काठमाडौं, माघ २९ । सुन तस्करी प्रकरणमा तानिने डरले व्यवसायीले घर छोड्न थालेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार सुन तस्करीमा जोडिएका व्यावसायीले घर छाडेका हुन् ।

३३ किलो सुनसहित समातिएका भरियामाथि अनुसन्धान गरिरहेका एक अधिकारीले भने, ‘पक्राउ परेकाको वयानका आधारमा पाँचजना व्यावसायीको नाम खुलेको छ। तर उनीहरुलाई समाउन सकिएको छैन ।’

उनका अनुसार नाम जोडिएका व्यावसायीको नियमित निगरानी गरिए पनि उनीहरू केही समययता घरमा छैनन्। आरोपितमध्ये केही ठूला व्यावसायी रहेको प्रहरीको दाबी छ ।सुन तस्करीमा प्रयोग भएका अन्य भरियाबारे पनि प्रहरीले छानबिन गरिरहेको छ। ‘पाँचजना भरियाको परिचय खुलेको छ। तर उनीहरू कोही पनि नेपालमा रहेको बुझिएको छैन’, स्रोतले जानकारी दियो। सीआईबीले विदेशमा समेत उनीहरूको खोजी गरिरहेको छ ।

यसैबीच सीआईबीले सुन तस्करीमा पक्राउ परेकामध्ये वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीबाहेकसँग बयान लिइसकेको छ। निलम्बित एसएसपी खत्रीसँग बयान लिने काम भइरहेको सीआईबी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) नवराज सिलवालले जानकारी दिए ।

सीआईबी टोलीले पुस २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुनसहित तीनजना भरियालाई नियन्त्रणमा लिएको थियो आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

काठमाडौं,माघ २९ । संसद्मा प्रतिनिधित्व गर्न प्रतिनिधि सभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल खसेको मतको तीन प्रतिशत मत ल्याउनै पर्ने प्रावधानमा सहमति गरेका दलहरूले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ पनि एक सिट अनिवार्य ल्याउनुपर्ने व्यवस्थासहित राजनीतिक दलसम्बन्धी विधेयकलाई टुंग्याउने भएका छन्।

प्रमुख राजनीतिक दल कांग्रेस एमाले माओवादीका शीर्ष तहका नेताहरूको अनौपचारिक छलफलमा यस विषयमा सहमति भएपछि समितिले विधेयकलाई अन्तिम रूप दिने तयारी गरेको छ। व्यवस्थापिका संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन राजनीतिक दलसम्बन्धी विधेयकको छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपा यस विषयमा एकमत देखिएका हुन्।

राज्य व्यवस्था समितिका एक सदस्यका अनुसार तीन प्रतिशत समानुपातिकमा र १ सिट प्रत्यक्षतर्फ अनिवार्य जित्नुपर्ने व्यवस्थासहितको प्रतिवेदन संसद्मा पेस गरिँदै छ। संसद्मा विधेयक कहिले पठाउने भन्ने विषयमा भने समिति निर्णयमा पुगिसकेको छैन ।

मधेसवादी दलहरूसमेत यो व्यवस्थामा सहमत देखिएका छन्। तर, यो विधेयक पारित गर्नु भन्दा पहिला संविधान संशोधन विधेयक पारित गर्नुपर्ने उनीहरूको अडान छ। संघीय समाजवादी फोरमका प्रमुख सचेतक डा. शिवजी यादवले थ्रेसहोल्डमा मोर्चाको कुनै असहमति नभए पनि संविधान संशोधन विधेयक पहिला पारित गर्नुपर्ने अडान यथावत् रहेको बताए।

अन्य साना राजनीतिक दलले भने थ्रेसहोल्ड राखेर जनताको आवाजलाई छेकवार गरेको आरोप लगाउँदै आएका छन्। असहमति जनाउने दलहरूको ‘नोटअफ डिसेन्ट’सहित समितिको प्रतिवेदन संसद्मा लैजाने तयारी गरिएको छ। आजको राजधानी दैनिकमा समाचार छ ।

२८ माघ, काठमाडौ । काठमाडौँ उपत्यकासहित मुख्य सहरका यात्रुलाई सस्तो, सुलभ, स्तरीय र भरपर्दो नगर यातायात सेवा दिने गरी सरकारी स्तरबाट यातायात कम्पनी खुल्ने भएको छ । १० करोड रुपैयाँ सञ्चालन खर्च हुने गरी कम्पनी स्थापनाको अन्तिम चरणमा पुगेको संघीय मामिला तथा स्थानिय विकास मन्त्रालयका पूर्वाधार विकास महाशाखा प्रमुख जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

देशका विभिन्न ठूला सहरमा यात्रुको सहजताका लागि सरकारले सय वटा ठूला बस सन्चालन गर्ने यस अघिको प्रतिबद्धता अनुसार सेवा दिन थालिएको हो । ४० देखि ५० वटा सिट भएको र बस अपांगमैत्री र वातावरणमैत्री हुने श्रेष्ठले बताउनुभयो ।

काठमाडाैं, धनगढी, विराटनगर, नेपालगन्ज, पोखरा, बुटवल, जनकपुर, वीरगन्जलगायत सहरमा बस सञ्चालन गर्ने तयारी भइसकेको छ । यी सहरमा सरकारी बस चलाउने प्रक्रिया सुरु भएको र शुक्रबार प्रबन्ध पत्र तयार गरिने श्रेष्ठले बताउनुभयो । आउँदो आइतबार र सोमबार बस सञ्चालनका लागि कम्पनी दर्ता गर्ने तयारी पनि भएको उहाँले बताउनुभयो ।

सरकारले तत्कालका लागि ५० वटा बस चलाउन अनुदान दिने सहमति गरेको छ । यस्तै बस चल्ने रुटको बारेमा पनि छलफल भइरहेको छ । काठमाडौं उपत्यकामा भने रत्नपार्कलाई केन्द्र विन्दु बनाएर चलाउने तयारी भइरहेको छ ।

२८ माघ, काठमाडौ । दुग्ध विकास संस्थान अर्थात डिडिसीको निलो प्याकेटको दुध लिटरको ६४ रूपैयाँ पर्छ अझ फ्याटयुक्त हरियो प्याकेटको दूध (होलिमिल्क) खाने हो भने प्रतिलिटर ८० रूपैयाँ तिर्नुपर्छ । उपभोक्ताबाट लिटरको ८० रुपैयाँ असुल्ने दुग्ध विकास संस्थानले पशुपालक किसानलाई भने प्रति लिटर ३५/३६ रुपैयाँ मात्र थमाउँछ ।

पशुपालक किसानले उत्पादन गरेको दूधको बजार व्यवस्थापन गर्ने जिम्मेवारी पाएको दुग्ध विकास संस्थानबाटै किसान ठगिएको रुपन्देहीका पशुपालक किसान शशि पौडेलले बताउनुभयो । ‘दुःख गर्नेको हातमा जम्मा ३५/३६ रुपैयाँ, अनि दुग्ध विकास संस्थानले झण्डै दोब्बरमा बेच्छ, हामी किसान कति ठगिएका छौं’ पौडेलले भन्नुभयो ।

पशुपालक किसानबाट लिटरको ३६ रुपैयाँमा किनेको दूधबाट पनि चिल्लोपदार्थ अर्थात फ्याटको मात्रा झिेकेर मात्र दुध बजारमा पठाउने गरेको किसान बताउँछन् । दूधमा फ्याटको मात्रा चार प्रतिशत भन्दा बढी नै हुने र आधाजसो झिकेर मात्र बेच्ने गरेको किसानहरु बताउँछन् ।

ती फ्याटबाट नौनी तथा घिउ बनाएर संस्थानले अतिरिक्त लाभ उठाइरहेपनि दूध उत्पादक किसान भने हेरेको हेर्यै हुनुपरेको ललितपुरका पशुपालक किसान अम्बिका हुमागाईं बताउनुहुन्छ ।

तर दुग्ध विकास संस्थानले भने किसानले ३६ रुपैयाँमा दुध नदिने र दुधको गुणस्तर अनुसारको मूल्य तिर्नुपर्ने भएकाले संस्थानलाई किसानले भनेजस्तो मुनाफा नरहेको जनाएको छ । ‘किसानबाट दुध उठाउँदा नै ४५ देखि ६५ रुपैयाँ तिर्दै आएका छौं, धनगढीबाट दुध किन्दा १५ रुपैयाँ त ढुवानीमै लाग्छ, विक्रेतालाई प्रति लिटर दुई रुपैयाँ कमिसन दिनुपर्छ, यसरी लागत थपिदै जाने भएकाले संस्थानलाई नाफा छैन’ संस्थाका निमित्त उपमहाप्रबन्धक ईश्वरीप्रसाद अधिकारीले भन्नुभयो ।

इलाम, ताप्लेजुङ लगायत जिल्लाका किसानबाट संकलित दुध पनि चिस्यान केन्द्रमा भण्डारण गर्नुपर्ने, उपकरण चलाउनका लागि जेनेरेटर चलाउने पर्ने र ट्याङकरमा ल्याउँदा लागत थपिदै जाने उपमहाप्रबन्धक अधिकारीले बताउनुभयो ।

‘विराटनगरसम्म ल्याएपछि पनि सबै दुध विक्री हुदैन, त्यहाँ पाउडर बनाउनुपर्ने संस्थानको बाध्यता छ, एक किलो पाउडर बनाउन १२ लिटर दुध खपत हुन्छ । दुधलाई पाउडरमा परिणत गर्दा ४५ रुपैयाँ अतिरिक्त खर्च लाग्छ, उपमहाप्रबन्धक ईश्वरीप्रसाद अधिकारी भन्नुुहुन्छ ‘विराटनगरबाट ल्याएको पाउडर दुध काठमाडौमा पुनः प्रोसेसिङ गरेर विक्री गर्नुपर्छ’ दुध विक्री गर्न सोचेजस्तो सजिलो छैन, हामीले उपभोक्तालाई पनि ठगेका छैनौं र किसानलाई पनि ।’

दुग्ध विकास संस्थान, दुग्ध उत्पादक कृषकबाट उत्पादित दूधको बजार व्यवस्थापन गर्न र उपभोक्तालाई स्वच्छ र प्रशोधित दूध तथा दुग्ध पदार्थ आपूर्ति गर्ने उद्देश्यले तत्कालीन दुग्ध विकास बोर्ड संस्थान ऐन अनुसार २०२६ सालमा दुग्ध विकास संस्थान गठन भएको हो । संस्थानले अहिले विभिन्न दुग्ध पदार्थ सहित दैनिक १ लाख लिटर स्ट्यान्डर्ड दुध र झण्डै २० हजार लिटर होलीमिल्क विक्री गर्दै आएको छ ।

२८ माघ, काठमाडौ । चन्द्रागिरी हिल्स लिमिटेडले चन्द्रागिरी केबलकारमा फागनु महिनाभर विशेष छुटेको व्यवस्था गरेको छ । फागनु महिनाको सोमबार, मंगलबार, बुधबार र बिहीबार पहिलाआउने दुई सय दर्शनार्थीहरुका लागि ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराउने जनाएको छ । योसँगै सात सय रुपैयाँ पर्ने टिकट तीन सय रुपैयाँमा उपलब्ध गराउने चन्द्रागिरी हिल्स लिमिटेडले जनाएको छ ।

यस सुविधाअन्तर्गतको टिकटकम्पनीको थानकोटस्थित टिकट काउन्टरबाट मात्र लिनु पर्नेछ । एकजना यात्रुले एउटा मात्र टिकट लिन सक्ने कम्पनीले जनाएको छ ।

२८ माघ, बैतडी । बैतडी सदरमुकामको मुख्य बजार गोठलापानी र शाहीलेक जोड्ने २ किलोमिटरको चक्रपथ उन्नाइस वर्षमा पुरा भएको छ । दशरथचन्द नगरपालिकाले उक्त सडक निर्माण ०५४ सालमा निर्माण थालेको थियो । सडकको ४ सय मिटर क्षेत्रमा स्थानीयबीच विवाद अधुरै रहेको सडक निर्माण कार्य स्थानीयले अगुवाई गरेपछि निर्माण कार्य सम्पन्न भएको हो । गोठलापानीदेखि आइत, बाडीलेक हुँदै शाहीलेक जोड्ने सडक नगरपालिका गठनसँगै सुरु गरेको हो । थोरै बजेट र स्थानीयबीच जग्गा विवादले निर्माण काम हुन सकेको थिएन । निर्माण हुन नसकेको बाडीलेक खण्डको काम हालै सकिएको छ । नगरपालिकाको स्काभेटर र जिविसले डिजल खर्च दिने सर्तमा अधुरो ४ सय मिटर पूरा गरेको स्थानीय जनकराज भट्टले बताउनुभयो शाहीलेकबाट गोठलापानी र झुलाघाट जाने वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न चक्रपथ बनाउन सुरु गरिएको थियो ।

२८ माघ, काठमाडौ । हिन्दू धर्मावलम्बीले प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि श्रद्धापूर्वक वाचन र श्रवण गर्दै आएको श्रीस्वस्थानी व्रतकथा आज पूजाआजा गरी सम्पन्न गरिँदैछ । व्रत बस्ने प्रत्येक महिला (पुरुष पनि) ले महिनाभरि स्नान गरी मध्याह्न श्रीस्वस्थानीको पूजा गरी एक छाक खाएर बसेका खण्डमा पुण्य मिल्ने तथा मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउनाका लागि विष्णुको सल्लाहानुसार निराहार रहेर स्वस्थानीको व्रत गर्दा आफ्नो मनोकाङ्क्षा पूर्ण भएको र पछि उहाँले लोककल्याणका निम्ति सो व्रतकथा प्रचारप्रसार गराई गरिब तथा दुःखीको उद्धार गर्नुभएकाले परम्परागत रूपमा यो कथा प्रचलित हुँदै आएको मानिन्छ । आज व्रत समाप्तिका दिन श्रीस्वस्थानीको पूजा गरी चढाइने एक सय आठ–एक सय आठ रोटी, पान, कुड्का सुपारीलगायत सामग्रीमध्ये आठ–आठ रोटी, सुपारी र पानलगायत सामग्री आफ्ना श्रीमानलाई, श्रीमान नभए छोरालाई, छोरा पनि नभए मीत छोरालाई दिने र मीत छोरा पनि नभए आफ्नो इच्छा पूरा होस् भनी खोलामा लगेर बगाइदिने र बाँकी व्रतालु स्वयम्ले खाने प्रचलन छ ।

२८ माघ, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आज स्थापना दिवस मनाइदैछ । यस अवसरमा आज विहानै काठमाडौंमा प्रभातफेरी निकालिने भएको छ । रत्नपार्कस्थित शान्तिबाटिकाबाट शुरु भएको (याली नगरको परिक्रमा गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टंगालमा पुग्ने तयारी छ । अख्तियार दिवस दाङ लगायत देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्थापना भएको २६ वर्ष पुगेको अवसरमा भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशील संघसंस्थालहरुले बिबिध कार्यक्रम गरी यो दिवस मनाउन लागेका छन् । अख्तियारमा लोकमानसिंह कार्की निल्मित भएपछि अहिले प्रमुख आयुक्त खाली छ । आज प्रधानमन्त्री डा पुष्पकमल दाहाल प्रचण्डको आतिथ्यतामा स्थापना दिवसको मूख्य कार्यक्रम हुँदैछ ।

काठमाडौं,माघ २७ । नेपाल प्रहरीको नयाँ नेतृत्व चयनको विषयमा विमलेन्द्र निधि आफ्नो अडानबाट पछि हट्दै जयबहादुर चन्दको पक्षमा उभिएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको वचन हार्न नसकेपछि गृहमन्त्री निधीले फागुन ३ गतेदेखि रिक्त हुन लागेको नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने प्रस्ताव तयार गर्न गृहमन्त्री निधिले गृहसचिवलाई निर्देशन दिएका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरीको नयाँ नेतृत्वमा चन्दलाई बढुवा गर्ने अडानमा अडिग रहेपछि डिआईजी नवराज शिलवालको पक्षमा उभिदै आएका गृहमन्त्री निधि आफ्नो अडानबाट पछि हट्न पुगेका हुन् । ‘अब आइतबार बस्ने मन्त्रिपरिषद बैठकले त्यसमाथि निर्णय गर्नेछ ।’

कांग्रेसका दुई नेताबीच उत्पन्न तिक्ततालाई साँघुरो बनाउन सरकारमा रहेका देउवा पक्षमा मन्त्रीहरू बालकृष्ण खाँड र प्रकाशशरण महतलगायतका नेताहरूले दुबै नेताहरूको बिचमा समन्वय गरेका थिए।

काठमाडौं,माघ २७ । नेपालले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सार्वजनिक गरेको नयाँ वरियताक्रममा दुई स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय खेलको नतिजालाई आधार मानेर मासिक रुपमा सार्वजनिक गरिने फिफा वरीयतामा नेपालले फड्को मारेको हो । फिफाले जारी गरेको फेब्रुअरी महिनाको नयाँ वरीयतामा नेपाल दुई स्थानमा माथि उक्लद १७३ औं स्थानमा पुगेको छ। यसअघि नेपाल १ सय ७५ स्थानमा थियो । यसपटकको वरियतामा एक स्थान तल झरेपनि भारत दक्षिण एसियामा सबैभन्दा माथि १ सय ३० औं स्थानमा छ।

माल्दिभ्स ५ स्था न माथि उक्लदैँ १ सय ४० औं स्थानमा पुगेको छ। यसअघि माल्दिभ्स १ सय ४५ स्थानमा रहेको थियो । एक स्थान तल झरेको भुटान १७७ औं स्थानमा छ भने बंगलादेश १९० औं स्थानमा यथावत छ। श्रीलंका १९६ औं स्थानमा कायम छ भने पाकिस्तान एक स्थन तल झर्दै १९८ औं स्थानमा छ।

दक्षिण एसिया छाडिसकेको अफगानिस्तान १५१ औं स्थानमा यथावत छ। विश्व वरियताक्रमको शीर्ष स्थानमा विश्वकपको उपजिवेता अर्जेन्टिना रहेको छ । ब्राजिल दोस्रो तथा जर्मनी तेस्रो स्थानमा यथावत छ। एएफसी एसियन कप छनोटको लागि नेपालको समूहमा रहेको फिलिपिन्स १२२ औं स्थानमा यथावत छ भने ताजिकिस्तान १ स्थान तल झर्दै १३३ औं स्थानमा छ। यस्तै यमन एक स्थान सुधार गर्दै १४८ औं स्थानमा छ।

काठमाडौं,माघ २७ । आइसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत केन्यासँग हुने खेलका लागि कप्तानमा पारस खड्काको नेतृत्वमा २४ जना खेलाडी छानिएका छन्। आगामी फागुन १ गतेबाट सुरुहुने क्लोज क्याम्पको लागि ५२ खेलाडीलाई राष्ट्रिय टोलीको छनोटका लागि ४ टोलीमा विभाजन गर्दै सुपर लिगको माध्यमबाट २४ खेलाडी छानिएको हुन् ।

खेलाडी छनोटमा आइसिसिको प्रतिनिधि भेनकटपपति राजुको उपस्थितिमा कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटाको सहभागिता रहेको थियो । खेलाडी छनौट गर्न गएको ६ गतेदेखि ११ गतेसम्म सुपर लिग खेल खेलाइएको थियो । गएको वर्ष खेलाडीले गरेका प्रस्तुतिका आधारमा सुपर लिगका लागि ५२ खेलाडी छनौट भएका थिए ।

राष्ट्रिय टोलीमा पुनरागमनको प्रयासमा रहेका सुवास खकुरेल, नरेश बुढायर, अनिल मण्डल र पृथु बास्कोटा टोलीमा पर्न सकेनन् । यस्तै यू-१९ मा राम्रो प्रदर्शन गरेपनि ललितसिंह भण्डारी, सुशील कँडेल र सोनु तामाङ पनि टोलीमा परेनन् ।

को-को परे उत्कृष्ट २४ मा ?

पारस खड्का

ज्ञानेन्द्र मल्ल

आरिफ शेख

अमित श्रेष्ठ

सुसन भारी

दिलिप नाथ

मेहबुब आलम

करण केसी

आशिफ शेख

सागर पुन

भुवन कार्की

शरद भेषावकर

कुशल भुर्तेल

बिक्रम शोब

शक्ति गौचन

अभिनाश कर्ण

सोमपाल कामी

सुनिल धमला

दिपेन्द्र सिंह ऐरी

बसन्त रेग्मी

दिपेश श्रेष्ठ

राजेश पुलामी मगर

बिनोद भण्डारी

सन्दिप लामिछाने

छनोट भएको

नयाँ सदस्यका रुपमा अमित श्रेष्ठ, दिलिप नाथ, कुशल भुर्तेल र दिपेन्द्र श्रेष्ठ छन् । कुशल र दिपेन्द्र यू-१९ टोलीबाट हुन् भने अमित र दिलिपनाथ घरेलु प्रतियोगिता खेल्दै आएपनि सिनियर टोलीबाट खेलेका छैनन् । यस्तै यू-१९ मा उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह ऐरी पनि टोलीमा पर्न सफल भएका छन् । २४ खेलाडीको बन्द प्रशिक्षण फागुन १ गतेबाट सुरु हुनेछ र अन्तिम १४ खेलाडी छनौट गरिनेछ ।

काठमाडौं ।
काँग्रेस सभापती शेरबहादुर देउवाले बरिष्ठता तथा चरित्रका आधारमा समेत अब्बल मानिएका नवराज सिलवालको ठाउँमा जयबहादु चन्दलाई नेपाल प्रहरीको महानिरिक्षकमा नियुक्त गर्न दबाव दिएका छन् ।

काँग्रेस निकट रहेको र देउवाको क्षेत्रको आधारमा सुदुरपश्चिमको भन्दै देउवाले गृहमन्त्री बिमलेन्द्र निधिलाई चन्दलाई आइजीपीमा नियुक्त गर्न चर्को दबाव दिएका छन् ।

नेपाल प्रहरीको महानिरीक्षक कसलाई बनाउने भन्नेबारे प्रधानमन्त्री पुष्पकमल दाहालले आजै मन्त्रीपरिषद बैठकबाट निर्णय गराउने तयारी गरेकोमा देउवासँग बिवाद भएपछि आज बस्ने मन्त्रिपरिषद बैठकनै स्थगित गरिएको छ ।

यही साता अवकाश पाउन लागेका प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालका ठाउँमा बरियताका आधारमा डीआइजी नवराज सिलवाललाई आइजीपी बनाउनुपर्ने अडानमा प्रधानमन्त्री दाहाल देखिएका छन् ।

प्रहरी संगठनभित्र पार्टीले हस्तक्षेप गर्न नहुने र संगठनमा अहिलेसम्म रहेको व्यवसायिकता एवं चेन अफ कमाण्डलाई बिगार्न नहुने प्रधानमन्त्रीले देउवालाई बताएको बुझिन्छ ।

प्रहरीको चेन अफ कमाण्डलाई ख्याल गर्दै सिलवाललाई नै आइजी बनाउनुपर्ने देउवाले बताए पनि देउवाले चाहिँ तेस्रो बरियतामा रहेका बिवादास्पद छविका डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउन प्रधानमन्त्रीलाई दबाव दिएका छन् ।

सिलवाललाई आइजीपी बनाउन प्रस्ताव आए मन्त्रिपरिषद बैठकमा बिरोध गर्न आफ्ना मन्त्रीलाई निर्देशन समेत दिएका देउवाले दोस्रो बरियताका प्रकाश अर्याललाई आइजीपी बनाउन गरिएको दाहालको प्रस्ताव समेत नमानेको बताइएको छ ।

विहीबार बिहानै बालुवाटार पुगेका मुख्यसचिव सोमलाल सुवेदीलाई प्रधानमन्त्रीले बैठक स्गथित भएको सूचना मन्त्रीहरुलाई दिन भनेपनि देउवासँग प्रधानमन्त्रीको विवाद थप चुलिएको प्रष्ट भएको छ ।

नेपाली कांग्रेसका नेताहरुले विगतमा प्रहरीको सरुवा र बढुवामा पैसाको चलखेल गर्ने गरेको समाचारहरु बाहिर आएका थिए । यसपटक बरियतानै मिचेर नेतृत्व फेर्न कस्सिएको काँग्रेस नेतृत्वले यो पटक कत्तिको आर्थिक लेनदेन गरेको छ अहिलेनै खुलिसकेको छैन ।

काँग्रेस निकट तथा क्षेत्रगत आधारमा आफ्नो क्षेत्रका चन्दलाई आइजीपी बनाउन पाए छिट्टै गर्ने भनिएको स्थानिय तथा संसदीय चुनाव आफ्नो पक्षमा पार्न सकिने लोभले देउवाले चन्दलाई काखि च्यापेका छन् । यसमा चन्दले समेत आफुलाई आईजीपी बनाए जुनसुकै सहयोग गर्ने बताएका कारण देउवा उनलाई आइजीपी बनाउन मरिहत्ते गरेर लागेको प्रहरीका उच्च अधिकारीहरुले नै बताउने गरेका छन् ।

देशभरिका २६ डीआइजीमध्ये नवराज सिलवाल पहिलो बरियतामा छन् भने दोस्रोमा प्रकाश अर्याल र तेस्रोमा जयबहादुर चन्द छन् । केही समय अघि मात्र नेपाल प्रहरीको आइजीपी बन्नकै लागि भारतीय आशिर्वाद लिन भारत समेत गएका चन्द नेपाल प्रहरीभित्र समेत आर्थिक तथा विभिन्न गैर कानुनी काण्डमा मुछिएका विवादास्पद व्यक्ति हुन् ।