
नुवाकोट । भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित आफ्ना सदस्यहरूलाई नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले नगद राहत उपलब्ध गराएको छ। बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायत जिल्लाका सदस्यहरूको क्षतिको अवस्था मूल्याङ्कन गरी राहत उपलब्ध गराउने निर्णयअनुसार संस्थाले राहत वितरणलाई निरन्तरता दिएको हो।
यसैक्रममा नुवाकोटको किस्पाङ शाखामा आबद्ध भई बाढीबाट प्रभावित भएका सदस्यहरूलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले नगद राहत प्रदान गर्नुभएको छ। यादवसहितको टोलीले प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै सदस्यहरूको वर्तमान अवस्था, क्षति र पुनःस्थापनाका आवश्यकताबारे जानकारी लिएको थियो।
संस्थाले क्षतिको अवस्थाका आधारमा परिवारका सदस्य गुमाउनुका साथै घरबारविहीन भएका सदस्यलाई २५ हजार रुपैयाँ, घरबारविहीन भएका सदस्यलाई २० हजार रुपैयाँ र घरबासमा क्षति पुगेका सदस्यलाई ५ हजार रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ। सोही निर्णयअनुसार बाढी आएलगत्तैदेखि राहत वितरण सुरु गरिएको र बाँकी प्रभावित सदस्यलाई समेत प्रत्यक्ष भेटेर राहत उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत यादवले बताउनुभयो।
‘विपद्को कठिन घडीमा सदस्यहरूलाई संस्था साथमा छ भन्ने अनुभूति दिलाउनु हाम्रो दायित्व हो’
प्रमुख कार्यकारी अधिकृत यादवले बाढी प्रभावित सदस्यहरू अहिले अत्यन्तै कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै तत्काल आवश्यक पर्ने सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले नगद राहत उपलब्ध गराइएको बताउनुभयो।
उहाँले भन्नुभयो, “बाढीबाट प्रभावित हाम्रा सदस्यहरू अहिले अत्यन्तै कठिन र असहज परिस्थितिमा हुनुहुन्छ। तत्काल आवश्यक पर्ने सामग्री खरिद गर्न सहज होस् भन्ने उद्देश्यले क्षतिको अवस्था हेरेर नगद राहत उपलब्ध गराएका छौँ। विपद्को यो कठिन घडीमा आफ्ना सदस्यहरूसँग संस्था साथमा छ भन्ने अनुभूति दिलाउनु पनि हाम्रो दायित्व हो।”
सडक तथा पुलमा पुगेको क्षति र प्रभावित परिवारहरू सुरक्षित स्थानको खोजीमा विभिन्न ठाउँमा छरिएर रहनुपरेका कारण सबैलाई तत्काल राहत पुर्याउन कठिन भएको उहाँको भनाइ छ। यद्यपि, सकेसम्म छिटो प्रभावित सदस्यसम्म पुगेर प्रत्यक्ष राहत उपलब्ध गराउने संस्थाको लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।
बाढीले क्षति पुर्याएका घर, व्यवसाय र खेतीयोग्य जमिनको पुनःउत्थानका लागि संस्थाले आफ्नो तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। विभिन्न तहका सरकारको सक्रिय सहयोगसमेत जुट्न सके प्रभावित परिवारले छिट्टै पुरानै अवस्थामा फर्कन सक्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
‘व्यवसाय पुनःसञ्चालन गर्न चाहने सदस्यलाई संस्थागत सहयोग गर्छौँ’
राहत वितरणका क्रममा प्रभावित सदस्यहरूसँग अन्तरक्रिया गर्दै उनीहरूको आगामी योजना, आवश्यकता र व्यवसाय पुनःसञ्चालन गर्ने इच्छाबारे समेत जानकारी लिइएको यादवले बताउनुभयो।
धेरै सदस्य आफूले पहिलेदेखि गर्दै आएको सीप र पेसालाई नै निरन्तरता दिन इच्छुक देखिएकाले संस्थाको नियमअनुसार आवश्यक सहयोग उपलब्ध गराउन संस्थागत रूपमा तथा नेपाल राष्ट्र बैंकसँग समेत समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो।
“सदस्यहरूले आफूले जानेको सीप र पेसालाई नै अगाडि बढाउन चाहनुभएको छ। उहाँहरूको चाहना र आवश्यकताअनुसार व्यवसाय पुनःसञ्चालन गर्न संस्थाको नियमभित्र रहेर सहयोग गर्ने विषयमा हामी सकारात्मक छौँ,” उहाँले भन्नुभयो।
नेपाल बैकर्स संघका अध्यक्ष समेत रहनुभएका सँस्थाका प्रमुख कार्यकारी अधिकृत यादवले विपद्का कारण प्रभावित सदस्यहरूलाई तत्कालका लागि नियमित किस्ता बुझाउन दबाब वा ताकेता नगरिएको स्पष्ट पार्नुभयो। तर, संस्थाबाट लिएको ऋण मिनाहा नहुने भएकाले आगामी दिनमा आम्दानीको स्रोत जुटाएर जिम्मेवारीपूर्वक ऋण भुक्तानी गर्न उहाँले सदस्यहरूलाई आग्रह गर्नुभयो।
उहाँले भन्नुभयो, “अहिलेको कठिन परिस्थितिमा हामीले किस्ताका लागि कुनै दबाब दिएका छैनौँ। तर, संस्थाबाट लिनुभएको रकम सदस्यहरूकै बचतबाट परिचालित भएको हो। त्यसैले आगामी दिनमा आम्दानीको स्रोत जुटाएर ऋण तिर्ने जिम्मेवारीलाई पनि बिर्सनु हुँदैन। पारिवारिक सल्लाह गरेर पुनः व्यवसाय सुरु गर्नुस्, आवश्यक परे संस्थाबाट थप सहयोग उपलब्ध गराउने प्रयास गर्छौँ।”
संस्था आफ्ना सदस्यहरूको सुखदुःखमा सधैँ साथमा रहने उल्लेख गर्दै उहाँले कर्मचारीहरू केवल काम गर्ने माध्यम भएको र संस्था सदस्य, ग्राहक तथा सेवाग्राहीकै भएको बताउनुभयो। संस्थाको क्षमताअनुसार अहिले सानो भए पनि सहयोग उपलब्ध गराइएको उहाँको भनाइ थियो।
‘औषधि, लत्ताकपडा र खाद्यान्न किन्न सहज होस् भनेर नगद सहयोग’
नेशनल लघुवित्तको किस्पाङ शाखा प्रमुख विष्णुमाया श्रेष्ठले प्रभावित सदस्यहरूलाई तत्काल आवश्यक पर्ने सामग्री आफैँले छनोट गरी खरिद गर्न सहज होस् भन्ने उद्देश्यले नगद राहत उपलब्ध गराइएको बताउनुभयो।
उहाँले भन्नुभयो, “अहिले प्रभावित सदस्यहरूलाई सबैभन्दा आवश्यक पर्ने सामग्री आफैँले छनोट गरेर खरिद गर्न सकुन् भन्ने उद्देश्यले नगद उपलब्ध गराइएको हो। यसबाट उहाँहरूले औषधि, लुगा तथा खानेकुरा खरिद गरी बाढीपछिको असहज अवस्थालाई केही सहज बनाउन सक्नुहुनेछ।”

संस्थाका अनुसार भदौ १० गते भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नुवाकोटको किस्पाङ, धादिङका गोगनपानी, धार्के, परेवाटार, मझिमटार, भट्टेडाँडा, खाडीचौर र जाल्पालगायत शाखामा आबद्ध सदस्यहरूलाई नगद राहत उपलब्ध गराइएको छ।
बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा प्रभावित भएका आफ्ना सदस्यहरूलाई राहत उपलब्ध गराउन करिब ५० लाख रुपैयाँ खर्च हुने संस्थाको अनुमान छ। यसअघि पनि भोटेकोसी–रसुवा बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण र पुनःउत्थानका लागि संस्थाले नेपाल सरकारलाई ७० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो।
राहत वितरण तथा स्थलगत अवलोकनमा प्रमुख कार्यकारी अधिकृत यादवसँगै केन्द्रीय कार्यालय बनेपाको सञ्चालन विभागका मदन रिजाल, अनुगमन एकाइ कार्यालय बनेपाका अनुगमन अधिकृत रामचन्द्र लोहनी, किस्पाङ शाखा प्रमुख विष्णुमाया श्रेष्ठ, छहरे शाखा प्रमुख सीता श्रेष्ठलगायत प्रभावित क्षेत्रका शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो।
संस्थाको केन्द्रीय कार्यालय, अनुगमन एकाइ तथा शाखा कार्यालयहरूले बाढी प्रभावित सदस्यहरूको अवस्थाबारे निरन्तर जानकारी लिँदै आएका छन्। स्थलगत अवलोकनका क्रममा टोलीले प्रभावित परिवारका घर तथा खेतीयोग्य जमिनमा पुगेको क्षतिको निरीक्षण गर्नुका साथै परिवारका सदस्य हराइरहेका सदस्यहरूसँग खोज तथा उद्धारको अवस्थाबारे समेत जानकारी लिएको संस्थाले जनाएको छ।
17.05¡ÆC