२ हजार ४ जनामा कोरोना पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर दुई हजार चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १४ हजार ६ सय ५० जनाको नमुना परीक्षण गर्दा दुई हजार चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नमुना परीक्षण गरिएकामध्ये १३ दशमलव ६७ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको हो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण हुनेको सङ्ख्या आठ लाख ५० हजार दुई सय आठ पुगेको छ ।

पछिल्लो २४ घण्टामा एक हजार आठ सय ४६ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख २१ हजार एक सय ८२ पुगेको छ ।

यही अवधिमा थप १६ जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् । योसहित कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या १० हजार सात सय ८६ पुगेको छ ।

अहिले नेपालमा ३३ हजार नौ सय ४६ जना कोरोना भाइरसका सक्रिय सङ्क्रमित छन् । सक्रिय सङ्क्रमितमध्ये पाँच सय ४४ जनाको आईसीयू र एक सय ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रचण्ड र नेपालबीच भेटवार्ता

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

बिहान माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल भएको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने भनिए पनि अझै टुङ्गो लागिसकेको छैन ।

निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प आउँदो मङ्गलवारसम्मलाई दिएकाले त्यसपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी सत्ता गठबन्धनको तयारी छ ।

५० अंकले घट्यो शेयर बजार, साढे ९ अर्बको कारोबार

काठमाडौँ । साताको अन्तिम कारोबार बिहीबार शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अंकले घटेको छ । नेप्से परिसूचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलव ८९ अंकमा झरेको छ ।

नेप्से परिसूचकसँगै क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ९० अंकले घटेको छ । उता सेयर कारोबार रकम भने बुधबारकै हाराहारीमा भएको छ ।

दिनभर भएका एक लाख ५ हजार ७ सय ७५ कारोबारबाट २३०क म्पनीका १ करोड ८१ लाख ९ हजार ९ सय ६७ कित्ता शेयर किनबेच भएक छन् । जसबाट कारोबार रकम ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैयाँ पुगेको छ ।

भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन

काठमाडौँ । भारतीय कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।

टीभी सिरियलका लोकप्रिय कलाकार तथा बिग बोस १३ का बिजेता सिद्धार्थको हृदयघातका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

४० वर्षका सिद्धार्थको कपुर अस्पतालमा निधन भएको खबरमा उल्लेख छ । उनले अभिनय गरेको बालिका बधु टेलिचलचित्र धेरैले रुचाएका थिए ।

नहरमा डुबेर एक युवकको ज्यान गयो

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-२ सकरदहीमा रहेकाे पश्चिमी नहरमा डुबेर एक युवकको ज्यान गएकाे छ ।

नहरमा डुबेर कङ्कालिनी नगरपालिका-१ का २४ वर्षीय लक्ष्मण कुमार इसरको ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।

लक्ष्मण मलेसियामा सात वर्ष बसेर १५ दिन अगाडि मात्रै घर फर्किएका थिए ।

युवककाे शव परीक्षणका लागि राजविराजमा रहेकाे गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएकाे जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकाे छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

पूर्व-पश्चिम राजमार्ग सात दिनपछि दुईतर्फी सञ्चालन

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैंडाकोट २३ स्मृति नजिक डाइभर्सन बाढीले बगाएर अवरुद्ध पूर्व पश्चिम राजमार्ग दुईतर्फीरुपमा सञ्चालनमा आएको छ । गत बिहीबारदेखि अवरुद्ध भएको राजमार्ग सात दिनपछि दुईतर्फीरुपमा सञ्चालनमा आएको हो ।

पूर्व पश्चिम राजमार्ग विस्तारका क्रममा बनाइएको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालनका लागि निरन्तर प्रयास गरिए पनि हिलोका कारण समस्या हुँदै आएको थियो । पानी पर्ने क्रम रोकिएसँगै नयाँ बनाइएको डाइभर्सनबाट यातायात दुईतर्फी सञ्चालनमा आएको हो । सोमबारदेखि पानी पर्न रोकिएपछि हिलो भएको ठाउँमा मर्मत गरी बुधबार साँझबाट दुईतर्फीरुपमा यातायात सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी पदम बडुले जानकारी दिए ।

बाढीले बगाएको डाइभर्सन गत शनिबार नै निर्माण गरेको भए पनि हिलो र दलदलका कारण सवारी वारपार गर्न भने सकेका थिएनन् । सोमबारबाट एकतर्फीरुपमा सञ्चालनमा आएको डाइभर्सन बुधबार साँझदेखि दुईतर्फी रुपमा सञ्चालनमा आएको सूचना अधिकारी बडुले बताए ।

गैंडाकोटका अन्य डाइभर्सन भने यसअघि नै मर्मत गरिएको थियो । राजमार्ग पूर्णरुपमा सञ्चालन भएसँगै रोकिएका सवारी आ–आफ्नो गन्तव्यतर्फ छुट्न थालेका छन् ।

राजमार्ग पूर्णरुपमा अवरुद्ध हुँदा डाइभर्सनको दुवैतर्फ गरी करिब २० किलोमिटर सवारीको लाइन लागेको थियो । डाइभर्सनमा दुईतर्फी सवारी सञ्चालनमा आएसँग उक्त सवारीको लाइन अहिले घट्दै गएको सूचना अधिकारी बडुले बताए । अझै सो खण्डमा बेला–बेलामा गाडी बिग्रिने, लेन मिचेर हिँड्न खोज्ने कारणले जामको समस्या कायमै रहेको छ ।

पानी नपरेर नियमित दुईतर्फीरुपमा आज दिनभर सवारी सञ्चालन हुन सके रोकिएका सबै गाडी पार हुनसक्ने उनले बताए। राजमार्ग विस्तारका क्रममा बनाइएका अस्थायी डाइभर्सन पानी परे कुनै पनि समय बाढीले क्षति पुर्‍याइ पुनः अवरुद्ध हुने सम्भावना भने यथावत छ ।

बहुमत गुमाएपछि मुख्यमन्त्री शाक्य दोधारमा

मकवानपुर । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै कसरी अगाडि बढ्ने भन्ने दोधारमा परेकी छन् । भदौ २ मा पार्टी एकताका लागि सन्देश दिने भन्दै सत्तारोहण गरेर तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेकी शाक्य एमाले औपचारिक रूपमा विभाजन भएसँगै अल्पमतमा परेकी छन् ।

उनी मुख्यमन्त्री हुनेबित्तिकै सामाजिक विकासमन्त्रीका रूपमा शपथ लिएका कृष्ण खनाल शर्माले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) रोजेका छन् । उनले बुधबार बिहान पदबाट राजीनामा दिएका हुन् । खनालको राजीनामासँगै वाग्मती प्रदेश सरकार दुई सदस्यमा झरेको छ ।

मुख्यमन्त्रीसहित सातवटा मन्त्रालय वाग्मती प्रदेशमा छन् । अब मन्त्रिपरिषद् विस्तार तत्काल गर्ने वा नगर्ने विषयमा शाक्यलाई समस्या परेको छ । उनीनिकट नेताहरूका अनुसार तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने तयारी छैन । ‘मुख्यमन्त्रीले आन्तरिक छलफल गरिरहनुभएको छ, हालको अवस्थामा केही समयभित्रै विश्वासको मत लिनुपर्ने देखिन्छ । मन्त्रिपरिषद् विस्तार गर्ने वा नगर्ने उहाँमै भरपर्छ,’ एक सांसदले भने ।

एमाले औपचारिक रूपमा फुट्नुअगाडि शाक्य तत्कालीन वरिष्ठ नेता माधव नेपालको खेमामा थिइन् । तत्कालीन समयमा नेपाल खेमामा रहेर हाल एमालेमै फर्किएका सांसदहरू सरकार अल्पमतमा परिसकेको अवस्थामा मन्त्रिपरिषद् विस्तार गर्न नहुने पक्षमा छन् । स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीनिकट सांसदहरू मन्त्रिपरिषद् विस्तार गरेर सरकार पूर्ण रूपमा सञ्चालन गर्नुपर्ने पक्षमा छन् ।

‘अहिलेसम्म हामी बहुमतमै छौं, प्रदेशसभाको अधिवेशन अन्त्य भएको अवस्थामा कसरी अगाडि बढ्ने भन्ने विषयमा हामी पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुग्छौं,’ एमाले मुख्य सचेतक दीपक निरौलाले भने । उनले विश्वासको मत लिनुपर्ने अवस्था सिर्जना भए आफूहरू तयार रहेको बताए । ‘विश्वासको मत होस् वा अविश्वासको प्रस्ताव हामी सामना गर्न तयार छौं । तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने वा नगर्ने भन्ने विषयमा छलफल जारी नै छ,’ उनले भने ।

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री केशवराज पाण्डेले छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरे । ‘सदनबाट हुने प्रक्रिया हामी फेस गरेर अगाडि बढ्छौं, सरकार सञ्चालन गर्न भए पनि मन्त्रिपरिषद् विस्तार गर्नुको विकल्प छैन,’ उनले भने । मुख्यमन्त्री शाक्यको दोस्रो मन्त्रिपरिषद्को बैठकले प्रदेशसभाको वर्षे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको थियो ।

अधिवेशन अन्त्य भएका कारण औपचारिक रूपमा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएको र नयाँ सरकार गठन भएको विषय सदनमा जानकारी गराइएको छैन । त्यसकारण पनि मन्त्रिपरिषद् विस्तार गर्न मुख्यमन्त्री शाक्यलाई समस्या पर्ने विपक्षीहरूको तर्क रहँदै आएको छ ।

पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई पक्राउ गर्न निर्देशन

दाङ । दाङको सिस्ने खोलामा पुल निर्माण गर्ने ठेकेदारलाई तत्काल पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दाङले प्रहरीलाई निर्देशन दिएको छ ।

पुल निर्माणमा ढिलासुस्ती गरेको भन्दै प्रशासनले श्री एडभेन्चर जेबी जेभीका प्रतिनिधि यज्ञ केसीलाई पक्राउ गर्न निर्देशन दिएको हो । प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले निर्माण व्यवसायी केसीलाई तत्काल पक्राउ गरी कार्यालयमा उपस्थित गराउन निर्देशन दिएको जानकारी दिनुभयो ।

गएको साउन २५ गते नै पुल सञ्चालनमा ल्याउने गरी काम गर्न निर्देशन दिए पनि अटेर गरेपछि ठेकेदार केसीलाई पक्राउ गर्न भनिएको हो । यसअघि पनि प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले ठेकेदार केसीलाई पक्राउ गर्न निर्देशन दिए पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन ।

गएराति सिस्ने खोलाले कार बगाउँदा चार जनाको ज्यान गए पछि ठेकेदारमाथि कारबाही गर्न दबाब परेको हो ।

टी-२० वरीयतामा नेपाल एक स्थान तल झर्‍यो

काठमाडौँ आईसीसी टी-२० वरीयतामा नेपालमा एक स्थान तल झरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले बुधबार अपडेट गरेको वरीयतामा नेपालको वरीयता खस्किएको हो ।

यसअघि १२औं स्थानमा रहेको नेपाल नयाँ वरीयतामा १३औं स्थानमा छ । टेष्ट राष्ट्र आयरल्याण्ड १२औं स्थानमा उक्लेको छ ।
नेपालको अहिलेसम्मको उत्कृष्ट वरीयता ११ औं स्थान हो ।

टी-२० नयाँ वरीयताको इंग्ल्यान्ड शीर्ष स्थानमा, भारत दोस्रोमा, पाकिस्तान तेस्रोमा, न्युजिल्याण्ड चौथोमा र दक्षिण अफ्रिका पाँचौ स्थानमा छ । यस्तै अष्ट्रलिया छैटौ, बंगलादेश सातौं, अफगानिस्तान आठौं, श्रीलंका नवौं, वेष्ट इन्डिज दशौँ र जिम्बाव्वे ११औं स्थानमा छ ।

नेपाल ओडीआई वरीयतामा १६औं स्थानमा रहेको छ ।

आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिज खेल्नका लागि नेपाली टोली हाल ओमानमा छ । त्यसअघि नेपालले पपुवा न्यु गिनीसँग दुई ओडीआई अन्तर्राष्ट्रिय खेल खेल्नेछ । नेपालल, ओमान र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिज सेप्टेम्बर १३ देखि २० सम्म हुनेछ

शक्ति र साधनस्रोत बढी भएका मन्त्रालयमा सबैको दाबी

काठमाडौँ । सत्ता गठबन्धन दलहरूले सरकार गठनको ५१ दिन बित्दा पनि मन्त्रालयको भागबन्डा टुंगो लगाउन सकेका छैनन् । शक्ति र साधनस्रोत बढी भएका मन्त्रालयमा सत्तारूढ दलहरूको दाबी र दलभित्रै आकांक्षीको ताँतीले भागबन्डामा शीर्ष नेताहरूलाई सकस परेको छ ।

एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने मन्त्री छनोटले असन्तुष्टि सिर्जना गर्दा दल विभाजनको जोखिम निम्त्याउने मन्त्रिपरिषद्मा सकेसम्म बढी हिस्सा खोजिरहेका छन् । उनीहरूले विभाजनको स्थिति आउन नदिन राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय पारेपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न पनि चाहेका छन् ।

स्रोतका अनुसार कांग्रेसले ८, माओवादी केन्द्रले ७ र एकीकृत समाजवादी तथा जसपाले ६–६ मन्त्रालय दाबी गरिरहेका छन् । संविधानले मन्त्रिपरिषद् अधिकतम २५ सदस्यीय हुने भनेर सीमा तोकेको छ । अहिलेको अवस्थामा प्रधानमन्त्रीसहित २२ मन्त्री र तीन राज्यमन्त्री मात्रै बन्न सक्छन् । कांग्रेस र माओवादीले एकीकृत समाजवादीलाई बढीमा ५ र जसपालाई ४ मन्त्रालय दिन चाहेका छन् । आफूहरूको बाध्यता बुझ्न भन्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले हिस्सा बढाइदिनुपर्नेमा जोड दिँदै आएका छन् ।

गठबन्धन दलका नेताहरूका अनुसार जनसरोकारसँग प्रत्यक्ष जोडिएका र विकास पूर्वाधारका समेत काम हुने मन्त्रालय सबै दलले ताकेका छन् । आगामी स्थानीय, प्रदेश एवं संघीय चुनावमा समेत लाभ लिन सकिने गरी उनीहरूले मन्त्रालयमा दाबी गरेका छन् । प्रधानमन्त्रीसहित गृह र कानुन मन्त्रालय कांग्रेसले लिइसकेको छ । स्वास्थ्य राज्यमन्त्री पनि कांग्रेसबाटै छन् । उसले अब परराष्ट्र, भौतिक पूर्वाधार तथा यातायात, रक्षा, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आँखा लगाएको छ ।

अर्थ र ऊर्जा मन्त्रालय लिइसकेको माओवादीले परराष्ट्र, कृषि तथा पशुपन्छी विकास, भूमि व्यवस्था, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, संस्कृति र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय लिन चाहेको छ । एकीकृत समाजवादीले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि, शिक्षा, विज्ञान तथा प्रविधि तथा पर्यटनमा दाबी गरेको छ । जसपाको चाहना परराष्ट्र मन्त्रालयसहित भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा छ ।

कांग्रेस नेतृ सुजाता कोइराला, जसपा अध्यक्ष उपेन्द्र यादव, माओवादी नेता नारायणकाजी श्रेष्ठले उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिन चाहेका छन् । कांग्रेस नेता नारायण खड्काको पनि परराष्ट्रमै दाबी छ । कांग्रेसबाट मन्त्री हुने लाइनमा मीनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडू, नारायण खड्का, पुष्पा भुसाल, मानबहादुर विश्वकर्मा, तेजुलाल चौधरी, उमाकान्त चौधरी, भीसेनदास प्रधानलगायत छन् ।

माओवादीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हितबहादुर तामाङ, मात्रिका यादव, शशि श्रेष्ठ, अञ्जना विशंखे, कमला रोका, महेश्वर गहतराज, अमनलाल मोदीलगायत आकांक्षी छन् । एकीकृत समाजवादीका रामकुमारी झाँक्री, विरोध खतिवडा, जीवनराम श्रेष्ठ र किसान श्रेष्ठले मन्त्री बन्न चाहेका छन् । जसपाबाट मन्त्रीको दौडमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, रेणुकुमारी यादव, प्रदीप यादवलगायत छन् ।

मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा सोमबार र मंगलबार गठबन्धन दलका नेताहरूले छलफल गरे पनि निष्कर्षमा पुग्न सकेनन् । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनका अनुसार एकीकृत समाजवादीका अध्यक्ष नेपालले भदौ २२ सम्म पर्खिदिन आग्रह गरेका छन् । ‘निर्वाचन आयोगले प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न २२ गतेसम्म समय दिएको छ,’ उनले भने, ‘त्यसबेलासम्म माधवजीहरू आन्तरिक काममा व्यस्त हुनुपर्ने भएकाले पर्खिने समझदारी भएको छ ।’ कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीले पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार प्रधानमन्त्रीसँग जिज्ञासा राख्दा भदौ २२ पछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति रहेको जानकारी पाएको बताए ।

एकीकृत समाजवादीका एक नेताले अहिले सकेसम्म धेरै जनप्रतिनिधिलाई आफ्नो पार्टीमा ल्याउन सबैतिर संवाद गरिरहेकाले मन्त्रिपरिषद् विस्तार तत्कालका लागि प्राथमिकतामा नपरेको बताए । एकीकृत समाजवादीका नेता विरोध खतिवडाले भने मन्त्रिपरिषद् विस्तारमा अब धेरै ढिला नहुने बताए ।

मन्त्रिपरिषद् विस्तार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको पनि प्राथमिकतमा परेको छैन । जसपा नेता महेन्द्रराय यादवले समय परिपक्व भएपछि मन्त्रिपरिषद् विस्तार हुने बताए । ‘केही समय ढिला हुन गयो । गठबन्धनबीच मन्त्रालय भागबन्डाका विषयमा मंगलबार छलफल सुरु भएको छ । माधवजीहरूको पहिला पार्टी थिएन, अहिले पार्टी बनेको छ । उहाँहरूको तलदेखि माथिसम्म संगठनको आधार बन्नुपर्‍यो,’ उनले भने, ‘गठबन्धनले लामो यात्रा गर्नु छ । मन्त्रालयका विषयमा मिलाएर सहमतिबाट अगाडि बढ्ने र मुलुकलाई निकास दिने भन्ने सहमति छ ।’

पहिरोले ३ जनाको मृत्यु, ५ घाइते

पोखरा । पोखरामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ । बुधबार दिउँसोदेखि परेको अविरल वर्षाका कारण पोखरा–२० भलाममा २ जना र पोखरा–११ काहुँमा १ जनाको मृत्यु भएको हो ।

भलाममा कृष्ण श्रेष्ठको टिनको घरमा पहिरो खस्दा कृष्ण र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको मृत्यु भएको छ । सुनमायाको घटनास्थलमै मृत्यु भएको हो भने ४५ वर्षीय श्रेष्ठलाई उपचारका लागि मणिपाल अस्पताल पुर्याउँदा डाक्टरले मृत घोषणा गरे ।

उनीहरुका नौ वर्षीय छोरा राजकुमारको टाउकोमा चोट लागेकाले उपचार भइरहेको छ भने ३ वर्षीय छोरा सन्तोष श्रेष्ठ बेपत्ता रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिए ।
यसैगरी पोखरा–११ काहुँ भञ्ज्याङ नमुनाटोलस्थित लक्ष्य नेपालीको घरमा पहिरो खस्दा १ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । पहिरोमा पुरिएर घाइते ४२ वर्षीय लक्ष्य नेपालीलाई अस्पताल पुर्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

नेपालीकी छोरी १४ वर्षीया सृष्टि घाइते छिन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । परिवारमा रहेका ५ जना मध्य श्रीमती र २ छोरा सकुशल छन् ।
यसैगरी पोखरा–११ काहुँ बसेरीस्थित एकदेव तिमिल्सिनाको ब्लकको घरमा पहिरो खस्दा एकदेव, उनकी श्रीमती रितु र छोरा गिरिश घाइते भएका छन् ।

खोलाले कार बगाउँदा चार जनाको ज्यान गयो

दाङ । दाङको सिस्ने खोलामा आएको बाढीले कार बगाउँदा चारै जनाको ज्यान गएको छ । यसअघि दुई जनाको शव भेटिएको थियो भने दुई जना हराइरहेका थिए ।

बाढीमा बेपत्ता भएका अर्का दुई जनाको पनि केहीबेर अघि शव भेटिएसँगै ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको हो ।

भारतसँगको नाका रुपैडियाबाट किनमेल गरेर फर्कँदै गर्दा गएराति प्रदेश ०३– ०१ –०२४ च ४४४० नम्बरको कारलाई बाढीले बगाएको हो । बाढीले कार बगाउँदा एकै घरका दुई दिदीबहिनीको ज्यान गएको हो । प्रहरीका अनुसार घोराही उपमहानगरपालिका-१६ का जगत श्रेष्ठकी छोरीहरु ३२ वर्षीया सुशीला श्रेष्ठ र ३० वर्षीया राधिका श्रेष्ठ कुँवर ज्यान गएको हो ।

यस्तै कारमा रहेका घोराही–१३ का ४० वर्षीया रितामाया पुन र घोराही–१४ का ४२ वर्षीया विमला केसीको पनि ज्यान गएको छ । कार चालकलाई भने उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । चालक घोराही-१५ का ४० वर्षीय नरबहादुर पुनको खुट्टा भाँचिएको छ ।

पुनको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web