तारकेश्वरमा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न, पाठेघर क्यान्सर स्क्रिनिङमा विशेष जोड

फाल्गुन १३, २०८२ मा प्रकाशित | 298 views


नुवाकोट । तारकेश्वर गाउँपालिकामा महिलाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै पाठेघरको क्यान्सर पहिचान तथा अन्य स्वास्थ्य समस्याको परीक्षणका लागि निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरिएको छ।

गाउँपालिकाद्वारा आयोजित शिविरमा विशेष गरी महिलामा देखिने आङ झर्ने (पाठेघर खस्ने) समस्या, पाठेघरको स्क्रिनिङ, क्यान्सर सम्बन्धी भि.आइ.ए जाँच तथा नसर्ने रोगहरूको परीक्षण गरिएको थियो। साथै सामान्य समस्या भएकालाई सोही स्थानमा उपचार तथा परामर्श सेवा प्रदान गरिएको र जटिल समस्या देखिएका बिरामीलाई केही आर्थिक सहयोगसहित सुविधा सम्पन्न अस्पतालमा सिफारिस गर्ने व्यवस्था गरिएको थियो।

गोर्स्याङस्थित वडा नं. ५ को स्वास्थ्य केन्द्रमा सञ्चालित शिविरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले महिला सशक्तीकरणको अभियान अन्तर्गत महिला स्वास्थ्य क्षेत्रमा विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो।

“स्वास्थ्य नै धन हो” भन्दै अध्यक्ष अधिकारीले स्वास्थ्य अवस्था राम्रो भए मात्र आर्थिक र सामाजिक उन्नति सम्भव हुने उल्लेख गर्नुभयो। उहाँले महिलाहरूलाई आफ्ना स्वास्थ्य समस्या नलुकाई समयमै परीक्षण तथा उपचार गराउन विशेष आग्रह गर्नुभयो।

कतिपय रोगको लक्षण अन्तिम अवस्थामा मात्र देखिने भएकाले प्रारम्भिक चरणमै पहिचान भए उपचार सहज हुने उल्लेख गर्दै सबै महिलाले नियमित रूपमा पाठेघरको स्क्रिनिङ गर्नुपर्नेमा जोड दिनुभयो। गाउँपालिकाले आगामी दिनमा यस्तो सेवा सबै वडामा क्रमशः विस्तार गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web