नवलपरासीमा १९ सहकारी एकीकरण भए

२१ असार, नवलपरासी ।
चालु आर्थिक वर्षमा मात्रै नवलपरासीमा १९ वटा सहकारी बीच एकीकरण भएको डिभिजन सहकारी कार्यालय नवलपरासीका सहकारी अधिकृत वासुदेव भट्टराईले बताउनुभयो ।

उहाँका उनका अनुसार नवलपरासीमा अहिलेसम्म ३४ वटा सहकारी एकीकरण भइसकेका छन् । नौ वटा सहकारी एकीकरणका लागि स्वीकृति लिएर बसेका छन् ।  पछिल्लो समय डिभिजन सहकारी कार्यालय नवलपरासीमा एकीकरणको कामले तीव्रता पाएको छ ।

नवलपरासीमा अहिले करिब ४ सय ९३ सहकारी रहेका छन् ।  २ सय ५३ वटा बचत तथा ऋण सहकारी, ७६ वटा कृषि सहकारी र २९ वटा दुग्ध सहकारी रहेको डिभिजन सहकारी कार्यालयले जनाएको छ ।

डिभिजनका अनुसार करिब ९८ करोडको सेयर पुँजी नवलपरासीमा रहेका सहकारीमा छ । तीन अर्व ६४ करोडको बचत गर्ने नवलपरासीका सहकारीले ८२ करोडको बाह्य लगानी रहेको छ । नवलपरासीमा रहेका सहकारीमा करिब १२ अर्बको कारोबार हुन थालेको छ ।

सुनचाँदी पसलेले पत्रकारलाई मार्ने धम्की दिएपछि

२१ असार जाजरकोट ।
समाचार लेखेकै आधारमा जाजरकोटका पत्रकार बद्री पन्त र जनक सिंहलाई ज्यान लिने धम्की दिने जाजरकोटका सुनचाँदी व्यवसायीलाई तत्काल कारवाही गर्न तथा पत्रकारहरुको पेसागत सुरक्षाको ग्यारेन्टी गर्न नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले स्थानीय प्रशासनसँग माग गरेको छ ।

शाखाका सचिव दिपेन्द्रप्रसाद शर्माद्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा धम्कीप्रति घोर भत्र्सना गर्दै समाचार लेख्ने पत्रकारलाई ज्यान लिने धम्की दिएको, एफ एमको टेवल तोडफोड गरेको, सार्वजनिक ठाँउमा गालीगलौज गर्दै गएको, प्रेस विज्ञप्ती निकालेर पत्रकारहरुलाई मानमर्दन गर्ने, हतोत्साहित पार्ने, तेजाव हालेर मार्ने लगायतका धम्की पुर्ण र गैरजिम्मेवार पुर्ण कार्य गरेको प्रति पत्रकार महासंघ जाजरकोट शाखाको गम्भिर ध्यानाकर्षण भएको छ । विज्ञप्तीमा दोषी उपर कारवाही नभए महासंघ कडा संघर्षमा उत्रने कुरा उल्लेख गरिएको छ ।

त्यसैगरी प्रेस सेन्टर नेपाल जाजरकोट शाखाले पनि पत्रकारको ज्यान लिने धम्की दिनेलाइ तत्काल कारवाही गरिनुपर्ने भन्दै स्थानीय प्रशासन समक्ष माग गरेको छ । त्यस्तै सामुदायिक रेडियो चौरजहारी एफएमले पनि पत्रकारको ज्यान लिने धम्की दिने उपर कानुन बमोजिम कडा कारवाही हुनुपर्ने माग गरेको छ ।

रेडियो जाजरकोट एफएमको समाचार मुलक कार्यक्रम खबर सेरोफेरोमा सोमबार जाजरकोटमा सुनचाँदी व्यावसायीको व्यापक ठगी, नापतौलका सामाग्री जफत् शिर्षकको समाचार प्रसारण भएपछि सनचाँदी व्यवसायीले सो धम्की दिएका थिए । सुनचाँदी व्यवसायीले सोमबार दिउँसो रेडियोको कार्यालयमै पुगी धम्की पुर्ण भाषा प्रयोग गरेको रेडियो जाजरकोटका स्टेशन म्यानेजर सुरेन्द्र सिंहले बताउनु भयो ।  ।

कास्कीका नागरिक आफैंले खनेर मोटर बाटो बनाउँदै

२१ असार, पोखरा ।
कास्कीको माछापुच्छ्रे गाविसका वासिन्दाहरुले गाविसको वडा नं ८ को कमेरेबाट बर्खे पधेरो सम्म ६ मिटर चाक्लो २ सय ५० मिटर लामो बाटो जनश्रमदान बाट मोटरबाटो निमार्ण गरेका छन् ।

जिल्ला विकास समितिबाट प्राप्त १ लाख र घाचोक– धिप्रा·, रुम्झा मोटरबाटो उपभोक्ता समितिले स्थानीयहरुको जनश्रमदान बाट उक्त बाटो निमार्ण गरिएको हो ।

स्थानीयहरुले आफूसँग भएको बाँउसो गँैची, कोदाली, स्यावेल लगायतका उपलब्ध औजारको सहायताले असार ८ गते देखि खन्न सुरु गरिएको बाटो असार २० गते सम्म खनेका थिए ।

आफूहरुले जिविसको प्राविधिक स्टेमेट अनुसार नै बाटो खनिएको मोटर बाटो निमार्ण समितिका सचिव रेम बहादुर पुन मगर विवशले जानकारी दिनुभयो ।

आगीमा दिनमा बाटो निमार्ण थप गर्नका लागि साँस्कृतिक कार्यक्रम गरेर आर्थिक संकलन गरी अगाडि बढ्ने योजना भएको विवशले जानकारी दिनुभयो ।

सरकारी गाडीको मनपरि प्रयोग

२१ असार, जुम्ला ।
सरकारी कार्यालयका सवारि चालकहरुले सर्वसाधरणबाट मनपरि तरिकाबाट भाडा अशुल्ने गरेको पाइएको छ ।

सरकारि कामकाजका लागि प्रयोग हुने सेतो  नम्बर प्लेट भएका गाडिहरुले सर्वसाधरणलाई हालेर भाडा लिने गरेको पाइएको हो ।

आइतबार जिल्लाको कुडारिमा वन कार्यालयको आयोजनामा भएको वृक्षारोपण कार्यक्रमको लागि गएको जिल्ला कृषि विकास कार्यालयको सेतो प्लेट भएको गाडिले ३ जना सर्वसाधारण हा लेर भाडा लिएको पाइएको छ ।

चालकले जिल्लाको मालिकाँठा गाविस रासा मालापानीका ३ जनाबाट कुडारीसम्मका लागि ३ सय ७० सय रुपैया भाडा लिएको पाइएको हो ।

सदरमुकामबाट काम गरेर घर तिर फर्केका मानवहादुर बुढा, शेरवहादुर बुढा र करविरे बुढाबाट जिल्ला कृषि विकास कार्यालय जुम्लाका चालकले खाजा खर्च वापत ३ सय ७० रुपैया लिएको पाइएको हो ।

गाडीमा यात्रा गर्ने अरुलाई पनि खाजा खर्चको रुपैया माग्ने गरेको गाडिमा यात्रा गरेकाहरुले बताएका छन् । सेतो नम्बर प्लेट भएका गाडिहरुले सरकारी कामकाज बाँहेक अरु कामका लागि प्रयोग गर्न पाइदैन ।

आजदेखि फेरी नेपालमा पानी पर्ने

२१ असार, काठमाडौं ।
आजदेखि मौसममा बदली भई फेरि पानी पर्ने भएको छ । मनसुनी रेखा औसतभन्दा माथि अर्थात् नेपालको भूभागतिर सरेकाले आजदेखि फेरि मनसुन सक्रिय भई वर्षा हुने मौसम पूर्वानुमान शाखाले आँकलन गरेको छ ।

मौसमविद् मीनकुमार अर्यालले मनसुनी रेखा मध्य र पश्चिम भागमा सरेकाले देशैभर वर्षा हुने जानकारी दिनुभयो ।

आजदेखि बिहीबारसम्म कतै थोरै र कतै भारी वर्षा हुन सक्ने उहाँले बताउनुभयो । मध्यपहाडीक्षेत्रमा मनसुनी रेखाको प्रभाव नभए पनि वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

प्रधानन्यायाधिश देखी राजदूतको टुंगो लगाउँदै संसदीय सुनुवाइ विशेष समिति

२१ असार, काठमाडौं ।
संसदीय सुनुवाइ विशेष समितिको बैठक आज बस्दैछ । प्रस्तावित प्रधानन्यायाधीश, सर्वोच्चका ११ न्यायाधीश, प्रमुख निर्वाचन आयुक्त र २२ राजदूतविरुद्ध परेका उजुरीका विषयमा छलफल गर्न बैठक बस्न लागेको छ ।

संसदीय सुनुवाइ विशेष समितिले संवैधानिक परिषद्, न्याय परिषद् र मन्त्रिपरिषद्द्वारा प्रस्तावित ३५ जना उम्मेदवारविरुद्ध उजुरीका लागि दिएको दस दिनको समय सीमा अन्तिम दिन हिजोसम्ममा ४० उजुरी दर्ता भएका हुन् ।

समितिको अहिले केहीबेरमा बस्ने बैठकले प्रारम्भिक छानबिन गरी सुनुवाइ प्रक्रिया अघि बढाउने गृहकार्य गरेको छ । सुनवाइको प्रक्रियामा प्राप्त उजुरी समितिको बैठकमा पेस गरिनेछ ।

प्रस्तावित ११ न्यायाधीशविरुद्ध तीनवटा उजुरी परेका छन् । प्रस्तावित प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवविरुद्ध समेत दुइटा उजुरी परेका छन् । समितिले प्राप्त उजुरीको प्रारम्भिक छानबिनपछि प्रस्तावित उम्मेदवारको सुनुवाइ गर्नेछ ।

माओवादी केन्द्रको पोलिटब्युरो बैठक बस्दै

२१ असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रले पार्टीको कार्यबिभाजन र नेताहरुको जिम्मेवारी बाँडफाँडमा छलफल गर्ने भएको छ । आज बस्ने पोलिटब्युरो बैठकमा महाधिवेसन केन्द्रित एजेण्डामा छलफल हुनेछ ।

दिउँसो पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने बैठकमा नेताहरुको कार्यविभाजन, महाधिवेसनको तयारी र सरकार गठनका विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।

माओवादी केन्द्रका नेता जर्नादन शर्माले महाधिवेसनको तयारीमा बैठक बस्न लागेको तर समसामयीक विषयमा पनि छलफल हुने बताउनुभयो । सम्भव भएसम्म आजै महाधिवेसनको मिति तय गर्ने उहाँले बताउनुभयो ।

केन्द्रले माघसम्ममा महाधिवेसन गर्ने भनिएपनि एकिन मिति तय गरेको छैन । बैठकमा नेता बर्षमान पुन अनन्तको नेतृत्वको कार्यदलले तयार पारेको सांगठनिक संरचना सहितको प्रतिवेदनमा पनि छलफल हुनेछ ।

नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहले ठोस एजेण्डा र कार्यतालिका बनाउने

२१ असार, काठमाडौं ।
नेपाल–भारत प्रबुद्ध व्यक्ति समूहको पहिलो बैठकले आगामी छलफलका ठोस एजेण्डा तय गर्ने भएको छ । हिजोदेखि सुरु भएको संयुक्त बैठकमा सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि’ ले प्रवेश पाएको छ ।

दुई देशबीचका सन्धि सम्झौता र सम्बन्ध पुनरावलोकनका लागि आ–आफ्नो सरकारलाई सुझाव पेस गर्न गठित समूहको राजधानीमा सुरु दुईदिने बैठकको पहिलो दिन नेपाली पक्षले विवादित सन्धिमाथि छलफल अघि सारेको हो ।

आज त्यसमा थप छलफल हुनेछ । सबै एजेण्डालाई चार भागमा विभाजन गरेर छलफल भइरहेको नेपाली विज्ञ समुहका सदस्य निलाम्बर आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार राजनीतिक, आर्थिक सांस्कृतिक र प्रशासनीक एजेण्डाभित्र सबै विषयलाई छलफल गरिएको छ । आज आगामी बैठकको मिति र छलफलका ठोस एजेण्डा तय गरेर छलफल सकिनेछ ।

बैठक पछि आजै दिउँसो पत्रकार सम्मेलन गरेर निर्णय सार्वजनिक गरिनेछ । बैठकको सुरुमा भारतीय पक्षले खास सन्धि सम्झौतामा केन्द्रित नभई समग्रमा कुरा राखेको थियो । नेपाली पक्षले भने एउटै मात्र सन् १९५० को सन्धिको नाम किटान गरी छलफलका लागि प्रस्ताव गरेको थियो ।

पछिल्ला दिन दुई देशबीच बढेको असमझदारी हटाई विश्वास निर्माण गर्नुपर्नेतर्फ बैठकमा नेपालले भारतीय पक्षको ध्यानाकर्षण गरेको थियो । पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाको संयोजकत्वमा नेपाल तर्फको समूहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, सांसद राजन भट्टराई, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य रहेका छन् ।

भारतद्वारा गठित प्रबुद्ध व्यक्ति समूहमा नेपालका लागि भारतीय पूर्वराजदूत जयन्त प्रसाद, जवाहरलाल नेहरू विश्वविद्यालयका प्राध्यापक महेन्द्र पी। लामा, भारतीय जनता पार्टीका उपाध्यक्ष भगतसिंह कोस्यारी र बिसी उप्रेती हुनुहुन्छ । आजको बैठक बिहान १० बजेबाट सुरु हुनेछ ।

प्युठानमा पहिरोमा पुरिएर दुई परिवारका ८ जनाको मृत्यु

२१ असार, प्युठान ।
अविरल वर्षाका कारण गएको पहिरोका पुरिएर गएराति प्यूठानमा दुई परिवारका ८ जनाको जनाको मृत्यु भएको छ ।

पहिरोले घर पुरिँदा प्यूठानको रजवारा गाविस वडा नं. ३ नेटाका दुर्गबहादुर मल्ल, उहाँको श्रीमति सिता, छोरीहरु सुशिला, लेखा र सिर्जनाको घटना स्थलमै मृत्यु भएको हो ।

छिमेकीकोमा बस्न गएका छोरा बसन्त र अर्का एक छोरी भने सकुसल रहेको रजवाराका स्थानीय तथा पत्रकार महासंघ प्यूठानका सचिव महावीर रानाले जानकारी दिनुभयो ।

त्यस्तै पूँजा गाविस वडा नं. ३ बाग्लीवाङ्गमा हुमबहादुर सुनार उहाँको श्रीमती र ७ वर्षिय छोरीको मृत्यु भएको प्यूठान प्रहरीले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जनकराज पन्त, प्यूठान प्रहरी प्रमुख रञ्जित सिंह राठौर, नेपाल रेडक्रलस सोसाइटी लगायतको टोली अहिले विहानै रजवारा घटना स्थल पुगेको छ । घटनास्थल प्यूठान जिल्ला सदरमुकामबाट १७ कोष टाढा पर्दछ ।

क्यानाडाको मिसेस साऊथ एसिया उपाधि भिडन्तमा मिना भण्डारि

नारायण घिमिरे-२१ असार, क्यानाडा ।
मानिसमा जब समाज सेवाको लत लाग्छ त्यो लतबाट ऊ ऊम्कनै सक्दैन । जब एक नारि समाजसेवामा होमिन्छिन् ऊनको लागि सर्बस्व त्यहि बन्छ ।

क्यानाडा र अमेरिकि सन्दर्भ भने अलि भिन्न छ । कोहि २ दिनका लागि मात्र पपुलारिटि लिन समाज सेवामा लागेको अभिनय गर्छन् तर  सोकोलागि न त पुर्वाधार बनाऊछन् न यिनलाई दिगो समाजसेवा पुर्बाधार बिना सम्भब हुदैन भन्ने हेक्का नै रहन्छ। हेक्का रहन्छत आफ्नो मतलब पुरा गर्ने ।

दिगो समाज सेवाको अनिबार्य सर्तहो आफूलाई दक्ष र शिक्षित बनाऊनु अनि आफ्नो दैनिक आबस्यकता आफ्नै प्रोफिसनल कमाईबाट पुर्तिगर्न सक्क्षम बन्नु। कुनै पनि बिधामा सफल हुन सम्बन्धित बिषयमा बिज्ञता हुनुपर्ने त अमेरिकन बजारको कखरा नै भैहाल्यो ।

आफ्नो निजि जिबनमा यिसबै पुर्बाधारहरू पुरागरेर प्रिन्स जर्जमा एक्लै बिभिद बिधामा आफुलाई दक्षबनाई साऊथ एसियन समाजबाट एक्लै नेपाल र नेपालि लाई सम्झन क्यानेडियन हरूलाई बाध्य पार्ने नेपालि चेलिहुन मिना भण्डारि। आफ्नो कला, ज्ञान, सिप र सौदर्य लाई बिभिध सास्कृतिक तथा बौधिक मन्चमा प्रस्तुत गर्दै सन् २०११ देखि प्रिन्सजर्जका पत्रिकाहरूको फलो गरिने डिस्टिङगुईस पर्सनालिटि बन्न सफल मिना जाहाँ जान्छिन नेपालिको नामपनि जोडिएर प्रस्तुत हुने गरेकि छिन् ।

तिनै अब्बल दर्जाकि नेपालि चेलि आगामि जुलाई २३, २०१६ मा ब्राम्टनको रोज थियेटरमा हुन गई रहेको मिसेस साऊथ एसिया क्यानाडा २०१६ मा ब्रीटीश कोलम्बियाको प्रिन्स जर्जबाट अर्थपूर्ण सहभागिता  जनाएकि छिन। यो साऊथ एसियन कम्युनिटिको नर्थअमेरिकाकै ठुलो मध्येको एक सुन्दरि प्रतियोगिता हो ।

Mrs. South Asia Canada (Formally Mrs Yummy Mummy Canada) को नाम दिईएको यो प्रतियोगितामा महिलाको ईन्टेलिजेन्स, कन्फिडेन्स र एबिलिटि का मापदण्डका आधारमा प्रतियोगि साऊथ एसियन ओरिजिनका महिला हरूको आन्तरिक र शारिरिक सौदर्यताको लागि नम्बर दिईन्छ ।

ऊक्त स्कोर प्रतियोगी साऊथ एसियन कल्चर, भ्यालु र सिगनिफिकेन्ट हेरिटेज बारे कति जानाकारि राख्छिन भन्नेबारे टेस्ट स्कोर जोडि बिभिन्न बिधामा सम्मान गरिन्छ। विवाहित नेपाली महिलाले सहभागिता जनाउन पाउने मिसेस साऊथ एसिया क्यानाडामा गृहिणी जीवन बिताइरहेका नेपाली महिलालाई सौन्दर्यताबाहेक सामाजिक क्रियाकलापदेखि आफ्नो व्यक्तित्व विकास गराउने किसिमसम्मका काममा सक्रिय सहभागीता जनाउने अवसर उपलब्ध छ।

रागामोडल टेलेन्ट एजेन्सि ले २०१३ देखिनै बर्सेनि यो कार्यक्रमहरू गर्दै आएपनि हाम्रो नेपालि कम्युनिटिमा यो कम फेमिलियराईजेसन भएका कारण सहभागि हुने र बिजयि हुने अबसर हामिले गुमाई रहेका थियौ। यस पटक भने हाम्रा अब्बल नेपालि छोरिहरू ऊक्त प्रतिष्षर्धामा ऊभिएर सधैजसो मेडल भारतिय मुलमै जाने  गरेको ट्रेनलाई  गतिलो चुनौति दिएका छन्। ऊनिहरूको यो अति प्रशंशनिय कदमलाई साथ दिन र भबिश्यमा पनि यस्ता काममा अन्य नेपालि मुलका सुन्दर र शालिन महिला हरूलाई अघि आऊन प्रेरणादिन तपाई हाम्रो साथको जरूरि छ ।

अति शालिन स्बभावकि सुन्दर र शिक्षित मिना भण्डारि काठमाडौ बाट झण्डै १५ बर्ष अधि ब्रीटीश कोलम्बियाको प्रिन्स जर्जमा बसाई सरेकि थिईन। सुरू देखिनै मोडलिङ, नेपालि कल्चर, भेष(भुषा र भाषामा गहिरो चासो राख्ने ऊनले नेपाल को पनि पटक पटक भ्रमण गर्ने र प्रतेक भ्रमणमा केहिन केहि समाज सेवाको एजेन्डा लिएर जाने गर्थिन। बिश्वबिध्यालय बाट समाज शास्त्रमा स्नाकोत्तर ऊपाधि लिएकि मिना भन्डारि नृत्य, योगा र धार्मिक तथा आध्यात्मिक प्रबचन हरूमा बैभब काल देखिनै गहिरो चासो लिने नेपालि मोडल हुन्। मानव मात्रको ऊथ्थानका लागि शारिरीक सुसँगठन आन्तरीक शालिनता र कुसल मानवत्वको त्रिकोणात्मक भुमिका रहन्छ भन्ने जानाकारि पाएपछि मिना भण्डारिले शौदर्यसास्त्रकै अध्ययन र औपचारीक तालिम लिएर हाल सोहि क्षेत्रमा ब्यबसाहिक रूपमा आफुलाई सँलग्न गर्दै आएकि छन्। मिना भण्डारिमा भएका यि भ्यालु एड फ्याकटर हरूका कारण क्यानडाको सहभागि बिच हाम्रो नेपालि समुदाय बाट प्रतिष्पर्धामा जितको अति ऊच्च सँम्भाबना भएको हो ।

हालको रागामोडलको प्रतियोगितामा मुख्य मापदण्ड बनाईएको महिलाको ईन्टेलिजेन्स, कन्फिडेन्स, एबिलिटि, साऊथ एसियन कल्चर, भ्यालु र सिगनिफिकेन्ट हेरिटेज आदिमा यि हाम्रि नेपालि चेलि अन्य नेपालि चेलि हरू जस्तै असिमित जानाकारि राख्छिन। जुन अन्य प्रतिष्पर्धि लाई पछि धकेल्न अति सहयोगि हुनेछ। कन्टेष्टेन्ट मिना भन्डारिकै भाषामा सुन्दरतालाई आन्तरिक र बाह्य दुई प्रकारबाट हेर्ने गरिएको छ। देखिने बाहिरी सुन्दरता हो भने महसुस गरिने आन्तरिक सुन्दरता हो। बाहिरी सुन्दरता पहिलो खुड्किलो हो। यौवनको सुन्दरता क्षणिक हुन्छ , झलक्क देखिन्छ  केही बर्समै  हराउन सक्छ। तर सोच, व्यवहारले ल्याउने सुन्दरता दीर्घकालीन हुन्छ। बाहिरका साथै भित्री रूपमा पनि मानिस सुन्दर भए सुनमा सुगन्ध थपिएजस्तै हुन्छ।

हाम्रि नेपालि चेलि मिना भण्डारि लाई अघि बढन आबस्यक पर्ने यदिकुनै कुराको कमि हुन्छ भने तपाई हाम्रो साथ र मोटिभेसन को मात्र हो । तेसैले हामि हाम्रा सम्पुर्ण नेपालि कम्युनिटि का साथि हरूलाई मिना भण्डारि ज्युको तलको लिंकमा गई लाईक गरि प्रोत्साहन दिनहुन आह्वान गर्दछौ। आऊनुस यसपटक जसरि भएपनि ऊक्त ताज नेपालि समुदायभित्रै भित्राऊने अभियानमा सहभागि बनौ ।

सेयर बजार घट्यो

२० असार, काठमाडौं ।
नेपाली सेयर बजार सोमबार पनि दुई अङ्कले घटेको छ ।

नेपाल स्टक एक्चेन्जका अनुसार सेयर बजार सोमबार दुई अङ्कले घटेर एक हजार ७१७ बिन्दुमा कायम रहेको छ ।

आइतबारबाटै घट्ने क्रम सुरु भएको सेयर बजार एक हजार ७१९ बिन्दुमा कायम रहेको थियो ।

अघिल्लो साता ३८ अङ्कले बढेको सेयर बजार पछिल्लो दुई दिनमा छ अङ्कले घटेको हो ।

चीनसँग पेट्रोलियम पदार्थ खरिद गर्न प्रस्ताव अघि बढ्यो

२० असार, काठमाडौं ।
आपूर्ति मन्त्रालयले नेपाल र चीनबीच भएको दुईपक्षीय सम्झौताबमोजिम पेट्रोलियम पदार्थ खरिदको प्रक्रिया अघि बढाउनेसम्बन्धी प्रस्ताव परराष्ट्र मन्त्रालयमा पठाएको छ ।

गत चैतमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका अवसरमा नेपालमा पेट्रोलियम पदार्थ आपूर्ति गर्ने र तीन स्थानमा भण्डारण केन्द्र खोल्नेलगायत सम्झौता भएको थियो ।

व्यवस्थापिका– संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिको सोमबारको बैठकमा आपूर्ति मन्त्री गणेशमान पुनले आफूहरूले कार्यदल गठन गरी चीनबाट पेट्रोलियम पदार्थ आपूर्ति गर्नेसम्बन्धी प्रतिवेदन परराष्ट्र मन्त्रालयमा पठाएको जानकारी दिनुभयो ।

सरकारले इन्धनमा भारतसँगको एकाधिकार कायम नराखी चीनसँग कुल मागको ३३ प्रतिशत पेट्रोलियम पदार्थ आपूर्ति गर्ने योजना बनाएको छ ।

नेपाल आयाल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले ४५० थान ग्यास ल्याउने बुलेट खरिदको प्रक्रिया पनि अघि बढाएको जानकारी दिनुभयो ।

समितिका सभापति भीष्मराज आङ्देम्बेले समितिका निर्देशन पालना भए÷नभएको सम्बन्धमा सरकारले प्रतिवेदन नदिएको, उपभोक्ताका अधिकार कुण्ठित हुने स्थिति भएको र वर्षायामको नाममा पुनः इन्धन अभाव गराउने प्रयत्न भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web