नेशनल लघुवित्तद्वारा सदस्यहरुलाई उद्यमशीलता विकास तालिम प्रदान

जेष्ठ २१, २०८३ मा प्रकाशित | 103 views


धादिङ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गोगनपानी, धादिङको आयोजनामा सदस्यहरूको उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको दुई दिने तालिम सम्पन्न भएको छ। संस्थामा आबद्ध सदस्यहरूलाई सीपमूलक ज्ञान प्रदान गरी आर्थिक रूपमा आत्मनिर्भर बनाउने लक्ष्यसहित सञ्चालन गरिएको सरसफाइ सामग्री उत्पादन सम्बन्धी तालिमको समापन गरिएको हो।

तालिममा सहभागी सदस्यहरूले झोल साबुन, सरफ तथा हार्पिक लगायत दैनिक प्रयोगमा आउने सरसफाइका सामग्री उत्पादन गर्ने व्यावहारिक सीप हासिल गरेका छन्। सहभागीहरूलाई सामग्री उत्पादनका विधि, गुणस्तर कायम गर्ने तरिका, लागत व्यवस्थापन तथा बजार व्यवस्थापन सम्बन्धी जानकारी समेत प्रदान गरिएको थियो।

समापन कार्यक्रममा बोल्दै नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडका अनुगमन अधिकृत रामचन्द्र लोहनीले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले सीप सिक्नु मात्र ठूलो उपलब्धि नभई त्यसलाई निरन्तर अभ्यास र व्यवसायमा रूपान्तरण गर्नु नै वास्तविक सफलता भएको बताउनुभयो। सिकेको सीपलाई व्यवसायिक रूपमा प्रयोग गर्न सकेमा सहभागीहरू क्रमशः दक्ष बन्दै जाने र त्यसले परिवारको आयआर्जनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो।

तालिमको प्रशिक्षक बबिता केसीले सहभागीहरूको उत्साह, चासो र सिकाइप्रतिको लगाव प्रशंसनीय रहेको बताउनुभयो। छोटो अवधिको तालिममै सहभागीहरूले सरसफाइ सामग्री उत्पादन गर्ने सीप प्रभावकारी रूपमा सिक्न सफल भएको उल्लेख गर्दै उहाँले अब उत्पादन कार्यलाई व्यवहारमा लागू गर्न आग्रह गर्नुभयो। बजारमा यस्ता सामग्रीहरूको माग निरन्तर रहेको र उत्पादनको गुणस्तर कायम गर्न सके बिक्री वितरणमा समस्या नहुने उहाँले बताउनुभयो। उत्पादनलाई विस्तार गर्दै व्यावसायिक रूपमा सञ्चालन गर्न सके राम्रो आम्दानीको स्रोत बन्न सक्ने प्रशिक्षक केसीको भनाइ थियो।

कार्यक्रमका बारेमा जानकारी दिँदै नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड, गोगनपानी शाखाप्रमुख प्रतिमा ढकालले सदस्यहरूको आवश्यकता, चाहना र मागलाई मध्यनजर गर्दै तालिम सञ्चालन गरिएको बताउनुभयो। संस्थाले विगतदेखि नै विभिन्न सीपमूलक तथा रोजगारमुखी तालिम सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले यस तालिमबाट सिकेको सीपलाई सहभागीहरूले व्यावसायिक रूपमा प्रयोग गरी आयआर्जन बढाउने विश्वास व्यक्त गर्नुभयो।

तालिममा सहभागी सदस्यहरूले सरसफाइका सामग्री घरायसी रूपमा अत्यन्त आवश्यक हुने र बजारमा पनि सहज रूपमा बिक्री गर्न सकिने भएकाले सिकेको सीपलाई निरन्तरता दिँदै उत्पादन कार्य सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। तालिमले उनीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै स्वरोजगारको सम्भावना समेत बढाएको सहभागीहरूको भनाइ छ।

नेशनल लघुवित्तले सदस्यहरूको आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास तथा स्वरोजगार प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web