नेपाली आकाशमा भारतीय हेलिकोप्टर

काठमाडौँ । एसएसबीका सुरक्षाकर्मीले तुइन खुस्काइदिएपछि नेपाली युवा महाकालीमा बेपत्ता भएको प्रकरण ठेगान नलाग्दै छिमेकी भारतले नेपाली राष्ट्रियतालाई थप आहत बनाउने काम गरिरहेको छ । भारतले महाकालीवारि नेपाली सेनाको ब्यारेकमाथिसमेत अनधिकृत रूपमा तारन्तार हेलिकोप्टर उडाउन थालेपछि जिल्ला प्रशासनले भारतसँग लिखित आपत्ति जनाएको छ भने नेपाल सरकारको गृह मन्त्रालयलाई पनि यो विषयमा जानकारी गराएको छ ।

तर न भारतले अनधिकृत उडान रोकेको छ न नेपाल सरकारले कुनै प्रतिक्रिया जनाएको छ । महाकालीमा बेपत्ता भएका जयसिंह धामीको खोजबिनका लागि गृह मन्त्रालयको टोलीले महाकाली नदीको पल्लो किनारमा पनि ड्रोन उडाउन खोज्दा भारतले असहयोग गरेको थियो । साउन १५ मा बेपत्ता भएका जयसिंहको खोजबिन गर्न ‘ड्रोन’ क्यामेरा उडाउन अनुमति माग्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले साउन २३ मा पठाएको अनुरोधपत्रको जवाफ अझै आएको छैन । बेपत्ता नागरिकको खोजीमा महाकाली किनारमा ‘ड्रोन’ उडाउनसमेत नदिने भारतले भने महाकालीवारि दार्चुला सदरमुकाम खलंगा बजारमाथि पटक–पटक हेलिकोप्टर उडाउन थालेको छ ।

भारतले हेलिकोप्टर उडाउँदै आएको क्षेत्रमा सर्वसाधारणको बस्तीमात्र होइन, सेना, प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको कार्यालयसमेत पर्छ । दुई साताअघि पनि भारतीय हेलिकोप्टर नेपाली सेनाको गुरु गोरख गुल्म हेडक्वार्टरमाथिबाट उडेको थियो । लगत्तै गुल्म हेडक्वार्टरले आपत्ति जनाउँदै तत्काल रोक्ने गरी पहल थाल्न जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेको थियो । पत्रको बोधार्थ नेपाली सेनाको मुख्यालयलाई पनि पठाइएको थियो । सेनाको पत्रपछि प्रशासनले त्यसको जानकारी गृह मन्त्रालयलाई पनि पठायो । परराष्ट्रमार्फत पहल गर्नुपर्नेमा गृह मन्त्रालय नै मौन बसेको छ ।

केही दिनको अन्तरालपछि भारतीय हेलिकोप्टर नेपाली ‘एयर स्पेस’ नाघेर लगातार बजार र सेनाको ब्यारेकमाथि फेरि उड्न थालेपछि बुधबार जिल्ला सुरक्षा समितिको बैठक बसेको थियो । बैठकले भारतीय कदमप्रति आपत्ति जनाउँदै यस्तो गतिविधि रोक्न आवश्यक पहल गर्ने निर्णय गरेको थियो । जुनसुकै प्रयोजनका लागि उडाइएको भए पनि त्यसमा नेपालको अनुमति आवश्यक पर्ने सुरक्षा समितिको ठहर छ ।

भोलिपल्ट बिहीबार दार्चुला प्रशासनले भारतीय जिल्ला अधिकारीलाई पत्र पठाउँदै यो कदम तत्कालै रोक्न भनेको छ । हेलिकोप्टर उडाउन आफ्नै आकाश प्रयोग गर्न पनि नेपाली प्रशासनले भारतीय पक्षलाई आग्रह गरेको छ । ‘भारतको गैरसैनिक हेलिकोप्टर निरन्तर रूपमा नेपाल र भारतबीच कुनै समन्वय नगरी गुरु गोरख गुल्म हेडक्वार्टर तैनाथ रहेको स्थान खलंगा ब्यारेक तथा दार्चुला जिल्ला सदरमुकाम खलंगा क्षेत्रको नेपाली आकाश प्रयोग गरी उडान गरिरहेको व्यहोरा अवगत गराइन्छ’ पत्रमा भनिएको छ ।

साथीको हत्या आरोपी सैनिक जवानलाई जन्मकैदको फैसला

काठमाडौँ ।  सैनिक हुद्दा भरत गुरुङको हत्या आरोपीलाई सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको छ । नेपाली सेनाको समरी जनरल सैनिक अदालतले गुरुङको हत्यामा संलग्न देखिएका सैनिक गंगाधर ढकाललाई २५ वर्ष कैद सजाय गर्ने निर्णय गरेको हो ।

भरतपुर–१७, सिमलडाँडामा ७ साउनमा गुरुङको शव भेटिएको थियो । ढकालको बयानबाट उनले एसएमजी हतियार चोरी साथीलाई गोली हानेको खुलेको थियो ।

उनीबाट बरामद हतियार चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । गुरुङलाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले आदेश गर्दैछ ।

सैनिक स्रोतले भन्यो, ‘सम्भवतः भोलि उहाँहरुको पक्षमा फैसला हुनेछ ।

दार्चुलाको तुइन घटनामा भारतसँग कुटनीतिक पहल गर्न परराष्ट्रलाई गृहको पत्र

काठमाडौँ । दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर जयसिंह धामी बेपत्ता भएको घटनामा छानबिन समितिको निष्कर्षका आधारमा आवश्यक कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको दोस्रो दिन हिजो मन्त्रालयले आवश्यक कुटनीतिक पहलका लागि परराष्ट्रमा पत्र पठाएको हो । मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा गठित समितिले भारतीय सीमा सुरक्षा बल (एसएसबी)कै उपस्थितिमा धामी तुइन तर्ने क्रममा तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएको प्रतिवेदन मङ्गलवार बुझाएको थियो ।

प्रतिवेदन तयार पार्न ढिलो गरेको र घटनालाई ढाकछोप गर्न लागिएको भन्दै सरकारको आलोचना भइरहेको बेला गृहले कुुटनीतिक पहल गर्न परराष्ट्रलाई पत्राचार गरेको हो । घटना भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीको उपस्थितिमा भएको देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

मन्त्रालयका अनुसार समितिले घटनाको अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न र जयसिंह धामीका परिवारलाई उचित क्षतिपूर्ति तथा राहत उपलब्ध गराउने सन्दर्भमा भारतीय पक्षसँग कुटनीतिक माध्यमबाट पहल गर्न सिफारिस गरेको थियो ।

यही प्रतिवेदनका आधारमा परराष्ट्रलाई कुटनीतिक पहलका लागि अनुरोध गरिएको गृह मन्त्रालयले जनाएको छ । छानबिन समितिबाट मङ्गलवार प्रतिवेदन बुझ्दै गृहमन्त्री बालकृष्ण खाँणले त्यसको कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको आश्वासन दिनुभएको थियो ।

साउन १५ गते दार्चुलाको व्यास गाउँपालिका–२ बाट तुइन तरेर भारत हुँदै जिल्ला सदरमुकाम खलङ्गा आउने क्रममा तुइनको लठ्ठासँगै खसेर धामी नदीमा बेपत्ता हुनुुभएको थियो । भारतीय सुरक्षाकर्मीले तुुइनको लठ्ठा काटिदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

अस्पताल सुधारकलाई बिचौलियाको धम्की

भक्तपुर । बिरामी सिफारिस केन्द्रका रूपमा परिचित भक्तपुर अस्पताललाई सुधार गर्दै सबै सेवा सञ्चालन गरिएकामा केही निजी क्लिनिक सञ्चालक तथा अस्पतालका बिचौलियाले मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतम, अन्य चिकित्सक र कर्मचारीलाई सरुवाको धम्की दिन थालेको पाइएको छ ।

बिरामीको उपचार,ल्याब परीक्षण र औषधि खरिद गर्न निजी अस्पताल, क्लिनिक तथा औषधि पसलमा पठाइने गरेकामा केही चिकित्सक एवम् कर्मचारीलाई कारबाही गरिएकाले बिचौलियासहित गिरोहले उहाँहरूलाई नै सरुवा गर्न शक्ति केन्द्र धाउन थालेका हुन् ।

मेसु डा. गौतमले भन्नुभयो, ‘म आएदेखि यहाँको बेथिति सुधार्न लागेको लाग्यै छु, यस्तो कोभिडको जोखिममा आफैँ बिरामी हुँदासमेत यहाँका चिकित्सक र कर्मचारी अहोरात्र खटिएका छन्, यति हुँदाहुँदै पनि केही चिकित्सक र कर्मचारीले आउने बिरामीलाई सिधै बाहिर पठाउने गरेको पुष्टि भएकाले कारबाही गरिएको हो ।’

प्याम्परदेखि कोभिडका बिरामीसमेतलाई बाहिर पठाइएको रेकर्ड आएकाले त्यस्ता चिकित्सकलाई सरुवा गरिएको, केहीलाई स्पष्टीकरण सोधेर सचेत गराइएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालमै हुने उपचारसमेत यहाँ हुँदैन भन्दै निजी अस्पताल तथा क्लिनिकमा पठाउने गरेको, आफ्नै अस्पतालमा भएका सबै ल्याब परीक्षण यहाँ हुँदैन भनेर बाहिरका प्याथोलोजीमा पठाउने गरेको र अस्पतालको आफ्नै फार्मेसीमा १० प्रतिशत छुटमा पाइने औषधिसमेत बाहिर किन्न पठाउने गरेको प्रमाणित भएपछि कारबाही गरिएको अस्पताल प्रशासनले जनाएको छ ।

मेसु डा. गौतमले भन्नुभयो, ‘अस्पतालको फार्मेसीमा औषधिमा १० प्रतिशत र शल्यक्रियाका सामानमा ३० देखि ३५ प्रतिशतसम्म छुट दिने गरिएको छ । कुनै पनि ल्याब परीक्षणका लागि बाहिर जानै पर्दैन, अस्पतालमै छ, यहाँ नभए सँगैको मानव अङ्ग र भक्तपुर क्यान्सर अस्पतालको ल्याबमा पठाउने व्यवस्था गरेका छौँ, यति हुँदाहुँदै पनि बिरामीलाई कमिसनका लागि बाहिर पठाउने काम भित्रैबाट भएको पाइएपछि कारबाही गरेका हौँ, यसले इमानदार चिकित्सक र कर्मचारीको मनोबल बढाएको छ ।’

अस्पतालकै एक कर्मचारीलाई चिकित्सकले यहीँ ल्याब सेवा हुँदाहुँदै परीक्षणका लागि सान प्याथालोजीमा पठाएको र अस्पतालको भन्दा तीन गुणा महँगाे शुल्क लिएकाले प्रतिवाद गर्दा त्यहाँका सञ्चालकले चिकित्सकलाई नै कमिसन दिनुपर्ने बताएपछि यो रहस्य बाहिर आएको ती कर्मचारीले बताए । उपचारका लागि आएका कोभिडका बिरामीलाई समेत बिचौलियाले छाडेनन् ।

उपचाररत बिरामीका आफन्त सन्तोष श्रेष्ठले भन्नुभयो, ‘बुबालाई कोभिड भएर ल्याउनेबित्तिकै भर्ना नगरि विभिन्न परीक्षण गर्न अस्पताल अगाडिको प्याथाेलोजीमा पठाए, त्यहाँ महँगाे रहेछ, अर्को दिन अस्पतालमै भर्ना भएपछि पो अर्का चिकित्सकले सबै यहीँ परीक्षण हुन्छ भनेपछि हामी छक्क पर्‍याैँ ।’

बेथिति हटाउँदै सेवामा सुधार आएपछि अस्पताल सुदृढीकरण मूल्याङ्कनमा ३८ बाट बढेर यस वर्ष ८२ मा पुग्नाका साथै वाग्मती प्रदेशकै उत्कृष्ट अस्पताल बनेर पुरस्कार पाएको अस्पताललाई अब फेरि बदनाम हुनबाट जोगाउन र व्यवस्थित रूपले सेवा दिन अस्पताल अहोरात्र लागेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मिलन सुवालले जानकारी दिनुभयो ।

अस्पतालको फार्मेसीमा कार्यरत एक कर्मचारीले आफ्नै अगाडि बाहिरका औषधि पसलमा पठाएपछि त्यसो नगर्न भन्दा गाली खानुपरेको सुनाउनुभयो । ती कर्मचारीले भन्नुभयो, ‘अस्पतालको फार्मेसीमा ५० रुपैयाँमा पाइने थर्माेमिटर बाहिर २५० रुपैयाँसम्म पर्छ, यहाँ ३० रुपैयाँको युरिन ब्यागलाई बाहिर १०० रुपैयाँ लिन्छन्, टाँका लगाउने सुचर ३५० देखि ४५० रुपैयाँसम्म पर्नेमा बाहिर एक हजार १०० रुपैयाँसम्म लिने गरेका छन्, यतिसम्म कि एक हजार १०० रुपैयाँ पर्ने शव परीक्षणका लागि आवश्यक सामानको प्याक बाहिर दुई हजार ७०० रुपैयाँदेखि तीन हजार ७०० रुपैयाँसम्म लिने गरेका छन्, हामीले यहीँ पाइन्छ, बाहिर नपठाउनुस् भन्दा हामीलाई नै थर्काउँथे ।’

विगतमा कमिसन बढी आउने र नचल्ने औषधिको बोलपत्र बढी गरेर औषधि नै खेर फाल्ने, औषधि सप्लायर्सले ल्याएको भन्दा बढी बिल बनाएर भुक्तानी लाने गरेकोजस्ता बेथितिलाई अस्पतालले तोडेको छ । औषधि बोलपत्रमा न्यूनतम मूल्य निर्धारण गर्दै त्यही मूल्यमा वर्ष दिनसम्म औषधि ल्याउनुपर्ने गरी कडाइ गरिएकाले सप्लायर्सहरूले मेसु डा. गौतम आएको छ महिनामै सरुवा गर्न खोजेकामा नसकेको व्यवस्थान समितिको भनाइ छ ।

औषधि सप्लायर्स, केही निजी अस्पतालका सञ्चालक, अस्पतालबाहिरका केही औषधि व्यवसायी र ल्याब सञ्चालकले उहाँको सरुवा गर्न धम्की दिँदै शक्ति केन्द्र धाउन थालेका हुन् । सरुवा गराउने अभियानमा लागेका टोली भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलालदेखि प्रमुख जिल्ला अधिकारी प्रेम भट्टराईसम्मलाई गुनासो गर्न पुगेका थिए ।

जिसस प्रमुख गेलालले भन्नुभयो, ‘अस्पतालले बिरामीलाई सबै सेवा भित्रबाटै दिन थालेको र बिरामी बाहिर पठाउने चिकित्सकलाई समेत कारबाही गरिएकाले हाम्रो व्यवसायमा समस्या पर्‍याे भन्दै केही व्यक्ति मेसु डा. गौतमको सरुवा गर्न आएका थिए तर मैले अस्पताल अहिले एकदम राम्रो भएको छ, यस्ता गलत कुरा लिएर नआउनुस् भनेर पठाइदिएँ ।’

मेसु डा. गौतमले औषधि सप्लायर्सदेखि केही व्यक्तिले फोनबाट केन्द्रदेखि प्रदेश सरकारसम्म पुगेर अब सरुवा गराइ छाड्छौँ भनेर धम्की दिएको बताउनुभयो ।

प्रदेश १ का मुख्यमन्त्रीको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनको माग

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न विपक्षी गठबन्धनले माग गरेको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी आचार्यले बहुमत गमाइसकेको भन्दै नियुक्ति बदरको माग गरेको हो ।
नेकपा एमाले विभाजित भएपछि सांसदहरुलाई दल रोज्न दिएको समयमा प्रदेश प्रमुखले आचार्यले मुख्यमन्त्री नियुक्ति गर्नु नै असंवैधानिक भएको विपक्षी गठबन्धनको जिकिर छ ।

दल विभाजनपछि निर्वाचन आयोगले दल रोज्ने समय दिएको अवस्थामा एमालेकै बहुमत छ भन्दै मुख्यमन्त्री नियुक्त गर्नु संविधान विपरीत भएको नेकपा माओवादी केन्द्र प्रदेश १ संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।

गठबन्धनले अल्पमतमा परेको सरकारलाई प्रदेशमा दूरगामी प्रभाव पार्ने निर्णय नगर्न पनि आग्रह गरेको छ ।

९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा एमालेका मात्रै ५१ सदस्य थिए । ती मध्ये १० जनाले बुधबार नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । १० जना सांसदले नयाँ पार्टी रोजेपछि एमालेमा सभामुखसहित ४१ जना सांसद छन् ।

कांग्रेसमा २१, माओवादीमा १५, जसपामा ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक–एक जना सांसद छन् ।

बहुमतका लागि ४७ सदस्य आवश्यक रहेको प्रदेशमा गठबन्धनमा ४९ जना सांसद छन् । गठबन्धनमा एक जना सांसद रहेको संयूक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च पनि थपिएको छ ।

घरेलु मैदानमा नेपालको भारतसँग पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

काठमाडौँ । नेपालले घरेलु मैदानमै पहिलोपटक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार भारतसँग खेल्दै। त्यसका धेरै आयाम हुनेछन्। यसै कारण पनि यो खेलको रौनकता बेग्लै हुनेछ। नेपाल र भारत छिमेकीमात्र होइनन्, एक आपसमा फुटबलका सबैभन्दा ठूलो प्रतिद्वन्द्वी टिम हुन्।

तर, संयोग कस्तो भने भारत पहिलोपल्ट अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि काठमाडौंमा ओर्लिएको हो। अहिलेसम्म नेपाल र भारतबीच यस्ता तीन खेलमात्र भएका छन्। यी तीनै खेल भारतमै भएका थिए।

त्यसमध्ये सन् २०१३ मा पहिलोपल्ट सिलिगुढीमा खेल भएको थियो। त्यसपछि सन् २०१५ मा पुना र २०१७ मा मुम्बईमा खेल भएको थियो। यस्तोमा अब चौथोपल्ट नेपाल आफ्नै भूमिमा भारतसँग मैत्रीपूर्ण भिडन्त गर्दै छ।

नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका लागि यो खेल विशेष हुनेछ, किनभने उनी दशरथ रंगशालामा डेब्यु गर्दै छन्। उनको नेतृत्वमा नेपालले अहिलेसम्म ४ खेल खेलेको छ। त्यसमध्ये नेपालले इराकविरुद्ध यसै वर्ष बासरामा पहिलोपल्ट खेलेको थियो। त्यसपछि नेपालले विश्वकप छनोटका तीन खेल कुवेतमा खेलेको हो। अल्मुताइरीको प्रशिक्षणमा अब नेपालले दशरथ रंगशालामा पहिलोपल्ट खेल्ने छ।

कप्तान किरण चेम्जोङका लागि यो उत्तिकै विशेष हुनेछ, किनभने यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलसँगै उनले नेपालका लागि सर्वाधिक खेल खेलेको कीर्तिमानको बराबरी गर्नेछन्। नेपालका लागि उनले अहिलेसम्म ७२ खेल खेलेका छन्। अहिले उनी सर्वाधिक ‘क्याप’ जित्ने खेलाडी सूचीको दोस्रो स्थानमा छन्।
भारतविरुद्ध नेपालको पहिलो खेलको सबैभन्दा ठूलो महत्त्व के अर्थमा हुनेछ भने यो राष्ट्रिय पुरुष टिमले काठमाडौंमा खेलेको ५० औं खेल हो। नेपालले सन् १९८४ को सेप्टेम्बर १८ मा माल्दिभ्सको सामना गरेको थियो। अवसर थियो, पहिलो दक्षिण एसियाली खेलकुद। यो नै नेपालले काठमाडौंमा खेलेको पहिलो अन्तर्राष्ट्रिय खेल हो। अब नेपालले भारतविरुद्ध खेल्ने खेल ऐतिहासिक रूपमा ५० औं खेल हुनेछ। काठमाडौंमा खेलेका खेलमध्ये नेपालले सबैभन्दा बढी दशरथ रंगशालामा खेलेको छ।

नेपालले अहिलेसम्म कूल १७ अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलेको छ। त्यसमध्ये तीन खेलमात्र दशरथ रंशगालामा भएको थियो, सन् २०१२ मा बंगलादेशविरुद्ध एक र २०१३ मा पाकिस्तानविरुद्ध दुई। अब भारतविरुद्ध हुने पहिलो खेल नेपालले काठमाडौंमा खेल्ने लागेको चौथो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण मात्र हुनेछ।

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका एक नेता रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् ।

कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुगेका हुन् ।उक्त रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन ।

कांग्रेस महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । प्रदेश सांसदले बैद्यले कोरोनाको जोखिम कायमै रहेकाले महाधिवेशन रोक्न आफूले रिट दायर गरेको  बताए ।

‘कोभिडको महामारी कायमै छ । कोरोना कारण महाधिवेशन केहि समय पर सारौं, कोभिडको जोखिम कम भएपछि महाधिवेशन गर्दा सकारात्मक सन्देश जाला भन्ने मेरो भनाइ हो,’ उनले भने, ‘कांग्रेसको महाधिवेशनले कोरोनाको अर्काे जोखिम नहोस् भन्ने हो । नागरिकको जीवन सर्वाेपरी हो । नागरिकको जीवन रक्षका लागि मैले यो गरेको हुँ ।’

उनले सबै नागरिकले खोप लगाइसकेपछि मात्रै कांग्रेस महाधिवेशन हुनुपर्ने आफ्नो माग रहेको बताए । ‘कांग्रेसको वफादार कार्यकर्ता हुनुको नाताले महाधिवेशन हुनुहुँदैन भन्ने मेरो चाहना होइन तर कोरोनाको खोप सबै नागरिकले लगाइसकेपछि महाधिवेशन गरौं भन्ने मेरो माग हो,’ उनले भने ।

कांग्रेस महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी विभिन्न तहको अधिवेशन हुने कांग्रेसको विधानको व्यवस्था छ ।

प्रधानन्यायाधीशविनाको संवैधानिक सुनुवाइ रोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ । सर्वोच्च अदालतले संवैधानिक निकायमा भएको नियुक्तिबारे संवैधानिक इजलासमा प्रधानन्यायाधीशविनाको सुनुवाइ नगर्न अन्तरिम आदेश दिएको छ ।

यसअघिको केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक निकायमा गरेका नियुक्ति खारेजीको माग गर्दै परेको रिटमा भोलि शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाविना नै सुनुवाइ हुने तालिका थियो । तर प्रधानन्यायाधीशविनाको संवैधानिक सुनुवाइ रोक्न माग गर्दै अधिवक्ता गणेश रेग्मीले दर्ता गर्नुभएको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश हरि फुयाँलको इजलासले भोलिको सुनुवाइ रोक्न अन्तरिम आदेश दिएको हो ।

आजको अन्तरिम आदेशसँगै संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा परेको रिटमाथिको सुनुवाइ थप अनिश्चित बनेको छ । अन्तरिम आदेशमा संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने कि नरहने भन्ने विषय महत्त्वपूर्ण भएकाले तत्काल संवैधानिक नियुक्तिसम्बन्धी सुनुवाइ स्थगित गर्न भनिएको छ ।

यस्तै सर्वोच्चले प्रधानन्यायाधीशको सहभागिता सम्बन्धमा १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत सर्वोच्च अदालत न्याय परिषद् र कानुन व्यवसायी न्याय परिषद्लाई आदेश पनि दिएको छ ।

गएको पुसमा तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत संवैधानिक निकायमा मनलाग्दी पदाधिकारी नियुक्त गरेपछि त्यसलाई खारेज गर्न सर्वोच्चमा रिट परेको थियो । रिटको सुनुवाइका लागि प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलास गठन भएको थियो । तर रिट निवेदक ओमप्रकाश अर्यालले प्रधानन्यायाधीश सहभागी रहेको न्याय परिषद्ले गरेका नियुक्तिसम्बन्धी सुनुवाइमा प्रधानन्यायाधीश नै बस्न नमिल्ने तर्क गरेपछि राणाले सुनुवाइकाे सुरुको र अन्तिम दिन संवैधानिक इजलासमा नबस्ने निर्णय गर्नुभएको थियो ।

पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन

काठमाडौँ । पूर्व गृहसचिव श्रीकान्त रेग्मीको निधन भएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा बिहीबार बिहान उनको निधन भएको हो ।

उनी लामो समयदेखि मधुमेह तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

रेग्मी कुशल प्रशासकका रुपमा चिनिन्छन् । उनी २०३४ देखि २०४९ सालसम्म सरकारी सेवामा संलग्न भएका थिए ।

नेपाल-भारत संयुक्त सैन्य अभ्यास असोज ४ गतेदेखि

काठमाडौँ । कोरोना भाइरस महामारीका कारण रोकिएको नेपाल–भारत संयुक्त सैन्य अभ्यास ४ असोजदेखि शुरु हुने भएको छ । भारतको पिथौरागढमा १५ औं संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ हुन लागेको हो ।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौड्यालका अनुसार अभ्यासमा भारतीय सेनाका ३५० र नेपाली सेनाका ३०० जना सैनिक सहभागी हुनेछन् । मिति तय हुनुअघि नेपाली सेनाको सैनिक प्रतिनिधिमण्डल भारत गएको थियो ।

नेपाली सेनाले विभिन्न मुलुकसँग सैन्य अभ्यास गर्दै आएको छ । भारतसँग हुने अभ्यास ‘सूर्य किरण’ मा सबैभन्दा बढी सैनिक सहभागी हुने गरेका छन् । दुई हप्तासम्म हुने यो अभ्यास २०६७ सालबाट शुरु भएको हो ।

पहिलो नेपाल–भारत संयुक्त अभ्यास नेपाली सेनाको जंगल वारफेर शिक्षालयमा भएको थियो । त्यसयता नेपाल र भारतबीच आलोपालो गरेर संयुक्त सैन्य अभ्यास भइरहेको छ ।

यो अभ्यास प्रतिविद्रोह, प्रतिआतंकवाद, विपद्पछि उद्धार, विष्फोटक पदार्थको डिस्पोजल लगायतको विषयमा केन्द्रित हुनेछ । अन्य देशसँगको संयुक्त सैन्य अभ्यास शुरु गर्न पनि पहल भइरहेको सैनिक स्रोतले बताएको छ ।

दार्चुला घटनाबारे कुटनीतिक पहल गर्न परराष्ट्र मन्त्रालयलाई सिफारिस

काठमाडौँ । दार्चुलाका जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनामा संलग्नमाथि कारबाहीका लागि कुटनीतिक पहल गर्न गृह मन्त्रालयले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

सहसचिव जनार्दन गौतम नेतृत्वको छानविन समितिले प्रतिवेदन बुझाएपछि गृहले अनुसन्धान गरेर दोषीमाथि कारबाही, परिवारलाई क्षतिपूर्ति र राहत उपलब्ध गराउन कुटनीतिक पहल गर्न सिफारिस गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले छानविन समितिले दिएको सुझाव अनुसारका विषयवस्तु समेटेर परराष्ट्र मन्त्रालयलाई पत्राचार गरिएको  बताए । छानविन समितिले ब्याँस गाउँपालिका–२ का धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएको घटना भारतीय सीमा सशस्त्र बल (एसएसबी) को उपस्थितिमा भएको भनेको छ ।

तर प्रत्यक्षदर्शीहरुले एसएसबीले तुइनको तार फुकालेको कारण धामी बेपत्ता भएको समिति समक्ष बयान दिएका छन् । गृहमन्त्री बालकृष्ण खाणले संसदमा बोल्दै समितिको प्रतिवेदन नै सरकारको अन्तिम धारणा हुने बताएका थिए ।

वैदेशिक रोजगारीमा जान घरबाट निस्किएका धामी १५ साउनमा महाकाली नदीमा खसेका थिए ।

अमेरिकाको न्युयोर्कमा बाढी, आपतकाल घोषणा

काठमाडौँ । अमेरिकाको न्युयोर्क शहर अविरल वर्षाका कारण डुबान भएको छ । न्युयोर्कमा अहिलेसम्मकै सबैभन्दा ठूलो पानी परेपछि बाढी आएको हो । शहरमा बाढी आएसँगै आपतकाल घोषणा गरिएको छ ।

न्युयोर्कका मेयर बिल डे ब्लासिओले अहिले शहरले ऐतिहासिक मौसमी घटनाको सामना गरिरहेको बताएका छन् । उनले अहिले न्युयोर्कमा ठूलो बाढी देखिएको र सडकहरु जोखिमपूर्ण अवस्थामा रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको केही फुटेजमा न्युयोर्कका सबस्टेसन, मानिसको घरमा बाढी पसेको देख्न सकिन्छ भने सडकहरु पनि जलमग्न भएका छन् । त्यस्तै न्युजर्सीमा पनि आपतकाल घोषणा गरिएको छ । न्युजर्सीमा बाढीका कारण कम्तीमा एक जनाको मृत्यु भएसँगै आपतकाल घोषणा गरिएको हो ।

अविरल वर्षाका कारण न्युयोर्कको अधिकांश सबवे बन्द भएका छन् भने धेरै रेल सेवा र हवाई उडान पनि रद्द भएका छन् ।

हुरिकेन समुद्री आँधीका कारण न्युयोर्क, न्युजर्सीलगायतका क्षेत्रमा भारी वर्षा भएको हो । आइतबार सोही आँधीका कारण लोउसियानाका हजारौं घरमा बिजुली अवरुद्ध भएको थियो । अझै पनि धेरै घरमा विद्युत अवरुद्ध नै छ ।

यस्तै न्यु ओर्लियन्समा अहिले रात्रीकालीन कर्फ्यु लगाइएको छ । मौसमविद्हरुले अझै धेरै वर्षा हुन सक्ने चेतावनी दिएका छन् । जलवायु परिवर्तनको कारण पछिल्लो समय कतै खडेरी पर्ने र कतै अतिवृष्टि हुनेजस्ता समस्या देखिइरहेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web