चीन–भारत जोड्ने तीन सडक बनाउन ११ वर्ष ढिलो

४ कार्तिक, काठमाडौं ।
आर्थिक वर्ष ०६५/६६ देखि निर्माण थालिएका तीनवटा उत्तर–दक्षिण करिडोर सडक निर्माण सम्पन्न हुन १५ वर्ष लाग्ने भएको छ ।

०७० मै सम्पन्न हुनुपर्ने कोसी, कालीगण्डकी र कर्णाली करिडोर लोकमार्ग सम्पन्न हुन आर्थिक वर्ष ०८०/८१ सम्म पर्खनुपर्नेछ । राष्ट्रिय गौरवका यी आयोजना ०७० सालभित्रै सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्धारित अवधिमा सम्पन्न हुन नसकेपछि तीनवटै आयोजनाको म्याद थपिएको छ ।

आवधिक योजना पाँच वर्षको हुने भएकाले सुरुमा पाँच वर्षमा सम्पन्न गर्ने गरी योजना बनाइएको तर विविध कारणले सम्पन्न गर्न नसकिएको उत्तर–दक्षिण लोकमार्ग आयोजना निर्देशनालयका निर्देशक गोपालप्रसाद सिग्देलले जानकारी दिए । साथै, एकैचोटि १५ वर्षको योजना बनाउनका लागि स्रोतको निर्धारण गर्न गाह्रो हुने भएकाले पनि सुरुमा पाँच वर्ष राखिएको उनको तर्क रहेको आजको नयाँ पत्रिकामा समाचार छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले भने तोकिएकै समयमा काम सम्पन्न नहुनुमा काम गर्ने क्षमताको अभाव, उच्च हिमाली क्षेत्रको मौसमले वर्षमा केही महिना मात्र काम हुनु, कुल लागत बजेट एकैपटक व्यवस्था गर्न नसक्नुजस्ता कारण रहेको बताए ।

तोकिएको अवधिमा सम्पन्न नहुने आयोजनाले एकातिर लागत र निर्माण अवधिमा वृद्धि गर्ने गरेको छ भने अर्कातिर समयमा विकास आयोजना पूरा नहुँदा सेवाग्राही ९जनता० को उत्साहलाई पनि मार्ने काम गरेको छ ।

नेपाली औषधि कम्पनी नै तस्करी गर्दै

४ कार्तिक, काठमाडौं ।
लागूपदार्थ एम्फेटाइन बनाउने कच्चपदार्थका रुपमा रहेको स्युडोएफेड्रिन तस्करीमा थप दुई औषधि कम्पनीमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

प्रहरी अनुसन्धानपछि औषधि व्यवस्था विभागले यो कम्पनीको जीएमपी समेत निलम्बन गरेको आजको अन्नपूर्णमा समाचार छ ।

लागूऔषध नियन्त्रण व्युरोका अनुसार मधुसूदन अग्रवालका नाममा रहेको एसआर फर्मास्युटिकलल्स र उनका भाइ अमित अग्रवालले सञ्चालन गरेको टेरेस फर्मा ल्यावले अबैध रुपमा स्युडोएफेड्रिन तस्करी गरेको अरोपमा अनुसन्धान अगाडि बढेको छ । मधुसुदन अग्रवाल पूर्वसभासद् हुन् ।

प्रचण्डको पारा । नेतालाई पँजेरो दिएर साइकल सुविधा

४ कार्तिक, काठमाडौं ।
जंगल युद्धबाट खुल्ला राजनीतिमा आएपछि एकदिन पनि कहिँ जाँदा कतै साइकल नचढेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब आफु सहित सबै नेतालाई साइकल सुविधा दिने भएका छन् ।

प्रचण्ड सरकारले न व्यवहारिक न त उपयोगी नै हुने साइकल हेर्दा लोकप्रिय जस्तो देखिन सभामुख, उपसभामुखलगायत संसदका पदाधिकारीहरुलाई सुविधावापत साइकलसमेत दिने भएको छ ।

संसदमा तयार सांसदहरुको सुविधा बढाउने विधेयकका अनुसार अब सभामुखले २ वटा साइकल पाउनेछन् । कति मूल्य बराबरको साइकल भन्ने कुरा भने खुलाइएको छैन ।

साइकल दिएपछि त्यसको उपयोगिता, सुरक्षा, यसअघि दिइंदै आएको पँजेरो, सुरक्षाकर्मीको गाडीको सुविधा बारे बिधेयकमा केही बोलिएको छैन ।

सँधै अगाडि र पछाडि सुरक्षाकर्मीको गाडी राखेर पँजेरोमा हुईंकिने विपक्षी दलका नेताका नाममा पनि २ वटा साइकल दिने विधेयकमा उल्लेख छ ।

यस्तै विपक्षी दलका नेता, सत्तापक्षका नेता, सत्ता पक्षको मुख्य सचेतक, विपक्षी दलको प्रमुख सचेतक र समितिका सभापतिहरुले पनि १र१ वटा साइकल सुविधा पाउने नियम प्रचण्ड सरकारले प्रस्तावित विधेयकमा लेखेको छ ।

सांसदले जहाँ गएपनि अब भत्ता पाउने, हिँडेपनि भत्ता

४ कार्तिक, काठमाडौं ।
यसअघि सम्म नेताहरुले कुनै जिल्ला वा ठाउँको भ्रमण गर्दा सवारीसाधन या भनौं यातायात खर्च पाएको छ सुनेकै हो । तर अब हिँडेको पनि भत्ता पाउने भएका छन् । रोचक कुरा त के भने यो नियम आफ्नो लागि सांसदहरु आफैंले बनाएका हुन् ।

यस्तै नेताहरुले बिदेश गएपनि अबदेखी नेता भत्ता पाउने भएका छन् । संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धी ऐन संशोधनका लागि बनेको विधेयकले सांसदहरुलाई हिँडेको पनि भत्ता पाउने गरि ‘पैदल भत्ता’ को व्यवस्था गरेको छ ।

कानुन मन्त्रालयबाट प्रस्तावित उक्त विधेयकले सांसदहरुलाई विभिन्न १८ वटा शीर्षकमा आर्थिक सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसमध्ये १४ नम्बर सूचीमा ‘पैदल भ्रमण भत्ता’ समेत पाउने उल्लेख गरिएको छ ।

नयाँ नियम अनुसार अब सांसदले जति हिँड्यो त्यति पैसा पाउने छन् । सांसदहरुलाई सुविधा उपलब्ध गराउने सम्बन्धी विधेयकअनुसार अब सांसदहरुले एक कोष हिँडेको २५ रुपैयाँका दरले पाउनेछन् ।

प्रचण्ड नेतृत्वको सरकारले सांसदहरुलाई खुशी बनाउन यस्तो नियम बनाएको हो ।

प्रस्तावित विधेयक व्यवस्थापिका संसदले जस्ताको त्यस्तै पारित गरेमा सभामुख ओनसरी घर्तीको पैदल यात्राको मूल्य सबैभन्दा महंगो हुनेछ । घर्तीले एक कोष हिँडे ३० रुपैयाँ पाउनेछिन् ।

प्रमुख विपक्षी दल वा अन्य सांसदहरुले भने ५ रुपैयाँ कम अर्थात प्रतिकोष २५ रुपैयाँका दरले पैदल भत्ता पाउनेछन् ।

व्यवस्थापिका संसदमा ऐनको रुपमा प्रस्ताव भइसकेको विधेयकले अर्को अनौठो सुविधा प्रस्ताव गरेको छ । अब सरकारले नै सांसदहरुलाई ‘नेता भत्ता’ दिने प्रस्ताव गरेको हो ।

विधेयकको व्याख्यात्मक टिप्पणीको १० नम्बरमा  ‘पदाधिकारी वा सदस्यले प्रतिनिधिमण्डलको नेताका रुपमा विदेश जाँदा थप भूमिका समेत निर्वाह गर्नुपर्ने हुनसक्ने भएकाले प्रस्तुत व्यवस्था गरिएको ।’ भनेर भत्ता दिइएको छ ।

मिल्ने र सकेसम्म शिर्षक बनाएर प्रचण्ड सरकारले सांसदहरुलाई भत्ता दिने नियम बनाएको छ । यसबाट भूकम्पपछि गोठ र छाप्रामा रात बिताइरहेका जनताको लागि प्रचण्ड सरकार कति चिन्तित रहेको भनेर अन्य विषय खोजिरहनु नपर्ने बनाइदिएको छ ।

म्यानचेष्टर सिटी बिरुद्ध मेस्सीको हृयाट्रिक

४ कार्तिक, एजेन्सी ।
टिमका पहिलो नम्वरमा खेलाडी लिओनल मेस्सीको हृयाट्रिकको मदतमा बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा पेप ग्वार्डिओलाको म्यानचेष्टर सिटीमाथि सानदार जित दर्ता गरेको छ ।

सिटीको प्रशिक्षक बनेपछि बार्सिलोनाका पूर्व प्रशिक्षक ग्वार्डिओला पहिलो पटक नाउ क्याम्प पुगेका थिए । तर उनको प्रशिक्षणलाई फितलो बनाउँदै टिमलाई बार्साले ४ गोल खुवायो ।

बार्सीलोना बिरुद्ध फितलो रुपमा प्रस्तुत सिटि पहिलो हाफमा केही राम्रो लयमा देखिएपनि त्यो लय धेरै समय टिक्न सकेन ।

मेस्सीले खेलको १७ औं मिनेटमा टिमको लागि गोल गर्दै खाता खोलेका थिए । गोलकिपर ब्राभोले नै रातो कार्ड पाएपछि धर्मराएको सिटिले त्यसपछि लगातार गोल खान पुग्यो ।

डि बक्स बाहिर हातले बल समाएकोमा उनले मैदान छोड्नु पर्यो । खेलको ५३ औं मिनेटमा १० खेलाडीमा सिमिति सिटीले ९ मिनेटपछि दोस्रो गोल खायो । ६९ औं मिनेटमा मेस्सीले अर्को गोल गर्दै हृयाट्रिक पुरा गरे ।

७३ औं मिनेटमा म्याथु दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि घरेलु टोली बार्सिलोना पनि १० खेलाडीमा सिमित भयो । तर तीन गोलले अगाडी रहेको टिमको लागि नेयमारको पेनाल्टी रोकिएपनि उनले केही मिनेटपछि नै व्यक्तिगत गोलको खाता खोल्दै टिमको जितलाई थप बलियो बनाए ।

च्याम्पियन्स लिगमा सिटीले चार गोल खाएको यो पहिलो पटक हो । यो जितसँगै बार्सिलोनाले भने आफ्नो विजयी यात्रा कायम राख्दै उपाधि सुनिश्चित गर्ने क्रममा सिटीसँग ५ अंकको दुरी बनाएको छ ।

मनाङ बिकास रनिङ शिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण नकआउट फुटबलको क्वाटरफाईनल प्रवेश

३ कार्तिक, चितवन ।
मनाङ मर्स्याङदी क्लव चितवनमा जारी टुबोर्ग विकास रनिङ शिल्ड अन्तर्रा्ष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेको छ ।

बुधबार भएको खेलमा युनाइटेड क्लव सिवान भारतलाई ४–१ को गोल अन्तरले हराउँदै मनाङले अन्तिम आठको यात्रा तय गरेको हो ।

मनाङका बिदेशी स्ट्राइकर ओलावालेले २ गोल गरे भने  बिमल बस्नेत र साजन महर्जनले  एक एक गोल गरे ।

सिवानका लागि रञ्जित आलेले एक गोल फर्काएका थिए । ७९औं मिनेटमा सिवानका कप्तान रातो कार्ड खाँदै मैदान बाहिरिएपछि टोली १० खेलाडीमा समेटिएको थियो ।

खेलको म्यान अफ द म्याच ओलावालेले १० हजार पुरस्कार पाए । क्वाटरफाइनलमा मनाङ र चितवन ११ बीच प्रतिस्पर्धा हुने हाम्रा संवादाता सरिता पौडेलले जनाएकी छन् ।

एशिया कप क्रिकेटमा छनौट नेपाली महिला क्रिकेटरलाई जनही २५ हजार नगद

३ कार्तिक, काठमाडौं ।
सरकारले एशिया कपका लागि छनौट भएको नेपाली महिला क्रिकेट टोलीका सदस्यहरुलाई जनही २५ हजार रुपैयाँ दिने भएको छ ।

हङकङमा भएको महिला विश्वकप एशियाली छनौटमा नेपाल उपविजेता भएको थियो ।

युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले बुधबार उपविजेता टोलीलाई मन्त्रालयमा स्वागत गर्दै टोलीका प्रत्येक सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गर्नु भयो ।

धितोपत्रमा एनआरएनले लगानी गर्न पाउने बनाउ समिति गठन

३ कार्तिक, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डले धितोपत्रको दोस्रो वजारमा गैरआवासीय नेपाली संघ एनआरएनलाई सहभागी गराउने सम्बन्धमा अध्ययन गरी कार्यविधिको मस्यौदा तयार गर्न बोर्डका कार्यकारी निर्देशकको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

धितोपत्रको दोस्रो वजारमा एनआरएन ले सहज प्रवेशका लागि पटक पटक माग गर्दै आएको र विगतको वजेटमा पनि धितोपत्र वजारमा एनआरएन को लगानी आकर्षित गराउने नीति लिइएको सन्दर्भमा बोर्डले समिति गठन गरेको हो ।

चालकले मोबाइल चलाउँदा दुर्घटना, १७ जना घाइते

३ कार्तिक, दार्चुला ।
दार्चुलाको गोकुलेश्वरबाट कञ्चनपुरको भीमदत्तनगर आउँदै गरेको बस आज बिहान मोहना नदी छेउमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायब निरीक्षक भरतसिंह धामीले चालक सुरेन्द्र कुँवर एक हातमा मोबाइलमा कुरा गर्दै अर्को हातले अडियो प्लेयर चलाउँदै र कुहिनाले बस हाँक्दै गर्दा दुर्घटना भएको जानकारी दिनुभयो ।

चालकको लापरबाहीका कारण बस दुर्घटना भएको बताउँदै उहाँले चालक कुँवरको खोजी भइरहेको जानकारी दिनुभयो ।

लोकमानकै कारण बन्यो महाभियोग समिति गठन

३ कार्तिक, काठमाडौं ।
व्यवस्थापिका–संसद् मातहत महाअभियोग सिफारिस समिति गठन गरिएको छ ।

व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग सिफारिस समिति गठनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नु भएकोमा बैठकले सर्वसम्मतले स्वीकृत भएको थियो ।

नेपालको संविधानको धारा १०१ को उपधारा ३ र ४ एवम संसद् नियमावली २०७३ को नियम १६९ बमोजिम समिति गठन गरिएको हो । संविधानअनुसार उक्त समिति ११ सदस्य हुनेछ ।

उक्त समितिमा नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, फर्मुल्ला मन्सुर, दीपकप्रसाद कुइँकेल, कुमारी लक्ष्मी राई, नेकपा 'एमाले'का केशव बडाल, रेवतीरमण भण्डारी, पार्वत गुरुङ, सुशीला नेपाल, नेकपा 'माओवादी केन्द्र' का रामनारायण बिडारी, अमनलाल मोदी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका दिलनाथ गिरी रहनुभएको छ ।

आज संसदमा जे बोले प्रधानमन्त्रीले

३ कार्तिक, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान कार्यान्वयनका लागि एकताबद्ध भएर लाग्न सवैलाई आग्रह गर्नु भएको छ ।

व्यवस्थापिका संसदको वैठकलाई आज सम्बोधन गर्नुहुदै प्रधानमन्त्री दाहालले तोकिएकै समयमा निर्वाचन गर्न नसकिए देश ठूलो दुर्घटनातर्फ जाने भएकाले पक्ष÷प्रतिपक्ष नभनी संविधान कार्यान्वयनका लागि एकताबद्ध हुनु पर्ने बताउनुभयो ।

प्रधानमन्त्री दाहालले तराई, मधेशी, थारु, आदीवासी जनजाती लगायतका माग सम्बोधन लागि संविधान संशोधनको ड्राफ्ट अन्तिम चरणमा पुगेको र आन्दोलनरत दलहरुका जायज मागहरु सम्बोधन गरिने प्रतिवद्धता गर्नुभयो ।

प्रधानमन्त्री दाहालले तिहार र छठसम्ममा सतपक्ष, प्रतीपक्ष र आन्दोलनरत पक्षबीचमा समझदारीको वातावरण बनाएर संविधान संशोधन गर्ने र निर्वाचन तर्फ देशलाई लैजाने विषय सरकारले उच्चप्राथमिकता राखेको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विगतका वार्ताहरुले बढी वादविवाद र समस्या समाधानमा भन्दा जटीलता पैदा गर्ने गरेकाले अहिले सरकारले समस्या समाधानका लागि गृहकार्यमा जोड दिएकोे बताउनु भयो ।

प्रधानमन्त्री दाहालले सरकारले स्थानीय तह पुनरसंरचनाको कामका आयोगसँग सहजीकरण गर्दै अघि बढिरहेको पनि बताउनु भयो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवका आयोजनाहरु मेलम्ची खानेपानी आयोजना, सडक निर्माण र अस्पतालहरुको अनुगमन र निरिक्षण गरेर समयमानै काम सम्पन्न गर्न र सुधार गर्न निर्देसित गरिएको जानकारी सदनलाई गराउनु भयो ।

उहाँले भुकम्प पीडितको आवास अनुदान वितरणको कार्यलाई तिव्र गरिएको र चार लाख २० हजार भन्दा बढीले पहिलो किस्ता अनुदान लिइसकेको जानकारी पनि दिनुभयो ।

प्रधानमन्त्री दाहालले ब्रिक्स–विमेष्टेक आउटरिच सम्मेलनका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपती सि जिङ पिङसँग संयुक्त रुपमा अनौपचारिक कुराकानी गर्ने अवसर जुटेको र त्यसमा त्रिदेशीय साझेदारी र नेपालले लिन सक्ने लाभका विषयमा छलफल गर्ने अवसर सुखद संयोग भएको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले आफ्नो भारतको औपचारीक भ्रमणका क्रममा नेपाल भारतबीचको विश्वास सुदृढ गर्ने र नेपालको हित हुने गरी यस अघि सहमति भएका परियोजनाहरुको प्रभावकारी र शिघ्र कार्यान्वयनमा जोड दिईएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफ्नो भारतको औपचारिक भ्रमण र ब्रिक्स–विमेष्टेक आउटरिच सम्मेलनले छिमेकी मुलुकहरुकाबीच थप सम्बन्ध सुदृढ बनाउन सफल भएको पनि बताउनु भयो ।

लोकमान बिरुद्ध एमाले माओवादी सांसदले महाअभियोग प्रस्ताव दर्ता गरे, काँग्रेस मौन

३ कार्तिक, काठमाडौं ।
लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउन नेपाली काँग्रेसले खुट्टा कमाएपनि नेकपा एमाले र एमाओवादीका सांसदहरुले कार्की बिरुद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

अझ रोचक कुरा त के भने कार्की बिरुद्ध संसदमा छलफल प्रस्ताव दर्ता गरेर लोकप्रिय बन्न खोजेका वर्तमान स्वास्थ्य मन्त्री गगन थापाले समेत कार्की बिरुद्धको महाअभियोग प्रस्तावमा सहयोग गरेका छैनन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त रहेर बिदा भन्दै बिदेशमा बस्दै आएका कार्की बिरुद्ध सत्तारुढ दल नेकपा माओवादी केन्द्र र प्रतिपक्षी दल नेकपा एमालेका १५७ जनाले लिखित हस्ताक्षर सहित बुधबार संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका छन् ।

संविधानको धारा १०१ बमोजिम सभामुख ओनसरी घर्तीमगरले ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको केही समयमै कार्कीविरूद्ध महाअभियोग प्रस्ताव दर्ता भएको हो ।

एमाले प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार एमाले र माओवादीका १५७ सदस्यले महाअभियोग प्रस्ताव लिखित रुपमा संसदका महासचिवलाई बुझाएका छन्।

नियुक्ति अघिदेखिनै चर्को जनबिरोधका बावजुद हालका प्रधानमन्त्री पुष्पकमल दाहालको सिफारिस सहित काँग्रेस एमालेको समर्थनमा कार्कीलाई राष्टपती रामवरण यादवले रातारात नियुक्ती र शपथ खुवाएका थिए ।

भारतीय राष्टपतीले समेत कार्कीलाई नै अख्तियार प्रमुख बनाउन फोन गरेर यादवलाई दवाव दिएको खुलासा भइसकेको छ ।

कार्की बिरुद्ध पद सम्हालेदेखीनै साना भ्रष्टाचारका घटनामा हात हाल्दै ठूला आर्थिक चलखेलमा स्वयं संलग्न रहँदै आएको आरोप खेपेका उनी बिरुद्ध अदालतले कारवाही प्रक्रियाको लागि घरमा सुचना टाँस गरिसकेको छ ।

सविधान र कानुनको उल्लंघन गरेको, कार्यक्षेत्रको अभाव वा खराब आचरण भएको वा इमानदारीपूर्वक आफ्नो पदीय कर्तव्य पालना नगरेको, आचारसंहितको गम्भीर उल्लंघन गरेको कारणले आफ्नो पदीय जिम्मेवारी पूरा गर्न नसकेको आधारमा एक चौथाइ सबै सदस्यको सिफारिस भए महाअभियोग प्रस्ताव दर्ता हुन्छ ।

महाअभियोग प्रस्ताव दर्तापछि सम्बन्धित व्यक्तिलाई निलम्बनमा राखी अनुसन्धान सुरू हुन्छ र दोषी प्रमाणित भए कारबाही प्रक्रिया अगाडि बढ्ने नियम रहेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web