काठमाडौ । गत जेठमा धरान नगरपालिकाबाट फैलिएको डेंगु हाल ४२ जिल्लामा फैलिएको छ । अहिलेसम्म देशभर ८ हजार जना भन्दा बढी मानिसमा डेंगुको संक्रमण फैलिएको छ ६ भने जनाको मृत्यु भइसकेको छ ।

के हो डेंगु ?

एडिस (Aedes) जातिका (एजिप्टाइ र अल्बोपिक्टस) पोथी लामखुट्टेको टोकाइबाट संक्रमण हुने भाइरल ज्वरोमध्ये एक डेंगु पनि हो । ज्वरो आउने, आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, आलस्य हुनेजस्ता डेंगुका सुरुवाती लक्षणहरु हुन् ।

एक प्रकारको विषाणुबाट डेङ्गु भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगु घातक हुन्छ । अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) को तथ्यपत्रअनुसार डेंगुले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ । यसको घातक रुप हुँदा सम्पूर्ण शरीरमा रक्तस्राव हुन थाल्छ ।

डेंगु ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्छ । डेंगु लागेमा मानिसको रक्तकोष घट्न गई रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । फलस्वरुप मानिसहरु सिकिस्त हुने गर्छन् ।

कसरी गरिन्छ उपचार ?

सामान्य डेंगु ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेंगु ज्वरो तीन प्रकारको हुन्छ । हेमोरेजिक र सक सिन्ड्रोम ज्वरो खतरनाक हुन्छ । सामान्य डेंगु ज्वरो नियन्त्रणमा नआउँदा यो हेमोरेजिक वा सक सिन्ड्रोममा परिवर्तित हुँदा नियन्त्रण गर्न गाह्रो हुन्छ ।

डेंगुको ज्वरो आएको तीनदेखि सात दिनसम्म नाजुक स्थिति हुन्छ । यस्तो स्थितिमा केही संक्रमित ‘सक’ मा जान सक्ने सम्भावना हुने गरेकाले यो समयमा बिरामीको बढी हेरचाह आवश्यक हुन्छ । यस्तो अवस्थामा चिकित्सकको निगरानीको लागि अस्पताल भर्ना गर्नुपर्ने अवस्थासमेत हुन जान्छ ।

क्लासिक डेंगु आफैं निको हुन्छ । तर, यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु सक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे मृत्यु समेत हुनसक्छ ।

डेंगु प्रभावित क्षेत्रमा ज्वरो आउँदा आफूखुसी आइब्रुफेन, डाइक्लोफिनाक, एस्प्रिन आदि सेवन गर्नु हुँदैन ।

डेंगु ज्वरोका बिरामीहरुलाई रहत प्रदान गर्न उपचार गरिन्छ । खासमा डेंगुको कुनै उपचार नै छैन । डेंगुका बिरामीले चिकित्सकीय सल्लाहअनुसार निगरानीमा रहँदा यो संक्रमणले हुने मृत्युलाई शून्यमा झार्न सकिन्छ ।

डेंगु भएको कसरी थाहा पाउने ?

चिकित्सकहरुका अनुसार तीन दिनदेखि १० दिनसम्म लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नु पर्छ । डेंगु ज्वरो आउदाँ शरिरको तापक्रम १०२ डिग्रीदेखि १०३ डिग्रीसम्मको हुन्छ ।

टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जिउ, जोर्नी दुख्ने,रातोरातो बिमिरा देखिने भयो भने डेंगु भएको बुझ्नुपर्छ ।

डेंगु लाग्दा देखिने लक्षण

– असाध्यै टाउको दुख्ने

–आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने

–ढाड, जोर्नी तथा मांसापेशीहरू दुख्ने

–शरीरमा विमिरा आउने

–वाकवाकी लाग्ने

– पेट दुख्ने

– नाक वा गिजाबाट रगत बग्ने

– रक्तश्राव हुने वा शरीरमा रगत जमेको दागहरू देखापर्ने, बेहोश हुने आदि लक्षणहरू पनि देखा पर्न सक्छ ।

बच्ने उपाय :

डेंगु ज्वरोबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको बृद्धि रोक्नुपर्छ । यसका लागि पानी जम्न सक्ने भाँडाहरू जस्तै गमला, फुलदान, खाली बट्टा, अलकत्रा वा मट्टितेलका खाली ड्रमहरू, गाडीका काम नलाग्ने टायरहरूमा पानी जम्न दिनुहुँदैन । पानीको ट्याङ्कीलाई लामखुट्टे प्रवेश गर्न नदिने गरि छोपेर राख्ने पर्छ भने कुलरमा रहेको पानीमा प्रत्येक हप्ता एक दुई चम्चा मट्टितेल हालिदिने साथै जम्मा भएको पानी सफा गर्न सकिन्छ ।

यस लामखुट्टेले दिउँसो टोक्ने हुँदा दिउँसो बस्दा बाहुला भएको वा शरीर ढाकिने लुगा लगाउनुपर्छ । सम्भव भएसम्म दिउँसो सुत्दा पनि झुल प्रयोग गर्नुपर्छ । साथै साना केटाकेटीलाई जुनसुकै समयमा पनि झुलभित्र सुताउनुपर्छ ।

लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउने मलहम दल्न पनि सकिन्छ । घरका झ्याल ढोकामा जाली लगाउनु उपयुक्त हुन्छ ।

०१६ मा गरिएको अध्ययन अनुसार झापाको दमकमा धेरै जनामा ‘एईअल्बोपिक्टस’ जातको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण भएको पाइएको थियो । बिरामीहरूमा डेन–१, डेन–२ र डेन–३ भाइरस देखिएको थियो । यो वर्ष धरानमा देखिएको डेंगुबाट संक्रमित भएकाहरुमा डेन–२ प्रकारको भाइरस भेटिएको छ ।

डेंगु भाइरस चार प्रजातिको हुन्छ– डेन १, डेन २, डेन ३ र डेन ४ । यो रोग जुनसुकै उमेर समूहका व्यक्तिलाई लाग्न सक्छ । एकपटक एक प्रकारको डेंगु लागिसकेपछि जीवनभर त्यसै प्रकारको लाग्दैन । तर अन्य प्रकारको डेंगु लाग्न सक्छ । दोस्रोपटक लाग्ने डेंगु पहिलेको तुलनामा बढी खतरनाक हुन्छ ।

डेंगु विश्वभरकै समस्या :

विश्व स्वास्थ्य संगठनको ( डब्लुएचओ) अनुसार, यो दशकमा विश्वभरि नै डेंगुको विस्तारमा नाटकीय रूपमा वृद्धि भएको छ । हालैको आंकलनअनुसार विश्वव्यापी रुपमा वर्षेनी ३९ करोड मानिसमा डेंगुको संक्रमण हुने गरेको छ । विश्वभरिका १ सय २८ मुलुकका ३ अर्ब ९० करोड व्यक्ति डेंगु भाइरसको संक्रमणको जोखिममा रहेको अर्को अध्ययनमा उल्लेख छ ।

डब्लुएचओका अनुसार गएका ५० वर्षमा यो रोगको संक्रमण ३० गुणा बढेको पाइएको छ । प्रत्येक वर्ष झन्डै २० हजारभन्दा बढी व्यक्तिको डेंगुकै संक्रमणबाट ज्यान गुमाउँछन् । विश्वको आधाभन्दा बढी जनसंख्या यो रोगको जोखिममा छन् ।

विश्वस्वास्थ्य संगठनले डेंगुलाई खतरनाक रोग मानेको छ । यसको कुनै उपचार नभएकाले पनि विशेष सतर्क अपनाउन आग्रह गरेको छ ।

लामखुट्टेबारे रोचक जानकारी :
- हामी सबैलाई जानकारी नहुँन सक्छ, हामीलाई पोथी लामखुट्टेले मात्र टोक्ने गर्दछन् । भाले लामखुट्टे शाकाहारी हुन्छन् र बोट बिरुवाको रस चुसेर बाँचिरहेका हुन्छन् ।
- महिलाको तुलनामा पुरुष र बच्चाको तुलनामा वयस्कलाई लामखुट्टेले धेरै टोक्ने गर्छन् ।
- धेरै पसिनाले लामखुट्टलाई आकर्षित गर्दछ । एउटा लामखुट्टेलाई आवश्यक पर्ने सबैकुरा यसमा पाइन्छन् ।
- लामखुट्टे शरिरको तापक्रम मार्फत पनि आफ्नो शिकारको खोजी गर्दछ ।
– कालो, निलो, रातो जस्तो गाढा रङको कपडामा लामखुट्टे आकर्षित हुन्छ ।
-बास्नाले पनि लामखुट्टेलाई आकर्षित गर्दछ । यदि तपाईंले परफ्युम र डियो लगाउनुभएको छ भने तपाईंलाई लामखुट्टेले टोक्ने सम्भावना धेरै हुन्छ ।
-मोटो मान्छेहरुले धेरै तापक्रम र कार्बनडाइअक्साइड पैदा गर्ने गर्दछन् । उनीहरुको बडी मास धेरै हुन्छ यसकारण उनीहरुलाई लामखुट्टेले धेरै टोक्छ ।
-लामखुट्टेले शरीरको गन्धमार्फत पनि मानिस भएको ठाउँ थाहा पाउँछ । जति कडा गन्ध हुन्छ लामखुट्टेले टोक्ने सम्भावना त्यति धेरै हुन्छ ।

एजेन्सीको सहयोगमा

नेपालगञ्ज । नेपालगञ्ज विमानस्थलबाट काठमाण्डौका लागि शनिबार साँझ दुई ओटा भीआईपी उडान थियो । साँझ ६ः३० मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई र त्यसपछि पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा काठमाण्डौ उड्ने तय भएको थियो । मन्त्री भट्टराई बुद्ध एयरबाट र कांग्रेस सभापति देउवा श्री एयरको जहाजबाट काठमाण्डौका लागि उड्ने भएपछि विमानस्थल पनि त्यसैअनुसारको तयारीमा लागेको थियो ।

विमानस्थल प्रमुख प्रेमनाथ ठाकुर दुवै भीआईपीको उडान सहज बनाउन आफैं खटिनुभएको थियो । बुद्ध एयरको विमान अवतरणपछि यात्रु ओराल्ने तथा लगेजहरु झार्न तथा फेरि यात्रु र लगेज लोड गर्न झण्डै ३५ मिनेट लागेको ठाकुर बताउनुहुन्छ ।

त्यसबीचमा आफूहरु कांग्रेस सभापति देउवाको उडान सहज बनाउन श्री एयरको उडान समय मिलाउँदै गर्दा बुद्ध एयरमा चढिसकेका ५/१० जना यात्रु ओर्लेर एकाएक नाराबाजी गर्न लागेको र त्यहाँ आफैँ गएर सम्झाउँदा पनि जथाभावी होहल्ला गरेको उहाँले बताउनुभयो ।

बेलुकी ६ बजेर ११ मा अवतरण गरेको जहाजबाट यात्रु झार्ने, फेरि चढाउने अनि त्यही बीचमा तेल हाल्ने र सरसफाई गर्ने जस्ता काम ३५ मिनेटमै सकेको विमानस्थल प्रमुख ठाकुर बताउनुहुन्छ ।

मन्त्री भट्टराईको धनगढीबाटै उडानको टिकट रहेको भए पनि त्यहाँ पुगेका बेला नेपालगञ्ज विमानस्थलको पनि अवलोकन गर्ने भन्ने कुरा भएपछि उहाँ नेपालगञ्ज हुँदै काठमाण्डौ फर्कने समय मिलाइएको पनि उहाँले बताउनुभयो ।

तर कार्यक्रम सकेर फर्कँदा ढिला भएको र उहाँको स्वकीय सचिवले फोन गरेर केही ढिला हुन्छ भनेपछि आफैँले जहाजका क्याप्टेनलाई अनुरोध गरेर केही समय माग गरेको पनि प्रमुख ठाकुरले उज्यालोलाई बताउनुभयो ।

मन्त्रीका स्वकीय सचिवले १०/१५ मिनेट कुर्नुहोस्, त्योभन्दा बढी ढिला हुने भयो भने हामी यतै बस्छौँ भनेर भन्नुभएकाले आफूहरुले मन्त्रीलाई १५ मिनेट मात्रै कुरेको उहाँले बताउनुभयो ।

‘बेलुकी ६ बजेर ४८ मिनेटमा सबै यात्रुहरु जहाज चढिसकेका थिए । त्यही बेला मन्त्री पनि विमानस्थल छिर्नुभएको र विमानस्थलको सबै प्रक्रिया सक्दा उहाँ ७ बजे जहाज चढिसक्नुभएको थियो’, विमानस्थल प्रमुख ठाकुरले भन्नुभयो ।

मन्त्री भट्टराई विमानस्थलको प्रक्रिया सकेपछि सरासर जहाजमा चढ्नुभएको र जहाजमा चढ्दा केही यात्रुले अभद्र व्यवहार देखाएको पनि ठाकुरले बताउनुभयो । जहाजमा बसिसकेका ५/१० जना यात्रु फेरि झरेर नाराबाजी गर्दा उडानमा झनै ढिलाइ भएको उहाँको भनाइ छ ।

जहाज अवतरण भएको ५५ मिनेटमै उडान गरिएको भन्दै ठाकुरले सामान्य प्रक्रिया पूरा गरेर जाँदा पनि कम्तीमा ३५ मिनेट समय लाग्ने बताउनुभयो । झण्डै २० मिनेट जति ढिलाइ भएको देखिएको भन्दै यो सबै मन्त्रीका कारण मात्रै नभइ जहाजबाट झरेर नाराबाजी गर्नेहरुका कारण पनि उडान ढिलाइ भएको उहाँ बताउनुहुन्छ ।

‘हामीले जहाजबाट उत्रेर नाराबाजी गर्नेलाई संयमता अपनाउँदै सम्झाउने प्रयास गरेको भए पनि उनीहरु अटेर गर्दै होहल्ला गर्दा उडानमा समस्या आएको हो’ उहाँले भन्नुभयो ।

प्रमुख ठाकुरले भिडियोमा जहाजभित्रै पनि यात्रुहरुले मन्त्रीविरुद्ध हुलहुज्जत गरिएको देखिएको भन्दै यो अन्तर्राष्ट्रिय उड्डयन मान्यता विपरीत भएको बताउनुभयो ।

जहाजभित्र कसैले अभद्र व्यवहार गरेमा उतार्न सकिने नियम रहे पनि आफूहरु संयम भएर उडानको व्यवस्था मिलाइएको पनि उहाँले बताउनुभयो ।

जहाजभित्र जथाभावी व्यवहार गर्ने, हुलहुज्जत गर्न खोज्नेलाई ‘ब्ल्याक लिस्टेट’ गरेका थुप्रै उदाहरण छन् । नेपालमा भने यो पहिलो पटक भएको छ ।

संसारका विभिन्न देशमा सम्बन्धित कम्पनीले उडाउन सक्दिन भनेर ब्ल्याक लिस्टेड गरेको उदाहरण रहेको भन्दै उहाँले भन्नुभयो, ‘यसमा भने हामीले संयमता अपनाएका हौँ ।’

मन्त्रीले अनुरोध गर्दा मात्रै उडान समय ढिला हुन्छ कि अरु यात्रुले गर्दा पनि यसरी नै ढिला गरिन्छ भन्ने प्रश्नमा विमानस्थल प्रमुख ठाकुरले साधारण अवस्थामा ढिलाइ गर्न नसकिने भए पनि अवस्था हेरेर समय सार्न सकिने बताउनुभयो ।

काठमाडौ । १५ महिनादेखि बन्द रहेको मलेसियाको रोजगारी आइतबारदेखि औपचारिक रुपमा खुलेको छ । चार दिनअघि मलेसियामा भएको दुई देशबीचको प्राविधिक समूहको बैठकको निर्णयअनुसार आइतबारदेखि मलेसियाको रोजगारी खुलेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

‘नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीको अक्षर र भावनाको पूर्ण कार्यान्वयन हुनेगरी मलेसियाको रोजगारी आजदेखि सञ्चालनमा आएको छ’ मन्त्रालयका प्रवक्ता रामप्रसाद घिमिरेले आइतबार निकाल्नुभएको विज्ञप्तीमा उल्लेख छ ।

प्राविधिक कमिटीको बैठकमा गएको वर्ष कात्तिक १२ गते भएको श्रम समझदारी कार्यान्वयनका सन्दर्भमा टुंगो लाग्न बाँकी विषयमा छलफल गरी समझदारीलाई औपचारिक रुपमा टुंगो लगाउन सहमति भएको थियो ।

वैठकमा नेपाल सरकारले सिफारिश गरेका १ सय २२ स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुमध्ये ३६ वटा संस्थाहरुले मापदण्ड पूरा गरेको र बाँकी ८६ वटा संस्थाहरुको आगामी नोभेम्बरको पहिलो सातादेखि मलेसियाली प्राविधिक टोलीबाट मापदण्ड परीक्षण सुरु गर्ने सहमति भएको छ ।

यसका साथै सुरक्षा गार्ड भर्नाबारे पनि समझदारी अनुरुप नै शून्य लागतको सिद्धान्तमा आधारित भर्ना प्रकृया अवलम्बन गर्ने गरी र अरु सेवा शर्तको विषय समेत त्यसै अनुसार हुने गरी अगाडि बढाउन दुवै देश सहमत भएका विज्ञप्तीमा उल्लेख छ ।

श्रम समझदारी कार्यान्वयनलाई आपसी समझदारीमा सहजीकरण गर्न दुवै देश सहमत भएको पनि मन्त्रालयले जनाएको छ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित तुल्याउने सन्दर्भमा मलेसिया सरकारसँग भएको द्विपक्षीय श्रम समझदारीको पूर्ण कार्यान्वयनमा लागि मन्त्रालयले प्रतिबद्धता पनि जनाएको छ ।

मलेसिया रोजगारीको नयाँ व्यवस्था :
समझदारीअनुसार मलेसिया कामदार पठाउँदा लाग्ने सेवा शुल्क, आतेजाते हवाइ टिकट, भिसा शुल्क, सुरक्षा जाँच शुल्क लगायतका खर्च सम्बन्धित रोजगारदाताले नै व्यहोर्नुपर्नेछ ।

यस्तै पहिले नेपाली कामदारलाई लाग्दै आएको लेभी अब नलाग्ने भएको छ । करार अवधि तीन वर्ष रहँदै आएकोमा अब दुई वर्ष कायम भएको छ।

कामदारको पारिश्रमिक हरेक महिनाको ७ गतेभित्र बैंक खातामार्फत भुक्तानी गर्नुपर्ने र मलेसिया सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम नहुने गरी तलब, भत्ता एवं सुविधा पाउने सुनिश्चितता पनि भएको छ । यस्तै अतिरिक्त समयमा काम गरेवापत थप पारिश्रमिक एवं सेवा सुविधा प्राप्त हुनेछ ।

समझदारीपत्र अनुसार रोजगारदाताले कामदारका लागि उचित कार्य वातावरण र वासस्थानको साथै व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षाकोसमेत प्रवन्ध गर्नुपर्नेछ।

नेपाली कामदार मलेसियाको विमानस्थलमा पुगेको ६ घण्टाभित्र गन्तव्यस्थलमा लैजानुपर्नेछ। त्यसो हुन नसकेमा श्रमिकले गर्नुपरेको खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ ।

महिला कामदारको सम्बन्धमा विशेष ध्यान दिंदै थप सुरक्षा, संरक्षण र रेखदेख गर्नुपर्नेछ।त्यसैगरी कामदार र रोजगारदाताबीच श्रम सम्बन्धी कुनै विषयमा विवाद उत्पन्न भै मुद्दा विचाराधीन रहेसम्मको लागि मलेसिया बस्न पाउनेछन्।

मलेसियामा कार्यरत नेपाली श्रमिकले आफ्नो परिवारको निकटतम सदस्य (बाबु, आमा, श्रीमान श्रीमती, छोरा वा छोरी) को मृत्यु भएमा बढीमा १५ दिनका लागि स्वदेश आउन पाउनेछन्।

कार्यस्थलमा हुने कामदारको दुर्घटना बीमा र स्वास्थ्य बीमालाई मलेसियाको कानुनले कामदारका सन्दर्भमा लागू गरेको व्यवस्था नेपाली कामदारको हकमा पनि लागू हुनेछ।

भविष्यमा मलेसिया सरकारले बीमा सम्वन्धी नयाँ योजना लागू गरेमा नेपाली कामदारलाई समेत लागू हुनेछ।वैदेशिक रोजगारीका क्रममा कामदारको अंगभंग वा मृत्यु भएमा रोजगारदाताले नेपाली राजदूतावासलाई जानकारी गराउनुपर्नेछ। कामदारको मृत्यु भएमा शव नेपाल पठाउने जिम्मेवारी सम्बन्धित रोजगारदाताको हुनेछ ।

समझदारीपत्र अनुसार नेपाली कामदारलाई मलेसियाको श्रम कानुन बमोजिम समान तहमा काम गर्ने अन्य विदेशी कामदारलाई दिइए सरहको संरक्षण प्रदान गर्ने व्यवस्था गरिएकोछ।

दुवै देशका सरकारले आ-आफ्नो देशमा कामदार, रोजगारदाता र श्रमिक आपूर्तिकर्ताको कार्यको अनुगमन एवं नियमन गरी थप व्यवस्थित गर्नुपर्नेछ।

रोजगारदाता कम्पनी विघटन भएमा वा रोजगारदाताले कामदारलाई दुर्व्यवहार गरेमा वा कुनै प्रकारको शारीरिक वामानसिक हिंसा गरेमा वा रोजगारदाताले पूरा गर्नुपर्ने दायित्व पूरा नगरेमा कामदारले अर्को काम खोज्न पाउने अधिकार सुनिश्चित गरिएको छ।

सम्झौता अवधि समाप्त भएपछि कामदारले रोजगारदाता छनौट गर्न सक्ने प्रावधान छ।करार अवधि पश्चात कामदार नेपाल फर्कन पाउने र त्यसको लागि रोजगारदाताले हवाई टिकट उपलब्ध गराउनु पर्नेछ। नेपाली कामदारहरुले आफ्नो राहदानी लगायत आफ्ना निजी कागजात आफैंसँग राख्न पाउने अधिकार पनि सुनिश्चित गरिएको छ।

मलेसिया जाने कामदार स्वास्थ्य परीक्षणको नाममा ठगीमा परेको भन्दै गएको वर्षको जेठ २ गतेदेखि मलेसिया बन्द थियो । बन्द रहेको रोजगारीको ढोका खोल्न नेपाल र मलेसियाबीच गएको वर्षको कात्तिकमा श्रम समझदारी भएको थियो ।

श्रम मन्त्री गोकर्ण विष्टको विशेष पहल र अडानको कारण मलेसियासँग शून्य लागतमै कामदार जान पाउने गरी श्रम समझदारी कार्यान्वयन भएको हो ।

रसुवा । पहिरोका कारण पासाङ ल्हामू राजमार्ग अवरुद्ध भएको छ । बुधबार साँझ रसुवाको कालिका गाउँपालिका–१, नागुर्दुन क्षेत्रमा पहिरोले सडक बगाएपछि सवारी आवतजावत ठप्प भएको हो ।

पहिरोका कारण मानिस हिँडने बाटो समेत नभएको वडाध्यक्ष मालफुर्पा तामाङले बताउनुभयो । बाटो खुल्न चाररपाँच दिन लाग्ने अनुमान गरिएको छ । यसअघि पनि यस क्षेत्रमा पहिरो गएको थियो ।

संखुवासभा । अविरल वर्षाका कारण संखुवासभाको सभापोखरी गाउँपालिका–४, फाक्सीबुङमा पहिरो झरेर सभाखोला थुनिएपछि बस्ती नै जोखिममा परेको छ ।

बुधबार दिउँसोसाढे २ बजेतिर पहिरो खसेपछि सभाखोला थुनिएको हो । सभापोखरी गाउँपालिकाको केन्द्र बाह्रबिसे बजारभन्दा ३ किलोमिटर उत्तरमा रहेको फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएर तीन सय मिटरभन्दा ठूलो ताल जमेको सभापोखरी–६ नम्बरका वडाध्यक्ष बिकास पौडेलले बताउनुभयो ।

सभाखोला गाउँपालिकाको वडा नम्बर ४ र ६ नम्बर वडाको बीचमा रहेको सभाखोलामा फाक्सीबुङको पाखो नै बगेर सभाखोला थुनिएको उहाँले बताउनुभयो ।

पहिरोले फाक्सीबुङमा रहेको गोठहरु समेत बगाएको छ । त्यहाँ मानवीय बस्ती नभएकाले अहिलेसम्म मानवीय क्षति भने नभएको वडाध्यक्ष पौडेलको भनाइ छ । पहिरोले थुनिएको सभाखोलाको वारिपट्टि फाक्सीबुङ पर्छ भने पारिपट्टि खेवारिङ पर्दछ ।

खोला नै थुनिएर ताल जमेपछि ताल फुटेमा तलतिर रहेको गाउँपालिकाको केन्द्र समेत रहेको बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ । बाह्रबिसे बजारमा झण्डै सय घर रहेका छन् । माथिबाट जमेको ताल फुट्यो भने बाह्रबिसे बजार नै बगाउने खतरा रहेको छ ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट एकदिन टाढा पूर्वमा पर्दछ । तीन दिनदेखि अविरल वर्षा भइरहेकाले यस क्षेत्रमा पहिरो झरिरहेको छ । अविरल वर्षाका कारणले सञ्चार सम्पर्क गर्न समेत मुस्किल रहेको छ ।

पहिरोले खोला थुनिएपछि बाह्रबिसे बजार र आसपासका क्षेत्रहरु उच्च जोखिममा परेका छन् । त्यसैले स्थानीय मानिसहरु समेत त्रसित बनेका छन् । थुनिएको सभाखोला एकैपटक खुलेमा बाह्रबिसे बजारका साथै तुम्लिङटारसम्म प्रत्यक्ष असर पर्ने देखिन्छ ।

धादिङ । उपचारको बहानामा नीलकण्ठ नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय राजु मगरको पेटमा एक जना झाँक्रीले प्वाल पारिदिएका छन् ।

पेटमा ब्लेडले चिरेर प्वाल पारेपछि दुई महिनादेखि जण्डिसले बिरामी परेका मगर झन समस्यामा पर्नु भएको छ । धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का गजबहादुर लामाले मोटो रकम लिएर पेट चिरेर छाडेका थिए ।

जिल्ला अस्पतालको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका मगरको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बुधबार काठमाण्डौमा रहेको वीर अस्पताल पठाइएको छ ।

गएको भदौ १५ गते पेट चिरेर उपचार गरेको भन्दै झाँक्रीले रगत समेत चुसेको जिल्ला अस्पतालमा उपचार गराइरहेका मगरले बताउनुभयो । २ महिनादेखि जण्डिसले बिरामी परेका मगर झाँक्रीले निको पार्ने विश्वासमा लामाकोमा पुग्नु भएको थियो ।

उपचारका क्रममा झाँक्रीले विकार तानेर यस धेरैलाई निको पारेको बताएका थिए । जण्डिस तानेको, औषधि दिएको र विकार तानेको भनेर बिरामीसँग ८ हजार ३ सय ८० रुपैयाँ लिएर झाँक्रीले ब्लेडले पेट चिरेको मगरकी श्रीमती विमलाले जानकारी दिनुभयो । सुई लगाएर पेट चिरेका लामाले बिरामीकी श्रीमती र सँगै गएकी बहिनीलाई बाहिर निकालेका थिए । पेट चिरेपछि आएको रगत समेत झाँक्रीले चुसेर एउटा बाटामा थुकेको मगरले बताउनुभयो ।

ज्याला मजदुरी गरेर परिवार पाल्दै आएका मगरको अहिले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारमा समेत समस्या भएको विमलाको भनाइ छ ।

लामा तान्त्रिक विधिद्वारा उपचार गराउँदै आइरहेका विवादित व्यक्ति हुन् । यसअघि पनि उनी पटक–पटक विवादमा आएका थिए । ३ वर्षअघि पनि धादिङ मूलपानीकै एक महिलाको पेटमा रहेको ५ महिनाको बच्चा उपचार गर्ने बहानामा हातैले निकालेर फालिदिएका थिए । त्यसपछि ती महिलालाई प्रहरीकोमा उजुरी गर्न भनिए पनि लामा झाँक्रीले डरधम्की देखाएर तर्साएपछि उजुरी गर्न गएर पनि उजुरी नगरी फर्केको मानवअधिकारकर्मी राधिका सापकोटाले जानकारी दिनुभयो ।

लामो समयदेखि यस किसिमको उपचार गरेर धेरै मानिसको पेट चिरेर बिरामी निको पारेको बताउने झाँक्री विगतमा राजनीतिक संरक्षणमा कारबाहीबाट उन्मुक्ति पाउँदै आएका छन् ।

घटनाको सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका अनुसन्धानमा खटिनुभएका प्रहरी निरीक्षक मोतिराम भट्टले जिल्ला प्रहरी कार्यालयमा उजुरी परेकोले आवश्यक कारबाही गरिने बताउनुभयो ।

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भारत सम्बन्ध साँच्चीकै नयाँ उचाइमा पुगेको र सो काममा प्रधानमन्त्री केपी शर्मा ओलीको उल्लेखनीय भुमिका रहेको भन्दै खुल्ला प्रसंशा गर्नुभएको छ । नेपाल–भारत क्रस बोर्डर पेट्रोलियम पाइपलाइन उदघाटनको क्रममा भिडियो सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले सो भनाई राख्नुभएको हो । सिंहदरबारबारबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतको नयाँदिल्लीबाट भारतीय प्रधानमन्त्री मोदीले स्वीच अन गरेर दक्षिण एसियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइप लाइनको उदघाटन गरेपछि दुवै प्रधानमन्त्रीले सम्बोधन गर्नुभएको हो ।

उदघाटनलगत्तै पहिला प्रधानमन्त्री ओलीले छोटो मन्तव्य राख्दै भारतीय सहयोगको प्रशंसा गर्नुभयो । उहाँले भारतले गोरखा र नुवाकोटमा भूकम्पपछिको पुनर्निर्माणका लागि गरेको सहयोगको प्रतिवद्धताका लागि भारतको प्रशंसा गर्नुभयो । विकास अभियानमा भारतसँग साथसाथै अघि बढ्ने प्रतिवद्धता पनि उहाँले जनाउनुभयो । प्रधानमन्त्री ओलीको मन्तव्यपछि भारतीय प्रधानमन्त्री मोदीले सम्बोधन गर्नुभयो । सो क्रममा मोदीले प्रधानमन्त्री ओलीको खुलेरै प्रसंशा गर्दै चाँडे नेपालमा भेटन आउने अठोट गर्नुभयो ।

यस्तो छ मोदी सम्बोधन

मलाई खुशी लागेको छ कि हाम्रो संयुक्त प्रयासबाट हाम्रा दुईपक्षीय प्रजेक्टहरुले प्रगति गरिरहेका छन् र आज हामी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको संयुक्त उदघाटनमा भाग लिइरहेका छौं । भारत र नेपालका वीचमा शदिऔं पुरानो पारिवारिक र सांस्कृतिक नाता छ । यो ‘पिपुल टु पिपुल रिलेसन’ हाम्रो दुईपक्षीय सम्बन्धको आधार हो । पछिल्ला केही वर्षमा हामीवीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटता आएको छ । र, नियमित सम्पर्क भइरहेको छ ।

पछिल्ला वर्षहरुमा मेरा मित्र प्रधानमन्त्री ओलीजी र मेरो चार पटक भेटघाट भइसकेको छ । यी भेटघाटमा आपसी विश्वास पक्का भएको छ । अब परस्पर हितका आधारमा हाम्रो साझेदारी मजबुद भएको छ । विकासका लागि हाम्रो साझेदारीलाई अरु सक्रिय बनाउने र थप नयाँ–नयाँ क्षेत्रमा सहयोग बढाउनका लागि हामीले नयाँ–नयाँ अवसरको लाभ पनि उठायौं । हाम्रो संयुक्त प्रयासको उद्देश्य हो कि हाम्रा जनतालाई लाभ प्राप्त होस । उनीहरुको विकास होस । परियोजनाहरु समयमा पूरा हुने हाम्रा दुवै सरकारका प्रथमिकता हुन । पछिल्ला पाँच वर्षमा हामीले महत्वपूर्ण द्वीपक्षीय परियोजनाहरु पूरा गरेका छौं । यो बहुत सन्तोषको विषय हो ।

दक्षिण एशियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन समयमै पूरा भयो । नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट समयमै पूरा भयो । यो पाइपलाइनबाट हरेक वर्ष दुई मिलियन मेट्रिक टन क्लिन पेट्रोलियन प्रोडक्ट नेपालका सामान्य जनताले प्राप्त गर्नेछन । मेरा लागि यो खुशीको कुरा हो कि आज यो पाइपलाइनको उदघाटनपछि आर्थिकरुपबाट बचत हुनेवाला छ । यहाँहरुले मूल्य घटाउने योजना पनि घोषित गरिदिनुभयो । एक प्रकारले यो काम नेपालको सामान्य नागरिकको भलाइका लागि भएको छ । नेपाली जनताको भलाइ हुने यस काममा हामीलाई पनि साँक्षी बन्ने मौका मिल्यो । भागिदार बन्ने मौका मिल्यो ।

सन् २०१५ को विनासकारी भूकम्पपछि जब नेपालको पुनर्निर्माण अघि बढेको थियो, तब भारतले छिमेकी तथा निकट मित्रका नाताले आफ्नो हात सहयोगका लागि अगाडि बढायो । मलाई धेरै प्रशन्नता छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो आपसी सहयोग, जसको यहाँले धेरै गर्वका साथ उल्लेख गर्नुभयो, त्यसैले म तपाईप्रति आभारी छु । आशा गर्छु, यस प्रोजेक्टमा यहाँका साथ लोकार्पण गर्ने अवसर पनि धेरै नै छिटो मिल्ने छ ।

हामीले आफ्नो साझेदारीलाई अरु बढाउनका लागि एउटा महत्वाकांक्षी एजेण्डा निर्धारित गरेका छौं । मलाई खुशी छ कि हामी आफ्नो सहयोगका सबै क्षेत्रमा सन्तोषजनकरुपले प्रगति गरिरहेका छौं । हाम्रा विदेशमन्त्रीले काठमाडौंमा आपसी सहयोगका सबै क्षेत्रमा कुारकानी गरेका छन् । मलाई उम्मीद छ कि साझेदारीलाई अरु व्यापक बढाउने र सहयोगका विविध क्षेत्रमा अगाडि बढ्नेछौं । विकासको साझेदारीका साथ अघि बढ्नका लागि म आज फेरि एकपटक आफ्नो प्रतिवद्धता दोहोर्याउन चाहन्छु ।

मलाई धेरै प्रशन्नता छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो आपसी सहयोग, जसको यहाँले धेरै गर्वका साथ उल्लेख गर्नुभयो, त्यसैले म तपाईप्रति आभारी छु । आशा गर्छु, यस प्रोजेक्टमा यहाँका साथ लोकार्पण गर्ने अवसर पनि धेरै नै छिटो मिल्ने छ

यो महत्वपूर्ण कार्यक्रममा भिडियो लिंकबाट मसँग जोडिने यहाँले जुन समय निकाल्नुभयो, म धेरै खुशी भएँ । म हमेसा तपाईको उत्तम स्वास्थ्य, अभूतपूर्व सक्रियता र भारत–नेपाल सम्बन्धलाई जोडनका लागि हरप्रकारले धेरै–धेरै शुभकामना व्यक्त गर्दछु । यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, म विल्कुल यहाँसमक्ष आउन मेरो इच्छा पनि छ । म धेरै चाँडो आउने प्रयास गर्नेछु । यहाँलाई धेरै–धेरै धन्यवाद ।

काठमाडौं । फिफा विश्वकप छनोट अन्तर्गतको दोस्रो खेलमा नेपालले चाइनिज
ताइपेविरुद्ध शानदार जित हात पारेको छ। अञ्जन विष्टको दुई गोलले विश्वकप
२०२२ को दोस्रो चरण तथा एसिया कप २०२३ को फाइनल छनोटअन्तर्गत चाइनिज
ताइपेइमाथि २-० को जित हासिल गरेको छ। तेस्रो मिनेटमा विपक्षी टोलीका
खेलाडीले नेपाली मिडफिल्डर रवि पासवानमाथि फाउल गरेपछि पाएको फ्र(–किकबाट
आएको बलमा गोल गर्दै अञ्जनले अग्रता दिलाएका थिए। खेलको तेस्रो मिनेटमा
अन्जनको झन्डै २५ यार्ड टाढाबाट गरेको फ्रिकिक प्रहा गोलमा परिणत भएको
थियो। यस्तै ६२ औं मिनेटमा रवी पासवानको पासमा सुजल श्रेष्ठले हेडरमार्फत
मिलाईदिएको पासमा अन्जनले दोस्रो गोल गरे। उनले पेनाल्टी क्षेत्र नजिकैबाट
पहिलो दोस्रो गोल गरेका हुन्।

यस नतिजासँगै नेपाल अंक तालिकाको
पुछारबाट माथि उक्लिँदै तेस्रो स्थानमा आइपुगेको छ । समान ३(३ अंक जोडेको
जोर्डन र कुवेत गोल अन्तरमा अगाडी छन्। गत जुनमा भएको नेपाल-ताइपेइबीच
भएको मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा टुङ्गिएको थियो। नेपालले
कुवेतविरुद्धको पहिलो खेलमा ७-० को फराकिलो अन्तरमा पराजय बेहोरेको थियो
भने चाइनिज ताइपेइले जोर्डनसँग २-१ को साँघुरो पराजय भोगेको थियो। नेपालले
आगामी खेल असोज १५ गते जोर्डनसँग उसैको घरेलु मैदानमा खेल्ने छ।

काठमाडौ । मेलम्ची खानेपानी आयोजनाको ठेक्का कालो सूचीमा रहेको बदमास कम्पनी शैलुङ कन्स्ट्रक्सन कम्पनीले पाएको छ । यसअघि देखि नै बिवादमा पर्दै आईरहेका निर्माण व्यवसायी तथा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले मेलम्चीको ठेक्का हत्याउन सफल भएका छन् । उनको कम्पनी शैलुङ कन्स्ट्रक्सन ले झण्डै डेढ अर्बमा उक्त ठेक्का पाएको हो ।

कम्पनीले आयोजनाको बुढानिलकण्ठ नगरपालिका क्षेत्रको पाइपलाइन विस्तार तथा ओभरहेड ट्याङकी निर्माणको ठेक्का पाएको हो । जुन एक अर्ब ४१ करोड ६९ लाख २२ हजार ७६० रुपैयाँमा सम्झौता भएको छ । आयोजना निर्देशनालय कार्यालयका अनुसार अधिकारीको कम्पनीले सबैभन्दा कम रकम कबोल गरेकाले मेलम्चीको पाइपलाइन बिस्तारको सम्झौता भएको हो ।

उक्त काम कम्पनीले ३० महिनाभित्र सक्नु पर्नेछ । ठेक्का सम्झौता भएसंगै कम्पनीले पाइपलाइन बिस्तारको काम अघि बढाईसकेको छ । शैलुङ निर्माण कम्पनी सरकारको कालोसूचिमा रहेको कम्पनी हो । यही कम्पनीले जिम्मेवारी पाएको बालाजु, ककनी, रानीपौवा, पैतिसकिला पिपलटार सडक तोकिएको समय भन्दा निकै ढिलासम्म पनि नबनाइ बिगारेर छाडिरहेको छ । यो विषयको कारण प्रचण्डलाई तीन महिना अघि नुवाकोटको रानीपौवाको एक कार्यक्रममा आउदाँ यहाँका जनतादेखि जनप्रतिनिधिले समेत प्रश्न गरेका थिए । उक्त समयमा प्रचण्डले आफ्नो ध्यानाकर्षण भएको जनाएपनि सडकको अबस्था झन बेहाल भएको छ ।

उक्त कार्यक्रममा जनता र जनप्रतिनिधिहरुले गम्भीर ध्यानाकर्षण गराएपछि प्रचण्डले आफ्नो बचाऊ गर्दै म जुन घरमा बसेको छु, त्यो घरबेटीसँग सम्बन्धित छ भनेर संघीय सांसद् हितबहादुर तामाङले बढी नै जोड गरेर भन्न खोज्नुभएको जस्तो लाग्यो । सम्बन्धित ठेकदार कम्पनीको कहाँकहाँ ठेक्का छ भनेर थाहा पाएर घरमा बस्न गएको होइन । म गएपछि ठेक्का पाएको पनि होइन भनेका थिए ।

त्यो समयमा प्रचण्डको भनाईपछि सरकारले सडक नबनाउने कन्स्ट्रक्शन मालिक अधिकारीमाथि कारबाहीको डण्डा चलाउन आशा लागेको भएपनि अहिले मेलम्चीसंग सम्बन्धित ठेक्का पनि त्यही कम्पनीले पाएपछि प्रचण्डको भनाई पनि हावादारी भएको प्रष्ट भएको छ । स्थानीय र जनताका सामु नै प्रचण्ड ठेकेदारहरूप्रति आक्रामक र अधिकारीसँगै कुनै लेनादेना नरहेको बताउन नचुकेका कारण स्थानीय सरकारले उनीमाथि कारबाही चलाउन सक्ने अनुमान अहिले फेल खाएको छ ।

काठमाडौ । विश्वकप फुटबल छनोटको दोस्रो चरणमा नेपालले चाइनिज ताइपेइलाई २–० ले हराएको छ। नेपालको जितमा दुवै गोल अन्जन बिष्टले गरे।

खेलको तेस्रो मिनेटमा नै अन्जनको गोलले अग्रता बनाएको नेपालका लागि उनैले ६३ औँ मिनेटमा अर्को गोल गरेका थिए। ताइपेइ एथ्लेटिक स्टेडियममा ४–५–१ को फर्मेसनमा मैदान उत्रिएको नेपालले सुरुवाती अग्रता जोगाउँदै सम्हालिएको खेल देखायो।

फिफा वरियतामा १६६ औँ स्थानमा रहेको नेपालले १२५ औँ स्थानको चाइनिज ताइपेइलाई हराएर महत्वपूर्ण ३ अंक जोडेको छ। विश्वकप छनोटको पहिलो खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको थियो।

यसअघि नेपालले ताइपेइसँग गएको जेठमा खेलेको मैत्रीपूर्ण खेल एक एक को बराबरीमा सकिएको थियो। कुवेतसँगको लज्जास्पद हारपछि आफूहरु सम्हालिएर खेल्ने योजनामा रहेको नेपाली टिमका प्रशिक्षक योहान कालिनले बताएका थिए। उनको योजनाअनुसार नै नेपालको खेल देखिएको छ। कालिन प्रशिक्षक बनेपछि यो नेपालको पहिलो जित हो।

फिफा वरीयताको एसियाली राष्ट्रमा शीर्ष ३४ भित्र पर्दै नेपालले विश्वकप छनोटको दोस्रो चरणमा सिधै स्थान बनाएको हो। जसमा अप्रिलमा भएको वरीयताअनुसार एसियाली राष्ट्रभित्र नेपाल ३४औं स्थानमा नै थियो।

दोस्रो चरणमा रहेका ८ समूह विजेताका साथै ४ उत्कृष्ट उपविजेता गरी १२ टिम विश्वकप छनोटको अन्तिम चरणमा पुग्नेछन्। यी १२ टिमले नै सन् २०२३ मा हुने एसियन कपमा स्थान बनाउने भएकाले पनि प्रतियोगिताको महत्व बढेको छ।

यसपटक नेपाली टिमको नियमित कप्तान विराज महर्जन टिममा नपरेपछि नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गरिरहेका छन्। यसअघि मलेसियन लिग विजेता क्लब जोहार दारुल टाजिम एफसीसँग मैत्रीपूर्ण खेलमा किरण नरहेकाले नेपाली टोलीको कप्तानमा सुजल श्रेष्ठ रहेका थिए।

विश्वकप छनोटमा समूह ‘बी’ मा नेपालसहित अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् । विश्वकप छनोटमा नेपालले असोज २८ गते जोर्डनसँग जोर्डनमा नै खेल्नेछ। मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा, चैत १३ गते चाइनिज ताइपेइसँग दशरथ रंगशालामा खेल्नेछ। आउँदो वर्ष जेठ २२ गते दशरथ रंगशालामा जोर्डनसँग खेल्नेछ।

यस्तै नेपालले अस्ट्रेलियासँगको पहिलो खेल अस्ट्रेलियाको मैदानमा असोज २३ गते र अस्ट्रेलियासँग दशरथ रंगशालामा चैत १८ गते खेल्नेछ।

काठमाडौ । एसिसी यु १९ एसिया कपको खेलमा नेपालले युएईलाई १६० रनले हराएको छ। २८६ रनको लक्ष्य पछ्याएको युएईले ३४.४ ओभरमा १२५ रन बनाउँदा सबै विकेट गुमाएको हो। नेपालको बलिङसामु युएईका ब्याट्सम्यान सम्हालिन नसक्दा नेपालले ठूलो अन्तरको जित पाएको हो। नेपालको ब्याटिङ पनि यसअघिमा दुई खेलमा भन्दा राम्रो रह्यो।

बलिङमा सागर ढकालले ३ विकेट लिए। यस्तै पवन सर्राफ, सूर्य तामाङले र रसिद खानले २/२ साथै कमल सिंह ऐरीले १ विकेट लिए। श्रीलंकाको कटुनाएकेमा भएको खेलमा युएईका सयद हैदरले ४१ बलमा १५ रन, विरित्ते अरविन्दले ३४ बलमा २८ रन, अलिशन सरफुले २६ बलमा २१ रन, ओसामा हसनले २८ बलमा १६ रन बनाए।

यसअघि युएईले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालको ओपनिङमा रित गौतम र पवन सर्राफ रन नबनाई आउट भएका थिए। त्यसबाट दबाबमा परेको नेपाली ब्याटिङ आसिफ शेख र रोहित पौडेलले केही उकासेका थिए।

आसिफले ५४ बलमा ४५ रन, रोहितले ८३ बलमा ६७ रन, सन्दीपले ५३ बलमा ४८ रन, रसिदले ४६ बलमा ४४ रन साथै कमलले २५ बलमा ४१ रन बनाए। यस्तै कुशल मल्लले २१ बलमा २२ रन बनाए। नेपालले निर्धारित ५० ओभर पूरा खेलेर ९ विकेट जाँदा २८५ रन बनाएको थियो।

युएईका आकाश ताहिरले ३, सन्चित शर्माले ३, कार्तिक पालानियाप्पनले २ साथै रिसब मुखर्जीले १ विकेट लिएका थिए। नेपाल पहिलो खेलमा श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो। दोस्रो खेलमा बंगलादेशसँग ६ विकेटले हारेको नेपाल समूह चरणको अन्तिम खेलमा भने जित निकाल्न सफल भएको हो।

पत्रकार हमाल दोस्रोपटक सर्वोच्च अदालतको आदेशमा रिहाकाठमाडौ । जनपत्रकार संगठन, नेपालका केन्द्रीय तथा जनसञ्चार डटकमका सम्पादक ओम हमाल सर्वोच्चको आदेशमा दोस्रो पटक रिहा भएका छन्।

सर्वोच्च अदालतको दोस्रो पटकको आदेशमा हमाल रिहा भएका हुन्। बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै गत मंगलबार सर्वोच्च अदालतको आदेशमा रिहा भएपनि गेटबाटै प्रहरीले पक्राउ गरेको थियो।

पत्रकार हमालको गिरफ्तारी गैरकानुनी भन्दै जनपत्रकार संगठनकी सदस्य मोनिका गुरूङले पुनः बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडा र बमकुमार श्रेष्ठको इजलासले पत्रकार हमाललाई रिहा गर्न आदेश दिएको हो।

अघिल्लो पटक राज्य विरूद्वको कसुरको मुद्दा लगाएको प्रहरीले दोस्रो पटक दुरव्यवहारसम्बन्धी मुद्दा लगाएर थुनामा राखेको थियो।

पत्रकार हमालको रिहाइको लागि देशभरका पत्रकार सम्बद्ध संघ संगठनहरुले दबाब दिदै आएका थिए भने जनपत्रकार संगठन नेपालका केन्द्रीय पदाधिकारीहरु हमालको गैरकानुनी गिरफ्तारीको विरुद्ध नेपाल पत्रकार महासंघ लगायत पत्रकार सम्बद्ध संघ संगठनहरु संग भेटघाट एवम् छलफल गरी विचार तथा आस्थाका आधारमा गिरफ्तार पत्रकारहरुको पक्षमा दबाब दिन अनुरोध गर्दै आइरहेका थिए।

रिहा भएका पत्रकार हमाललाई संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रे, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव राम प्रसाद दाहाल, संगठनका केन्द्रीय महासचिव हिम विष्टले स्वागत गरेका छन्।