एमसीसी सम्झौतामा अमेरिकाको चासो, उच्चस्तरीय टोली नेपाल आउँदै

काठमाडौँ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता कार्यान्वयनबारे विवाद र बहस भइरहेका बेला एमसीसी उपाध्यक्ष फातेमा जे सुमर नेपाल आउँदै हुनुहुन्छ। अर्को हप्ता उहाँ एमसीसी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स पनि आउने हुनुभएको छ ।

पाँच दिन नेपाल रहँदा उहाँहरुले एमसीसीको बारेमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धनका नेताहरू र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम छ ।

नेपालले २०७४ भदौ २९ मा ऊर्जा र सडक पूर्वाधार निर्माण गर्न ५ सय मिलियन अमेरिकी डलर अनुदान पाउने गरी एमसीसीसँग सम्झौता गरेको गरेको थियो । सम्झौताको चार वर्ष पुग्नै लाग्दा पनि सम्झौता कार्यान्वयन नभएको भन्दै अमेरिका असन्तुष्ट छ ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्न ढिलाइ हुनु सम्भाव्य लगानीकर्ताका लागि राम्रो सङ्केत नभएको भन्दै अमेरिकाले असन्तुष्टि व्यक्त गरिसकेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता अनुमोदन गराउन तत्पर रहे पनि सत्ता गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी हुबहु अनुमोदन गर्न नहुने पक्षमा छन् ।

एमसीसी सम्झौताका क्रममा नेपालका तर्फबाट तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमसीसीका तत्कालीन कायममुकायम प्रमुख कार्यकारी अधिकृत जोनाथन जी नाशले हस्ताक्षर गरेका थिए ।

एमसीसी सम्झौतामा काठमाण्डौको उत्तरपूर्व लप्सीफेदीदेखि काठमाण्डौ पश्चिम रातमाटेसम्म, रातमाटेदेखि हेटौँडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्म ४ सय केभी क्षमताका प्रसारण लाइन निर्माण गर्ने उल्लेख छ ।

यही परियोजनाअन्तर्गत रातमाटे, दमौली र बुटवलमा सबस्टेसन निर्माण गर्ने तथा सडकको स्तरोन्नति गर्ने कार्यक्रम पनि सम्झौतामा समेटिएको छ ।

तादी र दुप्चेश्वरमा नेपाल निजामती कर्मचारी युनियनको भेला सम्पन्न, नयाँ कार्यसमिति विस्तार

त्रिशूली । नुवाकोटको तादी र दुप्चेश्वर गाँउपालिकामा नेपाली काँग्रेसको शुभेच्छुक सँस्था नेपाल निजामती कर्मचारी युनियनको कार्यसमिति पुर्नगठन गरिएको छ । युनियनका नुवाकोट अध्यक्ष निलमकुमार भुषालको प्रमुख आतिथ्यतामा तादी र दुप्चेश्वर गाउँपालिकामा निजामति कर्मचारी युनियन र स्थानीयनिकाय निजामति कर्मचारी युनियनको पुर्नगठन गरिएको हो ।
यही बुधबार सम्पन्न कर्मचारीहरुको भेलाले नेपाल निजामति कर्मचारी युनियन तादी गाँउपालिकास्तरीय नेपाल निजामति कर्मचारी युनियनको अध्यक्षमा बिरोचन खनाल चयन हुनुभएको छ । उपाध्यक्षमा सावित्री खनाल र सचिवमा राजेश श्रेष्ठ चयन हुनुभएको हो । भेलाले सर्वसम्मत रुपमा सात सदस्य चयन गरेको छ ।

No description available.

 

No description available.

यस्तै, तादी गाउँपालिकास्तरीय स्थानीयनिकाय निजामति कर्मचारी युनियनको भेलाले संयोजकमा दुर्गाप्रसाद तिवारीलाई चयन गरेको छ । सदस्यहरुमा रामबहादुर श्रेष्ठ, रबिना रिमाल, जनकराज मैनाली र समिर खनाल रहनुभएको छ ।

यसैगरी,बुधबार नै सम्पन्न भएको भेलाले जिल्लाको दुप्चेश्वर गाँउपालिकामा नेपाल निजामती कर्मचारी युनियनको निजामति कर्मचारी युनियन र स्थानीयनिकाय निजामति कर्मचारी युनियनको पुर्नगठन गरिएको हो । युनियनका जिल्ला अध्यक्ष निलमकुमार भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले दुप्चेश्वर गाँउपालिका नेपाल निजामती कर्मचारी युनियनको अध्यक्षमा मच्छिन्द्र केसी चयन हुनुभएको छ । यस्तै, उपाध्यक्षमा निर्मला लामिछाने, सचिवमा सुरेश सिटौला र कोषाध्यक्षमा उमादेवी न्यौपाने चयन हुनुभयो । सर्वसम्मत रुपमा सम्पन्न भेलाले कार्यसमितिको सदस्यमा रामचन्द्र केसी, राकेश सुनारीमगर, मञ्जु श्रेष्ठ, रामकुमार थापा र तारणीदत्त पन्तलाई चयन गरेको छ ।

यस्तै, भेलाले दुप्चेश्वर गाँउपालिका स्थानीयनिकाय निजामति कर्मचारी युनियनको संयोजकमा विष्णु तामाङलाई चयन गरेको छ । समितिको सदस्यहरुमा रामराजा केसी, कृष्ण नापित, कामी तामाङ, श्यामबहादुर बस्नेत, निर्मला साउद र रामचन्द्र केसी रहनुभएको छ ।

No photo description available.

May be an image of one or more people, people sitting and indoor

May be an image of 14 people, including Nilam Bhusal and Bishnu Tamang, people sitting, people standing and motorcycle

नेपाली काँग्रेसको शुभेच्छुक सँस्थाको रुपमा रहेको नेपाल निजामती कर्मचारी युनियन स्थानीयतहमा अहिले भेला मार्फत कार्यसमिति पुर्नगठन तथा अधिवेशनलाई बढाएको छ । जिम्मेवारी तहमा रहेका कर्मचारीको सरुवा, सेवानिवृत्ति हुने हुदाँ कार्यसमितिलाई मजबुद बनाउनको लागी अहिले जिल्लाको सबै पालिकाहरुमा भेला मार्फत निजामति र स्थानीयनिकायको छु्ट्टाछुट्टै कार्यसमिति निर्माण भैरहेको हो ।
नेपाल निजामती कर्मचारी युनियनमा आबद्ध कर्मचारीको सदस्यता नविकरण तथा तथा नयाँ सदस्यता यही भदौ मसान्तभित्र लिइसक्न पनि अनुरोध गरिएको छ ।

हिल्सा सीमा क्षेत्रको अध्ययन गर्न समिति गठन

काठमाडौँ । हुम्ला जिल्ला स्थित उत्तरीक्षेत्रको सीमानासँग देखिएका समस्याको अध्ययन गरी प्रतिवेदन पेश गर्न सरकारले एक अध्ययन समिति गठन गरेको छ ।
बुधवार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाको लिमि लाप्चादेखि हिल्सा सिमा क्षेत्रको सम्बन्धमा उठेका समस्या अध्ययन गरी प्रतिवेदन तयार गर्न गृह मन्त्रालयका सहसचिवको संयोकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा न्याय, कानून तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको जानकारी अनुसार सो समितिमा नापी विभाग, सशस्त्र प्रहरी, सीमा विज्ञको समेत प्रनिनिधित्व रहने भएको छ ।

कांग्रेसको वडा अधिवेशन तयारी

लमजुङ  । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सरगर्मी बढेको छ । महाधिवेशन अन्तर्गत वडा तहको चुनाव भदौ १८ गते हुने निश्चित भएसँगै जिल्लामा कांग्रेसका नेता तथा कार्यकर्ताको चहलपहल बढ्न थालेको छ ।

केन्द्रीय निर्वाचन समितिले लमजुङमा खटाएका जिल्ला निर्वाचन अधिकृत थानेश्वर दुवाडी र नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङबीच बुधवार बसेको बैठकले भदौ १८ गते वडा अधिवेशन गर्ने सुनिश्चित गरेसँगै तयारी प्रारम्भ भएको पूर्व पार्टी सभापति एवम् कांग्रेस नेता तुलसीनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

‘जिल्लामा वडा अधिवेशन एक/दुई दिन तलमाथि हुन्छ कि भन्ने द्विविधा थियो तर आजको बैठकले भदौ १८ गते नै वडा अधिवेशन गर्ने सुनिश्चित गरेको छ । अब अधिवेशनको तयारी सुरु भएको छ,’ उहाँले भन्नुभयो ।

लमजुङमा वडा अधिवेशन सम्पन्न गराउनका लागि भातृ सङ्गठन नेपाल शिक्षक सङ्घमा आवद्ध व्यक्तिलाई मतदान अधिकृतका रूपमा खटाइने भएको छ ।

लमजुङमा ७५ वडा रहेका छन् । वडा अधिवेशनका लागि हरेक वडामा एक/एक जनाका दरले शिक्षक सङ्घमा आबद्ध व्यक्तिलाई मतदान अधिकृतका रूपमा खटाइने पार्टीले जनाएको छ ।

वडाको अधिवेशन आउन अब केही दिन मात्रै बाँकी रहँदा लमजुङमा वडा–वडामा नेता, कार्यकर्ताबीच भेला, छलफल हुन थालेको नेपाली कांग्रेस क्षेत्र नं २ का क्षेत्रीय सभापति बिर्खराज गुरुङले जानकारी दिनुभयो ।

उहाँका अनुसार लमजुङमा भदौ १८ गते वडा अधिवेशन, भदौ २७ गते पालिकास्तरीय अधिवेशन, असोज १ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन र असोज ५ गते जिल्ला अधिवेशन हुँदैछ ।

उहाँका अनुसार लमजुङका सबै वडाबाट समावेशी रूपमा क्षेत्रीय प्रतिनिधि चुनिएर आउँछन् । ती प्रतिनिधिले नै नगर अधिवेशन, प्रदेश सभा क्षेत्रीय अधिवेशन र जिल्ला अधिवेशन सम्पन्न गराउनेछन् ।

एक सय ५० जनासम्म क्रियाशील सदस्य रहेका वडाबाट १६ जना, दुई सय ५० भन्दा बढी क्रियाशील सदस्य रहेका वडाबाट २६ जना र तीन सय ५० जनाभन्दा बढी क्रियाशील सदस्य रहेका वडाबाट ३६ जना क्षेत्रीय प्रतिनिधि चुनिएर आउनेछन् ।

राति तीव्र गतिमा गाडी चलाउनेलाई कारबाही हुने

काठमाडौँ । उपत्यकामा तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध अब राति पनि कारबाही सुरु गरेको छ ।

रातको समयमा तीव्र गतिमा सवारी साधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्नेतर्फ ध्यान दिँदै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’ को प्रयोग गरी जाँच अभियान थालेको हो ।

महाशाखाका अनुसार कोटेश्वर–सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा याे अभियान थालेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिनुभयो । पछिल्लो समयमा त्यस्तै चौडा सडक खण्डमा बढी दुर्घटना हुने गरेको छ । त्यसैले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

यसअघि दिउँसो जाँचसहित तीव्र गतिमा सवारी चलाउने ३५/४० जना चालकलाई लेजर गनमार्फत कारबाही हुँदै आएको थियो । त्याे अभियानलाई दिउँसोमा थप प्रभावकारी बनाउँदै अब भने रातको समयमा पनि सञ्चालन गरिएको हो ।

आज रातिदेखि नै नाइट भिजन लेजर स्पिड गनको प्रयोग सुरु गरेको र यसले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको उहाँकाे भनाइ छ ।

अभियानकै समयमा स्पिड गन प्रयोगमा ल्याएकै दिन सातदोबाटो, ग्वार्को क्षेत्रमा तीव्र गतिमा सवारी चलाउने सवारी चालकलाई नियन्त्रणमा लिइ कारबाही गरिएको महाशाखाले जानकारी दिएको छ । महाशाखाले लापर्बाहीका साथ सवारी नचलाउन सवारी चालकलाई अनुरोध पनि गरेको छ ।

सीमा विवाद अध्ययन गर्न सरकारले समिति बनायो

काठमाडौँ । सरकारले चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी लाप्चादेखि हिल्लासम्मको सीमा क्षेत्रको समस्या अध्ययन गर्न समिति बनाएको छ । बुधवार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले हुम्लामा चीनसँगको सीमा विवाद अध्ययन गर्न समिति गठन गरेको हो ।

गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा नापी विभाग, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सीमा विज्ञ रहेको समितिले सीमा र स्थानीयवासीको समस्याबारे अध्ययन गरी प्रतिवेदन बुझाउने बैठकपछि कानुन मन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

यस्तै सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानाका सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेस गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको छ । समितिमा प्राध्यापक नारायणप्रसाद पौडेल र नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का सदस्य रहनुभएको छ ।

सरकारले अघिल्लो सरकारले अध्यादेशमार्फत वृद्धि गरेको ३३ प्रतिशतको सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने निर्णय पनि गरेको छ ।

बैठकले मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा मोरङका डा. विक्रान्त ढकाललाई र युवा तथा साना व्यवसायी स्वरोजगार कोषको कार्यकारी निर्देशकमा कास्कीका विश्वमोहन अधिकारीलाई नियुक्त गरेको छ ।

यस्तै सरकारले निर्वाचन आयोगमा कार्यरत सहसचिव राजकुमार श्रेष्ठलाई सचिव पदमा बढुवा गरेको छ । सरकारले दिगो तथा सम्मानित रोजगारीका लागि सञ्चालित सीप परियोजनाका लागि स्विस सरकारको अनुदान सहायता झन्डै एक अर्ब ९३ करोड रुपैयाँ स्वीकृत गर्ने निर्णय गरेको छ ।

बैठकले माओवादी जनयुद्ध २०६२/०६३ को आन्दोलन, मधेश आन्दोलनका घाइते अपाङ्गको पुनर्स्थापना हेरचाह, सहायतासम्बन्धी निर्देशिकाको दोस्राे संशाेधन २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले पाकिस्तानको माउन्ट के–२ को सफल आरोहण गर्ने दावा तेन्जिङ शेर्पाको टोलीलाई प्रोत्साहन स्वरूप जनही एक लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

जसपाका ११ सांसदले गरे लोसपाको पक्षमा सनाखत

धनुषा । प्रदेश नम्बर २ का जनता समाजवादी पार्टी (जसपा) नेपालमा रहेका ११ प्रदेश सभा सदस्यले लोकतान्त्रिक समाजवादी पार्टी (लाेसपा) नेपालको पक्षमा सनाखत गरेका छन् । उनीहरूले निर्वाचन आयोगको प्रदेश कार्यालय जनकपुरधाममा पुगेर लोसपाको पक्षमा सनाखत गरेका हुन् ।

लोसपाको पक्षमा सनाखत गर्ने प्रदेश सभा सदस्यमा सुरिता साह, जयनुल राइन, बबिता चौधरी, नीलम देवी भूमिहारिन, अलका झा, गौरीनारायण साह, जानकीशरण साह, परमेश्वर साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह र उपेन्द्र महतो रहेका निर्वाचन कार्यालयकी प्रमुख पुष्पाकुमारी झाले जानकारी दिनुभयो ।

प्रदेश २ को प्रदेश सभामा तत्कालीन समाजवादी पार्टीबाट ३० र तत्कालीन राजपाकाे तर्फबाट २५ गरी जसपाको कुल ५५ प्रदेश सभा सदस्य थिए ।

लोसपाका पक्षमा जसपाका १४ प्रदेश सभा सदस्य खुलेका छन् । एक नेताका अनुसार जसपाका १४ जना लोसपामा खुलेर सनाखत गर्न तयार रहेको र थप चार जनालाई आफ्नो पक्षमा सनाखत गराउन प्रयास भइरहेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टी रोज्नुभएका प्रदेश सभाका सदस्य जीतेन्द्र सोनलले बाँकी प्रदेश सभाका सदस्य बाहिर रहेकाले भोलि सनाखत गर्ने बताउनुभयो । उहाँले अन्य सांसद बिहीवार र शुक्रवार सनाखतका लागि निर्वाचन कार्यालय पुग्ने बताउनुभयो ।

तामाकोशीले थाल्यो पूर्ण क्षमताको उत्पादन, दोब्बर बन्यो स्वदेशी लगानीको पहिलो आयोजनाको लगानी

काठमाडौ । निर्माण शुरू भएको १० वर्षपछि माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने संघारमा पुगेको छ । ४५६ मेगावाट क्षमतायुक्त राष्ट्रिय गौरवको सूचीमा परेको आयोजना निर्माण २०६८ मा शुरू भएको थियो । तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले आयोजना शिलान्यास गरेका थिए ।

निर्माण शुरू भएको १० वर्ष अर्थात आर्थिक वर्ष २०७४ सालभित्र आयोजना निर्माण सकेर व्यवसायिक रुपमै विद्युत उत्पादन गर्ने लक्ष्य सरकारले लिएको थियो । तर, करिब ४ वर्ष ढिला गरी आयोजनाबाट व्यवसायिक विद्युत उत्पादन शुरू हुन लागेको हो ।

आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले यही महिनाको अन्तिम (२३/२४ गते) देखि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन थालिने जानकारी दिएका छन् । उनले हाल पाँचवटा युनिटबाट ७६/७६ मेगावाट विद्युत उत्पादन शुरू भइसकेको बताए । ‘पाँचवटा युनिटबाट ३८० मेगावाट विद्युत व्यवसायिक रुपमै उत्पादन भइरहेको छ । उत्पादित विद्युत बिक्री गर्न थालिएको छ,’ श्रेष्ठले भने ।

आयोजनाले यही भदौ १५ गतेदेखि ६ वटै युनिटबाट पूर्ण क्षमतामा उत्पादन थाल्ने योजना बनाएको थियो । तर, विद्युत परीक्षण गर्ने कर्मचारीहरूमा कोभिड संक्रमण देखिएपछि एउटा युनिटको परिक्षणमा ढिलाइ भएको थियो । सोहीकारण आयोजनाबाट पूर्ण क्षमतामा व्यवसायिक विद्युत उत्पादन महिनाको अन्तिममा धकेलिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।

पटकपटक म्याद थप
वि.स. २०६७ सालदेखि निर्माण शुरू भएको राष्ट्रिय गौरवको आयोजना निर्माण २०७३ सालमै सक्ने लक्ष्य लिइएको थियो । तर, २०७२ सालको वैशाखमा आएको विनाशकारी भूकम्प र सोही वर्ष भारतले नाकाबन्दी लगाउँदा आयोजना निर्माणकार्य धकेलियो । २०७३ सालमा नसकिने भएपछि आयोजनालाई ७४ सालमै सक्ने नयाँ लक्ष्य तय गरिएको थियो ।

तर, सो वर्ष पनि काम नसकिने भएपछि आयोजनाले २०७७ सालमा व्यवसायिक रुपमै विद्युत उत्पादन थाल्ने अर्को नयाँ लक्ष्य राख्यो । फेरि २०७६ सालदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीले आयोजना सम्पन्न हुने समय थप घर्कियो । आयोजनाका प्रवक्ता गणेश न्यौपानेले भूकम्प, भारतीय अवरोध र कोभिड महामारीका कारण आयोजना सम्पन्न हुने मिति लक्ष्यभन्दा पछि धकेलिएको बताए ।

‘भूकम्प, भारतीय अवरोध र कोरोना महामारी नआएको भए आयोजना निर्माण समयमै सकिने थियो,’ उनले भने ।

आयोजनाको लागत दोब्बर
आयोजनाको निर्माण शुरू गर्दा अनुमानित लागत ब्याज बाहेक ३५ अर्ब २९ करोड रुपैयाँ अनुमान गरिएको थियो । तर, आयोजना सम्पन्न गर्न थप चार वर्ष लागेपछि लागत बढेर दोब्बर पुग्यो । आयोजनाको कूल लागत अहिले ५२ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तै, आयोजना निर्माण शुरू गर्दा ब्याज रकम १४ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर, समयमै नसकिँदा लागतको ब्याज बढेर ३४ अर्ब रुपैयाँ पुगिसकेको छ । आयोजनाको कुल लागत र ब्याज जोड्दा ८६ अर्ब रुपैयाँ हुन आउँछ । यो रकम आयोजनाको निर्माण शुरू गर्दा अनुमान गरिएको सुरूवाती लागतभन्दा करिब दोब्बर बढी हो ।

आयोजना सकिँदासम्म माथिल्लो तामाकोशीको विद्युत लागत प्रतिमेगावाट १८ करोड ६४ लाखभन्दा माथि पुग्नेछ । तर, आयोजना शिलान्यास गर्दा प्रतिमेगावाट साढे १० करोड रुपैयाँमा विद्युत उत्पादन हुने आंकलन गरिएको थियो ।

स्वदेशी लगानीको पहिलो आयोजना
नेपालमा बनेका ठूला र राष्ट्रिय गौरवमा सूचीकृतमध्ये माथिल्लो तामाकोशी जलविद्युत आयोजना स्वदेशी लगानीमा बनेको पहिलो आयोजना हो । यद्यपी, यो आयोजना बनाउन लाग्ने कूल लागतमध्ये १० अर्ब ५९ करोड रुपैयाँमात्रै स्वपुँजी हो । बाँकी आन्तरिक लगानीमार्फत जुटाइएको हो । यो आयोजना बनाउन सरकारले विदेशी ऋण र सहयोग तथा लगानी लिएको छैन ।

आयोजना बनाउन सरकारी स्वामित्व भएका चारवटा संस्थाहरू नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको शेयर लगानी छ । आयोजनामा यी चारवटा संस्थाको बहुमत अर्थात ५१ प्रतिशत शेयर लगानी छ । यस बाहेक २४ प्रतिशत शेयरमा विद्युत प्राधिकरण, कर्मचारी सञ्चय कोष र बैंक÷वित्तीय संस्थाको लगानी छ । यसैगरी, १५ प्रतिशत सर्वसाधारण र १० प्रतिशत दोलखावासीको लगानी रहेको छ ।

सरकारले मूख्य प्राथमिकतामा राखेका २४ वटा राष्ट्रिय गौरवका आयोजनामध्ये माथिल्लो तामाकोशी मात्रै सम्पन्न हुने अवस्थामा पुगेको हो । मेलम्ची खानेपानी आयोजना निर्माण सम्पन्न भएर सञ्चालनमै आएपनि मेलम्ची र हेलम्बु गाउँपालिकामा आएको बाढीले फेरी निश्‍चयतर्फ धकेलेको छ । 

यस्तै, गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको काम ९१ प्रतिशत सकिएको छ । यस बाहेक अन्य राष्ट्रिय गौरवका आयोजनाको स्थित बेहाल छ ।

कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघ्यो

काठमाडौँ । नेपालमा काेभिड–१९ (कोरोना भाइरस) विरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड नाघेको छ ।

२४ घण्टामा (एकै दिन) दुई लाख ९३ हजार एक सय ५१ मात्रा खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको सङ्ख्या एक करोड ९२ हजार एक सय ६४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

खोप लगाउनेमध्ये ४६ लाख ६७ हजार तीन सय २८ जनाले पूर्ण मात्रा र ५४ लाख २४ हजार आठ सय ३६ जनाले पहिलो मात्रा खोप लगाएका छन् । खोप योग्य जनसङ्ख्यामध्ये १५ दशमलव चार प्रतिशतले पूर्ण मात्रा र १७ दशमलव नौ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

सरकारले कुल जनसङ्ख्याको ७१ प्रतिशत नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । अहिलेसम्म एक करोड ३३ लाख मात्रा कोरोनाविरुद्धको खोप नेपालमा प्राप्त भैइसकेको र थप खोप आउने क्रममा रहेको स्वास्थ्य मन्त्रालयको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले जानकारी दिनुभयो ।

सरकारले अहिले ४० वर्षमाथिको उमेर समूह, विद्यार्थी, अत्यावश्यक सेवामा संलग्न लगायतलाई प्राथामिकतामा राखेर खोप लगाइरहेको छ ।

हिमाली जिल्ला मनाङ र मुस्ताङका सबै खोपयोग्य व्यक्तिलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ भने हिमाली क्षेत्रमा रहेका कतिपय पालिकामा पनि सबैलाई खोप लगाइसकेको मन्त्रालयले जनाएको छ ।

नेपालVsभारतबीचको खेल दर्शकले प्रत्यक्ष हेर्न पाउने

काठमाडौ । नेपाल र भारतका राष्ट्रिय टिमबीच दशरथ र‌गशालामा हुने दुई मैत्रीपूर्ण खेलमा दर्शकलाई र‌गशाला प्रवेशको अनुमति दिइने भएको छ । माल्दिभ्सको मालेमा असोजमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेका नेपाल र भारतले पहिलो मैत्रीपूर्ण खेल भोली बिहीबार खेल्नेछन् । दोस्रो खेल आइतबार हुने तय छ ।

दर्शकसहितको खेल गराउनका लागि राष्ट्रिय खेलकुद परिषद, युवा तथा खेलकुद मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलगायत सबै निकायबाट अनुमति लिइसकिएकाे आयोजक अखिल नेपाल फुटबल संघले बुधबार पत्रकार सम्मेलनमा जानकारी गराएको छ । भिआइपीवाहेकको प्यारापिटमा ५ हजार १ सयसम्म दर्शक राख्न अनुमति दिइएको संघका अध्यक्ष कर्माछिरिङ शेर्पाले पत्रकार सम्मेलनमा बताए ।

मैत्रीपूर्ण खेलका लागि भारतीय राष्ट्रिय टोली म‌गलबार काठमाडौं आइसकेको छ । भारतले यही खेलका लागि दुई साता कोलकातामा अभ्यास गरेको थियो । नेपाली टोली पनि दुई साताको विशेष प्रशिक्षण सकेर पोखराबाट काठमाडौं आइसकेको छ । नेपाली टोली साफ च्याम्पियनसिपका लागि पछिल्लो दुई महिनादेखि तयारीमा थियो ।

सागको लागी किनिएको करोडौंका खेल सामाग्री अलपत्र

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का लागि खरिद गरिएको उसुका म्याट र बास्केटबल ब्याकस्टप उचित व्यवस्थापन नहुदा राज्यको करौडौं लगानी व्यर्थ बनेको छ । सागका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप)ले उसुलाई थाउलो म्याट एक सेट तथा सान्सो प्लेटफर्म २ थान उपलब्ध गराएको थियो । यसैगरी बास्केटबल संघलाई ३ सेट ब्याकस्टप उपलब्ध गराएको थियो ।

साग सकिएको २ वर्ष पूरा हुन लागिसक्यो । तर सागका लागि आएका करोडौंका खेल सामाग्री प्रयोगमा त आएनन नै, तिनको उचित व्यवस्थापन समेत हुन नसक्दा लगानी व्यर्थ हुने खतरा बढेर गएको छ ।

सम्बन्धित खेलका नियमनकारी निकायका रुपमा क्रियासिल नेपाल उसु संघ र नेपाल बास्केटबल संघ तथा सम्पूर्ण नेपाली खेलकुदको सर्वोच्च निकाय राखेप गैह्रजिम्मेवार बन्दा करोडौं खर्चेर ल्याइएका खेल सामाग्रीको यो दूर्गति भएको हो ।

खेलकुद सामाग्रीको व्यवस्थापनबारे सोध्दा राखेप, उसु संघ र बास्केटबल संघ एकअर्कालाई आरोप लगाउदै पन्छिदै आएका छन् । राखेपका भण्डार शाखाका प्रमुख सुजन खतिवडा सम्बन्धित संघलाई खेलकुद सामाग्री हस्तान्तरण गरिसकेको बताउँदै ति सामानको प्रयोग र व्यवस्थानको जिम्मेवारी सम्बिन्धित संघकै हुने बताउँछन् ।

‘हामीले १३औं सागमा सम्बन्धित संघहरुलाई खेलकुद सामाग्री उपलब्ध गराएका थियौ,’ खतिवडाले भने, ‘त्यसैले ती सामानहरुको उचित व्यवस्थापनको जिम्मेबारी पनि ती संघहरुकै हो ।’

यता नेपाल उसु सघका महासचिव लाक्पा लामाले भने राखेपले संघका कुरा नसुन्ने र आफै पनि खेल सामाग्रीहरुको व्यवस्थापन नगर्ने व्यवहार देखाउँदा समस्या आएको प्रतिक्रिया दिए ।

‘उसु खेलले पनि १३औं सागमा आफ्नो दरिलो उपस्थिती जनाएको थियो । तर यो खेल अहिलेसम्म पनि सरकारको प्राथमिकतामा पर्न सकेन,’ उनले भने, ‘हामीले तत्कालिन सदस्यसचिव केशवकुमार विष्टकै पालादेखि उसुका लागि सेमिकभर्डहल उपलब्ध गराइदिन बारम्बार आग्रह गर्दै आएका छौं । वर्तमान सदस्य सचिव रमेशकुमार सिलवाललाई पनि हामीले सेमिकभर्डहल उपलब्ध गराउनका लागि पटकपटक आग्रह गरिसकेका छौं । तर हाम्रो आग्रहको अहिलेसम्म सुनुवाई भएको छैन ।’

कलाकार निशा घिमिरेको निधन

काठमाडौँ । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको छ ।

‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले भनेका छन् ।

दुर्घटना घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला नर्भिक अस्पतालले २०७८ जेठ २७ गते उद्धार गरेको थियो । उद्धार गरी अस्पतालले निःशुल्क उपचार थालेको थियो ।

लगातारको उपचारपछि पनि उनको स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन सकेको थिएन । उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो ।

खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।

गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web