
नुवाकोट । बद्री मैनाली लाई जिताउने प्रतिबद्धतासहित सयौं युवा नेकपा (एमाले) मा प्रवेश गरेका छन् । प्रतिनिधि सभा क्षेत्र नं. १ का उम्मेदवार मैनालीलाई भेटेर दुप्चेश्वर, शिवपुरी र ककनी गाउँपालिकाका युवाहरुले आइतबार औपचारिक रूपमा पार्टी प्रवेश गरेका हुन् ।
एमाले प्रवेश अघि युवाहरुले मैनालीसँग अन्तरक्रिया गर्दै आफ्नो क्षेत्रका समस्या, गुनासा र अपेक्षाहरु राखेका थिए । प्रमुख प्रतिस्पर्धी उम्मेदवारमध्ये मैनाली सक्षम, स्पष्ट योजना र प्रतिबद्धता भएका उम्मेदवार रहेको निष्कर्षसहित आफूहरुले एमाले रोजेको उनीहरुको भनाइ छ ।
शिवपुरी र ककनीका युवाहरुले पनि उम्मेदवारसँग छलफलपछि विकास निर्माणका कामलाई प्राथमिकतामा राख्न आग्रह गर्दै एमालेमा आबद्धता जनाएका छन् । मैनालीले उनीहरुलाई सूर्य चिन्ह अंकित ब्याच लगाएर पार्टीमा स्वागत गरेका थिए ।
पार्टी प्रवेश कार्यक्रममा मैनालीले युवापुस्ताको सोच, माग र अपेक्षालाई सम्बोधन गर्दै काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गरे । स्थानीय स्रोत–साधनको उपयोग गरी रोजगारी सिर्जना गर्ने, सीप र दक्ष जनशक्ति उत्पादन गर्ने तथा युवालाई स्वदेशमै अवसर उपलब्ध गराउने योजना आफूसँग रहेको उनले बताए ।
दिनेश तामाङ, श्याम तामाङ, निरन तामाङ, श्यामबहादुर तामाङ, राज तामाङ, विज्ञान तामाङ, दिनेश रुम्बा, सुजना तामाङ, साइमोन तामाङलगायतको नेतृत्वमा सयौं युवा एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमध्ये केही नवमतदाता रहेका छन् भने केही अन्य पार्टी परित्याग गरी एमालेमा आएका हुन् ।
यसअघि पनि विभिन्न राजनीतिक पृष्ठभूमिका युवाहरु एमालेमा प्रवेश गरिसकेका छन् । नेवि संघ नुवाकोटका पूर्व अध्यक्ष तथा सूर्यगढी गाउँपालिकाका सह–सचिव राजु अधिकारीको नेतृत्वमा यूवाहरु एमाले प्रवेश गरेका थिए । यस्तै वाईसियलका जिल्ला अध्यक्षका प्रतिस्पर्धी दिनेश अधिकारीको नेतृत्वमा पनि सयौं यूवाहरु एमाले प्रवेश गरेका थिए ।
दुप्चेश्वरबाट सूर्य तामाङ र राजेन्द्र तामाङको नेतृत्वमा दर्जनौं जेनजी पुस्ता एमाले प्रवेश गरेका हुन् । लगातारको पार्टी प्रवेशले नुवाकोट–१ क्षेत्रमा एमालेको माहोल बलियो बन्दै गएको स्थानीयहरुको भनाइ छ ।
२०७९ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित भएका मैनाली यसपटक बलियो मतान्तरसहित विजयी हुने दाबी समर्थकहरुले गरेका छन् । विकास र स्थायित्वका पक्षमा मतदान गर्नुपर्ने आवाज युवाहरुले सामूहिक रूपमा उठाएका छन् ।
11.12¡ÆC