काठमाडौ । स्वास्थ्य परिक्षण गर्न वीर अस्पतल लैजाँदा फरार भएका १६ वर्षीय पदम श्रेष्ठलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

एक बालिकालाई होटलमा लगेर करणी गरेको अभियोगमा पक्राउ परेका श्रेष्ठलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले स्वास्थ्य जाँचमा लैजाँदा मंगलबार राति अस्पतालबाट फरार भएका थिए ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले फरार श्रेष्ठलाई सादा पोशाकमा खटिएको टोलीले बालाजुबाट पक्राउ गरेको बताए । श्रेष्ठलाई अदालतमा म्याद थप गर्नुअघि स्वास्थ्य परीक्षणका लागि अस्पताल लगेको बेला उनी फरार भएका थिए ।

ओखलढुंगा । राष्ट्रपति विद्यादेवी भण्डारी आउने भएपछि ओखलढुंगा सदरमुकामलाई रातारात सिँगारिएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको एक सय ८औं जन्मजयन्तीका अवसरमा श्रेष्ठको शालिक अनावरण र स्रष्टापार्क उद्घाटन गर्न बिहीबार राष्ट्रपति भण्डारी ओखलढुंगा आउने भएपछि तयारी व्यापक बनाइएको हो । सदरमुकामको बीच सडकमा वर्षौ अघिदेखि बनेका खाडलहरु पुरिएका छन् । ढल व्यवस्थापन गरिएको छ । जिल्ला प्रशासन कार्यालय र नेपाली सेनाको ब्यारेक आसपासको सिँढी निर्माण गरिएको छ । वर्षौ देखि हुन नसकेका विकासका काम तीन दिन यता धमाधम भएको स्थानीय सुविन राजभण्डारीले बताए ।

‘सडकका खाल्डाहरु पुर्न आधा घण्टा पनि लागेन,’ उनले भने, ‘विकास हुन ठुला मान्छे जिल्ला आइरहनुपर्ने रहेछ ।’ कार्यक्रमको आयोजक समेत रहेको सिद्धिचरण नगरपालिकाले रातारात विकासका काम गरेको हो । रातारात गरिएको देखावटी विकास दिगो नहुने स्थानीयको ठहर छ ।

राष्ट्रप्रमुखको आगमन हुने भएपछि नगरको सबै ध्यान त्यसतर्फ केन्द्रित गरेर काम गरिएको नगरपालिकाका प्रमुख मोहन श्रेष्ठले बताए । ‘नराम्रो देखाउँ भन्ने हुँदैन,’ उनले भने, ‘सकेसम्म राम्रो गर्ने र देखाउने प्रयास गरिरहेका छौं ।’ फोहोर र अव्यवस्थित पार्किङले कुरुप हुने सदरमुकामका बजार स्वागत व्यानर र ध्वजापातकाले झिलिमिलि बनाइएको छ । बुधबार दिनभर सरसफाई र सजावटमा स्थानीय जुटेका थिए ।
‘राष्ट्रपति ज्यूको भ्रमणलाई भव्य बनाउन तयारीलाई अन्तिम चरणमा पु¥याएका छौं,’ तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मलेनमा नगरप्रमुख श्रेष्ठले भने । राष्ट्रप्रमुखको आगमनले सिद्धिचरण नगरपालिकाको समृद्धि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिरएको उनले बताए ।

कार्यक्रमलाई सम्बोधन गर्न उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधनराई लगायतका विशिष्ट व्यक्तीहरु समेत आउने कार्यक्रम रहेको आयोजक सिद्धिचरण नगरपालिकाले जनाएको छ ।

पाँचथर । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको हो । १ बालिका घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती, ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । प्रहरीका अनुसार, उनी गम्भीर घाइते छिन् ।

मध्यराति घटना भएकाले स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।

सीडीओ भन्छन्– झापाबाट अनुसन्धान टोली आउँदैछ :
पाँचथरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मुरारी वस्तीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट डीएसपी र नजिकैको इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी प्रजिअ वस्तीले दिए ।

पाँचथरसँगै छिमेकी जिल्ला झापाबाट पनि प्रहरी बोलाइएको छ । घटनाबारे अनुसन्धानका लागि झापाको साथ खोजिएको प्रजिअ वस्तीले बताए । प्रजिअ वस्तीका अनुसार, झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ लागेको छ ।

रामहरि न्यौपाने,
शन्तिबजार । रसुवामा बाँध र नुवाकोटमा विद्युत उत्पादनगृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रशारण प्रणालीमा थपिएको छ ।
गत शुक्रबार साँझ पाच बजेदेखि सुरु गरिएको उत्पादन परीक्षण सोमबार साँझ पूरा भएको हो । आयोजनाको पहिलो युनिट लगातार तीनदिन (७२ घण्टा) सञ्चालनको अवधिमा शतप्रतिशत हुन आउने प्रतिघण्टा ३० मेगावाट विद्युतको उत्पादन सफल रुपमा गरिएको आयोजनाका उपप्रबन्धक ई.सत्यराम ज्याख्वाले जानकारी दिनुभयो ।

उहाँको अनुसार आयोजनाको पहिलो युनिटमा निरन्तर लोड (विद्युत उत्पादन) दिएर गरिएको परीक्षण मा कुनै ह्रास तथा समस्या उत्पन्न नभई साँझ पाँच बजे परीक्षणको अवधि सम्पन्न गरिएको छ ।
तीन दिनको परीक्षण अवधि र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बिहीबारको अवलोकनको क्रममा सञ्चालन गरिएको समयमा समेत गरेर आयोजनाबाट २६ लाख २० हजार ८०० युनिट (२,६२०.८० मेगावाट) विद्युत उत्पादन भएको छ । उक्त विद्युत थ्री ‘ए’ मार्फत नै निर्माण गरिएको त्रिशूली–काठमाडौ २२० केभी ‘डबल सर्किट’ प्रशारण लाइन मार्फत काठमाडौको मातातिर्थ शवस्टेशनमा लगेर राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ । उक्त विद्युतलाई सरदर प्रतियुनिट ६ रुपैयाँको दरमा बिक्री गर्दा नेपाल विद्युत प्राधिरकणले करोड ५७ लाख २४ हजार ८०० रुपैयाँ आम्दानी गर्न सफल भएको छ ।

आपूर्तिको माग बढिरहेको अहिलेको सुख्खायाममा थप भएको उक्त विद्युत
राष्ट्रिय प्रशारण प्रणालीमा थपिएसगै विद्युत अभावमा महत्वपूर्ण राहत महशुस
भएको आयोजनाका सहायक निर्देशक नारायणप्रसाद आचार्यले जानकारी दिनुभयो ।
उहाँको
अनुसार आयोजनाको एक युनिटको परीक्षण सफल भएसगैँ सोमबार साँझदेखि कम्तिमा
आठ दिनको लागी पहिलो युनिटलाई पुनःपरीक्षणको लागी बन्द गरिएको छ । “यो
अवधिमा निर्माण पक्षले आयोजनाको सम्पूर्ण संरचनाको सुक्ष्म रुपमा
पुनःपरीक्षण गर्दछ ।” आचार्यले भन्नुभयो “पहिलो युनिटको तीनदिनको परीक्षण
सफल भएकाले पुनःपरीक्षण सफल हुने र त्यसपश्चात निरन्तर सञ्चालनमा ल्याइनेछ

पहिलो चरणमा प्रथम युनिटबाट ३० मेगावाट विद्युत उत्पादनको
परीक्षणमा सफलता हासिल गरेको आयोजनाले आगामी असार दोश्रो सातासम्ममा दोश्रो
युनिटबाट थप ३० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यको साथ अन्तिम चरणमा
पुगेको निर्माण कार्यलाई थप तिव्र बनाएको छ ।

यस आयोजनामा नेपाल
सरकार र नेपाल विद्युत प्राधिकरणको सयुक्त लगानी रहने गरी चीन सरकारको
सहुलियतपूर्ण ऋण सहयोगमा एक्जिम बैंक, चीनले आर्थिक व्यवस्थापन गरेको छ ।
आयोजना निर्माणको लागत १२ करोड ५७ लाख अमेरिकी डलर लाग्ने प्रारम्भिक
अनुमान छ ।

नुवाकोट । विदुर नगरपालिकाले नगरका मौरी व्यवसाय गर्ने किसानलाई आज मौरीको एक सय नौ घार वितरण गरेको छ । नगरपालिकाका १३ वटा वडामध्ये २, १० र ११ का किसानलाई कृषि अनुदान ५० प्रतिशतमा घार वितरण गरेको हो ।

उपप्रमुख गीता दाहालले नगरपालिकाले किसानलाई मौरीको घार र उन्नत जातका मौरी पनि संँगै दिएको जानकारी दिनुभयो। “किसानहरुलाई व्यावसायिक बनाउन पनि यस्ता कार्यक्रमको आवश्यकता रहेको थियो, उहाँले भन्नुभयो, “यसरी स्थानीयतहले किसानहरुलाई सहयोग गर्दा कृषि व्यवसायमा आकर्षण बढ्ने छ, युवाहरुको अझ बढी चासो हुनेछ भन्ने हामीले विश्वास पनि लिएका छौँ ।”

सो कार्यालयले मौरीको घारसहित उन्नत जातका मौरी, मौरीको टोकाइबाट बच्न लगाइने मौरीटोपी, पञ्जा र पाइलट प्रोजेक्टर पनि वितरण गरेको वरिष्ठ कार्यक्रम अधिकृत पुष्कर शर्मा रिमालले बताउनुभयो । शर्माले भन्नुभयो, “ मौरीपालन गर्ने किसानहरुका लागि नगरपालिकाले अनुदान मात्र दिएर हुँदैन, थप तालीमको आवश्यकता रहेको छ ।

हामी तालीमको पनि चाँडै व्यवस्थापन गर्नेछौँ ।” शर्माका अनुसार किसानका लागि मौरीबाट उत्पादित महको बजार व्यवस्थापन गर्न पनि नगरपालिकाले सहयोग गर्नेछ । किसानलाई ५० प्रतिशत छुट गरी रु १२ हजार चार सयमा मौरी र घार दिइएको उहाँले जानकारी दिनुभयो ।

काठमाडौ । प्रमुख प्रतिविपक्षी दल नेपाली कांग्रेसले छायाँ सरकार गठन गरेको छ।

पार्टीको संसदीय दलको विधानको धारा ९ को उपधारा ५ (क) अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सांसदहरूलाई विभिन्न मन्त्रालयको छायाँमन्त्रीको जिम्मेवारी दिएका हुन्।

ती सांसदहरुले कार्य सम्पादन गर्नका लागि मन्त्रालय स्तरीय समन्वय समितिको नेतृत्व गर्नेछन्। सरकारका समानान्तर मन्त्रालयको निगरानी गर्न उनीहरुले संयोजक भएर भूमिका खेल्नेछन्। संयोजकको अतिरिक्त सदस्य पनि तोकिएका छन्। समानान्तर मन्त्रालयको कामकारबाहीको निगरानी गर्नु उनीहरुको मुख्य काम हुनेछ।

यस्तो छ मन्त्रालयको जिम्मेवारी

१. ऊर्जा, जलस्रोत तथा सिंचाई
१) माननीय ज्ञानेन्द्र बहादुर कार्की, संयोजक
(२) माननीय सत्यनारायण खनाल
(३) माननीय ज्ञानकुमारी छन्त्याल

२. परराष्ट्र मन्त्रालय
(१) माननीय डा. नारायण खड्का, संयोजक
(२) माननीय डा. अमेरश कुमार सिंह
(३) माननीय दिव्यमणी राजभण्डारी

३. अर्थ मन्त्रालय
(१) माननीय डा. मिनेन्द्र रिजाल, संयोजक
(२) माननीय मीना पाण्डे
(३) माननीय विनोद कुमार चौधरी

४. गृह मन्त्रालय
(१) माननीय दिलेन्द्रप्रसाद वडू , संयोजक
(२) माननीय रमेशजंग रायमाझी
(३) माननीय महेन्द्र कुमारी लिम्बु

५. शहरी विकास मन्त्रालय
(१) माननीय उमाकान्त चौधरी, संयोजक
(२) माननीय मीनाक्षी झा
(३) माननीय रामबहादुर विष्ट

६. युवा तथा खेलकूद मन्त्रालय
(१) माननीय किशोर सिंह राठौर, संयोजक
(२) माननीय रंगमति शाही
(३) माननीय दुर्गा प्रसाद उपाध्याय

७. उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
(१) माननीय मीनबहादुर विश्वकर्मा, संयोजक
(२) माननीय विन्दा देवी आले राना
(३) माननीय कर्मा घले

८. शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
(१) माननीय गगन कुमार थापा, संयोजक
(२) माननीय उमेश श्रेष्ठ
(३) माननीय नमिता कुमारी चौधरी

९. खानेपानी मन्त्रालय
(१) माननीय सुजाता परियार, संयोजक
(२) माननीय मिना सुब्बा
(३) माननीय नागेन्द्र कुमार राय

१०. स्वास्थ्य तथा जनसंख्या
(१) माननीय पार्वता डि.सी. चौधरी, संयोजक
(२) माननीय सीताराम महतो
(३) माननीय मोहन आचार्य

११. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
(१) माननीय देवेन्द्रराज कण्डेल, संयोजक
(२) माननीय प्रकाश स्नेही रसाइली
(३) माननीय प्रमिला राई

१२. श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
(१) माननीय डा. डिला संग्रौला पन्त, संयोजक
(२) माननीय प्रकाश पन्थ

१३. सञ्चार तथा सूचना प्रविधि
(१) माननीय बहादुर सिंह लामा, संयोजक
(२) माननीय सूर्यबहादुर केसी
(३) माननीय विमला नेपाली

१४. भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
(१) माननीय लक्ष्मी परियार , संयोजक
(२) माननीय प्रमोद कुमार यादव
(३) माननीय स्मृति नारायण चौधरी

१५. संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
(१) माननीय अतहर कमाल मुसलमान, संयोजक
(२) माननीय तेजुलाल चौधरी
(३) माननीय धन कुमारी खतिवडा

१६. कृषि तथा पशुपंक्षी मन्त्रालय
(१) माननीय पद्म नारायण चौधरी, संयोजक
(२) माननीय अनिता देवकोटा
(३) माननीय सरवत आरा खानम हलुवाइनी

१७. महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
(१) माननीय उमा रेग्मी , संयोजक
(२) माननीय लालकाजी गुरुङ्ग
(३) माननीय हिरा गुरुङ्ग

१८. रक्षा मन्त्रालय
(१) माननीय भिसेनदास प्रधान, संयोजक
(२) माननीय अभिषेक प्रताप शाह

१९. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
(१) माननीय सञ्जय कुमार गौतम, संयोजक
(२) माननीय जीप छिरिङ लामा
(३) माननीय देवप्रसाद तिमिल्सिना

२०. वन तथा वातावरण मन्त्रालय
(१) माननीय राजेन्द्र कुमार के.सी., संयोजक
(२) माननीय मुक्ता कुमारी यादव

२१. कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
(१) माननीय राधेश्याम अधिकारी, संयोजक

गल्छी । सोमबार धादिङको गल्छी गाउँपालिका-४ मासटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले अप्टिकल फाइबर बिछ्याउने योजनाको शिलान्यास गरे । मध्य पहाडी लोकमार्गको चियो भञ्ज्याङ, ताप्लेजुङदेखि आरुघाट, गोरखासम्म फाइबर बिछ्याउन काम थालिएको छ । यदि समयमै काम सुरु भएको भए यो खण्डमा यतिबेला फाइबर बिछ्याउने काम सकिनुपर्ने थियो ।

नेपाल दूरसञ्चार प्राधिरकण र नेपाल टेलिकमबीच २०७३ असोज १२ गते पूर्वी नेपालदेखि गोरखासम्म फाइबर बिछ्याउने सम्झौता भएको थियो । सम्झौताका बेला टेकिलमकी तत्कालीन प्रवन्ध निर्देशक कामिनीराज भण्डारीले दुई वर्षभित्र काम सक्ने सार्वजनिक प्रतिवद्धता जनाएकी थिइन् । तर ४ अर्ब ८८ करोड लागतमा फाइबर बिछ्याउने काम झण्डै अढाई वर्षपछि बल्ल शिलान्यास भएको छ ।

अप्टिकल फाइबर बिछ्याउन दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार कोषबाट बजेट उपलब्ध गराउँछ । प्राधिकरणले मध्यपहाडी पुरै लोकमार्गमा फाइबर बिछ्याउने योजना अन्तर्गत झण्डै १० अर्ब रकम खर्च गर्दैछ ।

मध्यपहाडी लोकमार्गमा फाइबर बिछ्याउने योजनालाई ३ खण्डमा विभाजन गरिएको छ । यो कामका लागि प्रदेश १, २ र ३ मा नेपाल टेलिकम, प्रदेश ४ र ५ मा यूटीएल र प्रदेश ५ र ६ मा स्मार्ट टेलिकमले जिम्मेवारी पाएका छन् । स्मार्ट टेलिकमले लोकमार्गको पश्चिम खण्डमा अप्टिकल फाइबार बिछ्याउन सुरु गरिसकेको थियो ।

तर, सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाको जोडबलमा सोमबार भव्य उद्घाटन कार्यक्रम भयो, जसमा प्रधानमन्त्री ओली, नेपालका लागि चिनियाँ राजदूत लगायतका उच्च अधिकारीहरु सहभागी भए । ‘सबै मन्त्रीहरुले लगेर आफ्ना योजनाहरु प्रधानमन्त्रीमार्फत शिलान्यास गराउने क्रम चलेपछि सञ्चार मन्त्रीज्यूले पनि त्यसको सिको गर्नुभएको होला,’ प्राधिकरणका ती अधिकारी भन्छन् ।
यो पनि पढ्नुहोस अर्काे वर्ष हेर्नुस्, देश कति फरक हुन्छ : प्रधानमन्त्री

आर्थिक वर्ष ०७२/७३ कोे नीति तथा कार्यक्रममै ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाल देशव्यापी विस्तार गर्ने घोषणा भएको थियो । त्यसैवर्षको बजेटमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याएर स्मार्ट सिटी बनाउन थाल्ने भनिएको थियो ।

योजनाअनुसार मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामहरुलाई पनि सूचनाको राजमार्गमा जोडिनेछ । टेलिकमले मध्यपहाडीको पहिलो खण्डमा २ हजार १७९ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार गर्दैछ ।

हालसालै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि अप्टिकल फाइबर बिछ्याउन सुरु भएको छ । टेलिकमले जिम्मा पाएको खण्डमा मध्यपहाडी लोकमार्गको ८०४ किलोमिटर र तथा मार्गबाट विभिन्न स्थान लिंक गर्न १ हजार ५७२ किलोमिटरमा काम गर्नुपर्ने हुन्छ ।

यो योजनाअनुसार ९६ कोर क्षमताको अप्टिकल फाइबर बिछ्याइने छ भने सदरमुकाम जोड्न अप्टिकल ४८ कोर र नगरपालिकाहरु जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछ । टेलिकमले यो योजनाका लागि पाँचवटा कम्पनी छानेर सम्झौता गरेको छ । कोरियाको एलएस केबुल्सले प्रदेश १ को पाँच सय ९६ किलोमिटरमा काम गर्नेछ । नेपालको अरोग्य कन्स्ट्रक्सनसहित चिनियाँ कम्पनीको जेभीले प्रदेश २ को एक हजार २८ किलोमिटरको जिम्मा पाएको छ ।

हङकङको सीसीएसआई चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनलले प्रदेश ३ को ५५५ किलोमिटरमा फाइबर बिछ्याउनेछ । हङकङको सीसीएसआई, सिंगापुरको सीटीएस कम्युनिकेसनले उपकरणआपूर्तिको जिम्मा पाएका छन् ।

स्मार्ट टेलिकमले थालिसक्यो

स्मार्ट टेलिकमले प्रदेश ६ र सदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम माघ २३ गते नै थालेको हो । उसले गत माघमा नेपालगञ्जबाट फाइबर बिछ्याउने कामको सुरुआत गरेको थियो । स्मार्टलाई रुकुमको मुसिकोटदेखि दार्चुलाको झुलाघाटसम्म फाइबर बिछ्याउने जिम्म्ेवारी दिइएको छ । स्मार्ट टेलिकमले चाइना कम्युनिकेसन सर्भिस सीसीएसमार्फत यो काम गरिरहेको छ । स्मार्टले प्रदेश ५ का बाँके र बर्दियासहित ६ र ७ का मुगु, हुम्ला, अछाम, बाजुरा, बझाँङ, डोटी, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, दार्चुला, सुर्खेत, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालीकोट गरी १९ जिल्लामा फाइबर बिछ्याउँदैछ । स्मार्टले १५ किलोमिटर क्षेत्रमा फाइबर बिछ्याइसकेको जानकारी दिएको छ ।

प्राधिकरण र स्मार्ट टेलिकमबीच ३ अर्ब ९४ लाख रुपैयाँमा यो काम सकाउने सम्झौता भएको छ । सम्झौताको म्याद आगामी ३ साउनमा सकिँदैछ ।

दुई वटा प्रदेशको काममा अन्योल

गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का जिल्लाको मध्यपहाडी लोकमार्ग र विभिन्न जिल्लाहरुमा अप्टिकल फाइबर बिच्छाउने योजना भने अझै अन्योलमा छ ।

सरकारले युनाइटेड टेलिकम लिमिटेड (यूटीएल)सँग गोरखाको आरुघाटदेखि रुकुमको मुसिकोटसम्म अप्टिकल फाइबर बिछ्याउने गरी भएको सम्झौता रद्ध गरेको छ । यूटीएलले काममा ढिलाइ गरेको भन्दै सम्झौता भंग गरिएको हो । तर निर्णयविरुद्ध यूटीएल सर्वोच्च अदालत पुगेको छ ।

सर्वोच्चले कम्पनीको कार्यम्पादन जमानत जफत नगर्न अन्तरिम आदेश पनि दिएको छ । यसका कारण यो खण्डमा कसैलाई पनि जिम्मा दिइएको छैन ।

जबकी सुरुको सम्झौताअनुसार यूटीएलले १५ बैशाखमा काम नै सक्नुपर्ने थियो । यो कामका लागि २०७४ वैशाखमा दूरसञ्चार प्राधिकरण र यूटिएलबीच सम्झौता भएको थियो । यसका लागि यूटिएललाई ग्रामीण दूरसञ्चार कोषबाट दुई अर्ब एक करोड रुपैयाँ पनि दिइसकेको छ । दूरसञ्चार प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल प्राधिकणले गण्डकी प्रदेश र प्रदेश नम्बर ५ को फाइबर बिछ्याउन कसलाई कसरी जिम्मा दिने भन्ने निर्णय केही समयभित्रै गर्ने बताउँछन् ।

के लाभ ?

अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिन्छ । तामा (कपर)को तारमा भन्दा धेरै उच्च गतिमा इन्टरनेट प्रवाह गर्न सकिने भएकाले अहिले विश्वभर अप्टिकल तार प्रयोग गर्ने प्रचलन छ ।

यो योजना पुरा भएपछि देशभर उच्च गतिको इन्टरनेट (ब्रोडब्यान्ड) सेवा पुर्याउने बाटो खुल्नेछ । ग्रामीण क्षेत्रमा ५ सय १२ केबीपीएस र शहरी क्षेत्रमा ५ एमबीपीएस गतिको इन्टरनेटलाई ब्रोडब्यान्ड मान्न सकिन्छ ।

यस्तो सेवा दूरदराजसम्म पुगेपछि त्यसले इन्टरनेटका माध्यमबाट हुने सूचनाको आदान प्रदान, ब्यापार र दैनिक जीवनसँग जोडिएका पक्षलाई सहज गर्नेछ । सरकारले सरकारी सेवाहरुमा चुस्तता आउने तथा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा ग्रामीण भेगहरुले फड्को मार्ने दावी सरकार छ । यसले डिजिटल अर्थतन्त्र निर्माण पनि सघाउनेछ । आधारभूत सेवाहरुलाई पनि इन्टरनेटमा आधारित बनाउन सकिने र स्थानीय अर्थतन्त्रलाई विकास गर्न मद्दत गर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको विश्वास छ ।

राजबिराज । किर्ते उपभोक्ता समिति गठन प्रकरणमा पक्राउ परेका राजपा नेपालका दुई केन्द्रीय सदस्यलाई सप्तरी जिल्ला अदालतले पुर्पक्षका लागि कारागार पठाएको छ।

सोमबार भएको मुद्दा सुनुवाइका क्रममा बिपी यादव र हरि मण्डललाई कारागार पठाउने आदेश भएको हो।

बैसाख ५ गते पक्राउ परेका छिन्नमस्ता गाउँपालिका मोहनपुर निवासी यादव पूर्वसासंद समेत हुन्। उनी रातो पासपोर्ट दुरुपयोग काण्डमा पनि मुछिएका थिए। राजगढ गाउँपालिका ३ नर्घो निवासी अर्का केन्द्रीय सदस्य मण्डल स्थानीय शान्ति समितिका पूर्व संयोजक हुन्।

यसैगरी, सोही आरोपमा पक्राउ परेका पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइतलाई ४ लाख र निर्माण सामग्री आपूर्तिकर्ता दिलीपकुमार दास र रापाका स्थानीय नेता रमानन्द ठाकुरलाई जनही दुई लाख ५० हजार धरौटीमा रिहा गरिएको छ।

यादव र मण्डलसहितको संलग्नतामा अग्निसाइर कृष्णसवरण गाउँपालिकाको लेटरप्याड, प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादव, २ नम्बर वडाध्यक्ष पशुपति चौधरी र ३ नम्बर वडाध्यक्ष अरुणकुमार चौधरीको छाप किर्ते गरिएको आरोपमा प्रहरीले सबैलाई पक्राउ गरी मुद्दा चलाएको थियो।

प्रदेश २ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ र ३ का सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख रकम निकाल्न किर्ते उपझोक्ता समिति गठन गर्न छाप किर्ते गरिएको प्रहरीको भनाइ छ।

काठमाडौ ।
काठमाडौं उपत्यकाबाट ३ पाङ्ग्रे र सार्वजनिक साना सवारी हटाइने भएको छ । टेम्पो र सानो आकारको माइक्रोको संख्या बढी भएकाले उपत्यकाको ट्राफिक व्यवस्थापन असहज भएपछि यातायात व्यवस्था विभागको नीतिगत सहयोगमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले यस्ता सवारी हटाउने भएको हो ।

कम सीसीका सवारी साधनले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम रहेको महाशाखाको निष्कर्ष छ । यातायात व्यवस्था विभागले असारसम्ममा रुट तोकेर साना सवारीलाई पूर्णरुपमा हटाउने तयारी गरेको छ । साघुँरो सीट हुने भएकाले वृद्ध, वृद्धा र फरक क्षमता भएका यात्रुका लागि यी सवारी अनुपयुक्त देखिएको छ । हाल उपत्यकामा ६ हजार ३३० वटा टेम्पो र माइक्रो सञ्चालनमा छन् ।

“सहज सार्वजनिक यातायात र ट्राफिक व्यवस्थापन चुस्त राख्न साना सार्वजनिक सवारी हटाएर ठूला सवारी भि-याउने सरकारको नीतिअनुसार हामीले त्यस्ता सवारी सञ्चालनमा रोक लगाउने भएका हौं,” महाशाखाका प्रमुख तथा एसएसपी वसन्त पन्तले बताए । उपत्यकामा विभिन्न नयाँ रुट तोकेर ती रुटमा ठूला आकारका सार्वजनिक सवारी सञ्चालन गर्न यातायात व्यवस्था विभागले हाल सञ्चालनमा रहेका र नयाँ रुटको अध्ययन गरेको छ ।
हाल एउटै रुटमा साना र ठूला सवारी साधन सञ्चालन हुँदा ट्राफिक जामको समस्या बढेको एसएसपी पन्तले बताए । “यही असारसम्म विभिन्न सूचना र जानकारी गर्ने र त्यसपछि यस्ता सवारीलाई उपत्यकामा सञ्चालनमा रोक लगाइने छ,” पन्तले भने । ५० मा ३९ सवारी प्रदुषित महाशाखाले सवारीको धुँवा परीक्षण गर्ने क्रममा उपत्यकामा अत्यधिक प्रदुषित सवारी साधन सञ्चालन हुने पाइएको छ ।

महाशाखाले सार्वजनिक सवारी र यातायातमा सुधार ल्याउन ३ महिनादेखि सञ्चालन गरिरहेको अभियानका क्रममा उपत्यकाका विभिन्न स्थानमा सवारीको धुँवा परीक्षण गरेको हो । जसमा ५० वटा सार्वजनिक सवारीको धुँवा परीक्षण गरिएकोमा ३९ वटा सवारीको धुवाँ मापदण्डभन्दा प्रदुषित पाइएको हो । हाल यातायात व्यवस्था विभागसँग रहेको १ थान धुँवा जाँच गर्ने मेशिनले ट्राफिक प्रहरीले धुँवा जाँच गरिरहेको छ ।

थप एउटा मेशिन विभागसँग मगाएको र चाँडै २ वटा मेशिनबाट धुँवा जाँच गरिने प्रमुख पन्तले बताए । सरकारले सवारीको धुवाँ परीक्षण गर्नका लागि पर्याप्त स्थान र कर्मचारीको व्यवस्था नगर्दा उपत्यकामा चल्ने अधिकांश सवारीको धुवाँ जाँच गर्न नसकिएको हो ।

पछि बस्नेले पनि हेलमेट लगाउनुपर्ने :
यसैबीच ट्राफिक महाशाखाले असारदेखि लागु हुनेगरी मोटरसाइकलको पछि बस्नेलाई पनि हेलमेट अनिवार्य गरिएको जनाएको छ । “सडक दुर्घटनामा चालकलाई भन्दा पछि बस्नेको ज्यान जाने खतरा बढी देखियो,” एसएसपी पन्तले भने, “त्यसैले यात्रुको सुरक्षाका लागि हामीले यस्तो व्यवस्था गर्न लागेका हौं ।” यसका लागि गुणस्तर तथा नापतौल विभागले आइएसओ प्रमाणित गरेको हेलमेट प्रयोग गर्नुपर्नेछ ।

काठमाडौ ।
नेपाल पत्रकार महासंघ उपलब्ध केन्द्रीय समितिको बैठक महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा २०७६ जेठ ५ गते केन्द्रीय कार्यालय काठमाडौंमा सम्पन्न भएको छ । बैठकले गरेका निर्णय जानकारीका लागि यो प्रेस विज्ञप्ति जारी गरिएको छ ।

१. नेपाल सरकार मन्त्री परिषदवाट पारित भई संसदमा बैशाख २६ गते दर्ता भएको मिडिया काउन्सिल सम्वन्धी विधेयकका प्रावधानप्रति महासंघको गम्भीर ध्यानाकर्षण भई त्यसको विरोधमा पहिलो चरणको आन्दोलन सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष महासंघले निकालेको छ । पहिलो चरणको आन्दोलन सफल पार्न सहयोग पु¥याउने आम सञ्चारकर्मी, मानव अधिकारवादीहरु, पेशागत संघसंगठनहरु, नागरिक समाज र सम्बन्धित सबैमा महासंघ हार्दिक आभार तथा धन्यवाद प्रकट गर्दछ ।

२. पहिलो चरणको आन्दोलन सम्पन्न हुँदासमेत सरकारले महासंघले उठाएका जायज मागहरु सम्वोधन गर्नेतर्फ कुनै गम्भीरता देखाएको छैन । समस्या समाधान गर्न सरकार सकारात्मक नदेखिएकाले महासंघले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

३. केन्द्रीय समितिको बैठक अघि पत्रकार महासंघको आयोजनामा संचार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँग संयुक्त बैठक बस्यो । उक्त बैठकमा प्राप्त सुझाव समेतका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले निम्नाअनुसार विरोधका कार्यक्रम तय गरेको छ ।

संघर्षका कार्यक्रमहरु ;
जेठ ६ र ७ गते – महासंघका पूर्वअध्यक्षहरुसँग छलफल र परामर्श ।
जेठ ८ गते – संसद् प्रतिनिधित्व गर्ने राष्ट्रिय पार्टीहरुको ध्यानाकर्षण गराउने ।
जेठ ९ देखि १२ गतेसम्म – सञ्चारमाध्यमका सम्पादकहरुसँग भेट गरी सञ्चार अभियान सञ्चालन गर्ने ।
जेठ १३ र १४ गते – सांसदहरुसँग भेट गरी छलफल गर्ने ।
जेठ १६ र १७ गते – प्रेस स्वतन्त्रता सेनानीको ऐक्यवद्धता ।
जेठ १८ देखि २० गतेसम्म – महासंघको प्रतिष्ठान शाखा र एसोसिएटहरुको आयोजनामा उक्त विधेयकका कारण समाचार कक्षमा पर्ने प्रभावबारे छलफल कार्यक्रम चलाउने ।
जेठ २१ र २२ गते – महासंघका जिल्ला शाखाहरुले राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २३ र २४ गते – केन्द्रमा राजनीतिक दल, सञ्चारकर्मी, नागरिक संघसंस्था, पेशाकर्मी र अधिकारकर्मीसँग अन्तरक्रिया गर्ने ।
जेठ २५ गते – अपरान्ह ३ः०० बजे बानेश्वरदेखि बबरमहलसम्म मानव हातेसाङ्लो बनाई बृहत प्रदर्शन गर्ने । काठमाडौं उपत्यका बाहिर प्रदेश राजधानी रहेको स्थानमा सोही खालको प्रदर्शन गर्ने र त्यसको संयोजन प्रदेश समितिले गर्ने ।
(नोट : मिडिया काउन्सिल विधेयक संसद्मा पेश हुने दिन देशव्यापी रुपमा आकस्मिक विरोध प्रदर्शन गर्ने ।

सिन्धुली । प्रहरीको खोजीमा रहेका रामबहादुर बम्जन सिन्धुलीको कमलामाई नगरपालिका-८, पैरेस्थित आश्रममा सार्वजनिक भएका छन् । आश्रमबाटै अनुयायी बेपत्ता र बलात्कारको आरोप लाग्दै आएका उनीविरुद्ध प्रहरीमा उजुरी परेपछि भूमिगतजस्तै थिए । याैन शाेषण र व्यक्ति बेपत्ता पारेकाे लगायत आराेपमा उनी प्रहरीकाे खाेजी सूचीमा छन् ।

विभिन्न व्यक्तिको उजुरीपछि चार महिनाअघि प्रहरीले सिन्धुपाल्चोकको बाँडेगाउँस्थित आश्रममा खानतलासी गर्नुका साथै पैरेमा समेत सोधपुछ गरेको थियो । त्यतिखेर प्रहरीले बम्जनलाई भेट्टाएन । प्रहरीको छानबिन पनि त्यसै सेलाएको छ ।

केही नबोल्ने बम्जनले शुक्रबार दिनभर टाउकोमा हात राखेर अनुयायीलाई आशीर्वाद दिएको आयोजक बोधीश्रवण धर्म संघले जनाएको छ । संघका अनुसार १४ औं विश्वशान्ति मैत्रीपूजाका अवसरमा ७७ जिल्लाबाटै आएका अनुयायीलाई तपस्वी बम्जनले दर्शन दिने कार्यक्रम छ ।

आश्रममा तपस्वी बम्जनकै अनुयायीले कडा निगरानी गर्नुका साथै सुरक्षासमेत दिएका छन् । गेटमा नाम लेखाएर मात्र प्रवेश दिइएको छ । छालाबाट निर्मित वस्तु र धातुबाट बनेका सरसामान लगाएर जानेलाई छिर्न दिइएको छैन । फोटो खिच्न रोक लगाइएको छ । विदेशीसमेत दर्शनका लागि लाम बसेकाछन् ।

५ हजार बढी अनुयायीको नाम गेटमा इन्ट्री भएको बोधीश्रवण धर्म संघका केन्द्रीय सदस्य छत्र घिसिङले जानकारी दिए । करिब ४२ बिघा जमिनमा बम्जनको आश्रम छ । त्यसमध्ये २४ बिघा लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा हो । बम्जनको आवास भने चाइनिज शैलीको आलिसान भवनमा छ ।

उक्त भवनमा प्रवेश निषेध गरिएको छ । ठूलो पर्खाल र चारैतिर काँडेतार लगाइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी चक्रबहादुर सिंहले बम्जनका विषयमा यतिखेर कुनै आदेश नआएको बताए । 'माथिबाटै छानबिन भएको हो, अहिले केही छैन,' उनले थपे ।

लिटिल बुद्धको उपनामले चिनिएका बम्जनमाथि जिल्ला प्रहरी कार्यालय मकवानपुर, नुवाकोट र बारामा चारवटा उजुरी छन् । मकवानपुर हेटौंडा १४ का महेन्द्र वाइबाले बम्जनको आश्रमबाट ४ वर्षदेखि बुबा सञ्चलाल हराएको भन्दै उजुरी दर्ता गराएका छन् । त्यस्तै बाराका हस्तबहादुर आलेमगरले बम्जनको आश्रमबाट छोरा हराएको भन्दै, मकवानपुरकै विजय रुम्बाले दिदी खोज्न भन्दै र नुवाकोटकी गंगामाया तामाङले बहिनी खोजिदिन भन्दै उजुरी दर्ता गराएका छन् ।

महेन्द्रले २०७२ को भूकम्पका बेला बुबा सञ्चलाल सिन्धुपाल्चोकस्थित आश्रममा रहेको, त्यसपछि फर्केर नआएको बताएका छन् । उनकै उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा खानतलासी गरेको थियो । बम्जनको आश्रममा बसेका केही अनुयायीले भने सञ्चलालको हत्या गरिएको र शव गाडिएको हुन सक्ने बताएका थिए । त्यही शंकाका आधारमा प्रहरीले आश्रमभित्रको केही शंकास्पद स्थानमा खाडल खनेको थियो । त्यहाँ प्रहरीले नुनको पोकाको खोलबाहेक अन्य प्रमाण फेला पारेन ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले शव गलाउन नुन प्रयोग गरिएको हुन सक्ने आशंका गरिए पनि पुष्टि हुने आधार नभेटिएको बताए ।

बम्जनको आश्रममा बस्दा आफूमाथि यौन हिंसा र बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखामा पनि उजुरी दर्ता भएको छ । उजुरीकर्ताले बम्जनको आश्रमभित्र आनीहरूमाथि यौन शोषण हुने गरेको र आफूमाथि पनि पटक-पटक बलात्कार गरेको बताउँदै आएकी छन् ।

रामहरि न्यौपाने,
रानीपौवा । नुवाकोटको ककनी गाँउपालिकाको रानीपौवा बजारमा शनिबारदेखि ‘पोष्टबहादुर बोगटी स्मृति कृषि प्रदर्शनी मेला’ सुरु भएको छ ।
पाँच दिनसम्म चल्ने मेलाको पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उद्घाटन गर्नुभएको हो । विद्युतीय उपकरण मार्फत मकै छोडाएर मेलाको उद्घाटन गर्दै दाहालले मुलुकलाई समृद्धिको मुख्य आधार कृषि भएकाले यसलाई आकर्षक पेशाको रुपमा स्थापित गर्नुपर्ने बताउनुभयो ।

“कृषिलाई राजनीतिमा जोडेर समाज रुपान्तरणको लागी किसानको नेता बोगटीको सपना पूरा गर्नको लागी मेला सान्दर्भिक बनेको छ ।” उहाँले भन्नुभयो “विकास, समृद्धि र रोजगारको लागी कृषि मुख्य आधार भएकाले यसको व्यवसायिकरण र आधुनिकरणमा सरकारले प्रमुख प्रथामिकता दिनुपर्दछ ।”

अहिले पनि बहुसङ्ख्यक नागरिक कृषि पेशामा आबद्ध भएका छन्
तर बार्षिक अरबौ रुपैयाँ खर्चिएर विदेसबाट आयात भइरहेको कृषि सामाग्रि र
उपकरण हटाउन सरकारले अनुदान, बजारीकरण र कृषि पेशालाई सम्मानित बनाउनुपर्ने
उहाँको भनाई छ ।

मेलामा नेकपाको नेता पम्फा भूषाल, प्रतिनिधिसभा
सदस्यहरु हितबहादुर तामाङ, नारायणप्रसाद खतिवडा, प्रदेससभा सदस्यहरु
केशवराज पाण्डे, बद्रीप्रसाद मैनाली, नेपाली काँग्रेसका केन्द्रीय सदस्य
डा.रामशरण महत लगायतका वक्ताहरुले दिवंगत नेता बोगटीले कृषकको अधिकार
स्थापना र रानीतिमा किसानको सहभागिता मार्फत पु-याएको योगदानको स्मरण गरे ।

मेलाको अवलोकन गर्न पहिलो दिन शनिबार पूर्वमन्त्रीहरु जनार्दन
शर्मा, अग्नीप्रसाद सापकोटा, प्रदेस नं. ३ का उपसभामुख राधिका तामाङ
लगायतका जनप्रतिनिधिहरु ककनीको रानीपौवा आउनुभयो ।
शनिबारदेखि सुरु भएर
पाँच दिनसम्म चल्ने मेलामा ९० वटा स्टल राखिएका छन् । स्थानीय कृषि
उत्पादन, कृषि सामाग्री र कृषि परामर्श केन्द्रका लागी निःशुल्क स्टल
उपलब्ध गराइएको छ भने बाँकीलाई व्यवसायिक प्रयोजनको लागी उपलब्ध गराइएको छ ।

मेलामा नुवाकोटका बाह्रवटै स्थानीयतहको पहिचान झल्कने कृषि तथा वन पैदावरका उत्पादन बिक्रि तथा प्रदर्शनीमा राखिएका छन् ।
मेलामा
आकर्षकको रुपमा ट्राउट माछा, स्ट्रबेरी, काफल, शिखरवेशीको चामल, पिडालु,
आलु, किम्ताङको अर्गानिक चिया, कफी, विभिन्न जातका तरकारी र अन्नबाली रहेका
छन् । यसैगरी, पशुचौपाय अन्तरगत बाख्रा, बोयर र जमुनापारी जातका बोका–खसी
बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।
मेलामा कृषि औजार, यान्त्रिकरण, तरकारी एवम् फलपूmलको बीउ, बिरुवा समेत उपलब्ध छन् ।

पूर्वमन्त्री
समेत रहनुभएका तत्कालीन नेकपा (माओवादी)का केन्द्रीय उपाध्यक्ष तथा अखिल
नेपाल किसान महासंघको केन्द्रीय अध्यक्ष समेत भएर कृषि क्षेत्रमा योगदान
पु-याउनुभएका पोष्टबहादुर बोगटीको विसं. २०७१ भदौ ३० गते मस्तिष्कघात र
हृदयघातको कारण निधनको भएको थियो । पार्टीमा निष्ठावान तथा इमान्दार नेताको
रुपमा छवी बनाउनुभएका उहाँले पु-याएको योगदानको जनस्तरसम्म स्थापित गराउन
पार्टीले विसं २०७२ असोज २८ गते ‘पोष्टबहादुर बोगटी स्मृति प्रतिष्ठान’ गठन
गरेको थियो ।

उक्त प्रतिष्ठानको आयोजनामा दिवंगत नेता बोगटीको
निष्ठा र आदर्शलाई जनस्तरमा पु¥याउन र कृषि मार्फत आर्थिक रुपमा मुलुकलाई
समृद्धितर्फ लैजानको लागी शनिबारदेखि पाँचदिने कृषि मेला आयोजना गरिएको
प्रतिष्ठानका अध्यक्ष हितराज पाण्डेले जानकारी दिनुभयो ।

करीब पचास
हजार अवलोकनकर्ताले सहभागिता जनाउने अपेक्षा गरिएको मेलाको सह–आयोजक रहेको
ककनी गाँउपालिका अध्यक्ष मानबहादुर लामाले बताउनुभयो ।
उहाँको अनुसार
प्रदर्शनी स्थल नुवाकोटको लागी मात्र नभई रसुवा र धादिङको लागी मध्येबिन्दु
र काठमाडौबाट २७ किमि दुरीमा रहेकाले अवलोकनकर्तालाई सहज हुने विश्वास
लिइएको छ । मेलामा रु दुई करोड कारोबार हुने लक्ष्य राखिएको छ ।