
काठमाडौं । तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन मनाइँदैछ ।
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार आज बिहान कुकुरको पूजा गरेपछि साँझ लक्ष्मीपूजा गर्नुपर्नेछ ।
कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिएर पूजा गर्ने धार्मिक परम्परा छ । धार्मिक मान्यताअनुसार यमराजको द्वारपालका रूपमा रहेका श्याम र सबल नामका कुकुरले यमलोक जाने बाटो सहज बनाइदिने विश्वास गरिन्छ । कुकुरलाई आज्ञापालक तथा घरको सुरक्षामा भरपर्दो जनावरका रूपमा पनि सम्मान गर्ने गरिन्छ ।
आज बिहान विभिन्न तीर्थस्थल, नदी तथा तलाउमा स्नान गरी बलेको बत्ती दक्षिणतर्फ फर्काएर बगाउने परम्परा पनि छ । यसो गर्दा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने चलनसमेत छ ।
समितिका अनुसार गाईपूजा कात्तिक २३ गते सोमबार, गोरुपूजा, हलितिहार, गोवर्द्धनपूजा, बलीपूजा तथा आत्म (म्ह) पूजा कात्तिक २४ गते मंगलबार परेको छ ।
यस्तै, तिहारको मुख्य दिन भाइटीका कात्तिक २५ गते बुधबार मनाइनेछ । पञ्चाङ्ग निर्णायक विकास समितिले भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको छ ।
यमपञ्चकको पहिलो दिन हिजो कागको पूजा गरिएको थियो ।
12.62¡ÆC