मोष्टवान्टेड सूचीमा नागराज, गुण्डा नाइके दावा लामा पनि फरार

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा जुवा खेलाउने आधा दर्जन सट्टेबाजी पक्राउ परे पनि त्यसका नाईके नागराज भन्ने अमित अग्रवाल फरार छन् । गत साता महानगरीय प्रहरी परिसर काठमाडौंले गत नागराजका सदस्य आधा दर्जन सट्टेबाजी पक्राउ परेपछि नागराज फरार भएका हुन् । प्रहरीको अनुसन्धानबाट सट्टेबाजीका नाईके नागराज भएको खुलासा भएको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

गत साता परिसरले सट्टेबाजीको आरोपमा पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, गुण्डा नाइके दावा लामा, नागराजका खास सहयोगी गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ, र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाललाई पक्राउ गरेको थियो ।

यो समूहले नागराजको निगाहामा आईपीएल तथा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरूमा जुवा अर्थात् सट्टेबाजीको धन्दा चलाउँदै आएका थिए । डि कम्पनी अर्थात अण्डरर्ल्ड डन दाउद ईब्राहिमले सञ्चालन गर्दै आएको सट्टेबाजी धन्दाका नेपाली एजेन्ट नागराज हुन् ।

नागराजले नेपालको बिभिन्न शहरमा एक सयको हाराहारीमा आफ्ना सदस्य खडा गरी सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । स्रोतका अनुसार सट्टेबाजीको धन्दाबाट आईपीएलमा मात्रनेपालबाट वार्षिक ५ अर्ब रूपैंयाँ बिदेशिने गरेको छ ।

गत साता पक्राउ परेका नागराजका आधा दर्जन सदस्यको बरामद भएको मोबाईलबाट समेत उक्त कुरा पुष्टि हुन आउँछ । सट्टेबाजीको धन्दा माथि प्रहरीले बिषेश रुपमा निगरानी बढाएपछि नागराजका अन्य सदस्यको भागभाग भएको छ ।

पछिल्लो समय चाबहिल गोपीकृष्ण हल क्षेत्रमा बसेर सट्टेबाजीमाको धन्दा चलाउँदै आएका अनिल लामा पनि यो धन्दाको किङ भएको प्रमाण जनप्रहारले पाप्त गरेको छ ।

स्रोतका अनुसार केही वर्ष अगीसम्म गोपीकृष्ण हलमा ज्याकपोट सञ्चालन गर्दै आएका लामा अहिले सट्टेबाजी धन्दाका नाइके बनेका छन् । लामालाई परिसरले निगरानीमा राखेको छ ।

उता पाँच वर्षदेखि सट्टेबाजको धन्दा चलाउँदै आएका नागराज फरार भएको एक महिना भएको छ । उनीविरुद्ध जनप्रहारले समाचार प्रकाशित गर्न थालेपछि फरार भएका हुन् । सट्टेबाजको धन्दामा प्रहरीले उनलाई मोष्ट वान्टेड सूचीमा राख खोजि जारी राखेको बताएको छ ।

नेपालमा बुकी खेलाउने मध्ये नागराज अग्रस्थानमा छन् भने सेठ्ठी भनिने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । यी सबै भारतीय नागरिक हुन् ।

शीतल निवासमा शीर्ष नेताहरूको गोप्य वार्ता !

काठमाडौं ।  राष्ट्रपति विद्यादेवी भण्डारी र शीर्ष नेताहरुबीचको छलफल सकिएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनपछि राष्ट्रपतिले सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरुसँग पहिलोपटक सामुहिक भेट गरेकी हुन् । भेटमा राष्ट्रपतिले सहमति र सहकार्यमा संविधान जारी गरेको र अब संविधानको कार्यानन्वयन पनि सहमति र सहकार्यमै गर्न दलहरुलाई आग्रह गरेको राष्ट्रपतिका प्रेस विज्ञ भेषराज अधिकारीले जानकारी दिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

‘तपाईंहरूले संविधान मिलेर जारी गर्नुभयो अब संविधान कार्यान्वयनपनि मिलेरै गर्नुस्’, भण्डारीको भनाइ उधृत गर्दै अधिकारीले भने, ‘देशलाई विकास र समृद्धिको बाटोमा लैजाने तपाईंहरुको साझा दायित्व हो, रोजगारी बढाएपछि मात्र समृद्धिको बाटो खुल्छ ।’

राष्ट्रपतिको आग्रहमा शीर्ष नेताहरुले विकास र समृद्धिको बाटोमा देशलाई लैजाने आफूहरुको साझा दायित्व भएकाले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको अधिकारीले जानकारी दिए ।

भेटमा नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्षद्वय केपी ओली र प्रचण्ड साथै प्रमुख प्रतिपक्षी कांग्रेसबाट सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल सहभागी थिए ।

यी हुन् सलमान खानको नाममा करोडौँ लुट्ने व्यक्ति, प्रहरीको सूचीमा सिमान्त गुरुङ

काठमाडौं । ‘दबंग, दी सलमान खान लाइभ इन नेपाल’ भन्ने कन्सर्ट गर्ने भन्दै राजधानी तताएको ओडीसी इन्टरटेनमेन्टले करोडौं रुपैंयाको टिकट बिक्री गरी कार्यक्रम रद्द गरेको छ ।
१२ जेठमा गर्ने भनिएको उक्त कार्यक्रम रद्द भएको र अर्को सूचनासम्म पर्खन ओडीसीले फेसबुक पेजमा लेखेको छ । तर अर्को कार्यक्रमको मिती तोकेको छैन । जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

सहमतिअनुसारको पैसा पु¥याउन नसक्दा कार्यक्रम रद्द भएको स्रोत बताउँछ । चार वर्ष अगाडि पनि ओडीसी इन्टरटेनमेन्टले करोडौं रुपैंयाको टिकट बिक्री गरी कार्यक्रम रद्द गरेको थियो ।

७ वर्षअघि क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा ल्याएर सबै भन्दा ठूलो कार्यक्रम गरेको भन्दै चार वर्ष अगाडि दीप पर्पल कन्सर्ट गर्ने भन्दै करोड उठाएको ओडीसी इन्टरटेनमेन्टले सलमान खानलाई नेपालमा उभ्याउने घोषणा गरेको थियो । तर सलमान आउने भनेर तोकिएका दुई मितिमा कार्यक्रम हुन सकेन ।

१३ मार्च २०१३ मा ‘दीप पर्पल लाईभ ईन नेपाल’ गर्ने भन्दै ओडीसीले ५ सय देखि दश हजारसम्मका टिकट बिक्री गरि ठगी गरेको थियो । अहिले सोही शैलीमा पाँच हजार देखि २० हजारसम्मको टिकट बिक्री गरेको ओडीसीले सर्बसाधारणको करोडौं रुपैंया चुना लगाएको छ ।

सम्बन्धित निकायले ध्यान नदिँदा सर्वसाधारणको करोडौं रुपैंयामा ओडीसीका प्रबन्ध निर्देशक सिमान्त गुरुङले मोजमस्ती गर्दै आएका छन् । उनै सिमान्त गुरुङले सलमान खान नेपाल ल्याएर फागुन २६ गते शनिबार टुडिखेलमा हुने ‘दबंग, द सलमान खान लाइभ इन नेपाल’ भन्ने कन्सर्ट गर्ने भन्दै सञ्चारमाध्यम समेतठूलै खर्च गरेका थिए ।

एक महिना अगाडी नै रद्द भईसकेको कार्यक्रमको मिडीयामा बिज्ञापन गराएर ओडीसीले २३ जुन सम्म टिकट बिक्री गर्दै आएको स्रोतको दाबी छ । ओडीसीले जारी गरेको सूचनामा अर्को सुचना नआएसम्मलाई कार्यक्रम स्थगित भएको घोषणा गरिएको छ ।

सलमानको नाममा करोडौं उठाएर व्यापारमा लागेका ओडीसीका गुरुङले घाटा हुने भएपछि कार्यक्रम रोकेका थिए । यस बिषयमा ओडिसीको ९८०१२१६००२ मा सम्र्पक गर्दा कार्यक्रम कहिले हुन केही थाहा नभएको र सिमान्त भारत भएको जानकारी दिएका थिए ।

यसरी आउँदैछ कम्युनिस्ट शासन, यी दलको पत्ता साफ गराउन उपेन्द्रलाई प्रयोग

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीले संविधान संशोधन मार्फत प्रत्यक्ष कार्यकारी राष्ट्रपति शासनका लागि बाटो खुलाउने भएको छ । संसदमा दुई तिहाई समर्थन पु¥याउनका लागि संघीय समाजवादी फोरमसँग एकीकरण नै गर्ने सुरु कसेको नेकपाले यस व्यवस्था पारित गराउन दुई तिहाई बहुमतको एकल सरकार बनाउने तयारी पनि गरेको हो । जनप्रहार साप्ताहिकले समाचार छापेको छ । फोरम अध्यक्ष उपेन्द्र यादव सरकारमा सहभागी भइसकेका छन् । उनलाई नेकपाको सचिवालयमा राख्दै एकीकरणका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव गरिसकेका छन् ।

फोरमसँगै नयाँ शक्ति पार्टी नेपालसँग पनि एकीकरणको तयारी नेकपाले गरेको छ । नयाँ शक्ति संयोजक डा. बाबुराम भट्टराई प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको पक्षधर हुन् ।

‘अब विचार मिल्नेसँग एकीकरण गरेर कार्यकारी प्रमुख जनताबाट निर्वाचित हुनेगरी नै संविधान संशोधन हुनेछ जसले स्थायी सरकार र विकासको गति लिने विश्वास नेकपाले लिएको छ’, उच्च स्रोतले भन्यो,‘अहिलेसम्मको राजनीतिक अस्थिरता र गतिहिनता संसदीय व्यवस्था र त्यसमा पनि कमजोर अवस्था रहेका कारण भएको ठहरसँगै यस्तो तयारी गरिएको हो ।’

बहुसंख्यक कम्युनिस्ट रहेका कारणले साम्यवादी यात्रामा जान यतिबेला नै सहज अवसर भएको ठान्दै ओली–प्रचण्डले यस अभियानमा मलजल गरेका छन् । जसमा यादव र भट्टराईको पनि साथ रहने पक्का भइसकेको छ ।

‘यो ठ्याक्कै चीनको मोडलमा पनि जाँदैन, उत्तर कोरियाको मोडलमा पनि जाँदैन । मौलिक मोडलको दरिलो अभ्यास हुनेछ’, स्रोतले भन्यो,‘यस विषयमा नेताहरूबीच समझादारी बनेको छ । अब कम्युनिस्ट एकीकरणका लागि अझै सशक्त आह्वानको तयारी भएको छ । विचार मिल्नेहरू त आइ हाल्छन् ।’

संसदमै टेकेर संसदीय अभ्यासको अन्त्य गर्ने परिकल्पना प्रचण्डले नै गरेका हुन् । शान्ति प्रक्रिया र चुनाव मार्फत ०६४ सालमा सरकारको नेतृत्व गर्दा संसदीय अभ्यासमा कमजोर हुँदा काम गर्न नसकेको अवस्थालाई प्रचण्डले निर्वाचन, पार्टी एकीकरणसहित बहुमतमा उभिएर गर्न लागेका हुन् ।

‘त्यसबेला हामीले केही चलाउन पाएनौ, मिलिटरी फोर्सजस्तो एक्कासी हस्तक्षेपको तयारीमा थियौं । तर, अब जनताको शक्तिका आधारमा जनयुद्ध सुरु गर्दाको लक्ष्यलाई हात पार्ने योजना अध्यक्षको हो’, स्रोतले भन्यो ।

त्यसो त प्रत्यक्ष निर्वाचित राष्ट्रपति लक्ष्य नै रहेको प्रचण्डले बताइसकेका छन् । अहिले सरकारमा रहेका सबै पार्टी प्रत्यक्ष निर्वाचिन कार्यकारी प्रमुख राख्नेमा सहमत भएका कारणले नै यस्तो सम्भव हुने देखिएको छ ।

चुनावी घोषणापत्रमा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति, एमालेले प्रधानमन्त्री र फोरमले प्रमुख भनी जनतामाझ पुगेका थिए । माओवादी र एमालेको एकीकरणपछि कम्युनिस्ट पार्टीको समान धारणा बनेको छ भने गठबन्धनमा सामेल भएको फोरमसहित संसद र सरकारमा दुई तिहाई बहुमत पुगिसकेको छ ।

प्रचण्डले राष्ट्रपतीय प्रणाली पक्षधर सबै शक्तिहरू सरकारमा रहेकोले आउँदो चुनाव अगाडि नै संविधान संशोधनमार्फत राष्ट्रपतीय प्रणाली घोषणा गर्ने बताए । गणतन्त्र ल्याउन कम्युनिष्टहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनले भने,‘गणतन्त्रको रक्षा गर्छौँ, अटोक्रेसीतिर त जाने सम्भावना नै छैन, आम नेपाली ढुक्क हुनुहोस् ।’

उनले सरकारलाई दुई तिहाई मत प्राप्तभएसँगै विगतमा भएका राजनीतिक सहमतिअनुसार संविधान संशोधनको बाटो खुलेको बताए । उनले भने,‘अब मधेशका मुद्दा पनि संविधान संशोधनमार्फत समाधान हुनेछन् । संघीय समाजवादी फोरमको सरकारमा सहभागितासँगै प्रदेश नं २ मा कसैले चलखेल गरी अस्थिरता मच्चाउने हुन् कि भन्ने डर र खतरा समेत टरेको उनले बताए ।

‘दुई कम्युनिष्टको एकताले अन्तराष्ट्रिय रुपमा कम्युनिष्ट आन्दोलनको भविष्य उज्जल देखाइदिएको छ, दुई कम्युनिष्ट पार्टी एकतासँगै जिम्मेवारी र चुनौति पनि पनि थपिएका छन्’, उनले भनेका छन् ।

प्रचण्डको यो भनाईले नेपाल कम्युनिस्ट शासनतिर बलियो हिसाबले अघि बढिसकेको संकेत गरेको छ । यादवको पृष्ठभुमी पनि एमाले, माओवादी हुँदै मधेस आन्दोलनको रहेका कारणले कम्युनिस्ट शासन स्थातिप गराउन असहज नहुने देखिन्छ । यादव नेतृत्वको मधेसी जनाधिकार फोरम नेपालको मधेस आन्दोलनका कारणले संघीयता मुद्दा संविधानसभामा स्थापित भएको थियो ।

‘अहिले सबै संघीयता पक्षधरको गठबन्धन र एकता हुनुले अब नेपालको शासन एक विचारले मात्र लामो समयसम्म गर्न सक्ने आधार बनेको छ’, स्रोतले भन्यो,‘गठबन्धन भएका पार्टी र नेतृत्वको आन्तरिक व्यवाहार पनि मिलेका कारणले यो सम्भव भएको हो ।’

पूर्वएमाले, पूर्वमाओवादी र फोरम नेतृत्व एकल निर्णयमा अडिग रहने गरेको स्वभावले पनि यो बहुमतले बहुलवाद मान्ने कांग्रेस र प्रजातान्त्रिक शक्तिलाई कमजोर बनाउने रणनीति अख्तियार गर्ने बताइन्छ ।

संगठित सुन तस्करीःभरिया थुनिन्छन्, साहु उम्किन्छन् किन ?

काठमाडौं । काठमाडौंको गौशालानजिक पिंगलास्थानबाट २०७३ पुस २१ गते केही गहनासहित साढे ३३ किलो सुन बरामद भयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उक्त घटनामा ३३ जनाविरुद्ध मुद्दा चलायो । त्यतिबेला पक्राउ परेकामध्ये सबै थुनामा रहे पनि एसएसपी श्याम खत्रीसहित ४ जना व्यापारी भने नाम मात्रको धरौटीमा छुटे ।

सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेकासहित अन्य कुनै न कुनै प्रमाणका आधारमा संलग्न देखिएकालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको जिल्ला अदालत, काठमाडौं ४ व्यापारीका हकमा भने ‘उदार’ देखियो ।

न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले २०७३ चैत ४ गते गरेको आदेशमा राजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ प्रत्यक्ष संलग्न भएको नदेखिएको भन्दै उनीहरूलाई १र१ लाख रुपैयाँ धरौटीमा रिहा गरियो ।

प्रहरी प्रतिवेदन, जिल्ला सरकारी वकिलको कार्यालयको प्रतिवेदन र जिल्ला अदालत, काठमाडौंको आदेश केलाउने हो भने यो प्रकरणमा अनौठो घटनाक्रम देखापर्छ । सुनकाण्डमा पक्राउ परेका र तिनीहरूले मौकाको बयानका क्रममा ‘पोलेका’ प्रतिवादीलाई कठोरतासाथ पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको जिल्ला अदालतले एउटै गहनापसलका ४ आरोपितलाई भने १र१ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दियो ।

जबकि सुनकाण्डमा प्रत्यक्ष पक्राउ परेका आरोपितले नाम मुछेका अन्य आरोपित एवं संलग्न व्यक्तिहरूलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको थियो । सुनकाण्डमा पक्राउ परेका रामहरि कार्कीले बयानका क्रममा आफूले पहिले पनि न्युरोडको वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्लासेज प्रालिका अध्यक्ष प्रमोद श्रेष्ठलाई सुन उपलब्ध गराएको भन्दै बरामद सुनको केही हिस्सामा समेत उनी संलग्न रहेको बताएका थिए ।

त्यस क्रममा प्रहरीले गरेको अनुसन्धानमा कार्की र वैभवका केही सञ्चालकबीच पटक–पटक सम्पर्क र कुराकानी भएको देखिन्छ । प्रहरीले त्यसकै आधारमा अरू गहना पसलकासाथै वैभवका सञ्चालकमाथि समेत मुद्दा दायर गरेको थियो । वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्लासेज प्रालिका सञ्चालकहरूले प्रहरीसँग एकै खालको बयान दिएका छन् । उनीहरूले प्रायस् सधैंजसो नगदमा कारोबार हुने गरेकामा कहिलेकाहीं मात्रै बैंक अफ काठमान्डु र नबिल बैंकको खातामा आम्दानी जम्मा हुने गरेको बताएका छन् ।

उनीहरूले आफूहरूलाई आवश्यक पर्ने सुन नेपाल सुनचाँदी व्यवसायी संघ, नेपाल सुनचाँदी रत्न आभूषण महासंघको सिफारिसबाट खरिद गरेको भन्दै व्यक्तिगत रूपमा सुन खरिद नगरेको दाबी गरेका छन् । हुबहु एकै व्यहोराको बयानमा उनीहरूले भनेका छन्, ‘प्रमोद श्रेष्ठले व्यक्तिगत रूपमा खरिद गरेको हुन सक्छ, हामीलाई थाहा भएन ।’ तर श्रेष्ठ भने त्यतिबेला फरार थिए ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको प्रतिवेदनअनुसार न्युरोडको वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्लासेज प्रालिमा अध्यक्ष श्रेष्ठसहित रोजेश शाक्य, सुनील श्रेष्ठ, सपन श्रेष्ठ र मनोज श्रेष्ठ लगानीकर्ता एवं सञ्चालक हुन् ।

कार्कीले बयानका क्रममा यसअघि समेत बरामद सुनमध्ये केही वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्रालिका सञ्चालकलाई दिने गरेको भनी खुलाए । साथै उनले पछिल्लो पटक बरामद भएको सुनमध्ये ६० पिस वैभवका सञ्चालक श्रेष्ठलाई दिएको समेत बताएका छन् ।

गहना पसलहरूले सुन खरिदका लागि सुनचाँदी व्यापारमा संलग्न विभिन्न संगठनमध्ये एकको सिफारिस लिनुपर्छ । राष्ट्र बैंकको परिपत्रअनुसार एउटा व्यवसायीले एउटा संघ वा महासंघबाट मात्रै सुन खरिदको स्वीकृति लिन पाउने व्यवस्था थियो । तर वैभवले नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ, नेपाल सुनचाँदी कला व्यवसायी संघ, नेपाल सुनचाँदी सिल्प व्यवसायी संघ, रत्न व्यवसायी संघ नेपाल र ललितपुर रत्न तथा आभूषणमध्ये कुनै संघसँग अनुमति नलिएको भेटिएको छ ।

‘ती ज्वेलर्सले सुन बरामद हुनुअघि कानुनी रूपमा नेपालमा सुन खरिद गरेको नदेखिएकाले,’ प्रहरी प्रतिवेदनमा भनिएको छ, ‘उनीहरूको यो क्रियाकलापले पनि सुन अवैध आयातमा सञ्चालकहरू संलग्न रहेको देखिन्छ ।’

यसबाहेक प्रमोद श्रेष्ठ अध्यक्ष रहेको वैभवका सञ्चालकहरूले वैधानिक रूपमा नै सुन खरिद गरी बेच्ने गरेको दाबी गरेका थिए । उदाहरणका लागि पक्राउ परेका सञ्चालक रोजेश शाक्यले नेपाल सुनचाँदी व्यवसायी संघबाट दैनिक ५० देखि १०० ग्रामका दरले सुन खरिद गरिएको बयान दिएका थिए ।

२ हजार ८ सय २० तोला तौलका २ सय ८२ वटा बिस्कुट बरामद भएको उक्त प्रकरणमा रामहरि कार्कीले ६० पिस वैभवका सञ्चालक प्रमोदलाई दिएको स्विकारेका थिए । एउटा बिस्कुट करिब १० तोलाको हुने भएकाले त्यो खेपमा वैभवका सञ्चालकले ६ सय तोला सुन खरिदका लागि मौखिक बुकिङ गरेको देखिन्छ ।

सुन तस्करीमा मुछिएका एक आरोपितबाट बरामद बिलमा समेत वैभवसँगको लेनदेन खुलेको थियो । तर न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले तत्काल प्राप्त प्रमाणले फरार रहेका प्रमोदबाहेकका सञ्चालक अवैध सुन खरिदमा ‘संलग्न नदेखिएको’ निष्कर्ष निकाल्यो । ‘चार जना प्रतिवादी वैभवलक्ष्मी गोल्ड एन्ड सिल्भर प्लासेज प्रालिका सञ्चालक रहेको देखिन्छ ।

पक्राउ परेका रामहरि कार्कीले प्रमोद श्रेष्ठलाई सुन दिने गरेको भनी बयान गरेको देखिन्छ,’ थुनछेक आदेशमा भनिएको छ, ‘श्रेष्ठबाहेक अन्य प्रतिवादीसँग लिन जानु, सम्पर्क, सम्बन्धसमेत केही रहेरभएको भन्ने देखिन आएन । पोल गरेको देखिन आएबाट र सञ्चालकहरू भएको देखिँदा पछि थप प्रमाण बुझ्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई एक लाख रुपैयाँका दरले धरौटी माग्नू ।’

तहगत संरचनामा हुने संगठित अपराधका घटनामा पर्दापछाडि रहने मुख्य योजनाकारले अन्य व्यक्तिहरू परिचालित गरी आफ्नो धन्दा चलाउँछन् । यस्ता अपराधको पर्दाफाससमेत ‘ग्राउन्ड’ मा रहेर काम गर्ने साना तहका व्यक्तिमार्फत हुन्छ । अदालतले भने यो घटनामा तत्काल प्राप्त प्रमाणले कसुरदार भन्न नमिल्ने भन्दै आदेश जारी गरेको छ । आजको कान्तिपुरमा खवर छ ।

‘भिआईपी’ कैदीले किन रोज्छन् डिल्लीबजार कारागार ? कसरी बिताउछन् दैनिकी

काठमाडौं ।  डिल्लीबजार कारागारमा पूर्वप्रहरी महानीरिक्षक ओमविक्रम राणा, प्रतिनिधिसभामा कैलालीबाट निर्वाचित रेशम चौधरी, प्रदेशसभामा मनाङबाट निर्वाचित दीपक मनाङे, काभ्रेबाट प्रदेशसभाका लागि उम्मेदवार भएका गणेश लामा, पत्नीको हत्या गरेर सर्वस्वसहित जन्मकैद फैसला भएका सशस्त्र प्रहरीका पूर्वडिआइजी रञ्जन कोइरालालगायत कैद जीवन बिताइरहेका छन्। जेल पर्नुअघि प्रतिष्ठित सामाजिक र सुविधाभोगी जीवन बिताइरहेका यी सबै पूर्व भिआइपी हुन्।

सुडान घोटाला काण्डमा दोषी ठहर भई दुई वर्ष कैद र ५० हजार रुपैयाँ जरिबाना सुनाइएका पूर्वआइजिपी राणा झन्डै एक वर्षदेखि जेलमा छन्। कारागारको ‘क’ ब्लकमा रहेका उनी अधिकांश समय टेलिभिजन हेरेर बिताउँछन्। सशस्त्रका पूर्वडिआइजी रञ्जन जेलमा पनि सन्की व्यवहार देखाउँछन्। घरमा जस्तै रबाफिलो शैली देखाउँछन् दीपक मनाङे। अर्का गुन्डा नाइके गणेश लामाको व्यवहार भने भद्र छ। रेशम चौधरी जेल छिर्दा उत्साहित थिए, तर अहिले निराश बन्दै गएको जेलका कर्मचारी बताउँछन्।

पुस्तक पढ्न नरुचाउने राणा
पूर्वआइजिपी राणा बिहान ५ बजे उठ्छन्। चिया, बिस्कुट र पाउरोटी उनको बिहानको खाजा हो। त्यसपछि ब्याडमिन्टन खेल्छन् उनी।

केही समय घरकै खाना खाए पनि अहिले उनी जेलकै खान खान्छन्। दिउँसोको खाजामा आफन्तले ल्याएको फलफूल खान्छन् राणा। साँझसम्म उनी जेलका कर्मचारी र प्रहरीसँग गफिएर समय बिताउँछन्। ‘पहिले भए सलाम हान्नुपथ्र्यो, अहिले सलाम हान्नु पर्दैन। उनले सोधेका केही विषयमा जबाफ दियो, बाँकी उनकै कुरा सुन्ने’, जेल सुरक्षाका लागि खटिएका एक प्रहरीले भने। उनले आफू बस्ने कोठामा टिभी राखेका छन्। जेलभित्र सबै कैदीको कोठामा टिभी भएकाले अधिकांश समय टिभी हेरेरै बिताउने गरेका छन्।

कहिलेकाहीं रन्जन र राणा सँगै ब्याडमिन्टन खेल्छन्। राणालाई केही पूर्वप्रहरी अधिकृत भेट्न जान्छन्। उनलाई भेट्न हरेक शनिबार परिवारका सदस्य कारागारमा पुग्छन्। राणा पुस्तक पढ्न त्यति रुचाउँदैनन्। उनी अन्य भिआइपीहरूसँग दिउँसो क्यारेम बोर्ड, चेस, लुडो खेल्ने, पत्रपत्रिका र पुस्तक पढ्ने र टिभी हेर्ने गर्छन्। साँझ ११ बजेसम्म प्रहरी, कर्मचारी र कैदीसँग कुराकानी गरेपछि उनी १२ बजे सुत्छन्। राणालाई त्यहाँ रहेका प्रहरीले थोरै सम्मानजनक व्यवहार गरेको देखिन्छ।

‘जे भए पनि पूर्वहाकिम हुन्। कानुन पालना गर्दा जेलमा आएका छन्। उनलाई हामीले थोरै सम्मान गरेको देखिए पनि कैदी भएपछि भिआइपी वा सामान्य भन्ने हुँदैन,’ जेल एक प्रहरी कर्मचारीले भने। सर्वोच्चले सुडान घोटाला काण्डमा उनलाई गत वर्ष १७ वैशाखमा दोषी ठहर गरेको थियो।

सन्की कोइराला
सशस्त्र प्रहरीका पूर्व डिआइजी रञ्जन कोइरालाको दैनिकी राणाको भन्दा अलिक भिन्न छ। कहिलेकाहीं त उनी कोठाबाट बाहिरै ननिस्की टिभी हेरेरै दिन बिताउँछन्।

उनी बिहान ५ बजे उठेर शारीरिक अभ्यास गरेपछि खाजा खान्छन्। त्यसपछि उनी भित्रबाट बाहिर निस्कँदैनन्। सन्की स्वभावका कोइराला पुस्तक पढ्छन् तर पत्रिपत्रिका भने छुँदै–छुँदैनन्। जेलको सुरक्षाका लागि खटिएका प्रहरी कर्मचारीका अनुसार उनी कहिलेकाहीं ब्याडमिन्टन खेल्छन्। बाँकी समय जेलमै रहेका नाइके, भाइ नाइके र अन्य कैदीसँग गफगरेर बिताउँछन्। आफ्नो कुरामा जिद्दी गर्ने भएकाले उनको नजिक पर्न अरू डराउँछन्।

‘कोइरालाको घरपरिवार पनि भेट्न आएको हामीले थाहा पाएका छैनौं। कहिलेकाहीं आफन्त हौं भन्दै आउँछन् तर हामी चिन्दैनौं भेटाइदिन्छौं’, कारागार स्रोतले भन्यो। पत्नी गीता ढकालको हत्या अभियोग प्रमाणित भएपछि उनी जेलचलान भएका हुन्। डिल्लीबजार कारागार जानुअघि कोइराला नख्खु कारागारमा थिए।

रबाफिला मनाङे
कैदीमध्ये दीपक मनाङे सबैभन्दा रबाफिला देखिन्छन्। बाहिर निस्कनु, शारीरिक अभ्यास गर्नु र वरिपरि दुईचारजना राखेर गफ गर्नु उनको बानी हो। कालो चस्मा लगाएर चिटिक्क परी देखिने गरेका उनी सबैसँग मिलेर बस्ने गरेको जेल स्रोतको दाबी छ। ‘अरु कैदी पनि दीपक दाइ भन्दै अघिपछि लागेका हुन्छन्। बिहानै शारीरिक अभ्यास र ब्याडमिन्टन खेल्न निस्कन्छन्।

मनाङे खाजा खाँदा पनि कहिल्यै एक्लै हुँदैनन्। ‘मनाङेले मैले सर्वोच्चमा अपिल गरिसकें अब छिटै निस्कन्छु भन्ने गफ दिने गरेका छन्’, जेल स्रोतले भन्यो, ‘उनको रबाफ हेर्न लायककै हुन्छ।’ चक्रे मिलनलगायतलाई ज्यान मार्ने उद्योग गरेकोमा दोषी ठहर गर्दै २०६९ सालमा तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो।

भद्र गणेश लामा
विभिन्न आपराधिक गतिविधिमा मुछिउका गणेश लामा पेस्तोलसहित ३० फागुनमा काठमाडौंबाट पक्राउ परेपछि उनलाई हातहतियार तथा खरखजना ऐनअन्तर्गत पुपक्षका लागि डिल्लीबजार पठाइएको छ। उनको दैनिकी सामान्य कैदीको जस्तै छ।

उनी बिहान उठेर केही बेर शारीरिक अभ्यास गर्छन्। प्रायः कोहीसँग नबोल्ने स्वभावका लामा पत्रपत्रिका र टिभी हेरेर समय बिताउँछन्। गौशालास्थित होटल पशुपति भिजनबाट लामालाई प्रहरीले पेस्तोल र त्यसमा प्रयोग हुने ६ राउन्ड गोलीसहित पक्राउ गरी पुर्पक्षमा पठाएको हो । गुन्डागर्दीमा उनकै गुरु दीपक मनाङे त्यही जेलमा भए पनि उनीहरूबीच बोलचाल भएको छैन।

निराश रेशम
भूमिगत हुँदै कैलालीबाट निर्वाचित भएका रेशम चौधरीलाई टीकापुरबाट कारगारबाट डिल्लीबजार ल्याएपछि केही दिन उनी उन्मत्त हात्तीजस्तै भएका थिए। सुरुमा ‘मलाई सरकारले छोड्ने सहमति गरिसकेको छ, ३४ हजार मत ल्याएर जितेको सांसद हुँ, यस्ता स्थानमा राख्न मिल्दैन’ भन्दै चौधरीले दिनहुँ झगडा गर्थे। तर अचेल उनको स्वाभावमा परिवर्तन आएको छ। उनी कोहीसँग नबोली झोक्राएर बस्ने गरेका छन्।

०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलन हिंसात्मक बन्दा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ प्रहरी र १ नाबालकको ज्यान गएको थियो। त्यही घटनामा चौधरीलाई प्रहरीले फरार अभियुक्तको सूचीमा राखेर खोजतलास गरेपछि उनी आफैं आएर कैलाली जिल्ला अदालतमा हाजिर भएका थिए। उनी बिहान साढे पाँच बजे उठ्छन् र शारीरिक अभ्यास गर्छन्। बिहानको खानापछि पत्रपत्रिका र टिभी हेर्छन्। उनका आफन्त भेटघाटका लागि आइरहन्छन्। कराते खेलाडी भएकाले उनका चेला पनि भेटघाटका लागि आउने गरेका छन्। उनी सामान्य कैदीजस्तै गरी बस्ने गरेका छन्।

किन रोज्छन् डिल्लीबजार
चार रोपनी क्षेत्रफल फैलिएको डिल्लीबजार कारागारमा अहिले पाँच सय ४९ कैदी बन्दी छन्। कारागारका प्रमुख अरुण पोखरेलका अनुसार थोरै कैदी र पायक पर्ने ठाउँमा भएकाले भिआइपीले सो कारागार रोज्ने गरेका हुन्। ‘रत्नपार्कबाट कम समयमा पुग्न सकिन्छ।

आन्तरिक व्यवस्थापन पनि राम्रो छ। कैदी बन्दीको संख्या पनि थोरै छ, त्यसैले यता सहज भएको हुनसक्छ’, पोखरेलले भने। कैदीका रुपमा भित्र आएपछि नेपाल सकारको नियमका अतिरिक्त आन्तरिक व्यवस्थापनको नियमसमेत मान्नुपर्ने भएकाले बाहिर भिआइपी देखिए पनि कैदीको स्तर भने समान हुने उनको भनाइ छ। सबै पूर्वभिआइपी सामान्य कैदीका रुपमा रहेको कारागार प्रमुख पोखरेलको दाबी छ। आजको नागरिकमा खवर छ।

तेलको भाउ बढेपछि कहाँ–कहाँ भयो मूल्य वृद्धि ?

काठमाडौं ।  आयल निगमले १५ दिनअघि मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८.२८ अमेरिकी डलर थियो । नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय १० र डिजेल ९२ रुपैयाँ तोकिएको थियो ।
शनिबार मूल्य समायोजन गर्दा अन्तर्राष्ट्रिय बजार प्रतिब्यारेल ६५.८१ डलर थियो । यहाँ पेट्रोलको मूल्य १ सय १३ र डिजेल ९५ रुपैयाँ कायम गरिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य क्रमश: गिरावट भए पनि सरकारले यहाँ बढ्दाएको छ । इन्धनको मूल्य बढ्दात्यसको असर चौतर्फी देखिन्छ । सरकारको साधारण खर्चदेखि सर्वसाधारणको दैनिकीमा असर पर्ने विज्ञहरू बताउँछन् ।

निगमले हवाई इन्धन अन्तारिकतर्फ प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य बढाएकै दिन रुटअनुसार करिब २ सय २० रुपैयाँसम्म हवाई भाडा बढेको छ । अधिकांश दुर्गममा हवाई मार्गबाट खाद्यान्न ढुवानी हुन्छ ।

हवाईजहाजको भाडा बढ्दा त्यसले प्रत्यक्ष असर दुर्गम जिल्लामा पर्छ । दुर्गमका सर्वसाधारणहरू महँगीको मारमा पर्ने अर्थविद् केशव आचार्य बताउँछन् ।

‘मूल्यवृद्धि हुँदा सरकारको साधारण खर्चदेखि दुर्गमका जिल्लामा महँगी बढाउँछ,’ आचार्यले भने, ‘महँगी र कालोबजारी नियन्त्रण गर्न सरकारले अनुदान दिएर भए पनि मूल्य स्थिर राख्नुपर्छ ।’ नेपाल आयातमा आधारित मुलुक हो । अधिकांश खाद्यन्न आयातमै निर्भर छन् ।

इन्धनको मूल्य फेरि बढ्यो,लिटरको कति ?

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएसँगै नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट मूल्य बढेर आएपछि निगमले इन्धनको मुल्य बढाएको बताएको हो । निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा प्रति लिटर तीन/तीन रूपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

नुवाकोट गोल्डकप फुटबल सुरु, उद्घाटन खेलमा घरेलु टिम बिजयी

नुवाकोट ।  आजदेखि सुरु भएको ‘प्रथम नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता’को उद्घाटन खेलमा घरेलू टिम नुवाकोट बिजयी भएको छ । बट्टार स्थित खेल मैदानमा भएको प्रतिस्पर्धामा नुवाकोट–११ ले चितवन–११ लाई १–० गोल अन्तरले हराएको हो । नुवाकोटलाई बिजयी गराउन खेलको पहिलो हाफमा उचित लामाले निर्णायक गोल गर्नुभयो ।

आजदेखि सुरु भएर यही जेठ २६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा घरेलुटोली नुवाकोट सहित थ्रीस्टार, फ्रेन्डस, नेपाल पुलिस, सशस्त्र, मदनभण्डारी स्पोर्टस एकेडेमी, चितवन, रुपन्देही, कास्की र काठमाडौं गरी दश टोलीले सहभागिता जनाएका छन् ।

जिल्ला खेलकुद बिकास समिति र नुवाकोट जिल्ला फुटबल संघको संयुक्त आयोजनामा भएको प्रतियोगिताको बिजेतालाई रु पाँच लाख र उपबिजेतालाई रु तीन लाख सहित शिल्ड र मेडल रहेको छ ।
खेलको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियस्तरको खेल मैदान निर्माण भएकाले आगामी दिनमा प्रतियोगितालाई निरन्तरता दिन सहयोगको प्रतिबद्धता जनाउनुभयो ।–––

‘सट्टेबाजी’का डनलाई सम्पत्ति सुद्दिकरणको मुद्दा

काठमाडौं ।  इन्डियन प्रिमियर लिग (आईपीएल) मा सट्टेबाजीको धन्दा चलाएको आरोपमा पक्राउ परेकामाथि सम्पत्ति सुद्दिकरण मुद्दामा पनि अनुसन्धान हुने भएको छ । महानगरीय प्रहरी परिसरको बिषेश टोलीले सट्टेबाजी गरेको आरोपमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, गौरव तिवारी, काभ्रेका भुपेन्द्र कुँवर, नुवाकोटका दिनेश वोगटी, भक्तपुरका विजय श्रेष्ठ, र भक्तपुरकै नरेन्द्र सुवाललाई पक्राउ गरेको थियो ।

उनीहरु सट्टेबाजका डन भारतीय नागरिक नागराज भन्ने अमित अग्रवालका सदस्य हुन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ । यो समुहले आईपीएल तथा अन्य राष्ट्रिय खेलहरुमा जुवा अर्थात सट्टेबाजको धन्दा चलाउँदै आएको थियो । पछिल्लो समय आईपीएल खेलमा बाजी थाप्ने नेपालीको संख्या दिन प्रतिदन बढ्न थालेपछि अनलाइनमार्फत गैरकानुनी कारोबार पनि ह्वात्तै बढेको थियो । आईपीएलमा मात्रै सट्टेबाजीमार्फत नेपालबाट वार्षिक ५ अर्ब रूपैंयाँ बिदेशिने गरेको छ ।

प्रहरीको अनुसन्धानबाट तिवारीको खाताबाट तीन करोड २२ लाख ९७ हजार, केसीको बाट २ करोड ७७ लाख ५ हजार, र कुवरको बाट १ करोड ७० लाख, दिपकको बाट ७७ लाख कारोबार गरेको खुलेको छ । उनीहरुलाई जुवा र ठगीमा प्रहरीले मुद्दा चलाउने बताएको छ । तर, उनीहरुको खातामा अवैध रकम भेटिएको हुँदा सम्पत्ति सुद्दिकरणमा पनि उनीहरुमाथि कारबाही हुने भएको छ । महानगरिय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोखरेलले पक्राउ परेकाको खातामा अवैध रकम भेटिएको हुँदा उनीहरुमाथि सम्पत्ति सुद्दिकरणको मुद्दा चल्न सक्ने बताएका छन् ।

आइपिएल र अन्य खेलहरुमा पनि सट्टेबाजीका लागि भारतीय नागरीक नागराजले नेपालमा बसेर धन्दा चलाउँदै आएका छन् । आइजीपी सर्वेन्द्र खनाल महानगरीय अपराध महाशाखाको प्रमुख छँदा नागराजमाथि अनुसन्धान गर्न लागेपछि उनी भागेर गोवा पुगी धन्दा शुरु गरेका थिए । महाशाखाबाट खनालको सरूवा भएसँगै नागराज पुनः नेपाल आई धन्दा चलाएका थिए । नेपालमा सट्टेबाजीकै लागि कम्तिमा पनि ५ सय भन्दा बढि व्यक्ति सक्रिय छन् । काठमाडौं, वीरगञ्ज, बुटवल, भैरहवा, नेपालगञ्ज, चितवन, मोरङ, बिराटनगर सट्टेबाजीका प्रमुख बजार हुन् ।

सट्टेबाजीमा ५ हजारदेखि ५ करोडसम्मको कारोबार हुँदै आएको छ । सट्टेबाजको कारोबारमार्फत नागराजले मात्र वर्षमा अवैध तरिकाले १५ करोड भन्दा बढि रकम कमाउने गरेका छन् । नागराज प्रहरीको फरार सूचीमा छन् ।

संघीय प्रहरी ऐनको मस्यौदा निर्माण सेवा अवधि विवाद: २८ कि ३० वर्ष ?

काठमाडौं । अन्तिम चरणमा पुगेको संघीय प्रहरी ऐनको मस्यौदा निर्माण सेवा विवादका कारण अन्योलमा परेको छ । सेवा अवधि कति राख्ने भन्ने विवादका कारण मस्यौदा निर्माण पेचिलो बनेको हो ।

हाल ३० वर्ष सेवा अवधि रहेकोमा नयाँ ऐनमा २८ वर्ष बनाउनुपर्ने तर्क प्रहरीका केही उच्च अधिकारीले गरेका छन् । अब ३० वर्ष नै कायम राख्ने कि २८ वर्ष बनाउने भन्ने विवाद भएकाले ऐनको मस्यौदाले अन्तिम रूप लिन सकेको छैन ।

‘गृह मन्त्रालय संघीय प्रहरी ऐनको मस्यौदा निर्माणमा जुटिरहेको छ । यसले करिब–करिब आकार लिएको छ । केही विषय टुंगिन बाँकी छन् । केही विवादित विषयलाई पनि टुंग्याएर छिट्टै अन्तिम रूप दिइनेछ,’ गृहका प्रवक्ता रामकृष्ण सुवेदीले बताए।

कार्यावधिका सवालमा प्रहरी उच्च अधिकृतहरूको मत बाझिएको हो । आफ्नो स्वार्थअनुकूल ३० र २८ वर्षमा लबिङ चलिरहेको छ । ‘३० वर्षे कार्यावधिको सम्बन्धमा कुरा मिलेको छैन । व्यक्तिकेन्द्रित भएर कुरा उठिरहेको छ । कोही ३० वर्षे हटाउने भन्छन्, कोही कायम राख्नुपर्छ भन्छन्,’ गृहप्रवक्ता सुवेदीले भने, ‘तर, कानुन व्यक्तिकेन्द्रित भएर बन्ने होइन । गृह त्यसैको तयारीमा छ । ३० वर्षे हट्ने वा रहने विषय बहसमा छ । आउने बैठकमा यो टुंगिन्छ ।’

प्रदेश प्रहरी प्रमुख र क्षेत्राधिकारमा पनि विवाद छ । प्रदेश प्रहरी प्रमुखका रूपमा एआइजी रहनुपर्ने लबिङमा नेपाल प्रहरी छ । तर, गृह मन्त्रालय यसको विपक्षमा छ । एआइजीलाई प्रदेश प्रहरी प्रमुख बनाए चेन अफ कमान्ड नमिल्ने गृहको तर्क छ ।

किनभने प्रदेश प्रहरी प्रदेश सरकारको आन्तरिक तथा कानुन मन्त्रालयमातहत रहन्छ । मन्त्रालयका सचिव नेपाल सरकारको प्रथम श्रेणीको कर्मचारी हुन्छन् । तर, एआइजी विशिष्ट श्रेणीको कर्मचारी हुन् । दुईबीच वरीयता नमिल्ने भएपछि चेन अफ कमान्डमा समस्या आउने गृहको बुझाइ छ ।

गृह प्रवक्ता सुवेदीले भने, ‘प्रदेश प्रहरी प्रमुखको मोडल कस्तो रहने भन्ने विषयमा बहस छ । विज्ञ टोलीसँग पनि छलफल चलिरहेको छ । अन्तर्राष्ट्रिय अभ्यास पनि अध्ययन भइरहेको छ । प्रदेश प्रहरी प्रमुख एआइजी रहने कोणबाट पनि विषय उठेका छन् । तर, यसो गरिँदा चेन अफ कमान्ड नमिल्ने गृहको बुझाइ छ ।’

नाम फेर्ने तयारीमा नेपाल कम्युनिस्ट पार्टी, अब यस्तो नाम हुने !

काठमाडौं ।  नेपाल कम्युनिस्ट पार्टीले नाम फेर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीमा ‘अन्डरलाइन’ राखेर निर्वाचन आयोगमा नाम दर्ता गराएको पार्टीले नयाँ नामसहित दर्ताका लागि आयोगमा बिहीबार निवेदन दिने तयारी गरेको छ । नयाँ नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रस्ताव गरिएको छ, आजको नयाँ पत्रिकामा खबर विस्तृत छापिएको छ  ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web