
नुवाकोट । त्रिशूली अस्पतालमा भौतिक संरचना निर्माणको लागी थप दश करोड बजेट प्राप्त भएको छ ।
अस्पतालमा ‘मातृ शिशु वाड सहित त्रिशूली अस्पताल भवन निर्माण’को लागी बागमती प्रदेस सरकारले दश करोड बजेटको श्रोत सुनिश्चित गरेको जानकारी सहितको पत्र प्राप्त भएको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले जानकारी दिनुभयो । उहाँको अनुसार बागमती प्रदेस सरकारबाट चालु आर्थिक वर्षमा रु ३ करोड ५० लाख बजेट प्राप्त भएको थियो ।
उक्त बजेट मार्फत लक्ष्य अनुसारको भौतिक संरचना बनाउन अपुग हुने भएपछि गरिएको पहल पश्चात रु ७ करोड बजेट थप भएको हो ।
एकसय बेड क्षमतामा सञ्चालनमा रहेको त्रिशूली अस्पताल देशकै उत्कृष्ट भित्र पर्ने भएपनि यहाँ भौतिक संरचनाको अभाव भएपछि जिल्लाको जनप्रतिनिधिहरुबाट गरिएको पहल र बागमती प्रदेस सरकारले पनि सोही विषयलाई मनन गर्दै बजेट थप गर्न सहमति जनाएको हो ।
यसको लागी बागमती प्रदेसका निवर्तमान मुख्यमन्त्री बहादुरसिंह लामा, विदुर नगरपालिकाको नगरप्रमुख राजन श्रेष्ठ सहित अस्पताल प्रशासनको तर्फबाट पहल गरिएको थियो भने बजेट थप गर्नको लागी बागमती प्रदेसका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ र स्वास्थ्य मन्त्री किरण थापा मगरले सकारात्मक भूमिका खेल्दै थप ७ करोड बजेट अर्को वर्ष आउने गरेर बहुवर्षिय योजनामा श्रोत सुनिश्चित भएको हो ।

‘मातृ शिशु वाड सहित त्रिशूली अस्पताल भवन निर्माण’को लागी त्रिशूली अस्पतालको तर्फबाट ३५ करोड रुपैयाँ लागतको डिपिआर सहितको कागजात पेश गरिएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष उपेन्द्र बुढाथोकीले जानकारी दिनुभयो ।
डिपिआरमा उल्लेख भए अनुसारको संरचना बनाउन ३५ करोड रुपैयाँ बजेट आवश्यक पर्ने भएपनि अहिलेको दश करोड रुपैयाँले ‘मातृ शिशु वाड बनाई सुरक्षित सुत्केरीको लागी आवश्यक संरचना सहित अस्पतालको लागी थप केही संरचना निर्माण हुनेछ ।
यसको लागी विद्युत प्राधिकरण मार्फत जग्गा प्राप्त नभएकाले अस्पतालको आफनै नाममा भएको जग्गा अर्थात अस्पताल परिसरमा रहेको प्रि-फ्याक भवनलाई हटाई उक्त स्थानमा मातृ शिशु वाड सहितको भवन बनाइने अध्यक्ष बुढाथोकीले जानकारी दिनुभयो ।
थप संरचना निर्माण पश्चात अस्पतालको सेवा प्रवाहमा थप गुणस्तर बृद्धि हुने, बिरामीले सहज रुपमा सेवा प्राप्त गर्ने अवसर पाउने विश्वास लिइएको छ ।
24.12¡ÆC