ककनी । नुवाकोटको ककनी गाउँपालिकामा गाई भैसी पाल्ने किसानले सुत्केरी भत्ता पाउने भएका छन। गाई भैँसी व्याएपछि किसानलाई तीन हजार रुपैयाँ सुत्केरी भत्ता दिने गाउँपालिकाले जनाएको छ।

पालिकाले आवश्यक बजेट नै विनियोजन गरेर सुत्केरी भत्ता वितरणको सुरुवात गरेको अध्यक्ष मनबहादुर लामाले बताए । कृषकहरुलाई पेसा प्रति जागरुक र आत्मनिर्भर बनाउनको लागी गाउँपालिकाले यस्तो निर्णय गरेको उनको भनाई छ ।

‘गाउँघरमा गाई भैंसी पाल्ने प्रवृति हराएको छ’, उनले भने, ‘किसानलाई प्रोत्साहित गर्न र दुध उत्पादन बढाउन सुत्केरी भत्ताको व्यवस्था गरिएको हो।’

आगामी दिनमा कृषि पेशा र पशुपालनबाट किसानहरु आत्मनिर्भर बन्नको लागी ककनी गाउँपालिकाले अन्य सेवा र सुबिधाहरुको लागी पहल गर्ने अध्यक्ष लामाले जानकारी दिए ।

काठमाडौ । काठमाडौंको कालीमाटीमा राँगोले हान्दा चारजना घाइते भएका छन् । काठमाडौंमा मासुका लागि तराइबाट ल्याइएको राँगो मंगलबार बिहानै कालीमाटीमा ट्रकबाट झार्ने क्रममा सडकमा निस्किएर चारजनालाई हानेर घाइते बनाएको थियो ।

त्यहाँबाट भागेको राँगोलाई खिचापोखरीमा घेरा हालेर प्रहरीले गोली हानेको हो ।महानगरीय प्रहरी परिसरको टोलीले राँगोलाई गोली हानेर मारेको हो ।

केही मानिसहरुलाई राँगोले आक्रमण गरेर घाइतेसमेत बनाएकाले गोली हानेर मार्नु परेको प्रहरीले जनाएको छ ।

कैलाली । तीन वर्षीया छोरीको हत्या गरी बाबुले आत्महत्या गरेका छन्। कैलालीको गौरीगंगा नगरपालिका-५ का रामबहादुर कलेलले सल्पास नामक विषादी सेवन गराई छोरीको हत्या गरेको र त्यसपछि आफूले पनि उक्त विषादी खाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

तीन वर्षीय छोरी अनुष्कालाई सल्पास खुवाएपछि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

गत वैशाख १६ गते कलेलकी श्रीमती सरिता कलेल कोठामै झुन्डिएर आत्महत्या गरेपछि उनीविरुद्ध माइती पक्षले आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराएका थिए।

सरिताका माइती पक्षले दुरुत्साहनमा मुद्दा दर्ता गरेपछि गत जेठ २६ गते जिल्ला अदालत कैलालीले कलेललाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो। साउन २२ गतेको अदालतको इजलासले उनलाई निर्दोष ठहर गरेपछि उनी छुटेका थिए।

छुटेको झन्डै डेढ महिनापछि उनले नाबालक छोरीसहित विष सेवन गरेर आत्महत्या गरेका हुन्। यस बारेमा प्रहरीले अनुसन्धान सुरु गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए। उनले भने, ‘सफाइ पाइसकेपछि उनले किन छोरीको हत्या गरेर आफूले आत्महत्या गरे भन्ने विषयमा हामी अनुसन्धान गरिरहेका छौँ।’

अदालतको फैसलामा सुसाइट नोट लेखेर उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ। आइतबार राती विष सेवन गरेका उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएको छ।

सिन्धुपाल्चोक । अविरल वर्षाले तिब्बतको खासा बजारनजिक रमिते भन्ने ठाउँमा सडकको बीच भागमा करिब डेढसय मिटर चर्किएपछि तातोपानी नाका बन्द भएको छ ।

सीमा पुलबाट सात किलोमिटरमाथि रहेको सो सडकमा चिनियाँ प्राविधिक टोलीले निरीक्षण गरी मर्मत कार्य शुरु गरिएकाले आठ/दश दिनसम्मका लागि बन्द हुने भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सडक बन्द भएकाले मर्मत गरी पुनः सञ्चालन हुन १० दिन लाग्ने जानकारी पाएको तोतोपानी भन्सार कार्यालयका भन्सार अधिकृत तथा सूचना अधिकारी केशव वलीले बताए ।

सो नाका भएर आउन लागेका मालवाहक कन्टेनर भ्यानहरु पनि सडक बन्द भएपछि केरुङतर्फ फर्काइएको अध्यक्ष पौडेलले जानकारी दिए ।

यस नाकाबाट भूकम्पपछि यस पालाको बडादशैँका लागि करिब ५० हजार भेडाच्याङ्ग्रा भित्रिने भएको छ । भेडाच्याङ्ग्रा लिन सात/आठ टोली तिब्बत गइसकेकाले अबको तीन/चार दिनपछि तातोपानीमा आइपुग्ने व्यापारीहरुले बताएका छन् ।

नौविसे । दिउँसो सवारी साधनको मुख्य चाप हुने समयमा सडक कालोपत्रे (पिच) गरिँदा थानकोट-नौबिसे सडकमा पाँच किलोमिटरभन्दा लामो जाम भएको छ । बुटवलबाट दिउँसो ३ बजे नौबिसे आईपुगेका यात्रु सुरज महर्जन चार घण्टासम्म जाममा बस्नु परेको बताउँछन् ।

मुख्य सवारी चाप हुने समयमा सडक बन्द गरेर पिच गरिँदा यात्रुहरुको बिजोग भएको महर्जनले बताए । जामका कारण पर्यटकको समेत बिजोग भएको यात्रुले बताए ।
दशैंअघि नै सक्ने गरी काठमाडौंको मुख्य नाका नागढंगामा सुधारको काम थालिएको छ । यसका कारण यात्रुलाई जाममा बस्नुपर्दा भने निकै सास्ती भएको छ ।

खानीखोला ट्राफिक प्रहरीका प्रहरी सहायक निरीक्षक महेन्द्र चन्दका अनुसार उपत्यका आउँदै गरेका सवारीसाधनको लाम धार्के नाघेको छ । बिहान ११ बजे देखि २ बजेसम्म खाल्डाखुल्डी पुर्न अनुरोध गरिएपनि नमानेर चापकै समयमा ठेकदारले सडकमा अबरोध गरेको उनले बताए । ‘दोहोरो गाडी पास गर्नै सकिएन, सडक अबरुद्ध भयो,’चन्दले भने ।

विदुर । नुवाकोटमा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगु रोगको प्रकोप फैलदै गएपछि नियन्त्रणको लागी बजार क्षेत्रमा एन.सि.सि.एल्मुनाई एशोसियशन नुवाकोटले सचेतना -याली निकालेको छ । जिल्लाको उच्च जोखिम रहेका क्षेत्रको पहिचान गर्दै बट्टारको हावाघरबाट सुरु भएको -यालीले बट्टारबजार र विदुर बजारको विभिन्न टोलहरुमा शनिबार रोग नियन्त्रणको लागी सचेतना जगाएको हो ।

-यालीमा सहभागी क्याडेटहरुले डेंगुलाई लाग्न नदिनको लागी जानकारीमूलक पर्चा, प्लेकार्ड र ब्यानर बोकेर बजार क्षेत्रको परिक्रमा गरेका थिए । उनीहरुको -यालीमा नुवाकोटका सहायक प्रजिअ बद्रीनाथ गैरे, विदुर नगरपालिकाको प्रमुख सञ्जु पण्डित सहित जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता समेत रहेको एन.सि.सि.एल्मुनाई एशोसियशनमा आबद्ध रबुका श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँको अनुसार -यालीको क्रममा एन.सि.सि क्याडेटहरुले डेंगु रोग लाग्न नदिनको लागी आफ्नो घर वरिपरीको पानी जमेको खाल्डाखुल्डी पुर्न, पानी जम्न नदिन, लामखुट्टेको बासोबास रहनेसक्ने स्थान जमेका पानी, झाडी तथा फोहरजन्य सामाग्रिहरु मानिसको बसोबास भएको स्थान नजिकै नराख्न सचेतना गराएका थिए ।

यस्तै, -यालीमा सहभागीले बट्टार र विदुरका स्थानीय समुदाय तथा बासिन्दालाई डेंगु रोग लाग्न नदिनको लागी सरसफाईमा ख्याल गर्न, शरिर ढाक्ने कपडा लगाएर बस्न, सुत्ने स्थानमा झुल टागेर सुत्न तथा लामखुट्टेबाट बच्ने अन्य औषधी तथा धुप बालेर बस्न आग्रह गरेका थिए ।

लामखुट्टेको टोकाईबाट (विशेष गरेर खुट्टाभन्दा तल टोक्ने लामखुट्टको कारण) सर्ने डेंगु रोग लागेका बिरामीलाई निरन्तर ज्वरो आउने, टाउको दुख्ने, आखाको भित्री भागमा दुख्ने भएकाले शंकास्पद बिरामीलाई समयमा नै जाँच गराउन र सक्रमण भएमा सचेत भएर हेरचाह गरेर बिरामीलाई निको बनाउन र रोग अन्यत्र सर्न नदिनको लागी एन.सि.सि.एल्मुनाई एशोसियशनमा आबद्ध क्याडेटहरुले जानकारी तथा जनचेतना जगाएका थिए ।
जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार हालसम्म नुवाकोटका ११ जनामा डेंगु रोगको सक्रमण देखिएको छ ।

गत सातासम्म ६ जनामा देखिएको र उनीहरुको उपचार जिल्ला तथा जिल्ला बाहिरको विभिन्न अस्पतालमा भइरहेको यो साता थप ५ जना डेंगुका नयाँ बिरामी देखाए परेको हो । रोगको प्रभाव बढ्दै गएपछि विभिन्न संघसँस्था र निकायहरुबाट जनचेतना जगाउने कार्य भइरहेको समयमा एन.सि.सि.एल्मुनाई एशोसियशन नुवाकोटले शनिबार गरेको कार्यलाई प्रभावकारी मानिएको छ ।

काठमाडौ । सरकारले यसै वर्षदेखि लागू गरेको भेइकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) लाई खुकुलो बनाउने भएको छ । भीसीटीएससहित स्थायी लेखा नम्बर ‘प्यान’ र एक हजार रुपैयाँभन्दा माथिको कारोबारमा प्यान बिलको अनिवार्यतासम्वन्धमा लचकता अपनाउन सरकार तयार भएको हो ।

सरकार र निजी क्षेत्रका प्रतिनिधि सम्मिलित समितिको यसै साता बसेको बैठकमा यी तीन व्यवस्थाको कार्यान्वयन सम्वन्धमा छलफल भएको थियो ।

छलफलका क्रममा निजी क्षेत्रका प्रतिनिधिहरुले यी व्यवस्थामा तत्काल कडाई गर्दा साना व्यवसायीहरु मर्कामा परेको गुनासो गरेका थिए । त्यसपछि वैठकले व्यवहारिक कठिनाई भएका स्थानमा कडाई गर्नेभन्दा सिक्ने-सिकाउने प्रक्रियालाई प्राथमिकता दिने सहमति गरेको छ ।

सहमतिलाई निर्णयका लागि अर्थमन्त्रीसमक्ष सिफारिस गरिएको छ ।

काठमाडौ । गोरखा केन्द्रबिन्दु भएर शनिबार बिहान ४ रेक्टरस्केलको शक्तिशाली भूकम्पको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ६ बजेर १९ मिनेटमा गोरखाको सिरानचोक गाउँपालिका–१ केराबारी केन्द्रबिन्दु भएर भूकम्पको पराकम्प गएको हो ।

भूकम्पको धक्का गोरखा, धादिङ, नुवाकोट, तनहुँ र लमजुङमा महसुस गरिएको थियो । एक हप्ताको बीचमा यसअघि सुदूरपश्चिमा तीनवटा र लमजुङ केन्द्रबिन्दु भएर एक भूकम्प गइसकेको छ ।

२०७२ वैशाख १२ गते गते गोरखाको बारपाक केन्द्रविन्दु भएर भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो ।

काठमाडौ । त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेज एण्ड साइन्सेज भरतपुरलाई आन्दोलनरत विद्यार्थीसित वार्ता र संवाद गरी बढी शुल्क लिएको भए शुल्क फिर्ता गर्न अनुरोध गरेको छ ।

त्रिविविको सम्बन्धनप्राप्त सो कलेजका चिकित्सा शिक्षातर्फका एमबीबीएस तहमा अध्ययन गर्ने विद्यार्थी सरकारले निर्धारण गरेको शुल्कभन्दा बढी शुल्क आफूहरुसित कलेज प्रशासनले उठाएको भन्दै आन्दोलनरत छन् ।

त्रिविविले शुक्रबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी आन्दोलनबाट समस्याको समाधान नहुने हुँदा कलेज प्रशासनले आह्वान गरेको वार्ता र संवादमा सहभागी हुन विद्यार्थीलाई आग्रहसमेत गरेको छ ।

“विश्वविद्यालय पनि समस्याको समाधान वार्ता नै हो भन्ने कुरामा दृढ सङ्ल्पित रहेको छ । विद्यार्थीको पठनपाठन र जनताले स्वास्थ्य उपचार गर्न पाउने अस्पताल जस्तो अति संवेदनशीलस्थानमा बाधा र अवरोध सिर्जना गर्ने गराउने कार्य नगरिदिन विद्यार्थी, अभिभावक र सम्बन्धित पक्षसित विश्वविद्यालयले अनुरोध गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

मन्त्रिपरिषद्को गत साल असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो । एमबीबीएसका लागि काठमाडौँ उपत्यकामा रु ३८ लाख ५० हजार तथा उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बीडीएस कार्यक्रमका लागि रु १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण गरिएको थियो ।

भोजपुर । षडानन्द नगरपालिकाको कार्यालय परिसरमा बम विस्फोट भएको छ । अज्ञात समूहले आज बिहान ३ बजेतिर नगरपालिकाको गाडीलाई लक्ष्य गरी बम विस्फोट गराएको थियो।

कुकर बम विस्फोट गराइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक नरबहादुर सलामीमगरले बताए। विस्फोटन भएको ठाउँमा नेत्रविक्रम चन्द समूहकोे पर्चा भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
त्यस्तै, नगरपालिकाको ग्यारेज छेउमा शङ्कास्पद वस्तु पनि फेला परेकाले त्यसलाई डिस्पोजनका लागि सङ्खुवासभाबाट नेपाली सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ आउँदै गरेको प्रहरीले जनाएको छ ।

काठमाडौ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य घटाएको छ । संविधान दिवसको अवसर पारेर सरकारले उपभोक्तालाई राहत दिने गरी मूल्य समायोजन गरिएको हो ।

निगमका प्रवक्ता विरेन्द्र गोइतका अनुसार प्रतिसिलिन्डर २५ रुपैयाँ घटाइएको छ । अब ग्यास प्रतिसिन्डिर १ हजार ३ सय ५० रुपैयाँमा किन्न पाइनेछ ।

निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनको मूल्य पनि घटाएको छ । निगमले प्रति किलोलिटर ५० अमेरिकी डलरले मूल्य घटाएको हो । अब अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १ हजार अमेकिी डलरमा जहाजले तेल हाल्न पाउनेछन् ।

भरतपुर । नेपाल सरकारले तोकेभन्दा बढी शुल्क असुलेको भन्दै विद्यार्थी आन्दोलित हुँदा चितवन मेडिकल कलेजमा १७ दिनदेखि पठनपाठन ठप्प भएको छ । आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्न सरकारले भने चासो देखाएको छैन । कलेज सञ्चालक पनि मौन छन् ।

चिकित्सा शिक्षा संघर्ष समितिका अभियन्ता एवं चितवन मेडिकल कलेजका एमबिबिएस विद्यार्थी प्रकाश चन्द ठकुरीले कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक हरिश्चन्द्र न्यौपाने वार्तामा समेत बस्न नचाहेको बताए । विषयबाट उम्किन उनी जिल्लाबाहिर रहेको विद्यार्थीको आरोप छ ।

एप्रोन लगाएका विद्यार्थी दिनहुँ कलेजको गेटमा जम्मा भएर विरोधका कार्यक्रम गर्दै आएका छन् । चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने वार्ताका लागि पहल गरिरहेको बताए । आफूले समन्वयको भूमिका खेलेको र छिट्टै कलेजका अध्यक्ष, विद्यार्थी र अभिभावकबीच छलफल गराउने उनले बताए ।

कलेजले अतिरिक्त १२ लाखसम्म रकम असुलेको विद्यार्थीको दाबी छ । कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले छात्रावास, फिल्ड भ्रमण, सूचना प्रविधि, पुस्तकालय, आन्तरिक परीक्षा शुल्कलगायत शीर्षकमा अतिरिक्त ६ लाख मात्रै लिएको बताए ।