“कृषि नै गाउँको अर्थतन्त्रको आधार हो” :  तारकेश्वर अध्यक्ष अधिकारी

पुस २३, २०८२ मा प्रकाशित
Published at पुस २३, २०८२

158 views

नुवाकोट । यहाँको तारकेश्वर गाउँपालिकाले किसानहरुलाई ट्याक्टर मर्मत तालिम प्रदान गरेको छ ।

गाउँपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत सञ्चालित मिनिटिलर (ट्याक्टर) मर्मत तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शिव अधिकारी (अविरल)ले कृषिको आधुनिकीकरणका लागि आधुनिक प्रविधिको प्रयोग अनिवार्य भएकाले सोही प्राविधिको सञ्चालन र मर्मतसम्भारका लागी किसानलाई दक्ष बनाउनु आवश्यक रहेको बताउनुभयो ।

ट्याक्टर लगायतका कृषि यन्त्रको प्रयोग अहिलेको कृषि प्रविधिका लागि महत्वपूर्ण रहेकाले यसको उपयोग गर्दै लाभ लिनको लागी किसानर्लाइ प्रविधि र यन्त्रउपकरणको प्रयोगमा जोड दिन अध्यक्ष अधिकारीले आग्रह गर्नुभयो ।

“देशकै अर्थतन्त्र कृषिमा आधारित रहेको र तारकेश्वर गाउँपालिकाको अर्थतन्त्रको आधार पनि कृषि नै भएकाले कृषकहरुको सहजता स्थानीय सरकारको पहिलो प्राथमिकतामा रहेको छ ।” उहाँले भन्नुभयो “शिक्षामा पनि व्यावहारिक र सीपयुक्त शिक्षाको अवधारणालाई अघि बढाइएको छ । कृषक, महिला तथा युवाहरूको स्वावलम्बन र जीविकोपार्जनका लागि सीपयुक्त तालिम लगायतका कार्यक्रमलाई गाउँपालिकाले प्राथमिकताका दिदै आएको छ ।”

किसानलाई यन्त्रिकरण तथा आधुनिकीकरणतर्फ जोडिनको लागी आब्हान सहित अनुदान लगायतका कार्यक्रम सञ्चालन गर्दै आएकाले आफूले सञ्चालन गर्ने प्रविधि चलाउन र मर्मतसम्भारका लाग दक्ष हुन दिइएको तालिमलाई सही रुपमा प्रयोगमा ल्याउन किसानलाई आग्रह गरिएको छ ।

पछिल्ला वर्षहरुमा गोरु पाल्ने चलन हराउँदै गएको र ट्याक्टरको प्रयोग सहज र समय सान्दर्भिक भइरहेको अवस्थामा ट्याक्टरको प्रयोग मात्र नभई मर्मत सम्भारमा समेत कृषक आफैँ सक्षम बन्नु सानो विषय भएपनि कृषकहरूको आयआर्जन र आत्मनिर्भरताका लागि भने यसलाई ठुलो उपलब्धिको रुपमा लिनुपर्ने अध्यक्ष अधिकारीको भनाई छ ।

ट्याक्टर मर्मत तालिमसँगै गाउँपालिकाले सहभागी किसानहरूलाई मर्मतका लागि आवश्यक औजार, पार्टपुर्जा लगायत सामग्रीहरू समेत उपलब्ध गराएको छ । चालु आर्थिक वर्षको बजेटमा सीमित रकम मात्र उपलब्ध रहेकाले आफूले चाहेजस्तो स्तरमा तालिम र सामग्रीहरू उपलब्ध गराउन नसकिएको बताउँदै उहाँले आगामी वर्षको बजेटका पर्याप्त रकम विनियोजन गरी अझ उन्नत र विस्तृत ढङ्गले कार्यक्रमलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web