काठमाडौ । नेपाल कम्युनिष्ट पार्टीको स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाउनुभएको छ । लामो समय नेताहरुबीच चलेको रस्साकस्सीपछि अन्ततः पोखरेलले यो विभागको जिम्मेवारी पाउनुभएको हो । नेकपाको शुक्रबार बसेको सचिवालय बैठकले पोखरेललाई स्कुल विभागको नेतृत्व दिने सहमति गर्दै अन्य विभाग तथा केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंगो लगाएको हो ।

स्कुल विभागमा पार्टी प्रवक्तासमेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ प्रकाशको पनि दाबी थियो । दुवै नेताले दाबी नछाड्दा पार्टी एकीकरणको काम लम्बिँदै गएपछि विभागको नेतृत्व टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो ।

शुक्रबार बिहान अध्यक्षद्वयबीच भएको छलफलमा विभागको जिम्मेवारी पोखरेललाई दिने सहमति भएपछि एकताका बाँकी काम अघि बढेको हो । स्कुल विभाग पोखरेल र प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठ प्रकाशलाई दिँदै विवाद मिलाइएको छ ।

यसबाहेक संगठन विभाग प्रमुखमा बामदेव गौतम, नीति तथा प्रतिष्ठान विभाग प्रमुखमा झलनाथ खनाल तथा विदेश विभाग प्रमुखको जिम्मेवारी माधवकुमार नेपालले पाउनुभएको छ ।

चितवन । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणको विषयमा चितवन जिल्ला अदालतमा भएको थुनछेक बहस सकिएको छ ।

पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई चितवन जिल्ला अदालतमा उपस्थित गराएपछि भएको थुनछेक बहसले पाँच दिनको म्याद थपेको छ । लामिछानेलगायतको पक्षबाट वरिष्ठ अधिवक्ता सुनिल पोख्रेलसहित दुई स्थानीय वकिलले बहस गरेका छन् । वादीका तर्फबाट सरकारी वकिलले बहस गरेका थिए । सरकारी वकिलले १० दिनको म्याद थप्न माग गरे पनि अदालतले पाँच दिनको म्याद थपेर अनुसन्धान गर्ने निर्णय गरेको थियो ।

कानुनी प्रावधानअनुसार बढीमा २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सकिन्छ । माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनीको आत्महत्या गर्न दुरुत्साहन गरिएको अभियोगमा प्रहरीले तीन जनालाई काठमाडौँबाट पक्राउ गरी चितवन अदालतमा हाजिर गराएको थियो ।

नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिका वडा नम्बर ३ निवासी पुडासैनीको साउन २० गते राति नारायणगढस्थित पोखरा बसपार्कको होटल कङ्गारूमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो ।

तस्वीर साभार : सौराह अनलाइन ।

विदुर । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामाग्रि बोकेर फ्याक्ने क्रममा करेन्ट लागेर मृत्यु भएका सहचालकको परिवारलाई ९ लाख २५ हजार रुपैयाँ क्षतिपूर्ति र श्रीमतिलाई जागिर लगाइदिने सहमति भएको छ ।

बिहीबार रातीसम्म जिल्ला प्रहरी कार्यालय विदुरमा भएको छलफल पश्चातको तीन पक्षसंग भिन्दा भिन्दै भएको सहमति अनुसार थ्री बी निर्माणको जिम्मेवारी पाएको चिनियाँ कम्पनी स्वीफा आन्हे गु्रप कम्पनी लि.ले अहिले देखि नै थ्री बी जलविद्युत आयोजामा मृतक रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङको श्रीमति लक्ष्मी बानिया (थिङ)लाई रोजगार दिने र उक्त रोजगारीको व्यवस्था थ्री बी आयोजना सञ्चालनमा आए पश्चात समेत निरन्तरता दिने सहमति भएको छ । उक्त सहमतिमा चिनियाँ कम्पनीको तर्फबाट जनसम्पर्क अधिकृत रेसिका थापा र मृतकका बुबा शुकुलाल थिङले हस्ताक्षर गरेका छन् ।

चिनियाँ कम्पनीसंग भएको सहमति अनुसार उक्त कम्पनीमा रोजगार दिने र त्यहाँ रहेका करीब एक सय ५० कर्मचारीबाट संकलन गरेर दुई लाख रुपैयाँ १५ दिनभित्र दिने सहमति मृतकको बुबा शुकुलाल थिङसंग भएको हो ।
यसैगरी, उक्त कम्पनीमा गाडी व्यवस्थापनको जिम्मेवारी लिएका नुवाकोट मनकामनाको भूमिराज तामाङले बिहीबार नै एक लाख रुपैयाँ दिइसकेका छन भने अब एक महिना भित्र ५ लाख २५ हजार रुपैयाँ दिने सहमति भएको छ ।
त्यसैगरी दुर्घटना भएको स्थल हिम्दुङ एण्ड थोकर कन्सट्रक्सनको क्रसरले रु एक लाख सोमबारभित्र दिने सहमति भएको छ । क्रसरको तर्फबाट प्रतिनिधि हेमेन्द्र लामाले हस्ताक्षर गरेका छन् ।

पीडित पक्ष र घटनामा जोडिएका सरोकार राख्ने पक्षबीच भएको एकीकृत सहमति अनुसार तीन पक्षबाट मृतक विक्रमको नौ महिनाको छोराको लागी शिक्षा तथा लालनपालनमा सहयोग पु-याउन नौ लाख २५ हजार रुपैयाँ सहयोग एंव क्षतिपूर्ति उपलब्ध गराउने सहमति पश्चात पीडितले शव बुझेका छन् । बालकको भविष्यको लागी उक्त रकम र घरमा कमाउने मूली व्यक्तिको निधनको कारण मृतकको श्रीमतिलाई उनको क्षमता र योग्यता अनुसार थ्री बि निर्माण गर्ने कम्पनी र पछि उक्त आयोजना चलेपछि पनि निरन्तरता पानउने गरेर रोगगारीको सुनिश्चितता सहितको सहमति भएको हो ।

बिहीबार बिहान थ्री बीको टनेल खनेपछि उत्पन्न ढुङ्गा लगायतकाा विकारलाई बिसर्जन गर्ने क्रममा १९ वर्षका विक्रम थिङ गम्भीर घाइते भएका थिए । उनको उपचारको लागी जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।

बा.४ ख ८७१८ नं. को ट्रिपरका सहचालक रहेका उनको मृत्यु भएपछि उक्त गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका विष्णुबहादुर सहचालकको काका रहेकाले उनलाई पनि छाड्नेको लागी पीडित परिवारले माग गरेका छन् । प्रहरीले कानूनी प्रक्रिया पूरा गरेर मात्र छाड्ने जनाएको छ ।

चितवन । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा बिहीबार बेलुका पक्राउ परेका पत्रकार रवि लामिछानेसहित तीन जनालाई आज जिल्ला अदालत चितवनमा पेस गरिने भएको छ । म्याद थप गरेर अनुसन्धान थालिने चितवन प्रहरीले जनाएको छ । चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका अनुसार लामिछानेसहित पक्राउ परेका युवराज कँडेललाई राति चितवन पुर्याइएको थियो ।

नुवाकोटका पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गर्नुअघि रवि लामिछानेसहितका तीनजनाको नाम उल्लेख गर्दै मर्न बाध्य बनाएको भिडियो सार्वजनिक भएपछि सोधपुछका लागि भन्दै लामिछानेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पुडासैनीले साउन २० गते चितवनको कंगारु होटलको कोठा नम्बर २०२ मा आत्महत्या गरेका थिए ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीका अनुसार लामिछानेलाई पानीपोखरीमा रहेको टेलिभिजन कार्यालयबाटै पक्राउ गरिएको हो । न्युज २४ टेलिभिजनले पनि बिहीबार नै उनी पक्राउ परेको जनाउँदै उनले सञ्चालन गर्दै आएको कार्यक्रम स्थगित भएको समाचार अनलाइनमा प्रकाशित गरेको थियो ।
प्रहरी स्रोतका अनुसार लामिछानेले सञ्चालन गर्ने कार्यक्रम ‘सीधा कुरा जनतासँग’ मा अनुसन्धान प्रभावित हुने गरी विषयवस्तु तयार भएको सूचना पाएपछि पक्राउ गरिएको थियो ।

लामिछानेलाई उक्त कार्यक्रम प्रसारण नगर्न प्रहरीले अनुरोध गरेको स्रोतले जनायो । तर लामिछानेले आफू अनुसन्धानका लागि सहयोग गर्न तयार रहेको जनाएपछि बेलुका कार्यक्रम सञ्चालन हुनुभन्दा अघि नै नियन्त्रणमा लिइएको थियो । आत्महत्या गर्नुअघि पुडासैनीले तयार पारेको भिडियोमा लामिछानेले आफूलाई फसाउन अस्मिता कार्कीलाई हतियारका रुपमा प्रयोग गरेको आरोप लगाउँदै कार्कीसँगै अष्ट्रेलिया पठाइदिने आश्वासन दिएको बताएका छन् ।

तर त्यसैलाई आधार बनाएर ‘बलात्कार अभियोग’मा फसाइदिने भन्दै लामिछानेसहितका तीनजनाले धम्की दिएको पुडासैनीले बताएका थिए । रविसँगै युवराज कँडेल पनि पक्राउ परेको प्रहरीले जनाएको छ । पुडासैनीले कँडेलको पनि नाम उल्लेख गरेका थिए । चितवन प्रहरीले काठमाडौं प्रहरीसँग समन्वय गरी पक्राउ गरेको जनाएको छ ।

यसअघि उक्त भिडियोमा नाम जोडिएपछि अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो । कार्कीलाई यसअघि बिहीबार दिउँसो त्रिवि शिक्षण अस्पतालबाट पक्राउ गरिएको थियो ।

काठमाडौ । कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री खड्कबहादुर खत्री पदमुक्त भएका छन् । कर्णाली प्रदेशको मुख्यमन्त्रीको फेसबुक पेजमार्फत मन्त्री खत्रीलाई पदमुक्त गरिएको जानकारी दिइएको हो । फेसबुक पेजमा लेखिएको छ, "माननीय मुख्यमन्त्रीज्यूले भौतिक पूर्वाधार विकास मन्त्री खडकबहादुर खत्रीलाई नेपालको संविधानको धारा १६९ को उपधारा (२) को खण्ड (ख) बमोजिम पदमुक्त गरी उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने निर्णय गर्नु भएको छ । उक्त निर्णय आजै प्रदेश प्रमुख दुर्गाकेशर खनाललाई जानकारी दिनुभएको छ ।"

यसअघि उच्च अदालत पाटनले कर्णाली प्रदेशका भौतिक पूर्वाधारमन्त्री खत्रीलाई पक्राउ गर्न आदेश दिएको थियो । मन्त्री खत्रीसहित पाँचजनाले एक करोड १० लाख ८० हजार रकमको फर्जी बैंक ग्यारेन्टी गरेको भन्दै दायर भएको रिटमा न्यायाधीश श्रीकान्त पौडेल र टेकप्रसाद ढुंगाना सम्मिलित उच्च अदालत पाटनको वाणिज्य इजलासले तीन दिनभित्र पक्राउ गरी उपस्थित गराउन आदेश दिएका थिए ।

कृषि विकास बैंक भोजपुरबाट जारी गरेको फर्जी बैंक ग्यारेन्टी बनाएर उनीहरूले जिल्ला प्राविधिक कार्यालय भोजपुरमा पेस गरेको अदालतले ठहर गरेको थियो । ठेकेदार समेत रहेका मन्त्री खत्रीको आफ्नै निर्माण कम्पनी छ । उनी ५५-५५ लाख रुपैयाँका दुई वटा ठेक्काको बैंक ग्यारेन्टी किर्ते बनाउँदा उनी साक्षी बसेका थिए ।

पूर्व एमालेका खत्री सु्र्खेत १ (ख) बाट निर्वाचित भएका थिए ।

प्रहरीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेको छ । चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार साँझ पक्राउ गरेको हो ।
लामिछाने र कँडेललाई अर्का पत्रकार शालिकराम पुडासैनीको आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ‘अनुसन्धानका लागि दुवै जनालाई पक्राउ गरेका हौं’ ती उच्च अधिकारीले भने, ‘ अनुसन्धानपछि मात्र सबै कुरा बाहिर आउँछ ।’ यही साउन २० पत्रकार पुडानसैनी आत्महत्या गरेको अवस्थामा चितवनको एक होटलमा फेला परेका थिए ।

पत्रकार पुडासैनीले लामिछाने र कँडेलको मानसिक यातनाले गर्दा आफूले आत्महत्या गरेको मर्नअघि रेकर्ड गरेको भिडियोमा छ । प्रहरीले लामिछाने, कँडेल र अर्की युवती अस्मिता कार्की अनुसन्धान घेरामा राखेका थिए । कार्कीलाई बिहीबार दिउँसै प्रहरीले नियन्त्रणमा लिएको थियो ।

पत्रकार पुडासैनीले रेकर्ड गरेको भिडियोमा ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका लामिछाने, कँडेल र कार्कीले आफूलाई आत्महत्याका लागि विवश बनाएको उल्लेख छ । यसरी भिडियो सामाजिक सञ्जालमा सनीसनीपूर्णरुपमा छाएपछि प्रहरी तीनै जना पक्राउ गर्न बाध्य भएको हो । पुडासैनीले साउन २० मा चितवनस्थित कंगारू होटलमा आत्महत्या गरेका थिए । त्यसपछि चितवन प्रहरी हत्याको अनुसन्धान अघि बढाएको थियो । पुडासैनी कोठा नम्बर २०२ मा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।

आत्महत्या गर्नुअघि रुँदै आफैंले मोबाइलमा दुई वटा भिडियो बनाएको देखिन्छ । करिब १० मिनेटभन्दा बढी भिडियोमा मर्नु पर्नाको कारण उनले स्पष्ट पारेका छन् । उनले भिडियोमा श्रीमती सम्झना र आमाबुवासँग माफी मागेको देखिन्छ । उक्त भिडियो प्रहरीले बरामद गरेर परीक्षणका लागि फरेन्सिक ल्यावमा पठाएको थियो । मोवाइल र भिडियो प्रमाणित भएपछि प्रहरीले पक्राउ गरेको प्रहरीको दाबी छ ।

लामिछानेद्वारा सञ्चालित कार्यक्रममा केही महिनाअघि आबद्ध मृतक पुडासैनीलाई डिपेन्डेन्टमा अस्ट्रेलिया पठाइदिन ती युवतीसँग सञ्चारकर्मी कँडेलले भेट गराएको भिडियोमा छ । लामिछाने, कँडेल र पुडासैनीबीच खटपट सुरु भएपछि पत्रकार पुडानसैनीले काम छाडेको उल्लेख छ । त्यसपछि पुडासैनीविरुद्ध युवती कार्की रविको कार्यक्रममा पुगेको, लामिछाने र कँडेल आफूविरुद्ध कार्यक्रमको तयारी गरेसँगै आत्महत्या गर्न विवश भएको पुडासैनीको भिडियोमा छ ।

0 नारायण नेपाल,
गाउँ पहाडमा देशभर छ थुम्को र, त्यही थुम्कोलाई भनिन्छ देउराली । मेरो गाउँँको एक थुम्कोको नाउँ थियो देउराली । उहिले उहिले बाजेका पालामा उकाली ओराली गर्दा फुलपाती ढुंगा चढाउने हलो गाड्ने स्थान थियो रे हाम्रो गाउँँको देउराली ! त्यही थियो गन्धर्व गीतको झल्को :
बल्छी र जाल खेलिन्थ्यो
मिसिन्थ्यो जहाँ, दुई खोली
फूल र पाती चढाउने
देउराली ढुंगो त्यही होला ?

त्यही थुम्को पनि बेकामे भनेर अलि उपेक्षित नै थियो गाउँमा । हामी केटाकेटीहरूलाई भने ठुला बडा र झाँक्रीहरूले हालेको भूतकै त्रास मनमा खेलिरहेको थियो देउरालीको । कहिलेकाहीँ टाउको दुःखे, पेट दुःखे पनि हेर्ने झाँक्री जान्नेहरूले देउरालीतिर गएछ क्यारे खेल्न ! भूत लागेछ भनेपछि त त्यो डर कहिले भाग्नु र मनबाट ! हाम्रा जिजुबाजेहरू निःसन्तान भएपछि भाइ भतिजाको छोराले खालान् सम्पत्ति भनेर हलो गाडेर नुन छरेर छाडेका थिए रे ! उहिले उहिले त गाउँँमा खेताला जम्मा गरी ढिकीमा कुटेर भारी हालेर चामल बेच्ने र नुनतेल किन्न भीमढुंगा देउरालीको बाटो काठमाण्डौ जाने चलन थियो पैदल यात्रामा यही देउरालीको बाटो हुँदै । उबेला यही देउरालीको बाटो थियो बाटो बाटोको बिसौनीको थुम्को थियो देउराली । जब सडकको विकास जिल्लातिर जान थाल्यो, त्योसँगै काठमाण्डौ किनमेल गर्न बजार नौबिसे, गल्छी, बटार र त्रिशुलीतिर सरेको थियो ।

चुरोटे र बानियाँहरू भरिया लाएर गाउँतिर नै आउँथे । देशमा बहुदलसँगै गाउँँमा आएको सडकले नयाँबजारको रूपमा विकास गर्ने प्रयत्न गर्दै थियो यो देउराली डाँडामा । योभन्दा पहिले झिल्टुङको डबली थियो सानो बजार यो गाउँको । कामरु मन्दिर कोटघर केही छाप्रोहरू केही नेवारको पसलले धान्न थालेको थियो यो गाउँको बजार । उहिले मल्ल राजाको पालामा के थियो डबली कसैलाई थाहा छैन तर पञ्चायतको बेला गाउँँ पञ्चायत भवन थियो यही डबलीमा । आज त गाउँ–गाउँमा मकै कोदो फल्ने बारी मासेर सडक र घरघडेरी बनेको थियो घर घरमा खुलेका पसलहरूले गाउँमा बजारको प्रतिनिधित्व गरेको छ । गाउँमा हुर्केको मदिरा संस्कृतिको एक नयाँ थलो बनेको छ देउराली र देउरालीको भट्टी पसल रक्सी भटी र देश उस्तै थियो पर्यायवाची चित्र थियो गीतमा झैँ :
देउरालीको भट्टी पसल
रक्सी भट्टी यस्तै हो
साहुनीको बोली असल ।

गीत त मिठो थियो तर आज गाउँँको मकै भटमास, कोदो, लोकल, कुखुरा, कोदोको रक्सी होइन, मना र चिनी हालेको रक्सीले धानेको थियो गाउँको बजारको खपत त्यो पनि पानि मिसाएर । केही दशक पहिला मान्छे लरबराएर लिडेको देख्दा भन्थे, यो गाउँतिर जाँड खाएको अर्चलेका भोटेजस्तो अहिले भन्छन् देउरालीका जड्याहाँ बाहुनजस्तो । सहिद कृष्ण सेनको ‘कान्छी भट्टी र देश’ कवितामा जस्तो समाजको प्रतिबिम्ब छ आज गाउँ सहरको भट्टीहरूमा :
भट्टीमा भात पाकिरहेछ
भातसँगै कान्छीको लाज पाकिरहेछ
भट्टीमा मासु पाकिरहेछ
मासुसँगै कान्छीको आँसु पाकिरहेछ
भट्टीमा रक्सी बिकिरहेछ
रक्सीसँगै कान्छीको श्री बिकिरहेछ
नेपालकि छोरी ऊ
हिमालकि गोरी ऊ
विदेशका कोठीमा बेचिएका अबोध चेलीझैँ
गहबाट वहका नदीहरू झरिरहेछन्
कान्छी भट्टी थापिरहिछ ।

अनेक दुःखका बिच गाउँ–गाउँमा भट्टीहरू चलिरहेछ । आज बोइलर कुखुरा, चाउचाउ, बियर, रुस्लान भोड्का बजार छाएको छ । आज दाउरा होइन, ग्याँस सिलिन्डर छाएको छ गाउँमा । यो देउरालीमा बिहानपख चिया व्यापार त उल्कै छ । रु. २ बाट रु. १० पुगेको छ । दैनिक १५ लिटर दूधमा पानी हालेर चिया बेचिन्छ । यो व्यापारको इतिहास जम्मा दश वर्षको मात्र हो । यही चियाको गिलासबाट सुरु हुने देशको राजनीतिक बहस सुन्दा लाग्छ, यी मनुवा सिंहदरबार छिर्ने अवसर नपाएर यता बर्बराउँदैछन् । सिंहदरबार छिर्नेहरूभन्दा कम छैन यिनका चेतनाहरू !

हिजो गाउँ समाजको बिचमा हुर्केको थियो । आजको गाउँ बजारको बिच हुर्कंदै आएको छ । गणतन्त्रपछि त संस्कारमा समेत बजारले प्रभाव विस्तार गरेको छ । ल्होसार, गुन्यु चोली, विवाह व्रतवन्ध खर्चिलो व्यापार बन्यो । जन्म दिनको उत्सव मनाउने संस्कृति, भोजभतेर चल्न थालेको छ गाउँघरमा । अहिले देउराली आसपासका गाउँँमा वैदेशिक रोजगारीमा जानेहरूको नयाँ लहर आएको छ । पसिना बेच्न अरब, दुबई र खाडीमा जाने लहर ठुलै छ । अरबको खाडीमा पसिना बेचेर आएका लाहुरेहरूको गज्जबको सपना हुने गरेको छ यो गाउँँमा । हाम्रा गाउँँका लाहुरेहरूको ठुलो सपना देउरालीमा घडेरी किन्ने र घर बनाउने छ । कतिपयचाहिँ छ महिनाजति २२० सीसीको पल्सर कुदाउने र बेखर्ची भएपछि विदेश जाने लहर । तिनको कथा न सिंहदरबार देख्छ, न कुनै पत्रकारले लेख्छ । यहाँ अब रैथानेहरू दुईचार आना जमिन बेचेर खाने भएका छन् ।

४० को दशकमा यो गाउँमा हलोकाण्ड चलेको थियो । त्यो कथा सम्झेर देउराली आज दंगदास बनेको छ होला । कथा के थियो भने बाहुनले हलो जोतेका कारण बाहुनहरूको जात गएको थियो । यो गाउँको हलोकाण्डले जात गएको बाहुनहरूको अहिले लोकतन्त्रको हलोमा आफैँ जोतिएर बाँच्नुपरेको कथा दुनियाँलाई के थाहा ! बाहुनले हलो जोत्दा जात गएको हो पछि । हलो जोतेको घटनाले निकै उग्ररूप लियो । त्यो साम्य पार्ने उपाय र सामाजिक सद्भावना कायम गर्ने काम थियो पुरेतको । हलो जोतेर जात जाने बाहुनको भात पानी चलाउने, जात फर्काउने कम्युनिस्टका पुरेत थिए दाहालबा उर्फ योगराज दाहाल ।

देउरालीमा अर्को कथा छ, देउरालीको स्कुलको । यहाँ स्कुल खोले हली पाइन्न भन्दै स्कुलविरोधी थिए त्यो बेला । तर, अहिले स्कुल छ तर गाउँमा हलीचाहिँ छैन, खेतबारी सबै बाँझो नै छ । सबै युवाहरू विदेशतिर वा सहरतिर छन् । गोरो छाला भएको खैरेलाई तामझामसहित गाउँँ–गाउँँमा डुलाइन्छ तर हिजो काठ र स्याउला बोकेर कोदो पाथी उठाएर स्कुल चलाउनेहरूलाई उपेक्षा र खिसिट्युउरी गर्नेहरू गैर–सरकारी संस्थाको लागि बाजागाजासहित तामझाम गरेर उत्सव गर्दै चाकडी गर्दै थिए गाउँतिर ।

हिजो अशिक्षित भए पनि सामाजिक अगुवाहरूले शिक्षाको विकास गर्ने सपना देखे, पढेलेखेका सन्ततिको भविष्य उज्ज्वल बनाउने सोचे तर हिजो पढ्न पाएन्न र काम थिएन, आज पढेका छन् तर पनि काम लागेको छैन । पढेलेखेका युवाहरू पसिना बेच्न अरबको खाडी जाने र तिनलाई क ख चिनाउने विद्यालयका प्रध्यानाध्यापकहरू राजधानीमा घरघरेडी कसरी जोड्न सफल हुन्छन् होला ? आजको गाउँँ–गाउँँका प्रअहरूको अर्थशास्त्र र विद्यालय शिक्षा विकासको समाजशास्त्रसँग दुनियाँले कति साक्षात्कार गरेको होला ? कथा उस्तै छ गाउँहरूको । हरेकको सपना एउटा छ पैसा कमाउने । बजार, सहर, सदरमुकाम, राजधानी जाने । घरघडेरी जोड्ने त्यसपछि विदेशको सपना देख्दै गाउँ छाड्नेहरूको लामो लर्को लागेको छ । आज केही मेरो छोराछोरी देउराली स्कुलमा पढाउँछु भनेर गाउँ ल्याउँदैन । सबै सहरतिर लाने सोचमा हुन्छन् । लाग्छ, आज जसरी गाउँ वृद्धालय जसरी बन्यो, यही गतिमा सपनाको निर्यात गर्दै सहरको व्यापार गर्ने हो भने त अबको १५÷२० वर्षमा यो गाउँलेको खेतबारी मासेर खनेको सडकमा कसले गुडाऊला गाडी ? देउराली बजार बनेपछि गाउँ छोडेर देउरालीको बजारमा बसाइ सरेका लेकिन बास्कोटाको तर्क मुनासिव थियो । हामी जस्तो मान्छे बस्ने ठाउँ होइन, उनी यसो भन्दै बजार छाडेर गाउँ फर्कने तयारीमा थिए ।

केही व्यापारीहरूको एकाधिकारको बजार हो देउराली । यहाँको व्यापारीको काम किसान लुट्ने, ठग्ने कार्य मात्र देखिन्थ्यो, किनभने बजारियाको मुखमा भाउ छ र हातमा बजार तर किसानको साथमा उत्पादन तर हातमा कोदालो र नाम्लो मात्र । त्यही भएर होला रूपचन्द्र बिष्टले भनेका थिए– आर्जन गर्ने किसान, मजदुर; ठगी खाने सामन्तहरू ! त्यस्तै सामन्तहरूको बोलवाला चलेको थियो यो बजारमा पनि अन्यत्रजस्तै । मेरी हजुर आमालाई गाउँँलेहरूले पिपलबोटे माइली आमाको उपनामले चिन्थे ।

गाउँघरको सामाजिक कामदेखि न्याय निसाफ हुँदै औषधी उपचारसम्मको हर्ताकर्ता थिए हजुरआमा । घरकरेसाको काँल्लोदेखि जंगलसम्मका के के जडीबुटी खुवाउँथिन् र औषधीमूलो गर्दै हुर्काएकी थिइन् हामीलाई तर आज मैले पढेको शिक्षाले न त्यो हजुरआमाको ज्ञान न दिन्छ, न कुनै जडीबुटी चिन्छ । त्यही घर पछाडिको काँल्लोमा, अहिले त म भने झारपातबाहेक केही देख्दिनँ ।

आज गाउँँमा स्वास्थ्यचौकी छ, सरकार निःशुल्क औषधीको नारा अलाप्न छोड्दैन । त्यही स्वास्थ्यचौकी बारीको मेला सुरु हुँदा खुल्छ र मेला नछोड्दै बन्द हुन्छ । त्यो बेलाबाहेक खुल्दैन औषधालय । के हामी बिमारी हुन पाइन्न । गाउँको ज्ञान चेतना धामी झाँक्री भरोसा ।

हजुरआमा दुई मुरी कोदोमा मैले बनाएको हो यो घर भन्दै बाँचुञ्जेल धाक लगाउँथिइन् । उतिबेलाको डकर्मी थपिन्थुंके हजुरबा अझै जिउँदो साक्षी छन् तर म आज लाखौँ खर्चेर पनि त्यो वास्तुकला बँचाउन सक्दिनँ । यो गाउँमा फैलिएको सिमेन्ट सभ्यताले कसरी हेर्दाहेर्दै हरायो हाम्रो वास्तुकला । यो गाउँँको पञ्चायती शासन थामेका एक प्रधान थिए छबिलाल श्रेष्ठ । एक दिन तिनै बाले एक सरकारी कमरेडसँग साउती मारे । सवाल रै’छ औषधी उपचारको । म मनमनै गम खाएँ । १६ वर्ष प्रधानपञ्च भएको छबिलालबा आज औषधीको लागि मेयरसँग याचना गर्दै । हिजोका पञ्चायतका खम्बा राजनीतिमा लागेर आज सडकछाप तर सरकारी कमरेडहरू एक वडा अध्यक्ष सदस्य हुन पाएको छैन, करोडौँको मालिक ! करोडपति कमरेडहरू लोकतन्त्रको उपहार । यस्तै छ, नयाँ कथा गाउँ–गाउँको देशको चित्र नियालेर हेरौँ त !

नवलपरासी । पशुचौपाया गोठमा कराइरहेका छन् । घाँसपराल हाल्ने कोही छैन । बस्तीका ३४ घरमध्ये सबैजसोको ढोकामा ताला लागेको छ । यस्तो दृश्य पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ खकरा गाउँको हो ।

कर्मचारी र सामुदायिक वन समितिका पदाधिकारीको मिलेमतोमा स्थानीय तालदेवी सामुदायिक वनको एक सयवटाभन्दा बढी हरिया रूख फँडानी भएपछि कारबाहीमा परिने डरले खकराका गाउँले घर छाडेर भागेका छन् । हरिया रूख काटिएको ३६ दिनपछि डिभिजन वन कार्यालयका प्रमुखसहितको टोली निरीक्षणमा पुगेपछि स्थानीय घर छाडेर लुकेका हुन् ।

खकरा गाउँ नजिकको जंगलमा वन कर्मचारी र वन समितिका स्थानीय पदाधिकारीको मिलेमतोमा हरिया रूख फँडानी भएको हो । त्यहाँ करिब ४ हजार क्युफिट काठ अवैध कटान गरिएको प्रारम्भिक अनुमान छ । त्यसको प्रचलित बजार मूल्य ४० लाख पर्छ ।

रूख कटानमा संलग्नले जनही ४० लाख बिगो र त्यसको दुई गुणा बढी जरिवाना तिर्नुपर्ने हल्ला भएपछि सोझा गाउँलेको भागाभाग भएको हो । रूख कटानमा संलग्न रहेको आरोप लागेका वडाध्यक्ष रनबहादुर झेडीमगर, वन समूहका अध्यक्ष दीपक जीसी र सचिव जयबहादुर बाह्रघरे भने गाउँमै छन् । वर्षायाममा विद्यालय बन्द भएको मौकामा रूख काटिएको थियो ।

डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीसहितको टोली निरीक्षणमा गएपछि कारबाहीमा परिने र जेल बस्नुपर्छ भन्ने त्रासले गाउँले घर छाडेर हिँडेका हुन् । ‘वन कर्मचारीकै मिलेमतोमा टाठाबाठाले रूख काटे तर गाउँले कारबाहीमा परिने त्रासले गाउँ छाडेर हिँडे,’ तालदेवी सामुदायिक वनका पूर्वअध्यक्ष चक्रपाणि तिमिल्सिनाले भने, ‘बाठा जोगिन्छन् । सोझा गाउँले फस्न सक्ने अवस्था रह्यो ।’ यो खबर आजको कान्तिपुर दैनिकबाट लिइएको हो।

काठमाडौ । उच्च अदालत पाटनबाट सोमबार तीन दिनभित्र अदालत उपस्थित हुन आदेश जारी भएका कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खडगबहादुर खत्री फरार छन्। प्रहरी कार्यालयमा कागज गर्न उपस्थित भएका उनी मिलेमतोमा उम्कन सफल भएपछि फरार भएका हुन्। उच्च अदालतको वाणिज्य इजलासले मन्त्री खत्रीलाई पक्राउ गर्न प्रहरी महानिरीक्षकलाई समेत आदेशको जानकारी पठाएको समाचार नेपाल लाइभमा पत्रकार दुर्गा दुलालले लेख्नुभएको छ । उहाँले नेपाल लाइभमा लेख्नु भएअनुसार न्त्री खत्रीले मन्त्री पदको आडमा उक्त क्षेत्रका ११ योजनाको ठेक्का आफूले मात्र लिएको पाइएको छ। आफ्नै निर्माण कम्पनी समेत भएका मन्त्री खत्रीले करिब ९१ अर्ब रुपैयाँका सडक र सिँचाई योजनाका ठेक्का लिएका छन्। खत्रीले ठेक्का यी सबै आयोजना उनकै मन्त्रालय अन्तर्गत पर्ने सडक डिभिजन कार्यालय र जल उत्पन तथा सिंचाईका कार्यालयका हुन्। मन्त्रीले आफ्नो शेयर हिस्सा रहेको निर्माण कम्पनी केएसके कन्ट्रक्सनलाई दिलाएर अनियमितता गरेका छन्। उनले पाएका अधिकांश ठेक्काको प्रगति भने निराशाजनक छ।

काठमाडौं फरार मन्त्री खत्री
सोमबार उच्च अदालतको बैकिङ कसुरमा संलग्न भएको आरोपमा भौतिक पूर्वाधार तथा विकासमन्त्री खत्रीलाई पक्राउ गर्न आदेश गर्दा उनी काठमाडौंमा रहेको पाइएको छ। उच्च अदालतको पेसी चढेका दिन उनी सुर्खेतबाट काठमाडौं आएका थिए। उनी उक्त मुद्दाको सुनुवाईका दिन काठमाडौ ओर्ले पनि अदालतमा भने उपस्थित भएनन्।
ad

अदालतले उनी र अर्का प्रतिवादी राजुप्रसाद श्रेष्ठको नाममा पक्राउ गर्न आदेश जारी गरेको छ। सोही मुद्दामा उच्च अदालतका न्यायाधीशद्वय श्रीकान्त पौडेल र टेकप्रसाद ढुङ्गानाको इजलासले छविलाल ढकाल,रणधीर सुब्बा र देवजङ्ग शाहीलाई थुनामा पठाएको छ। उनीहरूसँग उच्च अदालतको वाणिज्य इजलासले ६ लाख धरौटी समेत माग गरेको थियो। एडभान्स पेमेन्ट ग्यारेन्टीका लागि सन् २०१६ जुन १० मा कृषि विकास बैंकको नक्कली बैंक ग्यारेन्टी पेस गरेको पाइएपछि बैकिङ कसुर सजाय ऐन २०६४ अनुसार मुद्दा दायर भएको थियो।

भोजपुरको ठेक्का, काठमाडौंको नक्कली बैंक ग्यारेन्टी
मन्त्री खत्रीको कम्पनीले मिलेमतोमा भोजपुर जिल्लाको जिल्ला प्राविधिक कार्यालयको ठेक्कामा भाग लिन कृषि विकास बैंक काठमाडौंको एक शाखाको बैंक ग्यारेन्टी पेस गरेको थियो। करिब ५५ लाखको बैंक ग्यारेन्टी बनाएका खत्रीले बैंकलाई कुनै जानकारी नै नभई निर्माण भएको थियो। २०१६ नोभेम्बर ४ अर्थात् २०७३ कात्तिक १९ गते कीर्ते बैंक ग्यारेन्टी तयार भएको थियो। उक्त ठेक्का बापतको बैंक ग्यारेन्टी जफत गर्न खोज्दा फर्जी पेस भएको रहस्य खुलेको थियो।

२०७४ जेठ २५ गते बैंक ग्यारेन्टी बापतको रकम माग गर्दा कृषि विकास बैंकले उक्त कार्यालयबाट जारी नभएको जवाफ दिएको थियो। त्यसपछि खड्कासहितका ५ प्रतिवादीमाथि बैकिङ कसुरमा अनुसन्धान सुरु भएको थियो।

अनुसन्धानका लागि प्रहरी कार्यालय उपस्थित खत्री कसरी भए फरार?
जिल्ला प्रहरीले कीर्ते बैंक ग्यारेन्टी निर्माण गरेको अभियोगमा अनुसन्धान गर्दा मन्त्री खत्रीलाई उपस्थित गराएको थियो। मन्त्रीले प्रहरी कार्यालयमा कागजसमेत गरेका थिए। तर प्रहरीले प्रभावमा परी उनलाई उन्मुक्ति दिएको थियो। प्रहरीलाई आफ्नो पार्टी र प्रदेश सरकारको प्रभाव देखाउँदै खत्री उम्किएको देखिन्छ।

प्रहरी समक्ष बयानका लागि कागज गरेका प्रतिवादी धरौटी वा तारेखमा नछुटी सिधै फरार हुँदा आशंका देखिएको छ। उच्च अदालत पाटनले पनि सोही शंकाको आधार समातेर मन्त्री खत्रीलाई पक्राउ गर्न आदेश जारी गरेको थियो। सोही मुद्दामा संलग्न अन्य आरोपितहरु अभियोगपत्रसँगै पेस हुने तर मन्त्री चाँहि उपस्थित नहुँदा अनुसन्धान टोलीलाई समेत शंकाको घेरामा अदालतले राखेको हो।

अनुसन्धानका लागि प्रहरी कार्यालय उपस्थित भएको आरोपी सामान्यतया धरौटी वा तारेखमा रिहा हुनुपर्ने हुन्छ। तर प्रहरीले दुवै काम नगरी सरकारी वकिलको कार्यालयमा अनुसन्धानको विवरण पेस गरेको देखिन्छ। प्रदेश सरकारको मन्त्री भएको कुरा अभियोगपत्रमा उल्लेख हुनु तर प्रतिवादी पेश नहुँदा शंका देखिएको हो। सरकारी बकिल कार्यालयले अदालतमा मुद्दा पेश गर्दा समेत मन्त्री रहेका खड्का फरार भएको प्रतिवादीको सूचीमा परेपछि मिलेमतोको शंका देखिएको हो।

विवादास्पद पृष्ठभूमि
कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री खत्री विवादास्पद ठेकेदार हुन्। उनको कम्पनीले उनकै मन्त्रालय मातहतकै जलस्रोत तथा सिँचाइ विकास डिभिजनका ७ वटा ठेक्कामा काम गरिरहेको थियो। तीमध्ये तीनवटाको म्याद सकिएको डेढ वर्ष बिते पनि निर्माण अधुरै छ।

संघीय सरकारको सिँचाइ मन्त्रालयअन्तर्गत रहेका जल उत्पन्न प्रकोप व्यवस्थापन कार्यालय र सिँचाइ विकास डिभिजन कार्यालय मर्ज भई जलस्रोत तथा सिँचाइ विकास डिभिजन बनेपछि त्यसबाट पनि उनको कम्पनीले ठेक्का पाएको छ। गत वर्षको साउनदेखि प्रदेश सरकार मातहत आएको उक्त डिभिजनमा खत्रीको समेत स्वामित्व रहेको केएसके कन्स्ट्रक्सन कम्पनीले कुल २३ करोड २० लाख लागतका ७ वटा ठेक्का पाएको थियो।

उनकै मन्त्रालय मातहतको यो डिभिजन अन्तर्गतको ठेक्का पाउनु 'आफैं धामी र आफैं बोक्सी' जस्तै देखिन्छ।

यसरी प्राप्त भएको ती योजनामध्ये छिन्चु नदी नियन्त्रण कार्यका तेस्रो पटक म्याद थप हुँदा पनि अलपत्र नै रहेको छ।

दुईवटा प्याकेजको म्याद २०७४ असार २० गते नै सकिएको छ। तेस्रो पटक आगामी पुस ३ गतेसम्म म्याद थपिएको थियो। ३ करोड ५६ लाख बजेट भएको यो आयोजना २०७४ चैत २०मा सम्पन्न गर्ने सुरु सम्झौता थियो।

खत्री मन्त्री भइसकेपछि पनि उनको कम्पनीले उनकै मन्त्रालय मातहतको डिभिजन कार्यालयमा थप ४ वटा ठेक्का सम्झौता गरेको थियो। दुई करोड ९९ लाखको चिङ्गाडखोला (लेकबेंसी) नियन्त्रण, तीन करोड दुई लाखको इत्रामखोला (वीरेन्द्रनगर) नियन्त्रण, दुई करोड ९१ लाखको सोतखोला (बराहताल) नियन्त्रण कार्य र दुई करोड ३९ लाखको भेरी नदी (पञ्चपुरी–१०) नियन्त्रण कार्यको ठेक्का उनको कम्पनीले लिएको थियो।

२०७४ फागुन ६ गते मन्त्री भएका खत्रीले आफ्नै कम्पनीसँग २०७४ चैत १५ गते सम्झौता गराएका थिए। तीनवटा ठेक्कामा आयोजना हस्तान्तरणको समय भइसक्दा ३५ प्रतिशतमात्र काम भएको अनुगमनका क्रममा देखिएको छ।

सडक डिभिजनसँग ६८ करोडको योजना सम्झौता
खत्रीले जल उत्पन प्रकोपपछि डिभिजन सडक कार्यालयसँग पनि करोडौको योजना लिएका थिए। उनकै मन्त्रालय मातहत पर्ने यो निकायसँग उनको कम्पनीले ६८ करोड ३५ लाखको योजना पाएको छ। डिभिजन सडक कार्यालय सुर्खेतका अनुसार खत्रीको कम्पनीसँग सम्झौता गरेका ४ योजना निर्माणाधीन छन्।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको २०७५ कात्तिक ५ गते एक परिपत्र गर्दै ती आयोजना प्रदेश सरकार अन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा हस्तान्तरण हुने भनेको थियो। संघीय सरकारबाट प्रदेशमा आएपछि खत्री झन् सहज अवस्थामा पुगे। आफैं मन्त्री र आफ्नै निर्माण कम्पनी भएपछि उनलाई म्याद लम्ब्याउन झन् सहज भयो।

सडक विभागको परिपत्रले डिभिजन सडकअन्तर्गतका २१ वटा बहुवर्षीय योजना प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमातहत आएको थियो।

यस्ता छन् योजना
बोटेचौर–धारापानी सडक- १६ करोड ८२ लाख
सुवाघाटा–पीपलटार- १२ करोड४५ लाख
रत्नराजमार्ग–नयाँगाउँ–सानो सुर्खेत- २१ करोड ७४ लाख
पिपरा–देउतीबज्जै–अमृतडाडाँ-१७ करोड ३३ लाख

सडक केएसकेले जोइन्ट भेन्चर (जेभी) ले निर्माणको जिम्मा पाएर काम गरिरहेको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ।

सुस्त प्रगति
डिभिजन सडक कार्यालयका अनुसार मन्त्री खत्रीको निर्माण कम्पनीले ठेक्का लिएका कुनै पनि योजनामा सन्तोषजकन प्रगति रहेको छैन। बोटेचौर–धारापानी सडकमा हालसम्म ७१ लाख २२ हजार रुपैयाँ भुक्तानी भएको छ। काम सम्पन्न भएको आधारमा हेर्दा यो ४.५ प्रतिशत हो।

अन्य आयोजनामा प्रगती प्रतिशत केही सुधार भएपनि उल्लेख्य नभएको कार्यालयको दाबी छ। मन्त्री कै कम्पनी भएकाले दबाब दिन समस्या भएको कार्यालयको गुनासो छ। केएसकेमा खत्रीका साथै उनका भाइ लोकेश र व्यवसायी सूर्य खत्री साझेदार छन्।

मन्त्री खत्रीले नै सार्वजनिक गरेको सम्पत्ति विवरणमा प्रदीप कन्स्ट्रक्सनको नाममा ५ स्काभेटर, ८ ट्रिपर, ३ जिप, २ ट्रक र ३ भ्याकुमलोडर रहेको उल्लेख गरेका थिए।

को हुन मन्त्री खत्री?
सुर्खेतको भेरीगंगा नगरपालिकामा बस्दै आएका मन्त्री खत्री सुर्खेत क्षेत्र नम्बर १ ‘ख’ निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेबाट प्रदेशसभा सांसद विजयी भएका थिए। लामो समय निर्माण व्यवसायीका रूपमा काम गरेका खत्रीलाई तत्कालीन एमालेको कोटाबाट कर्णालीको भौतिक पूर्वाधार विकासमन्त्री बनाइएको थियो। २०३५ सालदेखि अखिल पाँचौँको प्रारम्भिक कमिटीबाट राजनीति सुरु गरेका खत्री २०४९ र २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनबाट सुर्खेतको रामघाट गाविसको तत्कालीन एमालेको तर्फबाट गाविस अध्यक्ष थिए।

पूर्व गाविस अध्यक्षसमेत भएका र र आर्थिक चलखेल गर्न सक्ने भएपछि उनले सांसद हुँदै मन्त्री पद हात पारेका थिए।

काठमडौ । एप्लिकेसनमार्फत मोटरसाइकलमा यात्रु बोक्दै आएको पठाओले ट्याक्सी सेवासमेत सुरु गरेको छ। कम्पनीले आफ्नो एपबाट ट्याक्सी बुक गरे एक सय रुपैयाँ अतिरिक्ति शुल्क यात्रुसँग असुल्ने भएको छ।

पठाओ एपमार्फत ट्याक्सी बुक गर्नेले मिटरमा उठेको रकमभन्दा एक सय रुपैयाँ बढी अतिरिक्त शुल्क तिर्नुपर्ने व्यवस्था कम्पनीले गरेको छ। यसले यात्रु उपभोक्तालाई सो एपमार्फत ट्याक्सी प्रयोग गर्दा महँगो हुने देखिएको छ।

आजबाट सुरु भएको पठाओको ट्याक्सी सेवा लिने उपभोक्ताले थप एक सय रुपैयाँ सेवा शुल्क दिनुपर्ने पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले बताइन्। ‘एप्लिकेसनबाट हामीले सेवाग्राहीलाई विभिन्न सुविधा दिन्छौं,’ हमालले भनिन्, ‘त्यही सेवा उपलब्ध गराएबापत एक सय रुपैयाँ अतिरिक्त लिइने हो।’

उपत्यकामा एपमा आधारित ट्याक्सी सेवा सारथी तथा इजीट्याक्सी नेपालले समेत उपलब्ध गराउँदै आएका छन्। तर ती कम्पनीहरुले एप्लिकेसन प्रयोग गरेबापत उपभोक्ताबाट मिटरमा उठेको भन्दा अतिक्ति शुल्क लिने गरेका छैनन्। तर पठाओले भने ट्याक्सी मिटरमा उठेको भन्दा एक सय रुपैयाँ बढी शुल्क लिने बताएको छ।

पछिल्लो समय काठमाडौंका ट्याक्सीहरु मिटरमा जान राजी हुने गरेका छन्। ट्राफिक प्रहरीको सक्रियताले उपभोक्ता मिटरमा ट्याक्सी चढ्न पाउने अवस्था आएको हो। मिटरमा नजाने ट्याक्सीको नम्बरसहित सामाजिक सञ्जालमार्फत ट्राफिक प्रहरी जानकारी गराउने चलन बढेको देखिन्छ। कतिपयले फोन नै गरेर ट्राफिकलाई गुनासो गर्न थालेपछि ट्याक्सी चालक मिटरमा जान राजी हुन थालेका हुन्।

विदुर । बालुवा उत्खनन गरेको खाल्डोमा डुबेर नुवाकोटको ककनी गाउँपालिका–१ मा सोमबार ज्यान गुमाएका दुई जनाको परिवारलाई क्षतिपूर्ति स्वरुप रु २५–२५ लाख उपलब्ध गराउने सहमति भएको छ । उक्त सहमति भएसगैँ पीडित परिवारले शव बुझेका छन् ।

कोल्पुखोला किनारमा अबैध रुपमा बालुवा उत्खनन्को क्रममा बनेको खाल्डोमा परेकी स्थानीय १३ वर्षीयाँ बिनिता बलामी र उनलाई बचाउन गएकी सिन्धुलीको फिक्कल गाउँपालिका–३ की ३५ वर्षीय लक्ष्मी तामाङको सोमबार साँझ डुबेर मृत्यु भएको थियो । पीडित परिवार र आफन्तले अबैध कार्यमा संलग्न व्यक्तिहरुबाट उचित क्षतिपूर्ति भराउन माग राख्दै गर्दै आएको बिरोध प्रदर्शन सहमतिसगैँ स्थगित भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो ।

उहाँको अनुसार मृत्तकको परिवारलाई अबैध बालुवा झिक्न प्रयोग भएको स्काभेक्टर धनी धादिङ स्थित धाक्रे गाउँपालिका–२ का रामकृष्ण रेग्मी, बालुवा झिक्न प्रयोग भएको खेतका धनी ओखरपौवाका मोहनकृष्ण श्रेष्ठ र बालुवा झिक्ने सोही स्थानका राजेन्द्र बलामीबाट क्षतिपूर्ति रकम भराउने निर्णय भएको हो ।

पीडित परिवारलाई रेग्मीबाट रु ३३ लाख, श्रेष्ठबाट रु ११ लाख र बलामीबाट रु छ लाख क्षतिपूर्ति भराउने सहमति भएसगै स्थानीयको बिरोध रोकिएको छ । क्षतिपूर्ति रकम मध्ये पीडित परिवारलाई आज रु एक–एक लाख दिइएको छ भने बाँकी रु २४–२४ लाख पैतिस दिनभित्र उपलब्ध गराउने सरोकारवालाबीच सहमति भएको छ ।

सहमति भएसगै आफन्तले शव बुझेको गाउँपालिकाको उपाध्यक्ष सिता खतिवडा (लामा)ले बताउनुभयो ।

कालिकोट । कालिकोटको पचालझरना गाउँपालिकाको गाउँसभा उद्घाटन गर्न गएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई लक्षित गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले बम विष्फोट गराएको छ।

मुख्यमन्त्री शाही बुधबार स्थलमार्ग हुँदै कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट कालिकोट गएका थिए।

बुधबार पचालझरना गाउँपालिका–३ खिग्ममा कार्यक्रम भइरहेका बेला नजिकै बम विष्फोट भएको हो।
ad

कार्यक्रम स्थलभन्दा एक किलोमिटरमाथिको जंगलमा बम विष्फोट भएको गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।

अहिले प्रहरीले बम विष्फोट भएको स्थलको अनुगमन गरिरहेको अध्यक्ष सेजुवालले बताए।