स्याङ्जा, फागुन २० । ‘चुनाव हारेर म मरेकी होइन। आजसम्म मलाई जसले जस्तो व्यवहार गरे पनि कसैलाई नभनी सहेरै बसेकी थिएँ। बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदी, भाउजू र साथीहरू, मलाई माफ गरिदिनू। तपाईंहरूबाट धेरै टाढा जाँदैछु’ भन्ने आशयको पत्र लेखेर १९ वर्षीया रिमा क्षत्री बिहीबार बिहान आफ्नै घरको बार्दलीमा मृत अवस्थामा भेटिइन्।

बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलीमा सलको पासो लगाएको अवस्थामा उनलाई भेटिएको प्रहरीले जनाएको छ। स्वतन्त्र विद्यार्थी युनियनको बुधबार भएको निर्वाचनमा सिद्धार्थ बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघका तर्फबाट अध्यक्ष पदकी उम्मेदवारसमेत हुन् उनी। अखिलकी प्रतिष्ठा कार्कीसँग उनी पराजित भएकी थिइन्।

आफ्नो पराजयलाई स्वीकारेकी उनी सोही दिन साँझ सदरमुकाम आएकी थिइन्। सदरमुकामस्थित त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनील चापागाईं विजयी भएपछि उनको विजयी र्यालीमा सहभागी भएर साँझ ८ बजेपछि साथीहरूसँगै उनी घर फर्केकी हुन्। घर पुग्नुअघि नै उनका बाबु भीम क्षत्री छोरीलाई लिन बाटोसम्म आएका थिए।

बाबुछोरी सँगसँगै घर पुगेपछि भोलि बिहान निर्वाचनका कुरा गरौंला, आज थकाइ लागेको छ भन्दै उनी सुत्न गएको बाबु भीमले रुँदै भने। ‘बाबा यसपटक म हारें। अर्कोपटक चुनावमा उठेर जित्छु भन्दै हातमा नेविसंघको झन्डा देखाएकी छोरीको यो दुर्गतिको दिन देख्नुपर्यो’ भन्दै बाबु पिरोलिएका छन्। आमा अर्धचेत छिन्। बाबु पनि २ पटकसम्म बेहोस भएर लडे।

स्याङ्जाको फेदीखोला गाविस ९ स्थित डाँडागाउँकी क्षत्री फेदीखोलास्थित सिद्धार्थ बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययरत थिइन्। अत्यन्त सुन्दर, बोलीमा मिठास, पढाइमा जेहेनदार छात्रा थिइन् उनी। विद्यालय, क्याम्पस होस् वा घरपरिवार पनि उनी अत्यन्त मिलनसार र सहयोगी भएको बताउँछिन् स्थानीय रेखा थापा। फेदीखोलाबाटै एसएलसीपछि स्नातकसम्म अध्ययन गरेकी हुन् उनले।

बिहीबार बिहान बाबु, आमा र छोरीले सँगै चिया पिएका थिए। त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे। आमाले रिमालाई सँगै मिल जान आग्रह गर्दा शरीरभरि अबिरैअबिर छ। म नुहाइधुवाइ गर्छु। हजुरहरू जानुस् भनेर पठाएपछि घटना भएको हुनसक्ने प्रहरी निरीक्षक सुनीलकुमार प्रधानले बताए। धेरै समयसम्म रिमालाई नदेखेपछि भाउजूले खोजी गर्दै कोठामा जान लाग्दा बार्दलीमा सलको पासोमा झुन्डिएको अवस्थामा उनी भेटिएकी हुन्।

जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा बिहीबार साँझ उनको अन्त्येष्टि गरिएको छ। बहिनीलाई यो अवस्थामा पुर्याउन बाध्य पार्ने व्यक्ति खोजी गरी कारबाही गर्न अनुरोध गर्दै उनका दाजुले बिहीबार प्रहरीमा जाहेरी दिएका छन्।

उनका एक दिदी, ३ दाजु र भाउजूहरू छन्। सबैकी प्रिय रिमाको मृत्युको खबरले परिवार र गाउँ नै शोकाकुल छ।मृत्यु किन र के कारणले हुन पुगेको हो भन्ने अनुसन्धानपछि थाहा हुने र अनुसन्धान सुरु गरिसकिएको प्रहरी उपरीक्षक देवबहादुर बोगटीले बताए आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।

काठमाडौं,फागुन २० । साढे ३३ किलो सुन तस्करीमा राजधानीमा चारवटा सुनपसलको संलग्नता खुलेको छ । तस्करीमा आरके ज्वेलर्स, सालिमार ज्वेलर्स, वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेस र साइराम ज्वेलर्सको संलग्नता खुलेको हो । वैभव लक्ष्मीका बाहेक सबै पसलका सञ्चालक फरार छन् । प्रहरीले बुधबार न्युरोडस्थित वैभव लक्ष्मी गोल्ड एन्ड सिल्भर प्यालेसका सञ्चालकहरू राजेश शाक्य, सुनील श्रेष्ठ, मनोज श्रेष्ठ र नारायण श्रेष्ठलाई पक्राउ गरेको छ । त्यही पसलका अर्का सञ्चालक प्रमोद श्रेष्ठ भने फरार छन् ।

विशालबजारस्थित आरके ज्वेलर्स र दरबारमार्गस्थित आरके डायमन्डका सञ्चालक राजेन्द्र शाक्य र मलिका बज्राचार्य शाक्य, शालिमार ज्वेलर्सका सञ्चालकहरू रामकृष्ण गोयल, कुसुम गोयल र राहुल गोयल पनि फरार छन् । त्यस्तै, ओटुस्थित साइराम ज्वेलर्सका सञ्चालक अमोल विभुते भाइचन्द्र पनि फरार छन् । प्रहरी प्रधान कार्यालयको सिआइबीले उनीहरूविरुद्ध मुद्दा चलाउन बिहीबार जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा राय प्रतिवेदन बुझाएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

उनीहरूमध्ये वैभवका प्रमोद श्रेष्ठ ओसारपसारमै संलग्न व्यक्ति हुन् भने आरके र शालिमार ज्वलेर्सका सञ्चालकहरूले चोरीको सुन बेच्दै आएका थिए । साइरामका विभुतेले तस्करीको सुन गाल्ने काम गर्दथे । शालिमार ज्वेलर्सका कर्मचारी राजेन्द्र बोगटी तथा आरके ज्वेलर्सका सञ्चालक समिर श्रेष्ठ तस्करीमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ । तस्करीका प्रमुख एजेन्ट रामहरि कार्की पक्राउ परेलगत्तै उनीहरू मालिकसगै लुक्न भारत गएका छन् ।

सम्पत्ति पनि छानबिन सुरु

प्रहरीले सुन तस्करीमा संलग्नहरूको सम्पत्ति छानबिन सुरु गरेको छ । कुनै समय ट्याम्पो ड्राइभर रहेका पर्वतका गुप्तलाल (रोशन) भुसालले काठमाडौंमै करोडौँको सम्पत्ति जोडिसकेका छन् । सामाखुसीमा उनले एक रोपनी जग्गामा भव्य घर बनाउँदै थिए । उनले सामाखुसीको मुख्य सडकमा घर किनेका छन् । त्यस्तै, हरि खड्काको लाजिम्पाटमा एउटा घर भेटिएको छ । सिआइबीले मालपोत कार्यालयमार्फत उनीहरूको घरजग्गाको विवरण लिएर सम्पत्ति शुद्धीकरण अनुसन्धान मुद्दामा छानबिन अघि बढाएको छ ।

३३ विरुद्ध मुद्दा चल्ने

साढे ३३ किलो सुन तस्करीमा ३३ जना संलग्न रहेको निष्कर्ष सिआइबीको छ । जसमध्ये १२ जना पक्राउ परेका छन् भने २१ जना फरार छन् । सिआइबीले एक एसएसपी, तीन भन्सारका कर्मचारी तथा अन्य आठजना कारोबार र ओसारपसारमा संलग्न हुनेलाई पक्राउ गरिसकेको छ । सिआइबीले अनुसन्धान पूरा गरी रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको छ । पक्राउ परेका १२ तथा अन्य फरार २१ विरुद्ध मुद्दा चलाउन सिआइबीले सरकारी वकिललाई राय दिएको हो ।

सिआइबीले गत २१ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको ३३ किलो ५ सय ७७ दशमलव ४० ग्राम सुन बरामद गरेको थियो । विमानस्थलबाट सुन तस्करीमा सघाएको आरोपमा एसएसपी श्याम खत्री, भन्सारका कर्मचारीहरू श्रीनारायण यादव, राजकुमार ढकाल र श्यामकृष्ण श्रेष्ठ पक्राउ परिसकेका छन् । तस्करका मुख्य एजेन्ट रामकृष्ण कार्की सिआइबी हिरासत छन् । सुन तस्करीमा भरियाका रूपमा काम गर्ने दिलबन्धु थापा, सन्तोष काफ्ले र गोपालबहादुर शाहीलाई २१ पुसमै सिआइबीले पक्राउ गरेको थियो । मुख्य एजेन्ट कार्कीले उत्तरढोकास्थित दरबार दोहोरी साझबाट विभिन्न सुनपसलमा तस्करीको सुन बिक्री गर्दै आएका थिए ।

काठमाडौं,फागुन २० । संविधान संशोधन प्रस्तावबाट पछि हटेपछि सत्ता गठबन्धन भित्रको राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्व सरकारको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ । प्रधानमन्त्रीसँग चरम रूपमा चिढिएको र केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्दा आफ्नो माग सम्वोधन हुने आश्वासन पाएपछि दाहाल नेतृत्वमा माओवादी केन्द्र–कांग्रेस गठबन्धनलाई बाहिरबाट समर्थन गरेको मोर्चाकै भाषामा राप्रपाले अभिव्यक्ति दिएर आगामी दिनमा नयाँ सत्ता समिकरणको खेल प्रारम्भ हुन सक्ने संकेत दिएको छ ।

राप्रपा संसदीय दलका प्रमुख सचेतक दिलनाथ गरिले अन्नपूर्णसँग भने, ‘मधेसवादीलाई सत्ता पक्षले सहमतिमा ल्याउन नसक्ने स्थिति प्रष्ट भएको अवस्थामा सत्ता समिकरणको सम्भावना छ । यसका लागि अनौपचारिक सहमति बन्दै गएको छ ।’

पूर्वनिर्धारित वैशाख ३१ का लागि तय गरिएको स्थानीय निर्वाचन नविथोलिने गरी सत्ता समिकरण हुन सक्ने उनले बताए। २०७४ माघ ७ भित्र स्थानीय, प्रान्तिय र केन्द्रीय संसद्को निर्वाचन गराउँदै संविधान कार्यान्वयनमा बल पुर्याउनु राप्रपाको एक मात्र उद्देश्य रहेको जनाउँदै गिरीले दुई सातायतादेखि एमाले तथा माओवादी केन्द्रबीच शीर्ष तहमा सत्ता समिकरणको फेरबदलका लागि सधन वार्ता भइरहेको जनाउ दिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

प्रमुख प्रतिपक्षी दल एमाले नेता केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहालसहित दुबै पार्टीका नेताबीच सत्ता परिवर्तनकै उद्देश्य रहेको जानकारी स्रोतले दिएको छ । द्विपक्षीय अनौपचारिक सहमतिमै प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनको मिति तोक्ने र संविधान संशोधनको जगमा बनेको आफ्नो सरकार त्यसबाट पछि हट्ने बुधबार सत्ता गठबन्धन र मोर्चाको संयुक्त बैठकमा जनाउ दिएका थिए ।

मोर्चाले दाहाललाई फागुन मसान्त भित्र संशोधन नभए चैत पहिलो सातासम्म सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिइसकेको छ । मोर्चाले समर्थन फिर्ता लिए लगत्तै राप्रपा र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले समर्थन फिर्ता बारेमा समीक्षा गर्ने भएका छन् । तर सम्भावित नयाँ गठबन्धनमा विरोधाभासहरू पनि त्यतिकै छन् । एमालेसँग आक्रोसित मोर्चा र संशोधनको पूर्व शर्त नमानकै कारण दाहाल सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिने स्थितिमा पुगेको मोर्चा तत्कालका लागि दाहालकै नेतृत्वमा तटस्थ रहेर समर्थन गर्नुपर्ने बाध्यता पनि बन्दै गएको छ ।

ओली—दाहालबीच कांग्रेसलाई सत्ताबाट अलग्याएर केही महिनाका लागि दाहाल र त्यसपछि एमालेमा सत्ता हस्तान्तरणको गोप्य सहमति भइसकेको दाबी स्रोतको छ ।

काठमाडौं ।
विश्व लिग च्याम्पियनशिपको तयारीका लागि भारतमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो तेस्रो अभ्यास खेलमा नोयडा वानडर क्रिकेट क्लबलाई ४० रनले पराजित गरेको छ ।

ग्रेट नोयडा स्थित, गौतम बुद्ध विश्वविद्यालयको मैदानमा बिहिबार भएको तेस्रो खेलमा पहिलो ब्याटिङ्ग गर्दै नेपालले निर्धारित ५० ओभरमा ४ विकेटको क्षेतीमा २ सय ४८ रन बनाएको थियो ।

नेपालका शुरुआती ब्याट्स् म्यान शुनिल धमलाले सर्वाधिक ७४ रनको योगदान गर्दै अर्ध शतक पुरा गरेका थिए ।

प्रतिउत्तरमा नोयडा वानडर क्रिकेट क्लबले ४७.२ ओभरमा २ सय ८ रन बनाउँदा सबै विकेट गुमाउन पुग्यो ।

नेपालका बलर सोमपाल कामीले सर्वाधिक ३ विकेट लिएका थिए ।

नेपाल पहिलो खेलमा भने राजवाडा संग ४७ रनले पराजित भएको थियो भने राजवाडा संगै भएको दोस्रो खेलमा नेपाल ८३ रनले विजयी भएको थियो ।

विश्व लिग चयाम्पियनशिप अन्तर्गत नेपालले क्यन्या संग यहि फागुन २८ र ३० गते कीर्तिपुरमा दुई वटा खेल खेल्ने छ ।

काठमाडौं ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका एक व्यक्तिमा स्वाइन फ्लु देखिएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले ललितपुरका एक पुरुषमा स्वाइन फ्लुको भाइरस पुष्टि भएको जानकारी दिनुभयो ।

स्वाइन फ्लु सरुवा रोग एक अर्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाच्छ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने डा. पुनले बताउनुभयो ।

काठमाडौं ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग मीनभवन, काठमाडौका शाखा अधिकृत अर्जुन प्रसाद रिजाल २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

उनलाई महा ड्राइभिङ सेन्टरको सोह्रखुट्टेको दर्ता गर्ने प्रयोजनका लागि घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय टंगाल काठमाडौंको टोलीले पक्राउ गरेको आयोगले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

विभिन्न बहानामा घुस लिने गरेको भन्ने उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

काठमाडौं ।
निर्वाचन आयोगले अल्पसंख्यकको परिभाषा गरिदिन सरकारलाई पत्र पठाएको छ ।

नयां संविधान अनुसार अल्पसंख्यकको परिभाषा भइनसेकाले आयोगको आज बसेको बैठकले संविधानको धारा ३०६ अनुसार अल्पसंख्यकको परिभाषाका लागि सरकारलाई पत्र पठाउने निर्णय गरेको आयोगका सचिब गोपीनाथ मैनालीले जानकारी दिनुभयो ।

स्थानीय तहको निर्बाचनमा महिला दलित आदिवासी अल्पसंख्यक लगायतको प्रतिनिधित्व हुने व्यवस्था रहेको छ ।

काठमाडौं ।
विश्व बैंकले स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम कार्यान्वयनका लागि करिव १५ अर्ब ९३ करोड रुपियाँ ऋण सहयोग प्रदान गर्ने भएको छ ।

ऋण सहयोग सम्बन्धी सम्झौतामा आज अर्थ मन्त्रालयमा अर्थसचिव डा। शान्तराज सुवेदी र विश्व बैंकको नेपालस्थित कार्यालयका राष्ट्रिय प्रबन्धक ताकुया कामाताले हस्ताक्षर गर्नुभयो ।

नेपाल स्वास्थ्य क्षेत्र रणनीति अनुरुप सबैमा आधारभूत स्वास्थ्य सेवाको पहुँच पु¥याउने लक्ष्य प्राप्तिका लागि सरकारले परिणामका लागि स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधार कार्यक्रम तयार गरेको हो ।

सुर्खेत ।
कामदार वीच भएको आपसी विवाद मिलेपछि तीन देखि अवरुद्ध भेरी–बबई डाईभर्सन आयोजनाको निर्माण कार्य सुचारु भएको छ ।

आयोजना निर्माणमा खटिएका नेपाली र चीनियाँ कामदार वीच विवादपछि मारपिट हुँदा नेपाली कामदारले तीन देखि निर्माण कार्य अवरुद्ध गरेका थिए ।

आयोजनाले विहीबार दुबैपक्षलाई सम्झाई बुझाई गरी आईन्दा कुनै विवाद आए आयोजनासँग सिधै गुनासा सुन्ने शर्तमा विवाद मिलाईएपछि निर्माण कार्य सुचारु भएको सिनियर डिभिजनल ईन्जिनियर मनोज थापाले जानकारी दिनु भयो । उहाँले नेपाली मजदूरले राखेका १६ बुँदे माग सबै पुरा गरिएको बताउनु भयो ।

आयोजनामा नेपाली र चीनियाँ गरी करिब ३ सय मजदूर कार्यरत रहेका छन् । अहिले नेपालमै पहिलो पटक भेरी–बबई आयोजनामा टनेल बोरिङ मेसिन 'टिबिएम' मार्फत १ सय किलोमिटर लामो सुरुङ खनिएको छ । आयोजनाबाट बर्दिया र बाँकेका ६० हजार हेक्टर जमिनमा सिँचाइका साथै ४८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

सरकारले आन्तरिक स्रोतबाट सुरुङ निर्माण गर्न लागेको यो नेपालकै पहिलो बहुउद्देश्यीय आयोजना हो । आयोजना सफल भएमा थप यस्तै प्रकृतिका ७ ओटा आयोजना बनाउने सरकारले घोषणा गरेको छ ।

अष्ट्रेलिया ।
अष्ट्रेलियाले वर्किङ भिसामा बिदेशीलाई कडाई गर्ने संकेत दिएको छ । उसले पहिलो चरणमा बिदेशी कामदारलाई फास्टफुड कम्पनीको लागि भिषा नदिने घोषणा गरेको छ ।

अष्ट्रेलियाका इमिग्रेसनमन्त्री पिटर डटनले फास्ट फुड इन्डस्ट्रीमा विदेशी कामदारलाई भिसा नदिने बताएका हुन् ।

अष्ट्रेलियाको यो घोषणापछि सबैभन्दा धेरै भारतीय प्रभावित हुने बताइएको छ । अष्ट्रेलिया पुग्ने एक चौथाई भारतीय वर्किङ भिसामा आउनेगरेका छन् ।

अष्ट्रेलियालीलाई रोजगारीमा अवसर दिन चालिएको बताइएको यो कदमबाट नेपालीहरु समेत प्रभावित हुने देखिएको छ ।

अष्ट्रेलियामा सन् २०१२ देखि यता बहुराष्टिय फास्टफुड कम्पनीहरु म्याकडोनल्ड्स, केएफसी, हंग्री ज्याक्स लगायतले करिव ५ सय बिदेशीलाई वर्किङ भिसा दिएको पाइएको छ ।

४ बर्षसम्मको लागि दिइने ४५७ नामले चिनिने यो भिषामा अष्ट्रेलिया आउनेमा सबैभन्दा बढी भारतीय र त्यसपछि बेलायती र चिनियाँ रहेका छन् ।

पप्पु गुरुङ्, १९ फागुन, दोधारा चाँदनी । स्थानिय निर्वाचनको घोषण संगै दोधारा चाँदनीका राजनितिककर्मीमा चहल पहल बढेर गएको छ् । राजनितिक दलहरु गाउँ, बस्ती तथा टोलमा संगठन बिस्तारमा लाग्न थालेका छन् । २०५४ सालमा भएको स्थानीय चुनाव पछि झण्डै २० वर्ष पछि स्थानीय चुनाव हुने सम्भावना बढे संगै दोधारा चाँदनीका आम नागरिक र राजनीतिक दलका कार्यकर्तामा आशाको संचार फैलिएको छ । सरकारले वैशाख ३१ गते स्थानीय तहको चुनाव गर्ने घोषणा गरे संगै दोधारा चाँदनीमा चुनावी माहोल बढेर गएको छ् । निर्वाचन आयोगले नामावली संकलनको काम बन्द गरेको छ भने सम्भावित मतदान केन्द्रको तयारीमा निर्वाचन कार्यालय जुटेको छ । लामो अन्योल चिर्दै चुनावको मिति घोषणा भए संगै गाउँ वस्तीका चौतारा र चिया पसलमा चुनावको छलफल हुन थालेको छ । बिगतमा गाँउ बिकास समितिमा स्थानिय निर्वाचन गरेका दोधारा चाँदनीबासीले यस पटक नगरपालिका स्तरिय स्थानिय निर्वाचनमा गर्न पाउने भएका छन् । लामो समय स्थानीय तहमा राजनीति गरेका दलका लाखौं स्थानीय युवा नेताले चुनावी प्रतिष्पर्धाको मौका पाउने भएकाले चुनावी चहलपहल बढेको नेकपा एमाले दोधारा चाँदनी नगर कमिटिका अध्यक्ष किशोर कुमार लिम्बुले बताए । निर्वाचन हुने वातावरण भएपछि जनता समेत मत दिन आतुर रहेको पाइएको छ । सबै तिर उत्साह बढेको कारण चुनावी माहोल तातेको नगर अध्यक्ष लिम्बुले बताए । “दोधारा चाँदनीको सम्पुर्ण वडामा हामीले वडा कमिटि तथा टोल कमिटि गठन गर्ने कार्य अन्तिम चरणमा छौं” नेकपा एमालेका नगर अध्यक्ष लिम्बुले भने । दोधारा चाँदनी क्षेत्रमा केही राजनितिक दलहरुले निर्णय गर्दै चुनावी माहोलमा होमिएका छन् भने केही राजनितिक दलहरुका ब्यक्तीहरु टिकट पाउन भेटघाट गर्ने कार्य निरन्तरता अगाडी बढाउदै आएका छन् । नर्वाचनको मिति घोषण भए लगत्तै स्थानीय तहमा राजनितिक दलहरु मतदातालाई आफ्नो पक्षमा पार्नका लागि राजनितिक दलहरुले चुनावी अभियाननै सुरु गरेको नेकपा माओबादी (केन्द्र) का भरत भट्टले बताएका छन् । “हामी पनि दोधारा चाँदनीको वडा तथा टोलमा गएर कमिटि गठन तथा प्रचार प्रसारमा लागेका छौ” नेकपा माओबादी (केन्द्र) का भरत भट्टले भने । यस्तै दोधारा चाँदनीमा नेपाली काग्रेंसले स्थानिय निर्वाचनलाई मध्यनजर गर्दै चनावी अभियानमा होमिएको जनाएको छन् । एक साता भित्र पार्टीले निर्णय गरेर स्थानिय निर्वाचनमा जाने तयारी भईरहेको नेपाली काग्रेंस नगर अध्यक्ष डम्मर चन्दले जानकारी दिएका छन् । “हामीहरु दोधारा चाँदनीको वडा, टोल मा संगठन बिस्तार तथा स्थानिय निर्वाचनमा आम जनताको सहभागिताबारे जानकारी गराउदै हिडेका छौ” नेपाली काग्रेंस नगर अध्यक्ष डम्मर चन्दले भने । विगत लामो समय देखि हुन नसकेको स्थानीय तहको निर्वाचन हुने खबरले आम दोधारा चाँदनीका जनतामा छुट्टै किसिमको खुशियाली छाएको देख्न सकिन्छ् ।

काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहालले यथास्थितिमा संसदमा पेश गरिएको संविधान संशोधन विद्येयक पारित हुने अवस्था नरहेको बताएका छन् ।

नेपाल आदिबासी, जनजाति महासंघका पदाधिकारीसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले भने ‘हिजो मैले सरकारमा सहभागी दलका नेताहरुलाई बोलाएर छलफल गरें, राप्रपाका साथीहरुले अहिलेको संशोधन प्रस्तावको पक्षमा मतदान गर्न सक्दैनौं भनेर प्रष्ट भाषामा भन्नुभएको छ, प्रस्ताव मतदानमा गयो भने विपक्षमा मतदान गर्ने उहाँहरुको प्रष्ट कुरा छ । यति कुरा जान्दाजान्दै मतदानमा जाँदा संशोधन प्रस्ताव पारित हुँदैन, फेल हुन्छ । त्यसले समस्या समाधान होइन, झन् बल्झाउँछ, त्यसैले अलिकति समय लिएर निर्णयमा पुग्नु बुद्धिमानी हुन्छ ।’

अहिलेको संविधान मान्दैनौं भन्दा मुलूक उल्टो दिशातिर जानसक्ने खतरा औल्याउँदै प्रधानमन्त्रीले भने ‘संविधान जारी गर्ने बेला मेरो पार्टीले पनि आठ बूंदे असहमति दर्ज गरेको छ । तर, अहिलेको संविधान पनि मान्दैनौं भनेर हामी नै यो संविधानको विरुद्ध लाग्दा त्यसको परिणाम के होला रु तपाईहरु सोच्नुहोस्, भुईंको टिप्न खोज्दा पोल्टाको खस्नु हुँदैन । अहिलेको संविधान खारेज भयो भने २०४७ को संविधान आउने खतरा रहन्छ । के तपाई हामीले चाहेको त्यही हो त रु होइन भने अहिले प्राप्त गरेका अधिकारलाई जोगाउँदै अगाडि बढ्नु राम्रो हुन्छ ।’

सरकार जनजाति अधिकारको पक्षमा रहेको बताउँदै प्रधानमन्त्रीले भने ‘आदिबासी जनजाति प्रतिष्ठान खारेज हुँदैन, त्यसमा तपाईहरु ढुक्क हुनुस् । स्थानीय तहको पूनर्संरचनामा पनि धेरै अधिकार समावेश गरिएको छ । अरु कुरा अब टुङ्गिन्छ । तर, नाम र स्थानीय तहको केन्द्र त्यहीँको संसदले तोक्छ, जनतालाई नै अधिकार दिएपछि तपाईहरुको भावना पनि समेटिन्छ ।’

भेटमा आदिबासी जनजातिका प्रतिनिधिहरुले आदिबासी जनजाति उत्थान प्रतिष्ठान यथावत राख्न, जनजाति मन्त्रालय गठन गर्न, स्थानीय तहमा स्वायत्त, संरक्षित र विशेष क्षेत्रको व्यवस्था गर्न, आदिबासी अधिकारसहित संविधान संशोधन गर्न, स्थानीय तहको सीमा निर्धारण गर्दा पहिचान जडित क्षेत्रलाई खण्डित नगर्न र स्थानीय तहको निर्वाचनअघि राजनीतिक सहमति जुटाउन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।