काठमाडौँ । यो दोष पाउने व्यक्ति अरु कोही नभएर नयाँ शक्ति पार्टी नेपालका तत्कालीन अध्यक्ष तथा भूतपूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई हुन् । कथा सुरु हुन्छ यसरी– शेयरमा लगानी भएको पैसा न साँवा–ब्याज, न शेयर–प्रमाणपत्र । चार वर्षसम्म केही हात नपरेपछि लगानी डुब्ने चिन्तासँगै खोज्न थालिएको कथा हो यो । नुवाकोट बेलकोटगढी नगरपालिका–१ का रामशरण लोहनी यस्तै इन्तु न चिन्तुको अवस्थामा हुनुहुन्छ । लोहनीजस्तै शेयरमा लगानी गरेका धैरेले अहिले उनै डा. बाबुराम भट्टराईलाई सराप्दै पैसा खोज्ने अभियान थालेका छन् । शेयर भन्दै लगानी गरेको पैसा कहाँ हरायो ? न साँवा आयो न ब्याज, न शेयरधनी नै भइयो ? रामशरणजस्ता लगानीकर्ताको भेला अहिले रसुवा, नुवाकोटदेखि काठमाडौँसम्म तातेको छ ।
नयाँ शक्ति पार्टीको बाहुल्य रहेको रसुवा जिल्लामा निर्माणाधिन माथिल्लो मैलुङखोला जलविद्युत आयोजना ‘ए’को शेयर खुलेको मिति २०७४ वैशाख १ गतेबाट कथा सुरु हुन्छ । ‘समृद्धी सम्भव छ आफ्नै पालामा’ भन्ने नारा लगाउँदै गरेको लगानीमा नयाँ शक्ति पार्टीका कार्यकर्ता मात्रै होइन् सर्वसाधारणसमेत नराम्रोसँग ठगिए । अहिले बाबुरामलाई सराप्दै उनकै कार्यकर्ता र सर्वसाधारण न्यायको खोजीमा निस्केका छन् । कानुनी पाटोबाट उपचार खोज्ने एकमात्रै विकल्प हो भन्ने आशामा छन् लगानीकर्ता नुवाकोट बिदुरका शंकर थपलिया । २०७४ सालमै सो आयोजना पक्षसँग डा. भट्टराईसहित छलफल र आयोजनाको वस्तुस्थिति विवरण लिनेकाम भएको थियो । त्यतिबेला आयोजनाले ७० प्रतिशत काम सम्पन्न भएको विवरण पेश गरेको थियो । थोरै काममात्र बाँकी रहेको आयोजनामा नेता, कार्यकर्ता र जनताको लगानी गर्दै समृद्धि अभियान सफल बनाउने उद्देश्यबाट पैसा सङ्कलन अभियान चल्यो । नयाँ शक्तिको उत्पादन तथा समृद्धि विभागप्रमुख रहेका रसुवाका सांसद प्रेम तामाङको योजनामा स्थापना गरिएको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लि. धुन्चे, रसुवाको नाममा सो आयोजनाको शेयर भर्ने भन्दै पैसा संकलन गर्न नयाँ शक्ति नुवाकोटले कार्यकर्तालाई सर्कुलर नै जारी गर्यो । आयोजनाको नाममा नुवाकोटबाट एक करोड, रसुवाबाट दुई करोड र बाँकी रकम बागमती प्रदेशका जिल्लाहरु धादिङ, काभ्रे, मकवानपुर, चितवन, ललितपुर, सिन्धुलीलगायत जिल्लाका कार्यकर्ता र सर्वसाधारणसँग असुल्ने लक्ष्यमा पार्टी थियो भन्ने कुरा नेताहरु नै बताउँछन् ।
समृद्धि अभियानमा नुवाकोटबाट नेतृत्व गरेका तत्कालीन नयाँ शक्तिका नेता नवराज ढुंगाना ‘विज्ञान’ भन्नुहुन्छ, ‘पैसा संकलन गरेको हो, तर अहिले लगानीकर्तालाई जवाफ दिन सक्ने अवस्थामा म छैन । र, फोन बन्द गरेर बसेको छु । मैले विधिपूर्वक नै फारम भरेर सम्पूर्ण रकम कृषि विकास बैंकमा रहेको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लिको खातामा जम्मा गरेको छु । व्यक्तिगत रुपमा आफैँले दुरुपयोग गरेको छैन ।’
पार्टीको नाममा अभियान चलाएर कार्यकर्ता र सर्वसाधारणको पैसा कहाँ कस्तो अवस्थामा छ ? लगानीकर्ताले थाहासमेत नपाउने स्थितिमा पुग्नु नयाँ शक्तिका नेताको गैरजिम्मेवारीपनको पराकाष्ठ हो । कार्यकर्ता र जनताको पैसा डुबाउने राजनीतिक अभियान चलाउने नेताहरुले नैतिक रुपमा जिम्मा लिनु पर्दैन ? भन्ने प्रश्नमा तत्कालीन नयाँ शक्ति पार्टी नेपाल नुवाकोटका अध्यक्ष कृष्ण कुँइकेल भन्नुहुन्छ, ‘नैतिक रुपमा म जिम्मेवार भएँ, तर मैले र सुवासजीले पार्टीले व्यापार व्यवसाय गर्ने कुरा हुँदैन भनेर असहमति जाहेर गरेका थियौँ, यो समग्र घटनाको विवरण प्रेम तामाङ र नवराज ढुंगानालाई थाहा छ । हाम्रो जिल्लाबाट ढुंगानाले नै यो अभियानको जिम्मा लिनुभएको थियो ।’ लगानीकर्तालाई दिएको रसिदमा उनै नवराज ढुंगानाको हस्ताक्षर छ भने अघिल्लो पृष्ठमा विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लि. धुन्चे ५ रसुवाको छाप लगाइएको छ । यस्तै पछिल्लो पृष्ठमा नयाँ शक्ति पार्टी नेपाल, जिल्ला कार्यसमिति नुवाकोटको छाप लगाइएको छ ।
यो अभियान अवधिमा पार्टीले दिएको जिम्मेवारी इमानदारितापूर्वक सम्पन्न गर्दै नुवाकोट जिल्लाको तर्फबाट १ करोड १० हजार रुपैयाँ संकलन गरी बुझाइएको ढुंगानाले बताए ।
तत्कालीन माओवादी केन्द्रबाट अलग्गिएर नयाँ शक्ति पार्टी खोलेका डा. बाबुरामको राजनीतिक विजनेश टिक्न नसकेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग मिसिएर जनता समाजवादी पार्टी सञ्चालनमा छ । तर जनता र कार्यकर्ताले लगानी गरेको विवेकशील आदर्श इन्भेस्टमेन्ट प्रा.लि. भने निस्कृय छ ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रंग विरंगका कुरामा ट्वीट गरेर समय समयमा चर्चा र विवादको पात्र बन्ने गरेका छन् । आफैँ साक्षी बसेर सञ्चालन गरेको समृद्धि अभियानमा कार्यकर्ता र जनता ठगिएको चर्चा भने बाबुरामको कानसम्म पुर्याउने कार्यकर्ता भएनन् कि उनले बोल्न चाहेनन् ? यो रहस्यमय नै छ । आफूलाई प्रष्ट वक्ता दाबी गर्ने नेता बाबुरामको मौनतालाई यो रकमको हिस्सेदारितासँग समेत जोडेर चर्चा गर्ने गरिएको भेटिन्छ । कुनैसमय बाबुरामको विश्वासपात्र थिए, सांसद प्रेम तामाङ । उनैको प्रभावमा परेर समृद्धि अभियानको नाममा जनता र कार्यकर्ताबाट पैसा उठाउने सर्कुलर गरेको नयाँ शक्ति पार्टीभित्र गत निर्वाचनको बेला टिकट बेचेको आरोप लागेपछि प्रेमप्रतिको बाबुरामको प्रेमिल नजरमा तुँवालो लाग्यो । त्यसपछि प्रेमको बाबुराम प्रेममा चिसोपना आयो । त्यसपछि प्रेम काँग्रेसतिर बसाईं सर्न खुट्टा उचाले । प्रेम बाबुराम सम्बन्ध सुखद दुःखद जे रहेपनि उनै बाबुरामलाई गणेश थापेर सुरु गरिएको समृद्धि शेयर अभियान र जनता कार्यकर्ता ठगी प्रकरणबारे बाबुराम बोल्नैपर्छ । यो बाबुराम देखाएर दाम ठग्ने हरामहरुको नियत हो कि राजनीतिजस्तै लगानीमा पनि ठगिनुपर्ने जनता कार्यकर्ताको नियती हो ?
नयाँ शक्ति नेपालको स्थापनासँगै मुख्यतः पूर्वमाओवादी कार्यकर्ताहरुमा ‘समृद्धि सम्भव छ आफ्नै पालामा’ भन्ने नाराले यस्तो भावनात्मकता पैदा गरेको थियो कि, नेता कार्यकर्ताहरु उत्पादन, व्यापार र व्यवसायको खोजीमा गल्ली गौँडा कुदिरहेका भेटिन्थे । आधा दर्जन वर्षहरु पार नगर्दै तीनले भोगेका ठगी, हैरानी, सास्ती र यस्ता विलखबन्द कथाहरु मैदा व्यापारदेखि ट्रक कन्टेनर व्यवसायी हुँदै शेयर खरिद गर्ने अभियानमा जुटेका नेता कार्यकर्ता दर्जनौँ भेटिन्छन् । ७० प्रतिशत निर्माण सम्पन्न भएको आयोजनामा लगानी जुटाउने उपायको खोजीमा आयोजना पक्ष थियो भने कार्यकर्तालाई तत्काल लाभ दिलाएर समृद्धि अभियान सार्थक बनाउने योजनामा नयाँ शक्तिवाला समृद्धि अभियान थियो । त्यसमाथि पनि दक्षिण एसियाकै टप विद्धान कहलाएका इन्जिनियर डा. बाबुराम भट्टराईले नै अध्ययन गरेर ‘ठिक छ’ भनेपछि हुरुरु लगानी गर्ने अभियानमा कुदे कार्यकर्ताहरु । नयाँ शक्तिका सांसद प्रेम तामाङको विवेकशील इन्भेस्टमेन्ट प्रा.लि. र माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रबर्धक कम्पनी इनर्जी इन्जिनियरिङ प्रा.लि.बिचको लगानी सम्झौता के थियो ? त्यो गुमनाम नै रह्यो । समृद्धिको हतारोमा लगानी गर्न हाम फालेका लगानीकर्ताहरुको लगानी उज्यालोको खोजीमा टुकीमा परेको पुतलीजस्तो भएको सुइँको पाएपछि पूर्व नयाँशक्ति कार्यकर्ता गोकर्णनाथ न्यौपाने ‘गजेन्द्र‘ सामाजिक सञ्जालमा लेख्नुहुन्छ, ‘रु. १०० को शेयरमात्र रु ५० मा खरिद गरी थप ६० रुपैयालाई विवेक प्रयोग गर्दै समृद्धि सम्भव छ हाम्रै पालामा भन्दै सपना देखाउन सफल गोल्डस्टार आफैँको समृद्धि आएको चर्चा बजारमा छ । बाँकी कुरा विस्तारमा आउला ।’
उहाँको आरोपजस्तै अर्को नयाँ रहस्य खोल्ने काम पूर्वजनसेनाका एक कमाण्डर एवं तत्कालीन नयाँ शक्तिका नेता विरेन्द्र श्रेष्ठ ‘अजय’ले लेख्नुभएको छ, ‘नयाँ शक्तिवाला उत्पादन आयोजना अपर मैलुङ हाइड्रोपावरको नाममा ५/६ वटा जिल्लाबाट प्रतिशेयर १ सय १० का दरले संकलन गरेको झण्डै ५ करोड बराबरको रकम १ सय १० मध्ये ४० को दरले इनर्जी इन्जिनियरिङ र बाँकी ७० रुपैयाका दरले हुन आउने ठुलो रकम घरजग्गामा लगानी गरेको भन्ने पो सुनियो त ।’ गजेन्द्र र अजयले सार्वजनिक गरेकोजस्तो तथ्य र तथ्यांक सत्य हो भने नयाँ शक्तिका कार्यकर्ता र सर्वसाधारणको करोडौँ लगानी ‘माउको थुनमा न बच्चाको मुखमा’ भनेजस्तो न आयोजनामा लगानी भयो न त साँवा व्याज आयो, न त आफ्नो पैसा आफैँले राख्न पाइयो ! यो आयोजना देखाएर गरिएको विशिष्ट प्रकारको ठगी नै हो नियत सफा भए माथिल्लो मैलुङ खोला जलविद्युत आयोजनाको प्रबर्धक कम्पनी इनर्जी इन्जिनियरिङ प्रा.लि.को खातामा किन पैसा हाल्न लगाइएन ?
20.12¡ÆC