काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको खेलमा नेपालको ए टोली बंगलादेश हाइ पर्फर्मेन्स टोलीसँग पराजित भएको हो ।
नेपाललाई बंगलादेशले ९ विकेटले पराजित गर्यो । नेपालले दिएको १०० रनको सामान्य लक्ष्य बंगलादेशले १०.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो ।
बंगलादेशका लागि जिशान आलमले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ५२ रन बनाए । अरिफुल इस्लामले अविजित ३४ रन बनाए । नेपालका लागि शाहब आलमले १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर ९९ रन बनाएको थियो । कुशल भुर्तेलले सर्वाधिक ४६ रन बनाए । बिपिन खत्रीले अविजित ११ तथा रिजन ढकालले १० रन बनाए ।
नेपाल एक समय ४ ओभरमा १३-५ को अवस्थामा पुगेको थियो । कुशल भुर्तेलले नेपालको खराब अवस्थाका बीच केही राहत दिलाए ।
नेपाल आफ्नो पहिलो खेलमा शुक्रबार एनटी स्ट्राइकसँग पनि पराजित भएको थियो ।
नेपालले अब आफ्नो तेस्रो खेलमा सोमबार होबार्ट हरिकेन्स एकेडेमीसँग खेल्नेछ ।
27.12¡ÆC