धानबालीमा क्षति ब्यहोरेका किसानलाई पालिकाबाट नगद सहयोग

पुस २३, २०८२ मा प्रकाशित
Published at पुस २३, २०८२

169 views

पुजना खतिवडा,
नुवाकोट । शिवपुरी गाउँपालिकाले वर्षातको कारण धानबालीमा क्षति ब्यहोराका किसानलाई नगद राहत उपलब्ध गराउने भएको छ । गत कार्तिक ११ गतेदेखि लगातार परेको वर्षातको कारण धान भित्र्याउने समयमा किसानले ब्यहोरोको नोक्सानलाई राहत स्वरुप गाउँपालिकाले नगद उपलब्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष गोबिन्दप्रसाद थपलियाले जानकारी दिनुभयो ।

उहाँको अनुसार वर्षाको कारण धानबालीमा क्षति भएका प्रति घरपरिवार किसानलाई रु तीन हजार सहित उनीहरुको क्षति ब्यहोरेका खेतको प्रति रोपनी रु दुईसयका दरले थप रकम उपलब्ध गराउने निर्णय कार्यपालिकाबाट गरिएको छ । गाउँपालिकाको कृषि प्राविधिक मार्फत संकलन गरेको विवरण अनुसार शिवपुरी गाउँपालिकामा चारसय ७५ किसान परिवारले दुई हजार सातसय २३ रोपनी खेतमा लगाएको धानबालीमा क्षति पुगेको थियो ।

“किसानको आम्दानीको मुख्यबाली धान भित्र्याउने समयमा वर्षाको कारण भएको क्षतिमा उनीहरुलाई नगद उपलब्ध गराई राहत दिन लागिएको छ ।” अध्यक्ष थपलियाले भन्नुभयो “राहत प्रदानका लागी माथिल्ला निकायबाट सहयोग नभएकाले पालिकाको विपद् व्यवस्थापन कोषमा मौजुदा रहेको रकम मार्फत उपलब्ध गराउन लागिएको हो ।”

पालिकाले धानबालीमा क्षति ब्यहोरोका चारसय ७५ घरपरिवार किसानलाई रु तीन हजारका दरले नगद प्रदान गर्दा रु १४ लाख २५ हजार खर्च हुने जनाएको छ । यस्तै, चारसय ७५ घरपरिवार किसानको दुई हजार सातसय २३ रोपनी खेतमा क्षति पुगेकाले उनीहरुलाई प्रति रोपनी रु दुई सयका दरले नगद उपलब्ध गराउदा थप रु पाच लाख ४४ हजार छसय आवश्यक पर्ने गाउँपालिकाको उपाध्यक्ष वीरबहादुर तामाङले जानकारी दिनुभयो ।

उहाँको अनुसार किसानको धानबालीमा पुगेको क्षतिका लागी प्रदेस र संघीय सरकार समक्ष गरिएको मागमा सम्बोधन नभएको हुदाँ उक्त रकम गाउँपालिकाको विपद् व्यवस्थापन कोष मार्फत उपलब्ध गराउने निर्णय गाउँ कार्यपालिकाको बैठकबाट गरिएको छ ।

किसानलाई नगद प्रवाहका लागी रु १९ लाख ६९ हजार छसय बजेट आवश्यक पर्ने भएकाले उक्त रकम कोषमा रहेको रु १५ लाख र आवश्यक बजेटको श्रोत व्यवस्थापन भइसकेकाले प्रभावित किसानलाई नगद बुझ्नको लागी वडा कार्यालयमा सम्पर्क गर्न आब्हान गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

©2025 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web