मापदण्ड बनाएर मन्त्री छान्दै कांग्रेस, यस्ता छन् सम्भावित उम्मेदवार

साउन १२, २०७३ मा प्रकाशित
Published at 2016-07-27

367 views

काठमाडौं,साउन १२  । कांग्रेसले मन्त्रीहरूको मापदण्ड बनाई संस्थागत निर्णय गरेरमात्रै सरकारमा पठाउने भएको छ । पार्टीभित्र मौलाएको भागबन्डा राजनीति अन्त्य गरी मापदण्ड बनाएर मन्त्री छनोट गर्ने तयारीमा सभापति शेरबहादुर देउवा छन् । माओवादी नेतृत्वमा कांग्रेस मुख्य साझेदार भएर सरकार गठन हुने निश्चित भएपछि देउवाले मन्त्रीको मापदण्ड तयार गर्न आफू निकटका नेताहरूलाई निर्देशन दिएका छन् । स्रोतका अनुसार देउवाले सरकारमा सहभागी हुने मन्त्रीहरू के आधारमा छनोट भए भन्ने प्रस्ट पार्ने तयारीमा छन् ।

आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ – देउवाले नयाँ संविधानअनुसार सात प्रदेशबाट एकएकजना नछुट्ने गरी र समावेशी आधारमा मन्त्री छनोटको तयारी गरेका छन् । ‘मन्त्रीहरू के आधारमा छनोट भए, उनीहरूको शैक्षिक योग्यता, पृष्ठभूमि, विज्ञता र विगतमा अवसर पाए–नपाएको सबैलाई समेटेर मापदण्ड बनाउने गरी छलफल सुरु भएको छु, देउवा निकट एक केन्द्रीय सदस्यले भने, ‘एक–दुई दिनभित्र मापदण्ड तयारी हुन्छ । त्यसलाई पार्टीभित्र छलफल गर्ने तयारी छ ।’

स्रोतका अनुसार देउवाले पहिलो संविधान सभापछि दुईपटक कांग्रेस सरकारमा सहभागी भएकाले त्यतिबेला मन्त्री बनेकाहरूलाई प्राथमिकतामा नराख्न निर्देशन दिएका छन् । ‘न्यायपूर्ण हुने गरी मापदण्ड बनाएर छनोट गरियो भने त्यो सबैभन्दा श्रेयष्कर हुन्छु, केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले अन्नपूर्णसँग भने, ‘सबैलाई न्याय हुनेगरी मन्त्री छनोटको मापदण्ड बनाउनुपर्ने सबै साथीहरूको धारणा छ ।’

सरकारमा बस्दा कार्यसम्पादन राम्रो भएका र जनताबीच पनि लोकप्रियलाई नबनाइनहुने बाहेक पहिलो संविधानसभापछि मन्त्री बनेकालाई फेरि मन्त्री नबनाउने मनस्थितिमा देउवा छन् । देउवालाई पटकपटक एउटै व्यक्तिलाई मन्त्री नबनाउन चर्को दबाब परेको छ । तत्कालीन कांग्रेस प्रजातान्त्रिकको सभापति हुँदा देउवाले समावेशितालाई विधानमै लागू गरेकाले पनि यसपटक मन्त्रीहरू छनोट गर्दा समावेशितालाई मुख्य आधार बनाउन लागेका छन् ।

उनले महिला, मधेसी, दलित, जनजाति र मुस्लिमबाट एकएक जना मन्त्री बनाउने गरी मापदण्ड तय गर्न आफ्नो टिमलाई निर्देशन दिएका छन् । ‘नयाँ संविधानले र पार्टीको विधानले पनि समावेशिता स्वीकार गरेको र सभापतिको आफ्ना धारणा पनि भएकाले मन्त्रीहरू समावेशिताका आधारमा चयन हुन्छन्,’ ती केन्द्रीय सदस्यले भने ।

देउवाले मापपदण्ड बनाएर मन्त्री छनोटको तयारी गरिरहेका बेला कांग्रेसमा भने सबैजसो सांसदले मन्त्री पदका लागि दौडधुप गरेका छन् । सरकारमा १४ जनामात्रै मन्त्रीहरू सहभागी हुने भएकाले अधिकांशलाई मापदण्ड बनाएर ‘सर्ट लिस्टिङ’ गर्ने मुडमा देउवा छन् । स्रोतका अनुसार प्रदेश नम्बर एकबाट सुधीरकुमार शिवाकोटी, शेखर कोइराला, सूर्यमान गुरुङ, मीन विश्वकर्मा र भीष्मराज आङदम्बे मन्त्रीका लागि प्रबल दावेदार हुन् ।

त्यस्तै प्रदेश नम्बर दुईबाट विमलेन्द्र निधि, पद्मनारायण चौधरी, फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादवलगायत मन्त्रीका आकांक्षी छन् । प्रदेश नम्बर ३ बाट अर्जुननरसिंह केसी, प्रकाशशरण महत, ध्यानगोविन्द रञ्जित, नवीन्द्रराज जोशी, महालक्ष्मी डिना उपाध्यायलगायत मन्त्रीका सम्भावित उम्मेदवार हुन् ।


प्रदेश नम्बर चारबाट भने गोपालमान श्रेष्ठ, अर्जुनप्रसाद जोशी, टेकबहादुर गुरुङ, कमला पन्तलगायतको सम्भावना छ । त्यस्तै प्रदेश नम्बर पाँचबाट बालकृष्ण खाँड, भरतकुमार शाह, मानबहादुर विश्वकर्मा, शिलु खड्का, चन्द्र भण्डारी, डिल्ली चौधरीलगायतका आकांक्षी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

TopNepalNews copyright © 2021 News. All Rights Reserved. Website by Muncha Developers.