१३ कार्तिक, टोकियो ।
नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औँ वर्ष पुरा भएको अवसरमा नेपाली रेस्लिङ खेलाडी हिमालयन टाईगर भरत विसुरालको आज टोकियोमा विशेष रेस्लिङ खेल प्रर्दशन हुँदैछ ।

टोकियो दोम सुईदोवासीमा साँझ पाँच बजेबाट सुरु हुने खेलमा हिमालयन टाईगरले जापानका चर्चित रेस्लर तत्सुमी फुजीनामीको सामना गर्ने भएका छन् ।

रोमाञ्चक खेलसँगै कार्यक्रममा रेस्लिङ सहित नेपाली विविध कला समेत प्रर्दशनी गरिने भएको छ । यसअघि समेत दर्जन बढी पटक जापानका विभिन्न रिंगमा जापानी रेस्लरसँग प्रतिस्पर्धा गरिसकेका हिमालयन टाइगरले नेपालमा समेत विभिन्न देशबाट रेस्लर बोलाएर खेल देखाउँदै आएका छन् ।

आयोजक जापान नेपाल फ्रेण्डसीप सोसाईटीका अनुसार नेपाली पहिलो रेस्लर खेलाडी हिमालयन टाईगरले नेपालले आगामी २०१८ मा मनाउन लागेको अन्तराष्ट्रिय पर्यटन वर्षको प्रचारप्रसार समेत सो कार्यक्रम मार्फत गर्ने भएका छन् ।

नेपाली पर्यटन सद्भाव दूत समेत रहेका हिमालय टाइगरले सो अवसरमा सहभागीहरुमा नेपालको पर्यटन प्रवर्दन तथा भ्रमण र नेपालबारे जानकारी दिनेछन् ।

सो कार्यक्रममा जापानी कलाकार ओकामोतो मल्लले नेपालका विभिन्न जातीय पहिचान झल्कने नृत्य समेत देखाउने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।

18.12¡ÆC