विदुरमा घरबीमा अनिवार्य गरिनेः नगरप्रमुख राजन श्रेष्ठ

जेष्ठ ५, २०८३ मा प्रकाशित | 56 views


नुवाकोट । विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले आवास (घर) तथा अन्य भौतिक संरचनाको बीमा कार्यक्रमलाई अनिवार्य बनाउने तयारी गरिएको जानकारी दिनुभएको छ ।

नेपाल बीमा प्राधिकरणद्वारा विदुरमा आयोजित ‘स्थानीय सरकार (विदुर नगरपालिका) संग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ मा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले अहिले कृषि, स्वास्थ्य, सवारी तथा अन्य क्षेत्रमा बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि घर तथा भौतिक संरचनाको बीमा गर्ने प्रवृत्ति अत्यन्त न्यून रहेको बताउनुभयो ।

उहाँले प्राकृतिक विपद्, आगलागी, भूकम्प, बाढीपहिरो लगायतका जोखिम बढिरहेका बेला नागरिकको सम्पत्ति सुरक्षित राख्न घर बीमा आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “घर बनाउन लाखौं रुपैयाँ लगानी हुन्छ, तर जोखिमबाट जोगिन बीमाप्रति अझै सचेतना कम छ । त्यसैले अब निर्माण सम्पन्न प्रमाणपत्र जारी गर्नु अघि अनिवार्य रूपमा घर बीमा गरिएको हुनुपर्ने व्यवस्था गर्न लागेका छौं ।”

नगरप्रमुख श्रेष्ठले बीमा केवल क्षतिपूर्तिको माध्यम मात्र नभई आर्थिक सुरक्षा, बचतको बानी विकास तथा भविष्य सुनिश्चित गर्ने प्रभावकारी उपाय भएको बताउनुभयो ।

उहाँका अनुसार विदुर नगरपालिकाले यसअघि नै विभिन्न सामाजिक सुरक्षामूलक बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । नगरपालिकाले विद्यार्थीहरूका लागि १ लाख रुपैयाँसम्मको दुर्घटना बीमा, गरिब, विपन्न तथा सामाजिक रूपमा पछाडि परेका ७०० भन्दा बढी परिवारका लागि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्दै आएको छ । आगामी दिनमा यी कार्यक्रमलाई थप प्रभावकारी र विस्तार गरिने पनि उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख प्रभा बोगटी ले जीवन तथा निर्जीवन बीमाले सानो लगानीबाट ठूलो आर्थिक जोखिम कम गर्न सहयोग पुग्ने बताउनुभयो । उहाँले बीमा प्रणालीलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गर्न सके नागरिकको आर्थिक सुरक्षामा ठूलो टेवा पुग्ने धारणा राख्नुभयो ।

त्यसैगरी नेपाल बीमा प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिना ले बीमाप्रति जनचेतना विस्तार गर्न नुवाकोटका विभिन्न स्थानीय तह तथा विद्यालयहरूमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले सही बीमा छनोट र प्रभावकारी कार्यान्वयन भए बीमा क्षेत्र अझै विश्वासिलो र प्रभावकारी बन्ने बताउनुभयो ।

कार्यक्रममा विभिन्न वडाका अध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, कर्मचारी, सहकारी संस्था, विद्यालय, सामाजिक संघसंस्थाका प्रतिनिधि, बीमा कम्पनीका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।

नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सिता पाण्डेय का अनुसार विदुर नगरपालिका सहित सूर्यगढी गाउँपालिका र जिल्लाका विभिन्न विद्यालयहरूमा समेत बीमा सम्बन्धी अन्तरक्रिया तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web