
त्रिशूली । १३ औं नुवाकोट जिल्ला विद्यालय स्तरीय टी–२० क्रिकेट प्रतियोगिता आजदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा रणभुवनेश्वर मावि देवीघाट दुई विकेटले बिजयी भएको छ । तल्लो पिपलटार स्थित क्रिकेट रङ्गशालामा आयोजित प्रतियोगिताको आजको खेलमा निरञ्जना माध्यमिक विद्यालय बेलकोटले टस जितेर पहिले ब्याटिङ गर्दै नौ विकेटको क्षतिमा पूरै २० ओभर खेल्दै १०६ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको रणभुवनेश्वरी माविले १६.५ ओभरमा आठ विकेटको क्षतिमा जित निकाल्न सफल भएको हो ।

व्याट्रितर्फ निरञ्जना माविको तर्फबाट सुजन सुनारले ४५ रन, आयुष भट्टले ११ रन जोडेका थिए भने रणभुवनेश्वरी माविको तर्फबाट रञ्जित मिजारले २६, दिपेश रिमालले ६ बलमा १८ र दिप्सन रिमालले १२ रन जोडेको नुवाकोट क्रिकेट संघका सचिव करण खतिवडाले जानकारी दिनुभयो ।

नुवाकोटमा रहेका विद्यालयस्तरीय क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिताको १३औँ सस्करणको खेल आज नुवाकोट क्रिकेट संघका अध्यक्ष तथा केन्द्रीय सदस्य दुर्गाराज पाठकले अम्पायरलाई बल प्रदान गर्दै सुरु गरिएको थियो । दुई समूह बनाई सञ्चालन भइरहेको खेलमा पाच विद्यालयको सहभागिता रहेको छ ।

जिल्ला क्रिकेट संघ नुवाकोटका सचिव खतिवडाको अनुसार प्रतियोगितामा भोलि शनिबार बिहान ९ बजे अर्किड एकेडेमीले गणेश भ्यु बाटिका र दिउसोँ १ बजे जेडी बोर्डिङ स्कुलले रणभुवनेश्वरी माविसंग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको सम्पूर्ण खेलहरु विदुर नगरपालिका–५ तल्लो पिलटार स्थित प्रदेस रङ्गशालामा सञ्चालन हुनेछ । फाइनल खेल यही फागुन १९ गतेको लागी निर्धारण गरिएको छ ।
18.12¡ÆC