३१ भदौ, काठमाडौं ।
काठमाडैंको कागेश्वरी मनहरा बस्ने ५५ बर्षीय कमल कृष्ण फुयालको सर्पले टोकेर मृत्यु भएको छ ।

विहिबार सर्पले टोकेर असक्त भएका उनलाई टेकु अस्पताल हुदै थप उपचारको लागी पाटन अस्पताल लागीएको उपचारकै क्रममा मृत्यु भएको थियो ।

यसैगरि जंगली हात्तीले आक्रमण गर्दा बर्दीया सुर्यपटुवा–१ पत्थर खोली बस्ने दुखीराम चौधरीको १३ बर्षीय छोरा युबराज चौधरी र सुर्यपुरा–४ डल्ला बस्ने ७४ बर्षीय परैई थारुको मृत्यु भएको छ ।

कक्षा ७ मा पढ्ने चौधरी विहिबार स्कुलबाट घर फर्कने क्रममा हात्तीले आक्रामण गर्दा गम्भीर घाइते भएकोले मेडिकल कलेज कोहलपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो, भने खेतमा काम गर्न जाने क्रममा हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका परैई थारुको मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

३१ भदौ, विराटनगर ।
जिल्लाको बबियाबिर्ता–४ लाटामोरङ बस्ने सोनी सोरेनको १३ महिनाको छोरी तलामनी सोरेनको भलुवा खोलामा डुबेर मृत्यु भएको छ ।

विहिबार घर देखि अंदाजी ३० मिटर पूर्व उत्तर पर्ने भलुवा खोलामा आमा घाँस काट्न गएको अवस्थामा आमालाई पच्छाउदै जाने क्रममा बालिकाको खोलामा डुबेर मृत्यु भएको बताइएको छ ।

यसैबिच भरतपुर उपमहानगरपालिका–१ स्थित नारायणी नदिको किनारमा लाखे नाचको लागी आएका भोजपुर धरान घर भई हाल काठमाडौ शान्तिनगर बस्ने १८ बर्षीय सौगात मोक्तान विहिबार नदिमा पौडि खेल्ने क्रममा नदिले बगाई बेपत्ता भएका छन् ।

प्रहरीले उनको खोजतलास गरिरहेको छ ।

३१ भदौ, डोल्पा ।
इलाका प्रहरी कार्यालय करकगाडबाट खटिएको प्रहरी टोलीले लाहा–३ अबदुल्ले भन्ने स्थानबाट विहिबार बेवारिसे अवस्थामा रहेको एक नाल भरुवा बन्दुक बरामद गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३१ भदौ, काठमाडौं ।
काठमाडौँ महानगरपालिका–३१ धोविडाडा स्थित घनश्याम रजकको घरमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने ५३ बर्षीय रामजी प्याकुरेल सहित ६ जनालाई प्रहरीले विहिबार नगद ८ हजार रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३१ भदौ, भक्तपुर ।
ट्रक चालकलाई कुटपिट गरी ट्रकको अगाडीको सिसा तोडफोड गर्ने चाँगुनारायण नगरपालिका–११ दुवाकोट बस्ने २५ बर्षीय लक्ष्मण रोक्का सहित ५ जनालाई प्रहरीले २ वटा मोटरसाइकल सहित पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका उनीहरुले गएराति दुवाकोट स्थित नेपाल इन्जिनियरिङ कलेज नजिक सडकमा बा.२ ख. ४३७६ नम्बरको ट्रक रोकी चालक रामेछाप घर भई हाल सोही ठाउँ बस्ने १९ बर्षीय पर्बत खड्कालाई कुटपिट गरी घाइते बनाउनुका साथै ट्रकमा ढुंगा प्रहार गरी अगाडीको शिसा तोडफोड गरेका थिए ।

घाइते खड्का उपचार पश्चात घर फिर्ता भएका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

३१ भदौ, सुनसरी ।
आफु काम गर्ने होटलबाट चोरी गरी भागेका भोजपुर आमतेक– ५ बाँसबोटे घर बताउने २३ बर्षीय महेश सुन्दासलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले उनको साथबाट चोरी गरेको नगद १ लाख ९४ हजार ४ सय ५८ रुपैयाँ , १ तोलाको सुनको वाला, आधा तोलाको सुनको तिलहरी १ थान, ६ आना सुनको औंठी १ थान, १० आनाको चाँदीको पाउजु १ जोर, १ तोलाको चाँदीको कल्ली १ थान, नागरीकता ३ थान, तमसुक थान १ समेत बरामद गरेको छ ।

एक हप्ता अगाडी देखि इटहरी ८ स्थित मन बहादुर कटवालले संचालन गर्दै आएको सिद्धकाली होटलमा काम गर्दै आइरहेका सुन्दासले विहिबार होटेल सफा गर्ने क्रममा चोरी गरी भागेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा लुकिछिपी भाग्दै गरेको अबस्थामा इटहरी स्थित बसपार्कबाट फेला पारी पक्राउ गरेको थियो ।

३१ भदौ, काभ्रे ।
कर्तव्य ज्यान मुद्दामा फरार रहेका पाँचखाल नगरपालिका– ९ बस्ने २८ बर्षीय राजेश शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

२०६५ साल बैशाख २३ गते सोही ठाउँ स्थित विरमान दनुवारको घरमा शर्माले २८ बर्षीय काजि दनुवारलाई लाठी र मुक्काले कुटपिट गरी सख्त घाइते बनाएकोमा सोही चोटको कारण २०६५ बैशाख २६ गते दनुवारको घरमै मृत्यु भएको थियो ।

शर्मालाई विहिबार इलाका प्रहरी कार्यालय गोकुलेबाट खटिएको प्रहरी टोलीले गोकुले यरियाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

३१ भदौ, काठमाडौं ।
साउदीमा अलपत्र परेका पीडितहरुको महानगरीय अपराध महाशाखाको बिशेष पहलमा साउदी स्थित नेपाली दुतावास तथा अन्य सम्बन्धित सरोकारवाला निकायसँगको समन्वयमा बुधबार उद्दार गरी नेपाल ल्याइएको छ ।

कर्णाली मेनपावर नेपालगंज बांकेमार्फत साउदी स्थित हासा एल दोस्सिरी फोमे साउदीमा राम्रो काम र तलब पाईन्छ भनी बर्दीया जमुनि सितापुरका देवबहादुर कंडेल, मुगु हयागुलका रनबहादुर रोकाया, बाँके नेपालगंजका मोहमद आरुन खान, निसार खान, बर्दीया शिवपुरका खगेन्द्र नाथ योगी , बाँके मनिकापुरका लिल बहादुर रोक्कामगर र बाँके पुरौनाका मोहमद सबिर खान रहेका छन् ।

उक्त मेनपावर कम्पनीले सम्झौता गरी पठाए अनुसारको काम र तलव नपाएको, तलब माग्न जादा पटक पटक कम्पनीका मानिसबाट कुटाई समेत खानु परेको र काम नदिएको हुँदा, खान बस्न समेत समस्या भएकोले जिवन रक्षा गरी नेपाल फिर्ता गराई पाउँ भनी पिडितहरुले अपराध महाशाखाको हटलाईन नम्बरमा गत साउन ८ गते टेलिफोनद्वारा जानकारी गराएका थिए ।

यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

३१ भदौ, टोकियो ।
नेपाल आफ्नो घर हिँडेका एक युवा अस्वस्थ महशुस गरेर उपचार गर्न अस्पताल पुगेपनि उनको उपचारकै क्रममा जापानमा मृत्यु भएको छ ।

नेपाल बागलुंग बिहुँकोट स्थायी घर हुनुभएका धनप्रसाद कँडेलको उपचारको क्रममा जापानमा मृत्यु भएको हो ।

४३ बर्षिय कँडेल जापानको कानागावा केनको चुरुमीमा बस्दै आउनुभएको थियो । श्रीमतीसँगै बस्दै आएका कँडेल ६ बर्षअघि कुक कामको लागि जापान आउनुभएको थाहा भएको छ ।

टोकियो रेसाइ अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कँडेलको मस्तिस्कघातबाट मृत्यु भएको बताइएको छ ।

केही समयदेखी टाउको दुख्ने गरेको बताउँदै आएका कँडेल योकोहामा खान्नाइस्थित साथी डाइनिगं नामको रेष्टुरेण्टमा काम गर्दै आएका थिए ।

कँडेल यही सेप्टेम्बर ६ तारिखमा नेपाल जान हिँडेका थिए । तर एयरपोर्ट पुगेपछि अस्वस्थ भएका उनलाई इमिग्रेसनमा चेकजाँच गर्दा उपचार गर्न भन्दै फर्काइएको थियो ।

मृतक कँडेलको नेपालमा बुवा आमा दुई छोरा र एक छोरी रहेको र परिवार हाल नवलपरासिको गैंडाकोटमा बस्दै आएका छन् ।

कँडेलको मृत्युपछि उनको दाहसंस्कार लगायतको सहयोगका लागि बाँग्लुंगका नेपाली सहित जापानमा रहेका विभिन्न संघसंस्था जुटेका छन् ।

स्मरणीय छ ५ दिन अघि मात्र जापानको क्यूसूमा बस्दै आएकी टिना गुरुगंले झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

आर्थिक अभावमा टिनाको शव नेपाल पठाउन नसकीरहेको अवस्थामा जापानका अर्का एक नेपालीको मृत्यु भएको हो ।

पछिल्लो समय जापानमा नेपालीहरुको आत्महत्या र मृत्युको संख्या बढ्दै गइरहेपनि यसमा नेपाली राजदूतावास र गैर आवासीय नेपालीसंघको भूमिका प्रभावकारी हुन नसकेको भन्दै आलोचना बढ्दै गइरहेको छ ।

जापानमा हाल ६० हजार बढी नेपालीहरु अध्ययन, रोजगारी तथा व्यवसायको सिलसिलामा बस्दै आएको बताइन्छ ।

टीनाको शव आर्थिक अभावमा जापानमै अलपत्र, सहयोगको आव्हान

जापानमा नेपाली युवती झुण्डिएको अवस्थामा मृत भेटिइन्

काठमाडौं,भदौ ३१ । राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा मेडिकल कलेजको शुल्क र सिट संख्या चिकित्सा शिक्षा आयोगले निर्धारण गर्ने प्रस्ताव गरिएको छ।

विधेयकमा १० वर्षसम्म काठमाडौं, भक्तपुर र ललितपुरमा मेडिकल, डेन्टल र नर्सिङ विषयमा स्नातकका कार्यक्रम सञ्चालन गर्न आशयपत्र नदिने प्रस्ताव गरेको छ।

शिक्षामन्त्री धनीराम पौडेलले बुधबार व्यवस्थापिका–संसद्मा पेस गरेको विधेयकमा यस्तो प्रस्ताव गरिएको छ। विधेयकको नाम ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७३’ राखिएको छ। यो विधेयक संसद्बाट पारित हुनेबित्तिकै शिक्षण संस्थाको नियमन गर्न तथा चिकित्सा शिक्षालाई गुणस्तरीय बनाउन चिकित्सा शिक्षा आयोग स्थापना हुनेछ।

यस्तो आयोगले प्रत्येक वर्ष तोकिएबमोजिमको मापदण्डका आधारमा विश्वविद्यालय, प्रतिष्ठान तथा अन्य शिक्षण संस्थाका लागि निश्चित सिट संख्या र शुल्कसमेत तोक्नेछ। विद्यार्थीबाट लिइने कुल शुल्कको आधा पहिलो वर्षमा र बाँकी रकम वार्षिक रूपमा लिने प्रस्ताव गरेको छ। विद्यार्थीले पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालयमार्फत वा प्रतिष्ठानमा बुझाउनुपर्ने उल्लेख छ।

सार्वजनिक शिक्षण संस्थाबाहेक अन्य शैक्षिक संस्थाको हकमा आयोगले सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाको समेत संलग्नतामा शुल्क निर्धारण गर्नेछ। स्नातकोत्तर तहमा सार्वजनिक शिक्षण संस्थामा आधारभूत चिकित्सा विज्ञान वा क्लिनिकल विधा (मेडिकल तथा डेन्टल) अध्ययन गर्दा नेपाली विद्यार्थीलाई शिक्षण शुल्क लिइनेछैन।

त्यस्ता विद्यार्थीलाई समुचित निर्वाह भत्ता सम्बन्धित शिक्षण संस्थाले उपलब्ध गराउन उल्लेख छ । तर, विदेशी विद्यार्थीको हकमा आयोगले निर्धारण गरेको मापदण्डका आधारमा सम्बन्धित विश्वविद्यालय वा प्रतिष्ठान आफैँले शुल्क निर्धारण गर्ने उल्लेख छ। नर्सिङ, आयुर्वेदलगायत अन्य चिकित्सा शिक्षा विधाका विषयमा लिइने शुल्क तथा छात्रवृत्तिसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुने उल्लेख छ।

विश्वविद्यालय र परिषद्ले आफ्नो आंगिक कार्यक्रम नभएका विषयमा कुनै पनि शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछैन। नेपालमा सञ्चालन नभएका नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक प्राज्ञिक तथा भौतिक पूर्वाधार र व्यवस्थापकीय क्षमता भएका शिक्षण संस्थालाई सो कार्यक्रम सञ्चालन गर्न आयोगको सिफारिसमा सम्बन्धित विश्वविद्यालयले सम्बन्धन दिन सक्ने उल्लेख छ। त्यसैगरी, विश्वविद्यालयले एक जिल्लामा एकभन्दा बढी मेडिकल वा डेन्टल विषयका शिक्षण संस्थालाई सम्बन्धन दिन नसक्ने व्यवस्था गरेको छ।

विश्वविद्यालयले स्वास्थ्य मन्त्रालय र आयोगले तोकेको मापदण्ड पूरा नगरेको, आफ्नै अस्पताल पूर्ण रूपमा सञ्चालन नगरेको, विश्वविद्यालय रहेकोभन्दा अन्य प्रदेशमा रहेको संस्थालाई सम्बन्धन दिन नसक्ने विधेयकमा छ ।प्रवेश परीक्षासम्बन्धी व्यवस्था उच्च शिक्षामा अध्ययनका लागि भर्ना हुन चाहने व्यक्तिले आयोग वा आयोगले तोकेको संस्था वा निकायले सञ्चालन गरेको एकीकृत प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्नेछ। नेपालका शिक्षण संस्थामा उच्च शिक्षा अध्ययन गर्न चाहने विदेशी व्यक्ति वा नेपालबाट अन्य मुलुकमा उच्च शिक्षा अध्ययन गर्न जाने व्यक्तिले समेत प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्नेछ।

विधेयकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐनअनुसार बन्ने चिकित्सा शिक्षा आयोगले निर्धारण गरेभन्दा बढी शुल्क लिएमा सम्बन्धन नै खारेज हुने व्यवस्था गरेको छ। आयोगले निर्धारण गरेबमोजिमको सिट संख्यासम्बन्धी मापदण्डको उल्लंघन गरेमा, आयोगले दिएको निर्देशनको बारम्बार उल्लंघन गरेमा र ऐनबमोजिम निर्धारित मापदण्ड पूरा नगरेको देखिएमा सम्बन्धन खारेज हुने उल्लेख छ। मेडिकल कलेजहरूको शुल्क अब बन्ने नयाँ आयोगले निर्धारण गर्ने विधेयकमा उल्लेख गरिएको खबर आजको नयाँ पत्रिका दैनिमा छ ।

काठमाडौं,भदौ ३१ । प्रचण्डले शुक्रबार भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदी, उपराष्ट्रपति हमिद अन्सारी तथा वरिष्ठ मन्त्रीहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसको डेकेन स्विटमा आधा घन्टा छुट्टै वार्ता तय भएको खबर आजको नयाँ पत्रिकामा दिल्लीबाट परशुराम काफ्लेले लेखेका छन्। भारतीय समयअनुसार बिहान ११:३० देखि १२ बजेसम्म हुने सो वार्तापछि हैदराबाद हाउसको कन्फरेन्स रुममा १२ बजेदेखि एक घन्टा प्रतिनिधिमण्डलस्तरीय औपचारिक भेटवार्ता तय भएको छ।

भारतीय विदेश मन्त्रालयको कार्यतालिकाअनुसार १ देखि १:१० बजेसम्म हैदराबाद हाउसको बल रुममा दुईपक्षीय सम्झौताहरूमा हस्ताक्षर हुनेछ। त्यसपछिको २० मिनेट प्रेस विज्ञप्ति तथा पत्रकार सम्मेलन हुनेछ, प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले सम्बोधन गर्नेछन्। १:३० देखि एक घन्टा दिवाभोज हुनेछ । प्रचण्ड र मोदीबीच बिहान राष्ट्रपति भवनमा, एक्लाएक्लै, औपचारिक प्रतिनिधिमण्डलस्तरमा र पत्रकार सम्मेलनमा गरी चारपटक भेटवार्ता हुनेछ।

दुई प्रधानमन्त्रीबीच छलफलका विषय

पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना विवरणलाई अन्तिम रूप दिइने, जो वर्षौंदेखि रोकिएको छ

महाकाली नदी र गण्डक नहरमा सिँचाइ परियोजना

ढल्केबर–मुजफ्फर प्रसारण लाइनको क्षमता अभिवृद्धि, हेटौँडामा विद्युत् सबस्टेसन स्थापना

गोरखपुर–भैरहवा प्रसारण लाइन

बंगलादेशबाट पारवहन सुविधा गर्ने विषयमा पनि छलफल हुने

विभिन्न क्षेत्रमा भारतीय लगानी आकर्षित गर्ने विषय

नेपाली कृषिजन्य उत्पादनलाई भारतमा लैजान सहजीकरण

ऊर्जा व्यापार सम्झौताको प्रोटोकल

गौरीफन्टा नाकाको स्तरोन्नति

कास्कीको ढिकुरपोखरीमा पोलिटेक्निकल इन्स्टिच्युट स्थापना

दोधारा–चाँदनी सुक्खा बन्दरगाह निर्माण गर्ने विषयमा पनि छलफल

हुलाकी राजमार्गको दोस्रो चरण निर्माण

एकीकृत जाँच चौकीहरू निर्माण

नेपालको व्यापार घाटा कम गर्ने विषय

नेपाल प्रहरी एकेडेमी निर्माण

काठमाडौं,भदौ ३१ । संघीयतापछि पनि सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभाग (गुप्तचर) केन्द्रीय संरचनामै रहने भएका छन्। दुवै निकायलाई केन्द्रीय कमान्डमै राख्न गृह मन्त्रालयले प्रस्ताव गरेको खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन। यस विषयमा अध्ययन गर्न सशस्त्र प्रहरीले एआइजी प्रेम शाहीको संयोजकत्वमा अध्ययन कार्यदल गठन गरेको थियो। कार्यदलले पनि सशस्त्र प्रहरीलाई केन्द्रीय कमान्डमै सञ्चालन गर्नुपर्ने सुझाबसहितको प्रतिवेदन तयार गरेको छ।

प्रदेशमा विशिष्ट श्रेणी (एआइजी)को कमान्ड रहने गरी सशस्त्र प्रहरीको पुनर्संरचना गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन बुझाउने तयारी भइरहेको एआइजी शाहीले बताए। राष्ट्रिय अनुसन्धान विभागलाई पनि केन्द्रीय संरचनामै राख्ने पक्षमा विभाग र गृह मन्त्रालयका अधिकारी छन्।

महानगरीय प्रहरीलाई केन्द्रीय प्रहरीअन्तर्गत राख्न सिफारिस

संघीयतामा महानगरीय प्रहरीलाई केन्द्रीय प्रहरी (नेपाल प्रहरी)अन्तर्गत नै राख्न सिफारिस गरिएको छ। कार्यदलले महानगरीय प्रहरीसहित आठ कार्यालयलाई केन्द्रमा राख्न सिफारिस गरेको हो। राजधानीको महानगरीय प्रहरी केन्द्रीय प्रहरीअन्तर्गत रहने र अन्य प्रदेशका महानगरपालिका र उपमहानगरपालिकामा प्रदेश सरकारप्रति उत्तरदायी हुने गरी अधिकारसहितको महानगरीय प्रहरी स्थापना गर्न सिफारिस गरिएको छ। उपत्यकामा ०६३ मै महानगरीय प्रहरीको अवधारण लागू गरिए पनि अधिकार भने दिइएको छैन।

केन्द्रीयअन्तर्गत रहने ब्युरोहरू

महानगरीय प्रहरीसहित प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, केन्द्रीय अनुसन्धान ब्युरो, विशेष ब्युरो, लागुऔषध नियन्त्रण ब्युरो, केन्द्रीय विधिविज्ञान प्रयोगशाला र नेपाल प्रहरी उमावि विद्यालय केन्द्रीय प्रहरीमातहत राख्न सिफारिस गरिएको हो। इन्टरपोल शाखालाई समेत सिआइबीमा राखेर १० वटा पिलर बनाउन सुझाब दिइएको छ। तीन वा त्यसभन्दा धेरै जिल्ला कार्यक्षेत्र पर्ने गरी सिआइबीको फिल्ड कार्यालय स्थापना गर्न सकिने प्रतिवेदनमा उल्लेख छ।

विशेष ब्युरोमा ६ शाखा

विशेष ब्युरोअन्र्तगत ६ वटा शाखा रहनेछन्। अन्तर्राष्ट्रिय आतंकवाद शाखा, राष्ट्रिय आतंकवाद तथा अतिवाद शाखा, आर्थिक सूचना संकलन तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी अनुशासन शाखा, राजनीतिक अन्वेषण शाखा, सामाजिक शाखा र प्राविधिक सहयोग तथा प्रशासन शाखा विशेष ब्युरोमा रहनेछन्। यस्तै, प्रहरी महानिर्देशकको कार्यालयअन्र्तगत सुपरीवेक्षण तथा समन्वय विभाग, शान्तिसुरक्षा तथा प्रहरी कार्यविभाग, प्रहरी प्रशासन तथा मानव स्रोत व्यवस्थापन विभाग र प्राविधिक सेवा निर्देशनालय गरी चार विभाग रहने गरी संरचना तय गरिएको छ।

सरुवा र बढुवालाई अनुमानयोग्य बनाउने

इन्स्पेक्टरबाट डिएसपीमा २५ प्रतिशत तथा डिएसपीबाट एसपीमा २० प्रतिशत पदमा आन्तरिक प्रतिस्पर्धाका आधारमा बढुवा हुने प्रणाली राख्न सिफारिस गरिएको छ। क्षमतावान् प्रहरीलाई मात्र नेतृत्व तहमा लैजाने नीतिअनुसार यस्तो प्रावधान राखिएको हो। तल्लो तहमा ब्याच प्रणाली र कार्यसम्पादन

मूल्यांकन प्रणाली अवलम्बन गर्न सुझाइएको छ।

प्रहरी महानिर्देशकको अवकाशको उमेर हद ६० तथा पदावधि तीन वर्षको कायम गरिएको छ। नायब महानिर्देशकको पदावधि तीन वर्ष र अवकाशको उमेरहद ५८ तथा प्रहरी सहायक महानिर्देशकको ६ वर्ष पदावधि र ५८ वर्ष उमेरहद राखिएको छ। प्रदेशको महानिरीक्षकको उमेरहद ५९ वर्ष तथा पदावधि तीन वर्ष राखिएको छ। यस्तै सेनामा सैनिक अदालतजस्तै प्रहरीमा पनि प्रहरी विशेष अदालत स्थापनाको प्रस्ताव गरिएको छ।

प्रदेश प्रहरीको सुपरीवक्षेण नेपाल प्रहरीबाट

नेपाल प्रहरीले केन्द्रीय प्रहरीको सुपरीवेक्षण गर्न सक्ने प्रावधान सिफारिस गरिएको छ। प्रदेश प्रहरीबीच प्रणालीगत एकरूपता ल्याउन, तिनले प्रदान गर्ने सेवाको स्तरीयता परीक्षण गर्न र तोकिएको विषयमा निर्देशनसमेत गर्ने गरी नेपाल प्रहरीद्वारा प्रवेश गरी संगठनहरूको सुपरीवेक्षण गर्ने व्यवस्था संघीय कानुनद्वारा तोकिनेछ। प्रहरी महानिरीक्षकको अध्यक्षतामा अन्तरप्रदेश प्रहरी समन्वय समिति गठन हुने, संघीय सुरक्षा समिति विज्ञ समूह गर्नसमेत सिफारिस गरिएको छ।

क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालय बनाउन प्रस्ताव

गृहले केही विज्ञसमेत राखेर संघीयतामा सुरक्षा निकाय कस्तो हुने भन्ने विषयमा छलफल गरेको थियो। त्यस क्रममा तत्कालका लागि क्षेत्रीय कार्यालयलाई प्रादेशिक कार्यालयमा रूपान्तरण गरी केन्द्रीय कार्यालय कमान्डबाटै सञ्चालन गरिने तय भएको छ। सुरक्षासम्बन्धी पुनर्संरचनाका लागि प्रधानमन्त्री कार्यालयका सहसचिवको अध्यक्षतामा एक उच्चस्तरीय कार्यदलले समेत यस विषयमा छलफल गरिरहेको छ। प्रारम्भिक छलफलका क्रममा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग केन्द्रीय संरचनामै रहने सुझाब आएको गृहप्रवक्ता यादव कोइरालाले बताए। नेपाल प्रहरीलाई भने केन्द्रमा नेपाल प्रहरी तथा प्रदेशमा प्रदेश प्रहरी रहने गरी प्रतिवेदन बुझाइसकेको छ। पूर्वआइजिपी कुवेरसिंह राना अध्यक्षताको कार्यदलले गत महिना प्रतिवेदन दिएको हो।