अब यस्तो पनि, प्रधानमन्त्री कार्यालयमा छुट्टै मन्त्री

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा क्याबिनेट मन्त्री राख्न तयारी थालेको छ। संघीय शासनमा सफलता हासिल गरेका मलेसिया, अस्ट्रेलिया र क्यानडाको सिको गरी प्रधानमन्त्रीलाई सघाउने गरी छुट्टै मन्त्री राख्न गृहकार्य थालिएको मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई चुस्त राख्न तथा केही महत्वपूर्ण जिम्मेवारी दिनेगरी प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा एकजना वरिष्ठ मन्त्री राख्ने भएपछि प्रधानमन्त्री कार्यालयले त्यसको व्यवस्थापन थालेको हो।

सरकारले हालै स्वीकृत गरी कार्यान्वयनमा ल्याएको कार्यविभाजन नियमावली २०७४ मा राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति सुद्धीकरण, जस्ता अनुसन्धानमूलक निकाय तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको मापदण्ड तथा अनुगमन कार्यको जिम्मेवारीसमेत प्रधानमन्त्री कार्यालयमा थपिएको छ। प्रधानमन्त्री कार्यालयका एक सचिवले पनि प्रधानमन्त्री कार्यालयमा एक जना वरिष्ठ मन्त्री राख्ने सम्बन्धमा गृहकार्य भइरहेको जानकारी दिए।

ती सचिवका अनुसार प्रधानमन्त्री कार्यालयको नयाँ सांगठनिक संरचना बनाउँदा पनि मन्त्रिपरिषद् कार्यालय हेर्ने एउटा मन्त्री राख्ने गरी नयाँ संगठन संरचना बनाउन गृहकार्य अन्तिम चरणमा पुर्‍याएको छ।

अहिले विभिन्न मन्त्रालयबाट आउने प्रस्ताव मुख्यसचिवमार्फत सीधै प्रधानमन्त्रीकहाँ पुग्ने गरेको छ। क्याबिनेट मन्त्री आएपछि उनीमार्फत नै प्रस्तावहरू प्रधानमन्त्रीसमक्ष पुग्नेछ। प्रधानमन्त्री कार्यालयको मन्त्रीको रूपमा रहेर जिम्मेवारी बहन गर्ने ती मन्त्रीले क्याबिनेट मन्त्रीको रूपमा समेत काम गर्र्नेछन्।

एक जनामन्त्री आउने निश्चित भएपछि प्रधानमन्त्री कार्यालयले उनका लागि छुट्टै कोठा र निजी सचिवालय बनाउन थालेको छ।

प्रधानमन्त्री कार्यालयका प्रशासन शाखाका एक अधिकारीले प्रधानमन्त्रीलाई सघाउने गरी एक जना वरिष्ठ मन्त्री आउने देखिएकाले सोहीअनुसार कार्यालय व्यवस्थापनको तयारी थालिएको जानकारी दिए।

मलेसियाका तत्कालीन प्रधानमन्त्री डा महाथिर मोहम्मदले प्रधानमन्त्री कार्यालयलाई चलायमान बनाउन आफ्नो कार्यालयमा मन्त्री–उपमन्त्रीसहित १० जनासम्म राखेर उनीहरूलाई राष्ट्रिय आयोजनाको निरन्तर अनुगमन गर्न तथा विकासका नयाँ मोडलहरू तय गर्ने खटाएका थिए।

मोहम्मदको शासनकालमा नै मलेसियाले विकासमा छलाङ मारेको देखेका प्रधानमन्त्री ओलीलाई मलेसियाकै एप्रोचअनुसार अघि बढ्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले समेत सुझाव दिँदै आएका छन्।

संघीय मुलुक क्यानडाले पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ६ जनासम्म मन्त्री राखेको इतिहास छ। यस्तै अस्ट्रेलियाली प्रधानमन्त्री कार्यालयमा ६ जनासम्म मन्त्रीले काम गरेका थिए।

‘संघीयता अपनाएर सफल भएका मुलुकको अनुभवलाई नेपालमा लागु गर्ने र मन्त्रिपरिषद् कार्यालयमा एक जना मन्त्री राखेर उनलाई विकास आयोजनाको अनुगमनको निरन्तर जिम्मेवारी दिन हामीले सुझाव दिएका हौं’, कार्यालयका एक सचिवले भने। अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

लालबाबु पण्डितको अर्को एक्सन-भारतमा काम नलाग्ने गाडि नेपाल भित्रिएपछि प्रतिबन्ध तयारी

काठमाडौं ।

भारतमा काम नलाग्ने भएका इन्जिन सहितका गाडि नेपाल भित्रन थालेपछि सरकारले युरो ३ मापदण्डका सवारीसाधन आयातमा प्रतिवन्ध लगाउने तयारी गरेको छ । सरकारले अब युरो–४ मापदण्डका मात्रै गाडी आयात र दर्ता गर्ने तयारी तिब्र बनाएको छ ।

विकसित मुलुकहरुले युरो–६ मापदण्ड लागू गरिसकेका बेलामा नेपालले भने अहिलेपनि युरो ३ मापदण्डका सवारीसाधन आयातमा छुट दिंदै आएको छ । युरो–४ मापदण्डका सवारी वातावरणीय दृष्टिकोणले राम्रो मानिन्छ ।

नयाँ आयात हुने सवारीमा युरो–४ मापदण्ड लागू गर्ने तयारी थाल्न वातावरण मन्त्री लालबाबु पण्डितले निर्देशन दिएका छन् । त्यसअनुसार मन्त्रालयले विभिन्न सरोकारवाला निकाय र विज्ञसँग छलफल थालेको छ । सरकारले मन्त्रिस्तरीय निर्णय गरेर मापदण्ड तोक्न सक्छ ।

युरो–४ का गाडीले युरो–३ को भन्दा कम विषाक्त ग्यास फाल्छन् । आयल निगमले गत वर्षबाटै युरो–४ मापदण्डको तेल भित्र्याउन थालेको थियो । सवारी साधन भने एक तह मुनिका आयात भइरहँदा त्यस्तो इन्धन प्रयोग गर्नुको औचित्य प्रमाणित हुन सकेको छैन ।

काठमाडौंको वायु प्रदुषणको ५० प्रतिशत कारक सवारीसाधनले फाल्ने धुवाँ भएको अध्ययनहरुले देखाएका छन् । बर्सेनि काठमाडौंको प्रदुषण उच्च दरले वृद्धि हुँदै जाँदा मन्त्री पण्डितले एक वर्षभित्रै यहाँ मास्क लगाएर हिँड्नुपर्ने अवस्था हटाउने घोषणा गरिसकेका छन् ।

आयात भइसकेका सवारीमा प्रदुषण जाँचलाई कडाइ गर्ने र भित्रिने गाडीमा नयाँ प्रदुषण मापदण्ड लगाउने मन्त्री पण्डितको योजना छ । ‘अब पनि पुरानै प्रविधिका गाडी भित्रिरहन दिनुहुँदैन,’ मन्त्री पण्डित भन्छन्, ‘कम धुवाँ फाल्ने, वातावरणलाई कम असर पर्ने मापदण्डका गाडी भित्र्याउनुपर्छ । पुराना प्रविधिका गाडीको आयात रोक्न अब काम हुन्छ ।’

विकसित मुलुकहरु युरो–६ मापदण्डमा प्रवेश गर्दै गर्दा बल्ल युरो–४ मा जानेबारे सरकारी अधिकारीहरु छलफलमा जुटेका छन् ।

नेपाल आउने सवारीको मानुफ्याक्चर नेपाली व्यवसायीको मागका आधारमा हुने भएकाले उत्पादक कम्पनीले युरो–३ कै इन्जिन राखेर निर्माण गर्ने गरेको जानकारी आफूहरुसँग रहेको वातावरण मन्त्रालयका एक अधिकारी बताउँछन् । उनका अनुसार युरो–३ मापदण्डका गाडीको उत्पादन लागत सस्तो पर्छ ।

दक्षिणी छिमेकी भारतमा युरो–४ नभएका सवारीको दर्ता रोकिएको छ । सोही कारण उत्पादन भइसकेका करिब साढे आठ लाख गाडी थन्किएका थिए । अहिले तिनका इन्जिनहरु नेपाल आउने सवारी साधनमा प्रयोग भइरहेको पाइएको छ ।

के हो युरो–४ ?

युरोपेली उत्सर्जन मापदण्डको एउटा तह हो यो । यसले युरोपियन युनियन तथा युरोपेली आर्थिक क्षेत्रका नयाँ सवारी साधनले कतिसम्मको हानिकारक ग्यास उत्सर्जन गर्न पाउँछन् भन्ने निर्धारण गर्छ । यो मापदण्डलाई युरोपबाहेककका महादेशमा पनि स्वीकार गर्दै अपनाउने गरिएको छ ।

यसअन्तर्गत् युरो–१ देखि ६ सम्मका तह तयार भइसकेका छन् । युरो–१ यात्रुवाहक कार र हल्का ट्रकहरूका लागि लागू हुन्छ भने युरो–२ यात्रुवाहक कार र मोटरसाइकलका लागि मात्र ।

भारतमा युरो–४ नभएका सवारीको दर्ता रोकिएको छ । सोही कारण उत्पादन भइसकेका करिब साढे आठ लाख गाडी थन्किएका थिए । अहिले तिनका इन्जिनहरु नेपाल आउने सवारी साधनमा प्रयोग भइरहेको शंका सरकारी अधिकारीमा देखिन्छ

युरो–३ मा मोटरसाइकल लगायत सबै सवारी पर्छन् । यस्तै, युरो–४ पनि सबैमा लागू हुन्छ । युरो–५ र ६ व्यावसायिक तथा यात्रुवाहक हल्का सवारीका लागि लागू हुन्छ ।

कुन तहका सवारीले कति ग्यास उत्सर्जन गर्ने भन्ने पनि सवारीअनुसार फरक हुन्छ । जस्तो– युरो–१ को यात्रुवाहक कारले दुई दशमलव ७२ ग्राम प्रतिकिलोमिटर कार्बनडाइअक्साइड ग्यास उत्सर्जन गर्न पाउँछन् । डिजेलबाट चल्ने सोही वर्गका हल्का व्यावसायिक सवारीले पाँच दशमलव १७ ग्राम प्रतिकिमि कार्बनडाइअक्साइड फाल्न पाउँछन् ।

यो मापनमा कार्बनडाइअक्साइडका अतिरिक्त नाइट्रोजन अक्साइड, टोटल हाइड्रोकार्बन, ननमिथेन हाइड्रोकार्बन, कार्बनमोनो अक्साइड र पार्टिकुलेट म्याटरको पनि मापन गरिन्छ ।

युरो–४ मापदण्ड सन् २००५ देखि लागू भएको हो । यसको यात्रीवाहक कार ९डिजेल०ले प्रतिकिमि शून्य दशमलव ५० ग्राम कार्बनमोनो अक्साइड र शुन्य दशमलव २५ ग्राम नाइट्रोजन अक्साइड उत्सर्जन गर्छ ।

यस्तै, पेट्रोल इन्जिनयुक्त कारले प्रतिकिमि एक ग्राम कार्बनमोनो अक्साइड फाल्छ । यस्ता धेरै विषाक्त ग्यासहरुको उत्सर्जन युरो–४ मापदण्डले कम मात्रामा गर्छ ।

‘अब ढिला भइसक्यो । अरु देश युरो–६ मा जाँदैछन् । हामी युरो–४ लगाउन छलफल गरिरहेका छौं,’ मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘भारत पनि युरो–६ मा जाने तयारीमा छ । त्यसैले हामी पनि अपडेट हुँदै अघि बढ्नुपर्ने अवस्था छ ।’

घरेलु तथा साना उद्योग प्रमुख राजेन्द्रकुमार कर्ण २ लाख घुससहित पक्राउ

लहान ।

लहान जिल्लाको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख राजेन्द्रकुमार लाल कर्ण दुई लाख घुसा सहित पक्राउ परेका छन् ।

घुस लिँदालिँदै रंगेहात अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार साँझ सरकारी निवास लहानको ग्रामीण चोकबाट उनलाई पक्राउ गरेको हो ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र होरेन्डेक लहानका एक कर्मचारीबाट लिएको दुई लाख रुपैयाँ घुससहित प्रमुख कर्ण पक्राउ परेको अख्तियार कार्यालय इटहरीका एसपी किसन सिंह थापाले जानकारी दिए ।

होरेन्डेकलाई गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम दिएको छ ।

होरेन्डेकका एक कर्मचारीले भने, ‘कार्यक्रमका लागि घरेलुले ६० लाख बजेट छुट्याएको छ । तत्काल २० प्रतिशत रकम निकासा दिएपछि प्रमुख कर्णले कमिसन माग्दै आएका थिए ।’ कर्णले कुल बजेटको १० प्रतिशत कमिसन मागेपछि अख्तियारलाई खबर गरिएको थियो ।

बिहेमा कुटेर साथीको हत्या गर्ने ५ जना कारागार चलान

ओखलढुङ्गा ।

बिहेमा गएका एक युवालाई हत्या गर्ने पाँच जना जेल चलान भएका छन् । छिमेकीको विवादमा चिर्पटले हानेर साथीको हत्या गर्ने अभियुक्तहरुलाई ओखलढुंगा जिल्ला अदालतको आदेशमा कारागार पठाइएको हो ।

गएको माघ १४ गते राति छिकेकीको विवाहमा गएका मोलुङ गाउँपालिका ७ पात्लेका २० वर्षीय कुमार मगरलाई पाँच जनाको समुहले चिर्पटले हानेर हत्या गरेका थिए ।

ओखलढुंगा जिल्ला अदालतको आदेशले अभियुक्तहरु २२ वर्षीय जिग्मे शेपा, २३ वर्षीय साङ्गे शेर्पा, २२ वर्षीय पासाङ शेर्पा र २६ वर्षीय छोङ्टेण्डी शेर्पालाई पुर्पक्षका लागि कारागार पठाइएको हो ।

उक्त घटनामा एक जनाको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए । घाइते हुनेहरुमा १८ वर्षीय कमल मगर, १७ वर्षीय जनक मगर, ३५ वर्षीय पदम मगर, ४८ वर्षीय मानबहादुर मगर र ३६ वर्षीय बलराम मगर रहेका छन् ।

घाइतेहरुको सामुदायिक अस्पताल ओखलढुङ्गामा उपचार गरिएको थियो । दर्जन बढीको समुहले आक्रमण गरे पनि अनुसन्धानबाट दोषी ठहर भएकालाई मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

काँग्रेस संसदीय दलको नेताको निर्वाचन २१ गते,क-कसको हुँदैछ भिडन्त ?

काठमाडौँ ।  नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ ।  सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा मंगलबार बसेको समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको काँग्रेसका नेता तथा समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

समितिले संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी गरेको छ । समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्वे रहेका छन् । बैठकले समितिका सदस्यसचिवमा केशव रिजाललाई राख्ने तय गरेको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम बाहिर आएको छ ।

वाम गठबन्धनलाई फोरमको आवश्यकता किन ?

काठमाडौं । एमाले–माओवादी वाम गठबन्धनलाई केन्द्रमा सरकार सञ्चालनका लागि प्रतिनिधिसभाका कुल १३७ सांसद आवश्यक पर्छ। वाम गठबन्धनसँग संसद्को २७५ सदस्यमध्ये १७४ अर्थात् ६३ दशमलव २७ प्रतिशत मत छ।गठबन्धनसँग दुईतिहाइ नजिक मत रहँदा पनि यी दुई दलले १६ सिट रहेको संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन पहल गरिरहेका छन्।

सरकारमा सहभागिताका लागि फोरम एमालेबीच बुधबार निर्णायक वार्ता हुने सम्भावना छ। वार्तामा दुई पक्षबीच सहमति जुटे फोरम सरकारमा सहभागी हुने संघीय फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले बताए। ‘छलफल सहमतिनजिक छ, हामीले सरकारसँग राजनीतिक प्रतिबद्धता खोजेका छौं, त्यसमा समझदारी जुटे हामी सरकारमा सहभागी हुन्छौं,’ श्रेष्ठले भने।

मंगलबार मात्रै पनि एमाले नेता सुवास नेम्बाङले फोरमका सहअध्यक्ष श्रेष्ठ र महामन्त्री रामसहाय यादवसँग सिंहदरबारमा छलफल गरेका थिए। छलफल नटुंगिएका कारण बुधबार पुनः बैठक बसेर समझदारी खोजिने एमाले नेता नेम्बाङले बताए।

‘छलफल सकारात्मक नै छ, बैठकलाई बुधबार पनि निरन्तरता दिएर टुंगो लगाउने प्रयास हुन्छ,’ नेता नेम्बाङले भने। सरकारमा सहभागिताका लागि फोरमले विगतमा भएको २२ बुँदे सम्झौता कार्यान्वयन हुनुपर्ने, संविधानको धारा २७४ को उपधारा ७ मा संशोधन गर्नुपर्ने, संघीय सीमांकन आयोग गठनसम्बन्धी प्रावधान राख्नुपर्ने र प्रदेश २ को सरकारमा एमाले पनि सहभागी हुनुपर्ने सर्त राखेको छ। त्यस्तै, उसले ४ वटा मन्त्रालयको मागदाबी पनि गरेको छ।

गठबन्धनले भने आवश्यकताका आधारमा संविधान संशोधनका लागि तयार हुने, कार्यदल गठन गर्ने र समझदारीमा मन्त्रालय भागबन्डा लगाउने प्रस्ताव फोरमसमक्ष राखेको छ। माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नीतिगत रूपमा विषय टुंगो लगाएर ‘गिभ एन्ड टेक’ मा समझदारी हुने बताए। ‘सुरुमा उहाँहरू ९फोरम० ले छलफल गर्ने क्रममा त्यसरी ४ वटासम्म मन्त्रालय माग गर्नुभएको हो, उहाँहरूलाई पनि ४ वटा मन्त्रालय आफूहरूले पाउन सम्भव छैन भन्ने कुरा थाहा छ’, श्रेष्ठले भने, ‘आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ भन्ने हाम्रो सोच छ। उपयुक्त ढंगले मन्त्रिमण्डलमा सामेल गर्ने कुरा हामीले सोचिरहेका छौं।’

एमाले सचिव योगेश भट्टराईले सरकारमा फोरमसँग सहकार्य गरे पनि उनीहरूले उठाउँदै आएको संविधान संशोधनका विषयमा भने एजेन्डाका आधारमा जायज मुद्दाको मात्र सम्बोधन हुने बताए।

स्रोतका अनुसार फोरमलाई सरकारमा ल्याउन संविधान संशोधन प्रस्ताव ३५ दिनभित्र संसद्मा दर्ता गराउन कार्यदल गठन गर्ने र २ मन्त्री र १ राज्यमन्त्रीमा मनाएर सहमति खोज्नेमा गठबन्धन छन्।

किन ल्याउन चाहन्छन् फोरमलाई सरकारमा ?

एमाले माओवादीले संघीय फोरमलाई किन निर्णायक बनाउँदै सरकारमा सहभागी गराउन खोजिरहेका छन् रु गठबन्धन स्रोत भन्छ, ‘अन्तर्राष्ट्रिय रूपमा नेपालमा बनेको अहिलेको सरकार वामपन्थीको मात्र होइन भन्ने सन्देश दिन, राष्ट्रिय सरकारको स्वरूप दिन र संविधान संशोधनमा दुईतिहाइ जनमत निर्माण गर्न एमाले माओवादीले फोरमलाई सरकारमा सहभागी गराउन खोजेका हुन्।

त्यसैका लागि प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन परिणाम आएदेखि नै फोरम अध्यक्ष उपेन्द्र यादवसँग चरणबद्ध छलफल गर्दै आएका हुन्। एमाले(माओवादीले संसद्मा रहेका प्रमुख प्रतिपक्षी कांग्रेस र राष्ट्रिय जनता पार्टीलाई छाडेर तीन शक्तिको सरकार गठन प्रयास गरेका हुन्।

प्रदेश २ मा फोरमले पनि राजपासँग मिलेर चुनाव लडेको थियो। तर, अहिले एमाले माओवादीले राजपा(फोरम गठबन्धनभित्रबाट पनि फोरमलाई मात्र सरकारमा ल्याउन खोजेको हो। माओवादी केन्द्रका नेता श्रेष्ठ भन्छन्, ‘गठबन्धनको ध्येय प्रमुख प्रतिपक्षी कांग्रेस र गठबन्धनको नीतिमा पूरै असहमत पक्षबाहेक अन्य पक्षलाई सरकारमा ल्याउन प्रयास गर्नु हो।’

उनका अनुसार कांग्रेसलाई विशिष्ट अवस्थामै राख्नुपर्छ। त्यस्तै, हाम्रो नीतिसँग मेल नखाने पार्टीलाई पनि सरकारमा सहभागी नगराउने कुरा स्वाभाविक हुन्छ। तर, अरू पक्षलाई सरकारमा ल्याउने कुरा राष्ट्रिय हितमै हुन्छ।

श्रेष्ठले भने, ‘फोरमले समाजवादी कार्यक्रम राखेको छ, हामीसँग मिल्दोजुल्दो नै देखिन्छ, उसलाई मधेसमा राम्रो शक्तिमा पनि गनिन्छ, त्यस्तो शक्तिलाई सरकारमा ल्याउने कुरा राष्ट्रिय हितमै हुन्छ भनेर पहल गरिएको हो।’

एमाले सचिव भट्टराईले बलियो सरकार निर्माणका लागि फोरमलाई सरकारमा ल्याउन लागिएको बताए। ‘सरकारमा सबैको प्रतिनिधित्व होस्, काम गर्न सजिलो होस्, स्थायित्व र बलियो सरकारका लागि फोरमलाई सरकारमा ल्याउन खोजिएको हो,’ सचिव भट्टराईले भने।

राजपालाई नल्याइने

वाम गठबन्धनले फोरमलाई सरकारमा ल्याउन चाहे पनि फोरमसँगै गठबन्धनमा रहेको राष्ट्रिय जनता पार्टी (राजपा)लाई भने सरकारमा नल्याउने भएका छन्। राजपासँग नीति नै नमिल्ने भएका कारण गठबन्धनले उसलाई सरकारमा ल्याउन चाहेको छैन। ‘राजपालाई सरकारमा आउने वा ल्याउने कुरा हुँदैन,’ माओवादी नेता श्रेष्ठले भने, ‘प्रारम्भिक छलफल सबै राजनीतिक शक्तिबीच हुने नै भयो। तर, संघीय समाजवादीसँग जुन स्तरमा र महत्वपूर्ण ढंगले छलफल भएको छ, राजपासँग त्यो स्तरको छलफल भएको छैन र हँुदैन पनि। उससँगको नीति मिल्दा पनि मिल्दैन।’

छलफल शृंखला

एमाले माओवादीले १७ असोजमा वाम गठबन्धन घोषणा गर्ने बेलामै डा। बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमलाई पनि एकै मोर्चामा ल्याउने प्रयासस्वरूप छलफल भएको थियो। डा भट्टराई सुरुमा गठबन्धनमा सामेल पनि भए, उपेन्द्र भने त्यसबेला कम्युनिस्ट पार्टी बनाउने नारामा सहमत नहँुदा गठबन्धनमा सहभागी भएनन्।

– ८, ९ र १० पुसमा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन परिणाम आएलगत्तै एमाले अध्यक्ष केपी ओलीले संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग तीन दिन लगातार छलफल गरे। डा।भट्टराईसँग पनि १० पुसमै ओलीले गठबन्धनमै सहभागी हुन छलफल गरेका थिए।

– ७ फागुनमा एमाले(माओवादीबीच पार्टी एकतामा सहमतिको प्रारम्भिक आधार तयार पार्ने बैठकमा सहभागी हुँदै गर्दा फोरम अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री निवास बालुवाटार पुगे त्यहाँ उनले प्रधानमन्त्री ओली तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग संवाद गरी एमालेकै नेता अग्नि खरेलको गाडी चढेर बाहिरिए।

– १४ फागुनमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् विस्तारमा संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउन उपेन्द्र यादवसँग माओवादी अध्यक्ष दाहालसहित रहेर छलफल गरेका थिए। ओली(दाहाल छलफललगत्तै यादवले पार्टी पदाधिकारीसँग छलफल गरेका थिए। त्यसको अघिल्लो दिन अर्थात् १३ फागुनमा पनि प्रधानमन्त्री ओली र यादवबीच बालुवाटारमा छलफल भएको थियो।

– फोरमलाई सरकारमा सहभागी गराउनकै लागि एमालेले पार्टीका तर्फबाट नेता सुवास नेम्बाङको नेतृत्वमा प्रदीप ज्ञवाली, फोरमका तर्फबाट नेता अशोक राई, राजेन्द्र्र श्रेष्ठ र रामसहाय यादव सहभागी भए। अहिले पनि यही कार्यदलले सरकारमा सहभागी हुने साझा सहमतिको बुँदा तयार पार्ने गरी गृहकार्य निरन्तर गरिरहेको छ। मंगलबार पनि नेता नेम्बाङ, श्रेष्ठ र यादवबीच सिंहदरबारमा छलफल भएको थियो। (अन्नपूर्ण पोष्ट दैनिक)

विद्युत ट्रान्सरफर्मर खरिदमा कमिसनको खेल,स्थानिय उपभोक्ता समिति आन्दोलित

पप्पु गुरुङ्ग  । महाकाली नगरपालिकाले खरिद गरेको बिद्युत ट्रान्सफर्मर खरिदमा कमिसनको खेल भएको स्थानियहरुले दाबी छ् । माहाकाली नगरपालिका वडाका लागी खरिद गरिएको ३० वटा बिद्युत ट्रान्सफर्मर खरिद कार्यमा कमिसनको खेल भएको बताउदै माहाकाली नगरपालिका वडा नं. ६ का उपभोक्ता समिति तथा स्थानियहरु सम्मलित एक समुहले माहाकाली नगरपालिका कार्यालयमा पुगेर बिरोध जनाएका छन् ।

बित्तिय समानिकरण शिर्षकमा आर्थिक वर्ष २०७४-०७४ को लागी बिनियोजित रकम मध्ये माहाकाली नगरपालिकाको दशै वडामा २ वा ३ वटाको दरले ३० वटा बिद्युत ट्रान्सफर्मर खरिद गर्न वडा–वडामा उपभोक्ता समिति गठन प्रकृया अघि बढाएको थियो । अधिकांस उपभोक्ता समितिलाई खबरनै नगरिकन साबिकको दोधारा र सबिकको चाँदनी गाबिसको एक–एक उपभोक्ता समितिका पदाधिकारी सहित माहाकाली नगरपालिकाका प्रमुख बिर बहादुर सुनार, प्रबक्ता तथा वडा नं। ७ का अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री र वडा नं. ४ का वडा अध्यक्ष तथा भावी प्रबक्ता भक्त बहादुर सुनार खुसुक्क हेटौडा गएर बिद्युत ट्रान्सफरर्मर खरिद गरेको आरोप लगाउदै कमिसनको खेलमा गुपचुप अधिकांस उपभोक्ता समितिलाई खबरनै नगरिकन खरिद गरेको स्थानियहरुले आरोप रहेको छ् ।

‘यो जम्मै कमिसनको खेल भएको हो’ स्थानियहरु भन्छन् । उपभोक्ता समितिलाई थाहै नदिएर उपभोक्ता समितिको अधिकार समेत हनन् हुने गरि खरिद प्रकृया अघि बढाएको मनमर्जी गर्दै कमिसनको खेल खेलेको उनिहरुको आरोप रहेको छ् । केही कार्यपालिका सदस्यहरुको प्रत्यक्ष संलग्नतामा ट्रान्सफर्मर खरिद भएको स्थानिय उपभोक्ता समितिहरुको ठहर छ् ।

माहाकाली नगरपालिका वडा नं. ६ का बिद्युत ट्रान्सफरर्मर खरिद उपभोक्ता समितिका अध्यक्ष गणेश थापाले बिद्युत ट्रान्सफरर्मर खरिदको उपभोक्ता समिति गठन गर्ने अनि उपभोक्ता समितिलाई खबर नगरिकन बिद्युत ट्रान्सफरर्मर खरिद गरेको बताएका छन् । ‘बिद्युत ट्रान्सफरर्मर खरिद उपभोक्ता समितिलाई खबरनै नगरिकन आफै माहाकाली नगरपालिकाका प्रमुख बिर बहादुर सुनार, प्रबक्ता तथा वडा नं। ७ का अध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री र वडा नं. ४ का वडा अध्यक्ष तथा भावी प्रबक्ता भक्त बहादुर सुनार लगाएत केही आसेपासे उपभोक्ता समितिका पदाधिकारीलाई लिएर बिद्युत ट्रान्सफरर्मर खरिद गरेका हुन्’ माहाकाली नगरपालिका वडा नं. ६ का बिद्युत ट्रान्सफरर्मर खरिद उपभोक्ता समितिका अध्यक्ष गणेश थापाले बताए ।

माहाकाली नगरपालिकाको कुनै वडामा २, कुनै वडामा ३ हुने गरि ३० वटा बिद्युत ट्रान्सफरर्मर खरिद गरिएको छ् । ‘निक’ कम्पनीको बिद्युत ट्रान्सफर्मर ५० केभिएको भ्याट बाहेक लगभग रु। ३ लाख ७३ हजार, १ सय केभिएका बिद्युत ट्रान्सफरर्मर रु। ५ लाख ५० हजार हाराहारी गरि जम्मा १ करोड ४१ लाख बराबरको बिद्युत ट्रान्सफरर्मर खरिद गरिएको श्रोतले जानकारी दिएको छ् ।

५० केभिएको २६ थान र १ सय केभिएको ४ थान बिद्युत ट्रान्सफरर्मर ३ दिन अघि मात्रै माहाकाली नगरपालिकामा पुगेको हो । आज माहाकाली नगरपालिका कार्यालयमा पुगेर स्थानिय तथा उपभोक्ता समितिहरुले बिरोध जनाउदै नगरपालिका कार्यालय घेरेका थिए । स्थानिय तुलाराज शाही अनुसार माहाकाली नगरपालिकाले खरिद गरेको बिद्युत ट्रान्सफर्मर खरिद उपभोक्ता समितिलाई छलेर नगरपालिकाले मनमर्जी गरेको बताएका छन् । ‘माहाकाली नगरपालिकाले गरेको गल्ती नसच्चाए चरणबद्धरुपमा आन्दोलन तयारी गरेका छौं’ स्थानिय तुलाराज शाहीले भने । उपभोक्ता समितिको सुझाव, राय नलिकन तथा खरिद प्रकृयालाई मिचेर गरिएको खरिद प्रति स्थानियहरु बिरोध रहेका तुलाराज शाहीले भने ।

बिरोध जनाउदै बिद्युत ट्रान्सफरर्मर खरिदको नाउमा कमिसनको चलखेल भएको बताउदै बिद्युत ट्रान्सफरर्मर उपभोक्ता समितिलाई थाहै नदिएर नियम बिपरित कार्य गरेको बिज्ञप्तीमा भनिएको छ् । नगर बिद्युतीकरण शिर्षकमा  माहाकालीका दशै वडाले रु. २ करोड रकम बिनियोजन गरेको हो । खरिद टेण्डर प्रकृया बाटनै हुनु पर्नेमा केही निर्वाचित पदाधिकारीहरुको स्वार्थको कारण उपभोक्ता समिती गठन गरि कमिसनको चलखेल गरेको वडा नं. ६ का निर्वाचित वडा सदस्य योगेश चन्द राजपुतले बताएका छन् ।

खरिद प्रकृया गलत भएको भन्दै स्थानियहरु जनताहरुलाई माहाकाली नगरपालिका नगर कार्यपालिकाले ट्रयाक बाहिर गएर काम गरेको भन्दै तत्कालै गरिएका गलत निर्णय फिर्ता लिन समेत बिज्ञप्तीमा भनिएको छ् । २४ घण्टा भित्र माहाकाली नगरपालिकाले गल्ती स्विकार्दै निर्णय नसच्चाए चरणबद्ध आन्दोनलको तयारी भएको माहाकाली नगरपालिका वडा नं. ६ का अर्का स्थानिय रमेश भण्डारीले बताएका छन् । बिद्युत ट्रान्सफर्मर जस्तो बिषयमा प्राबिधिक परार्मस नलिईकन उपभोक्ता समितिले खरिद गर्नु गलत भएको स्थानियहरुको भनाई रहेको छ् ।

डबलीमा सञ्चालन गरिएको शिविरमा पाँच सय भन्दा बढीको स्वास्थ्य परीक्षण

दुईपिपल/यहाँ आयोजित एक दिने स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले परीक्षण गराएका छन् ।

लायन्स क्लब अफ काठमाडौ परोपकार, लियो क्लब अफ नुवाकोट परोपकार, लायन्स क्लब अफ काठमाडौ मनमैजु, लायन्स क्लब अफ काठमाडौ देउराली, लियो क्लब अफ काठमाडौ मनमैजु र लियो क्लब अफ काठमाडौ देउरालीको सयुक्त आयोजनामा बेलकोटगढी नगरपालिका वडा नं. ५ डबलीमा सञ्चालन भएको शिविरमा पाँच सय भन्दा बढीले परीक्षण गराएका छन् ।

शिविर मार्फत मुटुरोग, आँखा–कान–घाटी, प्रेसर, दाँत, हाडजोर्नी, स्त्रीरोग सम्बन्धि सेवा उपलल्ध गराइएको आयोजक लियो क्लब अफ नुवाकोट परोपकारका सचिव सुदाम लामिछानेले जानकारी दिनुभएको छ ।

जाँच गर्न आएका मध्ये झण्डै दुई सय जनाले मुटुको परीक्षण गराएका थिए । मुटु सम्बन्धि परीक्षणको लागी काठमाडौको गंगालाल मुटु अस्पतालका डाक्टरहरु अपूर्ब ठाकुर, डाक्टर रुपक प्रधान लगायतको चिकित्सकको टोली खटिएको थियो । शिविरमा बेलकोटगढी नगरपालिका वडा नं. ४, ५, ६ र ७ वडाका विभिन्न बस्तीबाट बालबालिकादेखि जेष्ठ नागरिकहरुको समेत सहभागिता रहेको थियो ।

शिविर सञ्चालनमा बेलकोटगढी नगरपालिका वडा नंं ५ को वडा कार्यालय लगायतका सँस्थाले सहयोग पु-याएका थिए ।

लालबाबु पण्डितले गरे मापदण्ड उल्लंघन गर्ने होटल, अस्पताल र कम्पनीलाई कारवाही

काठमाडौँ ।

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले मापदण्ड विपरीतका होटल, अस्पताल तथा कम्पनीलाई कारवाही थालेका छन् ।

वातावरण प्रभाव मूल्यांकन ईआईए नगरी सञ्चालन भएका ठूला होटल र उद्योगलाई कारबाही स्वरुप पहिलो चरणमा मन्त्री पण्डितले जरिवाना तिराएका हुन् ।

मन्त्री पण्डितका स्वकीय सचिव ओसिम आलमका अनुसार पहिलो चरणमा ईआईए नगरेका उद्योग प्रतिष्ठानलाई कारबाही गरिएको बताए ।

‘मन्त्रीज्यूले प्रदूषण नियन्त्रणका लागि मन्त्रालयबाट गर्ने कामलाई तुरुन्त अघि बढाउनू भन्ने निर्देशन दिनुभएको छ,’उनले भने ।

मन्त्रालयका स्रोतका अनुसार सोल्टी सिटी अपार्टमेन्ट रविभवनलाई एकलाख रुपैयाँ जरिवाना तोकिएको छ भने तत्कालै ईआईए प्रक्रिया अगाडि बढाउने निर्देशन दिइएको छ ।

ईआईए नगरी क्षमता विस्तार गरेको बत्तिसपुतलीस्थित द्वारिका होटललाई पनि एकलाख रुपैयाँ जरिवाना तोकिएको छ भने तत्कालै ईआईए प्रक्रिया अगाडि बढाउन भनिएको छ ।

भवन निर्माण गर्दा ईआईए नगरेको सिटी होटल रविभवन र काठमाडौं गेस्ट हाउस ठमेललाई पनि एकलाख रुपैयाँ जरिवाना र तत्कालै ईआईए प्रक्रिया अगाडि बढाउन निर्देशन दिइएको छ । दाङमा उद्योग स्थापना गर्ने गरी ईआईए गरेर आबुखैरेनीमा उद्योग खोलेको अरनिको आबुखैरेनी सिमेन्ट तनहुँलाई ५० हजार जरिवाना तोकिएको छ ।

मन्त्रालयका अनुसार मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने कमला रोलिङ मिल टंकिसिनुवारी र काठमाडौं दुग्ध वितरण आयोजना काठमाडौंलाई ५० हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

वातावरण मन्त्रालयले मापदण्डविपरीत ईआईए नगरी सञ्चालित नेपाल नेसनल हस्पिटल कलंकी, मैत्री बाल अस्पताल, काठमाडौं मोडल अस्पताल पुतलीसडक र काठमाडौं अस्पताल त्रिपुरेश्वरलाई कारबाही अगाडि बढाउन स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।

तेस्रो पटक चीनको राष्ट्रपति बन्न सी चिनफिङलाई बाटो खुला

एजेन्सी ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ तेस्रो पटक पनि राष्ट्रपति बन्ने सँवैधानिक बाटो खुल्ला भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले कुनै पनि व्यक्ति दुई कार्यकालमात्र राष्ट्रपति र उपराष्ट्रपति हुने संवैधानिक व्यवस्थालाई परिवर्तन गर्न प्रस्ताव गरेपछि सीलाई तेस्रो पटक राष्ट्रपति हुने बाटो खुलेको हो ।

सी दोस्रो कार्यकालको रुपमा चीनको राष्ट्रपति कार्यभार सम्हालीरहेका छन् ।

समाचार संस्था सिन्ह्वाले बैठकले सी चिनफिङको विचारधारालाई संविधानमा समावेश गर्न पनि प्रस्ताव गरेको जनाएको छ।

गत कात्तिकमा भएको चिनियाँ कम्युनिष्ट पार्टीको राष्ट्रिय सम्मेलनले सीको विचारधारालाई ‘सी चिनफिङ वाद’को नाम दिएको थियो।

सो सम्मेलनमा सम्बोधन गर्दै राष्ट्रपति सीले ‘नयाँ युगमा चिनियाँ विशेषतासहितको समाजवाद’ को व्याख्या गरेका थिए ।

त्यही सम्मेलनबाट राष्ट्रपति सी आगामी पाँच वर्षका लागि पार्टी महासचिव र राष्ट्रपति चुनिएका थिए। त्यतिबेला सीको उत्तराधिकारी को हुने भन्ने विषय भने अनुत्तरित थियो।

राष्ट्रपति सीले आफ्नो उत्तराधिकारी नचुनेपछि विभिन्न अडकलबाजी पनि सुरू भए।

चिनियाँ कम्युनिष्ट पार्टीमा एउटा अलिखित परम्परा थियो९ राष्ट्रपतिको दोस्रो कार्यकाल सुरु हुदाँ भविष्यमा राष्ट्रपति र प्रधानमन्त्री बन्ने दुई जना नेता पनि पार्टीको शक्तिशाली ७ सदस्यीय स्थायी समितिमा चुनिने ।

ती व्यक्ति भविष्यका राष्ट्रपति र प्रधानमन्त्री हुन् भनेर औपचारिक रूपमा पार्टीले कहिल्यै पनि भन्दैनथ्यो तर उनीहरूको उमेर समूह हेरेर मानिसहरूले प्रष्टसँग त्यो संकेत बुझ्थे।

स्थायी समितिमा चुनिने ७ जना शीर्ष नेतामध्ये दुई जना कम उमेरका हुने गर्थे ।

स्थायी समितिमा नियुक्त हुने प्रायस्जसो चिनियाँ नेताहरू ६० वर्ष वा सोभन्दा बढी उमेरका हुने गर्छन्। तर दुई जना भने ५० देखि ५५ वर्ष समूहका र पछिल्लो पुस्ताका नेताहरु हुने गर्थे।
त्यसको खास कारण छ।

स्थायी समिति सदस्यले प्राय ६८र७० वर्ष पुग्दा अवकास पाउँछन्। ५० देखि ५५ वर्षका यी दुई जना भने अर्को १५ वर्षसम्म चीनलाई नेतृत्व गर्ने चिनियाँ कम्युनिष्ट पार्टीको शक्तिशाली स्थायी समितिमा बस्न पाउँछन्। यी दुई ‘जवान’ स्थायी समिति सदस्यमध्ये एकजना राष्ट्रपति र अर्का प्रधानमन्त्री हुने गर्छन् ।

यसपालि आएका पाँचै सदस्य नयाँ हुन् तर उनीहरू सबैको उमेर भने ६० वर्षभन्दा माथि छ।

राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्यान सन् २००७ मै चिनियाँ कम्युनिष्ट पार्टीको स्थायी समितिमा चुनिएका थिए। त्यो बेला उनीहरू दुबै जना अन्य स्थायी समितिका सदस्यभन्दा कान्छा थिए। उनीहरूको उमेर ५५ वर्ष वरिपरि थियो।

त्यही बेला सीले सन् २०१२ मा तत्कालीन राष्ट्रपति हु जिन्ताओ र खछ्यानले तत्कालीन प्रधानमन्त्री वेन जिवाओलाई विस्थापित गर्नेछन् भन्ने सबैलाई थाहा थियो।

२००७ देखि २०१२ सम्म सी र खछ्यानले स्थायी समितिमा बसेर भविष्यको नेतृत्वको लागि आफूहरूलाई तयार पार्ने र सिक्ने मौका पाए ।

ती पाँच वर्षमा उनीहरूले पार्टी र सरकारका महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै देशविदेश घुमे र आफ्नो सम्पर्क र स्वीकार्यता विस्तार गरे।
माओ त्सेतुङ र देङ सिआओ पिङपछि चीनमा यसरी नै भविष्यको नेतृत्व छान्ने र तयार पार्ने अलिखित परम्परा थियो।

आफू कहिल्यै राष्ट्रपति वा प्रधानमन्त्री नबनेका शक्तिशाली देङले राष्ट्रपति र प्रधानमन्त्रीका लागि अलिखित रूपमै दुई पटकको कार्यकाल पनि तोकिदिएका थिए ।

त्यही अलिखित परम्परा पछ्याउँदै सन् १९९२मा राष्ट्रपति बनेका जियाङ जमिन सन् २००२ मा सत्ताबाट उत्रिए। सन् २००२ मा राष्ट्रपति बनेका हु जिन्ताओले सन् २०१२ मा सत्ता छाडे र सी राष्ट्रपति बने।

आफ्नो उत्तराधिकारी सम्हाल्ने गरी पछिल्लो पुस्ताका कुनै पनि नेतालाई राष्ट्रपति सीले स्थायी कमिटीमा नचुनेपछि उनले के चाहेका छन् भन्ने व्यापक अडकलबाजी चलेको थियो ।

कतिपयले राष्ट्रपति सीले आफू तेस्रो कार्यकालका लागि पनि राष्ट्रपति बन्ने चाहेको अडकल गरेका छन्।

केन्द्रीय समितिले संविधान संशोधन गर्ने निर्णय गरेपछि त्यो अडकलबाजी अहिले सत्य सावित भएको छ। सी तेस्रो पटक राष्ट्रपति बन्ने बाटो खुलेको छ।

शनिबार पार्टीको पोलिटब्युरो बैठक बसेको थियो। सोमबारदेखि हुने पार्टीको केन्द्रीय समितिको प्लेनम बैठकमा यो प्रस्तावमा थप छलफल हुनेछ। सो बैठकले पारित गरेको प्रस्ताव वार्षिक संसदीय भेलामा प्रस्तुत गरिनेछ।

ओली सरकारको पहिलो निर्णयमा सर्वोच्चको अवरोध, राष्ट्रियसभामा मनोनित रोक्न आदेश

काठमाडौं ।

केपी शर्मा ओली सरकारले राष्ट्रियसभा सदस्यमा मनोनित गरेका तीन सदस्य रोक्नेगरि सर्वोच्च अदालतले सपथ रोक्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आइतबार राष्ट्रियसभा सदस्यमा मनोनित डा युवराज खतिवडा, रामनारायण विडारी र डा विमला पौडेलको सपथ रोक्न भनेको हो ।

प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको सपथ २० गते हुँदैछ ।

सर्वोच्चले भने अन्तपरम आदेशको छलफलबाट टुंगो नलागेसम्म तीन जनाको सपथ रोक्न भनेको छ ।

देउवा सरकारले कृष्णप्रसाद पौडे, गोपाल बस्नेत र चाँदनी जोशीलाई मनोनित गर्न सिफारिस गरेको थियो । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई अड्काएर राखिन् ।

केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठनसँगै देउवा सरकारको सिफारिस रद्द गर्दै तीन जनाको नाम पठायो, जसलाई राष्ट्रपतिले तत्काल स्वीकृत गरिन ।

तर, सर्वोच्चको आदेशमा राष्ट्रियसभा सदस्य मनोनयनमा राष्ट्रपतिलाई कार्यकारी अधिकार प्रयोग गर्न पाउने संवैधानिक व्यवस्तम नभएको र तत्कालीना सरकारले गरेको सिफारिस विना संवैधानिक आधार अस्वीकृत गर्न मिल्ने नदेखिएको उल्लेख छ ।

सर्वोच्चले निवेदकको माग बमोजिम किन आदेश जारी हुनु नपर्ने हो १५ दिनभित्र लिखित जवाफ पेश गर्न पनि भनेको छ । साथै २० गते दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।

तीन नम्बर प्रदेशको राजधानी हेटौंडाबाट बनेपा सार्ने तयारी

चितवन ।

शेरबहादुर देउवा सरकारले हचुवाका भरमा प्रदेश नं ३ को राजधानी हेटौंडा घोषणा गरेपछि वर्तमान सरकारले प्रदेश राजधानी परिवर्तनको तयारी गरेको छ ।

प्रदेश ३ नम्वरका भौतिक योजना तथा पूर्वाधार मन्त्री केशव स्थापितले प्रदेशको राजधानी बनाउन नयाँ ठाउँको पहिचान भई आन्तरिक गृहकार्य भइरहेको खुलासा समेत गरेका छन् । मन्त्री स्थापितले प्रदेश राजधानी परिवर्तन तयारी गरेको खुलासा गरेपनि ठाउँबारे बताएका छैनन् । श्रोतका अनुसार हेटौंडाबाट परिवर्तन गरेर नयाँ राजधानीको रुपमा बनेपालाई तोक्ने तयारी भएको छ ।

मन्त्री स्थापितका अनुसार सबै हिसाबले हेटौँडा उपयुक्त नहुने भएकाले नयाँ ठाउँको पहिचान भई तयारी भइरहेको उनले बताए । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले त्यो ठाउँको बारेमा सार्वजनिक गर्न भने नहुने बताए ।

उनले भने, “अहिले नै सार्वजनिक गर्यो भने समस्या हुन्छ ।” प्रदेशको केन्द्र पर्नेगरी राजधानी सार्ने तयारी गरिएको ठाउँमा सात लाख रोपनी जग्गा एकै ठाउँमा रहेको र तीन लाख रोपनी वन रहेको पनि उनले बताए । ५० हजार रोपनी खोलाले खाएको जग्गा पनि रहेको भन्दै उनले भने, “त्यहाँ १४र१५ करोड लिटर पानी भण्डारण गर्न मिल्छ जसबाट १० लाख जनतालाई खानेपानी पुग्छ ।”

तीसवटा महत्वपूर्ण पूर्वाधार बनाउने बताउँदै उनले प्रदेशको जुन ठाउँबाट पनि चार घण्टाभित्र राजधानी पुगिने बताए । जग्गा व्यवसायीले जग्गा किनेर अस्तव्यस्त पार्ने भएकाले तत्काल सो ठाउँ सार्वजनिक गर्न नमिल्ने भन्दै उनले आउँदो चार महिनाभित्र राजधानी सर्ने बताए ।

उनले भने, “निर्णय भएपछि तत्काल सार्छौँ । पूर्वाधार मन्त्री म आफैं भएकाले मैले तयारी गरिरहेको छु । आन्तरिक काम भइरहेको छ ।” मुख्यमन्त्रीको कार्यालय, मन्त्रालय, सांसद भवन कहाँ राख्ने भन्ने विषयमा गृहकार्य भइरहेको पनि उनले बताए । राजधानी सरेसँगै प्रदेशको नामाकरण गरिने पनि मन्त्री स्थापितले बताए ।  आउँदो पाँच वर्षमा पूर्वाधारका क्षेत्रमा जनताले महशुस गर्न सक्ने गरी आमूल परिवर्तन हुने पनि उनले बताए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web