नेपालVsभारत मैत्रीपूर्ण फुटबल, टिकट मुल्य २ हजार र १ हजार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले भोलीबाट सुरु हुने भारतविरुद्धका दुई मैत्रीपूर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि टिकटको मुल्य तोकेको छ । एन्फाले भिआइपी प्यारापिटतर्फको टिकट मुल्य २ हजार तथा सामान्य प्यारापिटतर्फको मुल्य १ हजार तोकेको छ ।

टिकट विक्रीका लागि एन्फाले प्रभु पेसँग सम्झौता गरेको छ । दर्शकसहित खेल गराउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि एन्फाले यस्तो व्यवस्था गरेको हो ।

सरकारले ५ हजार १ सयसम्म दर्शक राखेर नेपाल र भारतबीचको खेल गराउन एन्फालाई अनुमति दिएको बुधबार पत्रकार सम्मेलनमा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी गराएका थिए ।

एन्फाले कोभिड १९ विरुद्धको खोप लगाएका र पिसिआर गरेका दर्शकलाई मैदान प्रवेश गर्न दिने बताएको छ ।

अर्को महिना माल्दिभ्सको राजधानी मालेमा हुने साफ च्याम्पियनपिमा सहभागिताको तयारीमा रहेका नेपाल र भारतबीच त्यसैका लागि मैत्रीपूर्ण खेल हुन लागेको हो । मैत्रीपूर्ण खेलका लागि भारतीय टोली हिजो काठमाडौं आइपुगेको थियो ।

नेपाली टोली भने साफ च्याम्पियनसिपका लागि दुई महिनादेखि बन्द प्रशिक्षणमा रहेर अभ्यास गरिरहेको छ । मैत्रीपूर्ण खेलअघि नेपाली टोली पोखरामा दुई साताको अभ्यास गरेर केही दिनअघिमात्र काठमाडौं फर्किएको थियो । दुई टोलीबीच पहिलो खेल भोली बिहीबार हुनेछ भने दोस्रो खेल आइतबार दशरथ र‌गशालामा हुनेछ ।

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि

काठमाडौँ । कक्षा १२ को परीक्षा यही भदौ ३० गतेदेखि हुने भएको छ । परीक्षा बोर्डको बैठकले भदौ ३० गतेदेखि परीक्षा सुरु गर्ने निर्णय गरेको राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले उज्यालोलाई जानकारी दिनुभयो ।

यसअघि तयारी गरेअनुसार होम सेन्टरबाटै परिक्षा सञ्चालन हुने पनि उहाँले बताउनुभयो । यसअघि गएकाे जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित गरिएको परीक्षा आउँदो ३० गतेदेखि सुरु हुने भएको हो ।

कक्षा १२ मा झन्डै पौने चार लाख विद्यार्थी छन् ।

तीनसदस्‍य निर्वाचन समिति गठन

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले २०७८ देखि २०८२ सम्मका लागि तीन सदस्‍यीय निर्वाचन समिति गठन गरेको छ । जसमा डा. गणेश राई प्रमुख निर्वाचन अधिकृत र डा. मधुसुदन पुन र डा. मनोज हुमागाई निर्वाचन अधिकृत रहेका छन् ।

नेपाल मेडिकल काउन्सि ऐन २०२० अनुसार काउन्सिलको एक जा उपाध्यक्ष र आठ जना सदस्य निर्वाचनद्वारा चयन गर्ने व्यवस्था छ । २०७४ सालमा निर्वाचित पदाधिकारीको पदावधि असोज ५ गते सकिँदैछ । त्यसपछि ४ वर्षका लागि नयाँ पदाधिकारी चयन हुनेछन् ।

काउन्सिलको उपाध्यक्ष पदका लागि १५ वर्ष र सदस्यका लागि ५ वर्ष अनुभव भएको दर्तावाल चिकित्सक हुनुपर्नेछ । काउन्सिलको उपाध्यक्ष र सदस्य चयनका लागि दर्तावाल सबै चिकित्सकले मतदान गर्न पाउनेछन् ।

एकीकृत समाजवादीको दर्ता खारेजको माग सर्वोच्चमा

काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्ता खारेजको माग गर्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट अधिवक्ता सुमित्रा पाण्डेले दर्ता गराएको रिटमा पार्टीले कारबाही गरिसकेका १४ जना सांसद र नौ जना केन्द्रीय सदस्यले गरेको सनाखतलाई वैधता दिएर निर्वाचन आयोगले कानुन विपरीत क्रियाकलाप गरेको उल्लेख गरिएको छ ।

पार्टीले कारबाही गरेका सांसद र केन्द्रीय सदस्यको सनाखतका आधारमा दर्ता भएको नेकपा एकीकृत समाजवादी दललाई नै खारेज गर्न रिटमा माग गरिएको छ ।

गएको वैशाख २७ गते आफ्नै पार्टीका प्रधानमन्त्रीलाई विश्वासको मत नदिने माधव नेपालसहित १४ सांसदलाई पार्टीले निष्कासन गरेकाले उनीहरूलाई तत्कालै बर्खास्त गर्न पनि रिटमा माग गरिएको छ ।

कटुवा पेस्तोल र गोलीसहित पक्राउ

सल्यान । प्रहरीले कटुवा पेस्तोल र गोलीसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट नलगाड नगरपालिका-४ बस्ने २८ वर्षीय गणेश रावल रहेका छन् ।

रावललाई बनगार कुपिण्डे नगरपालिका-१ माथिल्लो बजारबाट १ थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीसहित पक्राउ गरेको हो ।

रावलले मोटरसाइकलको सिट मुनी उक्त कटुवा पेस्तोल र गोली लुकाएको प्रहरीको दाबी छ। पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेप्से परिसूचक १.१८ अंकले बृद्धि

काठमाडौँ । मंगलबार उच्च अंकले घटेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार भने झिनो अंकले सुधार भएको छ । बुधबार नेप्से परिसूचक १ दशमलव १८ अंक्ले बढेर २ हजार ९ सय ७७ दशमलव ०२ अंकमा पुगेर रोकिएको छ ।

नेप्से परिसूचकसँगै ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ०.१७ अंकले बढेको छ । उता कारोबार रकममा भने गिरावट आएको छ । मंगलबारको तुलनामा ४ अर्ब हाराहारीमा कारोबार रकम घटेको छ ।

दिनभर भएका १ लाख ४ हजार २३४ कारोबारबाड १ करोड ७१ लाख ८२ हजार ८७१ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँमा रोकिएको छ ।

मंगबालर १३ अर्ब भन्दा माथिको शेयर कारोबार भएको थियो ।

सर्वोच्चले माग्यो झलनाथ खनाललाई उपचार खर्च दिनुको कारण

काठमाडौँ । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई विदेशमा गरिएको उपचार खर्च दिएको विषयमा सरकारसँग लिखित जवाफ माग गरेको छ ।

बुधबार न्यायाधीश ईश्वरप्रसाद खवितडाको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।
मिर्गौला रोगबाट पीडित पूर्वप्रधानमन्त्री खनालको उपचारका लागि तत्कालिन केपी शर्मा ओली सरकारले ३१ लाख रुपैयाँ सहयोग दिएको थियो ।

भदौ १३ गते विद्यार्थी संगठन अखिल छैठौंका अध्यक्ष तथा अधिवक्ता विमल पोखरेलले विदेशमा गरिएको उपचार खर्च राज्यकोषबाट व्यहोर्नु जनस्वास्थ्य ऐन २०७५ विपरीत हुने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र झलनाथ खनाललाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

पोखरेलले रिटमा खनाललाई उपचार खर्च उपलब्ध गराउने निर्णय बदर गर्न र उपलब्ध गराइएको रकम झलनाथ खनालमार्फत् राज्यकोषमा फिर्ता गर्न आदेश माग गरेका थिए । जनस्वास्थ्य ऐन २०७५ को दफा ३० ले देशको नागरिक वा विशिष्ट जुनसुकै व्यक्ति पनि सरकारी सहयोग वा खर्चमा विदेशमा उपचार गर्न पाउने व्यवस्थालाई बन्देज लगाएको छ ।

पूर्वप्रधानमन्त्री खनाल भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएर हालै स्वदेश फर्किएका छन् ।

वडाको अधिवेशन भदौ १८ मा नहुने

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका अनुसार भदौ १८ गते देशभरका सबै वडामा अधिवेशन नहुने भएको छ ।

क्रियाशील सदस्यतासम्बन्धी विवाद नटुंगिदा एक दर्जन भन्दा बढी जिल्लामा कार्यतालिका अनुसार वडा अधिवेशन नहुने भएको हो ।

कांग्रेसमा नेताहरुबीच भदौ १८ गते नै देशभर वडा अधिवेशन गर्ने समझदारी भएको थियो । वडा अधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी हुँदा ५६ जिल्लाको मात्रै क्रियाशील सदस्यता सार्वजनिक गरिएको छ ।

बाँकी २१ जिल्लामध्ये केही जिल्लाको बुधबार साँझसम्म क्रियाशील सदस्यता विवरण सार्वजनिक गरिने निर्वाचन समिति सदस्य तेजबहादुर रावलले जानकारी दिए । उनले क्रियाशील सदस्यता सूची समितिले पाउनेवित्तिकै जिल्लामा निर्वाचन अधिकृत खटाइने बताए ।

निर्वाचन समितिका सदस्य रावलले सबै वडामा कार्यतालिका अनुसार अधिवेशन नहुने बताए । ‘देशभरका ६ हजार ७ सय ४३ वडामै एकैदिन अधिवेशन हुने अवस्था छैन,’ उनले भने, ‘बिहीबारसम्म जति जिल्लाको क्रियाशील सदस्यता सूची आउँछ, हामी त्यहाँ निर्वाचन अधिकृत खटाउँछौं ।’

भदौ १८ मा अधिवेशन हुन नसकेका वडामा अर्काे मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको छ । कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले वडा अधिवेशनदेखि पालिका अधिवेशनको बीचमा पर्याप्त समय भएकाले त्यस बीचमा गर्न सकिने बताए ।

‘जति ठाउँमा तोकिएको मितिमा वडा अधिवेशन हुँदैन, त्यहाँ निर्वाचन अधिकृतलाई नै नयाँ मिति तोक्ने अधिकार दिइएको छ,’ सहमहामन्त्री महतले भने, ‘क्रियाशील सदस्यता विवाद जति चाँडो टुंगिन्छ, उति छिटो अविधेशन हुन्छ ।’

उनले क्रियाशील सदस्यताबारे शीर्ष तहमा भएको सहमति कार्यान्वयन नगर्दा समस्या देखिएको बताए । कांग्रेसमा बारा, सप्तरी, सिन्धुपाल्चोक, रसुवालगायतका जिल्लामा समायोजनको विषयमा विवाद छ ।

कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ ।

सभापतिका आकांक्षीको बैठक बत्तिसपुतलीमा

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेताहरु छलफलमा जुटेका छन् ।

आसन्न महाधिवेशनमा सभापतिसहित पदाधिकारीका उम्मेदवार चयन गर्न पौडेल समूहको बैठकका नेताहरु छलफलमा जुटेका हुन् । पौडेल समूहका सभापतिका आकांक्षीसहितका नेताहरुको बैठक अहिले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा जारी छ ।

वडा अधिवेशन अघि सभापतिको उम्मेदवार चयन गर्न पौडेल समूहका नेताहरु निरन्तर छलफलमा छन् । पौडेल समूहका नेता अर्जुननरसिंह केसीका अनुसार सभापतिसहित पदाधिकारीको टीममा सहमति गर्न नेताहरुबीच छलफल भइरहेको छ ।

‘हामीहरु निरन्तर संवादमा छौं, सकेसम्म वडा अधिवेशनअघि नै सभापति र पदाधिकारीका उम्मेदवारको टुंगो लगाउने प्रयासमा छौं,’ उनले भने, तत्काल नाममा सहमति नभए महाधिवेशनमा एकै ठाउँमा हुन्छौं भन्ने सन्देश दिन सामूहिक प्रतिवद्धता जनाउने कार्यक्रम छ ।’ मंसिर ९–१३ का लागि तय भएको कांग्रेसको १४ औं महाधिवेशनका लागि भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ ।

पौडेल समूहमा सभापतिका चार आकांक्षी छन् । वरिष्ठ नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापतिका आकांक्षी छन् । चारै जना आकांक्षीले आफूलाई बलियो उम्मेदवारका रुपमा पेश गर्दै आएका छन् ।

२,०५२ जनामा कोरोना संक्रमण, ३,०३० जना संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप २०५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६१२ पीसीआर परीक्षणमा १,६४८ र ४,३२३ एन्टिजेन परीक्षणमा ४०४ जना गरी २,०५२ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ३,०३० रहेको छ भने २० जनाको मृत्यु भएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ६४ हजार २९५ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ७७० पुगेको छ भने ७ लाख १९ हजार ३३६ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार १८९ जना रहेका छन् । जसमध्ये ३१ हजार ८१२जना होम आइसोलेसनमा रहेका छन् भने २ हजार ३७७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५६३ जना आईसीयू र १७० जना भेन्टिलेटरमा उपचाररत् छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७१९ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौंमा ४७१, भक्तपुरमा १४६ र ललितपुरमा १०२ जना संक्रमित भेटिएका छन् ।

यस्तै १० वर्ष मुनिका ३८ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

पैसा कुम्ल्याउने हराम, दोष पाउने बाबुराम ?

काठमाडौँ । यो दोष पाउने व्यक्ति अरु कोही नभएर नयाँ शक्ति पार्टी नेपालका तत्कालीन अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई हुन् । कथा सुरु हुन्छ यसरी– शेयरमा लगानी भएको पैसा न साँवा–ब्याज, न शेयर–प्रमाणपत्र । चार वर्षसम्म केही हात नपरेपछि लगानी डुब्ने चिन्तासँगै खोज्न थालिएको कथा हो यो । नुवाकोट बेलकोटगढी नगरपालिका–१ का रामशरण लोहनी यस्तै इन्तु न चिन्तुको अवस्थामा हुनुहुन्छ । लोहनीजस्तै शेयरमा लगानी गरेका धैरेले अहिले उनै डा. बाबुराम भट्टराईलाई सराप्दै पैसा खोज्ने अभियान थालेका छन् । शेयर भन्दै लगानी गरेको पैसा कहाँ हरायो ? न साँवा आयो न ब्याज, न शेयरधनी नै भइयो ? रामशरणजस्ता लगानीकर्ताको भेला अहिले रसुवा, नुवाकोटदेखि काठमाडौँसम्म तातेको छ ।

नयाँ शक्ति पार्टीको बाहुल्य रहेको रसुवा जिल्लामा निर्माणाधिन माथिल्लो मैलुङखोला जलविद्युत आयोजना ‘ए’को शेयर खुलेको मिति २०७४ वैशाख १ गतेबाट कथा सुरु हुन्छ । ‘समृद्धी सम्भव छ आफ्नै पालामा’ भन्ने नारा लगाउँदै गरेको लगानीमा नयाँ शक्ति पार्टीका कार्यकर्ता मात्रै होइन् सर्वसाधारणसमेत नराम्रोसँग ठगिए । अहिले बाबुरामलाई सराप्दै उनकै कार्यकर्ता र सर्वसाधारण न्यायको खोजीमा निस्केका छन् । कानुनी पाटोबाट उपचार खोज्ने एकमात्रै विकल्प हो भन्ने आशामा छन् लगानीकर्ता नुवाकोट बिदुरका शंकर थपलिया । २०७४ सालमै सो आयोजना पक्षसँग डा. भट्टराईसहित छलफल र आयोजनाको वस्तुस्थिति विवरण लिनेकाम भएको थियो । त्यतिबेला आयोजनाले ७० प्रतिशत काम सम्पन्न भएको विवरण पेश गरेको थियो । थोरै काममात्र बाँकी रहेको आयोजनामा नेता, कार्यकर्ता र जनताको लगानी गर्दै समृद्धि अभियान सफल बनाउने उद्देश्यबाट पैसा सङ्कलन अभियान चल्यो । नयाँ शक्तिको उत्पादन तथा समृद्धि विभागप्रमुख रहेका रसुवाका सांसद प्रेम तामाङको योजनामा स्थापना गरिएको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लि. धुन्चे, रसुवाको नाममा सो आयोजनाको शेयर भर्ने भन्दै पैसा संकलन गर्न नयाँ शक्ति नुवाकोटले कार्यकर्तालाई सर्कुलर नै जारी गर्‍यो । आयोजनाको नाममा नुवाकोटबाट एक करोड, रसुवाबाट दुई करोड र बाँकी रकम बागमती प्रदेशका जिल्लाहरु धादिङ, काभ्रे, मकवानपुर, चितवन, ललितपुर, सिन्धुलीलगायत जिल्लाका कार्यकर्ता र सर्वसाधारणसँग असुल्ने लक्ष्यमा पार्टी थियो भन्ने कुरा नेताहरु नै बताउँछन् ।

समृद्धि अभियानमा नुवाकोटबाट नेतृत्व गरेका तत्कालीन नयाँ शक्तिका नेता नवराज ढुंगाना ‘विज्ञान’ भन्नुहुन्छ, ‘पैसा संकलन गरेको हो, तर अहिले लगानीकर्तालाई जवाफ दिन सक्ने अवस्थामा म छैन । र, फोन बन्द गरेर बसेको छु । मैले विधिपूर्वक नै फारम भरेर सम्पूर्ण रकम कृषि विकास बैंकमा रहेको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लिको खातामा जम्मा गरेको छु । व्यक्तिगत रुपमा आफैँले दुरुपयोग गरेको छैन ।’

पार्टीको नाममा अभियान चलाएर कार्यकर्ता र सर्वसाधारणको पैसा कहाँ कस्तो अवस्थामा छ ? लगानीकर्ताले थाहासमेत नपाउने स्थितिमा पुग्नु नयाँ शक्तिका नेताको गैरजिम्मेवारीपनको पराकाष्ठ हो । कार्यकर्ता र जनताको पैसा डुबाउने राजनीतिक अभियान चलाउने नेताहरुले नैतिक रुपमा जिम्मा लिनु पर्दैन ? भन्ने प्रश्नमा तत्कालीन नयाँ शक्ति पार्टी नेपाल नुवाकोटका अध्यक्ष कृष्ण कुँइकेल भन्नुहुन्छ, ‘नैतिक रुपमा म जिम्मेवार भएँ, तर मैले र सुवासजीले पार्टीले व्यापार व्यवसाय गर्ने कुरा हुँदैन भनेर असहमति जाहेर गरेका थियौँ, यो समग्र घटनाको विवरण प्रेम तामाङ र नवराज ढुंगानालाई थाहा छ । हाम्रो जिल्लाबाट ढुंगानाले नै यो अभियानको जिम्मा लिनुभएको थियो ।’ लगानीकर्तालाई दिएको रसिदमा उनै नवराज ढुंगानाको हस्ताक्षर छ भने अघिल्लो पृष्ठमा विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लि. धुन्चे ५ रसुवाको छाप लगाइएको छ । यस्तै पछिल्लो पृष्ठमा नयाँ शक्ति पार्टी नेपाल, जिल्ला कार्यसमिति नुवाकोटको छाप लगाइएको छ ।

यो अभियान अवधिमा पार्टीले दिएको जिम्मेवारी इमानदारितापूर्वक सम्पन्न गर्दै नुवाकोट जिल्लाको तर्फबाट १ करोड १० हजार रुपैयाँ संकलन गरी बुझाइएको ढुंगानाले बताए ।

तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर नयाँ शक्ति पार्टी खोलेका डा. बाबुरामको राजनीतिक विजनेश टिक्न नसकेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मिसिएर जनता समाजवादी पार्टी सञ्चालनमा छ । तर जनता र कार्यकर्ताले लगानी गरेको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लि. भने निस्कृय छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रंग विरंगका कुरामा ट्वीट गरेर समय समयमा चर्चा र विवादको पात्र बन्ने गरेका छन् । आफैँ साक्षी बसेर सञ्चालन गरेको समृद्धि अभियानमा कार्यकर्ता र जनता ठगिएको चर्चा भने बाबुरामको कानसम्म पुर्‍याउने कार्यकर्ता भएनन् कि उनले बोल्न चाहेनन् ? यो रहस्यमय नै छ । आफूलाई प्रष्ट वक्ता दाबी गर्ने नेता बाबुरामको मौनतालाई यो रकमको हिस्सेदारितासँग समेत जोडेर चर्चा गर्ने गरिएको भेटिन्छ । कुनैसमय बाबुरामको विश्वासपात्र थिए, सांसद प्रेम तामाङ । उनैको प्रभावमा परेर समृद्धि अभियानको नाममा जनता र कार्यकर्ताबाट पैसा उठाउने सर्कुलर गरेको नयाँ शक्ति पार्टीभित्र गत निर्वाचनको बेला टिकट बेचेको आरोप लागेपछि प्रेमप्रतिको बाबुरामको प्रेमिल नजरमा तुँवालो लाग्यो । त्यसपछि प्रेमको बाबुराम प्रेममा चिसोपना आयो । त्यसपछि प्रेम काँग्रेसतिर बसाईं सर्न खुट्टा उचाले । प्रेम बाबुराम सम्बन्ध सुखद दुःखद जे रहेपनि उनै बाबुरामलाई गणेश थापेर सुरु गरिएको समृद्धि शेयर अभियान र जनता कार्यकर्ता ठगी प्रकरणबारे बाबुराम बोल्नैपर्छ । यो बाबुराम देखाएर दाम ठग्ने हरामहरुको नियत हो कि राजनीतिजस्तै लगानीमा पनि ठगिनुपर्ने जनता कार्यकर्ताको नियती हो ?

नयाँ शक्ति नेपालको स्थापनासँगै मुख्यतः पूर्वमाओवादी कार्यकर्ताहरुमा ‘समृद्धि सम्भव छ आफ्नै पालामा’ भन्ने नाराले यस्तो भावनात्मकता पैदा गरेको थियो कि, नेता कार्यकर्ताहरु उत्पादन, व्यापार र व्यवसायको खोजीमा गल्ली गौँडा कुदिरहेका भेटिन्थे । आधा दर्जन वर्षहरु पार नगर्दै तीनले भोगेका ठगी, हैरानी, सास्ती र यस्ता विलखबन्द कथाहरु मैदा व्यापारदेखि ट्रक कन्टेनर व्यवसायी हुँदै शेयर खरिद गर्ने अभियानमा जुटेका नेता कार्यकर्ता दर्जनौँ भेटिन्छन् । ७० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनामा लगानी जुटाउने उपायको खोजीमा आयोजना पक्ष थियो भने कार्यकर्तालाई तत्काल लाभ दिलाएर समृद्धि अभियान सार्थक बनाउने योजनामा नयाँ शक्तिवाला समृद्धि अभियान थियो । त्यसमाथि पनि दक्षिण एसियाकै टप विद्धान कहलाएका इन्जिनियर डा. बाबुराम भट्टराईले नै अध्ययन गरेर ‘ठिक छ’ भनेपछि हुरुरु लगानी गर्ने अभियानमा कुदे कार्यकर्ताहरु । नयाँ शक्तिका सांसद प्रेम तामाङको विवेकशील इन्भेस्टमेन्ट प्रा.लि. र माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रबर्धक कम्पनी इनर्जी इन्जिनियरिङ प्रा.लि.बिचको लगानी सम्झौता के थियो ? त्यो गुमनाम नै रह्यो । समृद्धिको हतारोमा लगानी गर्न हाम फालेका लगानीकर्ताहरुको लगानी उज्यालोको खोजीमा टुकीमा परेको पुतलीजस्तो भएको सुइँको पाएपछि पूर्व नयाँशक्ति कार्यकर्ता गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र‘ सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘रु. १०० को शेयरमात्र रु ५० मा खरिद गरी थप ६० रुपैयालाई विवेक प्रयोग गर्दै समृद्धि सम्भव छ हाम्रै पालामा भन्दै सपना देखाउन सफल गोल्डस्टार आफैँको समृद्धि आएको चर्चा बजारमा छ । बाँकी कुरा विस्तारमा आउला ।’

उहाँको आरोपजस्तै अर्को नयाँ रहस्य खोल्ने काम पूर्वजनसेनाका एक कमाण्डर एवं तत्कालीन नयाँ शक्तिका नेता विरेन्द्र श्रेष्ठ ‘अजय’ले लेख्नुभएको छ, ‘नयाँ शक्तिवाला उत्पादन आयोजना अपर मैलुङ हाइड्रोपावरको नाममा ५/६ वटा जिल्लाबाट प्रतिशेयर १ सय १० का दरले संकलन गरेको झण्डै ५ करोड बराबरको रकम १ सय १० मध्ये ४० को दरले इनर्जी इन्जिनियरिङ र बाँकी ७० रुपैयाका दरले हुन आउने ठुलो रकम घरजग्गामा लगानी गरेको भन्ने पो सुनियो त ।’ गजेन्द्र र अजयले सार्वजनिक गरेकोजस्तो तथ्य र तथ्यांक सत्य हो भने नयाँ शक्तिका कार्यकर्ता र सर्वसाधारणको करोडौँ लगानी ‘माउको थुनमा न बच्चाको मुखमा’ भनेजस्तो न आयोजनामा लगानी भयो न त साँवा व्याज आयो, न त आफ्नो पैसा आफैँले राख्न पाइयो ! यो आयोजना देखाएर गरिएको विशिष्ट प्रकारको ठगी नै हो नियत सफा भए माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रबर्धक कम्पनी इनर्जी इन्जिनियरिङ प्रा.लि.को खातामा किन पैसा हाल्न लगाइएन ?

कांग्रेस सभापतिमा गुरुङको उम्मेदवारी

काठमाडौँ । कांग्रेस नेता कल्याण गुरुङले पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । कांग्रेसका केन्द्रीय सदस्य रहेका ५१ वर्षीय गुरुङ आसन्न महाधिवेशनमा सभापतिका आकांक्षीमध्ये सबैभन्दा कान्छा हुन् ।

‘म आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिँदै छु, अहिले मेरो मात्रै उम्मेदवारी हुन्छ । केही समयपछि मेरो टिम पनि बन्छ,’ गुरुङले भने । ०६४ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष भएका गुरुङ पार्टीको १२ औं महाधिवेशनपछि केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यका रूपमा मनोनीत भएका थिए ।

उनलाई तत्कालीन सभापति सुशील कोइरालाले मनोनीत गरेका थिए । त्यसयता कोइराला परिवारसँग निकट रहेर राजनीति गरिरहेका उनी १३ औं महाधिवेशनमा रामचन्द्र पौडेलको टिमबाट आदिवासी जनजातितर्फ केन्द्रीय सदस्य पदमा निर्वाचित भएका हुन् ।

महाधिवेशनको मिति नजिकिँदै जाँदा कांग्रेसमा नेताहरूले उम्मेदवारी घोषणाको सुरुवात गरिसकेका छन् । यसअघि ४५ वर्षीय नेता गगन थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । सभापति पदमा उपसभापति विमलेन्द्र निधिले पनि उम्मेदवारी घोषणा गरेका छन् ।

सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पनि यसअघि असार ५ मा आफूनिकटहरूसँगको छलफलमा आसन्न महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहमा पनि आकांक्षी धेरै भएपछि टिमबाट एक जनामात्रै उम्मेदवार बनाउने कसरत चलिरहेको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web