न्यु योर्कमा आएको बाढीमा परेर तीन जना नेपालीको ज्यान गयो

काठमाडौँ । अमेरिकाको न्यु योर्कमा आएको बाढीमा परेर तीन जना नेपालीको ज्यान गएको छ ।

न्यु योर्कमा बस्दै आएका सोलुखुम्बुको दूधकुण्ड नगरपालिका–२ जुनबेसीका एकै परिवारका तीन जनाको ज्यान गएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए) ले जनाएको छ ।

बाढीका कारण आङ गेलु लामा, उहाँकी श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको ज्यान गएको हो एसोसिएशनले जनाएको छ । सोलुखुम्बुको दूधकुण्ड नगरपालिकाले पनि उनीहरुकाे ज्यान गएकाे पुष्टि गरेकाे छ।

अमेरिकाको उत्तर–पूर्वी राज्यहरुमा आइडा आँधीका कारण आएको भीषण वर्षाका कारण बाढी आएको छ । बाढीका कारण न्यु योर्क र न्यु जर्सी सबैभन्दा धेरै प्रभावित भएका छन् ।

बाढीमा परेर अहिलेसम्म ४१ जनाको ज्यान गएको पुष्टि भएको छ ।

करेन्ट लागेर एक जनाको ज्यान गयो

दाङ । दाङमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । करेन्ट लागेर तुलसीपुर-१० पड्ढाका ४९ वर्षीय सुरबहादुर डाँगीको ज्यान गएको हो ।

आज बिहान घरमा बत्ती जडान गर्ने क्रममा करेन्ट लागेर उहाँकाे घटनास्थलमै ज्यान गएको स्थानीय यमराज केसीले जानकारी दिनुभयो ।

डाँगीको शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डीएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

पहिरोले ५ जनाको मृत्यु, ३ जना बेपत्ता

पर्वत । पर्वतका बिभिन्न स्थानमा पहिरो जाँदा पाँच जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् ।

लगातारको वर्षापछि पहिरो जाँदा कुस्मा नगरपालिका ३ दुर्लुङमा ५ जना पुरिएकोमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पहिरोमा पुरिएका एकै घरका ५ जनामध्ये १५ वर्षीया विमला पौडेल र ११ वर्षीया विनिता पौडेलको शव निकालिएको छ । घरका ३ जना वेपत्ता रहेकाले खोजी भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए ।

यस्तै कुश्मा नगरपालिका ११ पकुवामा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३५ वर्षीय दुर्गा पौडेल र उनका ६ वर्षका छोरा गणेश पौडेल रहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिए ।

यस्तै मोदी गाउँपालिका ५ अम्बोटमा पहिरोमा पुरिएर ५० वर्षीय ठुलीमाया थापाको पनि मृत्यु भएको छ ।

सभामुख सापकोटा अष्ट्रिया जाँदै

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटा अष्ट्रिया जाने भएका छन् । सभामुखहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि सभामुख सापकोटा अष्ट्रियाको राजधानी भियना जाने लागेका हुन् ।

उनी भदौ २० गते बिहान अष्ट्रिया जानेछन् भने भदौ २५ गते स्वदेश फर्किने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

इन्टर पार्लियामेन्टरी युनियनले आयोजना गर्ने अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिनका लागि सभामखु सापकोटा भियना जान लागेका हुन् ।

सभामुखको अनुपस्थितिमा संसद् सञ्चालन हुन नसक्ने र तत्काल संसद् अधिवेशन बोलाए पनि बजेटसँग सम्बन्धित अध्यादेश पारित हुन नसक्ने भएपछि सरकार फेरि अध्यादेश ल्याउनतर्फ लागेको छ ।

कोरोना सङ्क्रमित व्यक्तिबाट बालबालिका उच्च जोखिममा

काठमाडौ । कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन् ?

सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ । कोरोना सङ्क्रमित भएको दुईदेखि छ साता रोग प्रतिरोधात्मक शक्ति अनियन्त्रणका कारणले यस प्रकारको रोग बालबालिकामा लाग्ने गरेको विशेषज्ञहरूको भनाइ छ ।

कान्ति बाल अस्पतालका निर्देशक अजित रायमाझीले कोरोना सङ्क्रमित भएको बेला कुनै पनि लक्षण नदेखिए पनि निको भएको छ हप्ताभित्र एमआईएससी देखिन सक्ने जानकारी दिए । ज्यानसम्म पनि जान सक्ने यो जटिलतामध्ये एउटा ठूलो जटिलता रोग हो जुन अहिले नेपालमा पनि बढेको पाइएको छ ।

एमआईएससी भएका बालबालिकाका शरीरका विभिन्न प्रणाली र अङ्गहरूमा एकै पटक असर गर्ने हुँदा विभिन्न खाले लक्षण देखा पर्ने डा. रायमाझीको भनाइ छ । कोरोना भाइरससँग लड्नका लागि बालबालिकाको शरीरले गर्ने प्रतिक्रियाका कारण एमआईएससी हुने उनले प्रस्ट पारे ।

बाढीले ज्यान गुमाउनेको सङ्ख्या ४१ पुग्यो

काठमाडौँ । अमेरिकामा आँधी पछि आएको बाढीमा परेर ज्यान गुमाउनेको सङ्ख्या ४१ पुगेको छ ।

अमेरिकाको न्यु योर्क र न्यु जर्सी बाढीका कारण सबैभन्दा धेरै प्रभावित भएको छ । न्यु योर्क र न्यु जर्सी राज्यमा अस्वाभाविक वर्षा भएको छ । केही नागरिकहरु बाढीको चपेटामा परेका कार र भवनको सबैभन्दा मुनिको तलामा फसेका छन् ।

समुद्री आँधी आइडाका कारण त्यहाँ अहिलेसम्मकै उच्च वर्षा हुँदा बाढी आएको हो । बाढीका कारण न्यु जर्सीमा २३ जनाको ज्यान गएको त्यहाँका गर्भनर फिल मुर्फीले बताएका बीबीसीले जनाएको छ । यस्तै, न्यु योर्कमा १४ जनाको ज्यान गएको छ ।

ज्यान गुमाउनेमा २ वर्षका बालक समेत रहेका खबरमा उल्लेख छ । बाढीमा परेर अझै केही फसिरहेकाले उद्धारको काम चलिरहेको छ । यस्तै, पेन्सिलभेनियाको फिलाडेल्फिया नजिकै तीन जना र कनेटिकटमा एक जनाको ज्यान गएको छ । यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सङ्कटसँग जुझ्न ‘ऐतिहासिक लगानी’ आवश्यक पर्ने बताउनु भएको छ ।

विश्वकप छनोटमा इंग्ल्याण्डको निरन्तर जीत, ३० वर्षपछि स्पेनको पहिलो हार

एजेन्सी ।अर्को वर्ष आयोजना हुने विश्वकपको छनोट खेलमा इंग्ल्याण्डले आफ्नो शत प्रतिशत नतिजा कायम राखेको छ । बिहीबार इंग्ल्याण्डले हंगेरीमाथि ४–० को शानदार जीत हासिल गर्न सफल भएको हो । समूह आईमा रहेको इंग्ल्याण्डले हालसम्म खेलिएका ४ मध्ये ४ वटामै जीत हासिल गरेको छ । योसँगै समूहको शीर्ष स्थानमा पाँच अंकको अग्रता बनाउन सफल भएको छ ।

खेलको पहिलो हाफ भने गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफमा इंग्ल्याण्डले गोलको वर्षा गर्‍यो । राहिम स्टर्लिङ, ह्यारी केन, ह्यारी मग्वायर र डेक्लन राइसले गोल गर्दै इंग्ल्याण्डलाई सहज जीत दिलाए । उता, समूको दोस्रो स्थानमा रहेको पोल्याण्डले पनि अल्बानियालाई ४–१ गोलले हरायो ।

बिहीबार नै भएको अन्य खेलमा स्पेन स्वीडेनसँग २–१ ले स्तब्ध बनेको छ । विश्वकप छनोटमा स्पेन सन् १९९३ यता पहिलोपटक पराजित बनेको हो । कार्लोस सोलेरले लुइस एनरिकेको टोलीलाई खेलको सुरुवातमा नै अग्रता दिलाएका थिए । तर, १२ सेकेन्डपछि नै अलेक्सान्डर इसाकले बराबरी गोल फर्काए ।

दोस्रो हाफमा भिक्टर क्लाएसनले डेजान कुलुस्भेस्कीको पासमा १२ यार्ड टाढाबाट गोल गर्दै स्वीडेनलाई जीत दिलाए । ​स्पेनपछिल्लो पटक विश्वकप छनोटमा डेनमार्कसँग सन् १९९३ को मार्चमा पराजित भएको थियो । त्यसयता स्पेनले विश्वकप छनोटका ५२ खेलमा जीत र १४ मा बराबरी गरेको थियो ।

जीतसँगै समूह बीमा स्पेनलाई उछिन्दै स्वीडेन शीर्ष स्थानमा उक्लिएको छ ।

बेल्जियमको गोल वर्षा, रोकियो युरोपियन विजेता

एजेन्सी । एक गोलले पछि परेको स्थिति उल्टाउँदै बेल्जियमले एस्टोनियालाई ५–२ को गोलअन्तरले हराउन सफल भएको छ । विश्वकप छनोट अन्तरगतको खेलमा शानदार जीत हासिल गर्दै बेल्जियम १० अंकसहित समूह ईको शीर्ष स्थानमा रहेको छ ।

कप्तान माटियास काइटले गोल गर्दै खेलको सुरुवातमा नै एस्टोनियालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर हान्स भान्केनले गोल गर्दै विश्वको नम्बर एक टोलीका लागि बराबरी गोल फर्काए । त्यसपछि चेल्सीका स्ट्राइकर रोमेलु लुकाकुले दुई गोल गर्दै बेल्जियमको अग्रता ३–१ बनाए । ९९ खेलमा लुकाकुले बेल्जियमका लागि ६६ गोल गरिसकेका छन् ।

त्यसपछि बेल्जियमका लागि एलेक्स विटसेल र थोमस फोकेटले एक–एक गोल थपे भने खेलको अन्त्यतिर एरिक सोर्गाले एस्टोनियाका लागि सान्त्वना गोल गरे । समूहमा चेक रिपब्लिक दोस्रो स्थानमा रहेको छ भने २ खेल मात्र खेलेको वेल्स तेस्रो स्थानमा छ ।

उता, युरो २०२० विजेता इटालीले भने आफ्नो घरेलु मैदानमा बुल्गेरियासँग निराश बराबरी खेलेको छ । फेडेरिको किएसाले रोबर्टो मान्चिनीको टोलीलाई अग्रता दिलाए पनि एटानास इलेभले बराबरी गोल फर्काएका थिए ।

खेलमा इटालीले २७ पटक बुल्गेरियाको पोस्टमा प्रहार गरे पनि थप गोल गर्न सकेन । बराबरीसँगै इटालीले आफ्नो अपराजित यात्रालाई ३५ खेल पुर्‍याउँदै स्पेनको कीर्तिमानलाई बराबरी गरेको छ ।

समूह सीमा रहेको इटालीले ४ खेलमा १० अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ ।

एआईजीहरूको सरुवा, को कहाँ पुगे ?

काठमाडौ । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को बिहीबार सरुवा गरे को छ ।

एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रधान कार्यालय कार्य तथा अपराध अनुसन्धान विभागबाट मानस्रोत तथा प्रशासन विभाग प्रमुखमा,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुख एआइजी प्रद्युम्न कार्कीलाई कार्य विभाग प्रमुखमा सरुवा गरिएको गृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले रातोपाटीलाई बताए ।

त्यस्तै एआईजी निरज शाहीलाई प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज प्रमुखमा र एआईजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा सरुवा गरिएको केसीले जनाए । उनका अनुसार एआईजी हरिबहादुर पाललाई महानगरीय प्रहरी कार्यालय रानी पोखरी प्रमुखका रूपमा थमौती गरिएको छ ।

पहिरोले घर बगाउँदा पाँचको मृत्यु, एक बेपत्ता

पोखरा । अविरल वर्षाका कारण पोखराका विभिन्न स्थानमा गएको पहिरोले घर बगाउँदा पाँचजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् । कास्की प्रहरी प्रमुख रमेश थापाले पोखरा महानगरपालिका–२० भलाममा चार र पोखरा महानगरपालिका–११ काहुँमा एक गरी पाँचको मृत्यु भएको बताए ।

पोखरा–२० भलाम र्‍याले चौरका ४५ वर्षीय कृष्ण श्रेष्ठ र उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको पहिरोका कारण मृत्यु भएको हो । श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमै मृत्यु भएको थापाले बताए । उनीहरूका तीन वर्षीय छोरा सन्तोष बेपत्ता छन् । नौ वर्षीय अर्का छोरा राजकुमारको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

भलामकै मूलाबारीमा घरमाथिको ढिस्को खस्दा विष्णु सार्की र उनका आठ वर्षीय छोरा सुजन सार्कीको ज्यान गएको छ । पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एउटा घर पहिरोमा पुरिँदा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि घर फर्केकी छन् । श्रीमती र दुई छोराको भने मध्यरातमै सकुशल उद्धार गरिएको थियो ।

पोखरा महानगरपालिका–११ कसेरीमा अर्को घर पहिरोमा पुरिँदा एकदेव तिमल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिश घाइते भएका छन् । भलामकै मुलाबारीमा अर्को एक घर पहिरोले बगाएको छ । घरमाथिबाट अन्दाजी राति १२ बजे ढिस्को खसेको वडाध्यक्ष गुरुङले जानकारी दिए । प्रहरीका अनुसार पोखरा–६ बैदाममा शिव पौडेलको घरमा बाढीले क्षति पुर्‍याएको छ ।

नेपाली कांग्रेसको महाधिवेशन आजदेखि

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया आजदेखि सुरु हुँदै छ । कांग्रेस विधानअनुसार सबैभन्दा तल्लो तहको अधिवेशनअन्तर्गत आजदेखि वडा अधिवेशन सुरु हुने भएको हो।

वडाबाटै आफ्नो प्रतिनिधित्व निर्वाचित गर्न केन्द्रीय नेताहरु जिल्ला-जिल्ला पुगेका छन् । वडा तहबाट छानिने प्रतिनिधिले महाधिवेशनको नतिजामा प्रभाव पार्ने भएकाले नेताहरु तल्लो तहसम्मै सक्रिय भएका हुन् ।

सबै जिल्लाका क्रियाशील सदस्यता एकैपटक सार्वजनिक नहुँदा वडा अधिवेशनका लागि तोकिएको मिति भने जिल्लाअनुसार नै फरक-फरक हुने भएको छ । एकैदिन वडा अधिवेशन गर्ने कार्यतालिका भए पनि काठमाण्डौसहित दुई दर्जनभन्दा धेरै जिल्लामा आज अधिवेशन नहुने भएको छ । २१ जिल्लामा सदस्यता विवाद अझै टुङ्गिसकेको छैन । भदौ २७ मा गाउँ/नगर सभा हुने भएकाले त्यसअघि नै वडा अधिवेशन सम्पन्न भइसक्नुपर्ने हुन्छ ।

वडा अधिवेशनको अघिल्लो दिन हिजो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले आफ्नो समूहबाट सभापतिका लागि एक मात्रै उम्मेदवार हुने घोषणा गरेको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले पनि आफ्नो समर्थनलाई बलियो बनाउन सबै जिल्लामा आफू निकट केन्द्रीय नेताहरुलाई खटाउनुभएको छ । क्रियाशील सदस्य मतदाता रहने वडा अधिवेशनले १५ देखि ७५ जना क्षेत्रीय प्रतिनिधि चयन गर्छ ।

यसैबीच नेपाली कांग्रेसले समावेशी समूहको वडा कार्यसमिति सदस्य वा क्षेत्रीय प्रतिनिधि नहुने अवस्था विद्यमान भएमा यो समूहबाट एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरेको छ । कांग्रेसले महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, मुस्लिम, थारु, अल्पसङ्ख्यक वा अपाङ्गता भएका व्यक्तिसहित समावेशी समूहमा राखेको छ ।

अहिलेको व्यवस्थाअनुसार कुनै पनि समूहको उल्लेखित पदमा प्रतिनिधित्व नहुने अवस्था भएमा वडामा यो समूहबाट क्रियाशील सदस्य रहेको खण्डमा एक जना वडा कार्यसमिति सदस्य र एक जना क्षेत्रीय प्रतिनिधि थप व्यवस्था गर्ने निर्णय गरिएको हो ।

२० वर्ष कैद सजाय पाएका दुई फरार अभियुक्त पक्राउ

मोरङ । हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका पाँच वर्षदेखि फरार दुई अभियुक्त पक्राउ परेका छन्। मोरङ जिल्ला अदालतबाट व्यक्ति हत्या आरोपमा २० वर्ष कैद सजाय पाएका मोरङ बेलबारी नगरपालिका– १ का ३१ वर्षीय धर्मराज पोखरेल र विराटनगर महानगरपालिका– १२ का २९ वर्षीय कृष्णप्रसाद ताजपुरिया पक्राउ परेका हुन्।

२२ चैत २०७३ मा फैसला भएका धर्मराज र कृष्णप्रसादलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले बिहीबार पक्राउ गरी सजाय भुक्तान गर्न अदालतमा बुझाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web