
त्रिशूली । कहिलेकाहीँ बजारमा नक्कली नोटको बिगबिगी भएको सुन्ने गरिएको छ । अहिले पनि निर्वाचनको गतिविधिहरु सहित विभिन्न अवसरहरुमा हुने ठूलो आर्थिक कारोबारलाई मौका छोप्दै यस्तै गैह्रकानुनी कार्य हुनसक्ने भन्दै नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले नुवाकोटका सरोकारवालाहरुलाई सोमबार ‘जाली नोट पहिचान सम्बन्धि सचेतनामूलक कार्यक्रम’ सम्पन्न गरेको छ ।
अन्जानमा नक्कली नोट हात पर्दा सर्वसाधारण ठगिने मात्र नभएर कानुनी झमेलामा समेत पर्ने जोखिम हुनसक्ने भन्दै नुवाकोटका सरोकारवालाहरुलाई सक्कली र जाली (नक्कली) नोट सम्बन्धि सजग गराइएको मुद्रा व्यवस्थापन विभागका सहायक निर्देशक रुकु पन्थीले जानकारी दिनुभयो ।
जाली नोटको छपाई, ओसारपसार र कारोबार गर्नु गैह्रकानुनी हुने कानूनी प्रक्रिया सहित आर्थिक कारोबार गर्दा नोट शंकास्पद लागेमा नजिकैको प्रहरी कार्यालय, बैंक तथा वित्तीय संस्था वा राष्ट्र बैंकमा जानकारी गराउन उहाँले अनुरोध गर्नुभयो ।
सचेतना कार्यक्रममा जाली नोट पहिचानका लागि नेपाली रुपैयाँको नोटमा रहेका सुरक्षण विशेषताको जानकारी गराई नुवाकोटका सरोकारवालाहरुलाई सक्कली र नक्कली नोटको पहिचान गर्न समेत सहायक निर्देशक पन्थीले आफ्नो प्रस्तुतीकरण मार्फत सजग गराउनुभयो ।

उहाँको अनुसार सामान्यतया सक्कली नोटको कागज खस्रो हुन्छ भने जाली नोट साधारण कागज जस्तै चिल्लो हुने गदर्छ । जाली नोटको रङ फिक्का देखिन्छ र सुरक्षा धागोले पोतेको वा टाँसेको जस्तो देखिने भएकाले ध्यान दिन सकेमा यसलाई हेरेर नै थाहा पाउन पनि सकिने छ ।
नोट छाम्दा साधारण कागज जस्तो चिल्लो लागेमा, बैंक नोटको रङ फिक्का जस्तो लागेमा वा सुरक्षण धागो रङले पोतेको, बाहिरबाट टाँसेको र सामान्यभन्दा फरक देखिएमा वा उठ्नुपर्ने भागहरू चिल्लो र सम्म भएको जस्तो लागेमा, हरेर, छामेर र ढल्काएर थप परीक्षण गरेर पहिचान गर्न सकिने मुद्रा व्यवस्थापन विभागका सहायक निर्देशक रुकु पन्थीको भनाई छ ।

नोटको सुरक्षाको लागी नेपाल राष्ट्र बैंकले तीन चरणको सुरक्षण पद्धती अपनाउने हुदाँ पहिलो चरणमा जो काही पनि पनि हेरेर, महशुस गरेर र ढल्काएर पनि नोट सक्कली भए नभएको थाहा पाउन सकिने सम्बन्धमा उहाँको प्रस्तुतीकरण मार्फत स्पष्ट पारिएको थियो ।
उहाँको अनुसार एक हजारको नोटलाई हेरेर, छामेर, ढल्काएर र मेसिनको प्रयोगबाट चिन्न सकिन्छ । हेरेर थाहा पाउन नोटलाई उज्यालोतर्फ पारेर हेर्दा ‘लालीगुराँस’को वाटर मार्क देखिन्छ ।
छामेर थाहा पाउनका लागि नोट छाम्दा खस्रो हुन्छ र प्रिन्ट गरिएका भागहरू उठेको महसुस हुन्छ । दृष्टिविहीनहरूका लागि पहिचान गर्न अङ्ग्रेजी वर्ण एम लेखिएको हुन्छ, जुन छाम्दा उठेको पाइएमा उक्त नोट सक्कली हो भन्ने थाहा पाउन सकिन्छ ।
ढल्काएर थाहा पाउनका लागि नोट ढल्काएर हेर्दा सुरक्षा धागो चलेको जस्तो देखिन्छ । नोटमा रहेको भगवतीको आकृति सिल्भर रङको देखिन्छ । मेसिनबाट थाहा पाउनका लागि ‘अल्ट्रा भायोलेट’ लाइटमा हेर्दा सगरमाथाको आकृति, गभर्नरको सही तथा नोटका नम्बरहरू झलल टल्किने भएकाले सक्कली भए नभएको पहिचानको लागी सहज हुने गर्दछ ।

यस्तै, पाँच सय रुपैयाँको नोट हेरेर चिन्नका लागि नोटलाई प्रकाशतर्फ पारेर हेर्दा लालीगुराँसको ‘पानी छाप’ देखिन्छ । पूर्ण रूपमा एनआरबी बनेको देखिन्छ । सुरक्षा धागोमा ‘एनआरबी ५००’ र बाघको आकृति देखिन्छ ।
यो नोट छाम्दा खस्रो हुन्छ । दृष्टिविहीनहरूको सहजताका लागि दुई वटा थोप्ला हुन्छन्, जुन छाम्दा उठेको महसुस हुन्छ । नोट ढल्काएर हेर्दा सुरक्षा धागोको रङ रातोबाट हरियोमा परिवर्तन हुन्छ ।
यस्तै, नोटमा रहेको कुबेरको रङ सुनौलोबाट हरियो हुन्छ । मेसिनबाट थाहा पाउन युभी लाइटमा सगरमाथाको आकृति, गभर्नरको सही र नोटका नम्बरहरू टल्किने भएकाले जो कोही पनि सुरक्षण चरणको पहिलो आधारमा नै थाहा पाउन सकिने सम्बन्धमा सहायक निर्देशक रुकु पन्थीले जानकारी गराउनुभयो ।

नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागका उपनिर्देशक लेखनाथ दाहालको अनुसार ‘नेपाल राष्ट्र बैंकका ऐन’ अनुसार जाली खोटो, नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेन गरेमा कानून विपरित कार्य हुने ठहर्ने व्यवस्था रहेको छ ।
त्यसो कसुर गर्ने र गर्न सहयोग पु¥याउनेलाई समेत कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तिन गुणासम्म जरिवाना वा दश बर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले नक्कली नोटसंग समन्धित गैह्रकानूनी कार्यमा सहभागी नहुन र कहीँ कतै भएको तथा हुन लागेको थाहाँ भएमा तत्कालै प्रहरी लगायतका नियामक निकायमा खबर गर्नको लागी उपनिर्देशक दाहालले सचेत गराउनुभयो ।
कार्यक्रममा नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र श्रेष्ठले विगत लामो समयदेखि नोटको कारण गर्दै आएपनि सक्कली र नक्कली नोटको पहिचानको सम्बन्धमा भने पहिलो पटक जानकारी लिन पाउदा कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो ।

नुवाकोटमा पनि जाली नोटहरु बेलाबखतमा पाइने भएकाले सचेतना कार्यक्रम मार्फत सर्वसाधारणले समेत सहजै थाहा पाउन सहज हुने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो । नोटको सुरक्षण सतकर्ता लगायत जाली नोटको पहिचान अहिलेको सबै नागकिरलाई अनिवार्य ज्ञानको रुपमा पुर्याउन आवश्यक रहेको भन्दै विद्यालयतहको पाठ्यक्रममा नै यस सम्बन्धि पठन सामाग्रिलाई समावेश गर्नको लागी उहाँले सुझाब दिनुभयो ।
कार्यक्रममा नुवाकोटमा सञ्चालित विभिन्न बैंक तथा वित्तीय सँस्था, लघुबित्त सँस्था, बीमा सस्था, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरु, व्यावसायी, सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमसंग सम्बन्धित थप तस्बिर सामाग्रिहरुः

18.12¡ÆC