भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना

कार्तिक ११, २०८३ मा प्रकाशित | 11 views

भोटेकोशी बाढी : डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना

काठमाडौँ । गएको भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले डीएनए परीक्षणको रिपोर्ट पर्खदै दुई महिना बिताएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका–२० थपुवाका अनलाल रोकायले बेपत्ता आफन्तको कुनै जानकारी नआएका कारण अहिले पनि डीएनए रिपोर्ट कुरेर बसेको बताउनुभयो ।

रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा कार्यरत अनलालका दाजु ५३ वर्षीय शेरसिंह रोकाय, भाउजु ५६ वर्षीया विष्णुमती रोकाय र उहाँहरूलाई भेट्न अनि गोसाइँकुण्ड दर्शन गर्न पुगेका १९ वर्षीय छोरा दीपक रोकाय बाढीसँगै हराएको दुई महिना पुग्दा पनि कुनै अत्तोपत्तो नलाग्दा दुःखमाथि दुःख थपिएको अनलालले बताउनुभयो ।

शव पहिचानका लागि डीएनए परीक्षणको नमुना पठाएपछि बाढीपछि बेपत्ता दाजु, भाउजु र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको उहाँको भनाइ छ । अनलालले नेपालगञ्जको भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना दिनुभएको थियो ।

डीएनएको रिपोर्टसमेत नआउँदा बेपत्ता परिवारको सामाजिक संस्कार गर्न नसकेको बताउँदै उहाँले डीएनए रिपोर्ट र बेपत्ता व्यक्तिका बारेमा सरकारले आधिकारिक धारणा परिवारलाई दिनुपर्नेमा जोड दिनुभयो ।

भोटेकोशी बाढीपछि बेपत्ता आफन्त खोज्न गएका केहीले चितवन र काठमाण्डौमा रहेका अस्पतालमा र बाँकेमा रहेका १६ जनाले नेपालगञ्जको भेरी अस्पतालमा डीएनए परीक्षणका लागि नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रतीतसिंह राठौरले जानकारी दिनुभयो ।

उहाँका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आउनुभएका १६ जना आफन्तको भेरी अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाण्डौ र चितवनमा रहेका अस्पतालमा डीएनए नमुना सङ्कलन गरिएको छ । डीएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमुना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

भोटेकोशी बाढीमा बाँकेका २३ जना बेपत्ता छन् । तीन जनाको शव सनाखत भई मृत घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web