पाँचथर । पाँचथरमा ९ जनाको विभत्स हत्या भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा गएराति दुई परिवारका ९ जनाको हत्या भएको हो । १ बालिका घाइते छिन् ।

जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी निरीक्षक अनील पौडेलले एक परिवारको पाँच र अर्को परिवारको ४ गरी ९ जनाको हत्या भएको पुष्टि गरे ।

हत्या गरिएकामा ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा र १२ वर्षीया आशिका खजुम लिम्बू छन् । त्यसैगरी, फियाक परिवारका ७४ वर्षीय वमबहादुर फियाक, उनकी श्रीमती, ३६ वर्षीया जस्मिता फियाक र २६ वर्षीया मनकुमारी फियाकको पनि हत्या भएको छ ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । प्रहरीका अनुसार, उनी गम्भीर घाइते छिन् ।

मध्यराति घटना भएकाले स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए ।

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टाेली घटनास्थलतर्फ लागेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

घटनास्थल मिक्लाजुङ पाँचथर सदरमुकाम फिदिमबाट ६५ किलोमिटर दक्षिण पर्छ ।

सीडीओ भन्छन्– झापाबाट अनुसन्धान टोली आउँदैछ :
पाँचथरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मुरारी वस्तीले घटनास्थल सदरमुकामबाट टाढा रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बताए । उनका अनुसार घटनाबारे जानकारी पाएलगत्तै प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रहरी कार्यालयबाट डीएसपी र नजिकैको इलाका प्रहरी कार्यालयबाट इन्स्पेक्टरको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गइरहेको जानकारी प्रजिअ वस्तीले दिए ।

पाँचथरसँगै छिमेकी जिल्ला झापाबाट पनि प्रहरी बोलाइएको छ । घटनाबारे अनुसन्धानका लागि झापाको साथ खोजिएको प्रजिअ वस्तीले बताए । प्रजिअ वस्तीका अनुसार, झापाबाट डीआईजीसहितको अनुसन्धान टोली अहिले घटनास्थलतर्फ लागेको छ ।

21.32¡ÆC