१३ कार्तिक, काठमाडौं ।
नेपालीहरुको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजाआजा गरी मीठा मीठा खानेकुरा खान दिएर कुकुर तिहार मनाउने क्रम जारी रहेको छ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठा परिकार खान दिए यमराजको ढोकामा द्वापालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छाडिदिने धार्मिक विश्वास रहि आएको छ ।

आज बिहानै अरुणोदयकालमा नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपछि नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहि आएको छ ।

यमपञ्चक अर्थात् तिहारका पाँचै दिन साँझमा घर घरमा यम परिवार सङ्ख्या अनुसार यमदीप दान गरिन्छ । यी पाँच दिनमा तिलको तेल लगाएर स्नान गर्ने प्रचलन रहि आएको छ ।

१३ कार्तिक, एजेन्सी ।
अमेरिकी सुरक्षा जाँच ब्यूरो एफबिआइले राष्ट्रपतिय चुनावकी उमेद्वार हिलारी क्लिनटको इमेल फेरी जाँच गर्ने भएको छ ।

एफवीआई निर्देशक जेम्स कोमेले अमेरिकी संसदलाई क्लिन्टनको इमेल जाँचको सूचना दिएका हुन् ।

कोमेले सांसदलाई पठाएको एक चिठ्ठीमा जाँचकर्ताले महत्वपूर्ण इमेल प्राप्त गरेको उल्लेख गर्दै एफबिआइले यसमा हात हाल्ने भएको बताएका छन् ।

उनले जाँचकर्ताले इमलेमा गोप्य जानकारी भए नभएको सुनिष्चित गर्न ईमेल जाँच गर्न लागेको बताएका छन् । एफबीआईले यसअघि डेमोक्रेटिक उमेदवारको व्यक्तिगत सर्वरमा गोप्य जानकारी भएको जनाएका थिए ।

कोमेले जाँच पूरा हुन कतिसमय लाग्छ भन्ने आफूले एकिन गर्न नसक्ने बताएका छन् ।

हिलारीको ईमेल जाँच गर्ने यस घटनाले अमेरिकी राष्ट्रपति चुनावको अतिजामा असर पर्ने ठानिएको छ ।

१२ कार्तिक, भोजपुर ।
धरानबाट धनकुटाको अखुवाटार हुँदै भोजपुर आइरहेको जीप दुर्घटना हुँदा दुइ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अन्य ७ जना घाइते भएका छन् ।

जीप सडकबाट करिब डेढ सय मिटर तल खस्दा सगरमाथा उच्च माध्यमिक विद्यालयका सह–प्रधानाध्यापक पृथिमान राई र सुनसरीकी ४५ बर्षिया सुशिला श्रेष्ठको मृत्यु भएको हो ।

घाइतेहरुको बिपी स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।

दुर्घटनामा संलग्न चालक फरार रहेकाले खोजी भईरहेको ईलाका प्रहरी कार्यालय छिन्ताङ्गले जानकारी दिएको छ ।

१३ कार्तिक, दाङ ।
नेपाल बार एशोसियसनका केन्द्रीय अध्यक्ष शेरबहादुर केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव असफल भए पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्ने बताएका छन् ।

दाङमा आयोजित पत्रकार भेटघाटमा केसीले महाअभियोग प्रस्ताव फेल भए वर्तमान सरकारलाई नैतिकत संकट पर्ने भन्दै सरकार परिवर्तन हुने बताएका हुन् ।

दलहरुले ल्याएको महाअभियोग प्रस्ताव दूई तिहाई बहुमतले पारित हुनुपर्ने संवैधानिक प्रावधान रहेको बताउँदै केसीले प्रस्ताव फेल भए नैतिकताको आधारमा प्रधानमन्त्रीले राजीनामा दिने परिस्थिति आउने बताए ।

नेपाल बारले महाअभियोग प्रकरण लाई इमान्दारीताका साथ हेरिरहेको भन्दै कार्की कार्यक्षमतामा असक्षम भएर महाअभियोग ल्याईएको हो भने उचित भएको बारको धारणा बताए ।

केसीले महाअभियोग प्रस्ताव संसदले हेर्ने प्रक्रिया भएको भन्दै यसमै अल्भिmएर संविधान कार्यान्वयन गर्ने प्रक्रियालाई अवरुद्ध नगर्न दलहरुलाई सुझाव दिए ।

केसीले नेपाल बार एशोसियसन अख्तियारलाई वलियो बनाउनु पर्ने पक्षमा रहेको भन्दै सरकार र सेनालाई समेत अख्तियारले हेर्न सक्ने ब्यवस्था गर्नुपर्ने उल्लेख गरे ।

१२ कार्तिक, काठमाडौं ।
वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका ३ नेपाली कामदारलाई विभिन्न अपराधमा संलग्न रहेको भन्दै त्यहाँको अदालतले मृत्युदण्डको फैसला गरेको छ । विभिन्न अपराधमा संलग्न भएको भन्दै मलेसियामा थप ७ जना नेपालीलाई मृत्युदण्डको फैसला हुने सम्भावना रहेको क्वालालम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले दिएको जानकारीअनुसार लागुऔषधको कारोबारमा पक्राउ परेका नुवाकोटका हरिबहादुर घलेलाई मलेसियाको सर्वोच्च अदालतले मृत्युदण्डको सजाय सुनाएको छ ।

५ वर्षअघि नै मृत्युदण्डको फैसला सुनाइए पनि हालसम्म सजाय भएको छैन । घलेलाई बचाउनका लागि दूतावासले कूटनीतिक पहल गरिरहेको मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानसिंह बस्न्यातले जानकारी दिए । त्यस्तै, हत्या आरोपमा पक्राउ परेका सुरजबहादुर सुनार र सुवीर गोलेलाई उच्च अदालतले मृत्युदण्डको फैसला गरिसकेको छ । उनीहरूको विषयमा सर्वोच्च अदालतमा फैसला हुन भने बाँकी छ ।

मलेसियामा हत्या आरोपमा पक्राउ परेका रुपेशकुमार कापर, प्रविनकुमार शर्मा, सुरेन्द्र मुखिया, अमर गुरुङ, अशोक लामा, सुजन श्रेष्ठ र लागू औषधको अपराधमा राजकुमार शाहका विषयमा पनि मृत्युदण्डको माग गर्दै परेको मुद्दामा अदालतमा बहस सकिएको दूतावासले जनाएको छ ।

मलेसियामा १ जनालाई सर्वोच्च अदालतले र २ जनालाई उच्च अदालतले मृत्युदण्डको फैसला गरेको बस्न्यातले बताए । ‘अरू ७ जनाका विषयमा पनि विभिन्न स्थानका उच्च अदालतमा मृत्युदण्डकै माग राखेर हालिएका मुद्दामा बहस सकिएको छ,’ उनले भने । यसअघि उस्तै प्रकृतिको अपराधमा मृत्युदण्ड दिएको हुनाले बहस गर्ने वकिलले उनीहरूलाई पनि मृत्युदण्डकै सजाय हुन सक्ने बताएको बस्न्यातले जानकारी दिए ।

अभियुक्तहरूको विषयमा बहस गर्न अदालतमा नेपाली ४ लाखदेखि १० लाख रुपैयाँसम्म अदातलमा धरौटी राख्नुपर्ने भएकाले दूतावासले त्यस विषयमा नेपाल सरकारलाई जानकारी गराइसकेको दूतावासले जनाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

१२ कार्तिक, काठमाडौं ।
घुमघामका लागि पोखरा पुगेका नवीन 'नाम परिवर्तन' को मोबाइलमा मेसेज आयो' तपाईंको एटीएमबाट ७० हजार निकालिएको छ ।’ यस्तो म्यासेज देखेपछि एटीएम कार्ड हराएर कसैले चलायो कि भन्ने आशंकामा हेरे, कार्ड साथमै थियो । उनले पैसा निकालेकै थिएनन् ।

अर्काको एटीएमको पिन नम्बर चोरी गरेर पैसा निकाल्ने गिरोह नेपालमा समेत रहेको सुनिरहेका उनले तत्काल बैंकमा खबर गरे । नेपाल इन्भेस्टमेन्ट बैंकमा अन्य ग्राहकबाट पनि यस्ता गुनासा आइरहेका थिए । गुनासोकर्ता ग्राहकले अन्तिमपटक पैसा निकालेको स्थान बुझदा अधिकांश ठमेल र दरबारमार्गका एटीएम बुथहरू देखिएपछि पिन चोरी भएको आशंकामा बैंकका अधिकारीले प्रहरीलाई खबर गरे ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एटीएम बुथमा जडान भएका बैंकका क्लोज सर्किट टेलिभिजनका दृश्यबाट अनुसन्धान अगाडि बढाउँदा एक विदेशी नागरिकको गतिविधि शंकास्पद देखियो । ठमेल र दरबारमार्गमा एटीएम बुथ रहेको अन्य बैंकमा समेत घटनाबारे सर्कुलर गर्दै सीसीटीभी निगरानी गर्नेक्रममा कात्तिक ११ मा बिहानै उनै व्यक्ति ज्याठामा रहेको एटीएम बुथमा देखिएको सूचना पाएलगत्तै प्रहरी उनको पछि लाग्यो । ती विदेशी ठमेलबाट वसन्तपुरतिर लागे । उनी आफ्नो मोबाइल निकाल्थे र सेल्फी खिच्थे । केही समय घुमेपछि उनी ठमेलमै फर्किएर जगत होटलको कोठा नम्बर १०१ मा गए ।

होटलको लग बुकको विवरणअनुसार सो कोठा बुल्गेरियाका डिमो अटानासोभ स्टेफानोभको नाममा थियो । बिहानैदेखि उनको पछि लागेको ब्युरोको टोली कोठामा पुग्दा उनी सामान मिलाइरहेका थिए । प्रहरीले आफ्नो परिचय दिँदै उनको साथमा रहेको झोला खोतल्दा एटीएम, सपिङ कार्ड, १७ हजार अमेरिकी डलरलगायतका सामान निस्कियो ।

झोलामा जहाजको टिकटसमेत थियो । टिकटमा त्यसै दिनको मिति थियो । प्रहरी नपुगेको भए उनी बेलुका ८ बजे कतार एयरबाट बुल्गेरिया उडिसक्थे । आफ्नै देश फर्कंदा फर्कंदै अन्तिमपटक चोरीको पिन नम्बरबाट पैसा निकाल्दा उनी प्रहरीको निगरानीमा परे ।

‘एक महिनाको भ्रमण भिसामा नेपाल आएका उनको धन्दा नै अर्काको एटीएम कार्डको पिन र डाटा चोरी गरी पैसा निकाल्ने देखियो,’ ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालले भने, ‘उनीसहित ३ जना अपराधमा संलग्न देखिए पनि १ जना फर्किसकेका रहेछन् ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।

१२ कार्तिक, काठमाडौं ।
नेपाल र भारतका परराष्ट्रमन्त्री नेतृत्वको संयुक्त आयोग ९ज्वाइन्ट कमिसन०को बैठकले दुई देशबीच भएका विकास सम्झौतासहित सबै पक्षको समीक्षा गरेको छ ।

भारतले अपूरो सीमा नक्सामा हस्ताक्षर गर्न प्रस्ताव गरे पनि नेपालले पूरै सीमा विवाद समाधान भएपछि हस्ताक्षर गर्ने जवाफ दिएको छ ।

नेपालले हतियार खरिदबापत तिर्नुपर्ने रकम मिनाहाका लागि प्रस्ताव गरेकोमा भारतले ‘विचार गरौँला’ भन्ने जवाफ दिएको छ । भारतलाई तिर्नुपर्ने दुई अर्ब ४० करोड रुपैयाँलाई अनुदानमा परिणत गर्न पनि नेपालले प्रस्ताव गरेको थियो । भारतले अनुदानमा दिएको सैन्य सामग्री खरिदको मोडालिटी परिवर्तन गर्ने नेपालको पूर्ववत् प्रस्तावमा भारत अघिल्ला बैठकहरूमा सहमत नभएपछि यसपटक कुरै उठेन ।

भारतले पठाएका हेलिकोप्टरसहितका सैन्य सामग्री कमसल खालको भएको र सरकारी स्वामित्वमा रहेको रक्षासँग सम्बन्धित कम्पनीहरूले चर्को मूल्य राखेर बिल पठाएको सैनिक अधिकारीहरूको भनाइ छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

१२ कार्तिक, काठमाडौं ।
भारतका राष्ट्रपति प्रणव मुखर्जी १७ कात्तिकमा तीनदिने राजकीय भ्रमणका क्रममा नेपाल आउँदै छन् । भारतीय विदेश मन्त्रालयले बिहीबार मुखर्जीको भ्रमण सार्वजनिक गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आउन लागेका मुखर्जीले जनकपुर र पोखराको समेत भ्रमण गर्ने कार्यक्रम छ । तीनदिने नेपाल भ्रमणका क्रममा मुखर्जीको व्यस्त तालिका भने अझै सार्वजनिक गरिएको छैन ।

राष्ट्रपति मुखर्जी विशेष विमानबाट १७ कात्तिक बिहान साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् । उनी १९ कात्तिक साँझ ५ बजे दिल्ली प्रस्थान गर्नेछन् । मुखर्जी र उनीसँग आउने भारतीय उच्च अधिकारीलाई होटेल हायात बौद्धमा बस्ने व्यवस्था मिलाइएको छ । राष्ट्रपति मुखर्जीसँग भारतीय मन्त्री, सांसदसहितका उच्च पदाधिकारी आउँदै छन् ।

आएकै दिन राष्ट्रपतिसँग भेटवार्ता र रात्रिभोज
मुखर्जी काठमाडौं अवतरण भएलगत्तै शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग भेटवार्ता तय भएको छ । ‘१७ गते नै राष्ट्रपतिसँग भेटवार्ता हुनेछ, त्यही साँझ होटेल सोल्टीमा राष्ट्रपति विद्या भण्डारीले मुखर्जीको सम्मानमा रात्रिभोज आयोजना गर्नुभएको छ,’ सम्बद्ध कूटनीतिक अधिकारीले नयाँ पत्रिकासँग भने । मुखर्जीसँग १८ कात्तिकमा प्रधानमन्त्रीसहित सबै मुख्य दलका शीर्ष नेताले होटेल हायातमै शिष्टाचार भेटवार्ता गर्नेछन् ।

मुखर्जीको व्यस्त तालिका
१७ कात्तिक स् भारतीय राष्ट्रपति प्रणव मुखर्जी मध्याह्न १२ः३० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् । त्यसलगत्तै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्नेछन् । साँझ सोल्टी होटेलमा राष्ट्रपति भण्डारीले भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछिन् । मुखर्जी बस्ने व्यवस्था होटेल हायातमा गरिएको छ ।

१८ कात्तिक स् राष्ट्रपति मुखर्जी काठमाडौंमा हुने दुई कार्यक्रममा सहभागी हुनेछन् । त्रिभुवन विश्वविद्यालयले एक कार्यक्रमबीच उनलाई मानार्थ विद्यावारिधि उपाधिबाट सम्मान गर्नेछ । उनले कार्यक्रमलाई सम्बोधन पनि गर्नेछन् । मुखर्जीलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने कार्यक्रम पनि छ । त्यही दिन बेलुका प्रमुख दलका शीर्ष नेताहरूले होटेल हायातमै मुखर्जीसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

१९ कात्तिक स् तेस्रो दिन बिहान १० बजेतिर राष्ट्रपति मुखर्जी जनकपुर जाने कार्यक्रम छ । त्यहाँ उनको अभिनन्दन गर्ने कार्यक्रम छ । जनकपुरबाट उनी पोखरा लाग्नेछन् । त्यहाँमा उनले भारतीय गोर्खा सैनिकलाई सम्बोधन गर्नुका साथै फेवाताल घुम्नेछन् । पोखराबाट काठमाडौं फर्केर उनी साँझ ५ बजे दिल्ली फर्किने कार्यक्रम छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

१३ कार्तिक, काठमाडौं ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमणमा आउन लागेका भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई विमानस्थलमै पुगेर स्वागत गर्ने भएकी छन् ।

छिमेकी मित्रराष्ट्र भारतबाट लामो समयपछि हुन लागेको यो भ्रमणलाई उच्च प्राथमिकतामा राखी राष्ट्रपति आफैं विमानस्थल पुगेर स्वागत गर्ने भएकी आजको राजधानी दैनिकमा समाचार छ ।

शीतल निवास स्रोतका अनुसार राष्ट्रपति भण्डारी भारतीय समकक्षी मुखर्जीको स्वागत र बिदाई दुबैमा विमानस्थलमै पुग्ने कार्यक्रम तय भएको छ ।

भ्रमणलाई विशेष महत्व दिदैं सरकारकै आग्रहमा राष्ट्रपति भण्डारीले स्वागत र विदाई गर्न लागेको स्रोतले बतायो ।

१३ कार्तिक, काठमाडौं ।
पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले दौरा सुरुवालको ‘राष्ट्रिय पोसाक’कोहैसियत खोसे पनि त्यसलाई अपनाउनेहरुको संख्या देखिने गरी बढ्न थालेको छ ।

खासगरी पुष्पकमल दाहाल प्रचण्ड र केही अपवादका साथ माओवादीले यो पोसाकको बहिष्कार गरेपछि प्रतिक्रियास्वरुप त्यसका पक्षमा जनमत बढेको अडकलबाजी पनि भएको आजको अन्नपूर्णमा समाचार छ ।

धनकुटा नगरपालिका ५ तल्लो कोप्चेका जयन्द्र प्रधानलाई दौरा सुरुवालप्रति औधी मोह छ । भोज होस् या सभासमारोह धार्मिक कार्य र पारिवारिक भेटघाट सबैमा सकेसम्म दौरा सुरुवाल र ढाका टोपीमा सजिन्छन् उनी ।

उनले पोहर साल दौरा सुरुवाल कपडा किनेर स्थानीय टेलरमा सिलाउन दिए । करिब चार महिनापछि मात्रै उनले दौरा सुरुवाल पाए ।
ऋयिकभ बम ह्

लगाउनेको संख्यामा बढोत्तरी भएपनि सिलाउने व्यक्तिको अभाव वा कमी हुदा सिलाउन दिएको लामो समय कुर्न पर्ने वाध्यता रहेको छ ।

१३ कार्तिक, टोकियो ।
नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औँ वर्ष पुरा भएको अवसरमा नेपाली रेस्लिङ खेलाडी हिमालयन टाईगर भरत विसुरालको आज टोकियोमा विशेष रेस्लिङ खेल प्रर्दशन हुँदैछ ।

टोकियो दोम सुईदोवासीमा साँझ पाँच बजेबाट सुरु हुने खेलमा हिमालयन टाईगरले जापानका चर्चित रेस्लर तत्सुमी फुजीनामीको सामना गर्ने भएका छन् ।

रोमाञ्चक खेलसँगै कार्यक्रममा रेस्लिङ सहित नेपाली विविध कला समेत प्रर्दशनी गरिने भएको छ । यसअघि समेत दर्जन बढी पटक जापानका विभिन्न रिंगमा जापानी रेस्लरसँग प्रतिस्पर्धा गरिसकेका हिमालयन टाइगरले नेपालमा समेत विभिन्न देशबाट रेस्लर बोलाएर खेल देखाउँदै आएका छन् ।

आयोजक जापान नेपाल फ्रेण्डसीप सोसाईटीका अनुसार नेपाली पहिलो रेस्लर खेलाडी हिमालयन टाईगरले नेपालले आगामी २०१८ मा मनाउन लागेको अन्तराष्ट्रिय पर्यटन वर्षको प्रचारप्रसार समेत सो कार्यक्रम मार्फत गर्ने भएका छन् ।

नेपाली पर्यटन सद्भाव दूत समेत रहेका हिमालय टाइगरले सो अवसरमा सहभागीहरुमा नेपालको पर्यटन प्रवर्दन तथा भ्रमण र नेपालबारे जानकारी दिनेछन् ।

सो कार्यक्रममा जापानी कलाकार ओकामोतो मल्लले नेपालका विभिन्न जातीय पहिचान झल्कने नृत्य समेत देखाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

१२ कार्तिक, बागलुङ ।
बागलुङ जिल्लामा यस बर्ष धान उत्पादन १० प्रतिशत बढ्ने भएको छ । जिल्ला कृषि बिकास कार्यालय बागलुङ्गले दिएको जानकारी अनुसार यस वर्ष निरन्तर बर्षा भएको,अनुकुल मौसम र जैविक मलको प्रयोग गरिएकाले उत्पादन बढ्ने देखिएको हो ।

जिल्लामा ५ हजार ८ सय ६२ हेक्टर जमिनमा धान खेती गरिने कृषि कार्यालयले जनाएको छ ।

गतबर्ष १८ हजार ८ सय ६९ मेट्रिकटन उत्पादन भएको थियो ,भने यस बर्ष उत्पादन १० प्रतिशतले बढेर २० हजार ७ सय ५० मेट्रिकटन हुने अनुमान गरिएको जिल्ला कृषि विकाश कार्यालयका प्रचार अधिकृत विप्लव अधिकारी बताए ।

पोहोर धेरै ठाउँमा खडेरी पर्नाले उत्पादनमा ह्रास आएको थियो,यो बर्ष समयमै बर्षा हुदाँ उत्पादन बढ्ने देखिएको छ, अधिकारीले भने,यो बर्ष मलखाद पर्याप्त आपूर्ति भएकोले पनि राम्रै उत्पादन हुने अनुमान छ ।

जिल्लामा पछिल्लो समय सुधारीएको जेठो बुढो,खुमल–४,राधा–७,लुम्ले–२ लगायतका स्थानीय जातका धानको बीउको प्रयोग तर्फ कृषक आकर्षित भएका छन ।

जिल्ला कृषि विकाश कार्यालयका अनुसार उन्नत बीउको प्रयोग,मलखाद पर्याप्त आपूर्ति,कीटनाशक औषधीको प्रयोगजस्ता कारणले उत्पादन बढ्ने जनाएको छ ।

जिल्लाको कुश्मीसेरा, अर्जेवा, नारायणस्थान, जैदी, हरिचौर, हटिया, खर्वाङ, नरेठाँटी र बागलुङ नगरपालिका धान खेतीका लागि पकेट क्षेत्र मानिएका छन ।