काठमाडौं । सरकारसंग ११ बुँदे सम्झौता गरेर मूलधारको राजनीतिमा आएको सिके राउतको पार्टी (स्वतन्त्र मधेस गठबन्धन) को नाम परिवर्तन भएको छ । सिराहामा सम्पन राष्ट्रिय परिषद बैठकले राउत नेतृत्वको पार्टीको नाम ‘जनमत पार्टी’ राख्ने निर्णय गरेको हो । बैठकले सरकारसँग भएको ११ बुँदे सहमतिलाई स्वागत गर्दै ‘ऐतिहासिक तथा मधेसी जनताका लागि अभूतपूर्व’ सहमति भनेको छ । उसले स्वतन्त्र मधेसका साथै जनमत संग्रहको मागसमेत परित्याग गरेको छ । लाहानमा सम्पन्न दुई दिने बैठकले जनमत पार्टीको ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समितिसमेत निर्माण गरेको छ । पार्टीको अध्यक्षमा डा. सिके राउत रहेका छन् भने ३४ जना सदस्य छन् । राष्ट्रिय परिषद बैठकले सिके राउतको नेतृत्वमै ३५ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति चयन गरेको हो ।

परिवर्तित पार्टीको झण्डामा क्रमशः रातो, सेतो र हरियो रंगको ठाडो धर्काको बीचमासेतो स्ट्रीपमा रातो रंगको अष्टदल राखिनेछ । उक्त पार्टीको चुनाव चिन्ह पनि अष्टदल नै राखिने निर्णय गरिएको छ । पार्टी दर्ताका निम्ति निर्वाचन आयोगमा निवेदन दिने निर्णय पनि गरिएको छ । जनमत पार्टीको गठनसँगै जनमत जुटाउन जनतासमक्ष जाने र जनमतबाटै संवैधानिकै रुपमा जनताको समस्या, माग, हकहित र अधिकारका लागि अनवरत समर्पित र निःस्वार्थ भावले संघर्ष गर्ने प्रतिवद्धता बैठकले गरेको पार्टीका केन्द्रीय सदस्य अब्दुल खानले विज्ञप्ति मार्फत जनाएका छन् ।

सिरहाको लहानस्थित मारबाडी सेवा सदनमा आइतबारदेखि शुरु भएको बैठकमा कार्यकर्तालाई मोवाइल बोक्न निषेध गरिएको थियो । बैठक अवधिभर खाने, बस्ने व्यवस्था सेवासदनभित्रै गरिएको थियो । बैठकले कार्यकर्तालाई नागरिकता बोक्न लगाइएका कारण पार्टी दर्ताका निम्ति रहेको ती पार्टीका कार्यकर्ताहरुले बताएका छन् ।

यस्ता छन् नयाँ पार्टीको निर्णय ।
बैठकले जनताको हक र अधिकारका लागि संघर्ष गर्न भन्दै नेपालको संविधानभित्रै रहेर पार्टी स्थापना गरी अघि बढ्ने निर्णय गरेको छ ।
प्रहरी हिरासतमा मारिएका बाँकेका जिल्ला संयोजक राम मनोहर यादवको परिवारलाई सरकारसँगको सहमतिअनुसार क्षतिपूर्ती तथा परिवारका एक जनालाई रोजगारी उपलब्ध गराउन पहल गर्न समितिलाई नै जिम्मेबारी दिइएको छ
सिके राउतको पार्टीले स्वतन्त्र मधेसको नारा र नाममात्रै होइन, यसअघि उठाउँदै आएको जनमत संग्रहको माग पनि छाडेको छ । बैठकको निर्णयमा कहीँ पनि जनमत संग्रहको माग उठाइएको छैन ।
पार्टीको निर्णय हेर्दाखेरि अब स्वतन्त्र मधेस गठबन्धनसँगै पृथकतावादी मागको औपचारिकरुपमा पटाक्षेप भएको छ ।
स्वतन्त्र मधेस गठबन्धन र नेपाल सरकारबीच भएको ११ बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउँदै गठबन्धनका समर्थकहरुमाथि लगाइएका मुद्दाहरु अबिलम्ब फिर्ता लिनका लागि छिटो पहल गर्ने निर्णय गर्दै चन्दन सिंहको संयोजकत्वमा तीन सदस्यीय सहमति कार्यान्वयन मिति बनाइएको सो पार्टीले जनाएको छ ।

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महशुुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प मापन गरिएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको छ ।

काठमाडौं । नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लव र अर्का वरिष्ठ नेता खड्कबहादुर विश्वकर्मालाई सुरक्षा निकायले आफूहरूको पहुँचभित्र नै रहेको दावी गरेको छ । हाल सिन्धुलीमा रहेका विप्लवको गतिविधिलाई नजिकबाट नियालिरहेको र उनले आफ्ना नेता तथा कार्यकर्तालाई भेटिरहेको जानकारी आफूहरुलाई प्राप्त भएको सुरक्षा उच्चस्रोतले जानकारी दिएको छ ।

केही दिनदेखि सिन्धुलीका कहिले बस्ती र कहिले जंगलमा बस्ने गरेको समेत सुरक्षा स्रोतले जानकारी दिएको छ । प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई विप्वलको गतिबिधिको बारेमा जानकारी लिइरहन निर्देशन दिएको छ । सो पार्टीका प्रवक्ता समेत रहेका विश्वकर्मा अहिले दाङमा रहेकाले उनको गतिविधिलाई समेत निगरानी गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दाङलाई निर्देशन दिएको छ । सो पार्टीको पोलिटब्युरोको बैठक बोलाएको भएपनि नेताहरु जम्मा हुन नसकेपछि बैठक समेत बस्न नसकेको निष्कर्ष सुरक्षा निकायले दावी गरेको छ । नेपाल समाचारपत्रमा खबर छ ।

पप्पु गुरुङ्ग,दोधारा । माहाकाली नगरपालिकाबाट दलित र गैरदलित युवाहरुले माहाकाली–मेची पदयात्रा आज देखी सुभारम्भ गरेका छन् । माहाकाली नगरपालिकाको वडा नं. ४, महाकाली झोलुङ्गे पुलबाट माहाकाली नगरपालिकाका मेयर बिर बहादुर सुनार, उपमेयर चिनी ओझा गिरी, माहाकाली नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष तथा नगर प्रबक्ता दिल बहादुर सिजाली, वडा नं. ३ का वडा अध्यक्ष पुष्कर जोशी, अधिकारकर्मी अमिर तिरुवा, नेपाल बिद्यार्थी संग माहाकाली नगर संयोजक तथा नेबि संघ आरआर क्याम्पसका अध्यक्ष अशोक बिष्ट, अनेरास्ववियुका जिल्ला अध्यक्ष ओंम बस्नेत, नेपाली काग्रेंस माहाकाली नगरपालिका वडा नं. २ का वडा सचिव देबेन्द्र सिंह नायक लगाएत स्थानियहरुले अबिर, फुलमाला तथा दोसल्ला ओढाएर ‘नेपाल पदयात्रा– २०७५’ का अभियन्ता होम बहादुर आचार्य, अशोक दर्नाल, रिता परियारलाई स्वागत तथा जातिय छुवाछुतको अन्त्यको सन्देश छर्न माहाकाली देखी मेची सम्मको माहान अभियानको सफलताको कामना गरेका छन् ।

नेपाल पदयात्रा २०१९ ले देशका प्रत्येक कुना कुनाबाट छुवाछुत सदाको लागी अन्त्य गर्न ब्यक्ती र छिमेकीहरुलाई उत्प्रेरित गर्ने उद्धेश्यले आज माहाकाली नगरपालिकाबाट मेची सम्मको पद यात्रा सुभारम्भ गरिएको छ् ।

माहाकाली नगरपालिकाका मेयर बिर बहादुर सुनारले दलित र गैरदलित युवाहरुले छुवाछुत बिरुद्ध थालेको माहान अभियानको सफलताको कामना गर्दै माहाकाली नगरपालिका देखी मेची सम्म सुरु गरिएको ‘नेपाल पदयात्रा– २०७५’ ले जातिय छुवाछुतमा बिश्वमै सकारात्मक संदेश प्रवाह गर्ने बताउदै आफु पनि दलित जातीको भएको कारण बिगतमा दलित भएकै कारण निकै कष्ट उठाउनु परेको बताएका छन् ।

समाजमा जातीय भेदभाव र छुवाछूतका घटनाहरु सार्बजनिक तथा निजि स्थानहरुमा बिभिन्न रुप र मात्रामा घटिरहेको अवस्थामा दलित र गैरदलित युवाहरुको माहाकाली–मेची पदयात्राले सकारात्मक संदेश प्रवाह गर्नेमा आफु ढुक्क भएको मेयर सुनारले बताए । यस्तै माहाकाली नगरपालिकाका उपमेयर चिनी ओझा गिरीले समेत पदयात्री अभियन्ताको माहान अभियानको सफलताको कामना समेत गरेका थिए । जातीय छुवाछुतको व्यवहारिक अन्त्यका लागि अभियन्ता होम बहादुर आचार्य, अशोक दर्नाल, रिता परियारले मेची–महाकाली पैदल यात्राको घोषणा गरेका थिए ।

आज माहाकाली नगरपालिकाबाट शुरु गर्ने पदयात्रा ४५ दिन भन्दा बढी रहने सामाजिक अभियन्ता तथा पदयात्री होमराज आचार्यले जानकारी दिएका छन् । करिव १ हजार ३ सय २१ किलोमिटर पदयात्रा गर्ने उनीहरुको योजना छ् । उनले कुनै एनजिओ आइएनजिओको लगानीमा नभई नेपालीकै सहयोगमा पदयात्रा संचालन गरेको बताएका छन् ।

होम आचार्यले श्रमिक र दलितको विषयमा आवाज उठाउदै आएका छन् । आठ वर्ष पहिले वासिंगटन डिसीका मेयरका एड्भाईजरीका रुपमा काम गरिसकेका आचार्य ग्लोबल फेयरनेस इनिसियटी कन्ट्री डाइरेक्टर तथा दक्षिण एसियाका सल्लाहकार समेत थिए । पदयात्री अशोक दर्नालले पदयात्राको क्रममा सामान्य नागरिक देखि, स्थानिय प्रमुख, प्रशाशन, विद्यालय, सार्वजनिक स्थानमा पुगेर उनीहरुको कथा सुन्दै जनचेतना जगाउने प्रयास गर्ने बताए ।

लामो समयदेखि पत्रकारिता पेशामा रहेका दर्नाल दलित अनलाईनका सम्पादक पनि हुन् । पदयात्रा सकेपछि अफूले भोगेका र जानेको कुरालाई काठमाडौंमा एक कार्यक्रममा सार्वजनिक गर्ने उनीहरुको भनाई रहेको छ् । ‘हामीले नेपाल पदयात्रा २०१९ मार्फत् देशका प्रत्येक कुनाकुनाबाट छुवाछुत सदाका लागि अन्त्य गर्न व्यक्ति र छिमेकीहरुलाई उत्प्रेरित गर्ने उद्देश्य राखेका छौ । हामीले माहाकाली देखि मेची सम्मको पदयात्रा गर्ने छौं ।

धेरै भन्दा दाजुभाई दिदि बहिनी बुवा आमा र स्थानीय सरोकारवाल संग जातीय विभेद र छुवाछूतको वर्तमान अवस्था र प्रभावबारे छलफल संवाद गदै विभेद र छुवाछूतको व्यवाहरिक अन्त्य स्थानीय तहबाट कसरी गर्न सकिन्छ भन्ने उपायहरुको खोजी गर्ने र व्यवाहरिक रुपमै विभेद र छुवाछूतको अन्त्य गर्न खोजी गरिएका उपायहरुको कार्यान्वयनमा प्रभावकारी रुपमा कसरी गराउन सकिन्छ, जनचेतनामूलक ढंगबाट बहस पैरवी गर्ने हाम्रो उद्देश्य हुने छ् ।’ पदयात्रा अभियानको अपिलमा भनिएको छ् ।

काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय क्रिकेटको नयाँ वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । आइसिसीले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १५२ अङ्कसहित १५ औँ स्थानमा रहन सफल भएको हो । अघिल्लो महीनापछि नेपाल १५औँ स्थानमा रहेको थियो ।

नेपाल गत महीनाबाट आइसिसीको वरियतामा पर्न थालेको हो । एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएर संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको तीन खेलको एक दिवसीय सिरिज खेलेपछि नेपाल वरियतामा समावेश भएको हो । उक्त सिरिज नेपालले २–१ ले जितेको थियो ।

यसैगरी टी–२० वरियतामा भने नेपाल १४औँ स्थानमा रहेको छ । नयाँ वरियताको शीर्ष स्थानमा इङ्गल्याण्ड, दोस्रोमा भारत र तेस्रो स्थानमा न्युजिल्याण्ड रहेका छन् । चौथोमा दक्षिण अफ्रिका र पाँचाँैमा अष्ट्रेलिया रहेको छ ।

एक दिवसीय क्रिकेटको ब्याटिङ वरियताको शीर्ष स्थानमा भारतका कप्तान विराट कोहली यथावत् रहेका छन् । यस्तै भारतकै रोहित शर्मा दोस्रो, न्युजिल्याण्डका रोस टेलर तेस्रो, दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान क्विण्टन दी कक चौथो तथा दक्षिण अफ्रिकाकै कप्तान फाफ डुप्लेसिस पाँचौँ स्थानमा रहेका छन् ।

अलराउण्डरतर्फ अफगानिस्तानका राशिद खान शीर्ष स्थानमा रहँदा बङ्गलादेशका शकिब अल हसन दोस्रो, अफगानिस्तानका मोहमद नाबी तेस्रो, पाकिस्तानका मोहोमद हफिज चौथो र न्युजिल्याण्डका मिचेल स्टाननर पाँचौँ स्थानमा रहेका छन् । आइसिसीले प्रत्येक महीना ती देशहरुले खेलेका प्रतियोगिताका आधारमा अङ्क निर्धारण र वरियता सार्वजनिक गर्नेगर्दछ ।

काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गतिविधिमाथि सरकारले उच्च निगरानी थालेको छ ।

गएको फागुन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त समूहलाई आपराधिक र विध्वङ्शकारी घोषणा गरी प्रचलित कानूनअनुसार कारवाही गर्ने निर्णय गरेसँगै गृह मन्त्रालयले उसका गतिविधिमाथि उच्च निगरानी गर्दै संलग्न व्यक्तिलाई कानूनी कारवाही थालेको हो ।

सरकारले सबै सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिएसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागले आ–आफ्ना गतिविधि र निगरानी बढाएको छ ।

नेपाल प्रहरीका ७७ वटै जिल्लामा उच्च सतर्कता अपनाइएको तथा शान्ति सुरक्षासमेत सबल र सुदृढ पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई उच्च सतर्कताका साथ काम गर्न निर्देशन दिएकोसमेत उहाँले बताउनुभयो ।

सरकराले त्यस्ता समूहसँग प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुने व्यक्ति, संस्था र समूहलाई समेत कारवाही गर्ने निर्णय गरेको छ । विप्लव समूहका पछिल्ला गतिविधि राजनीतिकभन्दा पनि हिंसात्मक र आपराधिक देखिएको सरकारी निष्कर्ष छ ।

गृह मन्त्रालयले कानूनबमोजिम लिनुपर्ने इजाजत नलिइ, नवीकरण नगराई वा इजाजतपत्र लिएको व्यक्तिको मृत्युपश्चात् हकवालाको नाममा नामसारी नगराइ वा अन्य जुनसूकै तरिकाले अवैध हातहतियार राखेको भए सरकारलाई बुझाउन चैत १ गतेदेखि लागू हुने गरी ३५ दिने सूचना जारी गरेको छ । त्यसपछि हतियार फेला परेमा प्रचलित कानूनअनुसार कारवाही हुने जनाइएको छ ।

फागुन १० गते राति ललितपुरको नख्खुस्थित एनसेल टावर नजिक एक जनाको मृत्यु र दुई जना घाइते हुने गरी गराइएको बम विष्फोट तथा देशका दर्जनौँ ठाउँमा भएका विष्फोटमा समेत विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नामको समूह संलग्न भएको प्रहरीको निष्कर्ष छ ।

विगतमा चन्दा आतङ्कदेखि अपहरण, बम विष्फोट र व्यक्ति कारवाहीका घटनामा उक्त समूह संलग्न रहेको प्रहरीको अभिलेखमा छ । प्रहरीको अनुसन्धानलेसमेत उक्त समूह राजनीतिक शक्ति नभएको निष्कर्ष निकालेको थियो ।

केही दिनअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले आफूमाथि आक्रमणको सूचना प्राप्त भएको सार्वजनिक गर्नुभएको थियो । तर प्रहरीले भने भिआइपी र भिभिआइपीको सुरक्षामा जोखिमविहीन (जिरो रिस्क)मा सुरक्षा प्रदान गरिरहेको प्रहरी प्रवक्ता सुवेदीले बताउनुभयो ।

“सरकारले प्रतिबन्ध लगाएको समूह आपराधिक समूह हुने भएकाले देशभरका प्रहरी युनिटलाई पक्राउका लागि परिपत्र गरिएको छ”, प्रहरी प्रवक्ता सुवेदीले भन्नुभयो, “राजनीतिको आडमा आपराधिक क्रियाकलाप गर्न छुट छैन, सरकारी निर्णयले प्रहरी सुरक्षा एकोहोरो भएको छ ।”

हिजोसम्म घटना घटे पनि संलग्न मात्रै कानूनी कारवाहीमा आउँथे भने योजनाकारले उन्मुक्ति पाउँथे । अब भने सङ्गठित अपराधअन्तर्गत पनि कारवाही अगाडि बढ्ने भएकाले योजनाकारसमेत कानूनी दायरामा ल्याउन सकिनेछ । अब एकातर्फ बम पड्काउने र अर्काेतर्फ राजनीतिक मुद्दा उठाउने काम नहुने भएकाले पनि कारवाहीका लागि दुविधा हुँदैन । कुनै ठाउँमा सांस्कृतिक कार्यक्रम, भेला, प्रशिक्षण देखिए पनि सार्वजनिक सुरक्षाअन्तर्गत कारवाही हुने प्रहरीले जनाएको छ ।

हालै गृह मन्त्रालयले आयोजना गरेको विभिन्न प्रदेशस्तरीय सुरक्षा समितिको बैठकमा विप्लव समूहका गतिविधिका विषयमा गम्भीर छलफल भएको थियो । छलफलमा उसका गतिविधि राजनीतिक नभई आपराधिक भएको निष्कर्ष निकालिएको गृह मन्त्रालय स्रोतको भनाइ छ ।

सरकारी निर्णयपछि उक्त समूहका पोलिटब्यूरो सदस्य मोहन कार्कीसहित ११ जना पक्राउ परिसकेका छन् । सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठ सबै जिल्लामा उच्च सुरक्षा सतर्कता बढाएको र उक्त समूहका गतिविधि देखिएमा तत्काल पक्राउ गरी कानून कार्यान्वयन गर्ने निकायमा बुझाउने बताउनुभयो ।

काठमाडौ । आगामी आर्थिक वर्ष २०७६-७७ को अन्त्यसम्ममा कूल एक हजार २६९ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार आगामी आवमा हालसम्मकै ठूलो जलविद्युत् आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

हाल देशको प्रसारण प्रणालीमा एक हजार १५ मेगावाट बराबरको विद्युत् जोडिएको छ । सरकारले गत वैशाख २५ गते सार्वजनिक गरेको ऊर्जा क्षेत्रको समग्र कार्ययोजनासहितको श्वेतपत्रमा तीन वर्षभित्र तीन हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।

सोही लक्ष्यअनुसार चालू आवमा २८७ मेगावाट बराबरको विद्युत् उत्पादन हुनेछ । तर चालू आवको हालसम्म ३९ मेगावाट विद्युत् मात्रै प्रणालीमा थप भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनकाअनुसार चालू आवमा १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो, ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ए, २२ मेगावाट क्षमताको वाग्मती साना जलविद्युत् आयोजना निर्माण सम्पन्न हुनेछ । ती तीनवटै आयोजनाको परीक्षण उत्पादन हुनेक्रममा पुगेको छ । यसै महीनाको अन्त्यसम्ममा ती आयोजनाले परीक्षण उत्पादन शुरु गर्नेछ ।

यस्तै चालू आवको अन्त्यसम्म २० मेगावाट क्षमताको तल्लो मोदी, छ दशमलव चार मेगावाट क्षमताको माथिल्लो मैलुङ ए, २२ दशमलव २ मेगावाट क्षमताको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, २५ मेगावाट क्षमताको काबेली बि एक पनि निर्माण सम्पन्न हुनेछ ।

यस्तै तीन दशमलव दुई मेगावाटको गेलुन खोला, आठ दशमलव आठ मेगावाटको रुदी ए, ५ मेगावाटको घलेम्दी खोला, तीन दशमलव तीन मेगावाटको कापडीगाड, २३ दशमलव पाँच मेगावाटको सोलु, सात मेगावाटको माथिल्लो खिम्ती दुई, पाँच मेगावाटकै घट्टे खोला, १० मेगावाटको इवा खोला, चार दशमलव पाँच मेगावाटको विजयपुर खोला, सात मेगावाटको माथिल्लो मार्दी र छ दशमलव छ मेगावाटको रुडी खोला चालू आवको अन्त्यसम्मा सम्पन्न हुने छन् ।

आव २०७६÷७७ मा खानी खोला एक ४० मेगावाट, दोर्दी खोला २७ मेगावाट, मिस्ट्री खोला ४२ मेगावाट, माथिल्लो साञ्जेन १४ दशमलव आठ मेगावाट, रसुवागढी १११ मेगावाट, खानी खोला ३० मेगावाट, तल्लो सोलु ८२ मेगावाट, माथिल्लो दोर्दी ए २५ मेगावाट, सिंगटी खोला १६ मेगावाट, अप्पर बलेफी ३६ मेगावाट गरी कूल २३ आयोजना सम्पन्न हुनेछन् । ती आयोजनाबाट ९८२ मेगावाट विद्युत् प्रसारण प्रणालीमा थप हुनेछ ।

सरकारको सहजीकरणका कारण निर्माणाधीन आयोजना धमाधम सम्पन्न हुनेक्रममा रहेको भन्दै मन्त्री पुनले आर्थिक वर्ष २०७७÷७८ सम्म थप ४५५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप हुने जानकारी दिनुभयो ।

केही आयोजना निर्माण सम्पन्न भई उत्पादन हुने क्रममा रहेको भए पनि प्रसारण लाइन निर्माणमा देखिएको समस्याका कारण विद्युत् खेर जाने अवस्थासमेत आउने भएको छ । सोलु करिडोरमा निर्माणाधीन केही आयोजना सम्पन्न हुने चरणमा पुगेको भए पनि प्रसारण लाइन निर्माणमा तोकिएअनुसारको उपलब्धि हुन सकेको छैन ।

सो प्रसारण लाइनको कूल ३०३ टावरमध्ये हालसम्म १४३ वटा टावरको मात्रै जग तयार भएको छ । यस्तै २१ वटा टावरमा मात्रै तार तान्ने काम सम्पन्न भएको छ । यस्तै दोर्दी करिडोरमा निर्माणाधिन प्रसारण लाइनको अवस्था पनि उस्तै रहेको छ । विद्युत् उत्पादन हुने अवस्थामा आयोजना पुग्दासमेत प्रसारण लाइन निर्माणले गति लिन सकेको छैन । प्रसारण लाइन निर्माणमा देखिएको समस्या समाधान गर्न मन्त्रालयले आवश्यक पहल गरेको जानकारी दिँदै मन्त्री पुनले भन्नुभयो, “हामीले निरन्तर अनुगमन तथा समस्या समाधानका लागि पहल गरेका छाँै । केही आयोजनामा सकारात्मक सुधार पनि आइरहेको छ ।”

अधिकांश प्रसारण लाइनको साझा समस्याका रुपमा वन क्षेत्रको जग्गा प्रयोग नै रहेको छ । डिभिजन वन कार्यालयले रुख कटानको अनुमति नदिँदा एक दर्जन बढी प्रसारण लाइनको काम समस्यामा परेको छ ।

मन्त्री पुनले मन्त्रालयको सकारात्मक पहलका कारण एक दर्जन बढी प्रसारण लाइन आयोजनाको सकारात्मक सुधार आएको र अरु आयोजनाकोसमेत समस्या समाधान हुने जानकारी दिनुभयो ।

काठमाडौ । काठमाडौँको ताकेश्वरका दुई कुखुरा पोल्ट्रीफार्ममा बर्डफ्लु भएको पुष्टि भएको छ ।

तारकेश्वर–७ स्थित बस्नेत टोलका श्यामसन्दुर बस्नेतको सागर पोल्ट्रीफार्म र श्यामकुमार बस्नेतको आकाश पोल्ट्रीफार्मका कुखरामा बर्डफ्लु भएको पुष्टि भएपछि २८ हजार कुखुरा नष्ट गरिएको नगर पशुशाखा प्रमुख डा जयप्रकाश राय यादवले जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष पनि यहाँ हाँसमा बर्डफ्लुको सङ्क्रमण देखिएको थियो । पुनः कुखुरामा सङ्क्रमण देखिएको कारण अहिलेसम्मको अध्ययनबाट पत्ता लगाउन नसकेको उहाँले बताउनुभयो ।

बर्डफ्लु भएको पुष्टि भएपछि सो प्रभावित क्षेत्रमा रहेका पोल्ट्रीफार्मका कुखुरा नष्ट गर्ने काम भइरहेको छ । अन्य पोल्ट्रीफार्मका कुखुरामा पनि बर्डफ्लुको लक्षण देखिन थालेकाले परीक्षणका लागि पठाइसकिएको बताइएको छ । प्रमुख यादवका अनुसार चार किल्लाभित्रका पक्षी नष्ट गरी खाडलमा पुरिएकोे छ । खाली रहेका खोरलाई पनि निःसङ्क्रमण गरिएको छ । बर्डफ्लु प्रभावित क्षेत्रका कुखुरा फार्ममा चुना र ‘भिर्काेन स्प्रे’ छर्ने काम भइरहेको बताइएको छ ।

काठमाडौ । नायिका वर्षा सिवाकोटीले आफूलाई मिडिया तथा अन्य केहि चलचचित्रकर्मिहरुले साथ नदिएको भन्दै गुनासो पोखेकी छिन् । गएको शुक्रबारबाट प्रदर्शनमा आएको वर्षा अभिनित ‘पुरानो बुलेट’को प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा केहि मिडियाहरुबाट आफूलाई साथ नमिलेको बताइन् ।

शनिबार दर्शकसँगै बसेर राजधानीको कुमारी हलमा चलचित्र हेरेकी वर्षाले सञ्चारकर्मिहरुसँग कुरागर्दै केहि मिडियाहरु चर्चित सेलिब्रेटीहरुको पछि लागेको आरोप समेत लगाइन् । साथै उनले मिडियाले चलचित्रको बिषयमा भन्दा सेलिब्रेटीका अन्य बिषयलाई स्थान दिएको बताउँछिन् । ‘शुक्रबारबाट आएका चलचित्रहरुको बिषयमा समाचार आएनन् तर सेलिब्रेटीका ब्यक्तिगत कुराहरु एकपछि अर्को समाचार आइरहेका छन्’ वर्षाले भनिन् ।

वर्षाले धेरै कलाकारहरुको प्रतिनिधित्व गरेको आफूले बोलेको बताउँछिन्, ‘धेरै कलाकारहरुको बोली हो यो, मात्र भन्न नसक्नुभएको होला ।’ उनले धेरै दर्शकहरुबाट आफूलाई किन चुप लागेर बस्नु भएको प्रश्न आउने गरेको बताइन् । ‘मैले त्यस्तो केहि तडकभडक गर्ने गर्दिन, मिडियामा आइरहनेमा पर्दिन त्यसैले पनि धेरैले किन चुप लागेर बस्नुहुन्छ सधैं भन्ने प्रश्न आउँछ ।’ वर्षाले भनिन् ।

वर्षाले शनिबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत गुनासो पोख्दै यस्तो लेखेकी थिइन् । ‘न म स्टारकिड, न म कसैको गर्लफ्रेण्ड, न म कुनै हिट ब्यानरको रेगुलर मेम्वर, न म कुनै युट्युव च्यानलको अफिसियल हिट एक्टर । बस कामको परिचर बनाउन निरन्तर एक्लो लागिराको बिचारा, सो कल्ड रिजर्भ आर्टिष्ट । अनि हलसम्म मेरा लागि किन जाने ? वेष्ट फर टाइम, फिल्मको त के कुरा गर्नु ? हिट एक्टर हिट मुभि ।’

(यो समाचार आजको हिमालय टाइम्स राष्ट्रिय दैनिकमा पनि प्रकाशित छ)

भरतपुर । प्रदेश नं ३ स्तरीय नेपाल पुलिस स्कुल भरतपुरको शान्तिपुरमा आउँदो शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइने भएको छ ।

नेपाल प्रहरीको कल्याणकारी कार्यक्रमले भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा स्कुल सञ्चालन गर्न लागेको हो । स्कुलका समादेशक प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीका अनुसार विद्यालय सञ्चालनका लागि नेपाल प्रहरी र भरतपुर महानगरपालिका बीच सम्झौता भई सकेको छ ।

शान्तिपुरस्थित श्री आधारभूत विद्यालयमा स्कुल सञ्चालन गर्न लागिएको हो । शिशुदेखि कक्षा ५ सम्म सञ्चालनमा रहेको सो विद्यालयमा विद्यार्थी सङ्ख्या कम भएर गाभ्न लागिएको थियो । स्कुल सञ्चालन गर्न लागेको विद्यालयमा ५९ जना विद्यार्थी अध्ययनरत छन् । ती विद्यार्थीलाई पुलिस स्कुलले कक्षा ५ सम्म निःशुल्क पढाउने भएको छ ।

सो स्कुलमा यसै साताबाट विद्यार्थी भर्ना प्रक्रिया शुरु गर्न लागिएको अधिकारीले जानकारी दिनुभयो । प्रदेशस्तरीय पुलिस स्कुलमा हाल कक्षा ५ सम्म सञ्चालन गरिने छ । हरेक वर्ष कक्षा थप गर्दै कक्षा १२ सम्म पढाउने उद्देश्यका साथ स्कुल खोलिएको अधिकारीले जानकारी दिनुभयो ।

एउटा कक्षामा ३० जनाको दरले शुरुआत समयमा १५० जनालाई पढाइने उहाँले बताउनुभयो । पठनपाठनका लागि प्रिन्सिपल नियुक्ति गरिसकिएको छ । प्रहरीको यो नवौँ स्कुल हो । पहिला विकास क्षेत्रअन्तर्गत रहेको यस स्कुल अहिले सङ्घीयतासँगै हरेक प्रदेशमा खोल्न लागिएको हो ।

प्रदेश नम्बर ३ को चितवन र प्रदेश नम्बर ६ को सुर्खेतमा प्रहरी स्कुल नयाँ सञ्चालन गर्ने योजनाअनुसार चितवनमा यस शैक्षिक सत्रबाट सञ्चालनमा ल्याइएको हो । यसअघि मध्यमाञ्चल विकास क्षेत्रको रौतहटमा पुलिस स्कुल सञ्चालन गरिएको थियो ।

सो ठाउँ हाल प्रदेश नम्बर २ मा परेपछि प्रदेश नम्बर ३ को चितवनमा स्कुल खोलिएको हो । स्कुलमा ६० प्रतिशत प्रहरी कर्मचारी र ४० प्रतिशत स्थानीय नागरिकका छोराछोरी भर्ना गरिने छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले प्रदेश नम्बर ३ को पुलिस स्कुल भरतपुरमा खोल्न गरिएको पहलअनुसार शुरु हुन लागेको बताउनुभयो । आधारभूत विद्यालयको जग्गा मध्येबाट २ बिघा क्षेत्रफल र कक्षा कोठा पुलिस स्कुललाई दिइएको उहाँले बताउनुभयो ।

सो आधारभूत विद्यालयलाई हनुमाननगरमा रहेको विद्यालयमा गाभिने र अन्य सामग्री भने सोही विद्यालयमा पठाउने उहाँले बताउनुभयो । महानगरसँग सम्बन्धित वडा र छिमेकका २० प्रतिशत विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने, रु पाँच लाखको अक्षयकोष स्थापना गरी त्यस क्षेत्रका गरीब जेहेन्दार विद्यार्थीलाई अन्य स्कुलमा पढ्दा छात्रवृत्ति दिने सम्झौता भएको उहाँले बताउनुभयो ।

दाहालले पुलिस स्कुल खुलेसँगै शिक्षा, विकास, रोजगार, उत्पादनको खपत लगायतमा सहयोग पुग्ने बताउनुभयो ।

नुवाकोट । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ(फोनिज) ३ नं प्रदेशको नुवाकोटमा सम्पन्न पहिलो अधिवेशनले पेमा लामालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

आज सम्पन्न अधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा युवराज श्रेष्ठ, महिला उपाध्यक्षमा अन्जु डिम्दोङ, महासचिवमा सुरजकुमार भुजेल, सङ्गठन सचिवमा पूर्णिमा स्याङ्वा, संस्थागत सचिवमा श्याम रानामगर, कोषाध्यक्षमा पूर्णभक्त दुवाल निर्वाचित हुनुभएको प्रमुख निर्वाचन अधिकृत नवदीप श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, सदस्यमा बाबुकाजी श्रेष्ठ, विनोद श्रेष्ठ, सहिला तामाङ, रामशरण माझी, लक्ष्मी शाक्य, सम्झना श्रेष्ठ, कुन्जला पुलामी, डोल्मा शेर्पा, राजेश रुम्बा तामाङ, जीवन लिम्बू, नवीन रानामगर, राजेश बज्राचार्य, पुष्पा राई हायु निर्वाचित हुनुभएको छ ।

अधिवेशनले दिलबहादुर लामाको संयोजकत्वमा तीन सदस्यीय अनुशासन समिति पनि चयन गरेको छ । समितिको सदस्यमा राजकुमार शाक्य र रिदेन महर्जन चयन हुनुभएको छ ।

शुक्रबार शुरु भएको अधिवेशनमा ३ नंं प्रदेशका १३ जिल्लाका १२० प्रतिनिधि र पर्यवेक्षक सहभागी थिए । फोनिजको प्रदेश समितिमा पहिलोपटक ३ नं प्रदेशले अधिवेशन गरी नयाँ कार्यसमिति चयन गर्न सफल भएको संयोजक समीर बलामीले बताउनुभयो ।

यसअघि शुक्रबार अधिवेशनको उद्घाटन गर्दै सांसद हितबहादुर तामाङले जनजाति पत्रकारले जनजातिका विषयमा मात्र केन्द्रित नभई मूलधारको पत्रकारितामा पनि नेतृत्व लिनको लागि लाग्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसद बहादुरसिंह लामाले जनजातिको भाषिक नाम अपभ्रंश भएकाले त्यसलाई सच्याउनको लागि पत्रकारले अनुसन्धान गरी वास्तविकता बाहिर ल्याउन आग्रह गर्नुभयो ।

फोनिजका केन्द्रीय अध्यक्ष दण्ड गुरुङले जनजाति पत्रकारले आफ्नो जातिगत पहिचानको मुद्दालाई भुल्न नहुने बताउनुभयो । कार्यक्रममा प्रदेश समितिले दोलखाका पत्रकार राजेन्द्र मानन्धर, फोनिज जिल्ला समितिले नुवाकोटका पत्रकार नवदीप श्रेष्ठ र राजकृष्ण श्रेष्ठलाई सम्मान समेत गरेको थियो ।

काठमाडौ । पाँचौँ साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा नेपालले बङ्गलादेशलाई ३–० ले पराजित गरेको छ ।

विराटनगरको शहीद रङ्गशाला आज भएको समूह ‘ए’ अन्तर्गतको खेलमा नेपाल विजयी भई समूह प्रथम भएको छ । खेलको ६ मिनेटमा बङ्लादेशका खेलाडी मसुरा प्रभिनले आत्मघाती गोल गरी नेपाललाई अग्रता दिलाएकी थिइन् ।

यसैगरी खेलको २३औँ मिनेटमा सावित्रा भण्डारीले गोल गरी नेपाललाई २–० ले अगाडि बढाइन् । खेलको २८औँ मिनेटमा नेपाली खेलाडी मञ्जलीकुमारी योञ्जनले गोल गरी नेपाललाई ३–० ले अगाडि बढाउँदै विजय सुनिश्चित गराएकी थिइन् । खेल अवधिभर नेपालले गोल गर्ने अवसर धेरै गुमाएको थियो । बङ्गलादेशले दोस्रो हाफमा गोलको अवसर गुमाएको थियो ।

यो विजयसँगै नेपालले आगामी बुधबार हुने सेमिफाइन खेलमा समूह ‘बी’ अन्तर्गतको भोलि हुने खेलको उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ । भोलि समूह ‘बी’ अन्तर्गतको भारत र श्रीलङ्का बीचको अन्तिम खेलपछि समूह विजेता र उपविजेताको निर्णय हुनेछ ।