काठमाडौं, मंसिर २६ । विश्व प्रसिद्ध अमेरिकी टेलिभिजन सिएनएनले प्रदान गर्ने ‘सिएनएन सुपर हिरो’मा नेपालकी पुष्पा बस्नेत मनोनित भएकी छिन् । विश्व प्रसिद्ध अमेरिकी टेलिभिजन सिएनएनले ‘सिएनएन हिरो’ अवार्ड प्रदन गर्न गरेको १० वर्ष पुगेको अवसरमा पूर्व सिएनएन हिरो मध्येबाट सुपर हिरो अवार्ड प्रदान गर्न लागेको हो ।

त्यसका लागि नेपालकी बस्नेतसहित पाँच जना पूर्व सिएनएन हिरो मनोनयनमा परेका छन् । सुपर हिरोका लागि बस्नेतसँगै फिलिपिन्सका एफ्रेन पेनाफ्लोरिडा, अमेरिकाका चाड प्रेग्राके, अमेरिकाको लस एन्जल्सकी लिज म्याककारट्नी र इन्डोनेशियाकी रोबिन लिम मनोनयनमा परेका छन् ।

कारागारमा रहेका अभिभावकका बालबालिकालाई काठमाडौँको बुढानीलकण्ठमा प्रारम्भिक बाल विकास केन्द्र खोली आवासीय सुविधासहित शिक्षादीक्षाको व्यवस्था गरेर उल्लेखनीय काम गरेकोमा सिएनएनले बस्नेतलाई सन् २०१२ मा ‘सिएनएन हिरो’ अवार्ड प्रदान गरेको थियो । केन्द्रमा हाल कारागार जीवन बिताइरहेका अभिभावकका ३७ बालबालिका आश्रित छन् ।

सुपर हिरो छनौट भोटिङका आधरमा हुने

सिएनएनले प्रदान गर्ने सुपर हिरो अवार्ड विजेताको छनौट भोटिङका आधरमा हुनेछ । विश्वभरीबाट प्राप्त भोट मध्ये मनोनयनमा परेका जुन उम्मेद्वारले बढी भोट ल्याउँछ ऊ नै सिएनएन सुपर हिरो विजेता हुनेछ । नेपाली समय अनुसार यही मंसिर २७ गते बिहान ८ बजे सिएनएन सुपर हिरोबारे सिएनएन टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ ।

यसरी गर्ने भोट

सिएनएन हिरो अवार्डके लागि भोट गर्न फेसबुक र ट्वीटरमार्फत भोटिङ गर्न सकिने सिएनएनले जनाएको छ । यस्तै सिएनएन हिरोज डट कममा गएर पनि भोट गर्न सकिनेछ । विश्वको जुनसुकै ठाउँबाट पनि जो कोहीले भोट गर्न सक्नेछन् । पुष्पालाई सिएनएन हिरो बनाउन आज (आइतबार) राति १२ बजे सम्म भोटिङ गर्न सकिनेछ ।

काठमाडौं,मंसिर २६ । विद्युत् प्राधिकरणले सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप २२० मेगावाट बिजुली आयात गर्ने भएको छ। तीन साता भित्रै १९० र आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ। प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो।

हिउँद र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित) जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ। राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली मुजफ्फरपुर–ढल्केबर हुँदै ढल्केबर–खिम्ती र खिम्ती–काठमाडौं प्रसारण लाइनबाट उपत्यकामा ल्याइनेछ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट आयात गरिरहेको छ। भारतको मुजफ्फरपुरमा २२०/१३२ केभीको ट्रान्सफर्मर राख्ने काम अन्तिम चरणमा पुगेको छ।

‘अबको २०/२१ दिनभित्रै मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्ने काम सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली आउन थाल्छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने।

उनका अनुसार २२० केभीको ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। कमलामाईमा एउटा टावरमात्र बनाउन बाँकी छ, त्यो बनिसकेपछि ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न हुनेछ। ‘खिम्ती–ढल्केबर प्रसारण लाइनसमेत अब २०/२१ दिनभित्रै सम्पन्न भई बिजुली ल्याउन सकिनेछ,’ अधिकारीले भने। उनका अनुसार भारतबाट ढल्केबर ल्याइएको बिजुलीमध्ये ९० मेगावाट ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै १३२ केभीको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउन सम्भव हुनेछ। ‘खिम्ती–ढल्केबर बढी क्षमताको भए पनि १३२ केभीएको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट भने थप ९० मेगावाटसम्म मात्र ल्याउन सकिन्छ,’ अधिकारीले थपे। उक्त प्रसारण लाइनबाट प्राधिकरणले खिम्ती, सुनकोसीलगायत आयोजनाको बिजुली ल्याइरहेको छ।

अधिकारीले सुक्खायामसँगै नदीको प्रवाहमा आधारित आयोजनामा विद्युत् उत्पादन घटे पनि भारतबाट आयात हुनेमध्ये ९० मेगावाट राजधानीमा ल्याइने र पिक आवरमा ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना चलाउँदा राजधानीमा लोडसेडिङ नहुने बताए। ‘सबै कुरा योजनामुताबिक अघि बढे राजधानीमा हिउँदयाम र सुक्खायाम (चैत–जेठसम्म) लोडसेडिङ हुने छैन,’ अधिकारीले भने। राजधानीमा बिजुलीको माग अरू समयमा २४० र साँझमा ३१५ मेगावाट छ। माथिल्लो मस्र्याङदी, मध्य मस्र्याङदी, मस्र्याङदी, दरौंदी, त्रिशूली, त्रिशूली देवीघाट, चिलिमे, खिम्ती, भोटेकोसी तथा कुलेखानी आयोजनाको बिजुली राजधानीमा ल्याउने गरिएको छ।

अघिल्लो वर्ष यही समयमा राजधानीमा दैनिक ६ घण्टाको हाराहारी लोडसेडिङ थियो। कान्तिपुर दैनिकमा समाचार छ ।

काठमाडौं,मंसिर २६ । ममी (लक्ष्मी नेपाली) त्यस दिन (मंगलबार) गाउँकै छिमेकी च्याङ्बा तामाङको कोदो टिप्न जानुभएको थियो। म दुई वर्षको सानो भाइ सुशीललाई हेरेर घरमै बसेको थिएँ। त्यहीबीचमा भाइ धेरै रोयो। सायद आमाको दूध खान खोजेको थियो। त्यसैले मैले भाइलाई दूध खुवाउन ममी भएकै ठाउँमा लगेँ। त्यतिवेला सायद चार बजेको थियो होला। ममीलाई कोदो टिप्ने मेलामा भेट्यौँ। मेलाबाट छुटेपछि ममीले म र भाइलाई हतार–हतार घर ल्याउँदै हुनुहुन्थ्यो। किनकि घरमा गाई दुहुना छ, त्यसैले ममी आत्तिनुभएको थियो। त्यस्तै, करिब ५ बजेको हुनुपर्छ।

मेरो स्कुलमा सामाजिक विषय पढाउने सर (हीरा लामा) र उहाँको आमा (काइलीमाया तामाङ) मोटरसाइकलमा आएर हाम्रो घर जाने बाटोमा बसेका रै’छन्। हामी आफ्नै बाटोतिर थियौँ। तर, बाटो रोकेर सरकी आमाले बोक्सी, राँऽऽ, रऽऽ… भन्दै मेरो ममीलाई लखेट्न खोज्नुभयो। तर, ममी भाग्नुभएन। त्यसपछि हीरा सरले समेत समातेर मेरी ममीलाई नजिकै रहेको सूर्योदय माध्यमिक विद्यालयको खेल मैदानमा लगे। त्यो हाम्रो विद्यालय हो, जहाँ हिरा सरले सामाजिक शिक्षा पढाउनुहुन्छ। प्रत्यक्षदर्शी १० वर्षीय बालक सुमन नेपालीको बयान आजको नयाँ पत्रिकाबाट लिएका हौ।

स्कुलको मैदानमा भलिबलको पोल छ। त्यही पोलमा हिरा सर र उहाँको आमाले मेरो ममीलाई बाँध्न लाग्नुभयो। तर, पोलमा काँटी रहेछ, ठेलमठेल हुँदा काँटीले सरकी आमालाई घोच्यो। त्यसैले उहाँ एकैछिन रोकिनुभयो। त्यतिन्जेलसम्म गाउँलेहरु जम्मा भइसकेका थिए। छिमेकी साइला तामाङकी श्रीमती निरमाया तामाङले नाम्लो दिइन्।

नाम्लो लिएर हिरा सर आफैँले ममीलाई गेटमा बाँध्नुभयो। सुरुमा घाँटी र कुममा बाँधेर हिरा सरले ममीलाई कुट्न थाल्नुभयो। त्यतिन्जेलसम्म हिरा सरको आमा अन्त कता जानुभयो थाहा भएन। पछि त दिसा लिएर आउनुभयो।

सरको आमा आइसकेपछि दिसा खुवाउन खोजे, ममीले मान्नुभएन। त्यसैले मेरो ममीको खुट्टा पनि बाधेँ र दिसा खुवाइदिए। त्यसपछि पनि गाउँलेहरु त्यहीँ बसिरहे। केहीबेरमा उनीहरुले छोडिदिएपछि म र भाइलाई लिएर ममी घरतिर हिँड्नुभयो।

हामी मेलडाँडा भन्ने ठाउँमा आइपुगेका थियौँ। पछाडिबाट हिरा सर दाउराको चिरपट बोकेर आउनुभएको रैछ। अनि ममीको कपाल समाएर लडाउनुभयो र खुट्टाले थिच्नु भयो। चिरपटले ममीको टाउकोमा हान्नु भयो। ममीको टाउकोमा गहिरो घाउ लाग्यो। ममीको टाउकोबाट रगत बगिरहेको थियो।

त्यसपछि पनि सरले ममीको छातीमा चार लात्ती हान्नुभयो। गाउँमा हल्ला भइसकेछ। मेरो हजुरआमा (विष्णुमाया नेपाली) पनि बाटोमै आइपुग्नुभयो। उहाँ ६० वर्षको हुनुहुन्छ। मेरो बुहारीलाई किन पिटेको भनेर के भन्नुभएको थियो, हिरा सरले ‘न करा तेरो पनि छात्ती फुटाइदिन्छु’ भन्दै फेरि ममीतिर झम्टनुभयो। मैले धेरै भयो, मेरो ममीलाई नपिट्नोस् सर भनेँ। उहाँ ममाथि पनि झम्टनुभयो। त्यसपछि स्थानीय लालबहादुर तामाङकी श्रीमती आएर छुट्याउनुभयो। तर, मेरो ममी बाटोमा लडिरहनुभएको थियो, उठेर हिँड्न सक्नुभएन।

पछि म र मेरो अंकल (दिनेश नेपाली) मिलेर दुबैतिरको कुममा उचालेर घर पुर्यायौँ। बेलुकी घर गयौँ। अर्को दिन बुधबार बुबा मिलन नेपाली काठमाडौंबाट घर आउनुभयो। बुबा काठमाडौँमा घर बनाउने मजदुरी गर्नुहुन्छ। त्यो दिन अस्पताल जाने कुरा भयो। तर, ढिलो भएकोले जान सकिएन। धुलिखेल आउन तीन घन्टा लाग्छ भन्ने कुरा भयो। बिहीबार बिहान ममी उठ्न सक्नुभएन।

त्यसैले गाउँको स्वास्थ्यचौकी पुगेर हामीले औषधि लिएर आयौँ। घरमा ममीलाई औषधि दिँदै थियौँ। आँगनमा पुलिस आइपुग्यो। पुलिससँगै हिरा सर र गाउँका धेरैजना हुनुहुन्थ्यो। गाउँका १५ जनाको हस्ताक्षर गरेर मिलापत्र गरियो। मिलापत्र भएपछि प्रहरी फर्किए, गाउँले घरघर गए। बेलुका बुबा र म सँगै सुत्यौँ। ममी नजिकैको टहरामा सुत्नुभयो। बिहान हजुरआमाले मलाई उठाउनुभयो। तिम्रो आमा अहिलेसम्म किन उठिन गएर बोलाएर लिएर आउ भनेर पठाउनुभयो। म टहरामा पुग्दा ममी ओछ्याननजिकै भुइँमा ढलिरहनुभएको थियो। मैले बोलाउँदा बोल्नुभएन। अलिअलि सास फेरिरहनुभएको थियो। मैले पानी खुवाएँ। आमाआमा भनेर बोलाएँ। उहाँ बोल्नुभएन।

म चिच्याएको सुनेर गाउँलेहरु जम्मा भए। गाउँलेहरुले पुलिसलाई खबर गरे। सबैजना जम्मा भएका थिए, त्यतिन्जेलसम्म मेरी ममीको मृत्यु भइसकेको थियो। मैले हिरा सरलाई देखाएर पुलिसलाई भनेँ, ‘मेरी ममीलाई डोरीले बाँधेर दिसा खुवाउने, टाउकोमा चिर्पटले हान्ने र छातीमा लात्तीले हान्ने मान्छे यही हो।’ मैले घटना सुनाएपछि हिरा सर भाग्न खोजे। तर, पुलिसले उनलाई पक्राउ ग¥यो। पुलिस अंकलहरुले बोलाएको हुनाले म हिजो (शुक्रबार) धुलिखेल आएको हुँ। तर, सँगै मेरो बुबालाई पनि भित्र थुनेर राखेको छ। किन थुनेको मलाई थाहा छैन।

कावासोती,मंसिर २६ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको देवचुली–१२ दलदलेस्थित बौलाहा खोलाको पुलमा ट्रकले ठक्कर दिँदा आज बिहान पुल भाँचिएको छ। पूर्वबाट पश्चिमतर्फ गुडिरहेको ना६ख ३०१७ नंको ट्रकले पुललाई ठक्कर दिँदा पुल झोलुङ्गो जस्तो बनेको छ।

पुल भाँचिएपछि यात्रुबाहक बस र मालबाहक ट्रक अलपत्र बनेका छन्। साना हल्का सवारी साधन भने पुल भाँचिएको भागभन्दा अर्को भागबाट सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए। बौलाहा खोलामा डाइभर्सन निर्माण गरेरमात्र सवारी साधन आवात जावत गराउन सकिने उनले बताए।

पुल भाँचिएपछि पूर्वपश्चिम राजमार्गको रजहर र कावासोतीसम्म सवारी साधनको लाम लागेको छ। भरतपुर कलेज पढ्न जाने विद्यार्थीसमेत रोकिएको विद्यार्थी झलक पौडेलले बताए। बिहान १० बजेसम्ममा डाइभर्सन बनाउने गरी काम थालिएको प्रहरीले जनाएको छ। रासस

काठमाडौं,मंसिर २६ । एमाले नेतृत्वको विपक्षी गठबन्धनले सरकारले दर्ता गराएको संविधान संशोधन सवधेयक फिर्ताका लागि दबाब दिन एक तिहाइभन्दा बढी सांसदको हस्ताक्षरसहितको संयुक्त वक्तव्य जारी गर्ने भएका छन् ।

संशोधनमा जनमत र संसद दुवै विपक्षमा रहेको पुष्टि गर्न उनीहरुले यस्तो तयारी गरेको आजको राजधानी दैनिकमा समाचार छ । यसका लागि विपक्षी गठबन्धनका सांसदहरुको हस्ताक्षर संकलन भइरहेको छ । श्रोतका अनुसार एक दुई दिनभित्रै उनीहरुले २ सय सांसदको हस्ताक्षरसहितको विज्ञप्ति जारी गर्दै छन् ।

एक तिहाइभन्दा बढी सांसदले संयुक्त वक्तव्य निकाली प्रस्ताव फिर्ता लिन आग्रह गर्ने तयारी गरेको एमालेका एक नेताले बताए ।

एजेन्सी,मंसिर २५ । स्पेनिस ला लिगामा बार्सिलोनाले ओसासुनामाथि गोलको बर्षा गरेको छ । शनिबार भएको खेलमा बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेसी र लुइस स्वारेज चम्किएपछि बार्सिलोनाले ओसासुनामाथि ३–० को जित निकालेको हो । बार्सिलोनाका लागि स्वारेजले एक र मेस्सीले दुई गोल गरे । ओसासुन्नाको घरेलु मैदानमा खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो ।

खेलको ५९ औँ मिनेटमा लुइस स्वारेजले गोल गरेर अग्रता दिलाएका थिए । यस्तै ७२ औँ मिनेटमा र इन्जुरी समयमा गोल गर्दै लियोनल मेस्सीले ३–० को जित दिलाए । स्पेनिस लिगमा नै राती ९ बजे भ्यालेन्सिया र रियल सोसिडाड तथा सवा ११ बजे लास पलामस र लेगन्सबिच खेल हुने छ । लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले राती साढे १ बजे डिप्रोटिभो लाकुरानासँग खेल्ने छ । गएको हप्ता बार्सिलोनाले रियल मड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको थियो । स्पेनिस लिगमा १५ खेल खेलेको बार्सिलोनाले ३१ अंक जोडेको छ ।

ला लिगा अन्तर्गत राति ९ बजे भ्यालेन्सिया र रियल सोसिडाडको खेल हुँदै छ भने ११ बजे लेगन्स र पालामसबीच खेल हुनेछ । लिगको शीर्ष स्थानमा रहेको रियल मड्रिडले भने राती १ः३० बजे डिप्रोटिभो लाकुरान सँग खेल्ने छ । १४ खेल खेलेको शीर्ष स्थानको रियलको ३४ अंक छ ।

काठमाडौं,मंसिर २५ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावको विरोध गरेको भन्दै प्रमुख विपक्षी दल नेकपा एमालेको कडा आलोचना गरेको छ । शनिबार तराई मधेस लोकतान्त्रिक पार्टीको केन्द्रीय कार्यालयमा बसेको मोर्चाको बैठकले एमालेले संविधान संशोधनको विरुद्धमा चलाएको आन्दोलन अतिवादी, विखण्डानकारी र उग्रवादी भएको भन्दै आलोचना गरेको हो ।

आन्दोलनलाई प्रतिक्रियावादीहरुले उत्पीडित जनतालाई अधिकार नदिनका लागि चलाइएको वितण्डाको संज्ञा समेत दिएको छ । बैठकले एमालेको आन्दोलनलाई शोषक वर्गले उत्पीडित जनताको विरुद्धमा चलाएको वितण्डा भएको निष्कर्ष निकाल्दै त्यसको निन्दा गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेले संशोधन प्रस्ताव राष्ट्रघाती भएको भन्दै देशव्यापी रुपमा आन्दोलन चलाउने निर्णय गरेकै बेला मोर्चाले राष्ट्रिय एकताालाई खलल पार्ने खालका कुनै पनि गतिविधि नगर्न समेत एमालेको ध्यानाकर्षण गराएको छ ।
‘ए ‘कुनै पनि प्रस्तावलाई संसदमा प्रस्तुत हुन नदिनु लोकतन्त्र र संसदीय अभ्यासको अपमान गर्नु हो’, मोर्चाले विज्ञप्तीमा भनेको छ, ‘यस्ता अलोकतान्त्रिक र निन्दनिय कार्यलाई तत्काल रोकिनुपर्छ ।’

टोकियो ।
परोपकारी कामको लागि सहयोग जुटाउन आयोजित सांस्कृतिक कार्यक्रममा जापानमा रहेका नेपालीहरुलाई गाउँदै नचाउन र हँसाउन चर्चीत गायक गायिका सहित हांस्य कलाकारको टोलि जापान आइपुगेको छ ।

भोली आइतबार हुने कार्यक्रमको लागि लोकप्रिय गायिका इन्दिरा जोशि सहित आधा दर्जन कलाकारहरु आज बिहान जापान आइपुगेका हुन् ।

कलाकारहरुलाई नारिता बिमानस्थलमा आयोजक संस्था रामेछाप समाज जापानका पदाधिकारी सहित युवा व्यवसायि भुवन अधिकारीले स्वागत गर्नुभएको थियो ।

पुस्पगुच्छा र खादा ओडाएर स्वागत गरिएका कलाकारहरु जापान आइपुगेपछि भोलि हुने कार्यक्रममा उपस्थित नेपालीहरुलाई नाच्न, गाउन र हँसाउन कुनै कसर बाँकी नराख्ने भन्दै उपस्थितिको लागि अनुरोध गरेका छन् ।

रामेछाप सांगीतिक साँझ २०१६ नाम दिइएको कार्यक्रमबाट आयोजकले ‘बाँचौं र बचाऔं, मानव सेवा नै हाम्रो धर्म हो’ भन्ने मूल नाराका साथ सिन्धुपाल्चोक जिल्लामा एम्बुलेन्स र स्वास्थ्य सामाग्री प्रदान गर्ने लक्ष्य राखेको छ ।

आयोजक संस्थाका अध्यक्ष उत्तम कुमार श्रेष्ठका अनुसार कार्यक्रममा नेपालबाट पप तथा आधुनिक गायिका इन्दिरा जोशी, गायक अल्मोडा राना उप्रेती, लोक तथा दोहोरी गायिका गीता सेन्चुरी, गायक तारा प्रकाश लिम्बु, लोक गायिका पार्वती कार्की, गायक अमृत खाती, गायिका सिर्जु अधिकारी, हाँस्य ब्यंग्य कलाकार मरिचमान श्रेष्ठ उर्फ बल्छी धुर्वे आइपुगेका छन् ।

कार्यक्रम भोलि आइतबार ११ तारिखका दिन टोकियोस्थित इकेगामी हलमा दिउँसो ४ बजेबाट सुरु हुने भएको छ ।

आयोजक संस्थाका तर्फवाट अध्यक्ष उत्तम कुमार श्रेष्ठले कार्यक्रम सफल बनाउन हालसम्म सहयोग गर्ने सबै सहयोगी र सुभेच्छुक प्रति धन्यवाद व्यक्त गर्दै भोलि हुने कार्यक्रम सफल बनाउन उपस्थितिको लागि अनुरोध सहित सामाजिक हितको लागि आयोजित कार्यक्रम सफल बनाउन सक्दो सहयोग गरिदिनुहुने समेत अनुरोध गर्नुभएको छ ।

टोकियो ।
नेपाली विद्यार्थी समाज जापानले ओकिनावामा अध्ययनरत समस्यामा परेका मनेपाली विद्यार्थीहरुलाई सहयोग अभियान सुरु गरेको छ ।

सो क्षेत्रमा अध्ययनरत नेपाली छात्रामाथि यौन शोषण तथा विभिन्न मानव अधिकार हनन समेत हुने गरेको खवरपछि विद्यार्थी समाजले सहयोगको अभियान सुरु गर्न लगेको हो ।

समाजले सो क्षेत्रका विद्यार्थीहरुको लागि सहयोग गर्न ओकिनावा सिटी संयोजक कृष्ण घिसिगं मार्फत सहयोग अभियान सुरु गरेको जनाएको छ ।

नेसाज अध्यक्ष दीपक विक्रम थापा क्षेत्रीको नाममा जारी विज्ञप्ति अनुसार सबै विद्यार्थीहरुलाई एकजुट हुन आग्रह समेत गरिएको छ ।

सहयोग लिनको लागि सम्पर्कमा आउन र आफ्ना समस्याहरु बताउन अनुरोध गर्दै समाजले ओकिनावा संयोजक घिसिंगको फोन नम्वर ०८०-४६९५-४०९७ मा सम्पर्क राख्न अनुरोध गरेको छ ।

जापान ओकिनावामा अध्ययनरत नेपाली युवतीहरुमाथि यौन शोषण र समस्यामा परेको खवर सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिनुका साथै नेपाली राजदूतावास जापानले समेत दोसी उपर कारवाहीको प्रक्रिया अघि बढाएको बताएको छ ।

टोकियो ।
जापानको ओकिनामा अध्ययनरत नेपाली युवतीहरुमाथि यौन शोषण र जापानी विद्यालयहरुले अनावश्यक दवाव दिएको विषयमा नेपाली राजदूतावासले बोलेको छ ।

टोकियो स्थित नेपाली राजदूतावासले ओकिनावाका नेपाली महिला विद्यार्थीहरु माथी हुने यौनजन्य शोषण सहित मानव अधिकार उल्लंघन गर्नेमाथि कडा कारवाहीको चेतावनी दिएको छ ।

टोकियो स्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णचन्द्र अर्यालले घटनाबारे दूतावासले जानकारी लिने काम भइरहेको बताएका छन् ।

कावा राजदूत अर्यालले नेपाली माथि भएका यौन हिंसामा संलग्न दोषीलाई कडा कारवाहीको लागि दूतावासले पहल थालेको बताए ।

दूतावासले दोसी उपर कारवाहीको लागि जानकारी लिने काम र जापानी अधिकारीहरुसँग समन्वयन गरिरहेको भन्दै कावा राजदूत अर्यालले जापानमा रहेका नेपालीहरुको हित तथा सुरक्षामा दूतावासले कुनै कसर बाँकी नराख्ने बताए ।

ओकिनावा क्षेत्रमा रहेका भाषा विद्यालयले नेपाली विद्यार्थीहरुको कागजात खोसेर राखेको बिषयमा ति विद्यालयहरुसँग जवाफ माग गरिने र आवश्यक कारवाहीको लागि समेत प्रक्रिया अघि बढाइने अर्यालले बताएका छन् ।

उनले यसको लागि जापानमा रहेका सबै संघसंस्था सहित नेपाली समुदायलाई सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

काठमाडौं,मंसिर २५ । दक्षिण एसियाली राष्ट्रमा वैवाहिक अंगीकृत नागरिकता प्रदान गर्ने मामलामा नेपालको संविधान सवैभन्दा लचिलो देखिएको छ । अन्य राष्ट्रले आफ्नो नागरिकसँग विदेश महिला विवाह गरेको निश्चित समयभित्र मात्रै अंगीकृत नागरिकता प्रदान गर्ने प्रावधान राखे पनि नेपालले भने त्यस्तो कुनै छेकबार राखेको छैन ।

दक्षिण एसियामा नेपाल एउटा मात्र त्यस्तो देश हो जहाँ विदेशी महिलाले नेपाली पुरूषसँग विवाह गरेलगत्तै नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउँने समाचार आजको नागरिक दैनिकमा छापिएको छ ।

‘वैवाहिक अंगीकृत नागरिकताका लागि निश्चित समय तोक्नुको खास अर्थ हुन्छ तर हामीकहाँ त्यस्तो कुनै व्यवस्था छैन,’ पूर्व कानुनमन्त्री अग्नी खरेलले भने,‘कुनै चिज परिपक्क हुन पनि समय चाहिन्छ ।

अंगीकृत नागरिकता पाउन सम्बन्धित देश बुझ्न पनि समय चाहिन्छ । राज्यलाई पनि नागरिकको आचरण बुझ्न समय चाहिन्छ । हामीकहाँ यो सबको लागि समय दिइएको छैन । बिहे गरेको भोलिपल्टै अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन सकिन्छ ।’

विश्वका प्रायः सबै देशले अंगीकृत नागरिकता प्रदान गर्न निश्चित समय तोकेको पाइन्छ । विदेशी महिलाले आफ्नो देशका नागरिकसँग विहे गरेको निश्चित समय वितेपछि मात्र अंगीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन पाउने व्यवस्था ती देशले गरेका छन् ।

नेपालबाहेका अन्य दक्षिण एसियाली राष्ट्र भारत, भुटान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, पाकिस्तान र अफगानिस्तान सबैले अंगीकृत नागरिकताका लागि निश्चत वर्ष तोकेको पाइन्छ ।

काठमाडौं,मंसिर २५ । सन् २०२१ भित्र नेपालमा तीनवटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा हुनेछन् । नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको चरणमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भने सञ्चालनमै छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तार र क्षमता वृद्धिको काम जारी छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी सन् २०१२ मा निर्माणको जिम्मा पाएको स्पेनिस कम्पनी सान होसे कन्सत्रक्तोराले तोकिएको अवधिभित्र केवल १६ प्रतिशत काम पूरा गरेको छ ।

प्राधिकरण भने सो कम्पनीसँग सम्झौता रद्द गरेर नयाँ प्रक्रियाबाट विस्तार आयोजना अगाडि बढाउने निष्कर्षमा पुगेको छ । प्राधिकरणका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले काम विभाजन गरी छुट्टाछुट्टै ठेक्का दिएर भए पनि सन् २०२० भित्र पहिलो चरणको काम सक्ने लक्ष्य राखिएको बताए ।

आयोजना सम्पन्न भएपछि टिआइएमा तीन सय मिटर धावनमार्ग हुनेछ भने अन्तर्राष्ट्रियतर्फ नौवटा पार्किङ एप्रोन, कन्भेयरबेल्ट, ट्याक्सी–वे, नयाँ टर्मिनल भवन, हवाई उडानका विभिन्न प्रविधि जडान हुनेछन् । टिआइएको विमानस्थल विस्तार र क्षमता वृद्धिको काम ६ अर्ब रुपैयाँभन्दा बढी लागतमा हुनेछ ।

भैरहवामा १ माघ ०७१ बाट सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणले गति लिएको छ । सन् २०१६ भित्र ४० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्य छ । आयोजना प्रमुख ओम शर्माले विमानस्थल निर्माण विनाअवरोध सञ्चालन भइरहेको जानकारी दिए । सुरुमा डिसेम्बर ०१७ सम्म सम्पन्न गर्ने लक्ष्य थियो । भूकम्प र नाकाबन्दीका कारण लक्ष्यको केही महिना ढिला काम सकिने आयोजनाले जनाएको छ।

विमानस्थल निर्माण गर्न चीनको नर्थवेस्ट कम्पनीले ६ अर्ब २२ करोड ५१ लाख २० हजार रुपैयाँमा ठेक्का पाएको हो । सो विमानस्थलमा तीन हजार मिटर लम्बाइ र तीन सय मिटर चौडाइको धावनमार्ग बन्दै छ । यो विमानस्थलको क्षमता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबराबरकै हुनेछ।विमानस्थल बनिसकेपछि टिआइएको हवाई चाप घट्नेछ ।

सन् २०२१ सम्म निर्माण सक्ने लक्ष्य राखिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियाले गति लिएको आयोजना प्रमुख दीपक अधिकारीले जानकारी दिए । इन्जिनियरिङ खरिद तथा निर्माण (इपिसी) मोडलमा निर्माण हुने विमानस्थलको पहिलो चरणमा डिजाइनको काम गरिनेछ ।

अधिकारीले भने, ‘डिजाइनको काम एक वर्षभन्दा कम समयमै सकाएर भौतिक संरचना निर्माणको कामलाई गति दिने लक्ष्य छ ।’ दुई हजार पाँच सय मिटर लम्बाइ र ५० मिटर चौडाइको धावनमार्ग रहने यो विमानस्थलमा बोइङ ७५७ मोडलसम्मका जहाज उडान–अवतरण गर्न मिल्नेछ ।

विमानस्थलमा एरोब्रिजयुक्त भवन र कार्गो भवन पनि निर्माण हुनेछ । यसबाहेक ट्याक्सी वे, अन्तर्राष्ट्रिय तथा आन्तरिक टर्मिनल भवन, एयर ट्राफिक कन्ट्रोलर टावर, एयरपोर्ट ह्यांगरजस्ता संरचना बन्नेछन् । विमानस्थल निर्माण गर्न ०३४ बाटै जग्गा अधिग्रहण तथा मुआब्जा वितरण थालिएको थियो ।

४० वर्षअघि ३ हजार १ सय रोपनी जग्गा अधिग्रहण गरेर राखिएको थियो भने ५ सय २१ रोपनी जग्गा पछिल्लो समय अधिग्रहण गरिएको छ । विमानस्थल बनाउन चीनको एक्जिम बैंकबाट २१ अर्ब रुपैयाँ उपलब्ध हुने भएको छ । यसमध्ये २५ प्रतिशत रकम नेपालले अनुदानस्वरूप प्राप्त गर्नेछ । बाँकी ७५ प्रतिशत रकममा भने नेपालले वार्षिक २ प्रतिशत ब्याज तिर्नुपर्नेछ ।