काठमाडौं,असार २४ । नयाँ शक्तिको नाममा खिचडी पार्टी बनाएका डा बाबुराम भट्टराई एकपछि अर्को गर्दै नराम्रो संकटमा फस्दै गएका छन् । कुनै पनि जनाधार नभएका, विगतमा लुटपाट गरेका र भ्रष्टाचार गरेका पूर्व–प्रशासकलाई साथ लिएर पूर्व माओवादीका नेता तथा कार्यकर्तालाई कुनै पनि साथ नदिएका भट्टराई उनीहरुकै कारण संकटमा फसेका हुन् । पूर्वप्रशासकहरु स्वार्थको लागि राजनीतिमा आएका हुन् । आजको जनआह्वान साप्ताहिकमा खबर छ–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीमा तान्ने तयारी गरेपछि गणेश राई, प्रविण मिश्र, रामेश्वर खनाल, हरेराम कोइराला जस्ता पूर्व–अधिकारी अख्तियबारबाट बच्न डा भट्टराईसँग लागेका हुन् । एक दिन पनि जनताको घरमा नबसेका र जनताको दुःख नदेखेका करिश्मा मानन्धर जस्ता हिरोइनलाई अगाडि बढाएका डा भट्टराईले देवेन्द्र पौडेल, कुमार पौडेल, नवराज सेवेदी गंगानारायण श्रेष्ठ जस्ता माओवादीका नेता तथा जनतामा स्थापितलाई पछाडि पारेका छन् । उनीहरु जनयुद्धका कमाण्डर समेत हुन् ।

तर आफ्ना पूर्व–सहकर्मीलाई विश्वासमा नलिने तर पूर्व–प्रशासकलाई विश्वासमा लिएको, उनीहरुलाई नै अगाडि बढाएको भन्दै देवेन्द्र पौडेलले डा. भट्टराई विरुद्ध कसरी अगाडि बढ्ने भन्दै पूर्व–माओवादीको भेला बोलाएका थिए । त्यसखालको भेला पटक–पटक आयोजना गरिएको स्रोतको दावी छ । भेलामा सहभागी पौडेल थरकै अर्का नयाँ शक्तिका नेताले भने डा भट्टराईले गरि खाँदैनन् भन्ने प्रचण्डको भनाई जायज देखिएको निष्कर्ष निकालिएको बताए । ती नेताकाअनुसार भट्टराई पूर्व–प्रशासकसँग बढी रमाउन थालेका छन् । रामेश्वर खनाल प्रिय भएका छन् । तर पछिल्लो कार्यविभाजनमा सहसंयोजकको पद मागेका मुमाराम खनाल पनि भट्टराईसँग रिसाएका छन् । रामचन्द्र झाजस्ता अवसरवादीले मौका पाउने हामीले नपाउने भन्दै मुमारामले भट्टराईलाई भरोसा गर्न नसकिने पात्रको रुपमा चित्रण गर्दै हिडेका छन् ।

काठमाडौं,असार २४ । सरकारसँग इच्छाशक्ति भए तीन वर्षभित्र उपत्यकाका यात्रु केबलकारमा हुइँकिनेछन् । सडकको ट्राफिक जाअ घट्नेछ । यात्रा सहज हुनेछ । फ्रान्सेली कन्सन्टेन्ट कम्पनी एमडिपी र स्यास्त्राले गरेको अध्ययनमा उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने देखिएको हो । फ्रान्सेली सरकारको सहयोगमा भएको समभाव्यता अध्ययन एक वर्ष लगाएर गरिएको थियो । एमडिपी र स्यास्त्राले अध्ययन रिपोर्ट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुझाइसकेका छन् । मन्त्रालयका सहसचिव उमेश झाले यसको पुष्टि गरेको आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

‘उपत्यकामा केबलकार सञ्चालन गर्न सकिने नसकिनेबो सम्भाव्यता अध्ययन भई रिपोर्ट पेस भइसकेको छ, ‘ सहसचिव झाले भने, ‘फ्रान्स सरकारको सहयोगमा भएको अध्ययनबाट आएको रिपोर्टबारे मन्त्रालयले अध्ययन गर्दैछ ।’ उपत्यकामा केबलकार सञ्चालन गर्न सकने रिपोर्टमा उल्लेख रहेको जानकारी दिँर्दै उनले लगानी जुटाउन सके चाँडै केबलकार सम्भव रहेको बताए ।

काठमाडौं,असार २४ । महानगरीय अपराध महाशाखा, टेकुमा प्रहरीको दरबन्दी एक सय ४१ जनाको हो। तर, महाशाखामा दुई सय ११ प्रहरी कार्यरत छन्। तीमध्ये करिब एक सय प्रहरी काजमा आएका हुन् भने महाशाखामै दरबन्दी भएका करिब ५० जना अन्यत्रै काजमा बसेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौं र मातहतमा तीन हजार एकजनाको दरबन्दी छ। तर, परिसरमा दुई हजार नौ सय ५६ जना कार्यरत छन्। तीमध्ये पनि डेढ सय काजमा छन्। परिसरको दरबन्दीका करिब एक सय प्रहरी भने काठमाडौंबाहिर काजमा छन्।

प्रहरीका हरेकजसो कार्यालयमा काज विकृति छ। प्रहरीमा करिब पाँच हजार सातजना काजमा कार्यरत छन्। अधिकांशले घरपायक तथा आकर्षक ठाउँमा बस्न काज मिलाउने गरेका छन्। काज विकृतिले सुरक्षा व्यवस्थामा समेत असर परेको प्रहरी अधिकारीहरू नै बताउँछन्। तर, विकृति हटाउने प्रयास भएको छैन।

प्रहरी प्रवक्ता डिआइजी माधव जोशीले पाँच हजार ६ सय ९० प्रहरी काजमा रहेको जानकारी दिए । अधिकांशलाई संगठनकै आवश्यकताअनुसार काजमा खटाइएको उनको दाबी छ। नयाँ पत्रिका दैनिकमा समाचार छ।

कहाँ कति प्रहरी काजमा?

प्रहरी मुख्यालयबाटः २१२१

महानगरीय प्रहरी कार्यालयबाटः ८५७

पूर्वक्षेत्रबाटः ११४९

मध्यक्षेत्रबाटः ४०५

पश्चिमाञ्चलबाटः २३३

मध्यपश्चिम क्षेत्रबाटः ४४६

सुदूरपश्चिम क्षेत्रबाटः ४७९

पहुँच हुने बढी काजमा

काजमा बस्ने प्रहरी सोर्सफोर्सवाला हुने भएकाले विकृति समाधान हुन पहल नभएको स्रोत बताउँछ। कतिपय हाकिम रिझाएर त केही नेताको सोर्सफोर्समा काजमा बस्ने गरेका छन्। काज मिलाउन ठूला नेताहरूको पनि दबाब आउने गरेको प्रहरी अधिकारी बताउँछन्।

काठमाडौं,असार २४ । ओम अस्पतालको सघन कक्षमा भेन्टिलेटरमा अचेत कांग्रेसका महामन्त्री शशांक कोइरालालको उपचारमा समर्पित चिकित्सकको प्रयास जारी रहँदा कांग्रेसका केही शीर्ष नेतालाई भारतको नयाँ दिल्ली लजान चाहन्थे। नेता कृष्णप्रसाद सिटौलाको सुझावमा अस्पतालका बरिष्ठ चिकित्सक भोला रिजालले अडानपूर्ण उत्तर दिए,‘हामीले यति धरै प्रबुद्ध चिकित्सकलाई जम्मा गरेर उपचार गरिरहेका छौं। उहाँको स्वास्थ्यमा केही सुधारका संकेतसमेत देखिइसकेका छन्, किन लग्ने बाहिर? त्यहाँ पनि यही उपचार गर्ने त हो नी।’ अन्नपूर्ण पोस्टमा समाचार छ।

रिजालबाट यो जवाफ पाउँदा पनि नेता सिटौलालाई भने अझै चित्त बुझेन भने,‘हैन मिल्छ भने लगौं भन्ने कुरा हो।’ रिजालले गम्भीर हुँदै भने,‘भेन्टिलेटरमा राखिएको बिरामीलाई हामी कुनै पनि हालतमा बाहिर लग्ने अनुमति दिँदैनौं। परिवारले पनि यहीं ठीक छ भनिरहनु भएको छ।’ शशांकको उपचारमा नेपालका प्रख्यात चिकित्सक संलग्न भइरहेको बताइरहे पनि ‘उहाँलाई किन दिल्ली नलगेको? भारतबाट चिकित्सक आउने कुरा के भयो? भन्ने जस्ता अनगिन्ती प्रश्न सोध्ने अरुपनि थिए।

तर ओम अस्पतालको टिम र त्यसलाई साथ दिएका अन्य चिकित्सक आत्मविश्वास र दृढतासहित ठूलै जोखिम मोलेर शशांकको उपचारमा निरन्तर खटिरहे र २४ घन्टापछि खतरामुक्त, भन्न नसकेपनि उनको स्वास्थ्यमा द्रुत सुधार देखियो। बिहीबार साँझ जारी अस्पताको बुलेटिनअनुसार उनको स्वास्थ्य स्थित सुधार भएपनि भेन्टिलेटरबाट निकालिएको छ तर खतरामुक्त भने भइसकेका छैनन्।

काठमाडौं,असार २४ । पानीको बहाव कम भए पनि भोटेकोसीमा आएको बाढीका कारण नदीकिनारमा कटान नरोकिएपछि तातोपानी क्षेत्र जोखिममा परेको छ । बाढी कम भएपनि नदीले जमिन कटान गरेर राजमार्गछेउका घरमा क्षति हुने क्रम रोकिएको छैन । चीनतिरबाट आएको बाढीले नदी किनारको जमिन कटान गर्न नरोकिएकाले नेपाल-चीन सीमा क्षेत्रको तातोपानी र आसपासका क्षेत्रका घरमा क्षति हुने क्रम नरोकिएको आजको अन्नपूर्णले जनाएको छ ।

मंगलबार मध्यरातबाट सुरु भएको बाढीले सीमा क्षेत्रमा मात्र ४० भन्दा बढी घर बगाइसकेको छ । जिल्ला दैवीप्रकोप उद्धार समितिको बिहीबार बसेको बैठकमा दिइएको जानकारी अनुसार बाढीले सीमा क्षेत्रको लिपिङ बजारमा २० परिवारका २१ वटा घर बगाइसकेको छ भने थप ३० वटा घर पनि बग्ने अवस्थामा छन् ।

कोदारी बजारको होटल इको र आसपासका घर पनि नदी कटानमा परेका छन् । तातोपानी बजारमा थप घर बग्ने अवस्थामा पुगेको सुरक्षा निकायलाई उदृत गर्दै प्रमुख जिल्ला अधिकारी गोकर्णमणि दुवाडीले बताए । नदीको बहाव बजारतर्फ बढ्दै गएकाले थप क्षति हुनसक्ने अनुमान छ । स्थानीय चौकीडाँडामा आश्रय लिइरहेका सर्वसाधारणलाई राजधानी पुर्याउने तयारी भइरहेको पनि दुवाडीले बताए । बाढीले तार, पोल , ट्रान्सर्फमरलगायत बगाउँदा बाह्रबिसेमाथिका सबै गाउँमा बिजुली अवरुद्ध भएको छ ।

काठमाडौं,असार २४ । फ्रान्सलाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेका फ्रान्सका एन्टोनियो ग्रिजम्यानले युरोकप २०१६ को गोल्डेन बुट पाउने सम्भावना बलियो भएको छ । शुक्रबार विहान जर्मनीविरुद्ध दुई गोल गरेसँगै उनको गोल संख्या ६ पुगेको छ । पोर्चुगलका रोनाल्डो र नानीसागै फ्रान्सका ओलिभर जिरुड र दिमित्री पयेटले समान ३-३ गोल गरेका छन् ।

अब सबैको लागि फाइनल खेल मात्र बाँकी रहेकोले ग्रिजम्यानले गोल्डेन बुट जित्ने सम्भावना बलिको रहेको हो । ग्रिजम्यानलाई भेट्टाउन पनि तीन गोल गर्नुपर्छ । ग्रिजम्यान अफैं पनि फाइनल खेल्दैछन् र उनले नै पनि गोल गर्न सक्छन् । अरुले एकै खेलमा चार गोल हान्ने सम्भावना कम रहेको छ । यसकारण युरो २०१६ को गोल्डेन बुट ग्रिजम्यानले हात पार्ने लगभग पक्का जस्तै देखिएको छ ।

काठमाडौं,असार २४ । युरो कपको सेमिफाइनलमा भिडन्त थियो विश्व च्याम्पियन जर्मनी र आयोजक फ्रान्सको। पूरै खेल अवधिभर जर्मनीले फ्रान्सलाई दबाबमा राख्यो। तर नतिजा भने बिल्कुल विपरीत थियो। नतिजा मात्र हेर्नेले यो खेल एकपक्षीय रुपमा फ्रान्सको दबाबमा रहेको देखिन्छ- फ्रान्स २ जर्मनी ०।

६५ प्रतिशत बल पोजेसनमा राखे पनि आखिर कहाँ चुक्यो त विश्व च्याम्पियन जर्मनी?

खेलको टर्निङ प्वाइन्ट थियो मध्यान्तर अघिको स्टपेज टाइममा फ्रान्सले पाएको पेनाल्टी जसलाई ग्रिजम्यानले सफलतापूर्वक गोलमा परिणत गरे। वास्तवमा यो पेनाल्टी जर्मन खेलाडीले जानाजानी बल बाहिर पुर्याएपछि फ्रान्सले पाएको कर्नरको उपज थियो। कर्नरमा स्वान्सटाइगरले अनावश्यक ठाउँबाट बल क्लियर गर्ने क्रममा हातले छुन पुगे। इटालियन रेफ्रीले पेनाल्टी दिइहाले।

मध्यान्तरपछि जर्मनीले कयौँ आक्रमण गरे तर फ्रान्सको मजबुत रक्षापंक्तिलाई भेद्न सकेन। अन्ततः काउन्टर अट्याकका क्रममा ग्रिजम्यानले नै गोलकिपर नेयरको टाङमुनिबाट बल छिराएर गोल गरे। प्रतियोगितामा जर्मनीले खाएको यो पहिलो पेनाल्टीबाहेकको गोल थियो। प्रतियोगिताभर जर्मनीले इटाली र फ्रान्सको दुई गोल पेनाल्टीबाट खाएको थियो।

दोस्रो हाफमा डिफेन्डर जेरोम बोएटेङ चोटका कारण मैदान बाहिरिपछि जर्मनी कमजोर बनेको थियो। यस्तै जर्मनीका लागि चोटका कारण अनुपस्थित रहेको मुख्य स्ट्राइकर मारियो गोमेज र मिडफिल्डर सामी केडिरा तथा निलम्वनमा परेका सेन्ट्रल डिफेन्डर माट्स हुमेल्सको अभाव पनि खड्कियो।

-पहिलोपोस्ट

काठमाडौं,असार २४ । विश्वबिजेता जर्मनीलाई हराउँदै आयोजक फ्रान्स जारी युरोकप फुटबलको फाइनलमा प्रबेश गरेको छ । मार्सेलीमा शुक्रवार विहान भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै घरेलु टोली फ्रान्सले उपाभिको भिडन्त पक्का गरेको हो । फ्रान्सका लागि दुवै गोल सुपरस्टार एन्टोइन ग्रिजम्यानले गरे । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टीको सदुयोग गर्दै फ्रान्सलाई अग्रता दिलाए । जर्मनीका क्याप्टेन बास्टियन स्वाइन्सटाइगरले डिबक्सभित्र हृयाण्ड गरेपछि फ्रान्सले पेनाल्टी पाएको हो । यस्तै १–० को अग्रता कायम गरेका उनले खेलको ७२ औँ मिनेटमा फेरि अर्को गोल गरे ।

जर्मनीमाथि फ्रान्सको यो ऐतिहासिक जित हो । कुनै पनि मुख्य प्रतियोगितामा फ्रान्सले जर्मनीलाई सन् १९५८ यता हराउन सकेको थिएन । फ्रान्स र पोर्चुगलबीचको फाइनल खेल आगामी आइतबार राति पौने १ बजे फ्रान्सको राष्ट्रिय रंगशालामा हुनेछ ।

पप्पु गुरुङ्, २३ असार, दोधारा चाँदनी । कन्चनपुर आर्चरी टिम र मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिम तेश्रो लक्ष्मण कुमार श्रेष्ठ स्मृती राष्ट्रिय ईन्डोर आर्चरी प्रतियोगिता २०७३ मा मिक्स टिम ईभेन्टमा स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन् । स्टान्डर्ड तर्फ कन्चनपुरका दोधारा चाँदनीका रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले तुङ्गग्राम ईन्टरनेशनलका विकास सुवेदी र अक्षिता गुरुङ्गको जोडीलाई पछि पार्दै स्वर्ण पदक प्राप्त गरेका हुन् । तेश्रो स्थानमा सेनाका प्रेम बि.क. र पुजा थापाको जोडी रहे । यस्तै रिकर्भ टिम ईभेन्ट (ओलम्पिक ईभेन्ट) मा मनाङ्ग मर्सायाङ्गदी आर्चरी टिमका जित मोक्तान र सुनिता मोक्तानको जोडीले सेनाका खुम बहादुर कुमाल र ज्ञानु अवालेको जोडी माथी जित हात पार्दै स्वर्णलाई खल्तिमा हाले । कास्कीका अमृत गुरुङ्ग र रश्मी दर्लामीको जोडीले कास्य पदक पाए । यस्तै टिम ईभेन्ट्स तर्फको रिकर्भमा कास्कीका अमृत गुरुङ्ग, अशिम शेरचन र होम थापाको जोडी तथा स्ट्यान्डर्डमा स्वयंभु आर्चरी क्लबका शंकर गुरुङ्ग, कर्मा वाङ्गचुक गुरुङ्ग र उर्जेन फुन्सुक दोर्जे गुरुङ्गको जोडीले कास्य पदक प्राप्त गरे । यता दोधारा चाँदनीमा रोशन पुन र तमन्ना क्षेत्रीको जोडीले मिक्स टिम ईभेन्टमा स्वर्ण पदक प्राप्त गरेकोमा उत्साह मानाउने भएका छन् । २ दिन सम्म संचालन हुने प्रतियोगिता भोली समाप्त हुने आर्चरी खेलाडी होम थापाले खबर पठाएका छन् । प्रतियोगिताको उद्घघाटन संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द प्रसाद पोखरेलले गरेका थिए ।

पुष्पा बोहरा, २३ असार, कञ्चनपुर । बिपन्न वर्गका युवाहरुको क्षमता अभिबृद्धिका लागि कञ्चनपुरको महेन्द्रनगरमा शुरु गरिएको पत्रकारीता तथा रेडियो उद्घोषण तालिम आज सम्पन्न भएको छ । राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपाल तथा भिमनगरपालिका कञ्चनपुरको आर्थिक सहयोगमा १५ दिने पत्रकारीता तथा रेडियो उद्घोषण तालिम यहि असार ९ गतेबाट सुरु भएको हो । तालिममा प्रशिक्षार्थिहरुलाई १५ दिन सम्म पत्रकारीता क्षेत्रका चुनौति यसको भबिष्य तथा रेडियो सम्बन्धि सैद्धान्तिक ज्ञानबारे प्रशिक्षण गराइएको थियो । ५० जनाको सहभागिता रहेको तालिममा प्रशिक्षकको भुमिका राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष ज्ञानेन्द्र महत्ताले निभाउनु भएको थियो । तालिममा सैद्धान्तिक तथा व्यवहारीक तरीकाबाट पनि प्रशिक्षण गराइएको थियो । बिपन्न वर्गका युवाहरुको क्षमता अभिबृद्धिका लागि भन्दै सञ्चालन गरिएको पत्रकारीता तथा रेडियो उद्घोषण तालिममा सहभागि भई रेडियो तथा पत्रकारीताको क्षेत्रबारे जान्ने अबसर पाएकोमा खुशी भएको प्रशिक्षर्थिहरुको भनाई छ । देशमा बेरोजगारको बिगबिगी भैरहेका बेला बिपन्न युवाहरुका लागि १५ दिने पत्रकारीता तथा रेडियो उद्घोषण तालिमले युवाहरुलाई सकारात्मक बाटोमा लाग्न प्रेरीत गरेको प्रशिक्षार्थि तिलक कार्कीको भनाई छ । यस्ता खाले तालिमहरुले युवाहरुलाई केहि गर्न सक्ने तथा समस्यासंग जुध्न सक्ने हौसला प्रदान गर्ने भएकाले आगामी दिनहरुमा पनि युवालक्षित तालिम दिइनु पर्नेमा अकौ सहभागि अशोक राज बिष्टको भनाई छ । तालिमले बिपन्न युवाहरुमा बोल्ने क्षमताको बिकास हुनुका साथै दीर्घकालीन रुपमा पनि फाइदा पुग्ने राष्ट्रिय सुचना तथा सञ्चार केन्द्र नेपालका अध्यक्ष ज्ञानेन्द्र महत्ताले बताउनुभयो । देशका प्रत्येक क्षेत्रमा दक्ष, लगनशील र क्रियाशील पत्रकारको खाचो रहेको भन्दै यस १५ दिने पत्रकारीता तालिमले युवाहरुलाई एक जिम्मेवार व्यक्ति बनाउन सहयोग मिल्ने बिश्वास व्यक्त गनुभयो । तालिममा सहभागि प्रशिक्षर्थिहरुको सुनौलो भबिश्यको कामनाका साथै प्रमाण पत्र बितरण गरीएको थियो ।

झन्डै तीन घन्टाको अन्तरालमा आज मुलुकका फरक फरक स्थानमा दुई परकम्प गएका छन् ।

साँझ ५ बजेर ३८ मिनेट जाँदा सिन्धुपाल्चोक जिल्लाको थाङ्पालधाप र थाङ्पालकोट गाविसका बीच बच्छलादेवी केन्द्रबिन्दु भई ४.४ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत वर्ष वैशाख १२ गतेको ‘गोरखा भूकम्प’पछि हालसम्म ४ रिक्टर स्केल वा त्यसमाथिका ४६५ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।

यसअघि लमजुङको भुलभुले आसपास केन्द्रविन्दु बनाएर आज अपराह्न २ बजेर ४४ मिनेट जाँदा ४.३ रिक्टर स्केलको परकम्प गएको थियो ।

परकम्प तनहुँको दमौली आसपासका क्षेत्रमा पनि धक्का महसुस गरिएको थियो ।

अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन आज नेपालभरका मुसलमान समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाएका छन् ।

दसौँ महिनाको पहिलो दिन आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद लिइन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेबइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुसीपूर्वक शरीरको दान गरेर दीनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन बुधबार बेलुकी चन्द्रमा देखिएपछि आज इद उल फित्र मनाइएको नेपाली जामे मस्जिदका सचिव मन्सुर हुसेनले जानकारी दिनुभयो ।

मुस्लिम समुदायको बाक्लो बसोबास रहेको नेपालगञ्जमा इद उल फितरको विशेष चहलपहल देखिएको छ । नेपालगञ्जका मुस्लिम समुदायले आज विहान विपीचोकमा रहेको इदगाहमा सामूहिक नमाज पढेका छन् । त्यस अवसरमा अन्य समुदायका मानिसहरु पनि त्यहाँ पुगी शुभकामना साटासाट गरेका थिए । यस्ता पर्वले धार्मिक सद्भाव बढाउने उनीहरुको भनाई थियो ।

यस्तै बीरगंजको छपकैया इनरवा मुर्ली गण्डक गहवालगायतका ठाउंमा रहेको मस्जिदमा सामुहिक रुपमा नमाज पढिएको छ । तराई मधेबका सुनसरी कपिलबस्तु सहित धेरै स्थानमा इदको चहलपहल देखिएको हाम्रा समाचारदाताहरुले जनाएका छन् ।