काठमाडौ । मनसुनको न्यून चापीय रेखा औसत स्थानमा रहेकाले तीन दिन देशको अधिकांश स्थानमा मेघ गर्जनसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जुन १० देखि सेप्टेबर २६ सम्मको समयलाई मनसुनको अवधि भएकाले मनसुनी ‘ट्रफ’ कहिले तल कहिले माथि भइरहने मौसमविद मञ्जु बासीले बताइन् । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै देशको पूर्वी तथा मध्यपहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना औंल्याएको छ । चुरेबाट बहने नदीमा पानीको बहाव आकस्मिक वृद्धि हुनसक्ने भएकाले नदी आसपासको बस्तीलाई सर्तक रहन आग्रह गरिएको छ । सडक यातायातमा पहिरो भूक्षयका कारण अवरोध आउन सक्ने भएकाले सावधानी अपनाउन भनिएको छ ।

राति देशभर सामान्यतया बदली रहि मध्य र पश्चिमी क्षेत्रका केही स्थान तथा पूर्वको एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भोलि देशका धेरै स्थानमा सामान्यतया बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रही देशको पहाडी भूभागको एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको पूर्वी तथा मध्य पहाडी भूभागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

काठमाडौ । सामाजिक सञ्जाल फेसबुकमार्फत नेताहरुलाई गाली गर्दै खुकुरी देखाएर काट्छु भन्ने एक युवा पक्राउ परेका छन् ।
भिडियोमार्फत प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा अध्यक्ष पुुुुुुुुुुुुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अपशब्द बोल्दै काट्ने धम्की दिएका सागर मैनाली पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले उनलाई मंगलबार बाराबाट पक्राउ गरेको हो

पत्रकार शालिकराम पुडासैनी हत्याप्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई समर्थन गर्दै उनले नेतालाई अपशब्द बाेलेपछि पक्राउ गरिएको महाशाखाका एसएसपी सहकुल थापाले बताए । लामिछानेलाई फसाएर ठूलो गल्ति गरेको भन्दै उनले नेताहरुलाई गाली गर्दै काट्ने धम्कीसहितको भिडियो पोस्ट गरेका थिए ।

चितवन । सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा टिभी प्रस्तोता रवि लामिछानेसहित ३ जनालाई थप ५ दिन थुनामा राख्न म्याद थप भएको छ। जिल्ला अदालत चितवनले लामिछानेसहित अस्मिता कार्की र युवराज कँडेलमाथि थप अनुसन्धानका लागि आजबाट फेरि ५ दिन समय थप गरेको हो। न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले थप ५ दिन थुनामा राखी अनुसन्धान अगाडि बढाउन अनुमति दिएको हो।

यसअघि गत बिहीबारदेखि ५ दिन थुनामा राख्न प्रहरीले अनुमति पाएको थियो। तीनै जनाको बयान आज सकिएको छ। अब उनीहरुविरुद्ध प्रहरीले थप अनुसन्धान गरी अभियोगपत्र दायर गर्नेछ।

उनी मुलुकी फौजदारी संहिताअन्तर्गत आत्महत्यामा दुरुत्साहन गरेको कसुरमा उनीहरु अनुसन्धानका लागि पक्राउ परेका थिए।

पुडासैनीले आत्महत्याअघि गरेको भिडियो रेकर्डमा लामिछानेसहित कँडेल कार्कीको नाम लिएका थिए। सोही भिडियोका आधारमा पत्रकार पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको विषयमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरुलाई काठमाडौबाट पक्राउ गरी चितवन लगेको थियो।

लामिछाने न्युज २४ टेलिभिजनको कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता हुन भने कँडेल पनि सोही कार्यक्रमसँग आबद्ध पत्रकार हुन्।

जिल्ला अदालतमा प्रहरीको तर्फबाट जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए भने रविलगायतको पक्षबाट अधिवक्ता सुनिलकुमार पोखरेलसहितले बहस गरेका थिए।

चितवनको नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुमा पुडासैनी साउन २० गते झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सम्वाद नभईरहेका बेला प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक बोलाउनु भएको हो ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी, नेपाली कांग्रेस, संघीय समाजवादी र राजपा गरी चार दलका शिर्ष नेतालाई बोलाइएको छ । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन सर्वदलीय बैठक बोलाइएको हो । सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिनसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त नगरिँदा अन्तर्राष्ट्रिय समुदायले नेपालमाथि दबाब बढाइरहेको सन्दर्भमा सर्वदलीय बैठकले त्यससम्वन्धि निर्णय गर्न सक्ने बताइएको छ ।

दुईमध्ये सत्यनिरूपणका प्रमुख नेकपा र बेपत्ता खोजबिनमा कांग्रेसनिकट व्यक्तिलाई नियुक्त गर्नेबारे दुई दलका नेताबीच छलफल भइरहेको छ। सत्यनिरूपणको प्रमुखमा गोविन्द बन्दी र बेपत्तामा सूर्य ढुंगेलको नाम चर्चामा रहेको बताइएको छ । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल पनि हुने बताइएको छ ।

काठमाडौं । पत्रकार शालिकराम पुडासैनीको झुन्डिएकै कारण मृत्यु भएको पोस्टमार्टम रिपोर्टले जनाएको छ । पुडासैनीको गर्धनको हड्डी छुट्टिएको र घाँटीसमेत डोरीले कस्सिएको पोस्टमार्टम रिपोर्टमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पोस्टमार्टम रिपोर्टमा पुडासैनीले आत्महत्या गरेको उल्लेख रहेको संकेत देखिएको छ । ‘पोस्टमार्टम रिपोर्ट आएको छ । मंगलबार सम्पूर्ण रिपोर्ट लिएर म्याद थपका लागि अदालतमा पेस गर्छौँ । रिपोर्टमा हामीले पहिले जे आशंका गरेका थियौँ, त्यही नै भएको उल्लेख छ,’ जिप्रका चितवनका प्रमुख एसपी दानबहादुर मल्लले भन्नुभयो ।

यस्तै पुडासैनीले मृत्युअघि रेकर्ड गरेको भिडियोमा भएको आवाज उनकै भएको फरेन्सिक ल्याब परीक्षणबाट पुष्टि भएको छ । उनको मोबाइलमा विभिन्न पाँचवटा लामा र छोटा भिडियो क्लिप रहेको स्रोतले जनाएको छ । फरक–फरक भिडियो क्लिपमा भएकै कारणले पुडासैनीको आवाज फरक सुनिनुका साथै हाउभाउ पनि फरक देखिएको तथा एक अवस्थामा सिरानी रहेको र अर्को अवस्थामा सिरानी नरहेकोजस्तो फरक दृश्य देखिएको अनुसन्धानले देखाएको छ ।

पोस्टमार्टम र भिडियो ल्याब दुवै रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । पत्रकार पुडासैनीको मृत्यु प्रकरणसँग जोडिएका प्रमाण संकलनका क्रममा चितवन प्रहरीले सोमबार उनले आत्महत्याका लागि डोरी किनेको पसल पत्ता लगाएको छ । नारायणगढ बसपार्कस्थित एक प्लास्टिक पसलमा गई उनले पाँच मिटर लामो डोरी किनेको सिसिक्यामेरा फुटेजसमेत प्रहरीले लिएको छ ।

पत्रकार पुडासैनी आत्महत्या घटनापछि पक्राउ परेको पत्रकार रविलामिछानेसहित तीनै जना आरोपीसँग बयान लिने क्रम जारी रहेको चितवन प्रहरीले जनाएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार अस्मिता कार्कीसँग र सोमबार सञ्चारकर्मी रवि लामिछाने तथा युवराज कँडेलसँग बयान लिएको छ । तर, लामिछानेसँगको बयान भने अझै नसकिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

कँडेल र कार्कीले भने इन्कारी बयान दिएका छन । लामिछानेसँग आज पनि बयान लिइने भएको छ । आरोपीद्वय कँडेल र कार्कीको बयान सकिएपछि लामिछानेसँग सोमबार दिउँसो तीन बजेपछि बयान लिन सुरु गरिएको थियो । बयान बेलुकी ६ बजे स्थगित गरिएको थियो । प्रारम्भिक बयानका क्रममा मृतक पुडासैनीसँगको चिनजान, कामको सिलसिला, व्यवहारबारे लामिछानेसँग जानकारी लिइएको छ । बयान नसकिएकाले आज थप अनुसन्धानका लागि अदालतबाट पुनः म्याद थपिने सम्भावना छ ।

विदुर । नुवाकोटको तादी गाउँपालिका–२ का बिजय शर्मा कट्टेल आज मृत्त अबस्थामा भेट्टिएका छन् । साउन ३० गतेदेखि हराइरहेका २२ वर्षका कट्टेललाई तादी–३ स्थित भोर्लेको धानखेतमा मृत्त भेट्टाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख अबिनारायण काफ्लेका अनुसार उनको अनुहार सहित शरिरको विभिन्न अङ्गमा चोट लागेको पाइएकाले ‘अपराध’ भएको हुनसक्ने अनुमान गरिएको छ । शव परीक्षणको लागी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौ पठाइएको छ ।

उनी स्थानीय रुटमा चल्ने मिनीबसमा सहचालकको रुपमा कार्यरत रहेको र ३० गतेदेखि सम्पर्क भन्दा बाहिर भएकाले सोही दिन नै ‘हत्या भएको’ हुनसक्ने परिवारले जनाएका छन् ।
शव सडेगलेको अबस्थामा रहेकाले घटनाको सम्बन्धमा शवको परीक्षण प्रतिवेदन र उसले प्रयोग गर्ने मोबाइल लगायतका माध्यमबाट अनुसन्धान गरिने प्रहरीले जनाएको छ ।

चितवन । आत्महत्या गर्नुअघि पत्रकार शालिकराम पुडासैनीले डोरी किनेको पसल भेटिएको छ । गत साउन २० गते नारायणगढ बसपार्कमा रहेको एक होलसेल पसलबाट पुडासैनीले डोरी किनेको दृश्य पसलमा रहेको सीसीटीभी फुजेटमा देखिएको हो । चितवन प्रहरीले श्रेष्ठको पसलको सीसीटीभीको ‘हार्डडिस्क’ नै लिएर थप अनुसन्धान गरिरहेको छ । प्रहरीले आइतबार साँझ हार्डडिस्क लगेर थप अनुसन्धान थालेको हो ।

नारायणगढ बसपार्कको होटल कंगारुमा दिउँसो ३.३० बजे आएका पुडासैनीले कोठा बुक गरेपछि बाहिर निस्किएर डोरी किनेका थिए । बसपार्क नजिकै सडकको जेब्राक्रस कटेर एक्लै आएका पुडासैनीले डोरी मागेको पसलको सीसीटीभी फुटेजमा देखिएको छ ।

लुगा सुकाउन भन्दै पुडासैनीले ५ मिटरको डोरी मागेको भिडियोमा देखिएको चितवन प्रहरी स्रोतले बतायो । होलसेलबाट खुद्रा सामान नबेच्ने भनेपछि पुडासैनी निकैबेर पसलमा रोकिएको भिडियोमा देखिन्छ । धेरैबेर बसेपछि होलसेल पसलकी आमाले डोरी दिन कामदारलाई भनेकी थिइन् ।

पसलमा काम गर्ने कामदारले पाँच मिटरको डोरी नापेर दिएको दृश्य भिडियोमा छ । पुडासैनीले पैसा तिरेर प्लाटिकको झोलामा राखेर डोरी लगेको देखिन्छ ।

होटलमा पुगेपछि साँझ भेज खान बनाउन अर्डर गरेका पुडासैनी एक बोतल पानी लिएर कोठामा उक्लिएको होटल सञ्चालक बताउँछन् ।

राति ८ बजे खाना खान बोलाउन जाँदा पुडासैनी नआएपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले ढोका फुटाएर हेर्दा पत्रकार पुडासैनी डोरीको पासोमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

पुडासैनीको मृत्युका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

झुण्डिनुअघि पुडासैनीले मोवाइलमा रेर्कड गराएको भिडियोमा पत्रकार रवि लामिछानेसहितका अन्य दुई व्यक्तिको नाम लिएका कारण आत्महत्या गर्नुपरेको उल्लेख छ । सोही आधारमा प्रहरीले पत्रकार लामिछानेसहित अन्य दुईजनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

चितवन । झुन्डिएको अवस्थामा फेला परेका पत्रकार शालिकराम पुडासैनीको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीमा पुगेको छ । तर, प्रहरीले रिपोर्टमा के छ भन्ने खुलाएको छैन । ‘पोस्टमार्टम रिपोर्ट प्राप्त भएको छ । तर, रिपोर्टमा लेखिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दावबहादुर मल्लले भने, ‘हामी सबै प्रमाण जुटाउँदै छौँ । यस क्रममा थप नयाँ तथ्य पनि फेला परेको छ ।

अनुसन्धानपछि सबै तथ्य सार्वजनिक हुनेछ ।’ झुन्डिएको अवस्थामा २० साउनमा भेटिएका पुडासैनीको २२ साउनमा काठमाडौं महाराजगन्जस्थित शिक्षण अस्पतालमा पोस्टमार्टम भएको थियो । अस्पतालले १० दिन लगाएर रिपोर्ट तयार पारेको हो । पोस्टमार्टम रिपोर्टसँगै मृत्युअघि रेकर्ड गरिएको भिडियोको फरेन्सिक ल्याब परीक्षण पनि भइसकेको प्रहरीले जनाएको छ ।

पोस्टमार्टम र भिडियो ल्याब रिपोर्ट थप अनुसन्धानका लागि बलियो प्रमाण बनेको प्रहरीको भनाइ छ । २० साउन राति नारायणगढस्थित पोखरा बसपार्कको होटेल कंगारुमा झुन्डिएको अवस्थामा नुवाकोट बेलकोटगढी नगरपालिका–३ घर भएका २७ वर्षीय शालिकराम पुडासैनीको शव फेला परेको थियो ।

पत्रकार पुडासैनी मर्नुअघि रेकर्ड गरिएको भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियो यसअघि आएको सम्पादित भिडियोको ओर्जिनल भिडियो रहेको पाइएको छ । हेर्नुहोस् भिडियो …

सिआइबीको टोली चितवनमा
घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एसपी दीपक रेग्मी चितवन आएका छन् । एसपी रेग्मीसहित केही अधिकृत गरी पाँचजनाको टोली अनुसन्धानका लागि चितवन आएको हो । मृत्युसँग जोडिएका विविध पक्षहरूको सिआइबीले सूक्ष्म ढंगले अनुसन्धान गर्ने जनाइएको छ । ‘यस घटनामा चितवन प्रहरीले आफ्नै तरिकाले पनि अनुसन्धान अघि बढाइरहेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘थप सहयोग र अनुसन्धानलाई व्यवस्थित, छिटोछरितो बनाउन उहाँहरू आउनुभएको हो ।’

किटानी जाहेरी दर्ता
पुडासैनीका परिवारले आइतबार प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएका छन् । पुडासैनीको परिवारले परिसरमार्फत जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी दिएको प्रहरीले पुष्टि गरेको छ । भिडियोमा नाम उल्लेख भएअनुसार टेलिभिजनकर्मी रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी परेको हो ।

काठमाडौं परिसरका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले जाहेरी सम्बन्धमा भने, ‘किटानी जाहेरी परेको छ । जाहेरीमा रवि, युवराज र कार्कीलाई विपक्षी बनाइएको छ । जाहेरी दर्ता हुन साथ हामीले चितवन प्रहरीमा पठाइसकेका छौं ।’

यी तीन आरोपितविरुद्ध ३१ साउनमा चितवन अदालतबाट पाँच दिनको म्याद थप गराई जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको चितवन प्रहरी प्रवक्ता डिएसपी एकनारायण कोइरालाले बताए । उनीहरूमाथि आत्महत्या दुरुत्साहनको मुद्दा लागेको छ ।

प्रशासनमा सर्वपक्षीय बैठक
निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज पन्तको अध्यक्षतामा आइतबार जिल्लामा सर्वदलीय र सर्वपक्षीय बैठक बसेको छ । बैठकले तीनवटा फरक निर्णयहरू गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनका प्रशासकीय अधिकृत रामचन्द्र ढकालका अनुसार पत्रकार पुडासैनीको मृत्यु घटनाको स्वच्छ र निष्पक्ष न्याय सम्पादन गर्न प्रहरी प्रशासनलाई सहयोग गर्न राजनीतिक दलले जनतालाई आग्रह गर्ने निर्णय भएको छ ।

यस्तै, हिरासतमा रहेका तीन अभियुक्तको हकमा स्वच्छ र निष्पक्ष छानबिन गरी न्यायनिरूपण कार्यमा सहयोग गर्ने र शान्ति सुरक्षामा खलल पु-याउने, तोडफोड गर्ने कामलाई निरुत्साहित गर्ने निर्णय भएको छ ।

पत्रकार पुडासैनी मर्नुअघि रेकर्ड गरिएको भिडियो पनि सार्वजनिक भएको छ । उक्त भिडियो यसअघि आएको सम्पादित भिडियोको ओर्जिनल भिडियो रहेको पाइएको छ । हेर्नुहोस् भिडियो

शान्तिबजार । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरी भट्टले जानकारी दिनुभयो ।

उहाँको अनुसार आमासंग घरछेउको बारीमा घाँस काट्न गएकी ती किशोरीको लडेर मृत्यु हो । उनी बौद्धिक अपाङ्गता समेत भएकाले घटनाको समयमा हारगुहार माग्न नसक्दा लडेर अत्याधिक रक्तश्रावको कारण मृत्यु भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

विदुर । नुवाकोटमा अर्गानिक पदमार्ग निर्माण प्रक्रिया अघि बढेको छ । शिवपुरी, ककनी, दुप्चेश्वर गाउँपालिकामा प्रांगारिक कृषि र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पदमार्ग थालिएको हो ।
पदमार्गको नाम ‘ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङ अर्गानिक पदमार्ग’ प्रस्ताव गरिएको छ । उक्त पदमार्ग निर्माण र प्रांगारिक कृषि प्रवर्द्धन कार्यक्रमका लागि यस चालु आवमा कृषि मन्त्रालयबाट ५ करोड रुपैयाँ बजेट छुट्याइएको छ । पदमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार भइसकेको छ ।

पदमार्ग निर्माण योजना प्रभावकारी ढंगले कार्यान्वयन गर्न शुक्रबार काठमाडौंमा सुझाव संकलन तथा सरोकारवालासँग अन्तर्क्रिया गरियो । नुवाकोटका प्रतिनिधिसभा सांसद हितबहादुर तामाङले विगतमा करोडौं खर्चेर बनाएका केही पदमार्ग अलपत्र परेको उल्लेख गर्दै पुरानै तरिका र योजनाले मात्रै पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताए । पदमार्ग निर्माणसँगसँगै स्थानीय विशेषता र प्रांगरिक उत्पादनमार्फत कृषि पर्यटनलाई बढावा दिनुपर्ने उनको भनाइ थियो ।

प्रदेश ३ की उपसभामुख राधिका तामाङले आफू कृषि राज्यमन्त्री हुँदादेखिको सोचलाई कार्यान्वयनतर्फ अघि बढाउन लागिएको बताइन् । उनले चालु आवको बजेट निर्माणको अन्तिम समयमा संघ सरकारको अर्थ र कृषि मन्त्रालयमा पहल गरी प्रदेशमार्फत ससर्त बजेट विनियोजन गरिएको उल्लेख गरिन् ।

प्रदेश सांसद बद्री मैनालीले ककनीमा पर्यटन विकास हुन नसक्नुमा गुठी जग्गा भएको उल्लेख गर्दै ककनी–कुटुमसाङ पदमार्गको विषयमा शिवपुरी राष्ट्रिय निकुञ्जसँग स्पष्ट कुराकानी हुनुपर्ने सुझाव दिए । कार्यक्रममा स्थानीय जनप्रतिनिधि र सरोकारवालाले डीपीआर अपूर्ण रहेको भन्दै सच्याउन सुझाव दिएका थिए ।

शिवपुरी गाउँपालिका अध्यक्ष रामकृष्ण थापाले स्थानीय सरकार, सरोकारवालासँग समन्वय र छलफल गरी डीपीआर सच्याउन आग्रह गरे । तीनै तहका सरकारबीच समन्वय भए मात्र यो योजना पूरा हुने उनको भनाइ थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव तेजबहादुर सुवेदीले तीनै तहको सरकारको समन्वयमा उच्चस्तरीय प्राविधिक समितिमार्फत् अध्ययन र कार्यविधि बनाइ कार्यक्रम सञ्चालन गर्न सुझाव दिए ।

उनले यो पदमार्ग दूरगामी महत्वको रहेकाले केन्द्र सरकार समन्वय र सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा प्रांगारिक कृषि विज्ञ गोविन्द शर्मा, गाउ पर्यटन प्रवर्द्धन मञ्चका निवर्तमान अध्यक्ष कमल सापकोटाले र कृषिविद् शरदचन्द्र श्रेष्ठले कार्य पत्र प्रस्तुत गरेका थिए ।

नुवाकोटका ककनी–सूर्यचौर–चिसापानी–कुटुमसाङलाई प्राथमिकता दिए पनि यसले काठमाडौं र सिन्धुपाल्चोकलाई समेत जोड्न सहभागीले सुझाव दिएका छन । ककनीका २ र ५, शिवपुरीका ७ वडा र दुप्चेश्वरका २ र ४ वडा समेट्ने प्रस्ताव छ ।

विदुर । रसुवामा बाँध र नुवाकोटमा उत्पादन गृह रहेको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाको कार्यालय सम्मानित भएको छ । विभिन्न बाधा एंव अवरोध पार गर्दै विद्युत उत्पादन गर्न सफल भएको सुखद अवसरसगै नेपाल विद्युत प्राधिकरणको ३४औ बार्षिकोत्सव अवसरमा आयोजनाको कार्यालयलाई सम्मान गरिएको हो ।

प्राधिकरणको बार्षिकोत्सवको अवसरमा काठमाडौमा आयोजित विशेष कार्यक्रममा उर्जा, जलश्रोत तथा सिचाई मन्त्री, वर्षमान पुन अनन्त, मन्त्रालयको सचिव दिनेशकुमार घिमिरे र कार्यकारी निर्देशक कुलमान घिसिङले आयोजनामा आबद्ध सम्पूर्ण कर्मचारीहरुको तर्फबाट आयोजना प्रमुख फणिन्द्र जोशीलाई सम्मान गर्नुभएको हो ।

निकै महत्वपूर्ण मानिएको यस आयोजनाले विभिन्न प्राकृतिक प्रकोप अन्तरगत विनासकारी भूकम्प, भारतीय नाकाबन्दी, बार्खाको समयमा जाने बाढी पहिरो तथा क्षमता बृद्धि र विद्युत उत्पादन गृह भूमिगत बनाउने कि खुला भन्ने लगायतका विवादका बीच पनि थप अन्तरगतको तोकिएको समयमा कार्य सम्पन्न गर्न सफल भएको भन्दै नेपाल विद्युत प्राधिकरणले सम्मान गरेको हो ।

आयोजनाको उपप्रबन्धक ई.सत्यराम ज्वाख्वाको अनुसार ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए जलविद्युत आयोजनाले गत साउन १५ गतेदेखि अन्तिम परीक्षण उत्पादन तथा प्रशारण गरेर हाल नियमित सञ्चालनको क्रममा रहेको छ ।

यो आयोजना हिउदयाममा समेत ४५ मेगावाटसम्म नै विद्युत उत्पादन गर्नसक्ने, निकै सस्तो लगातमा निर्माण सम्पन्न, उपत्यकाबाट नजिकको दुरीको आयोजना लगायतका कारण निकै आकर्षण मानिन्छ ।

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष पद सिर्जना गर्दै बामदेव गौतमलाई त्यसको जिम्मेवारी दिने प्रस्ताव गरेको छ ।

पार्टी एकीकरण गर्दा दुई जना अध्यक्ष र महासचिव पद मात्रै रहेकोमा शुक्रबारको बैठकले पार्टीलाई अझ बढी सुदृढ बनाउन उपाध्यक्षको पद पनि सिर्जना गरेको हो ।

बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले उपाध्यक्षमा बामदेव गौतमको नाम प्रस्ताव गर्नुभएको हो । अध्यक्षद्वयले प्रस्ताव गरेको विषय पार्टीको स्थायी कमिटी बैठकले अनुमोदन गरेपछि गौतम पार्टीको उपाध्यक्ष बन्नुहुने छ ।

बैठकमा अध्यक्षद्वयले राखेको प्रस्ताव कसैले पनि विरोध नगरेको र गौतमले पनि उपाध्यक्ष पद स्वीकारेको सचिवालय स्रोतले जनाएको छ । बैठकले गौतमलाई संगठन विभागको जिम्मेवारी पनि दिएको छ । गौतमले यसअघि नै संगठन विभाग आफूले पाउने दाबी गर्दै आउनुभएको थियो ।

यस्तै लामो समयदेखि मिल्न नसकेको स्कुल विभागको विवाद पनि समाधान भएको छ । स्कुल विभागको नेतृत्व ईश्वर पोखरेलले पाउनुभएको छ । लामो समय नेताहरुबीच चलेको रस्साकस्सीपछि अन्ततः पोखरेलले यो विभागको जिम्मेवारी पाउनुभएको हो ।

स्कुल विभागमा पार्टी प्रवक्ता समेत रहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ 'प्रकाश'को पनि दाबी थियो । दुवै नेताले दाबी नछाड्दा पार्टी एकीकरणको काम लम्बिँदै गएपछि विभागको नेतृत्व टुंगो लगाउने जिम्मा अध्यक्षद्वयलाई दिइएको थियो । बिहान अध्यक्षद्वयबीच भएको छलफलमा विभागको जिम्मेवारी पोखरेललाई दिने सहमति भए पछि एकताका बाँकी काम अघि बढेको हो ।

स्कुल विभाग पोखरेल र प्रचार विभागको जिम्मेवारी नारायणकाजी श्रेष्ठ 'प्रकाश'लाई दिँदै विवाद मिलाइएको छ ।

नीति तथा प्रतिष्ठान विभाग प्रमुखको जिम्मेवारी वरिष्ठ झलनाथ खनालले पाउनुभएको छ ।

वरिष्ठ नेता माधव कुमार नेपालले भने विदेश विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ भने राम कार्की विभागको उपप्रमुख हुनुहुन्छ । यस्तै अर्थ तथा योजना विभागको जिम्मेवारी भने सुरेन्द्र पाण्डेले पाउनुभएको छ ।

नेकपाको ३२ विभागमध्ये १९ विभागमा पूर्व एमाले र १४ वटा विभागमा पूर्व माओवादी केन्द्रका नेताहरुले जिम्मेवारी पाएका छन् ।