२० भदौ, काठमाडौं ।
अपहरण गरेर रकम असुलीमा जेल परेर छुटेका मधेश केन्द्रित नेता तथा पूर्व मन्त्री श्यामसुन्दर गुप्तालाई फेरी प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले जबरजस्ती रकम असुलीको आरोपमा पूर्व आपूर्तिमन्त्री गुप्तालाई ललितपुरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गुप्तालाई म्याद थप गरेर हिरासतमा राखिएको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिएका छन् ।

उनी यो भन्दा पहिले पनि व्यापारी पवन सांघाई अपहरण अभियोगमा पक्राउ परेर ३ वर्ष जेल बसेर छुटेका थिए ।

गत वर्ष साउन २ गते छुटेका गुप्ता पहिलो संविधानसभामा सभासद रहका थिए ।

२० भदौ, नुवाकोट ।
नुवाकोटको तादी खोलामा पौडी खेल्दा एक युवक खोलाले बगाएर वेपत्ता भएका छन् ।

प्रहरीका अनुसार चारघरे गाविस–६ घर भएका कृष्णबहादुर तामाङलाई सोमबार दिउँसो पौडी खेलिरहँदा खोलाले बगाएको हो ।

चारघरे घर भएका तामाङलाई खानीगाउँ गाविस–४ मा तादी खोलामा पौडी खेल्दा खोलाले बगाएको प्रहरीले जानकारी दिएको छ ।

खोलामा पानीको बहाव बढी भएकाले खोज्न समस्या परेको र बेपत्ता तामाङलाई जिवित भेटिने संभावना नरहेको प्रहरीले बताएको छ ।

स्थानिय र प्रहरीले बेपत्ता तामाङको खोजि प्रयास गरिरहेका छन् ।

२० भदौ, युएई ।
युएईमा बैदेशीक रोजगारीमा गएका एक नेपालीले चिठ्ठामा १० करोड रुपैयाँ जितेका छन् ।

संयुत्त अरव इमिरेट्स युएईको आबुधाबीमा कार्यरत नेपाली नागरिक रामकृष्ण भण्डारीले भाग्यदय चिठ्ठामा १० लाख अमेरिकी डलर अर्थात् १० करोड ७० लाख नेपाली रुपैयाँ जितेका हुन् ।

युएईमा सञ्चालित बिग टिकट भाग्य चिट्ठामार्फत पहिलो पुरस्कारमा यतिधेरै रकम जितेका भण्डारीको विस्तृत परिचय भने खुल्न सकेको छैन ।

सोही चिठ्ठामार्फत दार्जिलिङ स्थायी ठेगाना भएका नेपाली मुलका भारतीय नागरिक अङ्गतकुमार कर्कचन्द्र राईले नवौ पुरस्कार स्वरुप ५ हजार अमेरिकी डलर जितेको चिठ्ठाको आधिकारीक वेवसाइटमा उल्लेख छ ।

सेप्टेम्बर ५ मा लक्की ड्रमार्फत खोलिएको चिठ्ठामा उनीहरु विजेता बनेका हुन् । सार्वजनिक नतिजा अनुसार १० जना भारतीय, २ जना फिलिपिनो , १ पाकिस्तानी एक जना जिम्बावेका नागरिकले समेत चिठ्ठा जितेका छन् ।

उक्त वेवसाइटले यसअघि जितेका बिजेताको तस्विर राखेपनि यसपटकका पहिलो पुरस्कार जितेका रामकृष्ण सम्पर्कमा नआइसकेकाले विस्तृत विवरण राखिसकेको छैन ।

२० भदौ, काठमाडौं ।
बैंककमा स्वास्थ्य परिक्षणका बहानामा भारतीय खुफिया एजेन्सी रअका प्रमुखसँग भेटेर गोप्य छलफल गरेको आरोपलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्विकार गरेका छन् ।

बैंककमा स्वास्थ्य परीक्षण गरेर सोमबार स्वदेश फर्किए लगत्तै विमानस्थलमा पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो भ्रमणलाई लिएर केहीले गलत प्रचार गरेको आरोप लगाए ।

एमाले अध्यक्ष ओलीले भने, ‘अत्यन्तै निन्दनीय तरिकाले झुटको खेती गरेको पाइयो । त्यसमा कुनै सत्यता छैन ।’

एमाले अध्यक्ष ओलीले चिकित्सकहरुको रिपोर्टमा आफ्नो स्वास्थ्य ठीक रहेको भन्दै देश र जनताको पक्षमा तथा संविधान कार्यान्वयनमा भूमिका खेल्न सक्ने भएर आएको पत्रकारमाझ बताए ।

ओलीले संविधान संशोधनबारे यसअघिकै जस्तै संविधान गतिशील दस्ताबेज भएको भन्दै संशोधन हुनसक्ने बताए ।

ओलीले भने-'तर, कसैको दबाव र बहकाउमा होइन, संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा हुन्छ । कसैको दबावमा देशलाई अहित हुने गरी, लोकतन्त्रलाई अफ्ठ्यारोमा पार्ने गरी हुन सक्दैन ।'

२० भदौ, काठमाडौं ।
पूर्व प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले नेपालको कुनै देशसँगको छलफलका विषय र सम्झौता कसरी हुन्छ भन्ने गतिलो उदाहरण पेश गरेका छन् ।

सामान्य राजनीतिक सिद्धान्तपनि नदेखिनेगरि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कैलालीको धनगढीसँग जोडिएको गौरीफन्टा नाकाको स्तरोन्नतिलाई प्रधानमन्त्रीको भारत भ्रमणको एजेण्डामा राख्न भन्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतलाई हप्काउने शैलिमा निर्देशन दिएका छन् ।

देउवाले सोमबार सुदूरपश्चिमका उद्योगी व्यवसायी र राजनीतिक दलका नेताले बुढानिलकण्ठ पुगेर देउवालाई ज्ञापनपत्र बुझाएपछि देउवाले महतलाई निर्देशन दिंदै भने-'यो हाम्रो धनगढी छ नि धनगढी । गौरीफन्टा नाकालाई स्तरउन्नती गर्न एजेण्डामै राख्नुपर्यो ।’ उनले अगाडी थपे-'आरक्षणले के हुन्छ र । एजेण्डामै राख्नुस् ।’

एक सातादेखि काठमाडौंमा रहेका सुदूरपश्चिमका उद्योगी व्यवसायी र नेताहरुले गौरीफन्टा नाकालाई अन्तर्राष्ट्रियस्तरको बनाइनुपर्ने माग गर्दै मन्त्री, भारतीय राजदूतदेखि प्रधानमन्त्री प्रचण्डलाई समेत भेटिसकेका छन् ।

प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डले भारतसँगका छलफल तथा सम्झौताका एजेण्डा विज्ञहरुके सुझाव सल्लाहमा गरिने बताइरहँदा देउवाको ठाडो शैलिको यो निर्देशनले सरकारको शैलि र देउवाको राजनीतिक अवस्था र बुझाई अनि नेपाली काँग्रेस कसरी चलिरहेको छ भनेर देखाएको छ ।

हेर्नुहोस् अनलाईनखवरले प्राप्त गरेर युट्युवमा राखेको यो भिडियो

२० भदौ, जुम्ला ।
द्धन्द्धकालमा तत्कालिन बिद्रोही माओवादीले सरकारी सुरक्षा फौजसँग लुटेका अत्याधुनिक हतियारहरु जुम्लामा बेवारिसे अवस्थामा भेटिन थालेका छन् ।

जुम्लाको दुई छुट्टा छुट्टै गाविसमा अत्याधुनिक हतियार एसएलआर बन्दुक र त्यसमा लाग्ने म्यागजिन सहित गोलीहरु बरामद गभएका छन् ।

गत भदौ १५ गते अञ्चल प्रहरी कार्यालयको टोलीले हतियारसहित पक्राउ गरेका तीन जनाले अनुसन्धानको क्रममा बन्दुक र गोली रहेको स्थानबारे जानकारी दिएपछि एसएलआर हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

जुम्लाको सनीगाँउ ४ स्थित जलजला लेकको ओडारमा हरियो प्लास्टिक र कपडाले बेरेर राखेको अवस्थामा १ थान एसएलआर राइफल तथा धापा ६ घोडेङ्गा स्थित स्याउको बगैँचाबाट एसएलआरको गोली २५ राउण्ड, १ थान म्यागजिन र पुर्जाहरु प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बरामद हतियार एक दशक लामो द्धन्द्धका समयमा बिद्रोही माओवादीले प्रयोग गरेको आशंका गरेको छ । हतियार प्रयोग गर्न मिल्ने अवस्थामा रहेको प्रहरीले बताएको छ ।

२० भदौ, काठमाडौं ।
नेपाल राष्ट्र बैंकले यो दशैं तिहारको लागि असोज १६ गतेबाट नयाँ नोट सटही थाल्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार यो दशैंरतिहारमा एक व्यक्तिले ३७ हजार रुपैयाँसम्म नयाँ नोट साट्न पाउने छन् ।

नेपाल राष्ट्र बैंकले सर्वसाधारणका लागि प्रतिव्यक्ति ३७ हजार रुपैयाँसम्म असोज १६ गतेदेखि २१ गतेसम्म काठमाडौं उपत्यकामा भए थापाथलीस्थित राष्ट्र बैंकको कार्यालय र उपत्यका बाहिरका राष्ट्र बैंकका पाँच वटै कार्यालयहरुमा सर्वसाधारणले नयाँ नोट साट्न पाउने जानकारी गराएको छ ।

हरेक बर्ष दशैं तिहारको समय पारेर नयाँ नोट सटही गर्दै आएको बैंकले गत वर्ष एक व्यक्तिले २२ हजार रुपैयाँ मात्रै नयाँ नोट साट्न पाउने व्यवस्था गरेको थियो ।

यसपटक एक व्यक्तिले ५, १०, २०, ५० र १०० का दुईरदुई प्याकेट नयाँ नोट साट्न पाउने राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिएका छन् ।

पूर्वकर्मचारीहरुलाई भने राष्ट्र बैंकले ५९ हजार रुपैयाँ बराबरका नयाँ नोट सहटी सुविधा उपलब्ध गराउने जनाएको छ ।

पण्डितकाअनुसार ५, १०, २०, ५० र १०० रुपैयाँका एकरएक बण्डल उपलब्ध गराइनेछ । गत वर्ष भने भूतपूर्व कर्मचारीलाई ५५ हजार रुपैयाँ मात्रै उपलब्ध गराइएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरुले भने राष्ट्र बैंकबाट असोज ९ गतेदेखि असोज १४ गतेसम्म नयाँ नोट साट्न पाउनेछन् । दशैंका लागि आवश्यक पर्ने पर्याप्त नयाँ नोटको व्यवस्था गरिएको सहायक प्रवक्त पण्डितले जानकारी दिए ।

नेपालीहरुको महान चाड दशैं तिहारमा टिका टालोका लागि नयाँ नोट प्रयोग गर्ने प्रचलन अनुसार यो समयमा अत्यधिक माग हुने भएकाले राष्ट्र बैंकले दशैं तिहारको अघि पारेर नयाँ नोट सटही व्यवस्था मिलाउँदै आएको छ ।

२० भदौ, काठमाडौं ।
प्रधानमन्त्री रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीलाई भर्खर नेपाली नागरिकता लिएका अगिंकृत नागरिकले पनि नेपालको राष्ट्रपति बन्न पाउनेगरि संविधान संशोधन गर्ने प्रतिवद्धता गरेको दाबी संसदमा गरिएको छ ।

प्रचण्डले त्यतिमात्र नभएर तराईका जिल्लालाई समेटेर एक प्रदेश वा बढीमा दुई प्रदेश बनाउने आश्वासन सहित मोदीलाई लेखिएको गोप्य पत्रमा उल्लेख रहेको नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवाल दाबी गर्नुभएको छ ।

सांसद सुवालले प्रचण्ड लेण्डुप दोर्जे बन्ने हुन् कि भन्ने चिन्ता जनतामा रहेकाले पत्र संसदमा सार्वजनिक गर्न माग समेत गरे ।

यसअघि माओवादी विद्रोहीको अध्यक्ष हुँदा सन् २००४ मा तत्कालिन भारतीय प्रधानमन्त्री अटल बिहारी बाजपेयीलाई प्रचण्डले लेखेको पत्र भारतकै प्राध्यापक एसडी मुनीले सार्वजनिक गरेको स्मरण गर्दै सुवालले अहिलेको पत्र पनि कुनै भारतीयले सार्वजनिक गर्नुपर्ने हो रु भन्दै संसदमा प्रश्न गरे ।

सांसद सुवालले भने ‘यी सबै कुराले अहिलेका प्रधानमन्त्री लेण्डुप दोर्जे बन्ने चिन्ता जनतामा जागेको छ । उहाँले त्यसो नगर्नुहोला भन्ने आशा छ, त्यसैले पत्र सार्वजनिक गरियोस् ।’

यसअघि एमालेका सांसद हर्कबोल राईले पनि पत्र सार्बजनिक गर्न र त्यसको जवाफ प्रधानमन्त्रीले संसदमा उपस्थित भएर दिन माग गरेका थिए ।

यसैबीच सत्तारुढ नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्रीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको पत्र संसदमा सार्वजनिक गर्न माग गरेका छन् ।

संसदको विशेष समयमा बोल्दै कांग्रेस सांसद रामहरी खतिवडाले यदि प्रधानमन्त्रीले भारतीय समकक्षीलाई पत्र पठाएको हो भने त्यो संसदमा सार्वजनिक हुनुपर्ने बताए ।

खतिवडाले भने, ‘पत्र पठाएको हो भने सार्बजनिक हुनुपर्छ, होइन भने राजनीतिक खपतका लागि हल्ला गर्न हुँदैन ।’

स्मरणीय छ दुई साता अघि सरकारका उपप्रधानमन्त्री रहेका विमलेन्द्र निधिले भारत भ्रमणमा प्रचण्डको पत्र बोकेर गएका थिए भने निधि भारतमा रहँदै प्रचण्डको भारत भ्रमण तय भएपछि प्रचण्डले मोदीलाई नेपालको स्वाधिनतामाथि प्रश्न उठ्नेगरि सत्ता टिकाउन पत्र लेखेको विश्वासमा सर्वत्र बिरोध भइरहेको छ । तर प्रधानमन्त्री प्रचण्डले यसको बचाउ गरेपनि पत्र सार्वजनिक गर्न भने सकेका छैनन् ।

२० भदौ, काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा ९माओवादी०को महाधिवेशन आगामी फागुन १ देखी ७ गतेसम्म हुने भएको छ ।

आठौं राष्ट्रिय महाधिवेशनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा विप्लव माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०ले फागुन १ गते जनयुद्ध दिवसको दिन खुलामञ्चमा महाधिवेशन उदघाटन गर्ने र बन्दसत्र रोल्पाको थवाङमा गर्ने बताएका छन् ।

माओवादी जनयुद्धको समयमा उद्गम स्थल मानिने थवाङलाई विप्लव माओवादीले आफ्नो आधार बताउँदै आएको छ ।

महाधिवेशनको तयारीस्वरुप मंसिर महिनासम्म गाउँ, नगरको सम्मेलन र पुसमा जिल्लाको सम्मेलन सक्ने बताइएको छ ।

यसैबिच विप्लव माओवादीको यही भदौ ११ गतेदेखि १४ गतेसम्म बसेको पार्टीको केन्द्रीय समितिको पूर्णबैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता विकले अब जनसत्ता पुनर्गठनमा तिव्रता दिने बताए ।

उनका अनुसार विप्लव माओवादी जनजिविकाका मुद्दा अघि सारेर भदौ २० देखि २५ गतेसम्म पहिलो चरणको संघर्षका कार्यक्रम गर्ने बताइएको छ ।
उनले दाल, चामल, तेल, चिनी, तरकारी, फलफूल, दूध र मासुमा ५० प्रतिशत मूल्य घटाउन सरकासँग माग गरेको छ ।

यस्ता माग समेटिएको ज्ञापन माओवादीले आफ्ना पूर्व पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भदौ २२ गते ज्ञापनपत्र बुझाउने बताइएको छ ।

विप्लव माओवादीले भदौ २८ गते देशव्यापी मशाल जुलुस र असोज ५ गते आपूर्ति मन्त्रालय घेराउ गर्नुकासाथै असोज २५ गते देशव्यापी एक घण्टा ९विहान ९ देखि १० बजेसम्म० चक्काजाम र दशैं तिहार लगत्तै कात्तिक २८ गते नेपाल बन्द गर्ने घोषणा अहिले नै गरिसकेको छ ।

२० भदौ, टोकियो ।
पार्टी केन्द्रिय कार्यालयले निर्वाचन रोक्न निर्देशन दिएर निर्वाचन समिति संयोजकले राजिनामा दिइसकेको अवस्थामा नेपाली जनसम्पर्क समितिको एक भेलालो छठौं अधिवेशन सम्पन्न भएको घोषणा गरेको छ ।

जापान स्थित नेपाली काँग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति जापानको छैठौं अधिवेशन टोकियोमा एक समारोहका विच २ वर्षका लागि निर्वाचित भएको घोषणा गरिएको हो ।

निर्वाचीत भनिएको कार्यसमितिका सदस्यहरुले शपथ ग्रहण समेत गरेका छन् । उता निर्वाचनको अन्तिम समयमा वहिष्कारमा उत्रिएको अध्यक्षका दावेदार रोशन केसी समुह भने अझैपनि निर्वाचन प्रक्रियासँगै असहमत रहेको छ ।

केसी समुहको बिरोधका बिच निर्वाचन समितिका संयोजक महेश श्रेष्ठले राजीनामा दिएपछि निर्वाचन समितिका तर्फबाट ज़िम्मेवारी लिदैं मतगणना कार्य सम्पन्न गराएका निर्वाचन समितिका सदस्य मुक्तिराम खनाल९विनोद० ले डिपी कँडेल समुह निर्वाचनमा बिजयी भएको मतगणना सुनाउँदै सपथ खुवाएका हुन् ।

डि.पी.कंडेल नेतृत्वको निर्वाचित कार्यसमितिका अधिकांश सदस्य, जनसम्पर्क समिति जापानका तर्फबाट नेपाली काँग्रेसका तेह्रौँ महाधिवेशन प्रतिनिधिहरू सुभाष लोहनी, पाशागं शेर्पा, राजेन्द्र जम्मरकट्टेल, पुर्व संयोजक भूपिगोविन्द श्रेष्ठ, पूर्व महाधिवेशन प्रतिनिधि कपिलदेव थापा, गणेश नेपाल लगाएतको उपस्थिति रहेको थियो ।

शपथग्रहण लगत्तै बसेको कार्यसमितिको पहिलो औपचारिक भनिएको बैठकपछि नवनिर्वाचित सभापति कंडेलले अहिले देखिएको विवादलाई छिट्टै समाधान गरि सबै पक्षलाई सँगै लिएर अघि बढिने र असन्तुस्ट समुह सहमितिमा आउने विश्वास व्यक्त गरे ।

बैठकले छैठौं महाधिवेशनका क्रममा देखापरेको विवादलाई समाधान गर्न पाँच सदस्यीय एक विवाद समाधान समिति समेत बनाएको छ ।

समितिमा सुभाष लोहनी, भूपिगोविन्द श्रेष्ठ, पासागं शेर्पा, राजेन्द्र जम्मरकट्टेल र पुष्कर जंग थापा रहेको छन् ।

यस्तै यहि सेप्टेम्बर ९ का दिन पर्न गएको मातृपार्टी नेपाली काँग्रेसका संस्थापक नेता वी.पी. कोईराला को १०३ औं जन्मोत्सव भव्य रूपमा मनाउने निर्णय समेत सो बैठकले गरेको छ ।
वीपीको स्मृतिमा गरिने कार्यक्रम सिनओकुबो स्थित नेपालीमुरा हलमा गरिने बताइएको छ ।

नेपाली जनसम्पर्क समिति जापानमा भएको विवाद जान्न यसअघि प्रकाशित यो समाचार पढ्नुहोस्

नेपाली जनसम्पर्क समिति जापान, केसीद्धारा निर्वाचन बहिस्कार, कँडेल समुहद्धारा मतदान सुरु

२० भदौ, बर्दिया ।
बर्दियासहित थारु समुदायको बसोबास रहेका बाँके, कैलाली, कञ्चनपुर र दाङ लगायत क्षेत्रमा ‘आइतबारी’ पर्वलाई विशेष महत्वका साथ मनाइन्छ । भाद्र शुक्ल पक्षको प्रथम आइतबारका दिन दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नपिई दिनभर व्रत बसी साँझ पुरुषद्वारा नै गुइँठाको आगामा सल्लाको धूप बनाई बालेर भीमको पूजा गर्ने प्रचलन छ ।

व्रतपछि गहुँको पिठोबाट बनेको खुर्मा, अनदीको चामलको बरिया, रोटीलगायत पकवान र फलफूल अग्नि देवतालाई अर्पण गरी दिदीबहिनीलाई केही भाग छुट्याई बाँकी भाग वर्तालुले खाने चलन रहेको छ ।

वर्तालुले पकवान खानुअघि केही हिस्सा दिदीबहिनीका लागि निकाल्ने गर्छन, जसलाई ‘कहार्नी’ भनिन्छ । व्रत बसेको दिन साँझपख बहरी भन्ने कोठामा गाईको गोबरले लिपपोत गरी गन्यारी भन्ने काठबाट तीन चार जना मिली आगो बालेर पवित्र रोटी र परिकार पकाउने गरिएको थारु अगुवा दानसिं दहितले बताउनुभयो । रोटी र परिकार बनाउने ठाउँमा वर्तालु बाहेक अन्यलाई जान र छुन समेत वर्जित छ ।

रोटीसँगै अन्य पकवानलाई वर्तालु सबैको भागसँगै अर्को भाग छुट्टयाउने गरिन्छ जसलाई ‘अग्रासन’ भन्ने गरिन्छ । व्रतालुले आआफ्ना भागबाट अर्को भाँडामा खानेकुरालाई अलग्याएर राख्ने गर्छन् । अलग्याएर राखिएको खानेकुरालाई आइतबारको भोलिपल्ट दिदीबहिनीलाई दिने चलन छ।दिदीबहिनीहरु दाजुभाइ आउने व्यग्र प्रतीक्षामा हुन्छन् ।

वर्षभरि माइत आउन नपाएका दिदीबहिनीले दाजुभाइसँग भलाकुसारी गर्छन् । अग्रासन दिएर फर्कने क्रममा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने गछन् । अटवारीको दोस्रो दिन फुलौरी, केराउ, पटौला, ठच्चा लगायत पकवान र माछाको सिद्रा वर्तालुले ग्रहण गर्छन् ।

यो पर्व थारु समुदायको अस्तिमकि पछिको ठूलो पर्वका रुपमा रहेको छ । पौराणिक राजा दङ्गिशरणलाई शत्रुबाट बचाउन पाँच पाण्डवमध्येका भीमले सहायता गरी शत्रुमाथि विजय प्राप्त गरेकाले सोही दिनदेखि अटवारी पर्व मनाइँदै आएको थारु बुद्धिजीवीको भनाइ छ । अतवारी ब्रत थारुहरुले मनाउने एक मुख्य ब्रत हो, जो प्राय थारु गाउँमा मान्ने गर्दछन् ।

कहिं कहिं यसलाई सूर्यको उपासनाको रुपमा पनि लिने गरेका छन् । तर थारुहरुका पुर्खा पुरनियाहरुका अनुसार महाभारतका भीम जसले हिडिम्बको संहार गरे, हकअधिकार मिच्ने, अन्याय र अत्याचार गर्ने आफ्नै सय भाई कौरबको संहार गरे र हक अधिकार प्राप्त गरे, तिनै भीमको थारुहरु पुजा आराधना गर्दछन्, ब्रत बस्छन् । जुन ब्रत बस्दा मनमा चिताएको फल प्राप्त हुने गर्दछ भन्ने जनविश्वास रहेको छ ।

२० भदौ, झापा ।
चार्डपर्व नजिकिएसंगै झापाका मुख्य बजारमा चोरी बढेको छ । त्यसमा पनि मोटरसाइकल चोरी हुने क्रम अधिक रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

प्रहरीका अनुसार गत साउन ४ गतेबाट बिर्तामोड र सुरुङ्गा बजार क्षेत्रबाट मात्रै ११ वटा मोटरसाइकल चोरी भएका छन् । चोरी भएका मोटरसाइकल मध्ये ५ वटा पल्सर र दुई वटा वुलेट छन् । डेढ महिनाको अवधिमा ११ मोटरासाइकल चोरी भएपछि प्रहरीलाई खोजीकार्यमा अहिले मुख्य समस्या बनेको छ ।

प्रहरीले चोरीएका मोटरसाइकल मध्ये ३ वटा सवारी चेकजाँचका क्रममा मोटरसाइकल फेला पारी सवारीधनीलाई जिम्मा लगाएको छ भने दुई वटा अनुसन्धानको क्रममा छन् ।

मोटरसाइकलसंगै सार्वजनिक यातायातमा पकेट मार्ने क्रमपनि बढेको छ । चार्डपर्वको समयमा सार्वजनिक सवारीमा खचाखच हुँदै यात्रा गर्नुपर्ने यात्रुको वाध्यतालाई फाइदा उठाउदै पकेटमारले यात्रुहरुको पकेट मार्ने गरेका छन् ।

कतिपय यात्रुको पर्स,मोवाइल, गहरगहना चोरिएपछि वेर्खची बनेर वाटैमा अलपत्र पर्ने गरेको प्रहरीको भनाइ छ ।