सिंहदरबारभित्रै धर्ना, तालाबन्दी र नाराबाजी

काठमाडौं,चैत २३ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र विरोध, धर्ना, नाराजुलुस, र तालाबन्दी गर्न बन्देज छ । तर,  नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेसी निजामती कर्मचारी मञ्च, नेपाल राष्ट्रसेवक कर्मचारी संगठन, र राष्ट्रिय कर्मचारी संगठनले सोमबार सिंहदरबार भित्रै आन्दोलन गरेको समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

निजामती कर्मचारीको आधिकारिक टे्रड यूनियनको निर्वाचन हुन नदिने अडानमा विभिन्न मन्त्रालयका दर्जनौ कर्मचारी सोमबार दिनभर काम छमाडेर विरोध, धर्ना, र नाराबाजिमा उत्रिए । चार कर्मचारी संगठनले कानुनविपरीत सामान्य प्रशासन मन्त्रालय परिसरभित्रै धर्ना, नाराबाजी र तालाबन्दी गर्दासमेत प्रहरी रमिता हरेर बसेको थियो ।

निषेधित क्षेत्रभित्र सयौंको संख्यामा रहेका कर्मचारीले आन्दोलन गर्दा समेत प्रशासन मुकदर्शक भएको आरोप अन्य कर्मचारी संगठनले लगाएका छन् ।

 

संसदीय दलको नेता चुन्नुअघि नै विधान संशोधन गर्ने पाैडेललार्इ देउवाको अाश्वासन

१७ चैत,काठमाडौं  । 
कांग्रेस सभापति शेरबहादुर देउवाले संसदीय दल र कार्यसमिति निर्वाचनअघि नै विधान संशोधनका लागि अग्रसरता लिएका छन्। उनले नेता रामचन्द्र पौडेललाई मंगलबार फोन गरी निर्वाचनअघि नै विधान संशोधन गर्नेबारे आश्वस्त तुल्याएका हुन्। पौडेल पक्षधरले विधान संशोधन नगरी दलको नेता र कार्यसमिति निर्वाचन गर्न नहुने बताएकाले देउवाले संशोधन गर्न अग्रसरता लिएको उनी निकट नेता विमलेन्द्र निधिले बताए। तत्कालीन सभापति एवं दलका नेता सुशील कोइरालाको निधनपछि उक्त पद खाली छ।
 
पौडेलले विधान संशोधन र चैत २० गते बार एसोसिएसनको निर्वाचनका कारण जनाई पूर्वनिर्धारित निर्वाचन मिति सार्न आग्रह गरेका थिए। कानुन व्यवसायीको पृष्ठभूमि भएका कतिपय सांसदहरू नै मतदानका लागि जिल्ला जानुपर्ने भएकाले निर्वाचन मिति सार्न पौडेलले आग्रह गरेका थिए। पौडेलको आग्रहप्रति भने देउवा सहमत भएनन्। 
 
प्रमुख विपक्षी दलको नेता नचुनिँदा संवैधानिक निकायका पदाधिकारी नियुक्तिमा असर पुग्ने भएकाले ढिलाइ गर्न नहुने देउवाको तर्क छ। स्रोतका अनुसार पौडेलले वैशाख पहिलो साता निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए। निर्वाचन समितिको बहुमत निर्णयअनुसार दलको नेताका लागि चैत २४ र कार्यसमितिका लागि चैत २६ गते निर्वाचन हुने कार्यक्रम छ। कान्तिपुर दैनिकमा समाचार छ।

सिंहको प्रस्तावक, कोइरालाको समर्थकमा पौडेलद्वारा उम्मेदवारी दर्ता

काठमाडौं,चैत २३ ।  कांग्रेस संसदीय दलको नेताका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित दलको कार्यालय पुगेर पौडेलले दलको नेताका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्। पौडेलको प्रस्तावकमा प्रकाशमान सिंह छन् भने समर्थकमा महामन्त्री शशांक कोइराला छन्। निर्वाचन समितिका अनुसार संसदीय दलको नेताको उम्मेदवार बन्न २५ हजार रुपैयाँ शुल्क लाग्नेछ। त्यस्तै चैत २६ गते हुने संसदीय कार्यसमितिका लागि उम्मेदवार बन्न ५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ। बुधबार बिहान ११ बजेदेखि मतदान हुने भएको छ।

दल कार्यसमितिको निर्वाचन यही चैत २६ गते गर्ने मिति तय भएको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन मङ्गलबार १२:३० बजे गरिनेछ । १२:३० बजेदेखि १ बजेसम्म नामावली उपर दाबी विरोध, दोस्रो नामावली प्रकाशन १ बजेदेखि १:३० बजेसम्म, नाम फिर्ता लिने समय १:३० बजेदेखि २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ बजेपछि गरिनेछ । 

२०७० साल माघ १२ गते आइतबार भएको संसदीय दलको नेताको निर्वाचनबाट निर्वाचित भएका पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको निधन भएकाले फेरी निर्वाचन गर्नु परेको हो ।  दलको नेताको निर्वाचन भने बुधवार भोलि ११ बजेदेखि २ बजेसम्म हुनेछ।

यस्तो छ चीनसँगको सहमति कार्यान्वयन गर्ने योजना

काठमाडौं, चैत २७ ।  सरकारले चीनसँग हालै प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणका बेला गरेको सम्झौता कार्यान्वयनलाई गम्भीरतापूर्वक लिँदै योजनाहरु बनाएको छ ।

चिनियाँ पक्षसँग संवाद गरी पारवह सम्झौताको प्रोटोकल दुंग्याउन ६ महिनाभित्र टोली गठन गर्ने र पारवह सम्झौताबाट नेपालले लिन सक्ने लाभबारे छलफल गर्न सोही अवधिमा स्वतन्त्र विज्ञ सम्मिलित कार्यदल बनाउने सरकारी योजना छ ।

त्यस्तै नेपाल र चीनबीच स्वतन्त्र व्यापार (एफटिए) का लागि सम्भाव्यता अध्ययन अघि बढाउन चिनियाँ पक्षसँग संवाद गर्न टोली गठन गरिने छ ।

एफटिएको विविध पक्षबारे स्वतन्त्र अध्ययन गर्न एक अनुसन्धान टिम गठन गरिने छ । चिनियाँ सहयोगको हिल्सास्थित सियार्वा नदीमा पुल बनाउन परराष्ट्रले कूटनीतिक तहमा चीनसँग कुरा गर्ने छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रि विमानस्थल निर्माण चार दिनपछि सुरु हुँदैछ । त्यसका लागि चिनियाँ सहुलियत ऋण, मिश्रित ऋणलगायतका विषयमा चिनिायँ पक्षसँग परराष्ट्र, अर्थ र पर्यटन मन्त्रालयले नियमित सहकार्य र समन्वय गर्नेछ । लेटर अफ एक्सचेन्ज अनुसार नेपालमा चीनको सहयोगमा ग्यास तथा तेल उत्खनन्का लागि सम्भाव्यता अध्ययन गर्न चिनियाँ विज्ञ टोली नेपाल डाक्ने तयारी छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

गिरिजाप्रसाद कोइरालाको योजनामा अपहरित विमान अब संग्रहालयमा

काठमाडौं,चैत २० ।    कांग्रेसका तत्काली नेता गिरिजाप्रसाद कोइालाको योजनामा ४२ वर्ष अघि अपहरण गरिएको जहाज सुन्दरीजलस्थित वीपी  संग्रहालयमा राखिने भएको छ। कान्तिपुर दैनिकमा समाचार छ।
संग्रहालयका संरक्षक परशुराम पोखरेलले २ वर्ष अघि अर्घाखाँचीको मसिने लेकमा दुर्घटनामा परेर क्षतिग्रस्त विमानलाई संग्रहालयमा राखिने जानकारी दिए। ‘राष्ट्रिय विमा संस्थानसँग विमा गरिएकाले कानुनी प्रक्रिया गर्नुपर्ने रहेछ,’उनले भने,‘सबै प्रक्रिया अन्तिम चरणमा पुगिसकेको छ, संस्थानले अनुमति दिइसकेको छ, कागजी प्रक्रिया पूरा भएपछि ल्याउँछौं।’
 
विराटनगरबाट काठमाडौंका लागि उडेको नेपाल एयरलाइन्सको विमानलाई कांग्रेसद्वारा गठित मुक्ति सेनका लागि आर्थिक स्रोत जुटाउन २०३० साल जेठ ३० गते बसन्त भट्टराई र दुर्गा सुवेदीले अपहरण गरेका थिए। अपहरित उक्त विमानलाई बिहारको फारबिसगन्जस्थित घाँसे विमानस्थलमा अवतरण गराइएको थियो।
 
विमानमा ३० लाख रुपैयाँ रहेको सूचना पाएपछि वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाको योजनामा विमान अपहरण गरिएको थियो। विमान अपहरणमा दिवंगत सुशील कोइरालाको समेत सहभागीता रहेको थियो।

अबको चुनावमा नो भोट,मतदाताले उम्मेदवार अस्वीकार गर्न पाउने

काठमाडौं,चैत २० ।   उम्मेदवारलाई अस्वीकार गर्ने मतदाताको अधिकारलाई सरकारले स्थानीय निर्वाचनमा लागू गर्ने भएको छ। मन्त्रिपरिषदले शुक्रबार पारित गरेको स्थानीय निर्वाचन कार्यविधि ऐनको संशोधन विधेयकमा कुनै पनि मतदातालाई मत नदिने अर्थात् सबैलाई अस्वीकार गर्ने अधिकार मतदातालाई हुनेछ। कान्तिपुर दैनिकमा समाचार छ।
 
‘चित्त नबुझे कुनै पनि उम्मेदवारलाई मत नदिने अधिकार विधेयकको मस्यौदामा राखिएको छ,’ मन्त्रिपरिषद कार्यालयका एक अधिकारीले भने, ‘संसदले यो प्रावधान पारित गरे निर्वाचनका क्रममा मतदाताले मताधिकारको नयाँ अवधारणाको अभ्यास गर्न पाउँछन्।’ नेपालमा हालसम्म कुनै पनि उम्मेदवारलाई अस्वीकार गर्ने अधिकार मतदातालाई थिएन। मन्त्रिपरिषदले स्वीकृत गरेको विधेयकमाथि अब संसदमा छलफल हुनेछ।
 
 उम्मेदवारलाई अस्वीकृत गर्ने अधिकारको माग राखी दायर रिटको फैसलाका क्रममा सर्वोच्च अदालतले यसअघि नै ‘अस्वीकारको अधिकार’ अर्थात् ‘राइट टु रिजेक्ट’ सुनिश्चित गर्न निर्वाचन आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका नाममा निर्देशनात्मक आदेश जारी गरेको थियो।
 
निर्वाचन आयोगका सहसचिव सुशील कोइरालाले कार्यविधि ऐन संशोधनका क्रममा महिला सहभागिताको मुद्दालाई सम्बोधन गर्न खोजिएको बताए।

‘फेरी भारतले नाकाबन्दी गरे चीनले हस्तक्षेप गर्छ’

२५ चैत, काठमाडौं ।
फेरी पनी भारतले नेपालमाथि नाकाबन्दी गरेमा चीनले हस्तक्षेप गर्ने चीनका लागि नेपाली राजदूत डा. महेश मास्केले बताउनुभएको छ ।

चीनले नेपाललाई दिएको महत्व तथा नेपालसँग भएको सम्झौता एवं नेपालसँग भएको १५ बुँदे संयुक्त वक्तव्यले यसलाई पुष्टि गर्ने राजदूत मास्केले बताउनुभयो ।

चीन नेपाललाई सबै खाले ईन्धन दिन तयार रहेको भन्दै राजदूत मास्केले केही व्यवहारिक र कानुनी प्रक्रिया बाँकी रहेको बताउनुभयो ।

नाकाबन्दीपछि भारतसँगको नेपाल सम्वन्ध विग्रिएपछि प्रधानमन्त्री केपी शर्माओलीले भारतको भ्रमण गरेर सम्वन्ध सुधारको प्रयास गरेको उल्लेख गर्दै राजदूत मास्केले भारत अब फेरी नेपालमाथि नाकाबन्दी लगाउन नसक्ने अवस्थामा पुगेको बताउनुभयो ।

चीनले नेपाललाई गर्ने सहयोगका कारण समेत भारत नेपाललाई नाकाबन्दी गरेर आफुले भने अनुसार गराउन दवाव दिन नसक्ने अवस्थामा पुगेको राजदूत मास्केको भनाई छ ।

कथंकदाचित भारतले फेरि नाकाबन्दी लगाएमा चीन नेपालको सबै समस्या समाधान गर्न खुल्ला रुपमा उत्रने राजदूत मास्केले बताउनुभयो ।

‘नेपाल-भारत सम्बन्धमा भइरहेको सुधारलाई फेरि बिगार्ने मनसायमा भारत छ जस्तो मलाई लाग्दैन’नयाँ पत्रिकासँगको अन्तर्वार्तामा राजदूत मास्केले भनेका छन्, ‘यद्यपि त्यस्तो घटना फेरि दोहोरिए चीन हरसम्भव तरिकाले नेपालको सहयोगका निम्ति आउन बाध्य हुनेछ ।’

पौडेल पक्षका देउवालाई संसदीय दलको नेता बनाउन लागे

२१ चैत, काठमाडौं ।

कांग्रेसको सभापतिमा शेरबाहादुरलाई नै सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गर्न रामचन्द्र पौडेल पक्षधर नेता नै अग्रसर भएका छन् ।

यसपटक सर्वसम्मत रुपमा सभापति देउवालाई संसदीय दलको नेता चयन गरी पार्टी एक भएको सन्देश दिनुपर्नेमा उनीहरुले जोड दिएको आजको राजधानी दैनिकमा समाचार छ।

१३ औं महाधिवेशनमा सर्वाधिक मत ल्याएका पौडेल पक्षधर केन्द्रीय  सदस्य शेखर कोइरालाले देउवालाई नेता बनाउने कार्यको अगुवाई गरेका छन् ।

कोइरालाले दलको नेतामा उठ्ने मनस्थिति बनाएका पौडेललाई समेत भेटेर देउवालाई सर्वसम्मत बनाउनुपर्नेमा जोड दिएका छन् ।

उनले केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूलाई समेत भेटेर देउवादलाई नै दलको नेता निर्वाचित गराउनुपर्ने धारणा राखेका छन् । २४ चैतमा कांग्रेस संसदीय दलको निर्वाचन हुँदै छ ।

दक्षिण कोरियामा हुण्डी दलालको बिगबिगी बढेपछि दूतावासले यस्तो सूचना जारी गर्यो

१६ चैत, सोल ।

हुण्डी दलालहरुको बिगबिगी र बिना आधिकारीकता नेपाल पैसा पठाउने हुण्डी दलालहरुबाट सयौं नेपाली ठगिन थालेपछि यहाँस्थित दूतावासले आधिकारीक बैंकिङ संस्थाबाट मात्र नेपाल पैसा पठाउन नेपालीहरुलाई आग्रह गरेको छ ।

नेपाली दुताबास दक्षिण कोरियाले एक सूचना नै प्रकाशित गरि कोरियामा कार्यरत नेपालीहरुलाई हुण्डी मार्फत पैसा नपठाउन आग्रह गरेको छ ।

दूताबासले प्रकाशित गरेको सुचनामा हुण्डी कारोबार अवैधानिक र गैरकानुनी समेत भएको स्पष्ट पारेको छ ।
कोरियाका ठुला बैंक र नेपाली बैंकहरुको समन्वयमार्फत सञ्चालित रेमिट्यान्सबाट आर्थिक कारोबार गर्न नेपाली दूतावासले आग्रह गरेको छ ।

कम शुल्क लिने भन्दै जथाभावी खुलेका हुण्डी संस्थाले सयौं नेपालीबाट पैसा ठगेको सूचना पछि यस्ता संस्था र व्यक्तिमाथी कारवाही गर्न दूतावासले पत्राचार र पहल थालेको दूतावासले जनाएको छ ।

यसैगरी दुवावासले जारी गरेको सुचनामा कोरियाका नेपाल रेमिट, केइबी, हाना र कुकमिन बैंक तथा डिजीटेक रेमिट्यान्स, हुलास रेमिट्यान्स, सूर्य रेमिट र माया रेमिट प्रालिलाई राष्ट्र बैंकले रकमको कारोबार गर्न इजाजत दिएको भन्दै यस्तै अन्य आधिकारीक संस्थाबाट मात्र कारोबार गर्न भनेको छ ।

सुविधानजनक बहुमतमा देउवा,पौडेलको रणनीति सम्मानजनक भोट

काठमाडौं,चैत २४  ।  नेपाली कांग्रेस संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ । संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा नेता रामचन्द्र पौडेल भिड्दैछन् । निर्वाचन आज बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ । सभापति देउवा सुविधाजनक बहुमतमा देखिएका छन्।  पौडेल भने सम्मानजनक भोटको खोजीमा रहेका छन् । तत्कालीन सभापति सुशील कोइरालालाई दलको नेतामा समर्थन जनाएका डेढ दर्जन सांसद देउवाका पक्षमा खुलेपछि कांग्रेस संसदीय दलको नेतामा देउवाको जित निश्चितप्रायः बनेको छ। 
 
यस्तै १३ औँ महाधिवगेशनमा नेता पौडेलको विपक्षमा खडा भएका कृष्णप्रसाद सिटौला पक्षको मंगलबारको भेलाले निर्वाचनमा देउवालाई समर्थन गर्ने निर्णय गरेको एक नेताले बनताए।  सिटौला निवासमा निकट सांसदहरुको भेला चलिरहँदा सभापति देउवा त्यही पुगेका थिए। कांग्रेस स्रोतका अनुसार २०६ जना सांसदहरुले दलको नेताका लागि मतदान गर्नेछन् । योमध्ये देउवाको पक्षमा १२५ र पौडेलका पक्षमा ७४ मत रहेको दाबी गरिएको छ ।
नखुलेको ६ मत मात्रै रहेकाले दलको नेता छनोटमा पौडेलले हार्ने लगभग निश्चित रहेको छ ।  दलको नेतामा निर्वाचित हुन एक सय ४ मत ल्याउनु पर्ने हुन्छ। कांग्रेसमा हाल दुई सय ७ सांसद छन्। यसअघि भएको निर्वाचनमा तत्कालीन सभापति सुशील कोइरालाले एक सय पाँच मतसहित दलको नेतामा निर्वाचित भएका थिए भने देउवाले ८९ मत पाएका थिए। 

एकै पटक १ सय ६४ जना प्रहरी निरीक्षको सरुवा (को कहाँ)

काठमाडौं,चैत २० । प्रहरी प्रधान कार्यालयले १ सय  ६४ जना प्रहरी निरीक्षकहरुको सरुवा गरेको छ। प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।
को कहाँ सरुवा भए हेर्न यहाँ क्लिक गर्नुहोला ।

भारत र युरोपियन युनियनलाई जथाभावी नबोल्न प्रधानमन्त्रीको चेतावनी

१९ चैत, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले युरोपेली युनियन र भारतले अनुचित ढंगले नेपालको सार्वभौमिकता तथा संविधानसभाबाट संविधान बनाउने हकको अबमूल्यन गरेको बताउनु भएको छ ।

नेकपा एमाले संसदीय दलको  संसद भवनमा आयेजित बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले युरोपेली युनियन र भारतले नेपालको मामिलामा अन्तराष्ट्रिय कानुन विपरित तथा संयुक्तराष्ट्र संघको प्रचलित स्थापित मूल्य र मान्यता विपरित विज्ञप्ती निकालेकोमा नेपालको गम्भीर ध्यानार्कषण भएको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले भुकम्पको पीडामा परेको तथा भौगोलिक रुपमा सानो र जनसंख्या कम भएको मुलुक भन्दैमा नेपाल जस्तो स्वतन्त्र र सार्वभौम मुलुकको विरुद्धमा अन्य देशले विज्ञप्ती जारी गरी गर्ने कार्य कुनै पनि मित्र राष्ट्रले गर्न नमिल्ने पनि उल्लेख गर्नु भयो ।

पधानमन्त्री ओलीले नेपालले  नयाँ संविधान जारी गर्दै लामो समयको द्धन्दलाई पनि व्यवस्थापन गरेको उल्लेख पनि गर्नु भयो ।

प्रधानमन्त्री ओलीले नेपालमा अब कानुनी राजको स्थापना, शान्ति सुरक्षा कायम गर्ने,अपराध नियन्त्रण गर्ने र कालो बजारीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्दै विकासका कामलाई सरकारले अघि बढाउने पनि उल्लेख गर्नु भयो ।

बैठकमा अर्थमन्त्री बिष्णु पौडेलले आगामी बजेटको तयारी तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.युवराज खतिवडाले आगामी योजना तथा कार्यक्रमका वारेमा जानकारी गराउनु भएको थियो ।

बैठकमा बोल्दै सासंहरुले आगामी बजेटमा देशका प्रतेक गाविसहरुमा ५० लाख बजेटको विनियोजन गर्नु पर्ने ,निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ५ करोड बनाउनु पर्ने, लगायतका विभिन्न विकास तथा योजनाका वारेमा सरकार तथा सम्बन्धीत निकायहरुको ध्यानाकर्षण गराउनु भएको थियो ।

प्रधानमन्त्री ओली ः चीन भ्रमण अत्यन्त सफल
चैत्र, १८

प्रधानमन्त्री केपी शर्मा ओलीले, आफ्नो चीन भ्रमण अत्यन्त सफल भएको र भ्रमणले नेपाल चीन वीचको सम्बन्धलाई अझ प्रगाढ बनाएको बताउनु भएको छ ।

अन्तर्राष्ट्रिय सरोकार केन्द्र, नेपालले आज राजधानीमा आयोजना गरेको नेपाल चीन सम्बन्ध ः नयाँ आयाम र सम्भाव्यताहरु विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले, भ्रमणका बेला भएका महत्वपूर्ण सम्झौताहरु कार्यान्वयनमा ल्याएर नेपालले लाभ लिन सक्नु पर्ने बताउनु भयो ।

प्रधानमन्त्री ओलीले चीनको भ्रमण र त्यहांको विकासबाट धेरै सिक्ने अवसर पाएको अब आफ्नै मौलिकतामा नेपालको विकास गर्न सबैले तत्काल सोच्ने बेला आएको बताउनु भयो ।

प्रधानमन्त्री  ओलीले अबको हाम्रो सम्पुर्ण प्रयत्न आर्थिक विकासमा केन्द्रित हुनु पर्ने बताउनु भयो ।

कार्यक्रममा नेपालका लागि चीनका राजदुत ऊ चुन्ताइले नेपालका प्रधानमन्त्री ओलीको चीन भ्रमण अत्यन्त सफल रहेको र त्यसलाई चीनले महत्वका साथ लिएको बताउनु भयो ।

कार्यक्रममा नेपाली कंग्रेसका मुख्य सचेतक चिनकाजी श्रेष्ठले, प्रधानमन्त्रीको भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयनमा आए नेपालको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

एकीकृत माओवादीका सांसद राम कार्कीले,  चीनको विकासलाई हेरेर नेपालले आफ्नो विकासको लागि आफ्नै खाकामा विकास योजना अघि बढाउनु पर्ने बताउनु भयो ।

चीनका लागि नेपालका पूर्व राजदुत हिरण्यलाल श्रेष्ठ पूर्व मुख्य सचिव लिलामणि पौडेल लगायतले चीनसंग धेरै पहिले हुनु पर्ने सम्झौता ढिलै भए पनि यो सरकारले गरेको छ भन्दै सम्झौताको स्वागत गर्दै कार्यान्वयनमा जोड दिनु भयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web