गरेको हो भन्दै जवाफ मागेको थियो । सरकारले गत मंसिर १४ गते मधेसलाई सम्बोधन गर्ने गरी संविधान संशोधन विधेयक संसद्मा दर्ता गराएको थियो । त्यो विधेयकको विरोध गर्दै एमालेलगायतका विपक्षीहरुले निरन्तर अवरोध गरेका कारण अहिलेसम्म विधेयक संसद्मा प्रवेश गर्न पाएको छैन।

काठमाडौं,पुस १८ । नेपाल चौथो साफ महिला च्याम्पियनसीपको सेमिफाइनलबाटै बाहिरिएको छ । चीर प्रतिद्धन्दी भारतसँग ३-१ गोलले पराजित हुँदै नेपाल बाहिरिएको हो । सिलिगुडीस्थित कञ्चनजंगा रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा नेपाल भारतसँग तीन एक गोलले पराजित भएको हो । पहिलो हाफको अन्त्यतिर कमलादेवीले गोल गर्दै भारलाई सुरुवाती अग्रता दिलाईन् । दोस्रो हाफमा पनि नेपालले राम्रो प्रदर्शन गर्न नसक्दा ५८ औं मिनेटमा दोस्रो गोल खान पुगेको थियो । इन्दुमतीले गोल गर्दै भारतलाई दुई गोलको अग्रता दिलाइन् ।

नेपालले ७५औं मिनेटमा पेनाल्टीको अवसर पायो । सावित्रा भण्डारीले ७५ औं मिनेटमा पेनाल्टीमा गोल गर्दा भारतको अग्रतालाई घटाए पनि त्यसपछि नेपालले थप गोल गर्न नसक्दा यसपटक सेमिफाइनलमा नै भारतसँग पराजित हुन पुगेको हो । भारतविरुद्ध नेपाल यस अघिका ६ भिडन्तमा ५ पटक विभिन्न प्रतियोगिताको फाइनल खेल्दै पराजित भइसकेको छ । ७ खेल खेल्दा ६ खेला गुमाएको नेपालको अहिलेसम्मको भारतविरुद्धको सुधारिएको प्रदर्शन भन्नु नै एक खेलमा गोलरहित बराबरी नै हुन पुगेको छ ।

यस अघिका खेलमा भुटानलाई ८–०, माल्दिभ्सलाई ९–० को सहज ढंगमा पराजित गरेको नेपालले श्रीलंकालाइई १–० गोलले पराजित गरेको थियो । साग खेलकुद अन्तर्गत २०१० र २०१६ को स्वर्ण पदकको खेलमा पनि नेपाली टोली भारतसँग नै पराजित हुन पुगेको थियो ।

त्यसैले हारमाथि हारको निरन्तरको श्रृखला तोड्न सक्ने स्वर्णिम अवसर गुमाउन पुग्यो । नेपाली टिमकी सावित्री भण्डारी दुई खेलमा ११ गोल गरे पछि उनले आजको खेलमा पनि नेपालको लागि राम्रो योगदान गर्नेमा प्रशिक्षकले आशा व्यक्त गरेका थिए । तर, खेल ३–१ हारेपछि भारतले नेपाल फेरि भारतसँगै रोकियो ।

काठमाडौं,पुस १७ । नेपाल टेलिकमले आइतबारदेखि काठमाडौं र पोखरामा मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा फोरजीको सुरुवात गरेपनि सबै ठाँउका भने नचल्ने भएको छ । अहिले यो सुविधा पोष्टपेड चलाउने प्रयोगकर्ताको लागि मात्र उपयोग भएपनि काठमाडौं र पोखराका सबे पोष्टपेड प्रयोग बर्ताले यो सुविधा नपाउने भएका हुन् । प्रिपेड प्रयोगकर्ताले भने माघ २२ गतेदेखि मात्र यो सुविधा पाउने छन् ।

उपत्यकामा चल्ने ठाउँहरुः

चक्रपथ भित्र

इन्द्रायणी

गोदावारी

भक्तपुर र चक्रपथ आसपासका स्थानहरुमा चल्ने तर सबै ठाउँमा नचल्न पनि सक्नेछ ।

पोखराको न्यूरोड र लेकसाइट क्षेत्रमा मात्र फोरजी सेवा चल्नेगरी पूर्वाधार निर्माण गरिएको छ । तत्कालका लागि उल्लेखित स्थानहरुमा चलेपनि आगामी दिनमा कभरेज क्षेत्र विस्तार गर्दै लैजाउने टेलिकमले तयारी गरेको छ । काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् ।

यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ । फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ ।

काठमाडौं, पुस १७ । नेपाल टेलिकमले आइतबारदेखि सुरु गर्न लागेको मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा फोरजी दिउँसो १ बजेदेखि सुचारु हुदैछ । सञ्चारमन्त्री सुरेन्द्रबहादुर (राम) कार्कीले फोर-जी सेवाको औपचारिक उद्घाटन राजधानीको होटल सोल्टीवाट गर्दैछन्। यो सेवाका लागि टेलिकमले काठमाडौं र पोखरामा गरी पाँच सय भन्दा धेरै बिटिएस टावरमा फोरजी सपोर्ट गर्ने चिप्स र सफ्टवेयर अपग्रेडको काम गरिरहेको छ।

सुरुवातमा काठमाडौं र पोखरामा फोरजी सेवा सञ्चालनमा आउनेछ। काठमाडौंमा दुई लाख ७५ हजार र पोखरामा तीन लाख २५ हजार जनाले फोरजी सेवा सञ्चालन गर्न पाउनेछन्। टेलिकमका अनुसार यो सफ्ट लन्च मात्रै हो।

हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी द्रुतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ । फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठूला फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ ।

यस्तो छ फोर जी एक्टिभ गर्ने तरीका

अहिले यो सुविधा पोष्टपेड चलाउने प्रयोगकर्ताले मात्र उपयोग गर्न पाउनेछ । प्रिपेड प्रयोगकर्ताले भने तीन सातापछि मात्र यो सुविधा प्रयोग गर्न पाउने छ । यो सेवा लिनको लागि नेपाल टेलिकमका गएर सिधै सम्पर्क गर्न पनि सकिनेछ । साथै आफैले एक्टिभ गर्नको लागि *444# मा डायल गरेर यो सुविधा प्रयोग गर्न सकिनेछ ।

त्यसको लागि *444# डायल गर्नुहोस् अनि LTE भन्ने वा 4G भन्ने मध्ये कुनै देखाउछ । त्यसलाई छनोट गरेपछि तपाईले आफ्नो मोबाईल सेटवाट फोरजीको सुविधा लिनसक्नु हुनेछ । तपाईलाई थप जानाकारी चाँहिएका नेपाल टेलिकमको १४९८ मा फोन गरेर जानाकारी लिन सक्नुहुनेछ ।

हेर्नुहोस् प्रक्रिया

मोबाइलको किप्याडमा *444# थिच्नुस् र डायल गर्नुस्। तपाईँको मोबाइलमा यस्तो सन्देश देखिनेछ-

रिप्लाइमा २ थिचेर सेन्ड गर्नुस्। तपाईँको मोबाइलमा यस्तो सन्देश देखिनेछ-

केही समयमा नै तपाईँको मोबाइलमा १४१५ बाट सेवा सुरु भएको एसएमएस आउनेछ। फोरजीको यो प्रोमोसनल प्याक जनवरी ५ तारिखसम्म मात्र कायम रहनेछ

न्यूनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्यूनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् ।

सबै उपभोक्ताले प्रयोग गर्न नपाउने

काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ । फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन ।

फोर जी सेवा नेपाल टेलिकमले वितरण गरेका केही सीमित सिममा मात्र चल्नेछ । यसका लागि ‘कम्प्याटेबल’ सिम चाहिन्छ । वितरण भएका सबै सिम ‘कम्प्याटेबल’ मा ‘भेरिफाइड’ छैनन् । टेलिकमका सबै सिमकार्डलाई फोर जी सेवाका लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डमा मात्र यो सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।

भेरिफाइट भएका सिम पनि टेलिकमले वितरण गरिरहेको छ । अब पुनः फोर जी सेवा सुचारु भएसँगै बाँकी टेलिकमका चार वर्षभन्दा अगाडि वितरण भएका सिमकार्डमा फोर जी सेवा नचल्ने तर त्यही नम्बरको अपग्रेड सिम टेलिकमले ग्राहकलाई उपलब्ध गराउनेछ ।

काठमाडौं, पुस १७ । मुलुकको अग्रणी दूरसञ्चार प्रदायक नेपाल टेलिकमले आइतबारदेखि मोबाइलमा चौथो पुस्ताको डाटा इन्टरनेट सुविधा अर्थात फोर जी सेवा सुरु गर्दैछ । टेलिकमले आज आइतबारदेखि ताररहित थ्रीजीको विकसित प्रविधि फोरजी सञ्चालनमा ल्याउन लागेको हो । हालको थ्रीजीको तुलनामा फोरजी सेवा ५ गुणा बढी द्रुतगतिमा सञ्चालन हुने टेलिकमको दाबी छ । फोरजी प्रयोगबाट द्रुतगतिमा इन्टरनेट सेवा, भिडियो कलका अतिरिक्त ठूला फाइलहरु अपलोड र डाउनलोड गर्न सहज हुनेछ ।

न्यूनतम स्पिड ३५ एमबी प्रतिसेकेण्ड

अहिले मोबाइल प्रयोगकर्ताले प्रयोग गरिरहेको मोबाइल डाटाको स्पिड १४ एमबी प्रतिसेकेण्ड रहेकोमा फोर जीको न्यूनतम स्पिड नै ३५ एमबी प्रतिसेकेण्ड हुने टेलिकमलले जनाएको छ । फोर जी सेवामा मोबाइल वेब एक्सेस, आइपी टेलिफोन, गेमिङ सर्भिस, हाई डेफिनेसन मोबाइल टिभी, भिडियो कन्फेरेन्सिङ, थ्रिडी टेलिभिजन र क्लाउड कम्प्युटिङ लगायत पर्दछन् ।

सबै उपभोक्ताले प्रयोग गर्न नपाउने

काठमाडौं र पोखराका पनि सबै उपभोक्ताले फोर जी सेवा सञ्चालन गर्न भने पाउँदैनन् । यो सेवा उपयोग गर्न कम्प्याटेवल सिम आवश्यक पर्छ तर टेलिकमले वितरण गरेका सवै सिम कम्प्याटेवल नभएकाले सबै उपभोक्ताले यो सेवा लिन नसक्ने टेलिकमले जनाएको छ । फोर जी सेवा लिनका लागि मोबाइल सेटपनि फोर जीलाई सपोर्ट गर्ने सुविधा सहितको हुनुपर्छ । टेलिकमले फोर जी सेवाको शुल्क भने अझै सार्वजनिक गरेको छैन ।

सीमित सिममा मात्रै फोर जी

फोर जी सेवा नेपाल टेलिकमले वितरण गरेका केही सीमित सिममा मात्र चल्नेछ । यसका लागि ‘कम्प्याटेबल’ सिम चाहिन्छ । वितरण भएका सबै सिम ‘कम्प्याटेबल’ मा ‘भेरिफाइड’ छैनन् । टेलिकमका सबै सिमकार्डलाई फोर जी सेवाका लागि भेरिफाइड गर्न असम्भव भएकोले निश्चित अवधि अगाडि बाँडिएका सिमकार्डमा मात्र यो सेवा सुरु गर्ने तयारी गरिरहेको छ ।

भेरिफाइट भएका सिम पनि टेलिकमले वितरण गरिरहेको छ । अब पुनः फोर जी सेवा सुचारु भएसँगै बाँकी टेलिकमका चार वर्षभन्दा अगाडि वितरण भएका सिमकार्डमा फोर जी सेवा नचल्ने तर त्यही नम्बरको अपग्रेड सिम टेलिकमले ग्राहकलाई उपलब्ध गराउनेछ ।

फोर-जी दिउँसो १ बजेदेखि सुचारु,यसरी गर्नुहोस् एक्टिभ

नेपाली बजारमा हाल रहेका विभिन्न मोबाइल कम्पनीका उत्पादनहरुमध्ये यी एन्ड्रोइड मोबाइल सेटहरुमा फोरजी सपोर्ट गर्छः

पानासोनिक

पानासोनिकका मोबाइल सेटहरुमध्ये विभिन्न ६ मोडलका फोनहरुले फोर जी नेटवर्क सपोर्ट गर्दछन्। ति यस प्रकार छन्ः

एलुगा ए टु

एलुगा आर्क

एलुगा आर्क टु

एलुगा आई टु

एलुगा आई थ्री

एलुगा नोट

सामसुङ

कम्पनीका अनुसार हाल नेपालमा सामसुङ ब्रान्डका विभिन्न २५ मोडलका मोबाइल फोनहरु मध्य १४ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ। जसमा यी पर्दछन् –

ग्यालेक्सी जे फाएभ(२०१६)

ग्यालेक्सी जे सेभेन (२०१६)

ग्यालेक्सी ए फाएभ(२०१६)

ग्यालेक्सी ए सेभेन(२०१६)

ग्यालेक्सी एस सिक्स फल्याट

ग्यालेक्सी एस सिक्स एज

ग्यालेक्सी एस सेभेन फ्ल्याट

ग्यालेक्सी एस सेभेन एज

ग्यालेक्सी जे टु (२०१६)

ग्यालेक्सी जेथ्री

ग्यालेक्सी जे म्याक्स ट्याब

ग्यालेक्सी नोट फाएभ ड्ओस्

ग्यालेक्सी जे फाएभ प्राइम

ग्यालेक्सी जे सेभेन प्राइम

हुवावे

हुवावे मोबाइल कम्पनीका अनुसार नेपाली बजारमा जम्मा २० वटा मोबाइल सेटहरु मध्ये ११ सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् –

वाइ ६ प्रो

जिआर थ्रि

वाइ सिक्स सिडिएमए

वाइ सिक्स टु

अनर फोर एक्स

जीआर फाइभ

जीआर फाइभ मिनी

पि एट लाइट

जि सेभेन प्लस

पि नाइन

मेट एट

माइक्रोम्याक्स

कम्पनीले दिएको जानकारी अनुुसार माइक्रोम्याक्सका हाल बजारमा विभिन्न २६ प्रकारका मोबाइल सेटहरु छन्। यी २६ सेटहरु मध्ये फोर जी सपोर्ट गर्ने ७ मोडलका मोबाइल सेटहरु उपलव्ध छन्।

क्यानभास सिक्स

क्यानभास फाइभ

क्यानभास युनाइट फोर प्रो

क्यानभास पल्स

क्यानभास एक्सप्रेस

क्यानभास फाइभ लाइट

क्यानभास सेल्फी

जियाेनी

जियोनी मोबाइल कम्पनीका हाल बजारमा ६ विभिन्न मोडलका मोबाइल फोनहरु रहेका छन् जस अन्र्तगत फोर जी सपोर्ट गर्ने ४ सेटहरु यी हुन्ः

एम फाइभ लाइट

एस सिक्स एस

एस सिक्स

एम फाइभ प्लस

सायोमी

कम्पनीका अनुसार सायोमी मोबाइलका ७ विभिन्न मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछन् जसमा यी पर्दछन् :

सायोमी एमवन फाइभ

एमवन म्याक्स

रेडमी थ्री एस

रेडमी थ्री प्रो

रेडमी नोट थ्री

रेडमी नोट टु

रेडमी टु प्रो

इन्टेक्स

कम्पनीका अनुसार इन्टेक्सका विभिन्न ५ मोडलका सेटहरुमा फोर जी सपोर्ट गर्दछ।

इन्टेक्स अक्वा क्रेज

अक्वा ज्वेल

अक्वा एस मिनी

अक्वा एस टु

अक्वा भ्यु

जेटटिई

कम्पनीका अनुसार जेटटिइका विभिन्न ६ मोडलका मोबाइल सेटहरुले फोर जी सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः

ब्लेड भि सेभेन लाइट

ब्लेड ए ६१०

ब्लेड एस सेभेन

ब्लेड एस सिक्स

ब्लेड डि थ्री

ब्लेड डि टु

सोनी

सोनी मोबाइलका बजारमा भएका सेटहरु मध्य यी फोनहरुले फोर जी नेटवर्क सपोट् गदर्छन्

सोनी एक्सपेरिया एक्स

एक्सपेरिया एक्स ए

एक्सपेरिया एक्स ए अल्ट्रा

एक्सपेरिया जेड फाइभ डुअल

एक्सपेरिया जेड थ्री कमप्याम्ट

एक्सपेरिया एम फाइभ डुअल

एक्सपेरिया सी फोर डुअल

एचटिसी

एचटिसी मोबाइलका बजारमा उपलब्ध ५ विभिन्न मोडलका फोनहरुमा फोर जी नेटवर्क सपोर्ट गर्दछन् जसमा यी फोनहरु पर्दछन्ः

एचटिसी डिजाएर ६२७ एलटिई

डिजाएर ७२८

डिजाएर ६३०

डिजाएर ६२८

डिजाएर ८३०

लाभा

लाभा ब्रान्डका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने सेटहरु यी रहेका छन्ः

लाभा ग्रयान्ड टु

आएरिस ८७०

कर्लस

बजारमा उपलब्ध कर्लस मोबाइल सेटहरु मध्य तलका यी २ फोनहरुमा फोर जी चल्ने कम्पनिले जानकारी दिएको छः

पल् ब्ल्याक के थ्री

इलाइट इ२०

ओप्पो

ओप्पो कम्पनिका बजारमा उपलब्ध ३ मोडलका मोबाइलहरु मध्य फोर जी सपोर्ट गर्ने २ मोडलका सेटहरु यी हुन्ः

एफवन एस

ए थर्टीसेभेन

मेजु

मेजु मोबाइल कम्पनिका २ मोबाइल सेटहरुले फोर जी सपोट् गर्दछन् जसमा यी फोनहरु पर्दछन् –

मेजु एमथ्री एस

एम थ्री नोट

वन प्लस

वन प्लस मोबाइलका यी सेटहरुमा फोर जी सपोर्ट गर्दछ

वन प्लस यक्स

वन प्लस टु

वन प्लस थ्री

माइक्रोसफट लुमिया

माइक्रोसफट लुमियाको एउटा मोबाइलमा फोर जी सपोर्ट गर्दछ जुन

लुमिया ६५० रहेको छ।

के हो फोरजी ?

फोरजी चौथो जेनेरेशनको डाटा टेक्नोलोजी हो । फोर जी थ्री जीको विकसित रुपको नेटवर्क अन्तर्गतको मोबाइल टेलिकम्युनिकेसन प्रविधि हो। फोर जी प्रणालीले इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आइटियु) ले व्याख्या गरेअनुसारको सुविधा प्रदान गर्छ। फोरजी सेवा थ्रीजीको तुलनामा फास्ट हुनेछ । ताररहितको इन्टरनेट डाटा प्रविधि जुन मोबाइल इन्टरनेट प्रबिधिमा सवैभन्दा पछिल्लो प्रबिधि हो ।

टेलिकमले शुरुमा फोरजीमार्फत ३० एमविपीएस प्रति सेकेन्ड उपलब्ध गराउने बताएको छ । फोरजी सेवामा मोवाइल वेव एकसेस, गेमिङ सर्भिस, एचडी मोवाइल टिभी, क्लाउड कम्प्युटिङलगायत सेवा हुन्छ । यसको डाउनलोड क्षमता थ्रीजी भन्दा झण्डै ५ गुणा छिटो हुने टेलिकमको दावी छ ।

अन्तरराष्ट्रिय दूरसञ्चार संघ (आइटियू) ले फोरजीका लागि मापदण्ड तोकेको छ । दूरसञ्चार सेवाको मापदण्ड बनाउने र व्यवस्थित गर्ने निकाय आइटियूको मापदण्ड अनुसार, मोबाइलमार्फत दिइने १ सय मेगाबिट्स प्रति सेकेन्ड (एमबिपिएस) गतिको इन्टरनेट सहितको सेवा नै फोरजी हो ।

कसरी चलाउने फोरजी ?

मोवाइलमा फोर जी सेवा सुचारु गर्न एलटीइ (लङ टर्म इभ्यालुएशन) इनेवल गर्नुपर्छ । यो मोवाइलमा थ्रीजी इनेवल गरे जसरी गर्न सकिन्छ । त्यसपछि प्रयोगकर्ताले फोजी सेवा प्रयोग गर्न सक्नेछन् । एलटिइ इनेवल गर्न टेलिकमले कोर्ड उपलब्ध गराउँछ । फोरजी सार्वजनिक गर्नुअघि आफ्ना ग्राहकलाई सो कोड उपलब्ध गराइने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले फोरजीको मूल्यको बारेमा भने अझै टुङ्गो लगाउन सकेको छैन । हाल सो सम्बन्धमा विस्तृत अध्ययन भइरहेकोले केही समयभित्रै मूल्य निर्धारण गरिने भएको छ । तर फोरजीको मूल्य थ्रीजीको तुलनामा केही महंगो हुने टेलिकमले जानकारी दिएको छ ।

काठमाडौं, पुस १७ । सरकार र नेपाल राष्ट्र बैंकले पटकपटक गरेको आग्रह र लिखित प्रस्तावमा भारतले कुनै जवाफ नफर्काउँदै प्रतिबन्धित भारतीय मुद्रा सटहीको समयावधि सकिएको छ । भारत सरकारले ३१ डिसेम्बरसम्म पुराना पाँच सय र हजार दरका भारु नोट सटही गरिसक्नुपर्ने व्यवस्था गरेको थियो ।

सो अवधिभित्र सटहीबारे कुनै जवाफ नआएपछि नेपालीसँग भएको भारु साटिने सम्भावना लगभग टुंगिएको छ । जवाफ नै नआएकाले छिमेकी मुलुकमा भएको आफ्नो मुद्रा संकलित गर्न भारत तयार छैन भन्ने सन्देश प्रवाह भएको राष्ट्र बैंकका एक अधिकारीले बताए ।

नेपालस्थित भारतीय दूतावासले एक महिनाअघि नोट सटही सुविधाबारे मोडालिटी माग गरेको थियो । राष्ट्र बैंकले वरिष्ठ डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको संयोजकत्वमा समूह नै बनाएर सटहीबारे मोडालिटी तयार गरेको थियो । उक्त मोडालिटी भारतीय दूतावासलाई बुझाएको एक महिना बित्दा पनि कुनै जवाफ प्राप्त नभएको सिवाकोटीले बताए । ‘अहिलेसम्म हामीलाई कुनै जवाफ पनि दिएका छैनन्,’ उनले भने, ‘मिडियामा भारतीय टोली नेपाल आउन लागेको भन्ने खबर आएका छन् । तर, त्यसबारे हामीसँग कुनै संकेतसम्म नगरिएकाले विश्वास गर्ने ठाउँ छैन ।’

राष्ट्र बैंकका अधिकारी र व्यवसायीले पनि भारतले नेपालीसँग भएको भारु सटही सुविधा दिनेमा अझै आशावादी रहेको बताएका छन् । ‘वाणिज्य बैंकमार्फत हुने सटहीको समयसीमा सकिएको हो,’ राष्ट्र बैंकका अनुसन्धान विभाग प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापा भन्छन्, ‘अब उसले नेपाल र भुटानमा भएको भारु व्यवस्थापनबारे थप कदम चाल्छ भन्ने लागेको छ ।’ भारतमा नोट प्रतिबन्धले निम्त्याएको समस्या सुल्झिनसके पनि केही हदसम्म व्यवस्थापन भएको छ ।

यसपछि मुलुकबाहिरको मुद्राबारे विचार गर्न सक्ने भन्दै सरोकारवालाले आशा जीवित राखेका हुन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले पनि आशा मार्नुपर्ने अवस्था बनिनसकेको बताए । ‘अझै तीन महिना भारतीय केन्द्रीय बैंकका निश्चित शाखाले नोट सटही सुविधा दिने भएकाले समय सकियो भन्ने वेला भएको छैन,’ उनले भने, ‘यो वेला सरकारले भारतसामु दबाब बढाउनुपर्छ ।’

भारु सटही सुविधा नपाउँदा नेपालले कुन आकारमा वित्तीय घाटा सहनुपर्छ भन्ने स्पष्ट अनुमान कसैले पनि गर्न सकेको छैन । कतिपय व्यवसायी, सुरक्षाकर्मी र राष्ट्र बैंकका अधिकारी पनि धेरै नेपालीले आफूसँग भएको भारतीय रुपैयाँ सटही गरिसकेको दाबी गर्छन् । नेपालीलाई २५ हजार रुपैयाँसम्म मात्रै पाँच सय र हजार दरका भारु ल्याउन पाउने कानुनी व्यवस्था छ । तर, व्यवसायीले आठदेखि १० अर्ब भारु नेपालीसँग रहेको अनुमान गरेका थिए । त्यसमध्ये अधिकांश पैसा साटिएर भारतीय बैंकमा जम्मा भइसकेको स्रोतको भनाइ छ ।

यद्यपि, यसको विनिमय घाटा भने नेपालीले बेहोरेका छन् । भारु सयबराबर एक सय ६० रुपैयाँको स्थिर विनिमय दर भए पनि धेरैले समान दर (सय भारुबराबर सय नेरु) को दरमा सटही गरेको सम्बद्ध स्रोतको भनाइ छ । त्यसो गर्दा नेपालीले ३७ दशमलव पाँच प्रतिशत विनिमय घाटा बेहोर्छन् ।

अर्थात्, नेपालीको सम्पत्ति झन्डै ३८ प्रतिशत घट्छ । अनुमान गरिएजस्तो आठ अर्ब भारुमा ३७ दशमलव पाँच प्रतिशत विनिमय घाटा भयो भने तीन अर्ब रुपैयाँ नाश भएको देखिन्छ । तथापि, यो तथ्यांकमा विश्वस्त हुने आधार नदेखिने विश्लेषक बताउँछन् आजको नयाँ पत्रिकामा समाचार छ ।

काठमाडौं,पुस १७ । संविधान संशोधन विधेयक पारित गराउन र निर्वाचन घोषणाका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। राप्रपाका अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरमका अध्यक्ष विजयकुमार गच्छदारलाई समेटेर प्रधानमन्त्री दाहालले मन्त्रिपरिषद विस्तार गर्न लागेको खबर आजको नेपाल समाचार पत्रमा बीपी साहले पहिलो पृष्टमा लेखेका छन्।

थपाले उपप्रधानमन्त्रीसहित शक्ति सन्तुलन गर्ने खालको मन्त्रालयको माग गरेका छन् भने गच्छदार पनि उपप्रधानमन्त्रीसहित सरकारमा जान तयार भएका छन्। ‘म अहिले धनगढीमा छु। अनौपचारिक रूपमा कुरा भए पनि औपचारिक रूपमा कुरा भएको छैन,’ थापाले भने,‘पार्टीमा यसबारे कुरा गर्न बाँकी छ। गच्छदारले सरकारको आलोचना गर्न थालेपछि पछिल्लो पटक प्रधानमन्त्रीसँग गच्छदारको मन्त्रालयको विषयमा बार्गेनिङ भइसकेको स्रोतको भनाई छ। संविधान संशोधन गराउने विषयमा गच्छदारलाई सरकारमा ल्याउने विषयमा मधेसी मोर्चाले सकारात्मक सर्मथन गरेको छ।

काठमाडौं,पुस १७ । विद्युत प्राधिकरणले राजधानी उपत्यकालाई ‘लोडसेडिङमुक्त राख्ने अभियान’ लाई निरन्तरता दिन शनिबार राति १२ बजे (जनवरी १) देखि नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन ढल्केबर–मुजफ्फरपुरबाट थप ४० मेगावाट बिजुली आयात गर्ने भएको छ।

सुख्यायामसँगै पानीको लेभल घटै गएकाले नदीको प्रवाहमा आधारित (रन अफ रिभर) प्रकृतिका जलविद्युत आयोजनाको विद्युत उत्पादन कम हुँदै गएकाले राजधानीलाई लोडसेडिङमुक्त राख्न भारतबाट थप बिजुली आयात गरिएको हो।

प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार भारतबाट आउने थप ४० मेगावाट बिजुली ढल्केबर–हेटौंडाको १३२ केभीको प्रसारण लाइनबाट हेटौंडा र वरपरको क्षेत्रमा पठाइनेछ भने मर्स्याङ्दी कोरिडोरबाट हेटौंडामा पठाइने ४० मेगावाट बिजुली राजधानीमा ल्याइनेछ।

अधिकारीले अंग्रेजी नयाँ वर्षसँगै राजधानीमा ४० मेगावाट बिजुली थपिएपछि काठमाडौं उपत्यका, बनेपा र धुलिखेललगायतका स्थानलाई लोडसेडिङमुक्त राख्न सकिने जानकारी दिए। प्राधिकरणले भारतबाट थप आयात भएको बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा (३.६० भारु) मा भारतीय कम्पनी एनभीभीएनसित खरिद गरेको हो।

अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने थप बिजुली ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउने योजना प्राधिकरणको थियो। तर, ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण गर्न बाँकी एउटामात्र टावर बनाउन ढिलाइ भएकाले हेटौंडाको विकल्प रोजिएको हो।

उक्त टावर निर्माण भएपछि भारतबाट आयात हुने बिजुली खिम्ती–ढल्केबर प्रसारण लाइन हुँदै राजधानी ल्याइनेछ। प्राधिकरणले आगामी फेब्रुअरी १ देखि थप ४० मेगावाट बिजुली भारतबाट आयात गर्न थाल्नेछ। मुजफ्फरपुर–ढल्केबर अन्तरदेशीय प्रसारण लाइनबाट प्राधिकरणले ८० मेगावाट आयात गरिरहेको थियो। शनिबार रातिदेखि उक्त प्रसारण लाइनबाट प्राधिकरणले १२० मेगावाट आयात गर्न थालेको छ। फेब्रुअरी १ देखि भने त्यहाँबाट प्राधिकरणले १६० मेगावाट बिजुली आयात गर्न थाल्नेछ।

अधिकारीका अनुसार फेब्रुअरी १ देखि ढल्केबर–मुजफ्फरपुरबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली राजधानी ल्याइनेछ। नदीमा पानीको प्रवाह घटेर सबभन्दा कम विद्युत उत्पादन हुने समयमा भारतबाट आयातीत बिजुलीमध्ये ९० मेगावाट राजधानी ल्याएपछि माघको तेस्रो सातादेखि फागुन, चैत, बैसाख र जेठमा समेत काठमाडौं उपत्यका, बनेपा र धुलिखेललाई लोडसेडिङमुक्त राख्न सकिने प्राधिकरणका प्रवक्ता अधिकारी बताउँछन्।

प्राधिकरण र एनभीभीएनबीच दुई साताअघि थप विद्युत खरिदबिक्री सम्झौता भएको हो। सम्झौताअनुसार शनिबार रातिदेखि थप ४० मेगावाट बिजुली आउन थालेको हो। प्राधिकरण र एनभीभीएनबीच २०१७ जनवरी १ देखि मेसम्मका लागि विद्युत् खरिद सम्झौता भएको हो। वर्षायाममा भारतबाट धेरै बिजुली आयात गर्नुनपर्ने भएकाले हिउँद र सुक्खायामका लागिमात्र विद्युत खरिद सम्झौता भएको हो।

ढल्केबरमा निर्माणाधीन सबस्टेसन निर्माणमा ढिलाइ भएकाले नेपालको अनुरोधमा भारतको पावर ग्रिड कर्पोरेसनले मुजफ्फरपुरमा १०० मेगावाटको ट्रान्सफर्मर जडान गरिदिएकाले शनिबार रातिदेखि थप ४० र फेब्रुअरी १ देखि थप ८० मेगावाट ल्याउन सम्भव भएको हो।

प्राधिकरणले राजधानी उपत्यकाबाहेक मुलुकका सबै ठाउँलाई समेत लोडसेडिमुक्त बनाउन तथा घटाउन भारतबाट थप १४० मेगावाट बिजुली आयात गर्नेछ आजको कान्तिपुर दैनिकमा समाचार छ ।

काठमाडौं,पुस १६ । सन् २०१६ को सबैभन्दा चर्चित घटना हो अमेरिकी राष्ट्रपतिको निर्वाचन। चर्चा राष्ट्रपतिको निर्वाचनको भन्दा पनि उम्मेदवार डोनाल्ड ट्रम्प र उनले दिने गरेका विवादास्पाद अभिव्यक्तिको थियो। यसले संसारकै मिडियामा बडो ठूलो चर्चा पायो र त्यो भन्दा पनि ठूलो चर्चा त उनको विजयको भयो, जसले संसारका धेरै विज्ञहरुको अनुमानहरुलाई उल्टो नै सावित गरिदियो। ट्रम्प राष्ट्रपति भएपछि पनि अमेरिका र विश्वमा के हुन्छ भन्ने अर्को चर्चा अहिलेसम्म पनि उत्तिकै छ। अमेरिका संसारको शक्ति राष्ट्र हो र यसको राजीतिक प्रभावले यो भूगोललाई यो वा त्यो हिसाबले छुने गर्दछ। त्यसैले अनपेक्षित रुपमा ट्रम्प आएपछि उनले लिने नीतिले अब संसारलाई के कसरी छुने हो भन्ने कौतुहलतापूर्ण चर्चा अहिले पनि छ। र सायद उनले आफ्नो कार्यभार सम्हालेपछिको केही महिनासम्मको कार्यशैलीले यो चासोले विराम पक्का पनि पाउँदैन। त्यसपछि यसवर्ष बढी चर्चित अर्को घटना हो बेलायतले युरोपेली युनियन छोड्ने निर्णय ।

यो पनि लगभग अमेरिकी राष्ट्रपतिकोजस्तै अर्को अनपेक्षित परिणाम हो । एकाध जनगुनासोलाई चित्त बुझाउनका लागि 'लौनत' भनेर तत्कालीन प्रधानमन्त्रीले ख्यालख्यालमै घोषणा गरेको जनमत संग्रहले ट्रम्पको पक्षमा दिएजत्तिकै परिणाम दियो। युरोपेली युनियनमा बेलायत बस्न नहुने माग विपक्षीबाट आएपछि बेलायतका तत्कालीन प्रधानमन्त्रीले जनमत संग्रहको घोषणा गरे। तर जुन २३ मा भएको सो जनमत संग्रहले परिणाम भने बेग्लै दियो। बेलायतले युरोपेली युनियन छोड्नुपर्छ भन्ने पक्षमा ५२ र छोड्नुहुदैन भन्ने पक्षमा ४८ प्रतिशत ब्रिटिशले मत व्यक्त गरे।

वास्तवमा सरकारले जनमत संग्रहको घोषणा गर्नेबेलासम्म यस एजेण्डाले त्यति चर्को रुप लिएको थिएन तर घोषणापछि प्रचार प्रसारको क्रममा नै यसले लगभग उग्र रुप लिनपुग्यो। अन्ततः नसोचिएको परिणाम आयो। यस परिणामले युरोपलाई त झट्का दियो नै संसारलाई पनि युरोपमा देखिने विभाजनले अन्य भूगोलमा कस्तो असर पार्ला भनेर चिन्ताहरु निम्त्याइदियो। यसरी यस घट्नाले पनि संसारमा चासो र चर्चा थपिदियो भने युरोपमा चिन्ता। संसारमा चर्चाको शिखरमै रहेको अर्को घटना हो उत्तर कोरियाको आणविक परीक्षण।

संसारलाई जिस्काएजस्तो वा विश्वले बोलिरहँदा पनि आफूलाई कुनै वास्ता र डर नभएजस्तो गरी वर्षमै पटकौँसम्म उत्तर कोरियाले गरेको आणविक परीक्षणको घटना विश्वका संचारमाध्यमहरुको अग्र स्थानमा रहन पुग्यो। अमेरिकालगायत संसारले यस्तो परीक्षणको कार्य तुरुन्त बन्दगर्न उत्तर कोरियालाई दिएको धम्की र उत्तर कोरियाले अरु विश्वलाई नत्र झन्ठूलो आणविक परीक्षण गरिदिने भनेर दिने गरेका जवाफी आणविक फायरिङहरु नै संसारका मिडियामा स्थान पाएका थिए। संयुक्त राष्ट्रसंघ एवम् अमेरिकाले उत्तर कोरियामाथि विभिन्न समयमा नाकाबन्दी एवम् कारबाहीको चेतावानी दिए । राष्ट्रसंघीय सुरक्षा परिषदले उक्त देशलाई पटक पटक निन्दा गर्दै यस्ता कार्य रोक्न चेतावानी पनि दियो। तर त्यसका बाबजुद पनि उसले सन् २०१६ को जनवरीदेखि नै आणविक परीक्षणको काम सुरु गर्यो र वर्षको उत्तरार्धसम्म नै यसले निरन्तरता पायो। युरोपमा भएको आतंककारी हमला पनि सन् २०१६ को अर्को प्रमुख घटना हो । गएका केही वर्षहरुदेखि युरोप कुनै न कुनै किसिमले चर्चामै छ । सन् २००९ को विश्व आर्थिक मन्दीले युरोजोनलाई कैयौं वर्षसम्म सतायो। त्यसपछि सुरु भयो युरोपमा आप्रवासी समस्या। यसले पनि युरोपको समृद्धि र विकासको मार्गमा राम्रैसँग धावा बोल्यो। र अहिले युरोपमा आतंकवादको ठूलो त्रास छ।

गएको मार्च २२ मा बेल्जियमको ब्रसेल्सको एक विमानस्थल र रेल स्टेसनमा आतंककारी हमला भयो। त्यसबाट कम्तीमा पनि ३४ जना निर्दोष नागरिक मारिए र अरु दर्जनौँ घाइते भएर बसे। त्यो भन्दा ठूलो बर्बरता देखियो फ्रान्सको निस सहरमा। एक क्रुर मानिसले उक्त सहरमा फ्रान्सको राष्ट्रिय दिवस मनाइरहेका सयौं मानिसहरुको भीडमा शक्तिशाली विस्फोटक पदार्थले भरिएको ट्रक ठोकाएर ८४ जना नागरिकको हत्या गर्यो। आधुनिक समाजको आतंककारी बर्बरतासहितको यो अती क्रुर नमूना थियो । यो ट्रक हमलाले वर्षको उत्तरार्धतिर पनि छोएर गयो जर्मनीको बर्लिन सहरमा । त्यहाँ पनि केही नागरिकको यो हमलाबाट ज्यान गयो। यसरी सिंगो युरोप यतिखेर यस्तो आतंककारी हमलाबाट सताइएको छ। युरोपले यसका विरुद्धमा ठूलै संघर्ष गर्नुपर्ने अवस्था देखिन्छ सिंगो युरोप बनेर। टर्कीमा भएको असफल सैनिक कू यसवर्षको अर्को एक चर्चित घटना हो। गएको जुलाई १५का दिन टर्कीका राष्ट्रपति रिसेप बिदामा रहेका बेला त्यहाँको सेनाले असफल 'कू' को प्रयास गर्यो। सेना रातिको समय पारेर सडकमा ओर्लियो र जथाभावी आक्रमण गर्यो। सरकारी टेलिभिजन नियन्त्रणमा लियो, सैनिकलाई नियन्त्रणमा लियो र सत्ता लिएको प्रचार गर्यो।

सेनाको एक टुकडीले गरेको यो प्रयास सफल भएन र जसले गर्दा त्यहाँका हजारौं हजार कर्मचारी, सेना, प्राध्यापक, शिक्षकलगायतले जेलमा बिताउनुपर्यो। त्यस्तै कम्तीमा पनि ५० हजार जनाले जागिरबाट हात धुनुपर्यो भने २०० जनाको ज्यानै गयो। त्यो प्रयास असफल भयो र त्यस प्रयासमा संलग्न सयौं सेनाहरु जेलमा छन् । साउथ चाइना सि को चीन र फिलिपिन्सको विवादले पनि संसारको ध्यान तान्यो। यस विवादका कारण चीनको वान बेल्ट वान रोडको योजनामा पनि असर पर्ने त होइन भन्ने पनि लाग्यो। फिलिपिन्सले साउथ चाइना सिमा आफ्नो हिस्सेदारीको कुराले गर्दा यी दुई देशबीच तनाव बढ्यो। तर पछिल्लो समयमा आएर भने यसमा सन्तुलन आएको छ। यसमा चिनियाँ कूटनीति सफल देखिएको छ। फिलिपिन्सको यस दाबीले चीनको अखण्डतामा धावा बोलेको मात्र नभई यसले अन्तर्राष्ट्रिय कानुनको पनि उल्लंघन गरेको भनी चीनले विश्वव्यापी रुपमा निरन्तर रुपमा दबाब सिर्जना गर्यो। जसका कारण हाललाई भने यसले समाधानको मार्ग पछ्याएको देखिएको छ।

सिरिया त गएका कैयौं वर्षदेखि नै चर्चाको शिखरमा छँदै नै छ। यस वर्ष पनि सिरियाका कारण वर्षको सुरुवातमै अर्थात् फेब्रुअरी २७ मा रसिया र अमेरिकाले सिरियाको बारेमा संयुक्त युद्धविराम प्रस्ताव ल्याए र त्यसमा समर्थन गर्ने भए। त्यसले अब सिरियामा शान्ति स्थापना हुने भयो भन्ने आशालाई संसारभरी नै जगायो। तर परिस्थिति त्यही रुपमा रहेन उही पुरानै हिंसाको बाटोमा फर्कियो। पाँच वर्षदेखि हिंसाको चपेटामा परेका सिरियाली जनताको आशाको दियो धेरै बलेन र पुनः उही हिंसा सुरु भयो। अहिले पनि सिरियाको हिंसा संसारमै चहराएको छ। दुई राष्ट्रपति महिला ब्राजिलकी डिल्मा रुसेफ र दक्षिण कोरियाकी पार्क गेउन हाईविरुद्धको महाअभियोग प्रस्तावले पनि संसारको मिडियाको ध्यान तानेको हो। ब्राजिलमा रुसेफलाई हटाइएसँगै एक ठूलो ल्याटिन अमेरिकी मुलुकमा गएको करिब डेढ दशकपछिको बामपन्थी झुकावको वर्कस् पार्टीको शासन हट्यो। भने महिनौं लामो सडक आन्दोलन र विपक्षीहरुको विरोधका बाबजुद उता दक्षिण कोरियाली राष्ट्रपति हाइलाई पनि हटाइएको छ।

त्यस्तै बर्षको लगभग उत्तरार्धका दुई विश्व चर्चित घटना बने संयुक्त राष्टसंघका महासचिवको नियुक्ति र क्युबाली राष्ट्रपति फिडेल क्यास्ट्रोको निधन। अक्टोबर ५ मा पोर्चुगलका पूर्व प्रधानमन्त्री एन्टोनियो गुटेरेस राष्ट्रसंघका महासचिव नियुक्त भए। उनले सपथ पनि लिइसकेका छन् भने अब नयाँवर्षसँगै उनले कार्यभार सम्हाल्ने छन्। त्यस्तै क्युबाली राष्ट्रपति फिडेल क्यास्टोको निधनले पनि संसारमा नै चर्चा पायो। सन् १९५९मा गुरिल्ला युद्धमार्फत सत्तामा आएका यी नेताले बनाएको क्रान्तिकारी छवीको विश्वका मिडियाले चर्चा गरे। उनले आफ्नो कार्यकालभरि अमेरिकी नाकाबन्दी तथा अमेरिकाको विरोधको सामना गर्नु परेको थियो। उनको यो संघर्षको पाटोलाई विश्वका मिडियाले क्रान्तिकारी छवीका रुपमा प्रस्तुत गरेका थिए।

रासस