अस्मुना तिमिल्सिना,
विदुर । जिल्लामा भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । मौसम परिवर्तनसँगै संक्रमणबाट ज्वरोको बिराम बढेका हुन् ।
नुवाकोटको त्रिशूली अस्पताल सहित जिल्लाको भरको स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् । केही सातायता पहिलेको तुलनामा अहिले बिरामी सङ्ख्यामा वृद्धि भएको त्रिशूली अस्पतालका सूचना अधिकारी भुवन केसीले जानकारी दिनुभयो ।

उहाँको अनुसार अस्पतालको बहिरङ सेवा (ओपिडी)मा दैनिक आउने दुई सयभन्दा बढी बिरामीमध्ये ६० प्रतिशत बढी भाइरल ज्वरोका रहेका छन् । भाइरलबाट सबैभन्दा बढी बालबालिका र वृद्ध प्रभावित भएका छन् ।

अस्पतालमा दैनिकरुपमा ५० जनासम्म बिरामी आउने गरेकोमा हाल दुई सयसम्म पुगेको जिल्ला अस्पतालका त्रिशूलीका डा.जयराम पाण्डेले बताउनुभयो ।
डा पाण्डेका् अनुसार त्रिशूली अस्पतालमा उपचार गराउन जाने मध्ये अधिकांशमा भाइरल ज्वरो र टाइफाइडको सक्रमण भेट्टिएका छन् ।

भाइरल ज्वरोका बिरामी थपिँदै जान थालेपछि उपचार गराउन अस्पताल प्रशासनलाई समस्या भएको छ । ५० शैया क्षमताको भएपनि भूकम्पको कारण भवनमा क्षतिपुगेपछि जिल्ला अस्पताल हाल ३५शैयाको प्रि–फ्याक भवनबाट सञ्चालनमा छ ।

सामान्य रुपमा ज्वरो आउने, टाउको, घाँटी, हातखुट्टा दुख्ने, रुघाखोकी लाग्ने, वाकवाकी हुने, जीउ दुख्नेलगायत लक्षण भएका बिरामीको सङ्ख्या बढिरहेको छ । जिल्ला अस्पताल, विभिन्न स्वास्थ्य इकाईहरुमा अहिले उपचार गराउने बिरामीको सङ्ख्या बढेपछि स्वास्थ्यकर्मीलाई सेवा प्रभावकारी बनाउनको लागी निर्देशन दिइएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख राममणि घिमिरेले जानकारी दिनुभयो ।

भाइरल ज्वरो सहितको रोगको प्रकोप फैलन नदिनको लागी घर वरिपरी सफा राख्ने, पानी जम्ने खाल्टा पुर्ने तथा सरसफाइमा ध्यान दिन आह्वान गरिएको छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री अर्जुननरसिंह केसीले चिनियाँ कम्युनिष्ट पार्टी र नेपाल कम्युनिष्ट पार्टीबीच काठमाडौंमा भएको ६ बुँदे सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली उभिनुले उक्त सहमति नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच मात्रै नभएर नेपाल र चीन सरकारबीच भएको जस्तो देखिएको बताउँदै गम्भिर आपत्ति जनाएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता केसीले प्रशिक्षण कार्यक्रममा नेकपाका नेताहरुले चिनियाँ नेताहरुबाट गायत्री मन्त्र सुनेको ढंगले कुरा सुनेको टिप्पणी गरे । उनले भने,‘मेरो सबैभन्दा ठूलो आपत्ति के छ भने–जुन ६ बुँदो सम्झौता भयो, त्यो कार्यक्रममा माधव नेपाल हुनुमा आपत्ति होईन, उहाँ त विदेश विभाग प्रमुख हो । प्रचण्ड हुनुमा पनि कुनै आपत्ति छैन् । उहाँ पनि पार्टीको नेता हो । तर, प्रधानमन्त्रीनै उभिनुलाई मैले गम्भिर रुपमा लिएको छु । प्रधानमन्त्री उभिनुको अर्थ यो चाहीँ दुई राष्ट्रबीचको सम्झौताजस्तो देखिन्छ । नेपालमो भौगोलिक यथार्थता र बाध्यताहरु छन् । यसका जुन असंलग्नता र छिमेकीसँगहरुको सम्बन्ध छन्, त्यसलाई पनि यसले गम्भिर प्रभाव पार्न सक्छ भन्ने कुरा चाहीँ मेरो आफ्नो सोच छ । तर, आउने दिनहरु पर्खौ र हेरौं ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले पार्टी–पार्टीबीचमा भाईचारा सम्बन्ध राख्नु स्वभाविक भएको सुनाए । ‘पार्टी–पार्टीबीच भाईचारा सम्बन्ध स्थापित हुनुलाई हामीले साधारण रुपमै लिएका छौं ।’–उनले अघि थपे,‘चिनियाँ कम्युनिष्ट पार्टीसँग नेपाली कांग्रेसको पनि भाईचारा सम्बन्ध छ । हामी त्यो सम्बन्धलाई जहिलेपनि उच्चतम रुपबाट सम्मान गर्छौं । तर, कुरा अहिले के आईरहेको छ भने सि जिनपिङ विचाराधाराको प्रवेश जसरी नेपालमा भएको छ, त्यो प्रवेश स्वयममा आश्चर्यजनक रुपमबाट भएको छ । ६ बुँदे सम्झौता जुन भयो । त्यो पार्टी र पार्टीको बीचमा भन्दापनि एउटा सरकार र अर्को सरकारबीच भएको सम्झौताको रुपमा त्यहाँ प्रधानमन्त्री उभिनुभएको छ । प्रधानमन्त्री नेकपाको मात्रै अधयक्ष होईन । मेरो देशको प्रधानमन्त्री, मेरोपनि प्रधानमन्त्री हो । त्यो हस्ताक्षर चीन र नेपालबचिको हस्ताक्षरजस्तो देखियो ।’

उनले उक्त प्रशिक्षण कार्यक्रममा नेकपाको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत नभएकोमा पनि आपत्ति जनाए । उनले भने,‘त्यहाँ नेकपाको तर्फबाट एउटा कार्यपत्र प्रस्तुत भएर हामी कम्युनिष्ट हौं । हाम्रो कम्युनिष्ट व्यवस्था र पद्धती बहुदलीय प्रतिष्पर्धात्मक पद्धतीमा छ भनेर भनेको भए, त्यो बहुदलीय पद्धती र सि विचाराधार कहाँसम्म मेल खान्छ ? त्यो बाटो खुल्ने प्रयत्नभन्दापनि कार्यपत्र उनीहरुको प्रस्तुत भयो । हाम्रा साथीहरु सुनेर बस्नुभयो । त्यसको अर्थ अब सि जिनपिङ विचारधाराको एकदलीय पद्धती कम्युनिष्टसँग हाम्रा कम्युनिष्ट पार्टी जान लाग्या हुन त ? यो अत्यन्त गम्भिर प्रश्नको रुपमा छ । किनभने एकातिर लोकतन्त्रको आवरणमा नेकपाले अहिले सम्पूर्ण सत्ता केन्द्रिकृत गरेको छ र प्रशिक्षणमा उहाँहरुबाट सुन्नेमात्रै काम भयो । यसलाई मैले अत्यन्तै गम्भिर रुपमा लिएको छु ।’

उनले चीनले अहिलेसम्म ‘क्वाईट–डिप्लोमेसी’ गर्दै आएको सुनाउँदै भने,‘अब ओपन डिप्लोमेसीमात्रै होईन, उसको सि विचारधाराको प्रचार थलोको साउथ एशियामै प्रारम्भको रुपमा चाहीँ चीनले नेपाललाई प्रयोग गरेको छ । हामी सि विचाराधारा होईन, विकास र कुटनीतिमा साझेदारी चाहन्छौं । त्यहाँको आर्थिक विकास र प्रविधको नमूनाहरुलाई नेपाल भित्र्याउन चाहन्छौं । तर, विचारधारा होईन। हामी एकदलीय कम्युनिष्ट शासन वा सर्वसत्तावादी विचारसँग कहिले सहमत भएनौं ।’

उनले नेपालमा नेकपाले शासन÷सत्ता पाएको बहुदलीय प्रतिष्पर्धात्मक कम्युनिष्ट भएर पाएको केसीले सुनाए । उनले भने,‘त्यो कुरा उनीहरुले सम्झिनुपर्ने आवश्यकत्ता छ । तर, केही नेकपाका युवा नेताले यो बिआरईसँग सम्बन्धित भनेर टिप्पणी गरेको पनि मैले सुनें । बिआरई भौतिक पूर्वाधार र विकाससँगमात्रै सम्बन्धित् । यो विचारसँग सम्बन्धित होईन् । यसमा सि जिनपिङ विचार जोड्न मिल्दैन् ।’

चिनियाँ राष्ट्रपति सिको १४ वटा बुँदे सुत्र चीनको लागि यथार्थ भएपनि ती सूत्रहरु आफूहरुले सापटी लिन नचाहेको केसीको स्पष्ट भनाई छ । उनले भने,‘नेकपाले के अब देशमा विस्तारै एकदलीय कम्युनिष्ट शासनतर्फ उन्मुख गराउन खोजेको हो ? म प्रश्न गर्न चाहन्छु । तर, अहिले नै अविश्वास नगरौं ।’ पछिल्लो समय नेकपाको व्यवहार प्रतिष्पर्धीमाथि आक्रमण गर्ने खालको देखिएको सुनाउँदै केसीले कञ्चनपुर र बाँकेलगायत जिल्लामा कांग्रेस नेतामाथि भौतिक आक्रमण भएको घट्ना सुनाए । उनले थपे,‘त्यसैले उसको व्यवहार देखेर एकदलीय कमयुनिष्ट पद्धतितर्फउन्मुख आरम्भ हो कि भन्ने हाम्रो आशंका छ ।’

उनले आफूहरु अहिले आफ्नो आन्तरिक व्यवस्थापनमा केन्द्रित रहेको सुनाए । उनले भने,‘नेपाल कम्युनिष्ट पार्टीको यही अलोकतान्त्रिक धारबाट जसरी गैरहेको छ । अहिलेको जुन परिस्थिति छ । त्यो परिस्थितिले कांग्रेसलाई बाध्य भएर सोच्न विवश बनाएको छ । हामीले जसरी नेपालको इतिहामा तीन वटा क्रान्तिको नेतृत्व गर्यौं । अब चौथो क्रान्ति कम्युनिष्टको विरोधमा गर्नुपर्ने आवश्यकत्तातर्फ समयले घचघचाएको छ ।’

नेता केसीले कांग्रेसले भर्खरै दोस्रो चरणको जागरण अभियान सफलतापूर्वक सम्पन्न गरेको सुनाए । उनले जागरण अभियानको मुख्य उद्देश्य भनेको नै आन्तरिक सुसुप्ततालाई चेतनातर्फ डोर्याउनु रहेको सुनाए । पार्टीभित्र देखिएका कमीकमजोरी, त्रुटीहरु चेतनशील मार्गमा अघि बढाउने पनि जागरणको उद्देश्य रहेको उनको भनाई थियो । उनले भने,‘पार्टीमा पारदर्शीता अपनाउनुपर्छ । पार्टीलाई नेतामुखी नभएर नीतिमूखी बनाउने र व्यक्तिमूखी नभएर संस्थामुखी बनाउने कुरामा हामीले जोड दिनुपर्छ ।’

उनले नेकपाको नेतृत्वमा दुई तिहाई बहुमतको सरकार बनेपनि सोचेजस्तो स्थायित्व प्राप्त नभएको टिप्पणी गरे । उनले भने,‘अहिले दुई, तीन वटा मात्रै पार्टी हुनु मुलुक र जनताको लागि पनि राम्रो कुरा हो । यो सकारात्मक पक्ष हो । तर, सरकार दम्भ र निरंकुशतातर्फ उन्मुख भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकका महत्वपूर्ण अंगहरु आफू केन्द्रित गरेका छन् । संवैधानिक अंगहरुमाथि निगरानी र नियन्त्रणको कोशिस गरेका छन् । सरकार लोकतान्त्रिक मूल्य र मान्यतामा चल्नुपर्छ ।’

वर्तमान सरकारले दुई तिहाईको दम्भमा र अहंकारबाट पीडित भएर संविधानका मौलिक मान्यता र बहुदलीय पद्धतीमाथि नै चूनौति दिँदै अघि बढेको उनको आरोप थियो । केसीले भने,‘वर्तमान सरकार लोकतन्त्रको आवरणमा, लोकतन्त्रको खोल ओढेर एक दलीय शासनपद्धतीतर्फ उन्मुख हुन लागेको हो कि भन्ने स्थिति देखा पर्न थालेको छ । अर्कोतर्फ सरकार निरन्तर रुपबाट भ्रष्टाचारमा शुन्य सहनशिलता भन्छ । तर, यति धेरै भ्रष्टाचारका कहालीलाग्दा घट्नाहरु सर्वसाधरणका बीचमा आईरहेका छन् । तर, तिनीहरु कसैलाई पनि कारवाही हुन सकिरहेको छैन् ।’

उनले अघि भने,‘दुःखद् कुरा भन्नुपर्दा एक हजार रुपैयाँ खाजा खान दियो कसैले भनेर एक जना कर्मचारीलाई अख्तियारले कारवाही गर्दा आत्महत्या गरेको समाचार सुन्न पाईएछ, यो भन्दा दुःखद् अरु के हुन्छ ? तर, अरवौं अरबको घोटालामाथि सरकार मौन छ । साँढे तीन अर्वभन्दा बढि घोटाला भएको वाईडबडी काण्ड अहिलेपनि जस्ताको तस्तै छ । संसदको सार्वजनिक समितिले प्रतिवेदन दिँदापनि कुनै कारबाही छैन् । ३३ केजी सुनको त्यही हालत छ । एनसेल कर काण्ड त्यस्तै छ । ३९ अर्ब राष्ट्रलाई घाटापर्ने स्थिति देखिएको छ । यसको बास्तविकता खोतल्नतर्फ सरकार ईच्छुक छैन् । बुढीगण्डकीलगायत सरकारी जग्गासमेतका धेरै काण्ड छन् । फोरजी काण्ड । तर, भ्रष्टाचारका कहीँ कुनै खालको कारबाही अहिलेसम्म देखिएन् ।’

वर्तमान सरकारले कहिलेकाहीँ यो भ्रष्टाचारमा प्रतिपक्षीको अनुहार छ र फलानाको पनि संलग्नता छ भनेर आरोप लगाउने गरेकोमा पनि उनले आपत्ति जनाए । उनले भने,‘तर, म त के भन्छु भने सरकारसँग यदि तागद र हिम्मत छ भने सरकारले जो भएपनि जनताको अघि ल्याएर नंग्याएर देखाए हुन्छ । सरकार साँच्चै भ्रष्टाचार विरोध अभियानमा लाग्ने हो भने प्रतिपक्षलाई नंग्याएर यो बेलामा जनताको बिचमा देखाउनु उसको निम्ति यो ठूलो सौभाग्य होईन र ? तर, सरकार यो गर्न सक्दैन् । किनभने उ सबै आफैं डुबेको छ ।’

उनले देश हत्या, हिंसा, अराजकता र बलात्कारको साम्राज्यको रुपमा विकसित भएको सुनाए । उनले भने,‘एकातिर यस्तो अवस्था छ, अर्कोतर्फ सम्पूर्ण रुपले भ्रष्टाचार कहालीलाग्दो एकपछि अर्कोमा डुब्दै गएको छ । समग्र यो संघीयताको मर्मविपरित अधिकारलाई केन्द्रिकृत गरेको छ । संघीयताको मर्म त अधिकार विनियोजन र तल्लोस्तरमा पुर्याउनु हो । त्यसो गर्नुको सट्टा शक्तिलाई प्रधानमन्त्रीले केन्द्रितकृत गर्नुभएको छ ।’

काठमाडौ । लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।

गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी प्राप्त भएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।

टिमुरे । नेपाल र चीनबीच सञ्चालनमा रहेको एक मात्र व्यापारिक नाका रसुवागढीबाट भेडा–च्यांग्रा आयात सुरु भएको छ । नेपालीको महान् चाड बडादसैँ नजिकिएसँगै बुधबारदेखि रसुवागढी नाका हुँदै भेडा–च्यांग्रा आयात सुरु भएको हो ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट ल्याइएको करिब २ सय ३० वटा भेडा–च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल भित्र्याइएको व्यापारी दिवाकर न्यौपानेले बताए । उनले भने ‘विगतका वर्षमा मुस्ताङबाट भेडा–च्यांग्रा ल्याइने गरेकोमा गत वर्षदेखि यो नाका हुँदै ल्याएका छौँ, र यो वर्ष पनि दसैँ सुरु हुन लागेको हुदाँ भेडा–च्यांग्रा ल्याइसकेका छौँ ।’

गत वर्षको तुलनामा यो वर्ष भेडा–च्यांग्राको आयात बढ्ने व्यापारीले बताएका छन् । गत वर्ष यो नाका हुँदै ४ सय ७० वटा भेडा–च्यांग्रा नेपाल भित्रिएका थिए । गत वर्षको तुलनामा यो वर्ष प्रतिभेडा–च्यांग्रा २ हजारदेखि २ हजार ५ सयको हाराहारीमा मूल्य बढेकोे बताइएको छ । भन्सार गर्दा भेडा–च्यांग्राको मूल्य २३ हजारदेखि २६ हजारसम्म पर्नेसमेत न्यौपानेले बताए ।

रसुवाकैै व्यापारी स्वयंले भेडा–च्यांग्रा ल्याउँदै गरेकाले गत वर्षभन्दा यस वर्ष भेडा–च्यांग्रा निकै आयात हुने उनको भनाइ छ । व्यापारीका अनुसार सवारीको चाप बढी हुँदा भेडा–च्यांग्रा ल्याउन भने निकै कठिन रहेको छ । दसैँलाई लक्षित गरी चीनको तिब्बतबाट रसुवागढी हुँदै आयात गरिने भेडा–च्यांग्राको संख्यामा तीन वर्षदेखि निरन्तर ओरालो लागेको छ ।

चीनको तिब्बतस्थित ल्हासामा भेडा–च्यांग्राको भाउ निरन्तर बढ्दै जान थालेपछि आयात निरन्तर ओरालो लागेको व्यावसायीरूले बताएका छन् । ०७० मा २ सय २ वटा, ०७१ मा १ सय ८०, ०७३ मा २ सय ५० वटा र ०७४ र ०७५ मा ५५-५५ वटा भेडा–च्यांग्रा रसुवागढी नाका हुँदै नेपाल आयात भएको थियो ।

०७० अघि यो नाकाबाट पाँच हजारदेखि १० हजारसम्म भेडा–च्यांग्रा आयात हुने गरेको व्यापारीहरूले बताएका छन् । चाडपर्वको समयमा हरेक वर्ष रसुवागढी नाकाबाट भेडा–च्यांग्रा आयात हुने गरेको छ ।

काठमाडौ । अबको तीन दिन देशभर मौसम बदली भई धेरै ठाउँमा पानी पर्ने मौसमविद्ले बताएका छन् । बाहिरबाट आएको जलवाष्पयुक्त हावा र नेपालमै बनेको स्थानीय वायुको प्रभावले अझै तीन दिन देशका धेरै ठाउँमा पानी पर्ने देखिएको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिनुभयो ।

मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) औसत स्थानमै रहेको र नेपालको मध्य तथा पूर्वी भूभागमा जलवाष्पयुक्त वायुको प्रभाव देखिएकाले मनसुनी गतिविधि बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् अर्यालका अनुसार तीन दिनसम्म देशका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना छ । कुनै कुनै भूभागमा भारी वर्षाको सम्भावना पनि रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘तर लगातार झरीको संभावना भने छैन ।’

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान :

असोज ०९ गते बिहीबार :

दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज १० गते शुक्रबार

दिउँसो : देशभरी आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रहनेछ । पूर्व, मध्य तथा पश्चिमका केही ठाउँमा हल्कोखि मध्यम वर्षा हुनेछ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

असोज ११ गते शनिबार

दिउँसो : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

राति : देशभरी सामान्य बदली रहनेछ । देशका केही ठाउँमा मेघगर्जन र चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ ।

धनुषा । जनकपुरमा डाँकाहरुको एक समूहलाई गोली प्रहार गरी पक्राउ गर्न धनुषा प्रहरी सफल भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार आज बिहान करिब ३ः३० बजेको समयमा गोली प्रहार गरी ४ डाँकाहरुलाई नियन्त्रणमा लिइएको हो।

जनकपुरधााम उपमहानगरपालिका कार्यालयसँगै रहेको जानकी फर्निसिङमा डकैती गर्न खोज्दा गस्तीमा रहेका प्रहरीले उनीहरुलाई देखेर रोक्न खोज्दा डाँकाहरुले प्रहरीमाथि पेस्तोल तेर्साएपछि प्रहरीले गोली चलाएको थियो।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर कार्कीले जनकपुरधाम उपमहानगरपालिका-२ स्थित भानुचोक र शिवचोकको बीचमा रहेको जानकी फर्निसिङमा लुटपाट गर्ने गिरोहका ४ जनालाई पक्राउ गर्न सफल भएको बताए।

प्रहरीलाई हतियार देखाएर भाग्न खोज्दा प्रहरीले ३ राउण्ड गोली चलाएको डिएसपी रामेश्वर कार्कीले जनाए। उनका अनुसार डाँकाहरुलाई नियन्त्रणमा लिनको लागि प्रहरीले गोली चलाउँदा एक जनाको खुट्टामा गोली लागेको छ। उनको अवस्था समान्य रहेकोसमेत कार्कीले जानकारी दिए।

डाँकाहरुको साथबाट बरामद हतियार तथा औजार। गोली लाग्नेमा रौतहटका विनोद प्रसाद सिंह हुन्। उनको हाल जनकपुर अस्पतालमा उपचार भइरहेको छ।

सिंहसँगै पक्राउ पर्नेमा दुई जना भारतीय र एक रौतहटका छन्। घटनाबारे अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए।

काठमाडौ । सरकारले प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालको अमेरिका भ्रमण अस्वीकृत गरेको छ । उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले उनको विदेश भ्रमण रोकिदिएको स्रोतले बतायो । हरेक वर्ष २६ देखि २९ अक्टोबरसम्म अमेरिकाको सिकागोमा विश्वका प्रहरी प्रमुखहरूको सम्मेलन हुँदै आएको छ ।

सम्मेलनमा केही वर्षयता प्रहरी अधिकारीहरूको नियमित सहभागिता रहँदै आएको छ । तर, सरकारले नै यस वर्ष महानिरीक्षकको भ्रमण रोकेको छ । मंगलबारको मन्त्रिपरिषद्को बैठकमा भ्रमणसम्बन्धी प्रस्ताव अस्वीकृत भएको हो ।

प्रहरी महानिरीक्षकको विदेश भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्छ । चिलीमा १६ अक्टोबरदेखि हुन लागेको इन्टरपोलको सम्मेलनमा भने महानिरीक्षक खनाल जाने सम्भावना छ । विनाकुनै कारण उनको भ्रमण अस्वीकृत भएपछि गृह मन्त्रालयका अधिकारीले आश्चर्य मानेका छन् ।

आइजिपीलाई थाहै नदिई एआइजी सरुवा :
मंगलबारको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका एआइजीहरूको सरुवासमेत गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत एआइजी पुष्कर कार्कीलाई प्रहरी मुख्यालयमा सरुवा गरिएको छ । उनलाई मानव स्रोत तथा प्रशासन र कार्य तथा अपराध अनुसन्धान गरी दुईवटा विभागको नेतृत्व हेर्ने गरी मुख्यालयमा सरुवा गरिएको हो । त्यस्तै, मुख्यालयका एआइजी ठूले राईलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ ।

हाल नेपाल प्रहरीमा तीन मात्र एआइजी छन् । अर्का एआइजी धिरु बस्न्यातलाई राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा काजमा राखिएको छ । प्रतिष्ठानको कार्यकारी निर्देशकका रूपमा कार्यरत रहँदा आर्थिक अनियमितताको उजुरी प्रधानमन्त्री कार्यालयमा परेपछि उनलाई जिम्मेवारी दिइएको छैन ।

स्रोतका अनुसार एआइजी सरुवाबारे प्रहरी महानिरीक्षक मात्र नभई गृह मन्त्रालयका अधिकारीलाई समेत जानकारी थिएन । सामान्यतया यस्ता सरुवामा प्रहरी प्रधान कार्यालय हुँदै गृहले मन्त्रिपरिषद्मा प्रस्ताव लगेपछि निर्णय हुन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो प्रस्तावमा प्रहरीका एआइजीको सरुवा भएको स्रोत बताउँछ । ‘प्रहरी मुख्यालय कमजोर भएको बुझाइका आधारमा एआइजी पुष्कर कार्कीलाई मुख्यालयमा सरुवा गरिएको सुनिन्छ,’ गृह मन्त्रालयका एक अधिकारीले भने, ‘यसले सरकार प्रहरी महानिरीक्षकको कार्यशैलीसँग खुसी छैन भन्ने देखाउँछ ।’

आइजिपी खनाल र एआइजी कार्कीबीच व्यक्तिगत सम्बन्ध राम्रो छैन । सोही कारण खनालले आफूअनुकूलका एआइजी राईलाई मुख्यालयमा राखेर कार्कीलाई प्रतिष्ठानमा सरुवा गराएका थिए । प्रहरी मुख्यालयमा कार्यरत एआइजीसँग आइजिपीले बिहानदेखि बेलुकासम्म सरसल्लाह लिनुपर्ने हुन्छ । प्रहरीका सरुवा-बढुवादेखि दैनिक अप्रेसनका काम हेर्नुपर्ने हुँदा नियमित आइजिपीसँग सरसल्लाह गर्नुपर्ने हुन्छ । आइजिपी बढुवामा दुवै प्रतिस्पर्धी भएकाले उनीहरूको सम्बन्ध बिग्रिएको थियो ।

विभूषण दिन अस्वीकार :
प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक खनाललाई विभूषणको सिफारिस गरेको थियो । तर, विभूषण सूचीबाट उनको नाम काटिएको छ । प्रधानमन्त्री असन्तुष्ट भएर नै नाम काटिएको स्रोत बताउँछ । विभूषणसम्बन्धी कार्यविधिअनुसार उनले यस वर्ष विभूषण पाउनुपर्ने थियो । उनले अघिल्लो वर्ष पनि पाएका थिएनन् । खनालले आगामी माघमा अनिवार्य अवकाश पाउँदै छन् । हरेक आइजिपीलाई पदमा हुँदा विभूषण दिने परम्परा छ ।

प्रहरीका कपडालगायत बन्दोबस्तीका सामान खरिदमा अनियमितता आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत प्रहरी नेतृत्वमाथि छानबिन गरेका कारण पनि प्रहरी महानिरीक्षक खनाल पछिल्लो समय समस्यामा परेका छन् ।

काठमाडौ । बैंक तथा वित्तीय संस्थाका प्रविधिहरुको दुरुपयोग गरी पाँच अर्व रुपैयाँ भन्दाबढी रकम झिकेर विदेश लैजाने योजनामा संलग्न १२ जनालाई प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ ।

महानगरीय अपराध महाशाखाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी योजनामा संलग्न १२ जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा रसुवाकी लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ,नुवाकोटका लवाङ तामाङ र नुवाकोट घर भएर काठमाडौं काभ्रेस्थली बस्ने संजय घले रहेका छन् ।

यस्तै, अन्यमासर्लाहीका पुष्पराज खड्का, जमजुङका विद्या सागर लामिछाने, तनहुँका श्रवणकुमार श्रेष्ठ, भक्तपुरकी सुनिता श्रेष्ठ, भारतको कलकत्ता घर भई हाल काठमाडौं टेबहाल बस्ने शुबकन्दर पन्जा, कैलालीका विजय साह र चन्द्रबहादुर बुढा रहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

कृषि विकास बैंकबाट हालसम्म एकीन खुल्न आएको रकम ४ करोड ७३ लाख ९६ हजार ह्याक भएको रकमको अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाइएको महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाले जानकारी दिए । उनीहरुले पानस रेमिट नयाँबानेश्वरबाट पनि १२ लाख रुपैयाँ ह्याक गरेको खुलासा भएको पनि उनले बताए ।

महाशाखाका अनुसार भारतको मुम्बईमा बस्ने काले भनिने पिटरले नेपालीहरुलाई सम्पर्क गरी बैंक तथा वित्तीय संस्थाको रकम निकाल्ने काममा प्रयोग गरेका थिए । रकम निकालेर भारत पठाउनेलाई जम्मा रकमको १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरी सो काममा लगाइएको अनुसन्धानमा खुल्न आएको महाशाखाका प्रमुख थापाले बताए ।

काडमाडौ । “म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।”

आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमीनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उनले मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने भएकाले सङ्गठनको कामका साथै उत्पादन क्षेत्रको पनि नेता र अगुवा बन्न आग्रह गरे । प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई आज ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए ।

नेपालको कूल क्षेत्रफलको २८ प्रतिशत भूमि ९करीब ४१ लाख २१ हजार हेक्टर० कृषिभूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल रु २६ लाख ४१ हजारमा मात्र खेती गरिएको छ । “हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमीनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ ।” उनले भने, “सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ ।

कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।” प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने जानकारी दिए ।

प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यत : बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे।

उनले भने,“विश्वमै नयाँ ढङ्गको एकताबद्ध र अनुशासित कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धाबाट सरकारका जान सक्छ र राष्ट्रिय हितमा काम गर्न सक्छ भन्ने स्थापित भएको छ । अब कोही गरीब र कोही धनी भइरहने अवस्थाको अन्त्य गरी न्याय र समतामूलक मानवजातिका लागि सुरक्षित र समृद्धिको यात्रामा सिङ्गै समाजलाई उठाउन हामी लागेका छौँ ।”

देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न महासङ्घका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे ।

बैठकमा नेकपाका सचिवालय सदस्य एवं महासङ्घका इञ्चार्ज वामदेव गौतमले महासङ्घका केन्द्रीय कमिटीका सदस्यलाई शपथ गराएका थिए । नेकपाको गत जेठ २ गतेको सचिवालयको निर्देशनपछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट २५१ सदस्यीय एकीकृत महासङ्घ गठन भएको थियो । महासङ्घको सह इञ्चार्जमा चित्रबहादुर श्रेष्ठ र सुनील मानन्धर तथा अध्यक्षमा हरि पराजुली छन् । तत्कालीन एमाले र माओवादी केन्द्रको २०७५ जेठ ३ गते एकता भएको थियो ।

बैठकमा मुलुकको वर्तमान सामाजिक आर्थिक अवस्थाको विकाससँगै नेपाली कृषि क्रान्तिको कार्यक्रम समृद्ध गर्ने लक्ष्यसहितको राजनीतिक प्रतिवेदन प्रस्तुत गरिएको छ ।

काठमाडौ । दुग्ध विकास संस्थानमा ४६ करोड भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाप्रबन्धक गंगा तिमल्सिनासहित १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

संस्थानले काठमाडौँ उपत्यकामा दुग्ध वितरणको लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेश प्रा. लि. लाई ठेक्का दिएकोमा ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेण्डर नगरी पुनः सम्झौता गरी घोटाला भएको हो । आयोगले दुग्ध विकास संस्थानका तत्कालीन महाप्रबन्धक गंगा तिमसिना, तत्कालीन निमित्त उपमहाप्रबन्धक डा. ईश्वरी प्रसाद अधिकारी, दुग्ध वितरण आयोजना बालाजुका तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधव प्रसाद ओझा, तत्कालीन बरिष्ठ लेखा अधिकृत राजनजंग थापा र तत्कालीन प्रशासकिय अधिकृत हाल दुग्ध विकास संस्थानका प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दिपक सुवेदी, दूध डिष्ट्रिब्युटर गोकुल निर्माण सेवाका संचालक गोकुल फुयाल र प्रभु आदित्य बिजनेश प्रा. लि. का संचालकद्वय फणिन्द्र प्रसाद दाहाल, दिप बहादुर खड्का र तत्कालीन सञ्चालक सतिस कुमार गिरी विरुद्ध मुद्दा दायर गरेको हो ।

दुग्ध विकास संस्थानलाई हानि नोक्सानी र्पुयाउने बदनियतले सार्वजनिक खरिद ऐन, २०६३, सार्वजनिक खरिद नियमावली, २०६४, दुग्ध विकास संस्थान आर्थिक प्रशासन सम्बन्धी विनियमावली, २०६६ को साथै दुग्ध विकास संस्थान खरिद व्वस्थापन शाखा, प्रशासन व्वस्थापन विभाग र आर्थिक व्वस्थापन विभाग समेतको सिफारिस राय विपरित साविक २०६९।१०।२२ गतेको सम्झौतामा उल्लेखित प्रतिलिटर ढुवानी मूल्यमा आफूखुसी ५५ मूल्यवृद्धि गर्ने निर्णय गरीरगराई अस्वाभाविक बढी भुक्तानी दिई निजहरूले आफूहरूलाई फाइदा र दुग्ध विकास संस्थानलाई हानिनोक्सानी र्पुयाएको पुष्टि हुन आएको आयोगले जनाएको छ ।

यसरी संस्थानलाई ४६ करोड ७९ लाख रुपैयाँ अनियमितता गरेको आयोगले जनाएको छ ।

काठमाडौ । पूर्वी पाकिस्तानमा ५.८ म्याग्निट्यूडको भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको र तीन सय जनाभन्दा बढी मानिस घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । भूकम्पको केन्द्रबिन्दु पाकिस्तान-प्रशासित कश्मीरको मिरपुरनजिकै रहेको बताइएको छ ।

सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा मुख्य सडकमा ठूलो क्षति पुगेको र घरहरूमा आंशिक क्षति पुगेको देखिन्छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन् । उक्त क्षेत्रमा सन् २००५ मा भूकम्प जाँदा हजारौँ मानिसको ज्यान गएको थियो ।

अमेरिकी भूगर्भसम्बन्धी निकाय यूएसजीएस र पाकिस्तानको भूगर्भ विभागले उक्त भूकम्पको ५.८ म्याग्निट्यूड भएको जनाएका छन् । भूकम्पको धक्का भारतको नयाँ दिल्लीसम्म महसुस गरिएको थियो । पाकिस्तानको राजधानी इस्लामाबादसहित देशको उत्तरी भेग, लाहोर, पेशावर र पाकिस्तानप्रशासित कश्मीरमा पनि मङ्गलवार अपराह्ण भूकम्प महसुस भएको थियो ।

भूकम्पको गहिराइ १० किलोमिटर रहेको बताइएको छ । पाकिस्तानका सेना प्रमुखले प्रभावित क्षेत्रमा तत्काल उद्धारकार्य थाल्न निर्देशन दिएको सेनाका प्रवक्ताले ट्विटमार्फत् बताएका छन् ।

बीबीसी उर्दूका अनुसार धक्का महसुस गरिएको एउटा क्षेत्र मिरपुरका प्रहरी अधिकारीले त्यहाँ चार जनाको मृत्यु भएको पुष्टि गरेका छन् ।

मिरपुर पाकिस्तान-प्रशासित कश्मीरमा पर्छ । हताहत हुनेको सङ्ख्या बढ्न सक्ने अधिकारीहरूले बताइएका छन् । थुप्रैतिरबाट जमिन चिरा परेकाे छ । भारतको राजधानी नयाँदिल्लीसहित भारतका थुप्रै शहरमा समेत धक्का महसुस गरिएकाे थियाे ।

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षाफल मंगलबार सार्वजनिक गरेको छ । गत वैशाख २९ देखि जेठ ८ गतेसम्म लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा पुराना र नियमित गरी ५ लाख ९ हजार ५२ परीक्षार्थी सहभागी थिए । तीमध्ये ३१ जना परीक्षार्थीको नतिजा रद्द भएको बोर्डले जनाएको छ ।

त्यसमध्ये नियमिततर्फ ३ लाख ४९ हजार ६ सय ३ जना सहभागी थिए । नियमिततर्फको नतिजालाई जीपीएअनुसार नौ किसिमले सार्वजनिक गरिएको छ । तीमध्ये ३ दशमलब ६१ देखि ४ जीपीए हासिल गर्ने २ हजार ३ सय १९ जना छन् । त्यसैगरी ३.२१ देखि ३.६० जीपीएप्राप्त गर्ने १३ हजार ७७२ जना छन् । २.८१ देखि ३.२० जीपीए ल्याउने ३२ हजार २ सय ५३ जना, २.४१ देखि २.८० जीपीए पाउने ५४ हजार ८ सय १६ जना छन् ।

यसैगरी ८४ हजार २ सय ३९ जनाले २.०१ देखि २.४० जीपीए प्राप्त गरेका छन् भने सबैभन्दा धेरै ८९ हजार ६ सय ५० जनाले १.६१ देखि २ जीपीए पाएका छन् । यस्तै ४३ हजार ३७ जनाले १.२१ देखि १.६० जीपीए, ८ हजार १७१ जनाको ०.८१ देखि १.२० जीपीए र २१ हृजार ३ सय ४६ जनाको ०.८० जीपीए रहेका छन् । नियमितर्फ १८ जना परीक्षार्थी एक्सपेल्ड भएका छन् ।

बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले अनुसार ग्रेड नतिजा विगतभन्दा सुधार आएको बताएका छन् ।

पुराना परीक्षा प्रणाली पूर्णाङ्कअन्तर्गत १७ हजार १ सय ४ जना परीक्षार्थी सहभागी थिए । तीमध्ये ७ हजार १ सय ३२ जना उत्तीर्ण भएका छन् । यो उत्तीर्ण प्रतिशत ४१ दशमलव ७० हो । यसैगरी आंशिक परीक्षातर्फ १ लाख ४२ हजार ३ सय ४५ परीक्षार्थी सहभागी थिए ।