
नुवाकोट । तारकेश्वर गाउँपालिका वडा नं. ४ भन्ज्याङखर्कमा आयोजित सांस्कृतिक उत्थान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष शिव अधिकारी (अविरल)ले गाउँपालिकाभित्रका सबै खाले संस्कृतिको संरक्षण, सम्वर्द्धन र पुनरुत्थानका लागि स्थानीय तहले निरन्तर अभियान सञ्चालन गरिरहेको बताउनुभयो। उहाँले मौलिक पहिचानलाई जगेर्ना गर्दै माटो सुहाउँदो विकासको अवधारणा अनुरूप अघि बढ्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
अध्यक्ष अधिकारीका अनुसार गाउँपालिकाले सांस्कृतिक पुनरुत्थानका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। तीमध्ये विद्यालयहरूमा हप्तामा एक दिन मौलिक पोशाक अनिवार्य गर्ने व्यवस्था, तारुका सातदोबाटोमा लोपोन्मुख अवस्थामा पुगेको लाखे जात्राको पुनः सञ्चालन, पञ्चेबाजा तथा खैजडी जस्ता परम्परागत बाजाको संरक्षण, विद्यालयमा तामाङ भाषाको अतिरिक्त कक्षा सञ्चालन, ल्होसार र तीज लगायतका पर्व संरक्षणका लागि प्रोत्साहन तथा आर्थिक सहयोग प्रदान गर्ने कार्य उल्लेखनीय रहेका छन् ।
त्यसैगरी मठ, मन्दिर र गुम्बाहरूको निर्माण तथा पुनर्निर्माण, जन्तरेगढी जस्ता ऐतिहासिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास तथा प्रवर्द्धन, पाल्छेन ग्योङजस्ता सांस्कृतिक धरोहरहरूको निर्माण र संरक्षण, भाषा तथा सांस्कृतिक पहिचानसम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रमहरू समेत सञ्चालनमा रहेका छन् ।
गाउँपालिकाको महिला तथा बालबालिका शाखाको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरूले सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए । गाउँपालिकाले सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
11.12¡ÆC