नेपाली कम्युनिष्ट पार्टी नुवाकोटको प्रथम जिल्ला समिति बैठक सम्पन्न, पाँच प्रस्ताव पारित

कार्तिक १७, २०८३ मा प्रकाशित | 20 views

नेपाली कम्युनिष्ट पार्टी नुवाकोटको प्रथम जिल्ला समिति बैठक सम्पन्न, पाँच प्रस्ताव पारित

नुवाकोट । नेपाली कम्युनिष्ट पार्टी नुवाकोट जिल्ला समितिको प्रथम बैठक पाँचवटा प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ।

गत भदौमा सम्पन्न बैठकले जिल्ला समितिका सदस्यहरूको शपथ ग्रहणसहित पार्टी संगठन विस्तार, राष्ट्रिय जागरण अभियान सञ्चालन तथा बाढीपीडितको राहत र पुनर्स्थापनासम्बन्धी प्रस्तावहरू पारित गरेको हो।

बैठकमा पार्टीका केन्द्रीय कार्यालय सदस्य तथा बागमती प्रदेश इन्चार्ज गंगालाल तुलाधर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिका रूपमा पार्टी केन्द्रीय सदस्य, बागमती प्रदेश सह–इन्चार्ज तथा पूर्वमन्त्री हितबहादुर तामाङ सहभागी हुनुहुन्थ्यो।

त्यसैगरी पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य राजेन्द्रप्रकाश लोहनी, केन्द्रीय सदस्यहरू विमला सुवेदी, हिरानाथ खतिवडा, जिल्ला सहइञ्चार्ज बसन्तबहादुर बस्नेत, नुवाकोट संयोजक पुष्प लामिछाने (अरुण), सहसंयोजक गोविन्द नेपालीलगायतका नेताहरूको उपस्थिति रहेको थियो।

बैठकले नेपाली कम्युनिष्ट पार्टी गठनपछि जिल्लाका सबै स्थानीय तहमा समायोजन कार्यक्रम सम्पन्न भइसकेको सन्दर्भमा अब वडा कमिटीहरूको समायोजन तथा पुनर्गठन, पार्टी सदस्यता नवीकरण, नयाँ सदस्यता वितरण र संगठन विस्तारका कामलाई तीव्रता दिने निर्णय गरेको छ।

त्यस्तै, पार्टी केन्द्रले घोषणा गरेको राष्ट्रिय जागरण अभियान सोही दिनदेखि सुरु भएको घोषणा गर्दै निर्धारित समयभित्र सम्पन्न गर्ने निर्णय गरेको छ। बैठकले अभियान सञ्चालनका लागि कार्यविभाजन तथा कार्ययोजनासमेत पारित गरेको जनाएको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा र नुवाकोटमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै बैठकले बाढीमा ज्यान गुमाउने पार्टीका नेता–कार्यकर्ता, स्थानीय बासिन्दा तथा अन्य जिल्लाबाट पर्यटकका रूपमा यात्रा गरिरहेका नागरिकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।

बाढीपछिको राहत तथा पुनर्स्थापना कार्यमा पार्टीका नेता, कार्यकर्ता, स्थानीय कमिटी, निर्वाचित जनप्रतिनिधि, वाईसीएल तथा विभिन्न जनसंगठनले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै आगामी दिनमा पनि पुनर्स्थापनाका काममा पार्टीका तर्फबाट सक्रिय परिचालन गर्ने निर्णय बैठकले गरेको छ।

यसैगरी, बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनर्स्थापना कार्य सन्तोषजनक नभएको र राज्यका तर्फबाट पर्याप्त पहल हुन नसकेको निष्कर्ष निकाल्दै पीडित तथा घरबारविहीन नागरिकको तत्काल पुनर्स्थापना र क्षतिपूर्तिका कार्यक्रम अघि बढाउन सम्बन्धित सरकारसँग जोडदार माग गर्ने प्रस्ताव पारित गरेको छ।

बैठकले बाढीका कारण निधन भएका पार्टीका बागमती प्रदेश समिति सदस्यहरू नवराज नेपाल र पाल्देन तामाङ, जिल्ला सल्लाहकार हिमालय पौडेल, जिल्ला समिति सदस्य सूर्यबहादुर तामाङ, शिक्षक संगठनका नेता गोविन्द लामिछाने तथा पार्टीका अन्य नेताहरू सुनिल थापा, उमा पौडेल र मोतीलाल तामाङप्रति शोक प्रस्ताव पारित गरेको छ।

बैठकको सञ्चालन केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज बसन्त बस्नेतले गर्नुभएको थियो भने अध्यक्षता पुष्प लामिछाने (अरुण) गर्नुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web